स्वप्निल नियात्रामा कञ्चनजङ्घाको चित्र ! कसलाई थाहा होला र यथार्थमा त्यति सुन्दर भनेर ? वाह ! हाम्रो कञ्चनजङ्घा, खासमा कञ्चनजङ्घा नै हो स्वर्गको उपमा । अनि, आर्थिक रूपान्तरणको आधार, गौरव पनि ! कञ्चनजङ्घा सुनेको मात्र हो ।  हाम्रै सेरोफेरोमा हिरा छ भनेर अनुमान समेत थिएन । चाँदी जडिएको पहाड, त्यो विशाल धुपीको बगान अनि सल्लाले बनाएको सौन्दर्य, घाँसे मैदानको शिरमा पत्थर – मनमोहक बनाउने भेटियो । त्यहाँ पुग्दा स्वर्ग अर्को छैन, यो नै सत्य स्वर्ग हो भन्ने बनायो । जीवनमा एक पल्ट हरेक व्यक्तिलाई निम्तो गरेको महसुस गरायो ।

गाउँपालिकाको भव्य शुभकामनाले यात्रामा जोस नबढाएको होइन । त्यो भन्दा झनै उत्साह हिमाल नजिकदेखि हेर्नु थियो । होम स्टे स्थापना र बाटो सहज बनाएर पर्यटकको सङ्ख्या बढाउनु थियो । पत्रकारबाट छलिएको, प्रचारबाट अन्यायमा परेको यथार्थ बाहिर निकाल्नु थियो ।

त्यसकै निम्ति कार्यालयको बिदाइ ग्रहण गरेर हामी साँझ याम्फुदिन पुग्यौं । खाना खाएर आराम गर्न तिर लाग्यौं । सबैलाई भोलिको कठिन उकालोको यात्राले चिन्तित बनाएको थियो  । डरभित्र उत्साह अनि कौतुहलता, जिज्ञासाका चाङले मन स्थिरमा थिएन । तर पनि धैर्यलाई सबैले साथमा लिने प्रयत्नरत थियौँ ।

याम्फुदिन देखिको यात्राले थकित बनायो । साँझ हामी नयाँ झोरेनी बास पुग्यौँ । दाजुभाइ होम स्टेको न्यानो स्वागतसँगै ‘चुङ्वा दोभान, याम्फुदिनको उकालो हिँड्नलाई गाह्रो छ, रेसम फिरिरि’ जस्ता गीतले थकान मेट्ने प्रयास गर्यौं । जोसले होस थामेन, लेकको चिसोलाई भुलाएर पसिना खलखल हुने गरी नाचगानको आयोजना भयो । सबै उठेर नजाने पनि कम्मर भाँच्नै पर्ने भयो । भाँच्यौ । मर्कायौं । थकान बिर्सिएर भए पनि माहौल नृत्यमय बनायौं ।

बिहान भरत भाइले जिपिएस, चन्द्र सरले फिता लिएर काममा  हिँड्न तयार भए । वडा अध्यक्ष असिमको कमेडी गफ र वडा अध्यक्ष कृष्ण गुरुङको मीठो मुसुमुसु मुस्कान, कार्यपालिका सदस्य रामले खोजिरहेको नयाँ कुराले केही छिन अलमलायो । सबै भाइहरू वाल्ल भएर गफ सुनिरहे । गफलाई जबरजस्त रोकेर काममा गयौं ।

बल्लतल्ल झण्डे डाँडा पार गरेपछि बेलुकीको वास तुप्लुङमा भयो । त्यहाँ पुग्दा चराको छिट्टफुट्ट आवाजले सबैको मन तान्यो । मुदल, प्युरा त तलै झरिसकेका थिए होलान् । साथीहरूले भने त्यो त डाँफेको आवाज हो । ३७ सय मिटर भन्दा अग्लो ठाउँ, जाडो त स्वाभाविक रूपमा हुने नै भयो । हामी त्यहाँ पोटर हाउसमा बसेका थियौं । होटेल, होम स्टे केही थिएन । अनिवार्य होम स्टे चाहिने ठाउँ भने हो नै रहेछ । हाम्रो साहसिक पदयात्राको कठिन रात तुप्लुङ नै थियो । जाडो धेरै भएकोले बाहिर आगो बालेर तातो रापमा फेरि नाचगान सुरु गर्यौं ।

दिनमा भन्दा रातमा गाह्रो हुँदो रहेछ श्वास प्रश्वासमा, झण्डै श्वास नरोकिएको । जेनतेने रात कटाइयो । बिहान भयो । बयालिस सय उचाइको तुप्लुङको उकालो पार गर्नु त्यति गाह्रो भएन । सजिलो बनाउने भनेकै त्यहाँको मनोरम दृश्य थियो । कञ्चनजङ्घा हिमशृङखला, मकालु यताको हिमाली फाँट, पहेंलिंदै गरेको घाँसे मैदान, चिमाल, धुपी र सल्लाले शृङ्गार गरेको पहाड लोभै लाग्दो देखिन्थ्यो । तिनै सुन्दरताले मेटाइदियो थकान । सजिलै कटियो दुन्दु डाँडा ।

