साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

शेफ सन्तोष साहसँग भलाकुसारी: ‘नेपाली रैथाने खानाको प्रवर्द्धन गर्न किताब लेखें’

"म नेपाली खानाको प्रवर्द्धन गर्छु, त्यसले मलाई सम्मान दिएको छ। भान्छेले ल्याएको क्रान्ति होइन र यो?"

सेफ सन्तोष साह र उनको हालै प्रकाशित पुस्तक ‘ऐला’। तस्वीर: साहको ट्वीटर ।

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा, साहित्य, समाज र इतिहासका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

bahulako diary small and inside post

हामीले प्रस्तुत अन्तर्वार्ता हिमालखबरबाट लिएका हौँ । अन्तर्वार्ता हिमालखबरका लागि श्रीभक्त खनालले लिनुभएको हो । यहाँ क्लिक गरेर यस अन्तर्वार्ता हिमालखबरमै पनि पढ्न सक्नुहुनेछ ।

…………..

गत मार्चको अन्तिम साताबाट लन्डनमा गर्मी बढिसकेको थियो। मान्छेहरू छोटा–छरिता पहिरनमा फर्‍याकफुरुक गर्न थालिसकेका थिए। तर, अप्रिलको पहिलो साता जाडो फेरि ह्वात्तै बढ्यो। त्यही वेलाको एक चिसो साँझ ‘बिबिसी मास्टरशेफः द प्रोफेसनल २०२०’ का सेकेन्ड रनरअप शेफ सन्तोष साहसँग भेट्ने अवसर जुट्यो। साउथ इस्ट लन्डनमा रहेको ‘गोर्खा क्लब’ नामक रेस्टुरेन्टका मालिक मनीष श्रेष्ठले भेटघाटको चाँजो मिलाइदिएका थिए। नेपालका विभिन्न रैथाने परिकारबारे साहले लेखेको पुस्तक ऐला पेन्गुइन डिकेद्वारा प्रकाशित भई गत फेब्रुअरीदेखि यूरोपमा उपलब्ध भइसकेको छ भने यही १५ अप्रिलदेखि नेपाली बजारमा पनि पाइनेछ। साहसँग अनौपचारिक शैलीमा गरिएको कुराकानीको थालनी पुस्तककै प्रसङ्गबाट भयो।

विदेशमा नेपाली शेफ धेरै भए पनि किताब लेख्न अघि सरेका छैनन्, तपाईंलाई चाहिं किताब लेख्ने सोच कसरी आयो?

यो सोच मास्टर शेफ भएपछि आएको थियो। इन्डियन शेफ भएर काम गरेकाले भारतीय खानाको बारेमा लेखुँला भन्ने थियो। पछि यसो सोच्दा के लाग्यो भने, नेपाली खानाकै बारेमा लेख्नुपर्छ, किनभने यसबारे धेरै लेखिएको छैन। विदेशीलाई उपहार दिने र अन्तर्राष्ट्रिय बजारमा जाने खालको नेपाली खानाको किताब खासै नभएकाले हिमाल, पहाड र तराईका खाना समेटेर किताब लेख्छु भन्ने कुरा मनमा आयो। मैले नलेखे कसले लेख्छ जस्तो लाग्यो र लेखिहालें।

किताबको नाम कसरी जुर्‍यो?

मसँग १० वटा जति नाम थिए। जस्तो कि जिम्बु, टिम्मुर, जानकी, ऐला आदि। नेवारी खाना धेरै विविधता भएको र पुरानोे पनि हो। ऐला (रक्सी) लाई सगुनका रूपमा लिइँदो रहेछ। सगुन शब्द अंग्रेजीमा ‘टोकन अफ लभ’ हुन आउँछ। कसैले कसैलाई किताब उपहार दिन्छ भने त्यो पनि टोकन अफ लभ हो। यही थिम समातेर प्रकाशकलाई पठाएँ। त्यही स्वीकृत भयो।

किताबको डिजाइनमा पूरै नेपालीपन झल्कन्छ। डिजाइनमा पनि सहयोग गर्नुभयो?

