साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख ekantipur.com को शनिबारे विशेषांक कोसेलीबाट लिएका हौँ । यो लेख कोसेलीका लागि मनु ब्राजाकीले लेख्नु भएको हो । यहाँ क्लिक गरेर यस आलेखलाई कान्तिपुर (कोसेली) मै पनि पढ्न सक्नुहुनेछ ।

========

अनेसास अर्थात् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको यति चर्चा भएपछि ‘डायस्पोरा’ को चर्चा हुनु पनि स्वाभाविक हो ।

किनभने म अमेरिका ओर्लिएको केही महिनापश्चात् नै एउटा अन्तर्वार्ता दिनुपर्‍यो र प्रश्नोत्तर क्रममा डायस्पोराबारे पनि सोधिएको थियो । डायस्पोराबारे किन सोधिएको थियो भने अनेसासले नेपाल छाडेर, जुनसुकै कारणले भए पनि, संसारभरि छरिएका नेपालीहरूको नामकरण गरेको थियो- डायस्पोरा । र, यी डायस्पोराले देश छोड्नुको पीरव्यथा गाएर, सुसेलेर एवं कागजमा तथा डन्टरनेटको भित्तोमा लेखेर अभिव्यक्त गरेका कुराहरूलाई भन्न थालिएको रहेछ- नेपाली डायस्पोरिक साहित्य ।

देश छाडेर बिदेसिएका नेपालीहरूलाई ‘डायस्पोरा’ र उनीहरूले लेखेका साहित्यलाई ‘डायस्पोरिक साहित्य’ भनेर नामकरण गर्ने, विद्युतीय सञ्चार माध्यमबाट विश्वव्यापी प्रचार गर्ने, नेपालबाट विश्वविद्यालयका प्राडा झिकाएर डायस्पोरिक भनिने साहित्यको गुणगान गर्न लगाउने आदि इत्यादि कार्यहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले गर्दो रहेछ । यो प्रचार/प्रसार कतिसम्म व्यापक भइसकेको रहेछ भने नेपालबाट बाहिरिने प्रत्येक मनुवाले डायस्पोराको बिल्ला सहज रूपमा प्राप्त गर्दो रहेछ । अर्थात्, ठ्याक्कै पञ्चायतकालीन ध्येयवाक्य जस्तै- ‘सबै नेपाली पञ्च र सबै पञ्च नेपाली !’ यो पञ्चायती दायावादले बिदेसिएका नेपालीहरूको नवछायावादी परिचय बोकेको रहेछ- डायस्पोरा !

मैले अमेरिका आएपछि सन् २००९ अक्टुबर २४ तारिखका दिन फोनबाटै अन्तर्वार्ता दिनुपर्‍यो अमेरिकामा सञ्चालित वेभसाइट ‘खसखस डटकम’ का सञ्चालक वासु श्रेष्ठलाई । डायस्पोराको जगजगी मच्चिएको बेलामा वासुले मौका छोपेर सोधिहाल्नुभयो, ‘डायस्पोरिक साहित्यलाई यहाँले कसरी हेर्नुभएको छ ?’ मैले कतिबेर नलगाई उहाँको प्रश्नको जवाफ दिएँ । किनभने विद्यार्थी अवस्थादेखि नै म पुरातत्त्व र प्राचीन इतिहासको जिज्ञासु पाठक थिएँ र अहिलेसम्म पनि छु । अहिले यो संस्मरणात्मक प्रसंग लेख्दाखेरि पनि मैले कागजको पाना एन्ड्रयु डङ्कन र माइकेल ओपोटोवस्कीद्वारा लिखित ‘वार इन द होली ल्यान्ड’ भन्ने पुस्तकमाथि राखेको छु । जेरुसेलम भन्ने ‘होली ल्यान्ड’ का तीनवटै दाबेदार यहुदी, क्रिस्चियन र मुसलमानहरूबीचको द्वन्द्वमात्र होइन प्राचीनकालका असिरियन, बेबीलोनियन र रोमनहरूसमेतको विजयगाथा र यहुदीहरूको बिचल्ली र विस्थापनगाथा हो यो पुस्तक ।

