सेतोपाटीमा ‘नब्बे हजार शब्द लामो स्टोरी तयार पारेर बसेका सम्पादक’ शीर्षकमा भाष्कर गौतमको लेख पढेर नै ‘टाढा पहाडमा’ पढूँपढूँ लागेको थियो । उपन्यासको रचनागर्भ, लेखनको परिवेश, पियर रिभ्यू, पुनर्लेखन सबैसबैले आकर्षित गरेका थिए । ‘टाढा पहाडमा’ पर्खेर बसें तर आयो महाभारा । झट्ट सुन्दा महाभारत भनेजस्तो लाग्ने । थाहा भयो, महाभारा नामक ठाउँ पनि नेपालमा रहेछ । त्यही ठाउँको नामबाट आयो उपन्यास महाभारा ।

मेची अञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम र झापा गरी चार जिल्ला महाभारा उपन्यासले समेटेको परिवेश हो । महाभारा उन्मुक्त भएर प्रेम गर्न चाहने तामाङ केटा डुक्पा र लिम्बू केटी सुक्मतीको प्रेमकथा हो । उनीहरू दुवैको चाहनामा राजनीति छैन, तर दुवैले नचाहेको राजनीति उनीहरूको जीवनमा जबरजस्ती प्रवेश गर्छ । राजनीतिसँगै उनीहरूको जीवनमा धर्म पनि प्रवेश गर्छ । त्यसपछि ती दुईको प्रेम राजनीति र धर्मको चेपुवामा फस्छ । अनि, मुख्य पात्रहरूको जीवनमा उथलपुथल आउँछ । लेखकका अनुसार उपन्यासमा त्यही उथलपुथलको कथा छ ।

उपन्यासको जाकेटपछाडि लेखिएझैं प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो । मधुर पूर्वेली लवज र नेपाली साहित्यमा विरलै देखिने सशक्त संवादको मीठो सम्मिश्रण हो महाभारा ।

उपन्यासको पूर्वसन्दर्भ ‘क्या बात !’ शीर्षक छ— टाढा पहाडमा । उपन्यासको नाम फेरिए पनि त्यसको छाया त रहेछ नै ।

“पहाड पहिलोचोटि रेडियोसँग रिसायो ।”

पहिलो हरफले नै तानिहाल्यो । लूमा “इलैया मर्‍यो” भनेझैं वा फातसुङमा “रिप्देन मर्‍यो रे !” भनेझैं वा शिरीषको फूलमा “बारमा पहिलोपल्ट भेटेपछि उसले विशालनगरस्थित आफ्नो घरमा बोलायो” भनेझैं ।

समीक्षक सीपी अर्यालका शब्दमा भन्नुपर्दा पूर्वेली लवजसहितका मीठा र अनौपचारिक भाषिका यो उपन्यासको ठूलो शक्ति हो र उपन्यासकारको लेखकीय कदको चिनारी पनि । मलाई पनि पूर्वेली लवज मन पर्छ । मम यसै मीठो, झन् फ्राई गरेको । चटनीजस्तै संवाद भरेर लेखकले भाषिक मोहनी लाएका छन् ।

“हैना, आजु किना बिहानैदेखि … डुक्रिबसेको छौ ?”

“ए ! सुन् सुन् । सप्पै जना इहीँ आएर सुन् ।”

“हैना, के आभासी कुरा गर्छ यो  … ?”

“के खानुलाई यस्तो हिन्दी नाम राखिपठाको ?”

“बेल्का खानु आउँदिनँ होला । आफ्नो खान्तेपिन्ते आफैँ गर् है ।”

मलाई पूर्वेली मात्र होइन, सुदूरपश्चिमको लवज पनि उत्तिकै मीठो लाग्छ । त्यसैले त आँखा चिम्म गरी देउडा गीत सुन्ने गर्छु । शून्यको मूल्यमा कर्किनी बज्यैको लवज चाख्नुभएको छ ? “अहिले पनि यो मेरो आँखा फुटल्दिन्या त्यो मोरो पोइ फर्किजान्छ कि ? फरक्याको भया पनि माफ गर्दिन्या छियाँ … ।” (पृ. २०३, सांग्रिला) । कति मीठो, कति मार्मिक ! कर्नालीको मीठो लवजका लागि त अझ मान्ठ डराएको जुग पढ्नुपर्छ । उता ऐनामा थारु लवजले मन छुन्छ । वीरबहादुर रन्किन्छ, “मैले नगल्टी गर्डा पनि राटभरि ठुन्ने ?(पृ. १४४, बुकहिल) ?” ऐँठन पढ्नुभएको छ भने रोल्पारुकुमतिरको मगर लवजले तपाईंलाई छोएको हुनुपर्छ ।

