“बुद्धको मावली गाउँतिर घुम्न लैजानुस् न एकदिन !” मैले नेत्रलाई अनुरोध गरेको पनि धेरै दिन भइसकेको थियो ।
आज २०८० साल असोज २१ गते शनिवारका दिन बल्ल साइत जुरेको छ ।
आधा दिन ढल्किसकेको छ । पैतालाले तय गरेको गन्तव्यमा टेकेर मात्र पनि भएन । अर्कोचोटी आउँला र केही लेखूँला भन्दै हतार गरी फर्केका अनगिन्ती ठाउँहरूको धमिलो स्मृति मात्र छ मसँग अहिले । म सचेत छु– आजको यात्रा धमिलोको गर्तमा पुरिने छैन, एउटा अजम्मरी सम्झनामा साँचिनेछ ।
आखिर जिन्दगी भन्नु खातै–खात सम्झनाको सङ्गालो नै त हो ! सम्झनालाई लयबद्ध र गतिशील राख्न सके पो जिन्दगी पनि ऊर्जाशील बनिरहन्छ । सम्झनामा चोट लाग्न हुँदैन । रगत बग्न हुँदैन । अनि खिल गडेको पिलोझैं दुखिरहन पनि हुँदैन ।
बुद्धकी आमा मायादेवी, कान्छीआमा प्रजापती गौतमी र बुद्धकी पत्नी यशोधराको जन्मस्थान हो देवदह । अर्थात् बुद्धको मावली र ससुराली गाउँ हो देवदह । यत्ति थाहा थियो मलाई । त्यसक्षेत्रको भ्रमण गर्ने तीब्र हुटहुटीले छटपटिंदै आएको थिएँ म । आज साइतको दिन समेत ढिला हुन लाग्दा बेचैन छु । बाटोका खाल्डाखुल्डी र मान्छेको भीडले एकाध मिनट ढिला हुनु स्वाभाविकै हो । समय घर्कंदै जाँदा राम्ररी यात्राको अनुभूति गर्न नपाइने हो कि भन्ने चिन्ताले खग्रास छु ।
आफूसँग जे छ सम्पन्नता भन्नु यही मनमुटु भरिको खुशी । यही खुशीले भरिएको आकाश जग्मगाइरहोस् म माथि । खुशीका इन्द्रेणी रङहरू टाँगिइरहुन् मनको क्षितिजभरि ! हरेक पाइला सम्मुख बर्सिरहुन् अनन्त खुशी । यत्ति कामना छ मेरो । त्यसैले त, खुशी जोगाउन भीर जस्तो बारीमा पनि जसोतसो अडिंदै र घिस्रिंदै लगाएको छु मेहनतको फसल । पसिनाको सुवासले लहलहाउँदै हुर्किरहेछ मेरो फसल । मस्तिष्कदेखि निश्रृत अमृतलाई मनको कुलोबाट बगाउँदै सिञ्चित गरिरहेछु बारी । मेरो बारी अब्बल हुन नसकी चाहार भए पनि कहिल्यै बाँझो रहँदैन, रुखो हुँदैन । र त, मेरो साँघुरो मन–मझेरीमा पनि असीमित खुशीहरू फक्रिरहेछन्, फुलिरहेछन् र फलिरहेछन् निरन्तर, निरन्तर !
असल मनोकामना मनमनै दोहर्याएँ मैले । उत्निखेरै एउटा सन्देश फैलियो हृदयमा र झन् बढी खुशी फक्रियो मनमा–दुःस्वप्न बिर्संदै र मनको धमिलो धुँदै हिंड्ने यायावरलाई मसिना अवरोधहरू पैतालाको धुलो बराबर !
“प्राचीन कोलीय गणराज्य अन्तर्गत पर्ने हालका देवदह, रामग्राम र सुनवल क्षेत्रका धेरै ठाउँहरू प्रख्यात छन् । खासगरी भवानीपुर, मायादेवी माइती मन्दिर, प्राचीन कुवा र पाकरीवृक्षतिर तानिन्छन् मान्छेहरू । कन्यामाई, बैरीमाई, खयरडाँडा, पण्डितपुर, माथागढी किल्ला आदि ठाउँ हेर्न पनि उत्तिकै लालायित हुन्छन् मान्छेहरू । आज कहाँसम्म जाने त हामी ?”
