सत्तरी वर्षमा पनि भीष्म बाजे जवान डकार्थे । उसै पनि उनका कान छिटा, आँखा तीखा । फट्किनु पर्दा लब्रकलब्रक कुनै तरुण-तरुणी सैपरी तीव्रतर फड्कन्थे । हितैषी दामोदरलाई उ.. पर छोडिदिन्थे, र पछि फर्केर कम्मरमा हातको टेका लगाई भन्थे- “नाथु यो ठाडे भीर त उमेरमा झिमिक्क गर्दा पो त ! अँ, टेर्दिनँ अझै, सोर्है आना ! हेर कहाँ छोड्यो यो अल्छी ?”

भीष्म बाजे ‘हाहा हूहू’ गर्दै तलतिर बुटाबुटीमा रल्लिरहेका दामोदरलाई माथि पुगेर सुनाउन लागे । दामोदर तल भिरालोमा उभिएर एउटा खुट्टा माथि टेकाई उसैगरि खुई… गर्दै उभिएका थिए । सायद उनी थाके । उनले हातको इशाराले भने, “पख् पख् मुढेँ ! म आइपुगेँ, तबैतारे !”

बिमल सिटौला

पुराना बूढाहरूलाई सत्य युगको दूध, दही र घिउले घच्चघच्याउछ भनेझैँ भीष्म बूढाको बोली र गराइमा दम झल्किन्थ्यो । तर दामोदर बूढामा त्यो थिएन । दुवैका आँखाका किनारमा मुजुक्क परेर अनुहारको गतिपति थिएन । चिउडो खस्केको थियो । बाहिरी सल्लक खुम्चिएर एकै ठाउँमा देखिन्थ्यो । हत्केलाको विपरितपट्टि छाला कालो र लत्रेको थियो । देखिने जति रौँ सबै सेतै । पहिरनमा सेतो कमिज परिधान गरेका, तर गोबर/सोतर सोर्दा र चुनदेवी मन्दिरछेउको चिया पसलमा समकालीनहरूसँग बसेर हात माड्दै गफ्फिदा टाटैटाटा । यधपि जीवित एउटै थियो, भीष्म बूढाको गफको हाँक, बेजोडको !

पहिले-पहिले अति शुरा थिए रे भीष्म बूढा ! दर्जन लैना चौपाय पालेका, बिहान सबैभन्दा छिटो मन्दिरछेउको पसलमा दूध ल्याइपुर्याउँथे रे ! कम्तिमा पर्वतेनी साहूनीलाई एक कपमा तीन चम्चा चिनी थप्न लगाई-लगाई चिया पिउँथे, र एक बिहानभरि बढो हाँक बढाएर कुरा गर्थे रे ! सबै गोपाल-महेशपालहरूसँग । त्यसपछि मात्र, अबेर दामोदरसँग यसरी नै नारिंदै घर फर्कन्थे रे ! दूधको ट्याङ्का उनले कहिल्यै छुटाउँदैनथे । तर, आजभोलि हप्तामा एक-दुई दिनमात्र धाउँछन् उनी । त्यो पनि छिमेकी हितैषी दामोदर पाण्डेसँग मन मिल्दा । नमिल्दा अकेलै अकेलै । अरूबेला उनका कान्छो छोरा हरिमर्दनले जिम्मा लिन्छन् । तर, दूधको रकम बुझ्न भने उनी नै ।

त्यसदिन, सँगसँगै हिँडेका उनीहरूमा भीष्म माथि ठमठमाएर पुग्दा दामोदर बूढाको मनमा वराध हिनताबोध भयो- “साँच्चै अशक्त भएछु अब ता !” उनले जिब्रो फट्कारे- “मेरो छेउमा बढाउछ हाँक, उमेरले मेरो उमेर नाघिसक्यो । दुई मुख जोड्दा हेरिनसक्नु छ । अझ फुर्ति गर्छ । तबैतारे ! अझ अल्छी रे मलाई !” दामोदर बूढा माथि थुम्कोमा आफूउपर गिल्ला गरिरहेका हितैषी भीष्म बूढाको बारेमा यस्तै मनोगणन्ते कुरामा अल्झिएका के थिए, एक्कासि कावा खाएर ढले । दूधको ट्याड़्का हल्लाउदै भीष्म बूढा हतारमाओर्लिए तल ।

“ए..ए.. के भयो तँलाई एक्कासि !”, उनी नजिकै आइपुगे । भकुल्ले शरीरलाई उनले यता र उता चलमलाए । कोनि के के गरे उनले ! दामोदर बूढाले आँखाका पटल खोले । एकछिन मूक देखिए उनी । लाटोसुधो जस्तो । आँखा झिमिक-झिमिक गरे । अनि मात्र भिष्म बूढा बोले, गल्ती प्रायश्चित गर्दै- “भोलिदेखि तँलाई मैले साथी ल्याएछु भने त मरिजाऊँ ! यस्तो गर्न मिल्छ यो निर्जनमा ? आफ्नो झन्नै खरी झरे ! तैँले परिवञ्चनामा मलाई कुन दिन खाद्छस् र मेरो हालत त्यही बलबहादुरको जस्तो बनाउछस् । सोर्है आना !”