दुन्दु डाँडामा पनि टि स्टेसम्म भएको भए कति गज्जब हुने थियो । तर, थिएन । किनकि यो साहसिक पद मार्ग हामीले बल्ल त खोलिरहेका छौं । बाटो खुल्ने बित्तिकै त्यो सब व्यवस्था हुने पक्का नै छ । दिनभर झाडी पेलेर नागर्जा पुग्यौं । नागर्जामा हिउँले गरेको स्वागत भुलेर भुल्न नसकिने थियो । नाच्यौ, रमायौ । हामीले गुनासो गर्यौ ।  गुमनाम स्वर्गको टुक्रोलाई हामीले हेला गरेका रहेछौं भनेर । हरेक नेपालीले अनिवार्य एक पल्ट टेक्नै पर्ने ठाउँ त यहाँ पो रहेछ भनेर ।

बेलुकी पेम्बा जिको बहिनीको होटेल रहेछ । चैराम पुगेर त्यहीँ होटेलमा हाम्रो बास बस्ने कुरो भयो । बस्यौं ।

बिहान मलेवा र कागले अभिवादन गरे । एसियाकै ठूलो धुपीको बगानले बिहानीको स्वागत गरेको भान हुन्थ्यो । हामीलाई त्यस्तै नै लाग्थ्यो । त्यो सुन्दरतालाई चिहाउँदा चिहाउँदै बाटो कटिएको थाहा नै भएन । कटे छौ वालुङ । भोटेहरूको पुरानो बस्ती । पुगेछौ, रामजेर नजिक । आहा ! कति समथल ? समथल जमिनको दायाँ बायाँ हिमालको घेरा, बिचमा नागबेली झै घुमेको छ साना साना हिम नदी । कतै कतै कुलुलु कुलुलु गर्दै बग्छ हिम चट्टानभित्र पानी । नदीमाथि नाच गान गर्ने पनि अवसर मिल्यो ।

एक झप्को पसिना रसाउने गरी पानी जमिएको हिम चट्टानमा नाचगान मचायौं । ‘अचम्म त यो थियो कि त्यहाँ हिरा, मोती त कति हो ? कति ?’ भीम नातिले भन्यो, ‘ओहो ! यो झ्वार ढुङ्गा जस्तो राम्रो जमेको हिउँ नबिल्नु भने दुई नम्बरीहरुले कति पैसो कमाउँथे है बाजे ?’

मैले सोचे, महारानीहरूले यतिको राम्रो हिरा पाएको भए कति सजिइन्थी होलिन् ? यसो टाउको हिमाल तिर उठाएर हेरे, तिनै हिउँको हिराले सजिएकी हिमाल मेरो अगिल्तिर देख्दा मनै मोहक बनायो । मैले मनमनै भने प्रकृतिले नि केही केही कुरो त कति मिलाएर सजाएको रहेछ ? हामी तब पुग्यौ रामजेर । हावा बतास जस्तै गरी मोडारिरहेको थियो । ग्ल्यासियरबाट उठेको होला, धुलाका कणहरू हिमालको कम्मर नजिक पुगेको थियो । त्यसले नि झनै रमाइलो बनायो ।

नेहुर भन्थे, ‘त्यसले नि हामीलाई स्वागत गर्न हाम्रो नजिक आइपुग्यो ।’ नेहुरको स्वागतसँगै कुल बहादुर, राम, कृष्ण र भरत ओक्ताङ तिर लागे । हामी चैराम तिर झर्यौ ।

त्यो यात्राको हरेक कुरो भुल्ने विस्मृतिको कुनै ठाउँ रहेन । अनुपम प्रकृतिको उपहास गर्ने विषय भेटिएन ।

बरु उत्साह नै उत्साह थपियो । गुनासो त झनै कति हो कति ? हामीले हाम्रै सम्पत्ति चिन्न सकेको रहेन छौं । लाखौं खर्च खेर फालेर विदेश घुम्न जाने र ठुला-ठुला चिल्ला घरहरूको बखान गर्ने मित्रहरूले किन देख्न नसकेका होलान्, ती स्वर्गको टुक्रा ?  त्यसले हीनता बोध गरायो ।

प्रकृतिको सुन्दरताले नयाँ-नयाँ सोचहरू जन्माइदियो । यो ठाउँको निम्ति केही गर्नुपर्छ भन्ने भावना जन्माइदियो । जय कञ्चनजङ्घा ! जय देश !