साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

एक समयको कथाः युद्धको छायामा

Chovar Blues Mobile Size

त्यस दिन अपराह्न तीनजना सिपाहीहरू गाउँमा आए । उनीहरू आउँदा बाख्रा र कुखुराहरू डरले तितरबितर भएका थिए । सिपाहीहरू नजीकको भट्टी पसलमा गए र पामको रक्सी मागेँ । माखाहरू भन्किइरहेका थिए । यसैबीच उनीहरूले रक्सी पिए ।

आफ्ना बाबु बाहिर जाउञ्जेल पर्खिबसेको ओमोभोले ती सिपाहीहरूलाई झ्यालबाट चिहाएर हेर्यो । उनीहरू उसको घरमा बजिरहेको रेडियोको समाचारालाई ध्यान दिएर सुनिरहेका थिए । त्यो “ग्रन्डी” ब्राण्डको रेडियो उसका बाबुले एउटा यस्तो परिवारबाट ल्याएका थिए, जुन परिवार युद्ध भड्किएपछि सहर छोडेर भागेको थियो । उनले त्यो रेडियोलाई एउटा सेतो कपडामा बेरेर ल्याएका थिए ताकि त्यो एउटा सामान्य घरेलु सामानजस्तो मात्रै देखियोस् ।

सिपाहीहरूले बजिरहेको रेडियोमा देशको आन्तरिक भागमा भइरहेका बाम्बारी र गोलीबारीका समाचारहरू सुने । ओमोभोका बाबुले कपाल कोरे, बीचबाट बडो सचेतताका साथ सिँउदो काडे, र भर्खर दाह्री खौरेका गालामा केही लोसन लगाए । त्यसपछि उनले आफ्नो फुस्रो कोट लगाए, जुन उनलाई साँघुरो भइसकेको थियो ।

आफ्ना बाबुबाट दिक्क मानेर ओमोभोले झ्यालबाट बाहिर हेर्यो । एक हप्तादेखि सधैँ नै यही बेला कालो घुम्टो ओढेकी एउटी अपरिचित आइमाई त्यसै घरको छेउबाट हिँड्थी । ऊ त्यही गाउँको बाटो हुँदै एक्स्प्रेस राजपथमा पुग्थी, र जङ्गलमा हराउँथी । आज पनि ओमोभो उनको आगमनको प्रतीक्षामा थियो ।

रेडियोमा प्रभुख समाचार सकियो । उद्घोषकले त्यसै राती चन्द्रग्रहण लाग्ने सूचना पनि प्रसारित गर्यो । ओमोभोका बाबुले भने अनुहारका पसिना पुछ्दै केही तित्तताकासाथ भने, “ग्रहणले युद्ध रोक्ला जस्तो, खूबै !”
“ग्रहण भनेको के हो, बुवा ?” ओमोभोले सोध्यो ।
“जब पृथ्वी अँध्यारो हुन्छ अनि अत्भूत कुराहरू हुन्छन् !”
“जस्तै?”
उसका बाबुले चुरोट सल्काए ।
“मरेकाहरू जागेर हिँड्छन् र गीत गाउन थाल्छन् । त्यही भएर धेरैबेर बाहिर नबस्नू । है त ?”
ओमोभोले टाउको हल्लाउँदै मान्ने संकेत गर्यो ।
“ग्रहणहरूलाई बच्चा मन पर्दन । तिनीहरूले उनीहरूलाई खाइदिन्छ ।”

ओमोभोलाई यो कुरामा विश्वास लागेन । बाबु भने ऊतिर हेरेर मुसुक्क मुस्काए, उसलाई उसको दस रुपियाँ बक्सिस् दिए, र भने, “रेडियो बन्द गर बाबु । बच्चाबच्चीले युद्धको समाचार सुन्नु राम्रो होइन । ”