साँच्चै लेखकले पूर्वी पहाडी लवजलाई टपक्क टिपेर उपन्यासमा बुनेका रहेछन् । भाषाविद् विमल आचार्यले भनेझैं उपन्यासमा भाषिक चमत्कार छ । त्यसैले त समीक्षक निर्जला अधिकारीले पालामजस्तै मीठो सुनिने उनीहरूको नेपालीमा माटोको सुगन्ध भेटेको ।

उपन्यासलाई बरमकोटमा ठाँटिएर बाबुछिरीले अगाडि बढाएका छन् । बाबुछिरीको औँलामा समाएर कथालाई काँधमा हाल्ने काम डुक्पाले गर्छ । डुक्पाको ड्राइभर सपनाले उपन्यासलाई डोर्‍याएको छ । डुक्पा र उसका साथीहरूको बिठ्याइँले पाठकलाई बाँधेर राख्छ । डुक्पा कस्तो छ भने ऊ स्कुलमै पनि धामी बनेर काम्न सक्छ— ए बाला ! हुरुरुरुर्र … ।

महाभाराको डाँडातिर सानमा ट्रक चलाउने ड्राइभरहरू देखेर ड्राइभर बन्ने रुमानी सपना बोकेको तामाङ केटो डुक्पा पढाइमा कमजोर भए पनि साथी, समाज र सोल्टिनीहरू रिझाउन अब्बल छ । ऊ मेलामा लिम्बुनी युवती सुक्मतीलाई पट्याउन सफल हुन्छ । त्यहीँ उनीहरू मनसँगै तन दिने अवस्थामा पुग्छन् । सुक्मतीलाई घरजम गर्ने सपना देखाउने डुक्पा ड्राइभर बन्ने सपना पछ्याउँदै एक्कासि मधेस झर्छ । यहीँबाट उसको जिन्दगीमा आकस्मिक उत्तारचढाबहरू आउँछन् । ऊ नचाहेरै सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको घानमा पर्छ । डुक्पाले आफ्नो जिन्दगीमा जोड्न नचाहेको ‘युद्धबाट छुट्कारा पाउन गरेको संघर्षबाटै उपन्यासले गति लिँदै जान्छ ।

पालाम खण्डमा डुक्पा र सुक्मतीको बैंसालु सम्बन्धको मीठो वर्णन छ । “टाढा पहाडमा” पछि मलाई यस खण्डले बाँधेर राख्यो । डुक्पाले फुङसिङ मेलामा पालाम गाएर सोल्टिनीहरूलाई छक्कै पारेको छ— ए हाई हाहा हा मा दुङ । चलचित्र ‘जारी’ मा नाम्साङ (दयाहाङ राई) ले पालाम गाएको याद पनि आउँछ ।

पहिलोपल्ट पृष्ठ २३ मा देखिएको ओक्के छ त थेगो अन्तिम पेजसम्म पनि आइरह्यो । यो थेगो माग्ने बूढोको ‘ल खत्तम बर्बाद’ भनेको जस्तो, शिवहरि पौडेलको ‘मुखाँ हान्नु जस्तो’ वा राजाराम पौडेलको ‘परेको म बेहोरुँला’ जस्तै वा रवि डंगोलको ‘का बेइमान’ जस्तै शक्तिशाली लाग्यो । समग्रमा उपन्यासकौ ज्यान बनेको छ यो थेगो । एकदम नयाँ लाग्ने यो थेगो पाठकको मुखमुखमा बसिसकेको पनि छ ।

