सामान्य परिस्थितिमा यतिबेला शैक्षिक सत्रको तेस्रो महिना चलिरहेको हुन्थ्यो तर प्रतिकूल परिस्थितिले विद्यालयका ढोका बन्द छन् । यसैबीच शिक्षा मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ, जसमा विद्यार्थीहरूको पहुँच अनुसार रेडियो, टिभी, अनलाइन, अफलाइन माध्यमबाट पठनपाठन अगाडि बढाउने परिकल्पना गरिएको छ । यसैको आधारमा असार १ गतेबाट सरकारकै अग्रसरतामा रेडियो, टेलिभिजनमार्फत शैक्षिक कार्यक्रम सुरु भएका छन् । हुन त गैह्रसरकारी तवरमा यस्ता कार्यक्रमहरू वैशाखदेखि नै सञ्चालनमा आइरहेका छन् । केही नहुनुभन्दा देशको क्षमताअनुसार जन्मिएको यो अवधारणा अहिलेको एउटा विकल्प हो । यसको प्रभावकारिता भोलि अनुसन्धानले देखाउँला । यो निर्देशिकाको एउटा सकरात्मक पक्ष भनेको पठनपाठनको सहजीकरणमा अभिभावकलाई पनि अघि सारिएको छ । यतिबेला आएर मन्त्रालयलाई सिकाइ सहजीकरणमा अभिभावकको भूमिका खड्किएछ । ढिलै भए पनि अभिभावकलाई सिकाइ केन्द्रित भूमिकामा अघि सारिएको छ । अभिभावकलाई बालबालिकाको सिकाइका लागि उत्प्रेरक भूमिका निर्वाह गराउने, ‘होम स्कूलिङ’ गराउने र ‘होम स्कूलिङ’ सिकाउन प्रदेशस्तरबाट अभिभावक शिक्षा र तालिम सञ्चालन गराउने प्रावधान राखिएको छ ।

अपेक्षा ठूलो, तयारी छैन

वैकल्पिक सिकाइ प्रणाली लागु गरेसँगै शिक्षामन्त्रीले अभिभावकसँग ठूलो अपेक्षासहित घरलाई शिक्षालय बनाउनुपर्ने घोषणा गरे । यसका लागि अभिभावकले सिकाइ सहजकर्ता र सह–शिक्षकको भूमिका नखेली हुँदैन । टेलिभिजन, रेडियो, मोबाइल वा कम्प्युटर खोलेर एकतर्फी ‘लेक्चर मेथड’ सुनाउँदैमा सिकाइ हुन्छ भन्ने भ्रममा अभिभावक र शिक्षक पर्नु हुँदैन । वास्तवमा बालबालिका लागि यस्तो ‘लेक्चर मेथड’ उहिल्यै फेल भइसकेको विधि हो ।

सिकाइका लागि तत्परता चाहिन्छ । अन्तरक्रिया चाहिन्छ । सहपाठीसँग सहकार्य चाहिन्छ । क्रियाकलापमा आफैँ सरिक हुनुपर्छ । ‘ट्रायल एण्ड एरर’ चाहिन्छ । नजानेको, नबुझेको सोधपुछ गर्नुपर्छ । जुन कुरा दूर शिक्षाका कमजोरी हुन् । अर्कोतर्फ अनेकथरि कार्टुन र रमझमलाई छोडेर टेलिभिजन हेरी पढ्न विद्यार्थीलाई प्रोत्साहन गर्नै गाह्रो छ भने रेडियो सुनेर पढ्ने कुरा त उनीहरूलाई खेलाँचीझैँ लाग्नेछ । विद्यालय नखुलेसम्म यसो भुलाऊँ भन्ने हो भने अर्कै कुरा, होइन साँचो अर्थमा सिकाउने नै हो भने बालबालिकासँग एकजना सह–शिक्षक चाहिन्छ र त्यो जिम्मेवारी अभिभावकले पूरा गर्नुपर्ने छ । त्यसैले अभिभावक पनि विद्यार्थीसँगै अघि नसरी सुखै छैन ।

सिकाउनलाई पहिले आफूले पनि सिक्नु पर्यो । आफू पनि अगाडि सरेर कार्यक्रम हेर्नु, सुन्नु पर्यो । नबुझेको ठाउँमा उनीहरूलाई बुझाउनु पर्यो । छलफलमा सरिक हुनुपर्यो । उनीहरूको कक्षाकार्य वा गृहकार्य हेरेर सुझाव दिन सक्नु पर्यो । एक हिसाबले अभिभावकले बालबालिकाको सहपाठी र सह–शिक्षकको टोपी लगाउनु पर्ने देखिन्छ ।

उता धमाधम खेतीपातीको सिजन छ, अभिभावक मात्रै होइन बालबालिका पनि काममा तल्लीन छन् । विद्यालय बन्द भएर त एकथरि अभिभावक असाध्यै खुसी छन् । अनि प्रश्न उठ्छ, यत्रो ठूलो जिम्मेवारीका लागि खोई त अभिभावकलाई तयार पारिएको ?