ओमोभोले रेडियो बन्द हेर्यो । उसका बाबुले दैलोको ठेलोमा अर्ग चढाए र शान्तिका लागि पीतृहरूको पूजा गरे । त्यो सकेपछि उनी आफ्नो अटैँची दिएर बिस्तारै घरबाट निस्किए । उनलाई त्यो गोरेटो हँुदै माथि बस बिसौनीतिर जाँदै गरेको ओमोभोले हेरिरह्यो । जब एउटा मिनीबस आयो र उसका बाबु चढे, ओमोभोले फेरि रेडियो खोल्यो । ऊ झ्यालको आडमा बास्यो र त्यो आउँदैगरेकी आइमाईको प्रतीक्षा गर्न थाल्यो । पछिल्लोपल्ट उसले त्यस आइमाईलाई देख्दा ऊ आफ्नो पहँेलो साडीका मुजा उत्तेजक रुपले हल्लाउँदै हिँडिरहेकी थिई । अन्य बच्चाहरूले पनि आफूहरूले गरिरहेको काम स्थगित गरी उसलाई हेरेका थिए ।

मानिसनीहरू भन्थे, उनको छाया छैन । उनीहरू यो पनि भन्थे ऊ हिँडदा पैताला भैँमा हुँदैनन् । ऊ छेवैमा आइपुगेपछि ती बच्चाहरू उसमाथि झारपात फ्याँक्न थाले । ऊ तर्किई । छिटो पनि हिँडिन, र पछि फर्केर पनि हेरिन ।

ज्यादै गर्मी थियो । बिस्तारै हल्लाखल्ला शान्त भयो । गाउँलेहरू निन्द्रामै हिँडे जसरी लर्बरिँदै आ–आफ्ना कामतिर लागे । ती तीन सैनिकहरू भने पामको जाँड खाएर टन्टलापूर घाममै बसी तस खेल्न थाले । ओमोभो हेरिरहेकै थियो । जब जब बालबालिका त्यस भट्टीको छेउबाट जान्थे, ती सैनिकहरू तिनीहरूलाई बोलाउँथे, केही कुरा गर्थे, र केही पैसा दिन्थे । ओमोभो पनि कुद्यो ओरालै ओरालो अनि भट्टीको छेउ पुगेर उभ्भियो । सैनिकहरूले उसलाई एकटक हेरे । ऊ फर्किन लाग्दा उनीहरू मध्ये एकले उसलाई बोलायो ।
“तिम्रो नाम के हो?” उसले सोध्यो ।
ओमोभोले केही धक मान्यो, एउटा हर्कतपूर्वक हाँसो हाँस्यो, अनि भन्यो, “ग्रहण ।”

ओमोभोको अनुहारभरि थुकिदिएर त्यो सैनिक खूब हाँस्यो । त्यस सैनिकको अनुहारभरि नशैनशा देखिन्थे । उसका दुई साथीहरू भने यी कुरामा खासै चासो दिइरहेका थिएनन् । उनीहरू माखा धपाउनमा र तास खेल्नमै मस्त थिए । उनीहरूका बन्दूक भने छेवैको टेबलमा थिए । ओमोभोले विचार गर्यो, ती बन्दूकहरूमा नम्बर लेखिएका थिए । त्यो सैनिकले फेरि भन्यो, “ठूला ओठ भएको हुनाले तेरा बाउले तँलाई त्यो नाम दिएको हो?”
उसका सहयोगीहरूले पनि यसपल्ट ओमोभोलाई हेरे, र हाँसे । ओमोभोले स्वीकारोक्तिमा टाउको हल्लायो ।
“तिमी एउटा असल केटो रहेछौ,” उसले ओमोभोलाई भन्यो । अनि केहीबेर रोक्कियो, र फरक आवाजमा सोध्यो, “त्यो कालो बर्कोले अनुहार छोप्ने आइमाईलाई तिमीले देखेका छौ ?”
“अँहँ ।”
उसले ओमोभोलाई दस रुपियाँ दिँदै भन्यो, “ऊ जासूस हो । उसले हाम्रा दुश्मनहरूलाई सहयोग गर्छे । ऊ आएको देख्नासाथ कुदेर आउनू, अनि हामीलाई भन्नू । सुनेको हो ?”
ओमोभोले पैसा लिन मानेन, र कुदेर भयाङ् चढ्यो । फेरि ऊ गएर झ्यालमै बस्यो । सैनिकहरूले भने बेलाबेलामा उसलाई हेरिरहे । धेरै गर्मी चढेकोले ओमोभो त्यहाँ बसेकै अवस्थामा निधायो । केही अल्छी पारामा बासेका भालेहरूले केहीबेरपछि उसलाई ब्यूँझाइदिए । उसले महसूस गर्याे, रापिलो अपराह्न घर्केर शीतल साँझमा परिणत हुँदै थियो । सैनिकहरू पनि भट्टीमै निधाउन लागेका थिए । त्यसैबेला रेडियोमा नियमित समाचार आयो । ओमोभेले त्यसदिनका हताहतीको खबर सुन्यो, खासै नबुझीकन ।