हो। आवरणमा किताबको शीर्षक पहिले सुनौलो रङमा थियो। नेपालको झण्डाको रङ रातो भन्ने अर्थमा त्यसलाई रातो बनाइयो। कभरको देब्रे छेउ ढाका कपडाको बुट्टा जस्तो देखिन्छ र छाम्दा पनि त्यस्तै महसूस हुने गरी खस्रो बनाइएको छ। किताबलाई सर्लक्क फिंजाएर राख्दा त्यहाँ नेपालको झण्डा छ। त्यो पनि मेरो आइडिया हो।

परिकारहरूको नाम पनि ठेट नेपाली नै राखिएको छ। हामी जुनसुकै देश पुगे पनि त्यहाँका स्थानीय खानाको नाम अङ्ग्रेजीमा हुँदैन, त्यसको स्थानीय नाम हुन्छ। ‘सुसी’ लाई जापानीहरूले ‘कोल्ड फिस रोल’ भन्दैनन् नि। हामीले गुन्द्रकलाई गुन्द्रक किन नभन्ने? कोदो र बेसारलाई यिनै नामले किन नचिनाउने? के थाहा, विदेशीले हाम्रा शब्द सिक्लान् र भोलि यिनै शब्द अङ्ग्रेजी शब्दकोशमा समेटिएलान्। हामीले नेपाली परिकारको मौलिक नाम नै भन्नुपर्छ, चिनाउने प्रयास गर्नुपर्छ। भाषा र खाना दुवैले हामीलाई विश्वमा चिनाओस् न। अरूका शब्द हामी किन चलाउने? टिम्मुरलाई म ‘सिचुवान पेपर’ भन्दिनँ। हामीले आफ्नो अस्तित्व गुमाउन हुँदैन।

तपाईंले मास्टर शेफमा जितेको दुई वर्ष पनि नबित्दै किताब आएको छ। यति चाँडै कसरी सम्भव भयो?

पक्कै पनि अन्तर्राष्ट्रिय पब्लिकेसन्सले यति छिटो काम गर्दैनन्। लामो प्रक्रिया हुन्छ। तर, मेरो सन्दर्भमा त्यस्तो भएन। मलाई सहयोग गर्ने शेफहरूको टीम नै थियो। प्रकाशकले पनि त्यही हिसाबले काम गरे। छिटो छिटो काम गर्दा केही ठाउँमा भने स्पेलिङ बिग्रेर सानातिना गल्ती भएका छन्।

७ अप्रिलमा त्रिभुवन विमानस्थलमा साहलाई स्वागत गरिँदै। तस्वीर: नेपाल पर्यटन बोर्ड

किताब हेर्दा तपाईंले चटामरीमा चीज हालेर मोेडिफाई गरेको देखियो। यसको कारण?

कतिपय कुरा हामीलाई मात्रै मन पर्छ, विदेशीलाई मन पर्दैन। साँधेको भटमास हामीलाई मन पर्छ, तर चपाउन गाह्रो पर्ने भएकाले विदेशीले खान सक्दैनन्। मैले चटामरीमा चीज हालेर ट्राई गरें, राम्रो बन्यो। अरूले पनि मन पराए।

नेपाली खानाबारे विश्वलाई जानकारी गराइरहँदा कस्तो महसूस हुन्छ?

मैले बेलायतका धेरै ठाउँमा खानाको प्रचार गरेको छु। केही समयपछि जर्मनी जाँदै छु। अस्ट्रेलियाको पनि योजना छ। ७ अप्रिलदेखि नेपालमा छु। बीबीसीको ‘फाइनल फोर’ मास्टर शेफलाई लिएर खाना र पर्यटनको प्रचार गर्ने काम हुँदै छ। यसमा प्यासिफिक एशिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड, नबिल ब्याङ्क, बुद्ध एअर जस्ता थुप्रै संस्थाको सहयोग छ। बर्दियामा थारू खाना र होमस्टेको प्रवर्द्धन गर्ने कुरा भइरहेको छ। यसले कोभिड–१९ को महामारीपछि नेपाल खुल्यो है, नेपाल जानुपर्छ भन्ने सन्देश दिनेछ। यी सबै कुराको डकुमेन्ट्री बनाएर देखाइन्छ। हामी नेपालीलाई यसले फाइदै पुर्‍याउँछ। यस काममा मेरो बिल्कुल सेवा हो। म नेपाली खानाको प्रवर्द्धन गर्छु, त्यसले मलाई सम्मान दिएको छ। भान्छेले ल्याएको क्रान्ति होइन र यो ?

