रूपरेखा पत्रिका चारु प्रेस टुकुचामा मुद्रण भै प्रकाशन भई नै राखेको थियो । तर त्यसको काया फेरिएको थियो, दुब्लो, मरन्च्याँसे हुँदै गए झैँ । कारण रूपरेखाको २०० औँ विशेषाङ्क प्रकाशनको लगत्तै भने जसो पछि रूपरेखाका फिफ्टी फिप्टी पार्टनर बलमकनद अर्थात् बालमुकुन्ददेव पाण्डे अलग भएका थिए र उत्तम कुँवर एक्लैले रूपरेखाको रथ हाँकेका थिए । उनलाई किशोर कुँवरले सहयोग गर्थे ।
उत्तम कुँवरको असामयिक अप्रत्याशित निधनपछि शान्ति कुँवरले रूपरेखाको सम्पादन प्रकाशनलाई निरन्तरता दिइन् । किशोर कुँवरकै साथ लिएर । तर यो पनि लामो टिकेन । किशोर अलग भए र परिवेश पत्रिका निकालेर त्यसैमा रम्न थाले । शान्ति कुँवरले रूपायन प्रेसलाई बिदा गरेर रूपरेखालाई वालमुकुन्ददेव पाण्डेबाट नै प्रकाशन र मुद्रणका लागि सहयोग लिँदै चारु प्रेस ल्याइन् । त्यतिखेर मैले रूपरेखामा अन्तर्वार्ता स्तम्भ चलाउँथेँ ।
हो त्यसैताक रूपरेखामा यौटा अग्र लेख छापियो कविता साहित्यको विषयमा, देवदूत दिलदास दुवसुको नाममा । यो नामै अनौठो थियो र भिन्न पनि र आकर्षक । त्यतिन्जेल मेरो उनीसँग परिचय भएको थिएन । तर त्यो लेखमा मेरो बारेमा पनि चर्चा थियो र निकै अध्ययनशील व्यक्तिले लेखेको अनुभव हुन्थ्यो ।
तिनै देवदूत दिलदास दुवसु नै पछिका चर्चित कविका रूपमा चिनिए, दुवसु क्षेत्रीको नाममा ।
खासमा उनको औपचारिक नाम भने दुर्गाबहादुर सुवेदी ।
दुवसुसँग परिचय भएपछि छिटै हामी नजिकियौँ । उनी झापाबाट काठमाडौँ सङ्घर्ष गर्न आएका, म हेटौँडाबाट । उनको डेरा पाटनमा थियो । मेरो कुलेश्वरमा । हामी न्यूरोडमा भेट्दथ्यौँ र गफ गर्दै हिँड्दै हिँड्दै टेकु आइपुग्थ्यौँ । अनि त्यहाँको पचली रेस्टुराँ हाम्रो विश्राम स्थल, चौतारी वा साहित्यिक गफ गर्ने थलो हुन्थ्यो ।
त्यो मिठाई पसलमा मालपुवा, केराउको तरकारी खान्थ्यौँ हामी । कहिलेकाहीँ जेरी स्वारी र हलुवा स्वारी पनि । अनि म चिया लिन्थेँ । दुवसु चिया लिँदैनथे । लामो समयसम्म हामीले पचलीको रेस्टुराँलाई साहित्यिक छलफल र रचना सुनाउने थलो बनायौँ । सामान्यतः उनी सुनाउँदैनथे, सुन्थे । म नै सुनाउँथेँ । मैले त्यो बेला ताजाताजा लेख्ने बित्तिकै सुनाएको यौटा कविताको मलाई सम्झना हुन्छ, “पलायन यात्रा” शीर्षकको । मैले लेख्ने बित्तिकै तात्तातो सुनाएको थिएँ । त्यतिन्जेल म विदेश यात्रामा जाने कुनै सुरसार र तयारी थिएन, न त विदेश तिरै बसोबास गर्ने कल्पना नै थियो । त्यो बेलामा कसरी लेखेँ त्यो कविता, उनले पछिसम्म सम्झना गर्थे ।
उनी चाहिँ रचना सुनाउन भन्दा पढ्न मन पराउँथे । पढ्न उनी अति नै मन पराउने र समसामयिक लेखक कविको रचनाको अद्यावधिक ज्ञान राख्ने उनको चासो, रुचि र आदत आजपर्यन्त निरन्तर छ, जुन अधिकांश मेरा दौँतरीहरूमा म पाउँदिन । बेलायतको राजदूत हुँदा वा जापानको राजदूत हुँदासमेत त्यत्रो कूटनीतिक जिम्मेवारी बिच पनि पठनलाई निरन्तरता दिनु उनको साहित्यिक निष्ठा हो ।
उनले एकपल्ट राती फोन गरे । अलि ढिलै भैसकेको थियो । उनले भने, “अलि ढिलो भए पनि मैले फोन नगरी थाम्नै सकिन गोविन्दजी ..!”
