साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो आलेख ekantipur.com बाट लिएका हौँ । यो आलेख कान्तिपुर दैनिकका लागि ददि सापकोटाले तयार पारेका हुन् । यहाँ क्लिक गरेर यस आलेखलाई कान्तिपुरमै पनि पढ्न सक्नुहुनेछ ।

========

पढ्दापढ्दै साथीजस्तै भए देवकोटा‘ 

नेपाली भाषाको औपचारिक शिक्षा कहिल्यै नलिएका एक फ्रान्सेली अध्येता अहिले नेपाली भाषा पढाउँछन्, फ्रान्समा । लक्ष्मीप्रसाद देवकोटाका ५० भन्दा बढी कविता फ्रान्सेलीमा अनुवाद नै गरेका छन् । खरर नेपाली बोल्ने उनी नेपाली साहित्यको खोजमै छन् ।

===

पेरिस — खासमा उनी भारतको उत्तराञ्चल जाने लक्ष्यसहित पहिलो पटक हिँडेका थिए । नयाँ चिज खोज्दै हिँड्ने विद्यार्थीकालमा थिए उनी । तर प्रशासनिक झमेलाले जान नसकेपछि नेपालतिर मोडिए । उनको त्यो मोड सधैंका लागि मोडियो । नेपालले उनलाई यस्तरी मोहित पार्‍यो उनले नेपाल र नेपाली भाषालाई नै कर्म बनाए । नेपाल पुगेपछि नेपाली जीवनशैलीले यसरी तान्यो कि उनी त्यहीँ बसे ।

तर त्यो समय सुरक्षाका हिसाबले पनि अनुकूल थिएन । देशमा माओवादी जनयुद्दका कारण अशान्ति थियो । गाउँमा कोही नौलो मानिस देखिए शंकाको दृष्टिकोणले हेरिन्थ्यो । केरकार गरिन्थ्यो । संकटकालको त्यो बेला घुमफिर गर्न पनि गाह्रो थियो । रेमी बोर्द त्यो गाह्रो अवस्थामा पनि गाउँमै बसे ।

नेपाली भाषा बोल्दैनथे उनी । फ्रान्सेली भाषा बोल्ने त कुरै छोडौं, गाउँलेहरू अंग्रेजी नि बुझ्थेनन् । नेपाली संस्कृतिका अनेक पाटा छिचोल्न उत्तिकै कठिन थियो । झन् सुदूरपश्चिममा बोलिने नेपाली भाषा झनै भिन्न थियो । यस्तो कठिन सामाजिक संरचना, संस्कृति र अप्ठेरो भौगोलिक विविधता बोकेका डोटेलीसितै बसे । बोल्दाबोल्दै डोटेली भाषा सिके ।

पहिलो चोटी १९९८ मा नेपाल गएका बेला दुई चार महिना बसेर एक/डेढ वर्षका लागि उनी फ्रान्स फर्किए । सुदूरपश्चिमेली नेपाली भाषाको मानक अलि फरक हुन्छ । त्यो पनि उनका लागि गाह्रो थियो किनभने मानक नेपाली र त्यहाँको नेपालीको भिन्नता नबुझी उनको अध्ययन अगाडि बढ्दैनथ्यो । तैपनि उनले दैनिक जीवनमा प्रयास गरेर सिकिछाडे । अब उनलाई नेपाल, नेपाली भाषा र खासगरी सुदूरपश्चिमको रहनसहन, संस्कृतिको रस पस्यो । तर अध्ययनका लागि पर्याप्त भाषा भने पुगेकै थिएन ।

फ्रान्स फर्केपछि उनले शब्दकोष, व्याकरण र अन्य किताब पढेर सिक्दै गए । केही पाठ्यक्रम लिए । इनाल्को विश्व विश्वविद्यालयका एक जना शिक्षकले पनि उनलाई सहयोग गरे । त्यसपछि नेपाली भाषामा उनको ज्ञान बिस्तारै बढ्यो । औपचारिक रूपमा कक्षा भने कहिल्यै पनि लिएका छैनन् उनले ।

