साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख कान्तिपुर दैनिककाेबाट लिएका हौँ । यो लेख कान्तिपुरका लागि सरिता तिवारीले तयार पार्नुभएकाे हाे । यहाँ क्लिक गरेर यस लेखलाई कान्तिपुरमै पनि पढ्न सक्नुहुनेछ ।

===========

पाठक गण,
कुनै भूमिका नबाँधी र केही अग्रकथन नगरी सोझै विषयप्रवेश गर्छु । निश्चित शब्दसीमाको यो लेखोटमा कति कुरा भन्न सकुँला, कति छुट्न सक्लान् । छुटेका कुरा अरू माध्यमबाट पनि फेरि राख्न सकिएला ।

आफैंले बेहोरेको सात वर्षअघिको यौन हिंसाविरुद्ध पीडक संलग्न संगठनमा गत वैशाख २६ गते मौखिक उजुरी दिएर उक्त उजुरीलाई उजुरी नै नठानी खारेज गरिदिने आशंकाले गत असार ९ गते लिखित ‘जाहेरी–पत्र’ नै पेस गरुन्जेल पनि मलाई लागेको थिएन, नेपालको वाम वृत्त र यसका जडताहरू यतिसम्म कठोर र अमानवीय होलान् भनेर । नारी मुक्ति र सर्वहारा वर्गको सकल उत्थानका लागि लड्ने हामी यो ‘बुर्जुवा’ व्यवस्थाभित्र सामन्ती संरचनाले जकडेको अदालत जत्ति पनि पीडितमैत्री नहौंला भन्ने त झनै थिएन । ‘यौनजन्य हिंसाविरुद्ध शून्य सहनशील’ दाबी गर्दै पल शाह प्रकरण, अछाम जिल्ला अदालतको अन्यायपूर्ण फैसला र सुन्दरी प्रतियोगिताका एक आयोजकबाट भएको यौनहिंसाविरुद्ध काठमाडौंमा ‘अदालत घेरौं’, ‘यौनहिंसाका मुद्दामा हदम्याद खारेज गर’ जस्ता नारासहित ‘हिंसापीडितको आवाजमाथि पहिलो विश्वास गर्न प्रतिबद्ध’ ‘कमरेड’ हरूले नै झन्डै दुई महिना लामो ‘ट्रायल’ पछि पीडितलाई तँ ‘आफैंले रोजेको न्यायिक प्रक्रियामा जा’ भनेर टक्टकिएलान् र भित्रभित्र उजुरीकर्ताको गोपनीयता चुहाउँदै ‘सर्भाइभर आफैंले मुद्दा सार्वजनिक गर्न नचाहेको, भित्रभित्रै मिलाउन चाहेको’ भनेर आलोचनाको बजार चलाउलान् भन्ने त लाग्ने कुरै थिएन । तर यिनै कुराहरू भए ।

‘बुर्जुवा’ संयन्त्र भनिने प्रहरी र न्यायालयले समेत जाहेरीको पहिलो चरणदेखि फैसलासम्मै यौनहिंसा पीडितको नाम ‘डिकोड’ गरेर मुद्दा चलाउँछन् भन्ने हामीले बुझ्नुपर्छ । विद्यमान कानुनी व्यवस्थाभित्र यौनजन्य हिंसाका मुद्दामा हदम्यादको तगारो नभइदिएको भए कुनै दल या संगठनको नेता/कार्यकर्ताविरुद्ध अमुक दल/संगठनलाई जवाफदेह बनाउन गौंडागौंडा कुदेर न्यायको पहल गर्ने स्थिति हुँदैनथ्यो । फौजदारी न्यायको प्रक्रिया अनुसार नै प्रहरी र अदालतभित्रै लगेर मुद्दा अगाडि बढाइन्थ्यो । तर मर्का पर्‍यो भनेर गुहार्ने ठाउँ र उजुरी लिने संयन्त्र नभएपछि जाने कहाँ ? विविध कारणले समयमै व्यक्त गर्न र न्यायिक प्रक्रियामा लैजान नसकेका कार्यस्थल वा सामाजिक संस्था/समूह र वैचारिक–राजनीतिक संगठनभित्र भएका यौन हिंसालाई सुनिदिने निकाय नभएपछि एउटा हिंसापीडितले कुन स्तरको खली काट्छ, कति दुःख र हैरानी पाउँछ ? त्यसको भुक्तभोगी हुँदा थाहा पाएको निर्मम सत्य हो, जति नै क्रान्तिकारी दाबी गरे पनि व्यक्ति मूलतः यौनहिंसा पीडितको पक्षमा छैन । सामन्तवादी–पितृसत्तावादी संरचना मात्रै होइनन्, समाजको सबभन्दा मुखर प्रगतिशील र क्रान्तिकारी दाबी गर्ने बौद्धिक तप्कासमेत कसरी उजुरकर्तालाई नै आत्माहीन र थङ्थिलो बनाउन लागिपर्छ भन्ने कुराको आफैं एक ‘केस स्टडी’ बनिनु कति दुष्कर अनुभूति हो, बयान गरिसाध्ये छैन । यसबीच सदाशय राखेर प्रस्तुत भएका पनि को–को शुभेच्छु हुन्, को सूचना लिँदै ‘बुमर्‍याङ्’ गराउन सक्ने खेलाडी हुन् भन्ने पत्तो पाउन नसक्ने भुमरीभित्र फँसेर कति कष्टकर दिनरात बिते भनिसाध्ये छैन ।