रातको मेलामा डुक्पा र सुक्मतीले माया मिसाएको दृश्यलाई लेखकले महजस्तै गुलियो बनाएका छन् । हाम्रोतिर पनि रातको मेलामा यस्तो खेल चल्थ्यो । आँखैअघि भइरहेझैं लाग्यो । कति जीवन्त वर्णन । “लू है लाजैबिना (पृ. ३९) ।” सुक्मती लत्रक्क लत्रिँदै बोल्छे । यदि महाभारा चलचित्र बन्थ्यो भने यस दृश्यमा नायिका मिरुना मगरको भूमिका कति जीवन्त हुन्थ्यो होला ! डुक्पा र सुक्मतीको मायाको साक्षी बनेको दक्षिणी हावा उनीहरूलाई सेवारो गरेर देउरालीतिर अघि बढ्छ । लेखकले कुनै छाडा शब्द प्रयोग नगरी गरेको बैँसालु प्रेमको वर्णन मनोहारी छ । सुक्मती बोल्छे, “बिच्चमा चैँ अभर नपार्नु ल सोल्टी (पृ. ४०) ।” सुक्मतीको यही संवादबाट सबै कुरा भन्न सफल छन् लेखक ।

महाभारामा मन परेको अर्को खण्ड हो ‘डायरी’ (पृ. २३५-२४७) । यसमा सुक्मतीको भावना मजाले पोखिएको छ । ऊ बग्छे, “आ है, यो जिन्दगी । जति सोच्यो उति गह्रौं भएर आउँछ । त्यही भएर अब त म सोच्नै छोडिदिन्छु बोरुकै । … जिन्दगी दिक्कलाग्दो पहाड, जहाँ पुग्ने बाटाहरू आफ्नो छनोटमा छैनन् । … जिन्दगीलाई अब चाहिँ सरल रेखामा हिडाउँछु है भनी सोच्छु, कहाँ कताबाट अर्को रेखाले छ्याकछ्याकी काट्नु आइबस्छ । … अब मैले नयाँ बिहानीमा बाँच्न सिक्नुपर्छ । विगतलाई ओल्टाइपल्टाई हेरिबस्यो भने त्यसले मान्छेलाई साह्रो दुःखी बनाउने रहेछ ।”

सुक्मती प्रेमिल देखिन्छे । ऊ अझै मीठो गरी लेख्छे, “भयो, मलाई मेरो पहिलो मायाको घाउ सम्झेर बाँच्न पुग्यो । म साचिदिउँला, त्यो एक रातको मीठो सपना थियो, अब छैन । त्यो एउटा पुस्तकको मीठो अध्याय थियो, अब छैन । मसँग सबथोक बिर्सेर उसलाई मात्रै माया गर्ने, उसैको बारेमा मात्र सोचिबस्ने हृदय थियो, अब छैन । पहाडको कन्दरामा फुलिबसेको सिल्लरी फूल थियो, अब छैन । म ती गीत सुन्नेछैन, जसले मभित्र पुरिन लागेको घाउ फेरि बल्झाउन आउँछन् ।”

उपन्यासमा माओवादी नेता पार्थिव परिपक्व देखिएका छन् । उनले डुक्पालाई कन्भिस गर्न बोलेका संवाद शक्तिशाली छन् । राजनीतिक कुरा पनि सुनूँ सुनूँ लाग्ने । शायद पार्थिवहरूको यस्तै क्षमताले गर्दा नै त्यतिखेर युवाहरू माओवादीमा सोहोरिएका होलान् । कम्रेड सिक्साम्बा पनि उत्तिकै प्रभावशाली लाग्छन् । अर्का कम्रेड वीरजंग पनि के कम ! लेखकमा उच्च राजनीतिक चेत नभई यस्तो चरित्र निर्माण सम्भव हुँदैन । लेखककै वर्णन पनि कति मीठो— पोस्टरहरूले रंगिएका भित्ता न्यायका वाचा गर्थे । त्यहाँ गरीबको शासन आउने सपना लेखिएका हुन्थे । देशमा चलिरहेको संघर्ष र विद्रोहको भाष्यले तल्लो वर्गलाई अपिल गर्न थालिसकेको थियो । भित्ता र पर्खालहरू प्रचारका शक्तिशाली औजार बन्न थालिसकेका थिए (पृ. ९०) ।