उनले रचना पत्रिकामा प्रकाशित मेरो “ब्रम्हपुर मञ्चनकथा” संस्मरण लेख पढेछन् । त्यस लेखमा मैले आफ्नै लेखन र निर्देशनमा नेपाल कमर्स क्याम्पस मिनभवनको प्रस्तुतिमा नाटक महोत्सवमा प्रस्तुत गर्दाका अनुभव लेखेको थिएँ । एक प्रसङ्गमा मैले उल्लेख गरेको थिएँ, यौटी महिला कलाकार छाप्रोबाट बाहिर निस्कने दृश्य थियो, तर निस्किनन् । म पर्दापछाडिबाट छाप्रोभित्र पस्छु त ती महिला कलाकार आफ्नो प्रेमीसँग म्वाइँ खाएर बसिरहेकी ।
यो घटनाले दुवसुलाई यति झोँक उठेछ कि, ती केटोलाई मुक्का हानूँ जस्तो भएछ । अर्कोतिर हाँसो पनि उठेछ । त्यही कुरा तत्काल गर्न मन लागेर ढिलै भए पनि फोन गरेका रहेछन् । अनि मैले लेखमा उल्लेख नगरेका तर त्यो मञ्चनका क्रममा भएका थप घटनाहरू बेलिबिस्तार लाएको थिएँ । अनि हामी खुलेर हाँसेका थियौँ।
विसं २०३६ सालको जनमत सङ्ग्रहले पञ्चायत पक्षधर र बाँकी सब त्यसको विपक्ष बनाएको थियो । तर विसं २०४६ सालको परिवर्तनले त्यो पञ्चायत विपक्षको ढिक्कालाई टुक्राटुक्रा बनाइदियो । ती टुक्राहरूमा प्रजातन्त्रवादी र वामपन्थी दुई धार भए । दुवसुको संसर्ग र सामीप्यता प्रजातन्त्रवादी धारकासँग भयो । नामै लिन पर्दा विनय रावल नेतृत्वको ज्ञानुवाकर पौडेल, ध्रुब मधिकर्मी, वियोगी बुढाथोकी लगायतको समूह बढी क्रियाशील थियो पनि । दुवसु त्यो समूहसँग निकट थिए । म ती समूहका साथीहरूसँग मित्रता भए पनि राजनैतिक नाताले निकट भइन । मैले आफूलाई लेखकको रूपमा स्वतन्त्र प्रजातन्त्रवादी मान्नु बाहेक म कुनै राजनैतिक विचार वा दलको निकट भइन । २०४६ सालपछि “रुख” कविता लेखियो चुनावमा काँङ्ग्रेस पार्टीको समर्थन गरेर । त्यसको पुस्तक छापियो, तर म त्यसतर्फ कहिल्यै लागिन ।
दुवसु ती मित्रहरूसँग सामूहिक रूपमा अति निकट भए पनि मसँगको निकटता घटेन कहिल्यै ।
दुवसु कविता महोत्सवमा पुरस्कृत भए २ पटक । पहिलोपल्ट विसं २०४४ सालमा उनी तेस्रा भए । दोस्रोपल्ट विसं २०४५ मा भने प्रथम नै भए । उनको कविता लेखनमा सुरुदेखि नै यौटा बेग्लै शैली र भाषाको प्रयोग, बिम्बको निर्माण र प्रतीकका प्रयोग नितान्त नौला र दुवसुमय बनाउन सक्ने क्षमता उनको हो ।
हरेक साल भानुको जन्मस्थल चुँदी रम्घामा भानु जयन्ती मनाउन काठमाडौँबाट साहित्यकारहरू लैजाने चलन थियो, जुन अहिले पनि छ । सामान्यतः अग्रज र स्वनामधन्य साहित्यकारको नेतृत्वमा केही साहित्यकार लैजाने प्रचलन थियो । विसं २०३६ सालमा भवानी घिमिरेको नेतृत्वमा सडक कविता क्रान्तिका कविहरूको टोली नै जाँदा म पहिलोपल्ट चुँदी रम्घा पुगेको थिएँ र त्यसको संस्मरण मधुपर्कमा प्रकाशित गरेको थिएँ । यसै क्रममा भानु सेवा समितिका ब्रतराज आचार्यसँग सम्पर्क सम्बन्ध बनेको थियो ।