मुद्दाका पक्ष र विपक्ष दुवै लामो समयदेखि वामपन्थको बाटो पक्रेर यहाँसम्म आएको र बीचको केही समय वैचारिक सहयात्रासमेत गरेको अवस्थामा पीडित पक्षले पीडकको दोष ठहर हुँदा अपेक्षित नैतिक–सामाजिक कारबाहीसहित ‘वाम–आन्दोलनलाई शुद्धीकरण गर्दै’ न्याय स्थापित गर्न सकिने विकल्प रहेसम्म वामपन्थी घेरो नफड्कने प्रयत्न अन्तिमसम्मै गरेको हो । तर यो प्रयत्नलाई आन्दोलनप्रतिको सम्मान र उदारताका रूपमा होइन, उल्टै पीडितको कमजोरीका रूपमा लिइयो । यसबीचमा मुद्दाका पहिलो सुनिजान्ने प्रमाणस्वरूपका गवाहलाई सुनुवाइमा आउनै नदिई लुकाइनु, विपक्षले पक्षका अघि गल्ती स्वीकार गरी माफी मागेको देखिजान्ने प्रमाणस्वरूपका एक मात्र साक्षीले बयान फेरिदिनु सामान्य कुरा थिएनन् । अन्त्यसम्म आइपुग्दा सम्बन्धित संगठनभित्रबाट निरुपण गर्न ‘हामीले सक्दैनौं’ भनेर लिखित उत्तर आएपछि संगठनकै पहलमा पक्ष–विपक्षले मानेका, तोकिएका मानिसहरूसहितको सामूहिक सुनुवाइमा बस्न विपक्षको पटकपटकको आनाकानी र पछि फेरि रहस्यमय तरिकाले विपक्ष ‘टेबल–टक’ गर्न उपस्थित हुने सन्देश प्राप्त भएपछि उपलब्ध अवसरको उपयोग गरेर विपक्षले मागेको माफीनामालाई नै अगाडिको लडाइँको बिसौनी बनाउने र यतिन्जेलसम्म भयावह रूपले क्षतिग्रस्त आफ्नो मनोबललाई केही दिन ‘पज’ दिएर शक्तिसञ्चय गर्दै ‘लेख्दै लड्ने’ उपायतिर सोझिनु पीडाको ‘सेफ ल्यान्डिङ’ थियो । त्यो आफैंमा मुनासिब र अपेक्षित न्याय थिएन, बरु न्यायको टेक्ने अखेटो मात्र थियो । अर्को अर्थमा विपक्षको माफीनामा बाँकी लडाइँको आधारभूमि थियो । यतिसम्मकै उपलब्धिका लागि किन नहोस्, घटनाबारे २०७५ मा सुनिजान्ने साक्षी, कवि मित्र अभय श्रेष्ठको न्यायिक संवेदना र स्पष्टताबाहेक खास राहतयोग्य कुरा भएनन् ।