प्रेमपछि उपन्यासको केन्द्रीय विषय देशमा चलेको दश वर्षे द्वन्द्व हो । उपन्यासमा विद्रोही पक्षबाट भन्दा सेना र प्रहरी पक्षबाट भएका प्रताडनाको घटना तुलनात्मक रूपमा बढी देखिन्छन् । यही विषयलाई अझ बढी केन्द्रमा राखेर लेखिएको उपन्यास ऐँठनमा चाहिँ कुरा उल्टो छ । त्यहाँ सरकारी पक्षबाट भन्दा विद्रोही पक्षबाट भएका प्रताडना मुटु दुखाउने गरी विभत्स छन् ।

उपन्यासको भूगोलमै जन्मेहुर्केकी एक चेली मनिषा अधिकारीका हरफहरूले उपन्यासलाई अझ नजिकबाट बुझ्न मदत गर्छन् । उनले महाभाराको प्रचारमा देश दौडाहमा निक्लेको उपन्यासको कभरवाला ट्रकलाई साक्षी राखेर लेखेकी छन्, “महाभारा चटपटे जस्तै मीठो छ । जसरी चटपटेमा नून, खुर्सानी, अमिलो, बदाम आदि धेरै कुरालाई समेटेर तडकावाला बनाइन्छ त्यसै गरी महाभारालाई प्रेम, राजनीति संस्कृति, युद्ध जस्ता कुराको मिश्रणले मीठो बनाएको छ ।” तर सबै कुरा एकै ठाउँमा मिसाउँदा स्वाद बिग्रन सक्ने जोखिम पनि लेखकले उठाएका छन् ।

लेखकले गोपाल पोखरेल, बेनुप भट्टराई र धिरेन शर्माबाट माओवादी र काम्राङ धार्मिक लडाकूबीचको तनावबारे सूचना लिएका रहेछन् । साथै इमानसिंह चेमजोङ, वैरागी काइँला, शिवकुमार श्रेष्ठ, अर्जुनबाबु माबुहाङ, कृष्णविक्रम नेम्वाङ आदिका किरात धर्मसंस्कृतिसम्बन्धी खोजमूलक किताबबाट उपन्यासको शोधकार्यमा सहायता लिएका रहेछन् । यस हिसाबले उपन्यासलाई तथ्यपरक बनाउन लेखकले मिहिनेत गरेको देखिन्छ । उमेरको एउटा खण्ड उतै बाँचेर आएकाले सुदूरपूर्वी पहाडको काँचो प्रभाव लेखकमा हुने नै भयो । तर युवा कवि तथा समीक्षक सन्जित फलानाले माङसेबुङ न्यूजमा लेखेको लामो टिप्पणीले भने पाठकलाई सोचमग्न बनाउँछ ।

महाभारालाई बी साइडबाट हेर्दा

सुक्मती र डुक्पाको प्रेमकथा भए पनि यसमा उनीहरूको रुमानी रहरहरूले भरिएको चोखो माया छ भन्न सकिँदैन । डुक्पा र सक्मतीको प्रेमको पृष्ठभूमि हल्का लाग्छ । मेलामा एकपटक भेटेकै भरमा प्रेम त्यसरी झाँगिएको कथा बलियो लाग्दैन । हाम्रो समयमा गाउँघरतिर प्रेम यसरी नै पर्ने हो तर त्यसका लागि तन्नेरीले धेरै पापड बेल्नुपर्ने हुन्थ्यो । मनोज बोगटीले कान्तिपुर (२०७८, माघ १५) मा लेखेका हरफहरूमा म पनि सहमत छु । बोगटीले लेखेका छन्, “प्रेमका लागि न डुक्पाले संघर्ष गरेको छ न सुक्मतीले । यहाँ आकर्षण छ, त्याग छैन । डुक्पा र सुक्मती मूलधारको नेपाली चलचित्रका नायकनायिकाजस्तो पनि लाग्छन् ।” समीक्षक निर्जला अधिकारी पनि डुक्पालाई प्रेमीका रूपमा लेखकले दिएको धरातल बलियो देख्दिनन् ।