अरु भाषामा पनि चाख धेरै भएकाले उनलाई नेपाली भाषा सिक्ने हुटहुटी बढ्यो । अंग्रेजीबाहेक स्पेनिस, रुसी, ल्याटिन, हिब्रु संस्कृत भाषा पनि उनले फ्रान्समै सिके । ‘धेरै भाषा पढेपछि एउटा अर्को भाषा सिक्न झन् सजिलो हुन्छ नि। त्यसैले नेपाली भाषा सिक्न अलि सहज भयो,’ उनी भन्छन् ।

पेरिसस्थित इनाल्को विश्वविद्यालयका नेपाली भाषाका प्राध्यापक मात्रै होइनन् रेमी बोर्द, दक्षिण एसियाका आठ वटा भाषाका लागि विभाग छन् । ती विभागमध्ये एकका निर्देशक पनि हुन् उनी । त्यसैले प्राध्यापनसँगै गर्नुपर्ने प्रशासनिक काम धेरै हुन्छन् । उनले नेपालको सुदूरपश्चिममा पहिलो अध्ययन जडिबुटीमा गरे । त्यसपछि बिस्तारैबिस्तारै नेपाल उनको मुख्य विषय बन्यो । ‘त्यहाँका मान्छेको आतिथ्यले मलाई आकर्षित गर्‍यो । मुख्य कुरा त्यसैले गर्दा नै हो,’ उनी भन्छन् ।

पहिलो चोटी उनी सुदूरपश्चिमको डोटी गएका हुन् । त्यहाँ बस्दा उनले देउडामा थोरै अनुसन्धान गरे । त्यसपछि हुड्के नाच, गीतमा अध्ययन गरे । लामो मानवशास्त्रअन्तर्गत उनले लोक साहित्यमा अनुसन्धान थाले । गीत गाएर कथाहरू सुनाउने देउडाको संस्कृति र उनीहरूको समाजमा त्यो चलन कसरी चल्छ ? त्यसैको विभिन्न दृष्टिकोणमा बोर्दले विद्यावारिधि गरे, सन् २००५ मा ।

नेपालमा अध्ययन र घुमफिर गर्ने उनी एक्ला पश्चिमा त होइनन् नै । तर अरु पश्चिमा र उनले बिताएको समय र जिउने तरिका फरक थियो । बसाइ र सुविधा झनै भिन्न थियो । धेरैजसो फ्रान्सेलीहरू एकदमै राम्रो, सुविधासम्पन्न ठाउँमा बस्थे । आफ्नै फ्रान्सेली समुदाय वा अंग्रेज र अमेरिकीसित भेट्थे । स्थानीय मान्छेसित अलिअलि मात्रै हेलमेल गर्छन् । उनको शैली त्यसको ठ्याक्कै उल्टो थियो ।

‘म लामो समयसम्म नेपालीहरूसित मात्रै बसें, घुलमिल भएँ । त्यसले गर्दा मेरो अनुभव पनि धेरै फरक भयो । मैले अलि गम्भीर, अलि गहिरो, फरक खालको अनुभव खोजेको थिएँ त्यो बेला,’ रेमी बोर्द त्यो बेलाको अनुभव सुनाउँछन् ।

त्यसो त, उनको प्रशिक्षण मानवशास्त्र भएकाले लामो समयसम्म कार्यक्षेत्रको अनुभव लिनुपर्छ । उनीहरूकै जिन्दगीको तरिकामा बाँच्ने, हेलमेल हुने र उनीहरू जे गर्छन् त्यही गरेर नबसी मानवशास्त्रको अध्ययन दरिलो हुन्न । मानवशास्त्रको पद्धति नै त्यस्तै हुनाले मानवशास्त्रीहरूले कार्यक्षेत्रमै गएर काम गर्छन् । सहभागिताका आधारमा अवलोकन गर्छन् । समय अलि छोटो भए पनि अनुभव अलि फरक हुन्छ । बोर्दले पनि त्यही गरेका हुन्। औपचारिक कक्षा नलिइकनै नेपाली भाषा छिचोल्नुको कारण पनि त्यही हो उनका लागि । भाषाका लागि पनि त्यसरि सहभागी हुँदा फरक पर्छ । किनकि स्थानीयसित जे भए पनि सम्पर्क, कुराकानी त गर्नैपर्छ । स्थानीय मानिसहरूकै रहनसहन, दैनिक जीवनचर्या, आनिबानी हेरेर ग्रहण गर्नुपर्छ, त्यो तरिका अपनाउनुपर्छ ।

