
कम्युनिस्ट पार्टीको नेताले लेखेको पुस्तकको मूल्य सानोतिनो आम्दानी हुने पाठकले आँटेर किन्न नसक्ने गरी किन राखियो होला ? यो प्रश्न छुच्चो लागे पनि पाठकको आँखाबाट हेर्दा बलियो रहन्छ ।
===
नेपाली साहित्यले सदियौँको यात्रा तय गर्दा यसले कहिलेकाहीँ ठूला विचार-विमतिका छालहरूसँग संघर्ष गर्दै आफ्नै स्वरूप खोजेको देखिन्छ । विमतिका छालहरू नेपाली साहित्यकै अभिन्न पक्ष हुन् । यी छालहरूले कहिलेकाहीँ साहित्य डगमगाउला जस्तो देखिए पनि यहीँबाट नयाँ दृष्टिकोण, शैली र सन्देशहरू जन्मिएका छन् । यसै शिरामा उभिएको नवीनतम उपन्यास हो का. जलजला ।
हाम्रो समाजको विविधतायुक्त संरचनाले नेपाली साहित्यलाई पनि विविध मतहरू र विचारधाराका बगैंचाहरूमा फुल्न प्रेरित गरिरहेको पाइन्छ । भाषागत, क्षेत्रगत, सांस्कृतिक र राजनीतिक बहसहरूले नेपाली साहित्यलाई निरन्तर चलायमान राखेको छ । एउटा सशक्त उदाहरणका रूपमा, २००७ सालको प्रजातन्त्रको आगमनसँगै साहित्यमा देखिएको परिर्वतन लिन सकिन्छ । प्रगतिवादी, प्रयोगवादी र आधुनिकतावादी धाराहरूले साहित्यलाई नयाँ-नयाँ दिशाहरूमा तान्दै लगे । त्यसैको पछिल्लो कडी हो का. जलजला ।

का. जलजला
पठन सरल र तरल लाग्यो तर प्रत्येक नवीन प्रयोगसँगै विरोध र विमति पनि जन्मियो । जलजलाले पनि यो आरोप खेप्नुपरेको छ । एउटा किताबमा सबैकुरा पस्किन खोज्नुको परिणाम पनि हुनसक्छ यो । पछिल्ला वर्षहरूमा नेपाली साहित्यमा देखिएका बहस र विमतिहरूले गहिरो सांस्कृतिक प्रश्नहरू उठाएका छन् । जातीय पहिचानका मुद्दा, लैङ्गिक असमानताका पक्षहरू, वर्गीय विभाजन, र समकालीन राजनीतिका छालहरूले साहित्यलाई अझ परिस्कृत र बहुआयामिक बनाएका छन् । उदाहरणका लागि मधेश आन्दोलन, जनयुद्धको प्रभाव, र महिलावादी दृष्टिकोणले साहित्यमा गहिरो तरङ्ग ल्याएका छन् । यस्ता विषयहरूले कहिलेकाहीँ लेखकहरूको कलमलाई तिक्त बनाएको जस्तो देखिए पनि, यिनै विमतिहरूले साहित्यलाई गहिराइ दिन सफल भएका छन् । यो कुराको ऐतिहासिकता बोक्ने सामर्थ्य राख्छ डा. जलजलाले । यसरी, नेपाली समाज विमतिका छालहरूसँग घर्षण गर्दै आफूलाई परिष्कृत बनाउँदै आएको र त्यसबाट लेखन अछुतो नरहने देखिन्छ ।
नेपाली साहित्यको तटमा सधैं उब्जने विवाद झेल्न तम्तयार जलजलाले साहित्यको गहिराइमा आफ्नो उचाइ कायम राखोस् भनेर नै समय र श्रमको प्रयोग भयो । बाँकी थप्नुपर्ने कुरा प्रत्येक पठनमा आउने छ । यसैमा यसको सुन्दरता निहित छ । आलोचनाको माझमा उभ्याएर पनि टाढाको दृश्य देखाउने जलजलाप्रतिको यो टिप्पणीलाई किताबको सार नबुझियोस् ।
