हुनेछ– लास गाड्ने माटोको अभाव

लास पोल्ने मलामीको अभाव

अभावै–अभावको चाङमाथि

देउडा नाच्नेछन् भरी आकाश गिद्दहरू

रत्यौली खेल्नेछन् ब्वाँसाहरू ।

 – देवव्रतको मृत्यु कविताबाट

कविताको माध्यमबाट सशक्त आवाज बुलन्द गर्ने समकालीन कवि हुन देवव्रत । परिवर्तनका आवाजहरूलाई बिम्वले सिँगारेर शब्दहरूको जालोमा टपक्कै टिपेर समाजको प्रतिनिधित्व पस्कने सक्ने कवि हुन देवव्रत । उनका हरेक कविताले शासित भएका, दमित भएको समुदायको पीडा र भावनालाई जस्ताको तस्तै प्रस्तुत गर्ने शैली भएका कवि देवव्रतको कवितासंग्रह अश्वत्थामाको निधारबाट बागमती बग्छ पुस्तक पढ्ने अवसर प्राप्त भयो, साहित्यपोस्टमा आवद्ध भएपछि । उनका कविता कृति अध्ययन गर्दा यस्तो लाग्छ, वास्तवमा साहित्यकारहरूलाई आफ्ना साहित्यिक नजर जीवित रहँदा मात्र नभएर मृत्युपश्चात पनि जीवन्त देखाउनु नै कवित्व हो । जुन देवव्रतले कवितासंग्रह अश्वत्थामाको निधारबाट बागमती बग्छ लाई लिन सकिन्छ । यो कृतिले साहित्यपोस्टले स्थापना गरेको २०८० सालको उत्तम काव्य पुरस्कार प्राप्त गरिसकेको छ । र, आफूलाई यस समयको समकालीन सशक्त युवा कविको रूपमा स्थापित गरिसकेका छन् ।

ईण्डिगो इन्क पब्लिकेशन प्रा.लि.ले २०८० सालमा प्रकाशनमा ल्याएको यो कृतिमा ३८ वटा कविता छन् । सानो र छरितो साइजको एक दिनमै पढ्न सकिने यो कृतिले आजको समयलाई गतिलो व्यंग्यात्मक प्रहार गरेको छ । आफ्नो भावलाई कविताको रूपमा प्रस्तुत गरेको कवि देवव्रत यसरी कवितामा पोखिन्छन् ।

जुन दिन तिमी गयौं

सबै–सबै हरायो यहाँबाट

हिजो त कोठाभित्र

बिर्सिएर आफैँलाई, खोजिरहेँ

सम्झिएर, आफैँलाई खोजिरहेँ । – कोठा

कविवरले कविता कृतिको माध्यमबाट नेपाली समाजको सचरित्रलाई व्यंग्यात्मक शैलीले नरम शब्दमा चोटिलो प्रहार गरेका छन् । जसले नेपाली समाजमा रहेका बेथिति, भ्रष्ट्राचार तथा अनियमितताको बारेमा, राजनीतिक खिचातानीको बारेमा, यसैगरी समाजका रहेको भुईँ वर्गका मानिसलाई माथिल्लो वर्गले कसरी शासन गरिरहेका छन् भन्ने कुरा आफ्ना कविताहरूमार्फत छर्लङ्ग पारेका छन् ।

       सक्कली किसान त सिंहदरबारमा भेटिन्छन्

       हिमालका कुरा गर्छन्

       संसद् भवनमा पुगेर सुनाउँछन्

       राज्यकोष दोहनका नयाँनयाँ उपाय

       बालुवाटार चहार्छन्

       कसलाई कसरी ठेगान लगाउँने योजना सुनाउँछन् । – नक्कली किसान

यसरी आफ्नो कवितामार्फत देवव्रतले नेपालको रहेको विकृति, विसंगतिको बारेमा जूनको तेज झैँ सबैले बुझ्ने भाषामा प्रस्तुत गरेका छन् । यहाँ विभिन्न समयमा किसानका बारेमा कुरा गर्नेहरूले किसानको वास्तविक पीरमर्का बुझ्न नसकेको कुरा कवितामार्फत नै उजागर गरेका छन् ।

       अदालतका पर्खालभित्र÷पर्खालबाहिर

       लागेको छ होलसेल तथा खुद्रा मुल्यको हाटबजार

       चोटाचोटाहरूमा

       छन् पापले भरिएका गोप्य कोठाहरू

       मरेको सडेको काया भएका मान्छेहरू

       मान्छे खाने मान्छेहरू

       लासको चुकिलो झोल

       मलामीका नुनिला आँशु

       तीर्थाबर्तालु मान्छेहरू

       रगत पिउने मान्छेहरू । (सहर)