डुक्पा घरी मेरिनासँग लहसिन खोजेको छ, घरि गुराँशसँग । (प्रेमालय उपन्यासमा मूल पात्र गुराँश छे । उपन्यासहरूमा नाम नजुधिदिए हुन्थ्यो भन्ने लाग्छ ।) उसले मधेसमा डाइबरी गर्दा धिमालले जस्तै कति जनासँग केके गरेको अनुमान पनि गर्न सकिन्छ (पृ. ३४९, ३५४) । यसो हेर्दा डुक्पा प्ले ब्वोइ जस्तो देखिन्छ । यस्तो हाउडे पात्रप्रति क्रेजी भएर सुक्मतीले जिन्दगीको लय नै गुमाएकोमा थकथकी लाग्यो । देहसुख लिएर बेपत्ता भइदिने डुक्पाकै कारण मन बिगार्ने सुक्मती बिचरी ! पछि फेरि उसैसँग आइपुगेको राम्रो लागेन । गाडी लाइनमा मुख फेर्ने बानी परिसकेको धिमालजस्तै डुक्पा के सुक्मतीप्रति समर्पित होला ? डुक्पा बाउ बाबुछिरिजस्तै केटी पटाउन सिपालु छ । के ऊ पत्नीव्रता होला ? नत्र सुक्मतीले फेरि दुःख पाउने छे । हाय !

लारुम्बा प्रवेश नगर्दासम्म कथा, संवाद क्या बात ! तर मेरिनाको प्रवेशपछि, अझ लारुम्बा खण्ड आएपछि कथाको बहाव रोकिएको लाग्यो । मेरिनाको प्रसंग यस उपन्यासमा नभए पनि फरक पर्ने थिएन ।

धनु विश्वकर्मा र योजना गौतमलाई खड्केको कुरो मलाई पनि खड्कियो । उपन्यासमा धर्मले मानिसलाई साधन बनाएको कुरा आएको छ । धार्मिक शोषण र विभेदका कुरा पनि छन् । तर यसमा सन्तुलन खजमजिएको देखिन्छ । देश सुब्बाको ‘अपमान’ र राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’ पढेका पाठकले अझ धेरै विश्लेषण माग गर्ने ठाउँ छ ।

कथाकार बिना थिङ र कवि राजु स्याङ्तानको अन्तरवार्ता सुनेको थिएँ । लेखकद्वयले तामाङहरूलाई भोटे भनेर हेप्ने गरेकोमा दुःख व्यक्त गरेका छन् । तर महाभाराभरि मैले दर्जनभन्दा बढी भोटे भेटें, सवादहरूमा र सुक्मतीको डायरीमा समेत गरी । त्यसो त कर्नाली ब्लुजमा पनि यस्तो शब्द प्रयोग भएको छ । त्यहाँ थारु शब्द बृषबहादुरलाई गिज्याउन प्रयोग गरिएको छ । यसले थारु समुदायलाई नराम्रो लाग्छ कि लाग्दैन होला ? थारु समुदायकै चर्चित लेखिका शिवानी सिंहलाई कस्तो लाग्छ होला ?

उपन्यासको दलित समुदायसँग सम्बन्धित केही सन्दर्भ पनि छन् । पृष्ठ ५५ मा मन्दिरमा बच्चे सार्कीलाई माओवादीले मन्दिर पसाएको कुरा आएको छ । पृष्ठ ३३५ को बिजुले विश्वकर्मा अर्को पृष्ठमा बिजुले कामी भएको छ । यही उपन्यासमाथि पाठकपत्र (!) लेख्दै विमल आचार्यले त नाममा एकार आएको पनि राम्रो मानेका छैनन् भने झन् जातै जोडिएपछि कसरी ओक्के हुने !