कति कुरा ऐतिहासिकताले आजसम्म पनि मुर्तता देखाइरहेको छ । मान्छे कसरी कम्युनिस्ट हुन्छ ? कसरी विद्रोही हुन्छ ? र, केन्द्रमा पुगेपछि, सत्तामा पुगेपछि कसरी पतन हुन्छ ? यसको सजिलो र व्यवहारिक उदाहरण वनमारासँग जोडिएको छ । पलायन र विचलनलाई बल पुर्याउने पुँजीवादी बहुमतीय प्रणाली जसले गरीबलाई बोल्नमात्र अधिकार दिन्छ । जसलाई भड्काव मात्र उपलब्धिमा हासिल हुन्छ । पारदर्शिता र आर्थिक अनुशासनको क्षय नै सम्पूर्ण कम्युनिस्ट या क्रान्तिकारीको अन्त्यको कारण हो ।
संसारमा व्यक्ति सकिन्छ, असल विचार सदैव जिवित रहन्छ । असल विचारले बनेको असल व्यवहारले नै समाज बदल्ने हो । तर युग उपन्यासको परिकल्पना या लेखन जस्तो होइन । यहाँ क्रान्तिकारी देखिन उग्ररूप हुनुपर्छ । त्यसको समाधान अध्ययनले मात्र गर्न सक्छ । राजनीति, अर्थ, अध्यात्म र मानव जीवनका विविध आयामबारे दार्शनिक दृष्टिकोण समेतले पुस्तक सिँगारिएको छ । पढ्दा निराशा जाग्दैन । यत्ति हो कि पाठकको अपेक्षा पात्रले पूरा चाहिँ गर्दैनन् ।
सत्य भनेको पनि सापेक्ष कुरा हो । समय अनुसार सत्य फरक हुन्छन् । इतिहासमा यो भयो त्यो भएन भन्न भविष्यका लागि सजिलो हुन्छ । तर हरेक वर्तमान भोलिको इतिहास हो । आज गरिएको निर्णय भोलि नै फितलो हुन्छ । कमजोर हुन्छ । स्टालिन र लेनिनका कामहरू किन सफल हुन सकेनन् ? माओवाद किन चीनमा स्खलित हुन पुग्यो ? संसारका अन्य क्रान्तिहरू किन केही दिन, केही वर्षका लागि मात्र उपयोगी सावित भए ? यस्ता सारा प्रश्नको जवाफ उपन्यासले कम्युनिस्टको कमजोरी भन्ने सजिलो जवाफ दिएर बस्छ ।
उसो भए उपन्यास कमजोर खाडलमा जाकिएको हो त ? त्यसो चाहिँ होइन । यसले दिने सबल पक्ष पनि धेरै छन् । संसारका भौगोलिक र ऐतिहासिक विवरणदेखि पश्चिम नेपालका गाउँघरका विवरण सदृश्य लाग्छन् । मानिसमा पठनले ल्याउने परिवर्तन, आर्थिक कुराले पार्ने प्रभाव अनि वैचारिक विचलनले ल्याउने स्खलन निकै गहिरो र यथार्थ ढंगले पस्किनु उपन्यासको बलियो पक्ष हो ।
नारीमुक्तिको आन्दोलनको ट्र्याक खोलिएको त्यो युगको बाटोले आज सुगम बाटो पाएको छ । समाजले पाएको अनुपम उपलब्धिलाई कम आकलन गर्नु मूर्खता हुन जान्छ । अन्याय, अत्याचार र विसंगतिमाथि कलम र आवाजमा विद्रोह सञ्चार गर्नुमा पनि त्यो युगको ठूलो भूमिका थियो । पात्रलाई पछ्याउँदै पुगेका पाठकका नयनका पैताला र मनमस्तिष्कले भेट्न पाउने भूगोल यथार्थका पात्र संवाद र वैचारिकीले डोर्याउन सक्नु उपन्यासको मजबुती हो ।
सम्पूर्ण किताब सकाउँदा एक स्पष्ट सन्देश भेट्न गाह्रो लाग्छ नै । गान्धीवाद यो कारणले खराब भयो, स्पष्ट भेटिन्न । श्रीमद्भागवतगीतामाथि पनि वैचारिक द्वन्द्व साँधिएको छ । न समर्थन न विरोध । यदि तटस्थता हो भने धार्मिक ग्रन्थमाला र अध्यात्मको धागो नछोएकै भए हुने । भनिएको छ – वर्ग संघर्षबारे गीताको त्यो भनाइले (यदायदाही धर्मस्य …..) प्रकारान्तरले ठूलो