वैशाख २६ मा मौखिक उजुरी लिएको संगठनले एकातिर ‘हामी सर्भाइभरलाई विश्वास गर्छौं’ भन्ने अर्कोतिर पीडकलाई सार्वजनिक प्रतिरोधका स्पेसमा स्थान दिने मात्रै गरेन, यसभित्रका सदस्यले पीडकसहितको फोटो ‘सेलिब्रेट’ समेत गरिरहे । किन ? भन्ने प्रश्नमा दुई पक्षको धारणा आएपछि मात्रै ‘बाइकट’ गर्ने कुरा सुनाए । औपचारिक रूपले आरोप पुष्टि भएपछि निलम्बन गर्ने तर अहिले नैतिक प्रश्नको रूपमा मात्रै लिइने भन्दै रहे । तर अन्त्यसम्म आइपुग्दा के भयो ? सुनुवाइमा आउन नदिएर साक्षी लुकाउने, बयान फेराउने खेल । पीडकलाई तैंले कुनै हालतमा घटना सकारिस् भने संगठनले कारबाही गर्नुपर्छ त्यसैले दुईपक्षीय छलफलमै बस्नुहुन्न, तँलाई हामी जोगाउँछौं भन्ने यता पीडितसँग हामी छौं है भन्दै झुलाइरहने तिकडम । यसले ‘सर्भाइभर’ को ट्रमालाई कतिसम्म बेवास्ता गर्थ्यो, कसरी खारेज गर्थ्यो, हिसाबकिताब रहेन । उता त्यही व्यक्तिले मुद्दाबारे ‘कसलाई सुनाऊँ भएको छ’ भन्दै बजारमा सुनाउने मान्छे खोज्दै गोपनीयता ‘लिक’ गर्ने यता उही व्यक्ति हामी तपाईंसँगै छौं, संगठनको बेइज्जत नगर्दिनुस् भन्दै अनुनय गर्ने । यस्तो अवस्थामा हिंसापीडितको गोपनीयता कायम राखेर मुद्दालाई सेमि–पब्लिक (अर्ध–सार्वजनिक) नै रहन दिने अवस्था पनि कति थियो ? कि अब यसलाई छताछुल्ल पारेर बाहिर ल्याऊँ ? के गरौं र कसो गरौं भन्ने द्विविधाबीचको आत्मसंघर्ष कति कठोर भयो होला । कति दिन भोक लागेन, कति रात निद्रा परेन, यो कसैको पनि अनुमानभन्दा बाहिर छ ।

०००

एकातिर न्यायिक पहल गर्न महिनौं भौँतारिँदा थाकेर क्लान्त मथिंगल छ, जसमा देशको बौद्धिक सत्ताका यमान–यमानका नामहरूसँग ठोक्किँदा मिलेको निराशा, अपमान र एक–एक व्यक्तित्व अनावरण हुँदै जाँदा प्राप्त ‘तत्त्वज्ञान’ को सकस छ, अर्कोतिर सामाजिक सञ्जालमार्फत ‘बौद्धिक क्षेत्रमा काम गरिरहेको र कानुन जानेको महिला नै ‘सर्भाइभर’ हुँदासमेत मिलापत्र गरेर घटना सामसुम पारेको’, ‘होस्टायल भएको’ जस्ता आरोपसहित बलियो सामाजिक र आर्थिक अवस्था भएकी ‘सर्भाइभर’ सार्वजनिक हुन नखोज्नु ‘अपराध’ हो भन्ने दोषको भारी बोक्नु छ । आफूप्रतिको चौतर्फी असहयोग, घेराबन्दी र पीडक संरक्षणको नांगो खेल बयान गर्दै केही हजार शब्दको ब्लग लेख्ने र थप न्यायिक पहलको बाटो समात्ने विचार थियो । तर दिमाग थेग्रिने गरी त्यति समयको सुविधासमेत नपाई सामाजिक सञ्जालमा पीडक होइन पीडित नै लाञ्छित र अपमानित हुने क्रम सुरु भएपछि ‘बोल्नु’ को विकल्प रहेन ।

बोल्नु एउटा भयावह दुःख हो । अझ न्यायका लागि बोल्नु अकल्पनीय दुःख बेहोर्ने र आइपर्ने हरेक ‘कन्फ्रन्टेसन’ का लागि तयार भएर युद्धमा निस्कनु हो भन्ने जानेरै हो बोलेको । त्यति मसिनोसँग घटनाको तथ्य विवरण राखेको बोली कति सुन्छन्, कतिले सुन्ने धैर्य नै नराखी टिप्पणीमा उत्रिन हतार गर्छन् यसको लेखाजोखा हुने कुरा भएन । तर यसरी बोल्दा अर्को शिविरबाट लगाइन सक्ने आरोप र लाञ्छना कुन तहका हुन सक्थे, केके हुन सक्थे, अनुमानित थियो ।