नीतिगत प्रावधान र अभ्यास

शिक्षासँग सम्बन्धित जति पनि ऐन, निर्देशिका, नियमावली छन्, तिनले सधै अभिभावकलाई विद्यालयको व्यवस्थापकीय पाटोमा सघाउने र विद्यालयमा हुने निणर्यहरूको केवल साक्षीको रूपमा मात्रै परिकल्पना गरेको पाइन्छ । राष्ट्रिय पाठ्यक्रम प्रारूपले पाठ्यक्रम विकासमा अभिभावकलाई पनि सहभागी गराउने भने तापनि त्यो औपचारिकतामै सीमित छ । त्यस्तै शिक्षा ऐनले अभिभावक शिक्षासम्बन्धी कानुन, योजना तथा कार्यक्रम बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा राखिदिएको छ, त्यो कहिले बनेर आउने हो, कस्तो बनेर आउने हो अत्तोपत्तो छैन ।

[bs-quote quote=”के अभिभावक खोला तर्दाका लौरी मात्रै हुन् ? अप्ठ्यारो परेको बेलामा मात्रै उनीहरूलाई अगाडि धकेल्ने ? शिक्षकका लागि अनगिन्ती तालिम, कार्यशाला, गोष्ठीहरू चलाइयो, के अभिभावकको लागि अभिभावक बैठकबाहेक अन्य क्षमता विकासका कार्यक्रम ल्याइयो त ? के उनीहरूलाई पाठ्यक्रम बुझाउने, शिक्षण सिकाइका विधि, प्रक्रिया र सिकाइ सहजीकरण बुझाइयो त ? अभिभावक पनि सह–शिक्षक हुन् भन्ने छाप बालबालिकाको दिमागमा पार्न सकियो त ?” style=”default” align=”left” color=”#dd3333″][/bs-quote]

लेखकलाई जानकारी भएसम्म वितगमा अभिभावकलाई प्रत्यक्ष सिकाइ सहजीकरणमा अगाडि सारिएको कुनै अभ्यास छैनन् । तर अहिले आएर अचानक उनीहरूलाई ‘होम स्कूलिङ’ का लागि सह–शिक्षक रूपमा अगाडि सार्दा विभिन्न प्रश्न जन्मिएका छन् । के अभिभावक खोला तर्दाका लौरी मात्रै हुन् ? अप्ठ्यारो परेको बेलामा मात्रै उनीहरूलाई अगाडि धकेल्ने ? शिक्षकका लागि अनगिन्ती तालिम, कार्यशाला, गोष्ठीहरू चलाइयो, के अभिभावकको लागि अभिभावक बैठकबाहेक अन्य क्षमता विकासका कार्यक्रम ल्याइयो त ? के उनीहरूलाई पाठ्यक्रम बुझाउने, शिक्षण सिकाइका विधि, प्रक्रिया र सिकाइ सहजीकरण बुझाइयो त ? अभिभावक पनि सह–शिक्षक हुन् भन्ने छाप बालबालिकाको दिमागमा पार्न सकियो त ?

बालबालिकामा अझै पनि शिक्षक नै सर्वेसर्वा हो र शिक्षकले सिकाएका गलत कुरा पनि अकाट्य हुन् र अभिभावकले शिक्षकले जति जानेका छैनन् भन्ने भ्रम कायमै छ । यसले पनि अभिभावकलाई सिकाइ सहजीकरणमा कति तयार पारियो र बालबालिकाले अभिभावकलाई कतिको ग्रहण गर्छन् भन्ने स्पष्ट हुन्छ ।

