उसलाई स्वास्नीको आँखाले पछ्याइ नै रहेको थियो । स्वास्नी त्यहाँ सामुन्ने थिइन, न त्यहाँ कतै थिई । तैपनि, त्यो आँखाले उसलाई पछ्याइरहेको थियो । हिजोको त्यो आँखा । हिजो उसले के भनेको थियो र ! केही पनि भनेको थिएन । कुरैकुरामा उसले यति भनेको थियो, ‘तेरो ग्रहदशा नै त्यस्तो, मेरो के लाग्छ !’

हिजोको त्यो आँखा कोठाको कुनाकाप्चाबाट, दलिनको कापबाट, भर्याङको डँडालीबाट पछ्याइरहेको उसलाई लाग्छ । हिँड्दाहिँड्दै कुमको छेउमा आएर अड्केको उसलाई भान हुन्छ ।

स्वास्नीको कपाल फुलिसकेको छ, सेताम्य त भएको छैन । ऊ हीरालाल, ऊ पनि त साठी वर्ष पुगिसकेको छ र उसको पनि कपाल एकपछि अर्को फुल्दै आइरहेको छ ।

उसले जन्म र यो उमेरको बिचमा कति लामो अवधि पार गरिसकेको छ, कति के कुरा देखिसकेको छ र कति के भोगिसकेको छ । तर, ऊ हीरालाल दुब्लाएर सिट्ठा नाक लम्बिँदै गएको अझ जिउँदै छ र साठी वर्ष पुगेको छ ।

हीरालाललाई राम्ररी सम्झना छ बाबुको औँला समाएर पहिलोपल्ट त्यो ठुलो दरबारभित्र गएको । त्यो कुरा भर्खर अस्तिजस्तै लाग्छ उसलाई । ढोकाभित्र पस्न खोज्दा सङ्गिन समाएर पहरा बसेको मूर्तिझैँ ठाडो सिपाहीको आँखाले उसलाई खामोस हेरिरहेको थियो ।

उसले बाबुको हात कसेर पक्ड्यो र ढोका पार गरेर पटाङ्गिनीमा पुग्यो । घोडामा राज भएको ठुलो राजा अलि पर देखियो र एक छिनपछि दुल्कीको चालमा दौडिरहेको घोडा बाबुछोराको सामुन्ने आएर टक्क अड्यो । उसको बाबुले छोराको हातलाई झट्कारेर छुटाएर हडबडाएर दर्शन गर्यो । घोडा हिनहिनायो । राजाले घोडैबाट बोलिबक्स्यो, “ए मोतीलाल त्यो को नि ?”

“प्रभु छोरो ।”

हीरालालले बाबुले पिठ्यूँमा अलि जोडले हिर्काएको चाल पायो । सँगसँगै बाबुको स्वर सुन्यो, “हेर ! दर्शन नगरेर ।” उसले झटपट बाबुले झैँ हत्केलालाई पुष्प–अँजुलीको आकार बनाउन खोजेर दर्शन गर्यो ।

राजाको ओठ केही मुस्कायो ।

“ए, छोरो त चलाक रहेछ, होइन र मोतीलाल ?”

घोडा दुल्कीको चालमा फेरि दौड्यो र पटाङ्गिनीको पारिपट्टि पुग्यो ।

त्यसपछि ऊ दरबारमा बराबर जाने गर्न लाग्यो । उसको बाबु जरसाहेबको बैठके । उसले ठुलो राजा जरसाहेबको ठुलो छोरो भनेर चिन्यो, सानो राजा कान्छो छोरो । उसले पटुकामा खुकुरी सिउरेका सारा आठपहरियाहरूलाई चिन्यो । नाक डल्लो ढोकेलाई चिन्यो, त्यस्तै कोही मोटो, कोही दुब्लो, कोही चिम्से, डोले, भान्छे बाहुन, सइस, गोठाला, ड्राइभर सबैलाई चिन्यो । त्यहाँ सामेल हुने चाकडी बाजहरूलाई पनि चिन्यो ।