त्यसबेला मैले टेलिफोन अन्तर्वार्तामा छोटकरीमै भए पनि यहुदीहरूको यसै दारुण विस्थापनलाई इजरायलको छिमेकी देश गि्रसका मानिसहरूले गि्रक भाषामा ‘डायस्पोरा’ भन्न थाले भन्दै मैले निष्कर्षस्वरूप यति कुरा भनेको सम्झना छ, ‘साहित्यले त देश र काललाई जितिरहेकै छ । साहित्य, कला र संगीतको स्वभाव सार्वभौम हुन्छ ।’ आज मलाई यस वाक्यमा ‘मानवता’ शब्द पनि जोड्न मन लागेको छ ।

अन्तर्वार्ता त सकियो तर म ‘डायस्पोरा’को चिन्तन मननमा भुमरिएँ । किशोरावस्थादेखि नै पुस्तकलाय र वाचनालय जाने अभ्यास छँदै थियो, यहाँ पनि यो अभ्यासले निरन्तरता पाइरह्यो । यहाँको पुस्तकालयको व्यवस्थापन अपूर्व रहेछ । मैले डायस्पोराबारे, विशेषतः डायस्पोरिक क्रियाकलापमध्ये साहित्यबारे, खोजिनीति गर्दा यसका सिद्धान्तकार एवं प्रवक्ता ठानिएका विलियम साफ्रानदेखि पाए/भेट्टाएसम्मका यस विषयका पुस्तकहरू पर्गेल्दा थाहा भयो साहित्य लेखनको क्षेत्रमा एउटा सानो आन्दोलनका रूपमा उदाएर अस्ताइसकेको कथित वाद रहेछ । डायस्पोराबारे मेरो चाख देखेर पुस्तकहरू उपलब्ध गराउन सहयोग गर्ने पुस्तकालयकी ती सहायिकाले आँखिभौं उचाल्दै एक दिन भनेकी थिइन्, ‘यो त आउट अफ डेटेड लिटरेरी ट्रेन्ड हो, सायद तपाईं थिसिस लेख्दै हुनुहुन्छ क्यारे ? अनावश्यक टिप्पणी गरेकीमा क्षमा चाहन्छु ।’

‘तपाईंको टिप्पणी उचित हो । धन्यवाद !’ भनेर म चुप लागें । र सोचें, सम्भवतः यिनी पनि साहित्यप्रेमी रहिछन् । मेरो सौभाग्य ! साहित्य, कला र संगीतका क्षेत्रमा यस्ता ‘ट्रेन्ड’ र वाद/विवादहरू ‘फेसन’ का रूपमा आउँछन् र कालान्तरमा बिलाएर जान्छन् । यस्ता ट्रेन्ड र वादका आधारमा लेखिएका, सिर्जनात्मक सामथ्र्य भएका प्रतिभाशाली लेखकद्वारा, रचनाहरू जीवित रहन्छन् । वाद र ट्रेन्डको हा-हामा पछि लाग्नेहरू बिलाएर जान्छन् ।

विश्वव्यापी रूपमा फैलिएको अथवा फैलाइएको डायस्पोरिक लेखनअन्तर्गतको कुनै पनि यस्तो कृति जसले विश्व साहित्यको उत्कृष्टताको मापदण्ड र मानदण्डलाई छिचोल्न सकेको अहिलेसम्म देखापरेको छैन । अब लेखिने सम्भावना पनि मृतप्रायः छ । तर हामी पुराणपन्थीहरूलाई यस्तै थोत्रा पुराना कुराहरू मन पर्छ । आफ्ना लागि आफूले नयाँ बाटो खन्नतिर लाग्नुभन्दा अरुले हिँडेर लक्ष्यविहीन भई त्यागेको बाटोमा भौंतारिन रौसिन्छौं । हामीमध्ये कुनै प्रतिभावानले नयाँ बाटो खन्ने जमर्को गर्‍यो भने कि त त्यसको उल्लीबिल्ली हुन्छ कि त त्यसलाइ ‘इग्नोर’ गरेर अँध्यारोमा पारिन्छ कि त त्यसको जस आफूले कुम्ल्याउन खोजिन्छ । हाम्रो यस्तोखालको बौद्धिक दरिद्रता अहिलेको यो राजनीतिक संक्रमणकालमा निकै फस्टाएको छ । यो अन्योल र स्वार्थजन्य डायस्पोरिक फेसन विश्वभरि छरिएका यहुदीहरूले फ्याँकेको थोत्रो बोरासरि आगामी दिनहरूमा निश्चित रूपले हुनेछ ।