वास्तवमा आजको युगमा मान्छेहरूले सम्बन्धका पाटाहरूलाई छाडेर आफ्ना आफन्तहरू सबै भुलेका छन् केवल यशआराम र मोजमस्तीमा, यस कृतिले यही भन्न खाजेको छ । मानिसले सम्बन्धलाई यसरी छियाछिया बनाएका छन् जसलाई कविकै शैलीमा भन्ने हो भने …

       गर्भबाट निकालेको बदला यसरी लियो

       छोराले आमालाई घरबाट निकालिदियो ।

यसरी नेपाली राजनीतिको तथा नेपाली समाजको बेथितिलाई, चम्किलो जूनको छाया आकृति जस्तै छर्लङ्ग बनाएका कविले प्रेमका भावहरूलाई पनि सरल तरिकाले सबैले बुझ्ने भाषमा लुगा लगाएर पनि लुगा नलाएजस्तै गरी कविता बनाएका छन् । उनैको शैलीलाई सापटी लिउँ,

       तिमीसँग छुट्टिएपछि

       म दोबाटोमा उभिन थालेँ ?

       वा तिमीसँग हुँदै म दोबाटोमा थिएँ ?

आजको पश्चिमा संस्कृतिले गाजेको नेपाली समाजमा लभिङ टुगेदर वा लिभिङ टुगेदरका कामले गर्दा नाता सम्बन्धमा रहेको पर्खालहरू तोडिएर केवल हामीलाई एक प्रकारको मनोसामाजिक समस्याले गाँजिरहेको छ । यसलाई पनि कवि देवव्रतले आफ्ना कवितामार्फत प्रस्तुत गरेका छन् ।

       कसैले समात्दा हात

       याद नआओस् तिमीलाई मेरो स्पर्शको

       खोजेर सामाजिक सञ्जालको भित्ताभरि

       बुझ्न मन नलागोस्

       तिम्रो भूगोलको एक कुनामा

       छु कि छैन म भनेर

       बाँच्न नपरोस्, म बाँचेजसरी । – प्रार्थना

यसैगरी कविले कवितामार्फत आफ्ना प्रेमरूपी भावनालाई यसरी पोखेका छन्:

       यतिबेला के झोँक चलेको छ

       कैद गरेर संसारका सबै सुन्दर चिज कोठामा

       मान्छे आफैँ किन निस्किएको छ कोठाबाहिर ? –  कोठा (एक)

कविले सामाजिक मनोभावनाका साथै प्रकितिमा रहेका अनुपम चिजहरूलाई समेत कविताको माध्यमबाट वर्णन गरेको छन् । उनका कविताका भाव कवितैपिच्छे फरक–फरक देखिन्छ । कहिले कलिला बालबालिकाको कुरा अनि कहिले प्रमेका कुरा, कहिले अधिकारका कुरा, कहिले बेथिति विसंगतिको कुराले कविमा कवित्वका भावना निकै खारिएको देखिन्छ । उनका कविता फूलहरूबाट केही हरफ साभार गरौः

       एकदिन सुटुक्क उडी भाग्ने सोचमा

       कुनै कोठीबाट खुला आकाश हेरिरहेकी किशोरीजस्तो

       एउटा बागदानीमा

       मर्मभरि चोट बोकेर मस्कुराइरहेछन् फूलहरू ।

कविले जसरी प्रकृतिको बारेमा वर्णन गरेका छन्, ठीक त्यसैगरी नेपाली समाजमा रहेको अगुवा वर्गका समुदायको बारेमा वर्णन गरेका छन् । कविले आफ्ना कविता ब्ल्याकआउट विद्रोहमा गतिलो व्यङ्ग प्रस्तुत गरेका छन्, जसले हरेक नेपाली मनहरूलाई जिरिङ्ग बनाउने काम गर्दछ ।