उसले रानीसाहेब, मैसाबहरूलाई पनि चिन्यो र दरबारिया भाषा बोल्न पोख्त भयो । दरबारिया सोमत काइदा अदबमा वाकिफ भयो । रानीसाहेबको पछिपछि चाँदीको करुवा समाएर हिँड्ने, त्यस्तै त्यसै पछि लाग्ने केटी सुसारे, त्यस्तै झ्यालबाट चियाएर हेर्ने केटी सुसारेहरूलाई देख्दा उसलाई अर्कै लोक लाग्थ्यो ।

त्यो लोक उसको (झुत्रोझाम्रो घर भएको) टोलभन्दा भिन्न लाग्थ्यो । त्यो लोक उसको आफ्नो मैलोधैलो घरमा बस्ने मैलोधैलो आमा–दिदीबहिनीको लोकभन्दा भिन्न थियो ।

ऊ राम्ररी ठुलो हुन नपाउँदै उसको बाबुको परलोक भयो । आमा रोएको उसलाई राम्ररी याद छ । पछि आमा पनि परलोक भई । त्यो पनि उसलाई राम्ररी याद छ । अब त्यो स्मृति मात्रै छ । त्यो वेदना छैन त्यो स्मृतिमा ।

बाबु परलोक भएपछि तेह्रौँ दिनको श्राद्ध सिद्ध्याएको भोलिपल्ट ऊ दरबारमा गयो । रानीसाहेबको खोपीमा ऊ पुग्यो । रानीसाहेब बालिस्टमा जीउ अड्याएर राज भएको थियो ।

मर्जिना नानी पनि त्यहाँ थिई र रानीसाहेबको पाउ सुमसुम्याइरहेकी थिई । हीरालालले दर्शन गर्यो । उसलाई देख्नासाथ रानीसाहेबले एक छिन अचम्म मानेर उसलाई हेरी रहिबक्स्यो ।

“खोइ छाड ।” रानीसाहेबले मर्जिना नानीको हत्केलाबाट आफ्नो पाउ हटाइबक्स्यो ।

“बिचरा !”

एक छिन खोपभरि रानीसाहेबको एक मात्र ‘बिचरा’ शब्द टम्म भरियो ।

“बिचरा ! बिचरा मोतीलाल त्यसै गयो हेर, यस्तो सानो केटाकेटीलाई बिचल्ली पारेर । कति चाँडो गयो । बिचरालाई रोग पनि कस्तो लागेको । ए के जाति के तेरो नाम ? तेरो नाम के रे ?”

हीरालालले बोल्न सकेको थिएन । उसको आँखामा आँसु टम्म भरिएको थियो ।

मर्जिना नानीले भनी, “हीरालाल । प्रभु, यो हीरालाल ।”

“ए, हो हीरालाल । बुझिस् हीरालाल ! तँ यहीँ आइज, भोलिदेखिन् तँ यहीँ आइज । तेरो बाबुको सट्टा तैँले काम गर् । म राजालाई बिन्ती गर्छ । होइन त मर्जिना ?”

मर्जिना नानीले झटपट भनी, “दर्शन गर बा ! रुपियाँ छैन ?”

अहिलेसम्म टलपल आँसुको बिचबाट रानीसाहेब र मर्जिना नानीको आकार ढलमल–ढलमल भएको हीरालालले हेरिरहेको थियो ।

“रुपियाँ छैन क्यारे बिचरासँग !”

हीरालालले अचानक झस्केर कोटको भित्री खल्तीमा हात पसायो । केही बेर रुपियाँ बाहिर निस्केन, खल्तीको कुनामा अल्झिरह्यो । आमाले उसलाई एक रुपियाँ दिएकी थिई– के पर्ला के पर्ला भनेर ।

रुपियाँ उसको हातबाट छुटेर बिछ्याएको डम्बरकुमारीको तन्नामा गुड्यो । हीरालालले यन्त्रवत् हात उठाएर दर्शन गर्यो । उसको आँखा त्यो सेतो डबलमाथि परि नै रहेको थियो । त्यो डबल एक छिन गुडेर डम्बरकुमारीको बुट्टैबुट्टामा अल्झेर थामियो ।

“टिप ।” रानीसाहेबको सुस्त स्वर उसले सुन्यो ।

“बिचरा, सानै छ बाबुले जस्तै के काम गर्ला । तैपनि ।”