डायस्पोराबारे पढेर मात्र चित्त नबुझेर कुनै यहुदीसितै यस विषयमा संवाद गर्ने तीव्र लालसा मभित्र रहिरहेकै थियो । र यहुदी सुशिक्षित हुनुपर्छ भन्ने चाहना पनि थियो । संगोगवश यस्तो मौका एक दिन फेला परिहाल्यो रेस्टुरेन्टमा । यो रेस्टुरेन्ट हामी पति पत्नी अमेरिका आउनुभन्दा केही महिनापहिले ज्वाइँ-छोरी मिलेर खोलेका थिए । सञ्चालनको कार्यभार छोरीले नै सम्हालेकी हुँदा हामी पति/पत्नी दिन बिताउन र रेस्टुरेन्टको काममा सक्दो सघाउन प्रतिदिन त्यहाँ जान्थ्यौं । रेस्टुरेन्टमा आउने दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिकाहरू पनि मेरा लागि आकर्षण थिए ।

त्यस दिन दिउँसो २ घन्टाका लागि रेस्टुरेन्ट बन्द हुने बेला भइसक्या थियो । छोरी अपर्णा त्यस दिनका अन्तिम दुईजना ग्राहकको अडर लिएर किचेनभित्र गइसकेकी थिई । मैले देखें, झ्यालनेरको राउन्डटेबलमा एकजना ग्राहक, कालो बिर्के टोपी लगाएको, एक्लै बसेर हिब्रु भाषाको पुस्तक पढ्दैरहेछ । अरबी, चिनियाँ र रुसीजस्तै हिब्रु भाषाको लिपि पढ्न नसके पनि चिन्न सक्थें । मैले बुझें, यी महोदय यहुदी नै हुन् र बिर्के टोपी लगाएको हुँदा सम्भवतः रब्बी अर्थात् यहुदी धर्मगुरु नै पो हुन् कि । सत्पात्र सम्झेर उनी छेउ पुगेर विनम्रतापूर्वक क्षमायाचना गर्दै डायस्पोराबारे सोधें, अझ भनूँ के सोधें भने, ‘तपाईंहरू अमेरिकामा आइपुगेपछि पनि अझै आफूलाई डायस्पोरा नै सम्झिनुहुन्छ ?’

एकछिन त त्यस रातोपिरो यहुदीले मतिर घोरिएर हेर्‍यो अनि एक्कासी सोडाको बिर्को उघ्रेझैं पड्कियो, ‘तपाई को हो मलाई डायस्पोरा भन्ने ?’

यसपछि उसले विकट स्वरमा बर्बराएकोबाट मैले के बुझें भने अफ्रिकाबाट आएका काला मानिसहरूलाई ‘निग्रो’ भन्दा गालीजस्तो अपमानजनक भएझैं यो डायस्पोरा भन्दाखेरि यहुदीहरूका लागि अपमानजनक र गालीबोधक शब्द हुँदो रहेछ । हुन पनि असिरियन, बेबिलोनियन, रोमन र पर्सियनहरूद्वारा प्राचीनकालदेखि नै आफ्नो मूलथलोबाट लखेटिएका यहुदीहरू पहिला छिमेकी देश ग्रिसमा गाँस/वासविहीन भएर छरिएका थिए । यहुदीहरूको यसै देशविहीन, गाँस/वासविहीन विपन्नावस्थालाई ग्रिकहरूले आफ्नो भाषामा छरिनुको अर्थमा होच्याएर ‘डायस्पोरा’ भन्ने गरेका थिए र अझ युरोपभरि छरिँदा यो डायस्पोरा शब्दको होच्याउने, हियाउने, खिसी गर्ने अपमानजनक अर्थ बहन गरेको रहेछ ।

