ऋषि दधीचिको कथा

दधीचि ऋषिको उत्पत्तिको बारेमा दुई मत देखिन्छ । कसैले यिनलाई अथर्वा र शान्तिका पुत्र थिए भनेका छन् भने कसैले ऋषि भृगुले तपस्याको योगबलबाट उत्पन्न गरेका थिए थिए भनेका छन् । जे होस् ऋषि दधीचि एक लोक कल्याणकारी ऋषि थिए । यिनले देवताहरूको सहयोगका लागि आफ्नो जीवनको बलिदान दिएका थिए भने यिनका पुत्र सारस्वतले अनिकालले भत्किएको ब्राह्मण परम्परालाई पुनर्स्थापित गरेका थिए । यी कथा र यीसँग जोडिएका प्रसङ्गहरू तल वर्णन गरिएको छ । साथै, यिनको बारेमा अप्सरा खण्डमा अलम्बुषा कथामा पनि थोरै चर्चा गरिएको छ ।

दधीचि ऋषिका अनेक कथाहरू छन् जुन जनबोलीमा पनि आइरहन्छ । दधीचि ऋषिको इन्द्रसँग सौहाद्र्र सम्बन्ध थिएन तथापि यिनै ऋषिको हड्डीबाट बनाइएको बज्रबाट इन्द्रले वृत्तासुरको बध गरेको एउटा सर्वाधिक लोकप्रिय कथा पनि छ । के थियो त इन्द्र र दधीचि ऋषिको खराब सम्बन्धको कारण ? तल हेरौं ।

दधीचिको इन्द्रसँग दुश्मनी 

राजा इन्द्र र दधीचि ऋषिका बिचको सम्बन्ध बिग्रिएको थियो । के कारण थियो यिनीहरूको बीच सम्बन्ध बिग्रिनुमा ? कुरा के थियो भने, सृष्टिकर्ता ब्रह्माले दधीचि ऋषिलाई सम्पूर्ण ब्रह्मज्ञान दिएका थिए । तसर्थ त्यसबेलाको समयमा ब्रह्मज्ञानका एक मात्र अधिष्ठाता ऋषि दधीचि मात्र थिए । दधीचि ऋषि आफूमा रहेको ब्रह्मज्ञान उच्चकोटीका व्यक्तिहरूलाई प्रदान गर्न चाहन्थे । यता देवराज इन्द्र यो ज्ञान सबैभन्दा पहिले प्राप्त गर्न चाहन्थे । तथापि दधीचि ऋषिको मूल्याङ्कनमा इन्द्र ब्रह्मज्ञान प्राप्त गर्न योग्य व्यक्ति थिएनन् । त्यसैले ऋषिले इन्द्रलाई ब्रह्मज्ञानको शिक्षा दिन अस्वीकार गरे ।

ऋषिको अस्वीकारपछि इन्द्रको अहममा चोट पुग्यो । एक त ऋषिले ब्रह्मज्ञानका लागि अयोग्य ठहर्याइनु र आफूलाई अस्वीकार गरिनु इन्द्रको लागि सैह्य हुने विषय थिएन । उनले के घोषणा गरे भने, “यदि यो ज्ञान मलाई प्राप्त हुँदैन भने कसैलाई पनि प्राप्त हुनुहुँदैन । यदि ऋषिले मलाई बाहेक गरी अन्य कसैलाई ब्रह्मज्ञान दिए भने म मृत्युदण्ड दिनेछु ।” इन्द्रको घोषणालाई खारेज गर्दै ऋषिले भने, “यदि कोही योग्य व्यक्ति आउँछ भने म यो ज्ञान अवश्य दिनेछु ।”