हीरालाललाई एक छिन डम्बरकुमारीको बुट्टा र रुपियाँ एउटै ढिक्का भएको लाग्यो । तर, उसले रुपियाँ टिप्यो ।

मर्जिना नानीले भनी, “बिस्तारै सिक्तै आउला प्रभु । त्यो गंगाप्रसादको सङ्गतले सिकिहाल्ला ।”

हीरालाल राम्ररी दरबारको मान्छे भयो आफ्नो बाबु मोतीलालजस्तै । काम गर्दागर्दै उसको उमेर बढ्दै गयो र उसको बाबुको रूपमा राम्ररी बैठके हीरालाल भयो र कसैकसैको मुखमा ऊ बैठके दाइ समेत भयो । ऊ दरबारका प्रत्येक क्रियाकलापको जानकार भयो र उसले दरबारको मूक भाषा समेत बुझ्यो ।

ऊ खोपी सफा गर्थ्यो । जरसाहेबको पाउपोसमा रोगन लगाएर टल्काउँथ्यो र कहिलेकाहीँ पोसाके नहुँदा पोसाकेको कामसमेत गर्थ्यो । द्वारे आमाले हातमा थमाएको पोसाकलाई जतनपूर्वक लिन्थ्यो र त्यसबाट आएको वासनाले अभिभूत हुन्थ्यो ।

कहिलेकाहीँ जरसाहेब सामेलमा सवारी हुँदा उसले मोटरमा ड्राइभरको सिटसँगै बस्न पाउँथ्यो । उसको काखमा जरसाहेबले हीरापन्नाले जडिजडाउ श्रीपेच रहेको काठको बाकस हुन्थ्यो । पूरा बफादार भएर उसले त्यो काठको बाकसलाई च्यापेको हुन्थ्यो ।

जरसाहेब, रानीसाहेब, ठुलो राजा, सानो राजा, मैसाब, नानीसाहेब, द्वारे आमा, धाई बुबू, बज्यै, अढैनी बज्यै, पुजारी बाजे, भान्छे बाहुन, खरदारसाहेब, कारिन्दा, आठपहरिया, ढोके, सङ्गिनधारी पहरा, डोले, गोठाला, नाइके, सइस, चाकडीबाजहरूको चहलपहल भएको विशाल ठुलो दरबार मानौँ, जीवित विराट रूप हो र हीरालाल मुटुमा हात राखेर बस्ने आजीवन सेवक हो ।

यसबिच उसको बिहे भयो । जरसाहेबको मन पर्ने बैठके ऊ । उसलाई बिहे गर्न गाह्रो भएन । यो स्वास्नी उसकी भई । अहिले यही स्वास्नीको आँखाले उसलाई पछ्याइरहेछ । जवानीलाई धेर पर पन्छाएर अर्द्धबैँसे बेरूप अनुहारका दुई आँखाले अहिले उसलाई पछ्याइरहेछ । दरबारको जस्तो मायाप्रीति नगरे पनि स्वास्नी आफ्नै एक अङ्गजस्तो लागेको थियो ।

दरबारको जस्ता आसक पनि उसले गर्न जानेको थिएन । दरबारमा जस्तो उसले कपालमा अलक पार्दिन । केटी सुसारेले जस्तो परीझैँ शृङ्गार गर्दिन, लालीपाउडर लगाउने आँटसम्म गर्दिन । अप्सराझैँ साडी चिटिक्क पारेर लगाउँदिन, फरिया बेर्छे ।

हीरालालको पनि आफ्नो औकात थियो । केटी सुसारेको हाउभाउप्रति ऊ आकर्षित हुँदैनथ्यो । उनीहरू अर्कै लोकका हुन् जहाँ उसको पहुँच छैन । राजाहरूले आफ्नै अघिल्तिर नानीसाहेबलाई च्यापेको देखे पनि उसको मानसिकता केही उद्वेलन हुँदैनथ्यो । ऊ हलचल गर्ने मूर्तिजस्तै थियो ।