“साँच्चै ! बुद्धको मावली र ससुराली गाउँ पच्छ्याउँदै कहाँसम्म जाने त आज हामी ?”
बुटवलबाट भैरहवातिर सोझिएको मूलबाटो छोडेर मणिग्रामबाट पूर्वतिर लाग्नासाथ नेत्रको सोधनीसँगै छलफलमा थियौं हामी ।
“जान, हेर्न र फर्कन भ्याइने ठाउँहरूमा लैजानुस् न त आज । कुन बाटो जाने र के के देखाउने सप्पै जिम्मा तपाईंकै भयो !” यत्ति बोलें यतिबेला म ।
विगत तीन चार महिनादेखि सँगै काम गरिरहेका सहकर्मी नेत्रलाई असल सारथि मानिरहेको छु मैले ।
“त्यसो भए भवानीपुरको मायादेवी माइती मन्दिर हेर्दै पाकरीगाउँको पाकरीवृक्षसम्म पुगौं त नि ।” हामीलाई सुनाएझैं गरी सुस्तरी सुस्तरी शायद आफैसँग बोल्नुभएथ्यो नेत्र ।
धानका विशाल फाँट फैलिएका छन् सामुन्ने । धान खेत धेरैजसो हरियै छन् । कतै कतै मात्र पहेंलो वर्णमा फेरिन लागेको छ । यी धानका फाँट छेउछाउबाट कुद्दा मनको फाँट पनि विस्तारित भएझैं लागिरहेछ । मनको फाँट फैलिंदा संसार झन् विशाल लाग्दो रहेछ ।
अलिकति जङ्गल छोडियो । बाटोका डीलभरि अनौठा पोथ्रे बिरुवाहरू इमानदार सिपाहीझैं पङ्तिबद्ध उभिए ।
“के जातका बिरुवा होलान् यस्ता ?” मरुभूमिमा हरियाली जोगाउन रोपिएका जस्ता बिरुवातिर देखाउँदै सहयात्रीसँग आश्चर्य प्रकट गरें मैले ।
“छतिवन !” राधा र नेत्रको मुखबाट एकै स्वरमा उत्तिकै आश्चर्य र विष्मय भावमा निस्कियो एउटै शब्द ।
“हाम्रो स्कूल छेउमा झ्याम्म परेको छतिवनको रूख थियो । विषालु हुन्छ भनेर त्यसको छेउछाउ पनि जाँदैनथ्यौँ हामी । छतिवनको पात वा काण्डमा चोट लाग्दा दुधालु चोप निस्कन्थ्यो । त्यसको चोपले आँखा फुट्छ भन्थे । गाईवस्तुले पनि खाँदैनथे !” राधाले आफ्नो बाल्यकाल सम्झिइन् ।
“यसको सम्पर्कको हावा पनि स्वस्थ्यकर हुँदैन भन्छन् मान्छेहरू !” नेत्रले थप्नुभयो ।
कसरी हुर्काइए त यतिधेरै छतिवनहरू ? कसैको दान, अनुदान वा कमिशनमा पर्यो कि कोही कतै ? मनभरि शङ्का र जिज्ञासा भए पनि अड्कलेर बोलें म– “विषालु विरुवा भए त यत्रो उर्बर फाँट छेउ किन रोपिन्थ्यो होला र ?”
अनभिज्ञता उपर सान्त्वनाको पर्दा खसाल्दै फेरि फुस्फुसाएँ म – “बेकम्मा छतिवन रोप्नु भन्दा त आँप, लिची वा जामुनका विरुवा रोपेको भए जाती हुने थियो नि !”