वामपन्थी वृत्तका ‘भीष्म पितामह’, ‘आलोचनात्मक चेतका अग्रणी सिपाही’ मानिने लेखकको नेतृत्वले बसाउने भनिएको दुईपक्षीय सुनुवाइमै ‘ससुरा वा श्रीमान् लिएर आउनू’ भन्ने विपक्षको मागले जनाउँथ्यो घरका पुरुषहरूलाई साक्षी राखेर ‘चीरहरणकी द्रौपदी’ तुल्याउने रिहर्सल कति मिहिनेतसाथ गरिँदै छ भन्ने कुरा । दुर्भाग्यले त्यो सुनुवाइ हुनै पाएन र चीरहरण मञ्चन हुन पाएन । भीष्म पितामह लगायतका आँखाले राहत र ठूलो शान्ति पाए । जब अन्तिम परेपछि बोल्नैपर्ने स्थिति आयो, सामाजिक सञ्जाल आफैं दोहोरो बयानको ‘खुला इजलास’ बन्ने भयो । यसपछिका सार्वजनिक प्रतिक्रिया कति निर्मम र कठोर हुन सक्थे, अनुमान थियो । ‘डिफेन्स’ मा विपक्षले खडा गरेका प्रमाणहरू ‘तथ्य’ त थिए तर तिनले ममाथि भएको यौन हिंसालाई जायज ठहर्‍याउन सम्भव थिएन । यदाकदा लेखपढ गर्दा दिक्क लागेको बेला पठाइएका गीत (जुन मैले अरू केही साथीलाई पनि उसैगरी पठाएका प्रमाण सुरक्षित छन्), वैचारिक मैत्रीका कुशलक्षेम र कतिपय शिष्टाचार–औपचारिकता अनि केही आपसी वैचारिक सहमति–असहमतिका सबै थोक प्रमाणमा लगाएपछि घटना नै नभएको प्रमाण पुग्छ भन्ने विपक्षको ‘डिफेन्स’ बुर्जुवा अदालतभित्र प्रतिवादीतर्फले पेस गर्ने हदैसम्मका दुच्छर प्रमाणभन्दा पनि निम्नकोटीका थिए । त्यसपछि सामाजिक सञ्जालको बजारभरि चलेको अट्टहास र अपमानको घनत्व कति थियो र छ, भनिरहनु परेन । तर यी सबैलाई पचाएर, आफूमाथिका सबैखाले बजारु मनोरञ्जनलाई कालकूटझैं पिएर पनि लड्न उभिरहनु आजको अनिवार्य सर्त हो ।

यहाँनेर भन्नैपर्छ यतिसम्म लाञ्छित भएर, चरित्रहत्यासमेत खप्ने मूल्यमा पनि अहिले यतिका वर्षपछि आफूमाथि भएको यौन हिंसाको नैतिक–सामाजिक उपचार खोज्दै बोल्नु र निरन्तर बोलीमा अडिग रहनुपर्ने किन ? यो लेख लेख्न बस्दा मेरी छोरीले भन्न छुटाएकी छैन, ‘आमा ह्वाई नाउ ? भन्ने प्रश्नमा तिम्रो मत सबभन्दा बलियोसँग दिनू है !’ हिजै मात्र चितवनका एक लेखकले भने, तपाईंमाथि हिंसा भएको हामी पत्याउँछौं, हामी तपाईंलाई बिनासर्त विश्वास गर्छौं तर अहिलेसम्म किन नभन्नुभएको ?’