 

उनी नेपाली भाषामा यति दत्तचित्त भए कि उनको कर्मको माध्यम नै लगभग नेपाली भाषा बन्न गयो । सन् २०११ बाट उनले इनाल्कोमा नेपाली भाषा प्रशिक्षककै रूपमा काम सुरु गरे । अहिले उनी फ्रान्सेली मातृभाषीका सुरुवाती तहका विद्यार्थीहरूलाई नेपाली भाषा पढाउँछन् । इनाल्को विश्वविद्यालयमा स्नातकोत्तरसम्म पढ्न पाइन्छ । त्यसका लागि तीन वर्ष लाग्छ । नेपाली भाषामा लामो पाठ्यक्रम हुने विश्वविद्यालयमा पर्दछ इनाल्को । यहाँ नेपाली भाषा पढ्नेहरूले भाषा मात्रै होइन, नेपाली भाषामा भूगोल, मानव विज्ञान, इतिहास, भाषाशास्त्र, मानवशास्त्र र आफ्नो विशेषताको नेपाली पनि पढ्छन् । यसले फ्रान्समा नेपाललाई बुझ्ने, अध्ययन अनुसन्धान गरेर नेपाललाई चिनाउने पुलको काम पनि गरिरहेको छ ।

यहाँ धेरैजसो मानव विज्ञान पढ्नेहरू नै नेपाली भाषाका विद्यार्थी हुन् उनका । अरु विश्वविद्यालयमा गएका विद्यार्थीहरू दोस्रो पाठ्यक्रममा नेपाली पढ्छन् । उनीहरू तयारीका लागि एक/दुई वर्ष यहाँ नेपाली पढ्न आउँछन् । कार्यक्षेत्रका लागि नेपाल जान्छन् ।

त्यसो त, कतिपय विभिन्न देशको भाषा पढ्न रुचाउने भाषाप्रेमी हुन्छन् । तिनले दक्षिण एसियाको अरु भाषा पनि पढेका हुन्छन् । कुनै व्यावसायिक क्षेत्र, नेपालसम्बन्धी काम गरिरहेकाहरू पनि नेपाली पढ्छन् । केही पत्रकार, आर्किटेक्ट, गैरसरकारी संस्था (एनजीओ) मा काम गर्नेहरू छन् । ‘केही नेपालीसँग बिहे गरेका फ्रान्सेली केटीहरूपनि भाषा पढ्न आउँछन् । तिनका श्रीमान्‌ले भने ससुराली देशको भाषा सिकिरहेका हुन्छन्,’ रेमी बोर्द मुस्कुराउँछन् ।

नेपालका गाउँमा छँदा बूढापाकाहरूले रामायणका श्लोक भन्थे, उनी बुझ्दैनथे । नबुझे पनि उनलाई राम्रो लाग्थ्यो । यस्तै लोकसाहित्य आधारित गीत र श्लोक भन्ने परम्परा फ्रान्समा पनि थियो १९औं शताब्दीसम्म । आफ्नो गाउँघरबाट हराएको परम्परा नेपालमा भेट्दा उनी औधी खुसी भए । ‘हाम्रो समाजमा भन्दा नेपाली समाजमा कविता धेरै महत्त्वपूर्ण कुरा हो । गाउँमा गाउँखाने कथा जस्ता लोकसाहित्यका कुरा सुनाउँथे म सानो हुँदा । तर लोकसाहित्यमा मिश्रित भएको परम्परा हाम्रो संस्कृतिमा धेरै वर्षदेखि हरायो । त्यही कुरा नेपालमा सुन्न पाउँदा म मोहित भएँ,’ रेमी भन्छन् ।

