मानिसका लागि हिजो आइरहन्छ तर भोलि कहिल्यै आउँदैन । हिजो सुरुआत हो अनि भोलि जीवन, विचार र गतिशीलताको अन्त्य हो । मानिसले आज चाल्ने पाइला मात्र गतिशील हुन्छन् । मौका मिल्नासाथ म गतिशीलताको पछि लागेँ र रात्रिबसको लामो यात्रा गर्दै सपरिवार पोखरा पुगेँ ।

गण्डकी प्रदेशको मुटु पोखरा उपत्यकाको नाम नसुन्ने नेपाली त कमै होलान् । नेपाल आउने विदेशीलाई पनि पोखराका बारेमा थाहा छ । सेती नदीको जलाधार क्षेत्रमा पर्ने सुन्दर पोखरा उपत्यका तालहरूको समृद्धि स्थल पनि हो । फेवातालमा लुकामारी खेल्ने माछापुच्छ्रेको छाया, वेगनासको डुङ्गा सयर र अन्नपूर्णको पदयात्रा पोखराका मन लोभ्याउने सौन्दर्य हुन् । सौन्दर्य पारखीका लागि पोखरा असीम आनन्दको साध्य हो ।

मैले परिवारसहितको पोखरा यात्रा विन्ध्यवासिनी मन्दिरबाट सुरु गरेँ । यो पोखराको प्रसिद्ध पर्यटकीय क्षेत्र र नेपालकै एक प्रसिद्ध मन्दिर हो । नेपाल र भारतका धेरै पर्यटक आउने यस मन्दिरबाट अन्नपूर्ण हिमशृङ्खलाको सुन्दर दृश्य देखिँदो रहेछ । पोखरा सहरको सबै दृश्यको प्रत्यक्षीकरण गर्न सकिने सराङकोट जाने ठाउँमा रहेको यस मन्दिरमा दर्शनार्थीको भिडभाड हुने रहेछ । यो मन्दिर धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेछ । यस मन्दिरको परिसरमा बसेर एकछिन टोलाउँदा आस्थाले मन ढक्क फुलेर प्रकृतिप्रति नतमस्तक हुन मन लाग्दो रहेछ । हामी श्रुतिमधुर घण्टीको सामीप्यमा मन्दिरको आँगनमा बसेर घरी अन्नपूर्णतिर घरी सराङकोटतिर हेर्दै धेरै बेर रमाइरह्यौँ । आनन्दानुभूतिको रसपान गरिरह्यौँ ।

महेन्द्र गुफा पोखराको अर्को  प्रसिद्ध पर्यटकीय स्थल हो ।  यो गुफा पोखरा महानगरपालिकाको  बाटुले चौरमा छ ।  लगभग १ सय २५ मिटर लम्बाइ भएको यस गुफाभित्र छिर्न फराकिलो बाटो रहेछ तर निस्कने बाटो चाहिँ निकै सानो र अप्ठ्यारो रहेछ । गुफाभित्र गणेशस्थान र शिवलिङ रहेका छन् । गुफाको दायाँ बायाँ भागमा विभिन्न आकृति देख्न सकिन्छ । पोखराको पृथ्वीचोकबाट झन्डै ८ किलोमिटर उत्तर पश्चिममा पर्ने यस गुफासम्म मोटर बाटो पुग्छ ।  हाम्रा पथप्रदर्शकले बताएअनुसार राजा महेन्द्रले २०१७ सालमा उद्घाटन गरेपछि यस गुफाको नाम महेन्द्र गुफा रहन गएछ । गुफामा स्वदेशी तथा विदेशी पर्यटकको भिडभाड थियो । गुफाभित्रको अँध्यारो चिप्लो बाटो अनि तपतप चुहिने पानीका थोपाले कतै पाताल लोकतिरको यात्रामा पो छौँ कि भन्ने भान हुन्थ्यो ।

महेन्द्र गुफामा धेरै बेर रमाएपछि छोराले वेगनास ताल जाने इच्छा गरेपछि हामी वेगनास तालतिर लाग्यौँ । बेगनास ताल पोखराको अर्को रमणीय पर्यटकीय स्थल हो । यो ताल पोखराको मुख्य सहरदेखि पूर्वमा रहेको छ  । यस तालको क्षेत्रफल ३.७३ वर्ग किलोमिटर रहेछ । यस तालको  औसत गहिराइ नौ मिटर रहेको छ  भन्ने त्यहीँ राखिएको पाटीमा पढेर थाहा पाइयो । यहाँ डुङ्गा सयर गर्न र माछा खान मानिसहरू आउँदा रहेछन् । यस तालबाट नहर निकालिएको रहेछ । नहरको पानीबाट खुदी फाँट र मालमूल फाँटमा सिँचाइ हुँदो रहेछ  । यो क्षेत्र  पहिले जेठो बुढो धानका लागि प्रसिद्ध थियो रे । अहिले प्रकृतिमाथिको मानव अतिक्रमणको शृङ्खलाले यहाँ पनि च्याप्दै लगेको देखियो ।