“यो हीरालाल त साह्रै लाटो, के जन्तु हो कुन्नि ।” हजुर ज्यान नानीले रोजलाई भनेको एक दिन उसले सुन्यो । हीरालालको ओठमा मुस्कान खेलेन । हजुर ज्यान नानीको आँखाको चमकले उसलाई स्पर्श गरेन ।

हीरालाल बिहान सबेरै उठेर दरबार जान्थ्यो । कहिले घरमा भातै खान आउँदैनथ्यो । कहिले राति सुत्न समेत आउँदैनथ्यो । दरबारको श्वासप्रश्वासको ऊ एक अङ्ग भइसकेको थियो ।

उसका एक छोरी दुई छोरा भए, मानौँ खेतबारीमा उम्रेका रूख हुन् ती, स्वाभाविक किसिमले हुर्कँदै गए । उनीहरू हुर्कनमा केही अड्चन पैदा भएन । जसरी ऊ हीरालालको उमेर चढ्दै गयो, जसरी उसकी स्वास्नीको अनुहारमा जवानीको रौनक हरायो ।

एक पेट खाएर औकातबमोजिमको राम्रै लुगा लगाएर हीरालालको जीवननिर्वाह भई नै रहेको थियो । तर पछि जमानाले अर्कै रूप लियो । यो उसको दोष थिएन । कसले सोचेको थियो यो सब हुन्छ भनेर, कसले सोचेको थियो दरबारको त्यो दुर्गति हुन्छ भनेर ? कसले सोचेको थियो जरसाहेब, रानीसाहेब नाम मात्रका जरसाहेब, रानीसाहेब हुन्छन् भनेर ? यो उसको दोष थिएन, समयको उलटपुलट ।

सपनामै नचिताएको राणाशाहीको अन्त्य भयो । क्रान्ति भयो । काँग्रेसले राज गर्यो । मामुलीसे मामुली मान्छे मन्त्री भए, पावरदार भए । अस्तिका कैदी हूल हूल मान्छे पछि लगाएर बाटोमा हिँड्ने भए, मोटर चढ्ने भए । हुँदा हुँदा एक दिन हर्षेको फुर्ती देखेर ऊ दङ्ग भयो । अस्तिसम्मको सिँगाने हर्षे अब हर्षबहादुर भयो र टमटम जुत्ता लगाएर जरसाहेबको खोपीभित्र पुग्यो र दर्शन नगरेर नमस्ते गर्यो ।

‘नमस्ते’ गर्नासाथ जुत्तै नफुकालेर जरसाहेब राज भएको कौचमा ढेसिन पुग्यो । जरसाहेबले हर्षेलाई ‘तपाईं’ भनेर सम्बोधन गर्दा हीरालाललाई त्यहीँ थचक्क बस्न मन लाग्यो । त्यस्तै हर्षले जरसाहेबलाई ‘हजुर’ नभनेर ‘तपाईं’ भनेको सुन्दा ऊ आत्तिएर त्यहाँबाट उम्कन खोज्यो । पछि धेरै बेरसम्म ऊ मनमनै कराइरह्यो, ‘कस्तो बढेको मान्छे ! कस्तो बढेको मान्छे !’

तर, हेर्दाहर्दै त्यस्ता बढेका मान्छे झन्झन् ठुलाबडा हुँदै गए र त्यस्तै हेर्दाहेर्दै जरसाहेबको अनुहार निस्तेज हुँदै गयो, जरसाहेबको दाँत फुक्लिएको देखियो । रानीसाहेबको अनुहार चाउरिएको देखियो । हेर्दाहेर्दै मालिकहरू पैदलै समेत बाटोमा सवारी हुन लागे ।

सानो राजा गल्लीको ठिटोसँग कुममा कुम मिलाई हिँड्न लागिबक्स्यो । मैसाब किताब बोकेर एक्लै स्कुल सवारी भयो । दरबारका केटी सुसारे घट्दै गए । तबेलाको घोडा मर्यो, अर्को किनिएन, सइसले छोडेर गर्यो । मोटर ग्यारेजमा थन्कियो ।