फ्रान्समा नेपाली भाषामा अनुसन्धान गर्ने मान्छे नभएकै त होइनन् । फ्रान्सको अनुसन्धान केन्द्र सीएनआरएसमा भूगोल, मानवशास्त्रको अध्ययन गर्ने अरु पनि छन् । तर नेपाली भाषा र साहित्यमा उनीबाहेक अरु खास कोही छैन । ‘मान्छे धेरै कम छन् । ‘कसैले त काम गर्नुपर्‍यो नि नेपालको भाषा र साहित्यमा पनि,’ उनी भन्छन् । केही समयअघिसम्म फ्रान्सेली भाषा र साहित्यमा नेपाली भाषा साहित्यको उपस्थिति थिएन भन्दा पनि हुन्छ । फ्रान्सेलीहरू लागि अंग्रेजीबाटै नेपाली साहित्यसम्मको पहुँचमा थिए । यो यथार्थ बुझेपछि रेमीले नेपाली भाषा साहित्यमाथि अध्ययन बढाएका हुन् ।

नेपाली लोकसाहित्य पनि फ्रान्समा जसरी नहराओस् भन्ने चाहन्थे रेमी । नेपाली साहित्य जीवित छ भन्ने ठान्छन् उनी । नेपालमा लोक र लिखित साहित्य दुवै चल्छ । उनी सबै नेपालीलाई कवि मान्छन् । ‘मैले भेटेका केटाहरू सानै उमेरदेखि कविता लेख्न मन पराउनेखालका थिए । मलाई त सबै नेपाली कवि हुन् जस्तो लाग्छ । पत्रपत्रिकामा पनि साहित्यिक प्रतिस्पर्धा भएको देख्दा मलाई नेपाली साहित्यप्रति झन् चाख बढ्यो,’ उनी भन्छन् ।

उनलाई नेपाली साहित्यमा सबैभन्दा प्रख्यात लेखक को हुन भन्ने कौतुहल जाग्यो । धेरै साहित्य पढेपछि उनी महाकवि देवकोटा नै नेपालमा ‘महान्’ साहित्यकार हुन् भन्ने निष्कर्षमा पुगे । देवकोटाका कृति फ्रान्सेली भाषामा रूपान्तरण गर्दा मन पराइन्छ कि पराइँदैन भनेर हेरे उनले । कविता र कथा पढ्दा फरक अनुभव भएरै उनले देवकोटालाई छानेका हुन् । उनले इनाल्कोबाट ६ महिनाको फुर्सद निकालेर सन् २०१५-२०१६ मा देवकोटाका कविताहरू अनुवाद गरे । ६ महिना नेपाल गए । पेरिसस्थित इनाल्को विश्वविद्यालयको पुस्तकालयमा नभएका र पाउन कठिन देवकोटाका पुस्तकको सूची तयार गरे । देवकोटाका छोरा पद्मलाई भेटे । उनीहरूले त्यो खोजमा सहयोग पुर्‍याए । देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रका अध्येताहरूसित भेट्ने र तिनको गोष्ठीमा गएर धेरै थाहा पाए, सिके ।

५५ वटा जति कविताको अनुवाद गरे फ्रान्सेली भाषामा । त्यो छापिइ पनि सक्यो । त्यसमा मुनामदनको पनि एक भाग छ । देवकोटाका सुरुवातिदेखि अन्तिम रचनासम्म उनका अनुवादमा समेटिएका छन् । ‘देवकोटाका जीवनकालका रचनाहरू छानेर उनको व्यक्तित्व र छवि प्रतिनिधित्व होस् भन्ने चाहेको छु,’ उनी भन्छन् ।

