स्वभिमानको भ-याङ लगाएर
देशलाई छिया छिया
पारिरहेछन् यहाँ
धमिरा खोज्न
पराई घर पस्नु पर्दैन
श्वास भएका निर्जीव लाशहरूले
लुछिरहेका छन् मेरो देश

कहिले कानुनको नाममा
कहिले अधिकारको नाममा
कहिले गुट, उपगुट
राजनीतिको नाममा मौलाएका
स्वाभिमानी तस्वीरहरूले
कहिले उत्तरबाट
कहिले दक्षिणबाट
तलदेखि माथिसम्मै
मोटाउने संस्कृतिको नाउँमा

राजा बलिया भया
प्रजा बलिया हुन्छ हुन्थे
शासकहरूले
न त शासक नै बलिया
मेरो देशमा
न त जनता नै
उपमा फेरियो राजाबाट शासक
प्रजाबाट जनता
तर फेरिएन
जनतालाई रैतिको रुपमा
हेर्ने नजर

राजनेताले नै
शरणार्थी बनाए जनता
आखिर ?
नेताले जनता किन्ने नै त रहेछन्
कहिले दाम दिएर किन्छन्
कहिले दाम लिएर किन्छन्
बेचिनु त बेचिएकै त हौँ हामी
कहिले भोट दिन्छौ
कहिले उनैलाई पैसा दिएर
आफैँलाई बेचिदिन्छौँ
फरक यही न हो
जनता राष्ट्रप्रति वफादार हुन्छ
नेता पैसाप्रति

जसले आली देखेको छैन
उनै हुन्छन्
मेरो देशको कृषि मन्त्री
छानी छानी पठाएका
जनताले चुनेर
सांसद अनि मन्त्री बनाउन
नजरै बेग्लै भयो कि
उद्देश्य बेग्लै
विज्ञताको कुनै परिभाषा छैन
लाग्छ
हामी दुध बेचेर
घ्यु खान खोजिरहेका छौँ ।

–  ––  ––  ––  –
साल्पासिलिछो गाउँपालिका
वडा नं. १ कुलुङ, भोजपुर, कोशी प्रदेश, नेपाल