वेगनास तालमा डुङ्गा चढेर पारिवारिक गफ गर्दै हामी धेरै बेर घुम्यौँ । परिवारसँग रमाउनु जीवनको आनन्द हो ।  म रमाउँदै थिएँ, डुङ्गाबाट तालको पानी झिकेर छ्याप्दै छोराले भन्यो, “बाबा π अब हामी डेभिस फल्स जाने ल π” उसले यसका बारेमा पढेको रहेछ तर प्रत्यक्ष दृश्यावलोकन गरेको थिएन । हामी एउटा ट्याक्सी लिएर त्यतातिर लाग्यौँ । कुनै समयमा स्विस डेभी दम्पती यस छाँगोभन्दा केही माथि नुहाइरहेका थिए । अचानक फेवातालको बाँध खोलियो । झरनाको रमाइलो हेर्दै नुहाइरहेकी श्रीमती डेभिसलाई पानीले बगायो र उनी बेपत्ता भइन् ।

उनको मुत्युपछि वि.सं. २०१८ देखि यसको नाम डेभिस फल्स राखिएको रहेछ । यसको वास्तविक नाम चाहिँ पात्ले छाँगो रहेछ । छोरेपाटनमा पर्ने यस छाँगाको पानीको मुहान फेवाताल हो । फेवातालको ड्यामसाइडबाट निस्केको पानी यहाँ छाँगाको रूपमा खसेर पाताल हुँदै फुस्रेखोलामा निस्कन्छ । यो छाँगो पोखराको केन्द्र पृथ्वीचोकबाट दक्षिण पश्चिमतर्फ गुप्तेश्वर गुफाको उत्तरपट्टि सिद्धार्थ राजमार्गको किनारमा रहेको छ । यस स्थलको अवलोकन गर्न वार्षिक करिब दुई लाख पर्यटक आउने गर्छन् ।  यो छाँगाको गहिराइ करिब १०० मिटर रहेको छ । हामी पुग्दा यस टाँगामा बर्से भेल उर्लिरहेको थियो । हेर्दा एउटा विशाल नदी गडगडाहट आवाजसहित पाताल प्रवेश गरेझैँ लाग्थ्यो ।

यो झरना जमिनको सतहभन्दा तल रहेछ । झरनाको पानी गुप्तेश्वर गुफातर्फ झर्दो रहेछ । हिउँदमा भन्दा वर्षामा झरना हेर्न लायकको हुने रहेछ ।  जमिनमाथिबाट झरेर जमिनभन्दा तलसम्म झर्ने यो झरनामा हेरेर प्राकृतिक आनन्द लिन सकिने रहेछ । फेवातालबाट निस्केको सोतो पानी, छङछङ बजिरहेको झरनाको आवाज र जमिनमुनि पानी पस्दाको अनुभव त्रासद आनन्दी हुँदो रहेछ । डेभिड फल्स परिसरभित्र रहेका विसपुल र मनोरञ्जन पार्कमा  विद्यार्थी पनि रमाइरहेका थिए ।

डेभिस फल्सको नजिकै अर्कोतर्फ गुप्तेश्वर गुफा छ ।  गुप्तेश्वर गुफा पुग्न जमिनबाट करिब १५० मिटर तल झर्नुपर्छ । तल झर्न सिँढी बनाइएको छ । यहाँ जान टिकट लाग्दो रहेछ ।  यस गुफाबाट पातले छाँगाबाट खसेको पानीको सौन्दर्य देख्न सकिन्छ । गुफाभित्र मन्दिर छन् । खुला ठाउँ पनि छ । कामधेनुको गोठ छ ।  यो गुफा दक्षिण एसियाका ठुला गुफामध्ये पर्ने रहेछ । यो गुफा हेर्दा मलाई मौका मिलाएर सबैले एक पटक यो गुफा हेर्नुपर्ने रहेछ भन्ने लाग्यो ।

डेभिस फल्स र गुप्तेश्वर गुफाको नजिकै फेवाताल छ । फेवाताल पोखरामा आन्तरिक बाह्य पर्यटकको आकर्षण हो । फेवा गाउँको छेउमा रहेकाले धेरैले यसलाई फेवाताल भनेका रहेछन् ।  वैदाम गाउँको छेउमा पर्ने हुँदा यसलाई  वैदाम ताल पनि भनिँदो रहेछ । यसको बिचमा बाराही मन्दिर छ । मन्दिरमा डुङ्गा चढेर जान सकिन्छ । यहाँ शुल्क लिएर मन्दिरसम्म वा तालको निश्चित भागसम्म डुलाइदिने नाउ पाइन्छन् । आकाश सफा हुँदा यस तालमा माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देखिँदो रहेछ  । साहित्यिक मनले माछापुच्छ्रे र अन्नपूर्णले डुङ्गामा बसेर फेवा घुमेझैँ ठान्दो रहेछ । एकैछिन देखिने यस्तो  दृश्यले हाम्रो मनलाई आनन्द र हर्षको अर्को संसरमा पुर्यायो । हामीलाई घुमाउने नाविकले भनेअनुसार यहाँ घाम झुल्किँदा र अस्ताउँदाको दृश्य पनि मनलाई प्रफुल्लित बनाउने किसिमको हुन्छ ।