अनि एकसाल कुनै अग्रज साहित्यकार जाने अनुकूल नभएको अवस्थामा ब्रतराजजीले मलाई एक दुई जना साथी लिएर तपाईं गइदिनु पर्यो भने । अनि मैले दुवसु र राधेश्याम लेकालीलाई भनेँ र हामी गयौँ । चुँदी पछि हामी आफू खुसी गोरखा हुँदै मनकामना अनि पोखरा गएका थियौँ । मनकामना बसाइँमा हामीले गरेको रमाइलो भूतो न भविष्यति लाग्छ हामीसहित दुवसुलाई अहिले पनि ।
लेखन सँगसँगै साहित्यमा केही गरिछाड्ने अठोट दुवसुको साहित्यिक चरित्र हो । उनले विसं २०५० सालमा “समसामयिक नेपाली गजल” पुस्तक सम्पादन गरे । समसामयिक नेपाली गजलको त्यति बृहत् सङ्कलन यसअघि प्रकाशित भएको थिएन ।
उनी परराष्ट्र सेवाबाटै उच्च अध्ययनका लागि बेलायत जाने भए । अनि म र बियोगी बुढाथोकी मिलेर उनको बिदाइको लागि यौटा रसमय साँझको आयोजना गरेका थियौँ । त्यो जमघटमा तुलसी दिवस, प्रेमराजा महत लगायत थुप्रै थियौँ । त्यो जमघट ‘सेकुवा कर्नर” नामको रेस्टुराँमा गरिएको थियो जसको मालिक अङ्ग्रेजी भाषाका कवि तथा अनुवादक टेकबहादुर कार्कीको थियो । उनले हामीले उठाएको पैसा लिएर बाँकी आफ्नो तर्फबाट भनेर कार्यक्रमलाई हौसला दिँदै सहभागी भएका थिए । त्यो कार्यक्रमको बेला साहित्यकार विजय बजिमय अस्वस्थ भएर शिक्षण अस्पतालमा भर्ना भएका थिए । अनि आफ्ना सहयोगीको सहयोगले अस्पतालको झ्यालबाट निस्केर दुवसुको बिदाइमा आयोजित जमघटमा सहभागी भएका थिए ।
उनले बेलायतमा अध्ययन गर्दा “चौथो” आयामको अवधारणा ल्याएका थिए । त्यसैमा थिसिस लेखेका थिए र नेपाल फर्केपछि “चौथो आयाम”को विषयमा साप्ताहिक अखबारमा लामो समय धारावाहिक लेख लेखेका थिए ।
उनले आफ्ना मातापिताको नाममा वसुन्धरामान प्रज्ञा प्रतिष्ठान खोले । यस प्रतिष्ठानले विसं २०५७ सालदेखि एक अग्रज र एक युवा प्रतिभालाई पुरस्कृत गर्दै आएको छ । वसुन्धराश्री पुरस्कारद्वारा अहिलेसम्म कविवर माधवप्रसाद घिमिरे (वि.सं.२०५७), उपन्यासकार दौलतविक्रम विष्ट (वि.सं. २०५८), कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. २०५९), समालोचक यदुनाथ खनाल (वि.सं. २०६०), आख्यानकार मदनमणि दीक्षित (वि.सं. २०६१), उपन्यासकार डायमनशमशेर राणा (वि.सं. २०६२), साहित्यकार इन्द्रबहादुर राई (वि.सं. २०६३), कवि मोहन कोइराला (वि.सं. २०६४), संस्कृतिविद् सत्यमोहन जोशी (वि.सं. २०६५), समालोचक कृष्णचन्द्रसिंह प्रधान (वि.सं.२०६६), कवि वैरागी काइँला (वि.सं. २०६७), कवि धर्मराज थापा (वि.सं. २०६८), समालोचक प्रा. डा. वासुदेव त्रिपाठी (वि.सं. २०६९), चित्रकार शशी शाह (वि.सं. २०७०), कलाकार हरिप्रसाद रिमाल (वि.सं. २०७१), सङ्गीतकार अम्वर गुरुङ (वि.सं. २०७२), आख्यानकार लीलबहादुर क्षेत्री (वि.