“ए लौ लौ, तबैतारे !”, दामोदर बूढाले आधा शरीर उठाएर खुई गरे र सञ्जीवनी बुटी दिने भीष्मलाई श्लाघा गरे- “तँ थिस् र त म बाचेँ बा ! तँ थिइनस् भने आज मेरो परान यही लामाटारे भीरमा जान्थ्यो ।”

केही गम्किएर केही हाँक बढाएर भीष्म बूढा बोले- “तँलाई मैले धेरैचोटि त्राण गरेको छु । त्यो त माथि जगन्नाथलाई थाहै छ नि !”, यस्तै उस्तै ती व्यथित एरुण यौवनका कुरा गर्दै दुई बूढाहरू सँगसँगै उकालो लागे ।

त्यतिखेरै बिहानले ज्योतिको मुस्लो पायो । कलिलो घाँमको प्रकाशमा उनीहरूको काय तप्न त पाएन, किनकि उनीहरू पूर्वी दिशाको उकालो चढ्दै थिए । पछाडि पर घाँममा कुनै वस्तुको टलक देखियो । भीष्म बूढाले अड्कल काटिहाले, “ए ! को लम्किदै छ तलबाट । देख् त !”

दामोदर बूढाका कौतुक नजर तल झरेनन् । बरु माथि चढ्नै बले गरे उनी । कुनै विसान नगरी उनी चढेको चढै थुम्कोमा पुगे । फेरि कावा खाए । हो, उनी फेरि ढले । तर, भीष्म बूढा कोनि के को क्षुधित भएर, कुनै अहेरी झैँ बिराजमान भए । उनले यो थाहा पाए कि ती कुनै स्त्री नै हुन् । उनी त फर्किए आएको बाटो ।

“नानी कहाँ पुग्नुपर्ने ?”, उनले लम्बेजिब्रो पोखरीबाहिर नचाए ।

बढो भड्किलो तरहले अहम्ता पोख्दै ती स्त्री बोलिन्, “माथिल्लो गाउँ बाजे ।” अचानक भीष्म बाजेले तीन पहर पछाडि सारे, दाईने हात अनुहारमा घुमाउँदै ।

“अनि नानी ? यति विघ्न भारी बोकेर पार गरौली त यो डाँडो ? खै लेऊ यो झोला म बोकिदिन्छु ।”, भीष्म बाजेले सबैभन्दा ठूलो झोला आफ्नो आङमा चढाइहाले । उनी भन्दै थिइन्, “सक्नुहुन्न बाजे यो त ! यो हाते झोला चै समाउनू ।”

अहँ, टेरेनन् भीष्म बूढाले । स्त्रीलाई आफू अघि बढाएर उनी पछिपछि लागे । बूढा भन्दै थिए- “के भन्छौ हौ नानी, अझै जवानै छु नि ! सोध न त्यहाँ पुगेपछि, यो गाउँ हाँक्ने को हो भनेर ?”

स्त्री त थुम्कोमा किन्चितै कष्टले आइपुगिन्, तर भीष्म बाजे आएनन् । दामोदर बूढा तब मात्र होसमा आइपुगे जब ती स्त्रीलाई नजिकै देखे । दामोदर बूढा उठेर छटपटाउन थाले । हितैषी भीष्मको परोक्षमा, न कि स्त्रीको आगमनमा । स्त्रीले नै भनिन्, “बाजे मेरो सामान बोकेर आउने बाजे त हराउनुभयो त ….. !”

दामोदर बूढा अचम्ममा त परिहालेनन्, तर भीष्मको लुप्ततामा असमञ्जसतामा निसार भैरहे । उनले भीष्मलाई खोज्दै जाँदा तल रूखमा अल्झिएको देखे । निकै दुरुह अवस्था देखे उनले हितैषी भीष्मको । ती लोभना स्त्री पनि पछिपछि आउँदै थिइन् । भीष्म बाजेको शरीरको एक वृक्षको ठुटोमा लत्रेको गति देखेर चिच्याइन् ।

दामोदर बूढा एकदमै कान्तिहिनताको स्थितिमा पुगे । उनले नजिकै गएर अर्ध वृत्तकार आकारमा भएको शरीरलाई छोए । मुखमा जल पनि हालिदिए । तर, उनको श्वास उडिसकेको थियो ।

उनले ती स्त्रीउपर हेर्दै एकदमै निसाहार भएर भने- “मृत्यु पनि ढोल पिटेर नआउने रहेछ नानी !”