समाचारवाचकले यी गम्भीर समाचारहरूमा सुस्केरा भर्यो,  क्षमा माग्यो, र युद्धका अतिरिक्त जानकारीहरू पनि प्रस्तुत गर्न थाल्यो ।

ओमोभोले पुलुक्क माथि हेर्यो । त्यो आइमाई त्यहाँबाट कटेर गैसकिछ । सैनिकहरू पनि भट्टीबाट हिँडिसकेछन् । तापको रापका बीच उनीहरू खरका घरहरूका बीचका चेपबाट हुँदै हिँडिरहेका थिए । त्यो आइमाई पनि त्यही बाटोमा जाँदै थिई, अलि पर । ओमोभो कुदेर तल ओर्लियो, र तिनीहरूका पछिपछि लाग्यो । सबैभन्दा पछि हिँडने सैनिकका चाक यति ठूला थिए कि उसको सुरवाल नै फुटलाजस्तो देखिन्थ्यो । ओमोभोले एक्स्प्रेस रोडसम्म उनीहरूको पीछा गर्यो ।

जङ्गलको बाटो लागेपछि ती सैनिहरूले त्यो आइमाईको पीछा छोडे, र तिनीहरूको बाटो बाँडियो । उनीहरू आफ्नो कार्यप्रति सचेत देखिन्थे । ओमोभो भने हतार्र्रिएर पछि फर्कियो, र त्यो आइमाईको चियो गर्न थाल्यो ।

घना जङ्गलका बीच पनि उसले त्यसलाई पछ्याउन छोडेन । त्यो आइमाईले फुस्रा लुगा लगाएकी थिई र एउटा ध्वाँसे मजेत्रोले अनुहार ढाकेकी थिई । उसको टाउकोमा एउटा रातो बास्केट पनि थियो । उसको छायाँ थियो कि थिएन, वा उनका खुट्टा भैँमा थिए कि थिएनन् भन्ने कुरा भने ओमोभोले विचारै गर्न बिर्सियो ।

ओमोभो अर्धनिर्मित बगान हुँदै गुज्रियो, जहाँ छेउछाउ ठूल्ठूला साइनबोर्ड र ढल्न लागेको बेराहरू थिए । ऊ एउटा निर्जन सिमेन्ट फेक्टरीको छेवैबाट गुज्रियो । त्यहाँ सरसामान ढलेर ढङ्गुरमा परिणत भएका थिए, र श्रमिकहरूका निवास पूर्णतयः खाली देखिन्थे ।
ओमोभो एउटा बबुआको रूख हुँदै अघि बढ्यो, जसमुनि एउटा मृत जनावरको सिङ्गो अस्तिपञ्जर थियो । त्यसैबेला एउटा सर्प माथि रूखको हाँगोबाट खस्यो र सुल्किँदै झाडीतिर पस्यो । अलि पर, छाँगाको छेउमा तीव्र संगीत गुञ्जिरहेको सुनिन्थ्यो, र मानिसहरू युद्धका चर्का नाराहरू लगाइरहेका थिए ।