थातथलो नभएको अर्थमा यहुदीहरूका लागि प्रयुक्त हुने यो अपमानजनक शब्द कलंकलाई आफ्नो निधारबाट मेटाउन यहुदीहरू युरोपका छिमेकी देशहरूलगायत विश्वको जुनसुकै देशमा पुगे पनि आफ्नो पौरखद्वारा स्थापित हुन लागिपरे । कतिपय देशहरूको अर्थतन्त्रको समृद्धि र विकासमा यिनीहरूको महत्त्वपूर्ण भूमिका रहेको छ । थातथलो गुमे पनि गाँस वास र कपासको जोहो गर्न व्यापार क्षेत्रमा होमिनु यहुदीहरूको नियति भयो र विश्वभरि व्यापारी एवं उद्योगपतिका रूपमा स्थापित भए । डायस्पोराको कलंक मेटाउन जुन देशमा पुगे त्यसैलाई आफ्नो थातथलो मानेर त्यहाँको भाषा, साहित्य, कला, संस्कृति एवं विज्ञान र प्रविधिको क्षेत्रमा पनि बिर्सिनसक्नु गुन लगाएका छन् यहुदीहरूले । कार्ल माक्र्स, सिग्मन्ड फ्रायड, आइन्सटाइन, चागाल, नोम चोब्स्कीजस्ता केही विश्वप्रसिद्ध यहुदी नामहरूले नै यिनको दर्शन, विज्ञान, साहित्य, कला र चिकित्सा क्षेत्रमा गरिएको योगदानको पुष्टि हुन्छ । आर्थिक र बौद्धिक क्षेत्रमा यहुदीहरूको यस्तो अपूर्व सफलता नै हिटलरको कोपभाजनको कारक बन्न पुग्यो । सबै त हिटलर हुन सक्दैनन् यहुदीहरूलाई अमानवीय ढंगले सास्ती दिएर मार्ने, तर सर्वसामान्यले ईश्र्यावश होच्याउन र गाली गर्न, सामुन्ने नभए पनि पिठ्युँपछाडि भन्ने गर्छन्- डायस्पोरा ! अर्थात् देशविहीन, राष्ट्रविहीन भएर पराई देशमा शरणार्थी भई छरिएका !

यस परिभाषाअनुसार भन्ने हो भने भुटानबाट लखेटिएर देशविहीन पारिएका र एकै ठाउँमा बस्न नपाएर विश्वका विभिन्न देशहरूमा शरणार्थीस्वरूप बसोबास गराइएका भुटानीहरूलाई डायस्पोरो भन्न सकिएला । -यस उदाहरणका लागि म भुटानबाट विस्थापित भुटानीहरूसित क्षमाप्रार्थी छु) यदि स्वदेश गुमाएका शिक्षित र प्रबुद्ध भुटानीहरूले डायस्पोराको थोत्रो बोरा ओढ्न स्वीकार गरेछन् भने ।

रेस्टुरेन्टका ती यहुदी महोदय ‘डायस्पोरा’ सम्बोधनबाट रिसाउनु स्वाभाविक थियो । किनभने अफ्रिकाबाट ल्याइएका अथवा आएका काला वर्णका मानिसहरूलाई ‘निग्रो’ भन्नु गाली हो, भारतबाट युरोपभरी छरिएका एकथरीका मानिसहरुलाई जिप्सी भन्नु गाली हो, युरोपेलीहरू अमेरिका आउनुभन्दा पहिलादेखि बसोबास गरिआएकाहरूलाई रेड इन्डियन भन्नु गाली हो, त्यसैगरी यहुदीहरूलाई डायस्पोरा भन्नु गाली हो । कालाहरू ‘अफ्रिकन अमेरिकन’ भन्दा खुसी हुन्छन्, जिप्सीहरू ‘रोमा’ भन्दा खुसी हुन्छन्, रेड इन्डियनहरू ‘नेटिभ अमेरिकन’ भन्दा खुसी हुन्छन् ।