दलित समुदायलाई बिझ्ने गरी आएका उपन्यासहरुमा रुद्रराज पाण्डेको रूपमती, ध.च. गोतामेको घामका पाइलाहरू, जगदीश घिमिरेको सकस, दौलतविक्रम विष्टको थाकेको आकाश, शंकर कोइरालाको खैरिनीघाट आदि धेरै छन् । यी उपन्यास पढ्दा सम्बन्धित जात, समुदायका कुनै पनि मानिसले गर्व गर्न सक्छ भन्न सकिँदैन । जातिगत पहिचानको आवश्यकता र बाध्यताले डोरिएर बाहेक आज कोही पनि दमाई, कामी, सार्की, गाइने, धोबी, कसाई हुन चाहन्छ जस्तो लाग्दैन । त्यसैले कृष्ण अधिकारीकृत कथासंग्रह ‘कान्छो सार्की’, मञ्जुल मितेरीकृत कवितासंग्रह ‘कामी’, राजन मुकारुङकृत उपन्यास ‘दमिनी भीर’, पारिजातको कथा ‘नैकापे सर्किनी’ जस्ता शीर्षकहरू पनि उचित हो भन्न सकिँदैन ।

पृष्ठ २२६ मा लिम्बू भाषाका लामालामा संवादले पठनमा बाधा ल्याएको जस्तो देखिन्छ । यद्यपि अनुवाद पनि सँगै राखिएकाले बुझ्न गाह्रो भने छैन । अलिखितमा पनि ध्रुवचन्द्र गौतमले यसै गरेका छन् तर संवाद छोटाछोटा छन् ।

लेखकले नयाँ शब्द निर्माणमा गरेको मिहिनेतको सबैले तारिफ गरेका छन्, तर कति शब्दचाहिँ प्रयोग नभएको भए ओक्के हुने थियो । किनभने मखलेल, लेठो र गम खाने जस्ता शब्द बागी लेखक खगेन्द्र संग्रौलाको जस्ता लाग्छन् । उपन्यासमा पिलपिल शब्द धेरैपटक आएको छ । यो शब्द कर्नाली ब्लुज र एक्लोमा स्थापित भएको कारण यहाँ नदोहोरिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

उपन्यासमा डेनी डेन्जोङ्पा (पृ. ६८) र पद्मसुन्दर लावती (पृ. २०५) को प्रसंग आउँछ । डेनी एक चर्चित भारतीय अभिनेता तथा गायक पनि हुन् । उनले गाएको ‘रातो रानी फुलेझैं साँझमा’ नसुन्ने नेपाली कमै होलान् । त्यस्तै पद्मसुन्दर लावती पाँचथर जिल्लाका अग्रज नेता हुन् । फिदिममा उनको शालिकसमेत निर्माण भएको रहेछ । तर उपन्यासमा डेनी र लावती दुवैलाई निम्न आदारर्थी शब्द प्रयोग गरिएको छ । पत्रकारितादेखि लेखनको भाषामा प्रयोग हुने मध्यम आदरार्थी सर्वनाम प्रयोग गरिएको भए राम्रो सुनिने थियो ।

उपन्यासमा छाडा लाग्ने ठेट शब्दहरू धेरै पटक दोहोरिएका छन् । ‘मु’, ‘जाँ’ र ‘चा’ वाला शब्दको छेलोखेलो नै देख्न सकिन्छ । उपन्यासमा यस्ता शब्दले ठोस योगदान गरेका पनि छैनन्, जति योगदान ‘ओक्के छ त’ थेगोले गरेको छ । अब नयाँ लेखकले झनै उत्साहित भएर जननेन्द्रीय र तिनका कर्मलाई अझ ठेट शब्दमा लेखिदिए भने ओक्के होला भन्न सकिँदैन ।

कर्नाली ब्लुज, एक्लो, महाभारा, राइपाली भन्ज्याङ, लू, उलार, अक्षरगन्ज, मोक्षान्त काठमान्डु फिभर सबैमा छाडा शब्द परेकै पाइयो । काठमान्डू फिभरमा त झन् कडा । मदन पुरस्कार जितेका एँेठन र ऐनादेखि नोबल पुरस्कार विजेता भेजिटेरियनसम्म यस्तै । फिल्महरू हेर्‍यो, जारीदेखि बुलबुलसम्म त्यस्तै । सस्तो लेखन भनेर पर सारिने प्रकाश कोविदका उपन्यासमा बरु यस्ता शब्द देखिएनन् । शिरीषको फूल, पागल बस्ती, पल्पसा क्याफे, सेतो धरती जस्ता प्रख्यात उपन्यासहरू यस्ता शब्दबिनै अमर बनेका छन् ।