ऊ ती महिलाको पछि लाग्यो, र केही बेरपछि उनीहरू जङ्गल फाँडेर बनाइएको एक भद्दा शिविरको छेउ आइपुगे, तल फाँटमा । गुफाका वरिपरिको धमिलो प्रकाशमा छायाकृतिहरू यता उति हल्लिरहेका देखिन्थे । त्यो आइमाई पनि तिनीहरूतिरै गई । ती आकृतिहरूले उसलाई घेरे, छोए, र गुफाभित्र लगे । ओमोभोले गुफाबासीका थकित स्वरहरू सुन्यो, जसमा उनीहरू ती महिलालाई धन्यवाद दिइरहेका थिए । जब फेरि त्यो आइमाई देखा परी उसका हातमा बास्केट थिएन । कुपोषणले प्याट्ट परेका भुँडी लिएर बच्चाहरू र झुत्रेमुत्रे लुगा लगाएका आइमाईहरूले उसलाई माथि पहाडको बाटोसम्म पु¥याए । फेरि, अलि संकोचका साथ उनीहरूले उसलाई छोए, अनि फर्किए ।

ओमोभो फेरि त्यही आइमाईका पछि लाग्यो । उनीहरू एउटा धमिलो नदीमा आइपुगे । त्यो आइमाई यसरी हिँडी, मानौँ उसलाई पछाडिबाट कुनै शक्तिले उडाउन खोजिरहेको थियो । धमिलो पानीमा दुर्घटनाग्रस्त डुङ्गाहरू र पानीमा बग्दै गरेका भिजेका लुगा देखिन्थे । ओमोभोले त्यहाँ पूजाका सामग्री पानीमा तैरिँदै गरेको देख्यो — रोटीका टुक्रा प्लास्टिकका झोलामा, खाद्यान्नले भरिएका हर्पेहरू, कोकाकोलाका केनहरू । फेरि उसले ती डुङ्गाहरूलाई हेर्याे । ल, ती त मरेका जनावरका आकृतिमा पो परिवर्तित भइसकेका रहेछन् ! नदी किनारमा भने उसले पुरानो कालखण्डका, र अहिले प्रयोगमा नरहेका मुद्राहरू पनि देख्यो । हावामा खपिनसक्नुको दुर्गन्ध फैलिएको पनि थाह पायो उसले ।

यत्तिकैमा ओमोभोले आफ्नै पछाडि बडो तीव्र गतिमा फेरिएको साँसको आवाज सुन्यो । तुरन्तै कसैले खोकेको र थुकेको आवाज पनि आयो । एउटा सैनिकले अरुलाई छिटो हिँड्न आदेश दिइरहेको पनि थाहा पायो । ओमोभो रुखमुनि टुक्रुक्क बसेर लुकिरह्यो । सिपाहीहरू उसका छेवैबाट अगाडि गए । केही बेरपछि उसले कोही चिच्याएको आवाज सुन्यो । ती सिपाही त्यो आइमाईको छेउ आइसकेका थिए । उनीहरूले उसलाई घेरे ।
“अरु कहाँ छन् ?” एउटा करायो ।
तर त्यो आइमाई बोलिन ।
“भनेपछि तँ नै होस् बोक्सी, हैन त ? तँलाई मर्न मन छ ? अरु कहाँ छन्, भन् ?”
सब चूपचाप । उनको शिर झुकेको । एउटा सैनिकले खोक्यो, र नदीतिर थुकिदियो ।
“किन बोल्निस् हँ ?” उसले ती महिलालाई थप्पड हान्दै भन्यो ।

त्यो मोटे सैनिकले उनको बुर्का च्यातिदियो र जमिनमा फ्याँकिदियो । ऊ त्यसलाई टिप्न केही निहुर्यिई, घुँणा मार्ने चालमा उनको शिर अझै झुकि नै रह्यो । उनको टाउको कताकति खुइलिएको थियो, र कताकति घाउका खाटाहरू पनि देखिन्थे । उसको अनुहारको एकछेउमा पनि काटेको लामो दाग देखिन्थ्यो ।