अब आफ्नै सन्दर्भको कुरा गरौं । के हामीलाई बहादुर, कान्छा, पहाडिया, गुर्खा र लाहुरे भनेर सम्बोधन गरेको मन पर्छ ? सबैलाई थाहा छ, बहादुर भनेको दरबान हो, कान्छा र पहाडियाले भाँडा माझ्छ, गुर्खा र लाहुरे भनेको भाडाको सैनिक हो । अतः हामी नेपाली भनेकोमा नै खुसी हुन्छौं । हामीलाई होच्याउन र अपमानित गर्न गालीका रूपमा सर्वाधिक प्रचलित शब्द हो बहादुर र लाहुरे । यी दुवै शब्दहरू फुक्र्याएर अपमानित गर्ने शब्दहरू हुन् । मूर्खहरू बहादुर र लाहुरे भन्दाखेरि फुर्किन्छन् भने बुद्धिमानहरू -विद्वान् नै हुनु पर्दैन) नराम्राे मान्छन् र रिसाउँछन् । यस सन्दर्भमा एउटा महत्त्वपूर्ण कुरा भन्न सकिन्छ, त्यो के भने, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकामा बसेर नेपालबाट प्राडाहरू झिकाएर, गुलियो चटाएर, अराएर, खटाएर यत्रो जोरजुलुम नेपाली र नेपाली साहित्यको ‘पहिचान’ का लागि डायस्पोरा भनेर किन गर्नुपर्‍यो ? संसारले हामीलाई होच्याउन र अपमानित गर्न हामीलाई मीठा शब्द दिएकै छन्- बहादुर र लाहुरे ! भने भइहाल्यो विदेशमा बसेर लेखेको साहित्यलाई लाहुरे साहित्य अथवा बहादुर साहित्य । तर होइन, विदेशी शब्द विशेषतः आँग्ल भाषाको शब्दको महिमा र ‘ग्ल्यामर’ अपरम्पार छ । अमेरिकामा जन्मिएको अन्तर्राष्ट्रिय संस्थाले छिमेकी ‘भैया’ ले भन्ने गरेको गाली शब्द ‘बहादुर’ नेपालीहरूका लागि उति ग्ल्यामरस नलागेर डायस्पोराको बोरालाई झन्डाझैं उचालेको होला । डायस्पोराबारे शोध, अनुसन्धान, वर्गीकरण, विश्लेषण र प्रचार/प्रसार गर्न एवं एकेडेमी, विश्वविद्यालयहरूमा अध्ययनार्थ डेस्क-टेबुल-बेन्च ठड्याउन गरिएका समस्त प्रयत्नहरू विदेशका नेपाली डायस्पोरावादीहरूलाई नेपालमै स्थापित हुनुपरेको हो । किनभने विदेशमा, उदाहरणार्थ अमेरिकामा, नेपालीहरूको संख्यालाई विचार गर्दा नेपालीभाषीकै संख्या थोरै त्यसमा पनि साहित्यमा रुचि राख्नेहरू झनै थोरै ।

डायस्पोरालाई संसारभरि फिँजाए पनि संख्या खासै बढ्ने होइन । अनि सरेर डायस्पोरा डेस्क-टेबुल-बेन्च निर्माण गर्नैपर्‍यो ।
नढाँटी प्रस्ट भन्ने हो भने नेपालबाहिर संसारको जुनसुकै कुनामा पुगेका नेपालीले स्थापना गरेको साहित्यिक संख्या होस्, त्यसका साहित्यसेवी पदाधिकारीहरू हुन्, लेखक/पत्रकारहरू हुन् एवं विद्युतीय माध्यमका सञ्चार क्षेत्र हुन् सबैको एउटै उत्कट लालस रहेको छ त्यो हो नेपालमा नेपालीहरूमाझ प्रचारित/प्रसारित र स्थापित हुने । अनि बौद्धिक क्षेत्रमा, विशेषतः साहित्य लेखनको क्षेत्रमा, डायस्पोरा भनेर विज्ञापित र स्थापित हुने प्रयत्नस्वरुप नै विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानहरूमा डेस्क-टेबुल र बेन्च ठड्याउने आवश्यकता आइपरेको हो । यस्ता क्रियाकलापले अर्थात् साहित्यलाई थाङ्ने वर्गीकरण गरेर डेस्क-टेबुल-बेन्च ठड्याउँदा कर्मचारी मनोवृत्तिका बुद्धिजीवी, विद्वान् र प्राडाहरूले देश र विदेशमा काम पाउँछन्, डलर, पाउन्ड र युरोमा माम पाउँछन् ।