एकछिन सन्नाटा छायो हामी बीच । सान्नाटाले एउटा संशयको बादल भने खसालिरहेथ्यो हामी वरपर सबैको मनमा यतिबेला छतिवनको छाया परेको हुनुपर्छ । अनि असल कामनाले शुद्ध पार्न खोजें धमिलिएको मन– विषाक्त छायाहरू पन्छिँदै जाऊन् यी मनहरूबाट र यो धराबाटै ।
रोहिणी खोला तरेर अघि बढियो । एकैछिनमा पुगियो भवानीपुर । भवानीपुरमा ओर्लियौं हामी ।
पर्खालभित्र एउटा विद्यालय छ । विद्यालयको छेवैमा छ एउटा मन्दिर । मायादेवी माइती मन्दिर रहेछ यो । नजिकै छ शिव मन्दिर । यी मन्दिरहरूको पूर्वतिर सगर्व उभिएको छ नवनिर्मित सुन्दर स्तुपा । मन्दिर परिसरमा भरिभराउ छन् साल र सिसौका रूखहरू । पुराना स्तम्भहरू– केही सग्ला र केही भाँचिएका, अनि केही ढलेका छन् । मायादेवी र बुद्धसँग सम्बन्धित पुराना मूर्तिहरू छन् मन्दिरमा । गणेश, शिव र विष्णुका मूर्तिहरू पनि छन् । पीपलको रूखमुनि एउटा गहिरो प्राचीन कुवा छ । पीपलका जराहरू बटारिंदै र मोटाउँदै जाँदा कुवा पनि पुरिंदै जान लागे जस्तो देखिन्छ ।
बुद्धको मावली गाउँमा पहिलो दृष्टिमै देखिएका निशानीहरू थिए यी । घुमीघुमी हेरें सेरोफेरो । बुद्धकालीन घटना र परिवेश सम्झँदै र भवानीपुरसँग दाँज्दै अनेक ऐतिहासिक गुत्थीहरू भित्र हराएँ म धेरैबेर । साँच्चै, सिद्धार्थलाई बोधिसत्व दिलाउन यो माटोको महक पनि उत्तिकै प्रेरक थियो होला ।
“उत्खनन गर्दा ढुङ्गेधारा र पर्खाल भेटिएको थियो । पीपलवृक्ष भएनेर सालवृक्ष थियो रे पहिला । मायादेवीको माइतीघर यहीं थियो रे । पुराना सिक्का र भाँडाकुँडाहरू पनि निकै भेटिन्थे पहिले–पहिले त ।” स्थानीय बुद्धिराम थारुले अनेक प्रसङ्ग सुनाउँदै जानुभयो ।
“अशोकस्तम्भ हो नि यो ।” अलिकति शीरभाग मात्र देखिएको पत्थरको स्तम्भतिर सङ्केत गर्नुभयो बुद्धिरामले ।
धेरै भाग गाडिएको हो वा भासिंदै तल गएको हो अशोकस्तम्भ ! अनुमान गर्न सकिनँ मैले । तथापि, मायादेवीको जन्मस्थलबारे ऐतिहासिक पक्ष उजागर गरिरहेको अशोकस्तम्भ देख्न पाएर अघ्घोरै हर्षित भएँ म ।
कोलीय गणराज्यको राजधानी देवदह थियो । त्यो राज्य पूर्वमा सदानिरा अर्थात् नारायणी, पश्चिममा रोहिणी, उत्तरमा हिमालय र दक्षिणमा भारतको गोरखपुरसम्म फैलिएको थियो रे । तथापि तत्कालीन राजधानी ठ्याक्कै कुन ठाउँमा थियो ? दरबार र संरचनाहरू के कस्ता थिए ? आदि अनेक कुराहरू इतिहासकै गर्तमा छन् । उत्खनन जमीनमा मात्र होइन, मनभित्र पनि गर्न जरुरी छ । वस्तुस्थिति, सूचना र तथ्यलाई निष्पक्ष र होशियारीपूर्वक केलाउनु छ र दुरुस्त स्वरूपमा उभ्याउनु छ बुद्धकालीन सभ्यता ।