नाङ्गो छाती भएको सैनिकले त्यस महिलालाई केही धकेलिदियो । ऊ घोप्टे परेर जमिनमा लडी, र केहीबेर त्यही अवस्थामा रही । त्यो जङ्गलको उज्यालो केही स्पष्ट भयो र पहिलोपटक ओमोभोले नदी किनारमा मरेका भनिएका जनावरहरू वयस्क मान्छेका लाशका आकृतिमा देख्यो । उनीहरूका शरीर नदीमा बगेर आएका लहराहरूले जेल्लिएका थिए, र उनीहरूका आँखा धूमिल थिए ।
ओमोभोले केही प्रतिक्रिया दिन नभ्याउँदै कोही चिच्याएको आवाज सुनियो । त्यो महिला उठ्दै थिई, हातले आफ्नो च्यादार टिपेर । ऊ त्यो मोटो सैनिकतिर फर्किई, यथासक्य तन्किई र उसको अनुहरमा थ्वाक्कै थुकिदिई । त्यसपछि ऊ च्यादर हल्लउँदै चर्को आवाजमा कराउन थाली । अन्य दुई सैनिकहरू भने पछि हटे । त्यो मोटे सैनिकले अनुहार पुछ्यो, र उसको पेटका सीधा आफ्नो बन्दुक र्तेस्यायो । ओमोभोले बन्दुकको आवाज सुन्नुभन्दा केही पल अगाडिमात्र उसलाई माथिपट्टि फटफट गर्ने प्वाँखहरूको तीब्र आवाजले केही व्यवधान ग¥यो । यसले यसलाई भयभित तुल्यायो । त्यसपछि आफू लुकिरहेको ठाउँ छोडेर ऊ जङ्गलको बाटो चिच्याउँदै भाग्यो । सैनिकहरू उसको पछिपछि दुगुरे । भाग्दै जाँदा पातहरूको छाहारीभित्रबाट एउटा लाटोकेसेरोले उसलाई एकटक हेरिरहेको उसले देख्यो । ऊ रुखको एउटा जरोमा अल्झिएर लड्यो, र टाउको जमिनमा बज्रियो । चारैतिर अँध्यारो भयो उसलाई । ऊ बेहोस भएर लड्यो ।

ऊ ब्युँझँदा अँध्यारो भइसकेको थियो । यसले आफ्ना औँलाहरूलाई आफ्नै सामुन्ने हल्लायो, तर केही देखेन । त्यो अन्धकारलाई अन्धोपन हो कि भन्ने डरले ऊ आत्तियो र चिच्यायो । ऊ यतायति कुद्यो, र एउटा दैलोभित्र पस्यो र पुनः लड्यो ।

जब ओमोभो होसमा फर्कियो, बाहिर चर्को हल्लाखल्ला चलिरहेको थियोे । रेडियोले युद्धका खबरहरू प्रसारण गरि नै रहेको थियो । ऊ माथि बार्दलीतिर जाँदा थाहा पायो, उसका आँखाले ज्योति गुमाएका थिएनन् । ऊ अत्यन्त खुसी भयो । तर उसलाई आश्चर्य यस कुरामा लाग्यो कि ऊ त्यहाँ पुग्दा त उसका बुवा बेतको कुर्सीमा बसेर ती अघिका तीनजना सैनिकसँगै पामको रक्सी खाइरहेका थिए । ऊ कुदेर आफ्ना बुवा नजिक गयो, र भयभित मुद्रामा ती तीन सैनिकतिर देखाएर बाबुलाई केही सोध्यो ।

“तिमीले उहाँहरूलाई धन्यवाद दिनुपर्छ । उहाँहरूले तिमीलाई जङ्गगलबाट घर ल्याइदिनुभयो,” उसका बुवाले ओमोभोलाई भने ।
बेहोसीबाट भर्खरै होसमा फर्किएको ओमोभोले आफ्ना बुवालाई उसले देखेका दृष्यहरूको विवरण सुनायो । तर उनका बुवाले भने क्षमायाचनाको मुद्रामा सैनिकतिर हेरेर खिस्स हाँसे, र आफ्नो छोरोलाई टिपेट ओछ्यानतिर लगे ।

नोटः यस कथाका लेखकले बुकर पुरस्कार जितेका छन् । उनी नाइजेरियाका लेखक हुन् । यस कथालाई समालोचक महेश पौड्यालले अनुवाद गरेका हुन् ।

 

प्रतिक्रिया
Loading...