अर्थ र महत्त्व राख्छ । दर्शनको मामिलामा पनि विवादका क्षेत्रहरू व्यापक छन् । मलाई के लाग्छ भने वर्गसंघर्ष कि स्वीकार गर्न हुन्न स्वीकार गरिन्छ भने परिणाम पनि सहर्ष स्वीकार गर्नुपर्छ । दासयुग, सामन्तयुग र पुँजीवादी युगका उपलब्धि र क्षती दुबै उत्तिकै छन् । मार्क्सवाद एक चिन्तन हो । त्यो एक सपना हो जो संसारमा एक दिन पनि पूर्णरूपले टिक्न सकेन । चिन्तन भनेको मनन गरिने कुरा हो । दर्शन जस्तो । व्यवहारिक जीवनमा समानता भन्ने शब्द निकै प्रिय सुनिन्छ । तर त्यो कति लागू भएको हुन्छ ? आजसम्म संसारमा कति लागू भयो ? नीति निर्माणको तहमा त्यो लागू भयो होला । सामान्य बेतन या तलबमान समान हुनु भनेको समानता होइन । मार्क्सवादको परिकल्पना निकै व्यापक छ त्यसले खाली आर्थिक पक्षमा मात्र वकालत गर्दैन । तर व्यवस्थाले निर्क्योल गर्न सक्ने आर्थिक अवस्थासम्म हुनसक्छ । मानव विकासका सम्पूर्ण पक्षलाई कहिल्यै समान तरिकाले पक्षपोषण गर्न सक्दैन । यसको प्रमुख कारण नै मानव विकास हो । मान्छे दैनिक रूपमा नयाँ खोज, आविष्कार अनि प्रगतिशील प्राणी हो । जुन कुरा मार्क्सवादी सिद्धान्तले पनि स्वीकार गर्छ । रुस र चीनका दृष्टान्तले यो कुराको पुष्टि गर्छन् कि समाजवाद र साम्यवाद अन्तिम विकल्प थिएनछ । यदि साँच्चिकै अन्तिम विकल्प हुँदो हो त त्यहाँ अहिले पनि त्यो पूरापुर लागू हुँदो हो । उसो त कुनै एक देशमा लागू हुने समाजवाद साम्यवाद होइन नै । त्यसैले यो बहसका प्रसंगमा पनि उपन्यास लम्मेतान तानिएर पनि ठोस निष्कर्षमा पुगेको पाइँदैन । तिथिमिति, छपाइ असुद्धि, पूराका पूरा पेजहरूको पुनरावृत्ति जस्ता गल्तीले पनि पाठकलाई अलमल्याउँछ । प्रत्येक कुराको आफ्नो महत्त्व छ । विविधता भएर नै संसार छ । लेखन पनि यो कोणबाट अप्रभावी हुन सकेन । कुरा यत्ति हो ।
जलजला ! एउटा हिमालको नाम मात्र होइन । यसको प्रतीकात्मक अर्थ हुनाले कम्युनिस्ट पार्टीका कार्यकर्ताको नाम छद्म रूपमा राखिन्थ्यो । त्यो प्रभाव पछिल्लो आन्दोलनसम्म पनि कायम छ । हामी अहिलेका अधिकांश पाठक पछिल्लो द्वन्द्वको कुनै न कुनै प्रभावबाट अछुतो नरहेका प्राणी । मान्छे नभनुँ होला, किन कि युद्धमा मानवीयताको खास गुन्जायस देखेको थिइनँ मैले । त्यो यामभन्दा अझ अघिको याम समेटेको छ उपन्यासले । उसो त के समेटेको भन्दा पनि समेट्न के पो बाँकी छ र जस्तो लाग्छ किताबले ओगटेको आयतनले ।