दरबारमा अब पल्टनियाँ पहरा छैन, आठपहरिया छैन । दरबार फुङ्ग उडेको भान भयो । ढोके बूढो घरमै बस्यो, आएन । डोलेहरूलाई खेतको काममा फुर्सद भएन र जागिर छोडेर हिँडे । ठाउँठाउँमा अन्तराप खुस्केर दरबारको झ्यालढोका बाङ्गो देखियो ।

अब एउटा बूढो भान्छे बाहुन बाँकी रह्यो, एउटी लाटीजस्तै केटी, बूढी द्वारे आमा र धाईआमा बाँकी रहे । हीरालाल बाँकी छ । धुलैधुलोको पत्रले छोपिएको मोटर ग्यारेजबाट एक दिन ढ्याचाले घिसारेर लग्यो ।

अब जरसाहेब रिटायर जरसाहेब भइबक्स्यो । सामेलमा सवारी हुन परेन । ठुलो राजा पहाडको ब्यारेकमा खटियो, उतै सवारी भयो । ठुली मैसाब एक विदेशीसँग प्रेम–विवाह गरेर बेपत्ता भइबक्स्यो ।

दरबारमा रहेको फर्निचर, कार्पेट, गलैँचा र थरी थरीको सरसामान धमाधम बिक्री भयो । ती सामानलाई हीरालालले कति जतन गरेर सुमसुम्याएको थियो । बाहिरका मानिसले हारालुछ गरेर किनेर लगे ।

एक दिन त्यो ठुलो घर, त्यो ठुलो दरबार ड्वाङड्वाङती खाली भयो । सबै क्याम्पाभित्रैको सानो बङ्गलामा सरे । जरसाहेबहरूले, रानीसाहेबहरूले सरसामान बेचेर आएको पैसा केमा, कसरी खर्च गरिबक्स्यो, त्यो हीरालालले अझै बुझ्न सकेको छैन । ती गहनागुरिया, ती जवाहरात कहाँ गए, कता गए, त्यो हीरालालले अझै बुझ्न सकेको छैन ।

क्याम्पाभित्रको जग्गाजमिन आठ आना, चार आना, रोपनी गर्दै धमाधम बिक्री भयो । हीरालालको आँखाको सामुन्ने टुक्राटुक्रा भयो र जताततै पर्खालैपर्खालको घेरा लाग्यो । इन्द्रचोक र असनका साहूहरूले तँछाडमछाड गर्दै किने । त्यस्ता साहूहरू जसलाई हीरालालले पहिले मान्छे नै गनेको थिएन ।

क्याम्पाभित्र सडकैसडकको जन्जाल बन्यो र नयाँनयाँ बङ्गला धमाधम बन्न थाले । जरसाहेब राज भएको बङ्गला कुच्रिएको पुरानो खालको सानो देखियो । ती सब जग्गा बेचेर आएको पैसा पनि कता गायब भयो, त्यो हीरालालले अझै बुझ्न सकेको छैन ।

एक दिन त्यो मुख्य विराट रूपको सिङ्गै दरबार पनि बिक्यो । ठेकदारले जगै समेत भत्कायो र इँटा, काठपात सबै ट्रक भरीभरी लादेर लग्यो । त्यो ठुलो, ठुलो दरबार रहेको जमिन खाली जमिनमा जगको टाटैटाटा मात्र रह्यो र त्यस्तै हीरालालको आँखामा दरबारको स्वप्निल आकृति मात्र बाँकी रह्यो ।

एक दिन जरसाहेबको रक्सी ज्यूनार हुँदाहुँदै मृत्यु भयो । जरसाहेब परलोक भइबक्स्यो । हीरालालले पहिलो पटक रानीसाहेबलाई कपाल फुलेको कुप्री देख्यो । सँगसँगै हीरालालको भयो । उसले जरसाहेबसँग केही मागेको थिएन । जति बक्सन्छ त्यति लिएको थियो, जे बक्सन्छ त्यो लिएको थियो । झन् क्याम्पाभित्रको जग्गा माग्ने त कुरै भएन । त्यो उसको एकदम औकातबाहिरको थियो ।

जरसाहेबले रक्सीको सुरमा लागेको आवाजमा मर्जी भएको थियो, “हेर् हीरालाल ! तँलाई मैले अहिलेसम्म केही दिएको छैन । जे भए पनि तँ मेरो पुरानो मान्छे, तेरो बाबुको पालादेखिन्को आफ्नै मान्छे । तँलाई म दिन्छु । धन्दा नमान् म दिन्छु ।”