अन्तर्राष्ट्रिय अभ्यास

न्यूजिल्याण्डमा विभिन्न परिस्थिति र बाध्यताले विद्यालय जान नसक्ने सहर तथा विकट भेगका बालबालिकालाई लक्षित गरी अनलाइनबाट दूर शिक्षा कार्यक्रम चलाइन्छ । जसमा अभिभावक वा उनीहरूले तोकेको व्यक्तिले सह–शिक्षकको भूमिका खेल्नुपर्छ । अभिभावकले बालबालिकालाई विद्यालयमा जस्तै घरमा पनि निश्चित समय छुट्याइ पठनपाठनको वातावरण सिर्जना गरी आफू पनि सँगै बसेर पढाइ लेखाइमा सघाउँछन् भने शिक्षक तथा प्रशिक्षकले उनीहरूलाई सघाउँछन् । अभिभावकलाई जिम्मेवार र कटिबद्ध बनाउन विद्यार्थीको सिकाइ उपलब्धिको आधारमा प्रोत्साहन भत्ता पनि दिइन्छ । यसले विद्यार्थीको सिकाइमा अभिभावकलाई पनि जवाफदेही बनाउँछ । उनीहरूलाई सह–शिक्षकको रूपमा तयार पार्नलाई जसरी हाम्रा शिक्षकलाई क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिन्छ, त्यसैगरी विभिन्न तालिम, गोष्ठी र कार्यशाला गरी सँगै पाठ्यक्रम विकास गर्ने, पाठ्यक्रम बुझाउने, पढाउने विधि, प्रक्रिया तथा क्रियाकलापहरू सिकाउने साथै आफ्ना बालबालिकाको सिकाइको लक्ष्य निर्धारण गराइन्छ । त्यस्तैगरी बीचबीचमा पनि कोचिङ र मेन्टरिङलाई जारी राखी विभिन्न सपोर्ट क्लबहरू पनि सञ्चालन गरिन्छ ।

[bs-quote quote=”बालबालिकाको पढाइलेखाइका लागि विद्यालयको मात्रै मुख ताकेर हुँदैन, यो सिकाइ प्रक्रियामा अभिभावकलाई पनि सह–शिक्षकको रूपमा विकास गर्नुपर्छ । त्यसो नगरी दूर शिक्षा अथवा वैकल्पिक शिक्षा कार्यक्रमहरू खासै प्रभावकारी हुन सक्दैनन् । त्यसो भए सिकाइ सहजीकरणमा अभिभावकलाई पनि अगाडि बढाउन हामीले के गर्न सकिन्छ त ? यसका लागि तत्कालीन र दीर्घकालीन उपाय के हुन सक्छन् ?” style=”default” align=”right” color=”#dd3333″][/bs-quote]

यसले के देखाउँछ भने बालबालिकाको पढाइलेखाइका लागि विद्यालयको मात्रै मुख ताकेर हुँदैन, यो सिकाइ प्रक्रियामा अभिभावकलाई पनि सह–शिक्षकको रूपमा विकास गर्नुपर्छ । त्यसो नगरी दूर शिक्षा अथवा वैकल्पिक शिक्षा कार्यक्रमहरू खासै प्रभावकारी हुन सक्दैनन् । त्यसो भए सिकाइ सहजीकरणमा अभिभावकलाई पनि अगाडि बढाउन हामीले के गर्न सकिन्छ त ? यसका लागि तत्कालीन र दीर्घकालीन उपाय के हुन सक्छन् ?

तत्कालीन उपाय

अहिले बालबालिकाको सिकाइमा सघाउन सक्ने सबैभन्दा नजिकमा को छ ? उनीहरूकै अभिभावक र परिवार । विद्यालय खुलेर सामान्य अवस्थामा नआएसम्म उनीहरूलाई सिकाउने त घरघरमै हो । सक्ने अभिभावकले आफ्नै तरिकाले पठनपाठन अघि बढाइरहेका छन् भने अन्य अभिभावक दूर शिक्षा कार्यक्रमकै भरमा छन् । त्यसैले यो सिकाइ प्रक्रियामा अभिभावकलाई पनि अर्थपूर्ण सहभागिता गराउन सर्वप्रथम अभिभावक पहिचान गर्नुपर्छ ।