सं. २०७३), समालोचक प्रा. डा. तारानाथ शर्मा (वि.सं. २०७४), गायक प्रेमध्वज प्रधान (वि.सं. २०७५) र कलाकार मदनकृष्ण श्रेष्ठ (२०७६) र साहित्यकार डा. ध्रुवचन्द्र गौतम (२०७७) डा, वरिष्ठ लोकगायक श्री कुमार बस्नेत (विसं २०७८) र वरिष्ठ साहित्यकार श्री ठाकुरप्रसाद गुरागाईं (विसं २०७९) नेत्र चिकित्सक सन्दुक रुइत (विसं २०८०) पुरस्कृत भैसकेका छन् ।
त्यसै गरी मानश्री पुरस्कारबाट कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं. २०५७), साहित्यकार विनय रावल (वि.सं २०५८), नाटककार अशेष मल्ल (वि.सं २०५९), गजलकार ज्ञानुवाकर पौडेल (वि.सं. २०६०), साहित्यकार मञ्जुल (वि.सं. २०६१), कथाकार मधुवन पौडेल (वि.सं. २०६२), कवि विष्णुविभु घिमिरे (वि.सं. २०६३), कवि कृष्णभूषण बल (वि.सं. २०६४), कथाकार भुवन ढुंगाना (वि.सं. २०६५), कथाकार सनत रेग्मी (वि.सं. २०६६), कवि विजय बजिमय (वि.सं. २०६७), समालोचक डा.रामदयाल राकेश (वि.सं. २०६८), कथाकार डा. वेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार किरण मानन्धर (वि.सं. २०७०), कलाकार नीर शाह (वि.सं. २०७१), गायक दीप श्रेष्ठ (वि.सं. २०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (वि.सं. २०७३), साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली (वि.सं. २०७४) गायक भक्तराज आचार्य (वि.सं. २०७५), कलाकार हरिवंश आचार्य (२०७६) र साहित्यकार सरुभक्त (२०७७ ), गायिका श्रीमती मीरा राणा (विसं २०७८) र कलाकार श्री थानबहादुर रावल (विसं २०७९) तथा वैज्ञानिक श्री डा महावीर पुनलाई (विसं २०८०) पुरस्कृत भैसकेका छन् ।
साहित्यमा आफ्नो क्षमताअनुसार केही गरिरहने हुटहुटी बोकेको म उनीसँग साहित्यिक योजना साझा गर्ने गर्थें । यसै क्रममा मैले “समकालीन नेपाली साहित्य” नामक पत्रिका प्रकाशनका लागि तयारी गरेको बताएँ । अनि पहिलो अङ्क “समकालीन नेपाली कविताको रूपयात्रा” विशेष अङ्कको रूपमा प्रकाशन गर्ने तयारी गर्दै गरेको बताएँ । त्यति बेला उनी बर्मा अर्थात् म्यान्मारको दूतावासमा थिए ।
हामी दुवैको सामूहिक सम्पादनमा पत्रिका निस्कियो र हाम्रो सामूहिक समपादनमा “समकालीन नेपाली कविताको रूपयात्रा” पुस्तकको रूपमा पनि प्रकाशित भयो । यो हाम्रो साहित्यिक मित्रताको एक स्तम्भ बन्यो । दुवसु बर्मामा म काठमाडौँमा । त्यो पत्रिका एक अङ्कभन्दा बढी निकाल्न सकिएन । ‘समकालीन नेपाली साहित्य” नामकरण मैले गरेको थिएँ र दुवसुलाई यो नाम निकै मन परेको थियो । बर्माबाट फर्किएपछि एकदिन दुवसुले भने, “गोविन्दजी ! ‘समकालीन नेपाली साहित्य” नाम निकै राम्रो छ, यो नाम म लिन्छु अनि वसुन्धरामान प्रज्ञा प्रतिष्ठानको मुखपत्र बनाउँछु ।