आफ्नै स्पन्दनमा बुद्ध पाएर रोमाञ्चित र तरङ्गित हुँदै थिएँ म, साथीहरूले कोट्याए, “पाकरीवृक्षसम्म पुग्न ढिला हुन्छ कि ?” अनि हतारिंदै पाकरीगाउँतिर हानियौं हामी ।
खेतको बीचमा फेदै ढाकिनेगरी गुम्बजझैं फैलिएको विशाल वृक्षको सामुन्ने पुर्याउनुभयो नेत्रले । अनि हुर्रिंदै पाकरीकै फेदमा पुग्यौं हामी ।
“हेर्नुस्, ब्रह्मा, विष्णु, महेश्वर र गणेशको आकृति ! अनि यहाँनेर स्तनपान गराइरहेकी महिला, यतापट्टि आमाको काखमा आनन्दित बच्चा ! यो अक्टोपस आकृति ! यो कछुवा र यो शिर ठड्याएको गैंडा ! सबैले हेर्नुस् है !” एकजना दुब्लो पातलो व्यक्तिले भट्याइरहनुभएको छ ।
अँ, हो ! को स्वीकारोक्तिसँगै केही मान्छेहरू अघिपछि लागिरहेका छन् । रूख वरिपरि अलिकति पानी तालिएको छ । फड्कँदै हिंड्न मिल्नेगरी फाट्ट–फुट्ट पुराना ईंटाहरू ओच्छ्याएका छन् । चिप्लिन्छ कि वा हिलोमा खुट्टै गाडिन्छ कि भन्ने शङ्का र सकससाथ भलाद्मीलाई पच्छ्याउन थालें मैले पनि ।
“छब्बीस सय वर्ष पुरानो बुद्धकालीन पाकरी वृक्ष हो यो ! बुद्धले ध्यान र योगसाधना गरेका थिए रे यहीँ ! यसमा गिद्ध, काग, बकुल्ला लगायतका ठूला चराहरू बस्दैनन् र गुँड पनि लगाउँदैनन् ! यसको नगिच हात्ती पनि आउँदैन !” भलाद्मीका शब्द र वाक्य मनमा आनन्दको मादल बजाउँदै नाचिरहेछन्, उफ्रिरहेछन् ।
पाकरीको फेदमा गुडुल्किएका जरालाई पनि मूर्ति मानेर पुजिंदो रहेछ । कतै रङ अवीर त कतै धजा चढाइएको छ । पाकरीवृक्षलाई रातो, सेतो धागोले बेरिएको छ ।
पाकरीका हाँगा बटारिएका छन् । मसिना हाँगामा समेत थोद्रो पसेको छ । तथापि वृक्ष कमजोर देखिंदैन । पाकरीका हाँगामा पुराना लहराहरू बेरिएका छन् । पाकरीका कति हाँगाले त भुइँ छुन निहुरिएका छन् । मानौं बुद्ध यतै कतै छन् । उनको पयर छुन चाहन्छन् यी हाँगाहरू । शायद बुद्धले टेकेर छोडेको धुलोको स्पर्शले आलोकित हुन चाहन्छन् हरेक रूख विरुवा पनि ।
“यहाँ गोमन सर्पले वृक्षको रक्षा गर्दै आएको छ ! सदाबहार रहिरहन्छ पाकरी !” धोद्रो पसेको पाकरीको फेदतिर देखाउनुहुन्छ भलाद्मी ।
नेत्रतिर फर्कन्छु म । धेरैपटक सुन्दै आएकोले ‘होला’ भन्ने भाव बुझाउने मुखाकृति बनाउनुहुन्छ नेत्र बेलबासे ।
“यहाँ गोहीको आकृति ! यता दुइटा हात्ती ! पुजारी र शिवलिङ्ग !” एउटा वृक्षलाई यति धेरै अलङ्कारका आभूषण पहिर्याइदिएको पहिलोपटक देखें मैले । बुद्धका दिव्य ज्ञान–चक्षु पाएर धर्ती नै अनुगृहित छ । यत्तिको अभिव्यक्तिलाई के अतिशयोक्ति मान्नु र ? धन्य यो बसुन्धरा ! धन्य देवदह ! धन्य पाकरीवृक्ष !