०००

चार वर्षकी छँदा आमाका काकाको छोरा अर्थात् मामाले आफ्नो जननेन्द्रिय मेरो मुखभित्र हुलिदिएका थिए । एउटा वयस्क पुरुषको पूर्ण विकसित यौनांग आफ्नो मुखभित्र भएको, त्यसको नुनिलो चिप्लो पदार्थ मेरो मुखभरि अनि घाँटीसम्म पुगेको सम्झनाले मात्रै पनि कति अभिघात हुन्छ, शब्दमा भन्न कठिन छ । आज ४३ वर्षको उमेरसम्म पनि मामाघर जाँदा, खाँदा बस्दा, टीका दक्षिणा गर्दा म उनलाई मामा नै भन्छु, ‘हिंस्रक’ भन्न सकेकै छैन । यो घटना केही दिनअघि अहिलेको मुद्दा सुनाउने क्रममा बल्ल आमालाई भनेकी हुँ । दाइ–दिदी, साथीहरू कसैलाई भनिनँ । आफन्त र इष्टमित्रबाटै भएका हिंसा सुनाउन सायदै सकिन्छ । बाहिर कसैले गरेका हर्कतबारे जति सजिलै बताउन सकिन्छ घरभित्रका हिंसा बताउन सकिँदैन । सम्बन्धका आयाम र आफ्नै नजिकका मान्छेले गरेका कुकृत्यबारे बोल्नै नसकिने स्त्री मनोविज्ञानको गहिराइ छाम्न नसक्नेले हिंसाका घटना बाहिर ल्याउन हिंसापीडितको दिमागले गर्ने लामो समयको ‘प्रोसेस’ कहिल्यै बुझ्न सक्दैन । तत्कालीन अवस्थामा आफूलाई जोगाउन गरेको ‘भद्र’ प्रतिवादबाहेक कठोर प्रतिक्रियासमेत गर्न सकेको भए यो घटना जति पछि आयो उति ट्रमाटिक हुँदैनथ्यो कि ? तर त्यतिबेला प्रतिकार गर्न नसक्नुको मूल्यमा अहिले पीडितले कुनै उपचार नपाउने तर्क जायज ठहरिन्छ ?

राजनीतिक विचार, संगठन र यसैले जोडेको सम्बन्धको आयाम कुनै ‘घर’ भन्दा कम हुँदैन । यो संगठित आन्दोलनमा लागेका सबैजसोले गरेको साझा अनुभव हो । पछिल्लो समय यौन हिंसाका विषयमा जति मुखर भएर लेख्न वा बोल्न खोज्यो उति पुरानो मनोघातले लखेटिएपछि र आफ्नै लामो समयको प्रतिकारहीनताका कारण पीडकले अरू कतिलाई सिकार बनायो होला भन्ने सकसले उद्वेलित भएपछि अब पनि मौन बस्दा आफ्नै आत्माले धिक्कार्छ भनेरै हो आज यसरी बोल्नुपरेको । पछिल्ला डेढ वर्षयता कानुनकर्मी भएर काम गर्ने प्रयत्न गर्दा यो मनोघात कसैगरी ‘भेन्टिलेट’ हुनैपर्ने मोडमा आइपुगेपछि नबोल्नु अभिघातहरूको पहाड लिएर हिँड्नु हो भन्ने निष्कर्ष बन्यो र नै बोलियो ।

आज एक हिंसापीडितका रूपमा मेरो बोलीले कति अरू हिंसाहरूलाई बाहिर निकाल्न क–कसलाई प्रेरणा देला मलाई थाहा छैन । तर यसरी बोल्ने न म पहिलो व्यक्ति हुँ न अन्तिम हुनेछु । यति मलाई थाहा छ । केही महिनापहिले आफूमाथिको आठ वर्ष पुरानो हिंसा सुनाउन आँट गर्ने एक मोडल युवती, यौन हिंसाविरुद्ध लड्दा भारतीय दण्डसंहिताको तगारोकै बीच अहर्निश लडेर १७ वर्षपछि न्याय पाएकी रूपन देवल बजाज र एमजे अकबरजस्ता शक्तिशाली विपक्षविरुद्धको मुद्दा जित्ने प्रिया रमानी लगायत तमाम महिलाहरू मेरा प्रेरणा हुन्, जसले मलाई यतिबेला थाक्न दिएका छैनन् । लडाइँमा हारिन्छ या जितिन्छ अर्कै कुरा भयो तर हिंसाविरुद्ध कसैगरी लडिरहन प्रेरित गर्ने आमा र यो लडाइँमा ‘थम्स अप’ गरेर शुभकामना दिने छोरी लगायत ऐक्यबद्धता जनाउनुहुने सबैको विश्वास हार्न नदिन प्रतिबद्ध छु । मेरो यो लडाइँलाई मुर्दातुल्य शून्यता र मौनताका आँखाले चिसो दृष्टि फ्याँकिरहेको काठमाडौंको वामवृत्त आजका मितिसम्म मुख सिलाएर बसेको छ । यो कतिन्जेल यसै गरी मुख सिलाएर बस्दो रहेछ, हेरौं ।