भय भो । त्यसैले अपिल गर्नुपरेको हो । प्राज्ञ, सर्जक र मीमांसक समक्ष नै यो अपिल गरिएको हो । उनीहरू सुन्लान्, सुन्नुपर्छ । यदि विवेक पुर्याएनन् भने अर्को क्षेत्रमा पुगेर फिराद गरौँला । आशा गरौँ त्यो स्थितिसम्म पुग्नु नपर्ला । अन्तिम विकल्प ग्वाँ गर्नु हो, कलम रोकौँला । अक्षर युद्ध गर्ने रहर छैन । केवल भय मोचनको कामना मात्र हो । दुर्बलले त्योभन्दा बढी कामना गर्न सक्तैन पनि ।
भय ! नेपाली साहित्यको इतिहास धेरै मुलुकबाट सामग्री सञ्चित गरेर निर्माण गरिएको हो । त्यो साहित्यिक सम्पदालाई अर्काको नठानी हामीले आत्मसात् गरेका हौँ । आजको ज्ञानले हाम्रो साहित्यको इतिहासलाई पनि विघटित पार्ला कि भन्ने भय छ । डायस्पोराको तराजुले तौलिन थालियो भने सुसंयोजित इतिहास पनि चिरा–चिरा भएर टुक्रिने हो कि ! यो पनि भय हो । त्यसैले पनि अपिल गर्नुपरेको हो ।
हाम्रा स्वनामधन्य स्रष्टा वा कवि–लेखकहरू, जसको योगदानमाथि हामी नतमस्तक पनि छौँ, गौरव पनि गर्दै तिनलाई पनि डायस्पोराको तिलकले सम्मानित गर्नुपर्ने होला कि ! कुन–कुन देश र महादेशमा पुगेर ती श्रेष्ठ लेखकले कालजयी रचना दिए तिनलाई पनि डायस्पोराको पिँढीमा उभ्याएर तत्तत् देशमा प्रतिमाबद्ध गर्नुपर्ने हो कि ! यो चिन्तन सत्य सार्थक नहोस् भन्ने कामना त छ किन्तु डायस्पोराको झञ्झावातका अगाडि भयले अझ पोषण पाउने स्थिति छ ।
सत्य चेत वा आलोक अभेद भावले नै सञ्चारित हुन्छ । गुरु समानरूपले ज्ञान वितरण गर्छ र पात्र आफ्नो क्षमता अनुसार ज्ञान ग्रहण गर्छ । यो भन्ने नीति हो ।
एक जिस्ता कागज किन्न जाँदा पसलेले १७ ताउ दिन्छ । हामी त्यसैलाई एक जिस्ता ठानेर किन्छौँ । एक जिस्तामा नै २४ ताउ हुनुपर्छ भन्ने सोच अब मान्य हुँदैन । हठ गर्यो भने मुद्दा पर्छ र १७ ताउकै जिस्ता हो भनेर कोर्टले परमादेश गर्छ । के अदालतको आदेश अमान्य होला ? कि बालेन हुन सक्नुपर्यो ।
अर्थात् यो यो भूमिको सिर्जना र यो यो भूमि चाहिँ डायस्पोरा हुन्छ अरू हुँदैन भन्ने भेदक विचारप्रति आइन्दा नयाँ पुस्ता सहमत नहोला कि !
यस सन्दर्भबाट म भारतका साहित्यकार र तिनका सिर्जनालाई अत्यन्त दूरदर्शी र स्वाभिमानले भरिएका मान्छु । यिनले आफ्नो कला–साहित्यको परिधिभित्र डायस्पोराको कीटाणुलाई प्रवेश गर्न रोकेको अनुभव हुन्छ । गौरवका साथ उनीहरूले आफ्नो साहित्यलाई ‘भारतीय नेपाली साहित्य’ भन्ने पदावलीले चिनाउनु सङ्गतिपूर्ण ठाने ।
हो पनि मैले आफूलाई ‘आर्य’ भनेर किन पर्दा हाल्नु पर्यो । सिधै हरिराज भट्टराई भनेर पूर्ण परिचय दिए भएन ? किन जनजाति भनिरहनु पर्यो ? सिधै वीरहाङ राई भने समग्र परिचय खुल्दैन र ! किन जानु पर्यो बर्माको डायस्पोरा, दुबईको डायस्पोरा घुम्न ? भारतीय बन्धुहरूले छानेको शब्दावलीबाट सिके हुँदैन ? निःसङ्कोच भन्ने साहस गरौँ न –
अमेरिकाको नेपाली साहित्य वा अमेरिकी नेपाली साहित्य, क्यानडाको नेपाली साहित्य आदि-
चिनियाँ नेपाली साहित्य,
कोरियाको नेपाली साहित्य
बेलायती नेपाली साहित्य
इजरायली नेपाली साहित्य
इरानी नेपाली साहित्य
थाई नेपाली साहित्य
बर्मी नेपाली साहित्य
… … …
त्यसैले स्रष्टा, सिर्जना र प्रवृत्तिलाई जसरी हेरे पनि यो त्यहाँ रोकबार छैन । डायस्पोरा शीर्षकबाट पढिने रचनालाई तिनै देशको नामसँग जोडेर हेर्दा अध्ययन अपूर्ण हुने वा उद्देश्य बदलिने गर्दैन ।
समयको गतिसँगै प्रवास–प्रवासी, डायस्पोरा-डायस्पोरिक, शरणार्थी र अङ्गीकृतहरू हराउँदै जान्छन् । एउटा पुस्ता प्रवासी वा अङ्गीकृत होला, अर्को–अर्को पुस्ता त यहीँको को त्यहीँको तत्स्थानहरूको स्थानीय हुन्छ । त्यसैले डायस्पोराको अवधारणा अस्थायी सामयिक नौका मात्र हो जब कि जीवन र सिर्जनको सुदीर्घ परम्परा हामीले तोकेको समय सीमाभित्र अटाउन सक्तैन न प्राङ्गण बाधक हुन्छ ।
अस्थायी अवधारणा हो– डायस्पोरा । यो क्षयशील छ, आवधिक छ । पछिल्लो पुस्ताले सही दीक्षा पाओस् । हामी सही दिशा निर्देशन गर्न सकौँ । विज्ञ, आचार्य, सम्पादक र मीमांसको विवेकले ऊर्ध्व गति लिँदै जाओस् । अब अपिल–सन्दर्भ टुङ्गिनुपर्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१८ माघ २०८२, आईतवार 