छेवैको बोर्डमा अङ्कित सूचना पनि बोलिरहेछ उसरी नै – यो पाकरीवृक्ष एसियाकै पुरानो र ठूलो वृक्ष हो ।
साँच्चै यतिधेरै फैलावट भएको वृक्ष आजसम्म देखेको रहेनछु मैले । स–सानो पहाडी थुम्कोझैं सगर्व उभिएको छ पाकरी । फेदबाट हेर्दा बुढो देखिए पनि बाहिरबाट हेर्दा सर्सराउँदो र सदावहार देखिएको छ ।
“पीपल परिवारकै सदस्य हो पाकरी । हेर्नुस् त, पीपलको झैं हाँगाबाट जरा निस्केर भुइँ टेकेको ।” पाकरी बखानमा निमग्न भलाद्मीसँग केही नबोली सास रोकेर सुनिरहेछु, नियालिरहेछु मैले । पञ्चपल्लवमा पर्दछन् आँप, वर, पीपल, डुम्री र पाकरी । यस्तै किताबी ज्ञानलाई भलाद्मीका अनुभवसँग चुपचाप मिसाइरहेछु ।
पाकरीलाई दुई फन्को लगाएपछि बल्ल भलाद्मीको नाम सोधेँ मैले । स्थानीय रुद्र पाण्डे हुनुहुँदो रहेछ उहाँ । पाकरीवृक्ष संरक्षणका लागि भइरहेका कामहरू बारे पनि जानकारी गराउनुभयो ।
पाकरीलाई साथमा राखेर अनेक पोजमा खिचेकी रहिछिन् प्रज्ञाले । अनि मोबाइल स्क्रिनमा सर्सरी देखाइन् पनि । आफूलाई थाहै नदिई खिचिएका फोटाहरूको रूप रङ बडो गज्जब लाग्छ मलाई । फोटाहरू बोल्छन् मसँग सुस्तरी सुस्तरी– कसैले ध्यानपूर्वक केही लेखिरहेको छ । होशियारीपूर्वक पाकरी परिक्रमा गरिहेको छ । श्रद्धापूर्वक पाकरीका हाँगा र पयर स्पर्श गरिरहेको छ । अनि आस्थापूर्वक बुद्धलाई पनि खोजिरहेको छ पाकरीका फेदमा ।
हो, फोटाहरूले सत्य बोले । पाकरीको फेदमा उभिँदा अन्तरहृदयमा स्पर्शित बुद्धको अनुभूतिले उत्फुल्लित थिएँ म ।
फर्कन लाग्दा पाकरीवृक्षतिर फेरि एक नजर लगाएँ मैले ।
पद्माशन कसी भू–स्पर्श मुद्रामा ध्यानस्थ देखिए गौतम बुद्ध । उनको अर्धमुदित नयनबाट ज्ञानको मसिनो ज्योति निस्केर विस्तारित हुँदै–हुँदै धर्ती आकास उज्यालिएको छ । उनको अन्तष्करणबाट शान्तिको मधुरो धुन निस्किरहेछ । त्यही धुनसँग लय मिलाउँदै चिर्बिराइरहेछन् चराचुरुङ्गी । नाचिरहेछन् समस्त जीवात्मा । अनि हाँसिरहेछ धरा र प्रकृति । सर्वत्र फैलिरहेछ बुद्धको करुणा र प्रज्ञान ।
अहो ! मैले पाकरीवृक्ष मात्र देखें वा पाकरीकै फेदमा ध्यानस्थ बुद्ध ? म द्विविधामा छु, अचम्मित छु, आश्चर्यचकित छु । तथापि उत्तिकै तृप्त छु, उत्साहित छु र आह्लादित पनि छु ! असल बाटोमा लागिरहन झन् ठूलो प्रेरणा मिलेको छ मलाई !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