एकदिन स्वर्गबाटै अश्विनी कुमार ऋषि दधीचिको आश्रममा आइपुगे र ब्रह्मज्ञान लिने इच्छा जाहेर गरे । यी दुई पात्र ब्रह्मज्ञान लिने योग्य छन् भन्ने दधीचिलाई लाग्यो । ऋषिले अश्विनी कुमारलाई ब्रह्मज्ञान दिन राजी भए । ऋषिले उनीहरूलाई इन्द्रको घोषणाबारे पनि बताए । त्यसपछि इन्द्रको घोषणाबाट बच्न अश्विनी कुमारले ऋषि आश्रममा रहेका घोडाको शिरले आफ्नो शिर ढाकी अश्वस्वरूपमा आए र ऋषिबाट अश्विनीकुमारले ब्रह्मविद्या प्राप्त गरे ।

इन्द्रले यो कुरा थाहा पाए । क्रोधित भएका इन्द्र पृथ्वीमा आई आफूले गरेको घोषणाअनुसार ऋषि दधीचिको शिर काटिदिए । उनै ऋषिबाट ब्रह्मज्ञान लिइरहेका शिष्य अश्विनी कुमार आफैँ वैद्य थिए । त्यसो भएकोले इन्द्रले छिनाइदिएको ऋषि दधीचिको शिरलाई फेरि जोडिदिए । यसरी, अश्विनी कुमारले गुरुदक्षिणा दिए भने ऋषिले पनि पुनर्जीवन पाए । इन्द्रको क्रोध अब अश्विनी कुमारमाथि पर्यो । उनले दण्डस्वरूप दुई भाइलाई स्वर्गबाट निकाला गरे ।

इन्द्र र ऋषि दधीचिका बीच सम्बन्ध बिग्रनुमा अरू पनि कारणहरू छन् । यहाँ दोस्रो प्रसङ्ग राख्न चाहन्छु ।

ऋषि दधीचि शिवका ठूला भक्त थिए । शिवभक्तिका कारणले तपस्यामा बसेको बखतमा उनको शरीरबाट निस्किएको तेजले इन्द्रको तेजलाई पनि फिका बनाइदियो । आफ्नो तेजोबध हुने भयले इन्द्रले कामदेवलाई दधीचि ऋषिको तपस्या भङ्ग गर्न पठाए । कामदेव इन्द्रका सेना लिएर पूरा शक्तिका साथ ऋषि दधीचिमाथि आक्रमण गरे तर कामदेव र इन्द्रका सेनाको केही जोड लागेन । उनीहरू पराजित भएर फर्किए ।

यसरी इन्द्रसँग र ऋषि दधीचिका बीच विविध विषयमा विविध कारणले विविध प्रकारका द्वन्द्वहरू भएका छन् । समय सरल रेखामा हिँड्दैन र घटनाहरू आफूले चाहे जस्तो मात्र हुँदैनन् । समय र घटनाहरूको बाटो बाङ्गोटिङ्गो नै हुन्छ । जतिसुकै शत्रुता भए पनि इन्द्रले अन्तमा ऋषि दधीचिसँग आफूलाई समर्पण गरी सहयोग माग्नुपरेको थियो । त्यो सहयोग पनि चानचुन थिएन, दधीचि ऋषिसँग उनको प्राण नै माग्नुथियो । शत्रुताका कारण सुरुमा इन्द्र ऋषि दधीचिका समीप जान सकिरहेका थिएनन्, तर परिस्थिति इन्द्रका लागि दधीचिसँग नझुक्नुको विकल्प नै थिएन । सत्कर्मका लागि आफ्नो प्राणको माग भएकोले दधीचि ऋषिले आफ्नो प्राण सहर्ष त्यागी इन्द्रलाई सहयोग गरेका थिए । यो कथा दैत्य वृत्तासुरसँग सम्बन्धित कथा हो ।

वृत्तासुरको उत्पत्ति र बध 

एकपटक आफ्नै गुरु वृहस्पतिसँग इन्द्रको मनमुटाव भएको थियो । तसर्थ, स्वर्गमा एउटा यज्ञको आयोजना गर्दा इन्द्रले गुरु वृहस्पतिको ठाउँमा त्वष्टाका छोरा विश्वदेवलाई पुरोहित बनाए । जब विश्वदेव यज्ञको पुरोहित बने, उनले इन्द्रका आँखा छलेर भए पनि पुरोहितका हैसियतमा यज्ञमा दानवहरूका लागि पनि आहुति दिए । यो कुरा चुहिएपछि इन्द्रले विश्वदेवको टाउको र शरीर दुई टुक्रा पारिदिए ।