यसैबीचमा मैले डीसीनेपालडटकमद्वारा सम्राट उपाध्यायसँग लिइएको अन्तर्वार्ताको भिडियो हेर्ने र सुन्न पाएँ । सम्राट उपाध्यायको ‘अरेस्टिङ गड इन काठमाण्डु’ भन्ने अंग्रेजीमा लेखिएको कथासंग्रह पढिसकेको थिएँ । कथाहरू रोचक र दृष्टिकोणका हिसाबले नौला थिए । त्यस अन्तर्वार्तामा उनको भनाइअनुसार उनी आफूलाई ‘इमिग्रेन्ट’ राइटर अथवा ‘डायस्पोरिक’ राइटर भनेको रुचाउँदैनरहेछन् । उनले आफ्नो परिचय प्रस्ट रूपमा यसरी दिए, ‘म अंग्रेजीमा लेख्ने नेपाली हुँ ।’
उनले यसै प्रसंगमा अर्को पनि महत्त्वपूर्ण कुरा भनेका छन्, त्यो हो- ‘मलाई नेपाली अमेरिकन भन्दा अड लाग्छ ।’ ‘अड’ अर्थात् असजिलो र अप्ठ्यारो । यो प्रसंगलाई म अन्यत्र सविस्तार र सव्याख्या भन्नेछु । सम्राटले आफूलाई इमिग्रेन्ट अथवा डायस्पोरिक लेखक भन्नुभन्दा ‘म अंग्रेजीमा लेख्ने नेपाली हुँ’ भन्नु अर्थपूर्ण त छँदैछ साथै विदेशमा बसेर नेपाली भाषामा लेख्नेहरूलाई ‘डायस्पोरा’ को बोरामा खाँद्ने प्राडा र तिनका परिचालक एवं परिपालकहरूलाई बडो शिष्ट ढंगले झापु हिर्काएको छ । निःसन्देह कुनै पनि सचेत, प्रबुद्ध र साहित्यमा प्रतिबद्ध साहित्यकारलाई कुनै संस्थाको स्वार्थपूर्ति गर्न कुनै प्राडाले भिराइदिएको ‘डायस्पोरा’ जस्तो ‘ब्रान्ड नेम’ को ‘ट्याग’ चाहिँदैन । यस्तो खाले ट्यागले त झन् लेखकको र उसले लेखेको लेखनको अर्थ र प्रभविष्णुतासहित परिचय पनि धमिलिन्छ । धमिलो पानीमा माछा मार्ने चलन प्राचीन र पारस्परिक हुँदै हो ।

अहिले नेपालको (विसं २०४६ सालदेखि नै) राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक वातावरण धमिलिएको छ । किनभने नेपाली समाज परिवर्तनको तीव्र उद्वेलन र आलोडनका साथ चौबाटोमा उभिएको छ । अग्रगमनको नाममा आफूलाई क्रान्तिकारी भन्नेहरूसमेत भ्रान्ति फिँजाउन व्यस्त छन् भने पुराणपन्थी, अवसरवादी र सामन्ती संस्कारलाई लोकतान्त्रिक स्वतन्त्रताको मूल्य एवं मान्यताअनुरूप व्याख्या गरेर, वैदेशिक संस्थाको इसारामा जातिवादी वर्गीकरण समाजमा गरेर, सोही विभक्त समाजमा डायस्पोरावादी वर्गीकरणको धमिलो फिँजाएर युरो, पाउन्ड र डलरका माछा समात्नुलाई परिवर्तनको, अग्रगमनको उपलब्धि भनेर मान्न सकिँदैन । अहिले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा अग्रगमनको अर्थात् क्रान्तिकारिताको नाममा जुन भाँडभैलो मच्चाइएको छ जातिवादी वर्गीकरणद्वारा सोही प्रकारको भाँडभैलो बौद्धिक र सांस्कृतिक क्षेत्रमा पनि रंगीचंगी वर्गीकरण गरेर संस्थागत रूपमा र विश्वव्यापी स्तरमा आफ्नो पुराणपन्थी बौद्धिक दरिद्रतालाई साहित्यिक उपलब्धि ठानेर प्रचारित गरिँदैछ । यसैगरी साहित्यको क्षेत्रमा पनि डायस्पोरावादी वर्गीकरणले विश्वव्यापी हुन खोजेको नेपाली साहित्यलाई उच्चताको कुनै शिखरमा पुर्‍याउने सम्भावना पटक्कै छैन । बरु यस्तो हल्लाखल्लाबाट सम्बन्धित संस्था र त्यससित सम्बद्ध सानो र छट्टु बौद्धिक वर्गले लाभान्वित हुने अवसर प्राप्त गर्ला ।