फेवा ताल समुद्रको सतहभदा ७४२ मिटर (२४३४ फिट) को उचाइमा  रहेको छ । लगभग ५.२३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस तालको औसत गहिराइ ८.६ मिटर (२८ फिट) रहेको छ  । यस तालको उत्तर दिशामा अन्नपूर्ण हिमशृङ्खला मुस्काइरहेको देखिन्छ ।  यो फेवातालबाट  लगभग २८ किलोमिटर मात्र टाढा छ । यस तालको पानीमा माछापुच्छ्रे र अन्नपूर्णाका प्रतिबिम्ब माछाको पौडाइझैँ तैरिरहेको देखिन्छ । आफैँले चलाउने  पेडल बोट लिएर धेरै बेर पानीमा खेलिरह्यौँ । घरी फेवाको किनारमा पुगेर रमायौँ, घरी फेवाको मुटुमा हरायौँ । पारिवारिक सल्लाहअनुसार आजको हाम्रो यात्रा यहीँ टुङ्ग्याउने निर्णय भयो । हामीले नजिकैको एक होटेलमा बास बस्ने मेसो मिलायौँ । बेलुका तालबाराही मन्दिर नजिकै फेवाकिनारमा सन्ध्या आरती हुँदो रहेछ । यो हेर्न नेपाली र विदेशी पर्यटक तथा स्थानीय झुम्मिँदा रहेछन् । हामीले पनि सन्ध्या आरती र पोखराको सन्ध्या जीवनशैलीको आनन्द लिन पायौँ । मलाई आजको दिन धन्य भएको अनुभूति भयो ।

आज बिहानै तालबाराही मन्दिरको दर्शन गर्ने सुरले हामी फेवातालको किनारमा पुग्यौँ । तालको बिचमा रहेको मन्दिरमा दर्शनार्थीको निकै भिडभाड हुन्छ । यस मन्दिरमा  कसैलाई पनि प्रवेश निषेध छैन । यो मन्दिर कास्कीका राजा कुलमण्डन शाहले स्थापना गरेका रहेछन् । प्राचीन कालमा माटाको ढिस्कामा एउटा शिला थियो रे । पछि त्यहीँ मन्दिर स्थापना गरी बाराही भगवतीका रूपमा पूजाअर्चना गर्न थालिएको रहेछ । मन्दिर परिसमै रहेका एक पुजारीका अनुसार यस मन्दिरको उत्पत्तिको किंवदन्ती पनि अनौठो रहेछ ।

प्राचीन कालमा बाराही देवी सन्यासीको  भेषमा  यस ठाउँमा आइछन् । रातको समयमा सन्यासी भेषमा आएकी देवीलाई कसैले बास दिएनछन् । एउटी गरिब बुढी महिलाले चाहिँ उनलाई वास दिएर आफूसँग भएको रोटी खान दिइछन् । भोलिपल्ट बिहान सन्यासी रूपकी देवी जान लाग्दा उनले भनिछन्, “ आमा अब तपाईँ यहाँ नबस्नू । भोलि यहाँ बाढी आएर यो ठाउँ जलमग्न हुन्छ  ।” नभन्दै भोलिपल्ट यहाँ ठुलो बाढी आएर जलमग्न भएछ र मन्दिर बनेको ढिस्को मात्र बाँकी रहेछ ।

पहिले प्राकृतिक शिला र खरको छानो रहेको मन्दिरलाई वि.सं. २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूप दिएका रहेछन् । यस मन्दिरमा पुग्न सहरका मुख्य भागबाट गाडी पाइन्छ । मन्दिरमा पुग्न पनि साना ठुला डुङ्गा पाइन्छन् । मन्दिरमा बसेर वरिपरिको तालको पानी र प्राकृतिक हरियाली नियाल्दा मन हर्षले ढक्क फुलेर आउँछ र शिर नेपालप्रति नतमस्तक हुन्छ ।

फेवातालमाथिको डाँडामा सेतो गुम्बा रहेको छ । यसलाई शान्ति स्तूप पनि भनिन्छ । यो स्वदेशी विदेशीको पर्यटकको आकर्षणको केन्द्र हो । हामीले यहाँबाट पोखरा बजार, फेवाताल, हिमाल, सराङकोटको डाँडालगायतका सुन्दर दृश्यको अनुभव गरेर रमायौँ । रमाउँदै फोटा खिच्यौँ । आकाश उघ्रिएकाले वरिपरि हेर्न पायौँ ।

पोखरामा अन्य धेरै  ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल रहेका छन्  । वागेश्वरी मन्दिर, भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर,सराङकोट भ्युटावर, चण्डीको डिल, मेथलाङ डाँडा, जस्ता रमाइला ठाउँ पनि रहेका छन् । यस पटक यी ठाउँ हेर्न मौका मिलेन ।

नयाँ ठाउँले नयाँ विचार उमार्छ । विचार सृष्टि हो । यात्रामा गरिएका अनुभूतिले भूगोल, समाज, संस्कृति र इतिहासलाई जीवन्त राख्छन् ।