(अनौपचारिक भएकाले गफ दशतिर छरियो। मैले अन्त्यमा कामका लागि घरबाट भारत पुग्दाको प्रसङ्ग, भारतबाट बेलायत आउँदाको प्रसङ्ग, लेखक हुँदाको क्षण लगायत कुरा सोधें।)

साहको उत्तर थियो–

सन् १९९९ मा सिराहाको कर्जन्हास्थित श्री जनसेवा माविबाट एसएलसी दिएँ। तर गणित र अङ्ग्रेजी दुई विषय लाग्यो। घरको आर्थिक अवस्था कमजोर भएकाले मजदूरी गर्न भारत गएँ। मुजफ्फपुरबाट रेल चढेर तीन दिनपछि गुजरात पुगें। गाउँका मान्छेहरू त्यहीं मजदूरी गर्थे। मैले पनि लायन्स हिल रिसोर्टमा किचन पोर्टरको काम पाएँ। गएको सात वर्षभित्र फाइभ स्टार होटलको ‘एक्जिक्युटिभ शेफ’ भइसकेको थिएँ। कमाइ राम्रो थियो। मासिक नौ सय रुपैयाँ पाउने गरी जागीर शुरू गरेको थिएँ।

सन् २०१० मा अङ्ग्रेजी भाषाको ‘आईईएलटीएस’ गरेर वर्क परमिटमा बेलायत पुगें। आईईएलटीएसमा ४.५ मात्र आयो, ५.५ आएको भए अस्ट्रेलिया जान्थें होला। एसएलसीमै अङ्ग्रेजीमा फेल भएको मान्छे परें (हाँस्दै…)। अहिले पनि अङ्ग्रेजी प्राक्टिस गर्दै छु। अर्को कुरा, भारतमा जति तलब खान्थें, यहाँ आउँदा त्यसको आधा पनि थिएन। सोचे झैं जिन्दगी रैनछ भन्छन् नि, त्यस्तै भयो। खाना बनाउने, भाँडा माझ्ने, मप लगाउने सबै काम गरें। जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने सोच राखेर लागिरहें। मिहिनेत गर्दा गर्दा यहाँसम्म आएँ। मिहिनेत गर्न चाहिं छाड्नु हुन्न।

के सपना लिएर बेलायत आउनुभएको थियो भनेर मानिसहरू सोध्छन्। मेरो त्यस्तो विशेष सपना थिएन। राम्रा काम सिकुँला, राम्रो ठाउँमा काम गरुँला र राम्रा शेफसँग काम गरुँला भन्ने मात्र थियो। संयोगले भारतमा हुँदा जे जति राम्रा शेफको नाम सुनिएको थियो, ती सबैसँग काम गर्न पाइयो।

किताब लेख्ने सम्झौतामा हस्ताक्षर गरेको दिन किताब लेख्नु चानचुने कुरा होइन, मैले राम्रोसँग लेख्नुपर्छ भनेर दबाब महसूस भयो। लेख्दा पैसासैसा सोचेर लेखिनँ।

शेफ सन्तोष साह र बेलायतमा रेस्टुरेन्ट व्यवसाय तथा नेपाली कला-संस्कृति चिनाउन ‘प्रतिभा नक्षत्र’ संस्था चलाइरहेका मनीष श्रेष्ठसँग अन्तर्वार्ताकार श्रीभक्त खनाल।

पैसाको कुरा त नसोचे पनि पाउनु नै भयो। किताबमा सम्झौता के हिसाबमा भयो?

मैले ‘रेसिपी’ बेचेको हो। मोटामोटी रकम लिएँ। रोयल्टी धेरै छैन।

किताबमा यो रेसिपी त छुटेछ भन्ने भयो?

किन नहुनु? त्यस्तो त कति छन् कति। यो किताबमा जम्मा ६० रेसिपी छन्। हाम्रा खाना त्यति मात्र त हैनन्।

अरू किताबको पनि योजना छ कि?

हिमाली क्षेत्रका खानाबारे लेख्ने विचार छ। नेपालका साथै तिब्बत, भुटान, पाकिस्तान समेटियोस् भन्ने सोचाइ छ। हेरौं, के हुन्छ?

नेपालमा कहिलेदेखि तपाईंको किताब उपलब्ध हुन्छ?

१५ अप्रिलदेखि बजारमा आउने बताइएको छ। भारतमा छापिएको किताब मण्डला बूक पोइन्ट र एकता बुक्सले वितरण गर्दै छन्।

आत्मकथाको पनि योजना छ कि?

कुरा त आएका छन्, तर वेला भएको छैन भनेको छु।

छुट्ने वेला मनीष श्रेष्ठ र मैले उनको हस्ताक्षरयुक्त ‘ऐला’ एक–एक प्रति लियौं। मिल्छ भने नेपालीमै केही लेखिदिनुस् भन्ने मेरो अनुरोधमा शेफ सन्तोष साहले भने– ‘नेपाली प्राक्टिस नगरेको धेरै भयो, बिग्रन्छ कि, अङ्ग्रेजीमै लेख्छु।’

प्रतिक्रिया
Loading...