दुवसुले त्यो पत्रिकाको नाम ‘लिऊँ ?” भनेर सोधेनन् । “लिन्छु” भने । यसले हाम्रो मित्रताको गहिराइ देखाउँछ । समकालीन नेपाली साहित्य निकै अङ्क प्रकाशित भए वसुन्धरामान प्रज्ञा प्रतिष्ठानबाट ।
दुवसुले मानव अधिकार विषयक ठुलै काव्य ग्रन्थ “मानव अधिकारका लागि नेपाली कविता” पनि सम्पादन गरे । त्यो बृहत् सङ्कलन नेपाल मानव अधिकार सङ्घबाट प्रकाशित भएको थियो, त्यसमा धेरै नेपाली कविका मानवअधिकार प्राधान्य कविताहरू समाविष्ट थिए, जसमा निःसन्देह मेरो कविता पनि थियो ।
एकेडेमीमा वैरागी काईंला काव्य विभागको प्रमुख हुँदा समकालीन कविताको एक बृहत् सङ्कलन सम्पादन प्रकाशन भएको थियो । सम्पादक समूहमा अभि सुवेदी, तोया गुरुङ लगायत दुवसु पनि थिए । त्यो सङ्कलन निकै बृहत् थियो । त्यसमा निकै कविहरू समेटिएका थिए । तर त्यो समेटिनेमा पुरुषोत्तम सुवेदी परेका थिएनन् । उनी मेरो न्यूरोडको चिया मित्र, कहिलेकाहीँ श्यालसँग रसपान गर्दा साक्षी मित्र र दुवसु र मेरो सम्पादनमा निस्केको कविता सङ्कलन “समकालीन कविताको रूपयात्रा” नाम सुझाउने मित्र थिए । मैले निकै मनाएर पुरुषोत्तम सुवेदीको कविता त्यस सङ्कलनमा राख्नका लागि जोड लगाएँ । उनले माने र पुरुषोत्तम सुवेदीको कविता पनि त्यो बृहत् सङ्कलनमा समावेश भयो ।
दुवसुमा साहित्यमा केही गरौँ, राम्रो गरौँ र अरूलाई माथि उठाऊँ भन्ने जुन भावना छ, त्यसले इतिहास बनाएको छ । वसुन्धरामान प्रज्ञा प्रतिष्ठानको कुरा एक भयो । तर उनले बर्मामा बस्दा नेपाली भाषा साहित्यमा गरेको योगदान त्यहाँका नेपाली समुदायले सधैँ याद गर्छन् । उनले आफ्नै पहलमा बर्माका स्रष्टा ठाकुर गुरागाईंको कृति नेपालमा प्रकाशनको चाँजोपाँजो मिलाए । नेपालमा उनको परिचय दिलाए । त्यसले गर्दा उनको यश नेपालमा फैलियो र जगदम्बा श्री पुरस्कार बर्मासम्म पुग्यो । यसको श्रेय दुवसुलाई जान्छ ।
२०३६ सालअघि नै हो मैले कथाकार मुरारि अधिकारिको कथाहरू मधुपर्क र गोरखापत्रमा पढेको । किनभने २०३५ सालदेखि नै मैले मधुपर्क नियमित किनेर पढ्न थालेको थिएँ । उनका कथा मन पर्थे । एकदिन थाहा भो मेरा दौँतरी लव गाउँले र मेरा पनि दौँतरी बद्री चापागाईं हिमाली र मुरारि अधिकारी सँगै डेरामा बस्छन् । अनि एकदिन लवले मुरारिको डेरामा लगे । चिनाजानी भो । उनी त्यति बेला अर्थ मन्त्रालयका शाखा अधिकृत भए । मलाई उनको मधुपर्कमा प्रकाशित “मौसम” कथाले मोहनी लाएको थियो । उनी पढ्न अमेरिका पुगे । फर्किए । परराष्ट्र मन्त्रालय पुगे । अमेरिका संयुक्त राष्ट्र सङ्घमा राजदूत भएर आउनुअघि एकदिन दुवसुले मलाई भने, “गोविन्दजी ! तपाईंसँग मुरारिजीको कथा सङ्कलनको पाण्डुलिपि छ हैन !”