आफ्नो पुत्रको बध गरेपछि त्वष्टा क्रोधित भई यसको बदला लिन उनले पुत्रेष्टि यज्ञको आयोजना गरे । त्यस यज्ञको प्रभावले त्वष्टाले यज्ञको अग्निबाट वृत्तासुर दैत्यको उत्पत्ति गरे र भने, “हे इन्द्रशत्रु ! मेरो तपस्याको बलमा धेरैभन्दा धेरै बढ्नू ।” यति भन्दैमा वृत्तासुर बढेर आकाश जत्रै ठूलो भयो भने ऊ प्रलयकालको सूर्य जस्तो तेजिलो देखियो र उसले सोध्यो, “हे पिता ! म के गरौं ?” त्वष्टाले भने, “गएर इन्द्रलाई मार ।”

पिताको आज्ञा पाएर त्यसपछि वृत्तासुरले इन्द्रको राजसिंहासनसहित सबै खोसेर स्वर्गमा आधिपत्य जमायो । त्वष्टा देवताहरूको एक शिल्पकार भए पनि वृत्तासुर चाहिँ असुरी प्रवृत्तिको थियो । उसले तीनै लोकमा आतङ्क मच्चाउन थाल्यो । के देवता, के मानिस, के अन्य प्राणीहरू सबै वृत्तासुरको आतङ्कबाट पीडित थिए । देवता एवम् इन्द्रसमेतले वृत्तासुरको बध गर्न असफल रहे । वृत्तासुरको बध गर्ने सबै उपाय सकिएपछि देवगण ब्रह्माकोमा गई ब्रह्माजीसँग वृत्तासुरको अत्याचारको वयान गर्दै उसको बध गर्ने उपायबारे बिन्ती गरे ।

ब्रह्माले देवताहरूको कुरा सुनिसकेपछि भने, “वृत्तासुरको बध गर्ने भए दधीचि ऋषिको हड्डी मागी त्यसबाट बज्र बनाउनु र त्यस बज्रको प्रहारले मात्र वृत्तासुरको बध गर्न सम्भव छ ।” इन्द्रका लागि महर्षि दधीचिकामा गएर उनकै हड्डी माग्नु पूर्ववत् शत्रुताको कारणले निकै कठिन थियो । तथापि बाध्यता र समयले इन्द्रलाई बाँधिसकेको थियो । ब्रह्माजीबाट वृत्तासुर बधको रहस्य सुनी देवराज इन्द्र महर्षि दधीचिकामा गई वृत्तासुरको अत्याचार र त्यसको बधबारे ब्रह्माले जो उपाय बताएका थिए, दधीचि ऋषिलाई इतिवृतान्त सुनाए । इन्द्रको यस्तो कुरा सुनी देवता र मानव जातिको कल्याणको लागि दधीचि ऋषिले आफ्नो देह त्याग गरी आफ्नो अस्थिपञ्जर देवताहरूलाई दान गरिदिए ।

ऋषिको मृत शरीर अगाडि भएपछि शरीरबाट मांशपेशी कसले निकाल्ने भन्ने कुरा आयो । देवराज इन्द्रले कामधेनु गाईलाई बोलाए । त्यस गाईले ऋषिको शरीरलाई चाटेर मांशपिण्ड र हाडलाई अलग अलग छुट्यायो । महर्षि दधीचिको यो त्यागपछि उनको अस्थिपञ्जरबाट देवशिल्पी विश्वकर्माले अत्यन्तै शक्तिशाली बज्रको निर्माण गरे । यही बज्रको सहायताले इन्द्रले वृत्तासुरको बध गरी त्रिलोकमा शान्ति स्थापना गरे ।