रेमी बोर्दलाई देवकोटाको सबैभन्दा मन पर्ने पाटो पाश्चात्य साहित्यबाट उनी धेरै प्रभावित हुनु हो । सुरुमा अंग्रेजीका पुराना लेखक (क्लासिक राइटर) पढे देवकोटाले । जस्तै वर्ड्सवर्थ, किट्सका ‘रोमान्टिक’ विषय । आफ्नो सानो उमेरमै अरु लेखकबारे पढे । त्यो प्रभाव नेपाली साहित्यमा प्रयोग गर्दा नेपाली संस्कृति र साहित्यमा मिश्रण गरे । र नेपाली संस्कृतिमा नयाँ धार, प्राण, दृष्टिकोण पनि दिए । त्यो प्रभावलाई आफूले लिएर एकदमै नयाँ तरिकाले लेख्न सुरु गरे । नयाँ धार प्रवाह गर्न थाले उनले । त्यो धेरै चाखलाग्दो भयो । देवकोटासित उनी रवीन्द्रनाथ टेगोरलाई तुलना गर्छन् जो दक्षिण एसियामा बंगाली लेखक टेगोर भारतको सबैभन्दा ठूलो, राम्रो लेखक मानिए । ‘नेपाली साहित्यमा पनि त्यस्तो व्यक्ति हुन् देवकोटा जसले नयाँ प्रेरणा (इन्स्पिरेसन) दिए । र उनको संवेदनशीलता पनि मलाई मन पर्छ,’ रेमीको बुझाइ छ ।

एउटा मान्छे बाटोमा सधैं हिँडिरहन्छ, निरन्तर हिँडिरहन्छ । केही नयाँ भेट्छ र सिर्जना गर्छ । देवकोटाको त्यो पक्षको प्रशंसा गर्छन् बोर्द । बोर्दको विचारमा १९५० तिरका देवकोटाका कृतिहरू त्यो बेलाका लागि एकदमै नयाँ थिए । कहिलेकाहीँ उनका कविता जटिल र बुझ्न धेरै गाह्रो हुने बोर्दको बुझाइ छ ।

कविताको अनुवाद मान्छेको मौलिक दिमागले मात्रै गर्न सक्छ । कम्प्युटरले गर्न सक्दैन । कविता उल्था गर्दा अर्थको अनुवाद गरेर मात्रै पुग्दैन । किनकि एउटा कविता अर्थ मात्रै होइन । अर्थभन्दा धेरै हुन्छ एउटा कवितामा । अर्थभन्दा भाव छ, दृश्य छ । त्यसका लागि एउटा गणितीय तरिका र विधि पनि हुन्न । हरेक कविताका लागि विधि फरक हुन्छ । त्यसैले कविता अनुवादका लागि धेरै समय लाग्छ । धेरै खेस्रा उतारेर कोसिस गर्नुपर्छ । बोर्दले अनुवादको आफ्नै अनुभव सुनाए, ‘मूल कविता र मैले गरेको अनुवाद मिहीन तरिकाले सटिक रूपमा भयो कि भएन भन्नेमा भर पर्छ । त्यसो गर्न धेरै लामो समय लाग्छ । तर मलाई त्यो एकदमै मन पर्छ । त्यही कारणले मैले धेरै आनन्द, मज्जा लिएको छु कविताहरू अनुवाद गर्दा ।’

बोर्दले देवकोटा मात्र होइन, पारिजात, भूपि शेरचन, विश्वेश्वरप्रसाद कोइराला, बानीरा गिरि आदि दर्जनौं नेपाली साहित्यकारका सिर्जना पढेका छन् । कोइरालका केही रचना फ्रान्सेली भाषामा अनुवादसमेत गरेका छन् । तिनलाई प्रकाशित गर्ने योजना उनको छ । तर उनले सबैभन्दा बढी पढेको र बुझेकै देवकोटालाई हो । उनका सिर्जनमा घोत्लिँदा घोत्लिँदै उनी देवकोटाका निकट नै बनिसकेका छन् ।

‘मेरो संवेदनशीलताभन्दा उनको संवेदनशीलता धेरै टाढा भए पनि जब म उनको कृति पढ्छु, अनुवाद गर्छु कतै न कतै भेटको विन्दु फेला पारेजस्तो लाग्छ । पढ्दापढ्दै एउटा साथीजस्तै भए देवकोटा । राम्रोसित चिनेको, नजिकको मान्छेजस्तो अनुभव गर्छु । त्यसले मलाई रमाइलो बनाउँछ,’ उनले भने ।