साहित्यमा कथा विधा मेरो अभिव्यक्तिको प्रमुख माध्यम थियो । यसैबाट आफ्ना अनुभव र चिन्तन मननलाई कलात्मकतासाथ प्रेयरूपमा प्रस्तुत गर्थें । अमेरिका आएपछि आधुनिक अमेरिकी कथा साहित्यको नवीनतम स्वरूप र शैली एवं युवा पुस्ताका कथाकारहरूको लेखनबारे उत्कट जिज्ञासा हुनु र खोजीखोजी पढ्नु आफ्नो दिनचर्याजस्तै भएको थियो । पुस्तकालयबाट ओसारिएका पत्रिकाहरूमा ‘न्युयोर्कर’ पनि एउटा हुने गथ्र्यो । किनभने न्युयोर्कर भन्ने यस साप्ताहिक पत्रिकामा साहित्य, कला, संगीतलगायत सांस्कृतिक क्षेत्रका यावत् गतिविधिहरूका साथै राजनीति र ज्ञान/विज्ञानका क्षेत्रमा भएका नवीनतम उपलब्धिहरूको पनि विवेचनात्मक विवरण प्रस्तुत गरिएको हुन्थ्यो । यसको प्रत्येक अंकमा एउटा कथा, दुईवटा कविता र अन्य सबै विवेचनात्मक, विश्लेषणात्मक र समालोचनात्मक गहन लेखहरूको सङ्गालो हुन्थ्यो । एकपटक मैले त्यसमा एउटा विज्ञापन पढें- ‘न्युयोर्करको वाषिर्क गृष्मकालीन आख्यान अंकका रूपमा ‘चालीस वर्षमुनिका बीस’ (ट्वान्टी अन्डर फोर्टी) भन्ने नामकरण गरिएको पुस्तक फेरि दस वर्षपछि निस्कियो ।’

प्रत्येक दस वर्षमा एकपटक नयाँ पुस्ताका लेखकहरूको नवीन प्रस्तुति र प्रवृत्तिसहितको कथाहरूको संगालो ‘न्युयोर्कर’ पत्रिकाले निकाल्दो रहेछ । यसैगरी १९९९ मा पनि ‘न्युयोर्कर’ ले ‘द फ्युचर अफ अमेरिकन फिक्सन’ भन्ने संगालो छापेको थियो । विज्ञापनअनुसार अंग्रेजीमा लेख्ने नयाँ पुस्ताका चर्चित र स्थापित कथाकारहरूको यो संगालो ‘ट्वान्टी अन्डर फोर्टी’ (स्टोरिज र्फम द न्युयोर्कर) अमेरिकाव्यापी व्यापारिक संस्था वालमार्टमार्फत् झिकाएर पढें । त्यसमा अन्य देशबाट अर्थात् विश्वको अन्य कुनै पनि ठाउँबाट आएर अमेरिकन ठहरिएका र अमेरिकाको अंग्रेजी साहित्यमा नवीनतम र अधुनातन योगदान पुर्‍याएका बीस थानमध्ये छजना- चिमामान्डा न्गोजी अदिची (नाइजेरिया), डेविड बेजमोजगिस (लाट्भिया), यिउन ली (चीन), दिनाव मेङ्गेस्तु (इथियोपिया), तेआ ओबरेट (युगोस्लाभिया), गारी स्टिनगार्ट (रुस)लाई त्यस पुस्तकमा समेटिएको रहेछ । जसमध्ये चिमामान्डाद्वारा लिखित कथा ‘बर्डसङ’ निकै राम्रो लागेको थियो, विचारबाट पनि र विचारको कलात्मक प्रस्तुतिबाट पनि । तर यी छजना कसैलाई पनि यो पुस्तककी सम्पादिका डेबोराह टि्रसमानले डायस्पोराको फुँदा जोडेर परिचयात्मक प्रचार गरेकी थिइनन् । उनको उद्देश्य अमेरिकामा अंग्रेजीमा लेखिएको कथा साहित्यको नवीनतम भाषा, शैली र कथाविन्यासको परिचय दिनु थियो, दिइन्, डायस्पोराको थोत्रो बोरा कसैलाई दोसल्लाझैं ओढाइनन् ।

यिनैहरूमध्येकी चिमामान्डा अदिची जयपुरको (भारत) साहित्य सम्मेलनमा पनि भाग लिन पुगेकी थिइन् भनेर मैले सञ्चार माध्यमबाट थाहा पाएको थिएँ । मसँग अहिले घरमा नियमित रूपले प्रत्येक सप्ताहान्त आइपुग्ने ‘टाइम’ साप्ताहिकको मे १३, सन् २०१३ को अंक छ, जसको बुक रिभ्यु कलममा चिमामान्डाको नवीनतम उपन्यास ‘अमेरिकाना’ को संक्षिप्त विवेचनात्मक समीक्षा छापिएको रहेछ जसमा मुख्य रुपले के भनिएको थियो भने ‘विश्वभरिबाट आप्रवासीका रूपमा यहाँ आएर अमेरिकन भएका र विश्वव्यापीकरणको सांस्कृतिक अन्तरघुलनलाई तीन महादेशको (अफ्रिका, युरोप, अमेरिका) पृष्ठभूमिमा डायस्पोरिक गनगन छोडेर भविष्यको मानव समाजको रूपरेखा उच्च कलात्मकसाथ कोरिएको उपन्यास’ भनेर उल्लेख गरिएको छ ।