सारस्वतको जन्म र वैदिक परम्पराको पुनर्वहाली । 

महर्षि दधीचिको जीवन–बलिदानले असुर वृत्तासुरको अन्त्य भई शान्ति स्थापना त भयो तर महर्षि दधीचिले भनेको खडेरीको युग सुरु भयो । के भनेका थिए ऋषि दधीचिले खडेरी युगको बारेमा ? दधीचिसँग जोडिएको यो कथा अलम्बुषा खण्डमा पनि छ । त्यस कथाको सार के थियो भने– घोर तपस्यामा बसेका दधीचिसँग डराएर इन्द्रले उनको तपस्या भङ्ग गर्न अप्सरा अलम्बुषालाई खटाए । तपस्यारत ऋषि बिहान सरस्वती नदीमा नुहाउन जाँदा नदी किनारमा ऋषि आउने समयको मौका छोपेर बसेकी अर्धनग्न युवती अलम्बुषालाई नदीमा नुहाउँदै गरेको देखी उनीभित्रको कामवासना बाहिर प्रकट भयो । यसको नतिजा ऋषिको वीर्यपात भई सरस्वती नदीमा खस्यो ।

परिणामतः सरस्वती नदी गर्भवती भइन् र एक पुत्रको जन्म दिइन् । सरस्वती नदीबाट जन्म भएकोले त्यस बालकको नाम सारस्वत राखियो । त्यस बालकको लालनपालन अप्सरा अलम्बुषाले नै गरिन् ।

पछि सारस्वत जवान भएपछि अलम्बुषाले सारस्वतलाई ऋषिकहाँ ल्याइन् र भनिन्, “हे मुनि, यो तपाईंको पुत्र हो ।” दधीचिले सारस्वतलाई आशीर्वाद दिँदै भने, “केही कालपछि यहाँ ठूलो खडेरी लाग्नेछ । खडेरीले अनिकाल पर्नेछ । साथै, यस क्षेत्रका सबै मानिसहरू खडेरी र अनिकालको कारणले अन्यत्र ठाउँ सर्नेछन् । यसो भएपछि समाजमा धर्म संस्कृतिको परम्परा विश्रृङ्खलित हुनेछ । यस्तो विषम परिस्थितिमा ब्राह्मणहरूले पनि वेद, मन्त्र, ऋचा आदि सबै भुल्नेछन् । त्यसबेला यस बालकले धार्मिक ग्रन्थहरूको अध्ययन गर्ने, गराउने र धर्म संस्कृतिको पुनर्स्थापना गर्ने काममा ठूलो योगदान गर्नेछ ।” दधीचि ऋषिको यस्तो कुरा सुनिसकेपछि अलम्बुषाले सारस्वतलाई लिएर त्यहाँबाट हिँडिन् । सारस्वतको जन्म सरस्वती नदीबाट भएको भए पनि अलम्बुषाको रूपसौन्दर्यले दधीचि ऋषिले वीर्यपात गराएको हुँदा सारस्वत अलम्बुषाका पनि पुत्र हुन् । साथै अलम्बुषाले नै सारस्वतलाई लालनपालन गरी दीक्षित पनि बनाइन् ।

त्यसपछिको घटनामा देवताहरूको रक्षार्थ वृत्तासुरको बध गर्न आफ्नो प्राण त्याग गरेपछि ऋषिले पूर्ववत् गरेको घोषणाअनुसार राज्यमा आपद्–विपद् युग सुरु भयो । प्रदेशमा असाध्यै ठूलो र लामो खडेरी लाग्यो । कैयौं ऋतुहरूसम्म वर्षा नहुँदा पानीका सबै मूल सुके । जमिनमा अन्नबाली लागेन । फलफूल तथा अन्य कुनै पनि खाद्यपदार्थको उत्पादन हुन सकेन । फलतः प्रदेशमा अनिकाल लाग्यो । यसको प्रभावले सारा मानिसहरू त्यहाँबाट अन्यत्रै सर्न थाले र त्यहाँको सामाजिक जीवन, रितीरिवाज, धर्म संस्कृति सबै विनास भयो । ब्राह्मणले गर्ने वेद, मन्त्रोच्चारण आदिको परम्परा पनि भत्कियो । १२ वर्षसम्म यस्तो भयंकर खडेरी चलिरहयो, मानिसहरू राज्यबाट पलायन भइरहे । प्रकृति नै पनि सधैं एकनाश रहँदैन, बदलिरहन्छ । १२ वर्षपछि बल्ल प्रकृतिले रूप बदल्दै वर्षा ग¥यो र एउटा दुर्भिक्षको अन्त्य भयो । वर्षाले गर्दा मौसम र ऋतु पनि अनुकूल भए । पानीका स्रोतहरू खुल्न थाले । खेतीपाती हुन थाल्यो । फूल फुल्न थाले । वृक्षहरूले फल दिन थाले । विस्थापित भएको मानिसहरू पनि बिस्तारै यथास्थानमा फर्किन थाले । राज्यमा मानिस क्रमशः यथास्थानमा फर्कँदै थिए तर मानिसले बसाएको वेद अध्ययनको परम्परा र संस्कृति भने सबैले बिर्सिसकेका थिए ।