       हामीले गीत गाए जेल हाल्छ

       अधिकार मागे जिब्रामा किला ठोक्छ

       लेख्न थाले

       हात काट्न आदेश दिन्छ ।

       ……………………

       बोलीमा सेन्सर लगाउँछ

       चीत्कारलाई अशान्ति भनेर

शून्य सन्नाटालाई शान्ति घोषणा गरेर

प्रत्येक घाउँहरूलाई हास्न आदेश दिन्छ

ऊ डराउँछ यो देशको प्रत्येक नागरिकसँग

कोदालो बोकेर आरनमा हिँडेको किसानसँग डराउँछ

र सुँध्न लगाउँछ पाल्तु कुकुरहरूलाई

ऊ भर्खरै मेरो एक भोट चारेर भागेको छ ।

यसरी नेपाली समाजलाई सही मार्गका हिँड्नका लागि प्रेरित गर्ने कविले इतिहासको कहालीलाग्दो क्षणहरूलाई समेत कविताको माध्यमबाट उजागर गरेका छन् । उनका कविता पढ्दा लाग्छ, साहित्यको विधामध्ये फुर्सदको साहित्य भनिने कविता वास्तवमा विद्रोहको आवाज हो । साहित्यको प्रस्थानविन्दु हो, अनि साहित्यको महाप्रस्थान पनि हो । जसले थोरै शब्दमा हजारौ मनहरूलाई विद्रोहमा सामेल गराउनका साथै अधिकारका लागि लामबद्ध बनाउन सक्छ । यी हरफलाई हेरौं:

       तिमीले कहानीमा सुनेको

       लुटेराहरू घोडा चडेर आउने गाउँ यहीँ हो

       तिम्रो इतिहासमा नामेट भइसकेको

       बन्दुक भिरेर बुट बजार्ने सैनिकहरू

       अझै रातरातभर गस्ती गर्छन् यहाँ

       थाहा हुँदैन बिहानसम्म

       को मर्छन् को बलात्कृत हुन्छन्

       को को बेपत्ता पारिन्छन् यहाँबाट

       तिमीले चलचित्रमा देखेजस्तो

       मध्यरातमा जल्ने बस्ती यहीँ छ ।  – सम्बोधन

देवव्रतको पहिलो कवितासंग्रह पढ्दै जाँदा यस्तो लाग्छ मनलाई एउटा उचाईमा पुर्याए जस्तो भान हुन्छ । कविले आफ्नो कवितासंग्रहको अन्तिम कविताको रूपमा आमा तिमी मुर्ख हौं भन्ने शीर्षकको कविता पस्केका छन् । यो कविताको शीर्षक हेर्दा वास्तवमा आमाप्रति घृणाभावले राखिएको जस्तो देखिन्छ । तर आजको आधुनिक समाजमा अझै पनि नेपाली आमाहरू आफ्ना श्रीमानबाट भएको यातना भोग्न बाँध्य छन् । यी सब हुनुमा माया नै हो । हामीले यातना हुने ठाउँमा मायाभन्दा माथि उठेर आफ्नो अधिकारको लागि जाग्नुपर्छ भनेको छन् कविले ।

       मध्येरातमा घरछेउकै सडकपेटीमा पुगेर

       शरीरमा जाँड मुतेर पल्टिन्छ एक लोग्ने मान्छे

       टोल थर्कनेगरी, अश्लील गाली गर्छ तिमीलाई

       तिमी काँध हालेर ल्याउछौं घर

       ऊ दैलोमा बजार्छ लात्ती

       उखेल्छ तिम्रा रौहरू

       तिम्रै मुखमा फालिदिन्छ तिमीले प्रेमले पस्किएका भात ।

एउटा सामान्य नागरिकले समेत बुझ्न सकिने भाषाको प्रयोग भएको कृति अश्वत्थामाको निधारबाट बागमती बग्छ नाम नै एउटा कविता हो भन्दा अत्युक्ति हुँदैन । त्यसैले एउटा कविले प्रयोग गरेका भाषा र भावको बारेमा जति मेरो बुझाइ भयो । शायद त्यो बुझाइ कवि स्वयंसँग नमिल्न पनि सक्छ । मिलेमा संयोग हो  । अन्त्यमा कवितासंग्रहका केही हरफहरू हेरौं:

       कहिलेकाहीँ विषले पनि यस्तो काम गर्छ

       बुहत पछुताउनुपर्छ अमृत पिएकाहरूले’

ए कर्णाली

बन्द गरिदे सरकारका लागि धूलाचौरको बाटो

बरु ऋण लागोस्, दिन नलागोस्

दशा पनि लागोस्

तर कहिल्लै नलागोस्, सरकार हामीलाई

गाउँ पस्न नपाओस् फेरि सरकार

सरकार सुदूरबाट दूर भएकै राम्रो । – धूलाचौरको आवाज