तर, बक्सन नपाउँदै जरसाहेबको स्वर्गे भयो । रानी बर्खीभरि सेतो पोसाकमा टोलाएर राज हुन्थ्यो । बर्खी सिद्धिनासाथ रानीसाहेबमा अचानक परिवर्तन आयो । कपाल काटिबक्स्यो, बब हेयर राखिबक्स्यो । सेतो रौँलाई चिम्टाले टिपिबक्स्यो । पाउडर लगाउन सुरु गरिबक्स्यो ।

एक दिन टाढाको जेठाज्यू नाता पर्नेकहाँ राज हुन सवारी भइबक्स्यो र फर्किबक्सेन । द्वारे आमा कुप्रेको जीउ लिएर रानीसाहेबको पछिपछि लागी । धाईआमा कहाँ गई हीरालाललाई थाहा छैन । त्यो रहेसहेको सानो बङ्गला पनि बिक्यो । हीरालाल आफ्नो घरको आफ्नै कोठामा बसेको बस्यै भयो र धेरै दिनसम्म घरबाट बाहिर निस्केन । ऊ पछि ज्वरोले निस्लोट भयो ।

यी सब हुनु हीरालालको दोष थिएन । उसको केको दोष ? तैपनि, स्वास्नीको आँखाले उसलाई पछ्याइरहेछ । नेपालमा समय बदलिनु, राणाजीलाई दशा लाग्नु, मालिकको त्यो हविगत हुनु उसको दोष होइन । आफ्नै पनि यो हविगत हुनु उसको आफ्नै दोष होइन । आफ्नो दोष किमार्थ होइन ।

जेठो छोरोले सात क्लाससम्म त पढ्यो । उसले त त्यो पनि पढेको छैन । तर उसले कमाएर ख्वाएकै थियो, छोराछोरी हुर्काएकै थियो । छोरीको बिहे गरेर पठाएकै थियो । दुई जोईपोइ यो उमेरसम्म बाँचेकै छन् मरेका त छैनन् । अब अहिले खर्चको हाहाकार भयो त भयो ।

के भयो त ठुलो छोरा स्वास्नी लिएर बाहिर बसेपछि उसको के लाग्छ ! कान्छो छोरा काम खोज्दाखोज्दै कलकत्ता पुगेपछि उसको के लाग्छ ! उसको बाबु मोतीलालले बैठके काम गर्यो । उसले पनि सानैदेखिन् बैठके काम गर्यो । उसले यसबाहेक अर्को काम जानेको पनि छैन । यो उमेरमा अर्को काम सिक्ने कुरै भएन, सकिँदा पनि सकिँदैन ।

हीरालाल घरबाट बाहिर निस्क्यो । स्वास्नीको पछ्याएको आँखा अब असह्य भयो । हिँड्दाहिँड्दै नयाँसडकमा पुगिसकेको थियो । मोटरको ताँती ओहोरदोहोर गरिरहेको थियो । उसले एकदम एउटा घरको भित्तामा अडेस लगायो, मानौँ उसले भर्खर यतिका मोटर देख्यो, किसिम किसिमका मोटर ।

उसले कानमा हात पुर्यायो र कान थिच्न खोज्यो, मानौँ भर्खर मोटरको हर्नको खल्लीबल्ली सुनेको हो । उसले मान्छेहरूको अनुहार हेर्यो, धेरै किसिमका मान्छे, धेरै किसिमको नाक आँखा ।

‘उः त्यो टाढाबाट आइरहेको को हो ?’ उसले आफैलाई सोध्यो । उसले चिन्न खोजेर सुतीक्ष्ण पारिपट्टिको पेटीमा टाढासम्म हेर्यो ।

‘हो त्यो हरिमान । हरिमान त हो नि, कस्तो नचिनेको ?’ उसले आफैँलाई जबाफ दियो । हरिमान मोटर चढेको थिएन, पैदल आइरहेको थियो । हरिमानको लवाइ, पूरा जीउ, सारा चालढाल र हिँडाइले नै धनी मान्छे, एकदम धनी मान्छे ।