“राज्यमा मानिस हुनु तर संस्कृति नहुनु” अनौठो भयो । यो कुरा अलम्बुषा पुत्र सारस्वतलाई पनि जानकारी थियो । उनी आफ्नो राज्यमा फर्किए र मानव समाजको पुरानो वैदिक परम्पराको थालनी सुरु गरे । जसरी सुक्खा लागेको धरामा प्रकृतिले वर्षा गरी हरियाली छाएको थियो; त्यसरी नै समाजमा वेद अध्ययनको परम्परा, धर्म र संस्कृतिको पुनर्स्थापना गरी धाँजा फाटेको सामाजिक व्यवस्थालाई पुनर्जीवन दिन दधीचिपुत्र सारस्वतले प्रारम्भ गरे । वेद पाठको परम्परालाई सुरु गर्न मानव समाजले पनि सारस्वतलाई गुरु माने । उनी लामो खडेरीपश्चात् स्थापित भएको नयाँ समाजमा वैदिक परम्परा, धर्म र संस्कृतिका प्राचार्य पनि बने । यसरी समाज फेरि आफ्नै रङ्मा फर्कियो । ऋषि दधीचि कथा वर्णन इति ।

सारांशमा ऋषि दधीचि एक विशिष्ट श्रेणीका ब्रह्मर्षि थिए । उनको विवाह गभस्तिनीसँग भएको र उनीहरूका सन्तानको नाम पिप्लाद थियो । ऋषि दधीचिले प्राण त्याग गरेको समय उनकी पत्नी गर्भिणी थिइन् । ऋषिले इहलीला त्यागेपछि उनकी पत्नी सती जानुभन्दा अगाडि देवताहरूले उनको गर्भ पिपललाई सुम्पिदिए । त्यसकारण उनको नाम पिप्लाद रहन गयो । दधीचिको स्वभावको बारेमा लेखिएको छ– उनी एक दयालु, अहंकाररहित र सदाचारी थिए । अर्काको हित उनको जीवनको धर्म थियो । उनी जहाँ रहन्थे, त्यहाँका प्राकृतिक वनस्पति, जीवजन्तु, पंक्षी आदिसमेत सन्तुष्ट रहन्थे ।

दान, धर्म आदि कर्ममा कैयौं ऋषिमुनि, देवता आदिहरूको वर्णन पाइए पनि अर्काको हितको लागि आफ्नो जीवनको आहुति दिने दधीचि जस्ता दानी ऋषि पाइँदैनन् । वृत्तासुर दानवको बध गर्न दधीचि ऋषिकै हड्डी किन चाहिने ? भन्ने प्रश्न पनि आउँछ । यसको कारण के थियो भने एक क्रोधरहित सन्त सदाचारी व्यक्तिको हड्डीले मात्र वृत्तासुरको बध गर्न सकिने र त्यस्तो व्यक्ति दधीचि मात्र थिए ।

दधीचिका वंशजलाई अहिले पनि “दाधीच” भनेर जानिन्छ ।

रिचमण्ड, भर्जिनिया, अमेरिका