पहिलो नम्बरका अभिभावक आफैँ सचेत र क्षमतावान् छन् । उनीहरूले आफ्नै पहलमा घरमै सिक्ने सिकाउने काम सुचारु गरिरहेका छन् । दोस्रोथरिका अभिभावकलाई गर्ने इच्छा छ, तर सहजीकरण गर्ने तरिका थाहा छैन । तेस्रोथरि अभिभावकलाई सिक्ने सिकाउने तरिका अलिअलि थाहा छ, तर उनीहरूले यो वैकल्पिक प्रणालीलाई पत्याएका छैनन् र सघाउन अघि सरेका पनि छैनन् । चौथोखाले अभिभावक आफू पढ्न लेख्न सक्दैनन् र अक्षर नचिने पनि सिकाउन सकिन्छ भन्ने कुरामा विश्वासै राख्दैनन् ।

अभिभावक पहिचान भइसकेपछि वैकल्पिक सिकाइ सहजीकरण निर्देशिकाले जिम्मेवारी तोकेबमोजिम प्रदेश सरकारले अभिभावकलाई सिकाइ सहजीकरण गर्न सक्ने गरी ‘होम स्कूलिङ’ को तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गनुपर्छ । पहिले अभिभावकलाई तयार पारेर पठनपाठन सुरु गर्नुपर्ने थियो तर कार्यक्रमहरू धमाधम प्रसारण हुन थालिसके, अभिभावकलाई के गर्ने, कसरी गर्ने मेसोमेलो छैन । त्यसैले छिटोभन्दा छिटो अभिभावक लक्षित रेडियो, टिभी कार्यक्रम सञ्चालन गरौं, सिकाइ सहजीकरण गर्ने र घरमा सिक्ने वातारण बनाउने आधारभूत तरिकाहरू सिकाऔं । त्यस्ता कार्यक्रममा अभिभावकका आवाज, असल अभ्यास, समस्या तथा जिज्ञासा पनि समेटौं । सकेसम्म छुट्टै कार्यक्रम बनाउनुभन्दा बालबालिकाको रेडियो वा टेलिभिजन कार्यक्रमसँगै एकीकृत रूपमा लैजाऔं । घरमै ठूला दाइदिदी छन्, उनीहरूलाई पनि अघि सारौं । अल्लोपल्लो घरबाट पनि सिक्ने सिकाउने वातावरण बनाऔैं । कोरोनाको सन्देश जस्तै घरमै पठनपाठनसम्बन्धी चेतनामूलक सन्देशहरू सञ्चारका माध्यमका साथै फोनमा गर्दा पनि बज्ने बनाऔं ।

अर्को महत्त्वपूर्ण पाटो हो, शिक्षक परिचालन । कक्षा शिक्षकमार्फत् प्रत्येक अभिभावकमा पुगौं । माथि चर्चा गरे अनुसारका अभिभावकका किसिम पहिचान गरी फोनबाटै भए पनि सहयोग गरौं । चौथो किसिमका अभिभावकलाई विशेष सहयोग चाहिन्छ । अभिभावकको पहुँचअनुसार, प्रसारण भइरहेका कार्यक्रमको बारेमा जानकारी गराऔं । घरमै बालबालिकालाई सिकाउन चाहिने आधारभूत तरिकाहरू सिकाऔं । कक्षामा विद्यार्थीको संख्या हेरी हप्ताको दुई तीन पटक फोन गरौं । दोस्रो, तेस्रोपटकको फोनमा पठनपाठन कसरी चलिरहेको छ, जानकारी लिऔं । अप्ठ्यारो परेको ठाउँमा फोनबाटै कोचिङ र मेन्टरिङ गरौं । थप के गर्ने सकिन्छ ? योजना बनाऔं । सम्भव भए विद्यार्थीसँग पनि कुरा गरौं । यसले उनीहरूको हौसला बढाउँछ । अप्ठ्यारो परिस्थितिमा गरेको यो सहयोगले शिक्षक र विद्यालयप्रति अभिभावक र विद्यार्थीको सम्मान जरुर बढाउँछ । शिक्षक चासो दिएर लागेपछि अभिभावकको पनि जाँगर चल्छ । प्र.अ.ले पनि फोनबाटै भए पनि प्रत्येक शिक्षकसँग प्रगति विवरण संकलन गरौं । आवश्यकता अनुसार कहाँ कस्तो सहयोग चाहिन्छ छलफल गरौं । त्यस्तै, उक्त प्रगति विवरण प्र.अ.ले पालिकासम्म पुर्याउने व्यवस्था मिलाऔं । एकअर्को विद्यालयका असल अभ्यास र चुनौतीमाथि छलफल गरी पालिकाले कहाँ सघाउनु पर्ने हो, सहयोग गरौं । छलफल गरेर फोन खर्च छुट्याऔं । फोनबाटै अभिभावकलाई प्रभावकारी सहयोग, कोचिङ र मेन्टोरिङ गराउन पालिकाले शिक्षकलाई पनि केही आधारभूत विषय र तरिका सिकाउनु पर्छ ।