कुनै दिन केटाकेटी बखतमा हीरालालको गुच्चा खेल्ने साथी थियो, चकली पाँपाँ गर्दै बाटोमा दगुर्ने साथी थियो । हरिमानसँगसँगै एउटी स्वास्नीमान्छे आइरहेको देखियो ।

‘हो, त्यो उसकी स्वास्नी हो, कस्तो नचिनेको मैले ?’ हीरालालले सुस्केरा हाल्यो ।

हीरालालले पारि पेटीमा हेरि नै रह्यो, मानौँ त्यो हेर्नु मात्र उसको एक मात्र काम हो । हरिमान र उसकी स्वास्नी नजिक–नजिक हुँदै आइरहेका थिए । अब एकदम नजिक भयो वारिपारि मात्र । एकदम नजिक मोटरको ताँतीले छेकेर पनि नछेकिने जस्तो, एकदम नजिक ।

हरिमानको आँखाले पारिपट्टि यता हेर्यो, त्यो आँखा एक छिन हीरालालको अनुहारमा थामिएजस्तो भयो । तर, थामिएन र अर्कोतिर मुड्यो ।

‘चिनेन ।’ हीरालालले मनमनै भन्यो ।

हरिमान हिँड्दाहिँड्दै एकदम रोकियो र एकजना मान्छेसँग कुरा गर्न लाग्यो । उसकी स्वास्नी पनि कुरा सुन्न तल्लीन भई । हीरालालले हरिमानको स्वास्नीको लवाइ अपलक हेरिरह्यो । कताकता उसलाई रानीसाहेबको झझल्को भइरह्यो ।

टाउको हल्लाइ, चिउँडो झुकाइ कताकता त्यस्तैत्यस्तै । हरिमान मुस्कायो । त्यो मुस्कान धपक्क बलेको उसलाई लाग्यो । कताकता जरसाहेब मुस्काएको उसलाई लाग्यो ।

हरिमान र उसकी स्वास्नी कुरा सिद्ध्याएर अघिल्तिर बढे । हीरालालले हिँडाइको चाललाई हेरिरह्यो । त्यो यही हरिमान हो मिठ्ठुनिवास किन्ने, दरबाजस्तै सिङ्गै मिठ्ठुनिवास किन्ने, त्यसले चर्चेको जग्गा समेत किन्ने ।

त्यो मिठ्ठुनिवासको ग्यारेजभित्र दुई–तीनवटा मोटर ग्यारेज छ, राम्रो ठुलो फूलैफूल लटरम्म भएको बगैँचा छ । मानौँ, हरिमानको सम्पूर्ण व्यक्तित्वबाट आभा प्रस्फुटित भएको छ ।

हीरालाल निसासिएर हेरिरह्यो । अचानक उसको खुट्टा चल्यो । दायाँ खुट्टा चल्यो । बायाँ खुट्टा चल्यो । ऊ हिँड्यो । ऊ खिचियो, ऊ पारिपट्टि पेटीतिर खिचियो । मोटरको ताँतीको कापभित्र छिरेर पारिपट्टिको पेटीमा पुग्यो ।

अब ऊ हरिमानकी स्वास्नीको पछिपछि थियो । उसको गति तेज भयो र हरिमानको एकदम नजिक पुग्यो । त्यस्तै तेज गतिले हरिमान र उसकी स्वास्नीलाई उछिन्यो र फर्केर हेर्यो । उसको ओठ ङिच्च हाँस्यो ।

‘क्या हो हीरालाल !’ हरिमानले चिन्यो । हीरालाले बोल्न सकेन । फेरि त्यस्तै यन्त्रवत् ऊ ङिच्च हाँस्यो । उसको हात दर्शन गर्न केही उठ्यो, फेरि झर्यो । अचानक कुमपछिल्तिर उसले पछ्याएको स्वास्नीको आँखा महसुस गर्यो र छिनभरमै त्यो आँखा स्प्रिङले झट्कारेझैँ उसको सम्मुख देखा पर्यो ।

(गाेविन्दबहादुर मल्ल गोठालेको “बाह्र कथा” बाट)