साम सेलभोन र झुम्पा लहिडीको क्रमशः ‘द लोन्ली लन्डनर्स’ र ‘द नेमसेक’ भन्ने डायस्पोरिक थोत्रो गनगन भएको थर्ड कन्ट्रीको पछ्यौटेपनको साहित्यिक ग्लामराइजेसन पढ्दापढ्दा ‘बोर’ भएको थिएँ । अब अदिचीको ‘अमेरिकाना’ उपन्यास पढेर विश्रान्ति पाउनेछु । जीवन र जगत्प्रतिको मेरो मानवतावादी दृष्टिकोण एवं तदनुकूल साहित्य (जीवन) को अन्तरसम्बन्धले चित्रित गर्ने मानव भविष्य चिमामान्डासित मिल्दोजुल्दो लागेको छ । पढिहेरौं !

अमेरिका आएर नातिनीहरूको, विशेषतः कान्छी रेवाको करबलले ‘इन्टरनेट’ चलाउन जान्ने भएँ । यसैको माध्यमले विश्वभरि छरिएका नेपालीहरूको क्रियाकलाप थाहा हुन्थ्यो, विशेषगरीकन सांस्कृतिक क्रियाकलाप र कार्यक्रमहरूका विषयमा । नेपालीहरू विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो नेपाली साहित्य, कला र संगीतको माध्यमबाट अरूलाई आफ्नो चिनारी दिइरहेका हुन्छन् । अहिले नेपाली समाजमा देखिएको जातिवादी विभेदजस्तै गरी केही अस्वाभाविक र अनौठा क्रियाकलाप चिनारी एवं पहिचानको नाममा प्रविधिको विश्वव्यापी माध्यम ‘इन्टरनेट’ द्वारा बिदेसिएका नेपालीहरूबीच केही टाठाबाठाहरूद्वारा फिँजाइएको छ, जसमध्ये ‘डायस्पोरा’ भन्ने थोत्रो बोरा पनि हो जसलाई ‘दोसल्ला’ बनाएर विदेशमा बसी नेपाली साहित्यको सेवा गर्नेहरूलाई ‘ग्लामराइज’ गरेर ओढाइन्छ ।

साहित्य क्षेत्रमा कथा विधा मेरो साधना र समर्पणको क्षेत्र हुनाले विदेशमा बसेर नेपालीमा कथा लेख्ने दुई महत्त्वपूर्ण नाम फेला पारें- बेलायतबासी जया राई र बेल्जियमबासी सञ्जु बजगाईं । सञ्जुका केही कथाहरू इन्टरनेटमार्फत् पढ्न पाएको हुँ भने कोलोराडो राज्यबासी ज्ञानेन्द्र गदाल (कवि एवं गीतकार) को सौजन्यबाट जया राईका दुईवटा कथासंग्रहहरू पढ्ने मौका पाएँ ।

जयाको पहिलो कथासंग्रह नेपालको ग्रामीण परिवेश उद्घाटित गर्ने, परम्परागत वर्णनात्मक शैलीमा लेखिएको कथाहरूको सङ्गालो हो । दोस्रो कथासंग्रह ‘बेकर स्टि्रटका दुई आँखा’ धेरै उज्ज्वल सम्भावना नेपाली कथा साहित्य जगत्मा देखाउँछ । तर कथाहरू हतारमा लेखिएजस्ता छन् । लेखनमा ‘फुलटाइमर’ हुनु/नहुनु जयाको आफ्नो खुसी हो । तर यिनले डायस्पोराको थोत्रो बोरा फ्याँकेर आफ्नो बाटो आफैंले खन्ने जमर्को गरिन् भने नेपाली साहित्य जगत्मा आफ्नो सशक्त चिनारी स्थापित गर्न सक्छन् ।

– हाम्रो पछ्यौटेपन नै हाम्रो डायस्पोरा हो ।

– हाम्रो बौद्धिक विपन्नता नै डायस्पोरा हो ।

– सिंगो नेपाललाई नै डायस्पोरा बनाउन छिमेकका मानवजंगलबासी ऋषि/मुनि लागिपरेका छन् ।