भविष्यको बाटो

शिक्षासम्बन्धी नीति, कार्यक्रममा अभिभावकले सिकाइ सहजीकरण गर्ने सिकाइ केन्द्रित भूमिकाले प्राथमिकता पाएन वा भनौं उनीहरूको क्षमता र भूमिकालाई बेवस्ता गरिँदै आइयो । यसले सिकाइ र विद्यार्थीलाई केवल शिक्षक र विद्यालयमुखी मात्रै बनायो तर यो महामारीले वैकल्पिक शिक्षक खोज्यो । त्यसैले अब भावी नीति र कार्यक्रमहरूमा हरेक अभिभावकलाई वैकल्पिक शिक्षकका रूपमा विकास गरौं । त्यसका लागि क्षमता विकासका कार्यक्रम ल्याऔं । शिक्षकलाई जस्तै क्षमता विकासका तालिम, कार्यशाला, गोष्ठीमा अभिभावकलाई पनि किन नल्याउने ?

[bs-quote quote=”उनीहरूलाई विद्यालयमा हुने गनगने बैठक र निणर्यका साक्षीभन्दा माथि उठाऔं । स्थानीय तहको काँधमा आएको यो जिम्मेवारीमा प्रदेश र संघद्वारा सहजीकरण होस् । त्यस्तै न्यूजिल्याण्डको अभ्यासजस्तै अभिभावकलाई पनि पाठ्यक्रम राम्रोसँग बुझाऔं ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote]

उनीहरूलाई विद्यालयमा हुने गनगने बैठक र निणर्यका साक्षीभन्दा माथि उठाऔं । घरमा बालबालिकाको सिकाइलाई सघाउन सक्ने आधारभूत सीप विकास गर्ने निर्देशिका तयार पारौं । स्थानीय तहको काँधमा आएको यो जिम्मेवारीमा प्रदेश र संघद्वारा सहजीकरण होस् । त्यस्तै न्यूजिल्याण्डको अभ्यासजस्तै अभिभावकलाई पनि पाठ्यक्रम राम्रोसँग बुझाऔं । आधारभूत शिक्षण विधि तथा प्रक्रियाहरू सिकाऔं र आफ्ना बालबालिकाको सिकाइको लक्ष्य आफैँ निर्धारण गर्न लगाऔं ।

अब घरमा अभिभावकले पढाउनै नसक्ने यो शिक्षकमुखी पाठ्यक्रम तुरुन्तै बन्द गरौं । पाठ्यक्रममा जतिसक्दो व्यवहारिक पक्षलाई जोडौं । अभिभावकले पनि सहजीकरण गर्न सक्ने विषयवस्तु पहिचान गरौं । पाठ्यक्रम विकास प्रक्रियालाई संघ र प्रदेशको सहयोगमा स्थानीय तहले नै नेतृत्व गरौं । र त्यो प्रक्रियामा बढीभन्दा बढी अभिभावक समेटौं । यसले अलि बढी समय लिन सक्छ, तर सिकाइ उपलब्धि बढाउन सकिन्छ भने बढी समय लागेर के फरक पर्छ ?

अहिले विद्यालयको प्रयासले मात्रै ५० प्रतिशतको हाराहारीमा सिकाइ उपलब्धि हासिल गरिएको छ भने अभिभावकलाई पनि सिकाइ प्रक्रियामा ल्याउन सकियो भने पक्कै पनि थप १५-२० प्रतिशत बढाउन सकिन्छ । कोरोना कहरले हामीलाई सिकाएको पाठ र देखाएको बाटो पक्रन सक्यौं भने यसले नेपालको अभिभावक शिक्षामा नयाँ कालखण्ड जन्माउने छ । घरघरमा वैकल्पिक शिक्षकहरू जन्मनेछन् अनि मात्रै मन्त्रीज्यूले भनेजस्तै घरहरू पनि शिक्षालय बन्नेछन् ।

(लेखक शिक्षाकर्मी, अनुसन्धानकर्मी र प्रशिक्षक हुन् । उनी विशेषगरि बालबालिका र शिक्षाको विषयमा कलम चलाउँछन् ।)