ठ्याक्कै यस्तै भनेका थिए
भीमदत्तले बैतडीमा
भिजाउँदै माटाको डल्लो
तातो र रातो रगतले
खोजेकै हुन् यही कुरा
बर्दियातिर
थारु बाले कतै भेटिएला भन्दै
फोर्दै भकारी सामान्तीको
चिच्याउन खोज्दा
यही कुरा
निथ्रुक्क भयो
सुखानीको धर्ती
रगतले
चिरिन्थ्यो छाती
उम्लन्थ्यो रगत
ज्यानको रगत
ज्यानमै सुक्दा
पढ्दा पढ्दै
खस्यो पुस्तक र
उक्लियो हातमा
बन्दुक
लागियो खोज्न
त्यही कुरा
फेरि
दिलबहादुर रम्तेलहरूको
झर्यो रगत
धरतीमा
भीमदत्तले बैतडीमा भनेको
रामनाथले सुखानीमा चिच्याएको
थारु बाले बर्दियामा नभेटेको
दिलबहादुर रम्तेलले मागेको
उही कुरा न हो
तर अझै माग्दैछौँ
च्यात्न खोज्दैछौँ
हामी
बालुवाटार र बानेश्वर अगाडि बसेर
माइतीघर र पुतलीसडकमा उभिएर
जाली तमसुक
हो
जाली तमसुक
भनिदेऊ न
कसैले त
कसले लेख्छन् यो
कहाँ बसेर
केले लेख्छन् यो
मेट्न नसकिने गरेर
केमा लेख्छन् यो
च्यात्न नसकिने गरेर ?
पोखरा ७, मासबार, कास्की



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० माघ २०८२, मंगलवार 