मैले मुरारिजीकै सहयोग लिएर उनका कथाहरू सङ्कलन गरेर फाइल बनाएर राखेको थिएँ । प्रकाशन कसरी गर्ने टुङ्गो थिएन । मैले यो कुरा दुवसुलाई भनेको थिएँ ।
“हो नि ! प्रकाशन गर्न नपाएर थन्किएर बसेको छ ।“ मैले भनेँ ।
ल म वसुन्धरामान प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित गर्छु, तपाईंकै सम्पादनमा । सम्पादकीय भूमिका लेखेर दिनुस् ।
र उनले “मुरारि अधिकारीका कथाहरू” प्रकाशित गरे ।
दुवसु पनि संयुक्त राष्ट्र सङ्घमा आए, पछि । त्यही बेलामा छोटो समय अनेसासको केन्द्रीय अध्यक्ष भए । म त्यति बेला डिसी मेट्रो च्याप्टरको संस्थापक महासचिव थिएँ । नेपाली सिने जगतका प्रख्यात कलाकार राजेश हमाललाई डिसीमा सम्मान गरिएको थियो, त्यो कार्यक्रमको अध्यक्षता उनले गरेका थिए र कार्यक्रम सञ्चालक म थिएँ ।
बेलायतमा राजदूतको पदमा रहँदा उनले बेलायती नेपाली स्रष्टाहरूका कविता, कथा र नाटक विधाका कृतिहरू सम्पादन प्रकाशन गरेर नेपाली भाषी विश्व समुदायको यौटा फराकिलो फाँटमा फिँजाइदिए । त्यति मात्र होइन कवि तथा आयरलैण्डका राष्ट्रपति माइकल डि. हिग्गिन्सको प्रतिनिधि कविताहरूको अनुवाद गरे र राष्ट्रपति समक्ष प्रस्तुत समेत गरे । अनुवाद क्षेत्रमा प्रकाशित यो उनको पहिलो कृति हो ।
कतिपय साथीहरू दुवसु विलक्षण कवि प्रतिभा हुन्, तर उनलाई जागिरले बाधा गर्यो भन्छन् । मलाई यो कुरा सत्यको नजिक लाग्छ । तर कूटनीति जस्तो संवेदनशील सेवामा हुँदा पनि मौका पाउने बित्तिकै उनको लेखन जुरमुराएको देख्छु । अर्को “अश्वमेध यज्ञका घोडाहरू” किन आएन भन्ठान्छु । यस कृतिले साझा पुरस्कार प्राप्त गर्यो, तर उनको प्रतिभाअनुसार त्यो निकै कम हो कि भन्ठान्छु ।
हुन त उनको आत्म स्वीकृति छ, “म लेखकभन्दा बढी पाठक र विद्यार्थी हुँ” । तर पाठकहरू पाठक दुवसु होइन, सिर्जनशील कवि दुवसु खोजिरहेका छन् ।
फल्स चर्च, भर्जिनिया, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ माघ २०८२, शुक्रबार 