महाभाराको पृष्ठ २९३ मा “हलपाटे चप्पल उनेर ऊ सेनासँगै निक्लिएको थियो” भन्ने वाक्य परेको छ । पल्पसा क्याफे (पृ. ५, नेपालय, विद्यार्थी संस्करण) र अलिखित (पृ. १२९, साझा) मा पनि उस्तै गरी हलपाटे प्रसंग आएको देखियो । यस्तो हुन सक्छ, सुनिन्छ पनि तर लेखनमा उस्तै कुरा धेरै जनाबाट दोहोरिँदा अलि स्वाद घटेको लाग्ने रहेछ ।

समग्रमा भन्नुपर्दा

पुस्तकको विषय गम्भीर छ । धर्म र राजनीति मिसिएपछि केकेसम्म हुन्छ भन्ने थाहा पाउन महाभारा पढ्नुपर्छ । विमल आचार्यले लेखेझैं यस उपन्यासले पाठकमा साहित्यिक चेत मात्र हैन, एक लेभलको राजनीतिक–सांस्कृतिक चेत पनि माग गर्छ ।

यति ठूलो क्यान्भास, यति लामो कथा । यति धेरै पात्रहरू, पात्रका नामहरू पनि अप्ठ्यारा, द गुड अर्थका मूल पात्र वाङलुङ र ओलाङजस्ता । ठाउँका नाम पनि त्यस्तै अप्ठ्यारा र अनौठा । यति धेरै प्रसंगहरू अनि यति गहन विषय । लेखकलाई कति गाह्रो भयो होला भन्ने मेरो अनुमान । यसरी काम गर्न मलाई त त्यसैत्यसै अत्यास लाग्छ ।

भाषाशास्त्री शरच्चन्द्र वस्तीका केही हरफ उद्धृत गर्न मन लाग्यो । सञ्चार माध्यममा प्रयोग हुने चिनियाँ भाषामा अशुद्धिको भरमार भयो भनेर चीनको एउटा पत्रिकामा एक जना विद्वान्को लेख छापिएछ । त्यसको पर्सिपल्ट त्यही लेखमा चार दर्जन भाषिक गल्ती रहेको औँल्याउँदै सोही पत्रिकामा अर्काको लेख छापिएछ (हाम्रो भाषा, फाइनप्रिन्ट, पृ. झ) ! कुनै पनि कृतिमाथि टिप्पणी गरिरहँदा मलाई यी हरफले चुनौती दिइरहन्छन् ।

देखिन्छ— महाभारामा प्रेम, राजनीति र धर्म मात्र छैनन्, प्रश्न गर्ने ठाउँ पनि उत्तिकै छन् । त्यसो त सुम्निमा, तीन घुम्ती, पल्पसा क्याफे, लू जहीँ पनि प्रश्न गर्ने ठाउँ छन् । प्रश्न उठ्ने गरी लेख्नु पनि एउटा कला हो । यसले नै कृतिलाई बहसको केन्द्रमा राख्छ । लेखककै हरफ सापटी लिएर भन्नुपर्दा सबै सिर्जना त्यति भाग्यमानी हुँदैनन्, जसले बहस सिर्जना गर्न सकून् । आज महाभारालाई बृहत् बहसको सौभाग्य प्राप्त हुन सकेको छ । यो नै लेखकको ठूलो सफलता हो ।

बिट मार्ने बेलामा

एउटा कुरा सुटुक्क भन्न मन लाग्यो— उपन्यासको नाम त ‘टाढा पहाडमा’ नै सुन्दर हुन्थ्यो होला ! यसले नै पाठकलाई अझ तानेर राख्थ्यो होला ! लेखकका हरफहरूले पनि यही माग गर्दछ, “पहाडी गोरेटोमा हिँड्दाहिँड्दै अचानक आँशु आउँछ, दुःखको होइन सुखको । पहाडले म कहाँबाट आएको हो भन्ने बोध दिलाउँछ । सिर्जनात्मक योजनाहरू पहाडमै फुर्छन् । मेरो अनुमान, बुढेसकालको थकाइ पनि उतै मारिन्छ होला, टाढा पहाडमा…।”