हामी पाठक कुनै कुनै दृष्टिकोण राखेर किताब पढ्छौं । जसमा एउटा अपेक्षा लुकेको हुन्छ । त्यो खासमा के हो ? आफैंलाई थाहा हुँदैन । हाम्रो मानसिकतामा यो किताब यस्तै भैदिए हुन्थ्यो भन्ने स्पष्ट बाटो हुँदैन । फेरि पनि पढिसक्दा एक खालको बैठानको अपेक्षा हुन्छ नै । साथीहरूले अभियान ल्याउनुभयो । का. जलजला पढ्ने । पढ्ने शिलशिलामा नौलो किताब आयो । राम्रै भयो पढियो । नेपाली बामपन्थी अझ भनौं कम्युनिस्ट आन्दोलनका योद्धा मोहनविक्रम सिंहको नाम सुन्न छुटेको थिएन यसअघि पनि । किताबलाई आधा पढिसक्दा किताबकै प्रचारप्रसारमा उहाँको अभियानको एक हिस्सा भएर कोहलपुर पनि मिसियो । साक्षी हुने अवसर पनि मिल्यो ।
नेपाली समाज, राजनीति अनि लेखन यी तीनै कुरासँग बेलाबेला मलाई चित्त नबुझेकै हो । तर चित्त नबुझ्दैमा म सबै त्याग्न सक्दिनँ । किनकि त्यो वातावरणका अवयव त मसँग पनि छुट्टिन नसकिने गरी जोडिएका छन् । हेर्ने दृष्टिकोणलाई जता लान सक्यो उतै जाने रहेछ । त्यसैले लेखकका कुरा सुनिसकेर पनि किताबलाई अन्तसम्म पढ्ने क्रम रोकिएन । समाज रुपान्तरणका आयाममा देखिएका असमान र विवादास्पद कुरा जलजलामा पनि खुबै देख्न पाइयो । किताबको आकार ठूलो पारिनु र प्री-बुकिङ्गको मेसो मिलाउनु आन्तरिक कुरा होला । फेरि पनि कम्युनिस्ट पार्टीको नेताले लेखेको पुस्तकको मूल्य सानोतिनो आम्दानी हुने पाठकले आँटेर किन्न नसक्ने गरी किन राखियो होला ? यो प्रश्न छुच्चो लागे पनि पाठकको आँखाबाट हेर्दा बलियो रहन्छ ।
जलजला एक आदर्श हिमालको प्रभाव विद्या ढकालमा परेपछि उनको नाम जलजला रह्यो । जलजलासँगको प्रेम सम्बन्धका बारेमा सानो र अस्पष्ट जवाफ पनि सुनियो मोहनविक्रम सिंहको । नेपाली समाजको रूपरेखा उनको त्यस कार्यक्रममा पनि छर्लङ्ग देखियो । संख्यात्मक हिसाबले भव्य भए पनि पठन र किताबमाथिको बहसका दृष्टिले सभ्य हुन सकेन कार्यक्रम । किताब जस्तै कार्यक्रम पनि मिसमास केन्द्रित भयो ।
किताबलाई उपन्यास भनेर ल्याइयो । शुरूवातमा सस्पेन्स मुभीको शैलीमा पात्रहरू देखिंदै गए । यथार्थ समय, व्यक्ति र घटना भए पनि किताबलाई उपन्यासको दर्जा र नाम दिइएकाले त्यो आख्यान नै हो । त्यसैले किताबमा उल्लेख्य व्यक्तिहरू पात्र नै हुन् पाठकका लागि । उनीहरूका कामहरू पात्रका चरित्र हुन् । यहाँ हरेक पात्रको नाम टिपेर सार दिनु उपयुक्त हुँदैन । शुरुको पानादेखि अन्तिमसम्म सुनन्दा र जलजलाको चरित्र चुल्याउन लेखक कम्मर कसेर लागेको देखिन्छ । सुनन्दाको रूपमा लेखक स्वयं जलजलाको खोजमा दगुरिरहेको प्रतीत भयो मलाई चाहिँ ।
लेखकको बठ्याइँ दुई धारमा विभाजित भएको पनि स्पष्ट देखिन्छ । अजित उभ्याएर सुनन्दाको चित्र कोर्ने र पाठकलाई सस्पेन्समा राख्ने । सुनन्दाप्रति यति धेरै ज्ञानको भकारी बाँधिन्छ कि पाठक पूरै सुनन्दामय भैदिन्छ । नत्र उसले टेकेका पाइला पाइला पछ्याउँदा पनि नभेटिने पात्र जलजलाको स्वरूप बेलाबेला सुनन्दाको चित्र र चरित्रमा पोत्नुको के अर्थ होला ?
यस्तो लाग्छ, उनलाई (सुनन्दालाई) संसारका सबैकुरा थाहा छन् । एउटा डायरीमा सबै टिपोट भएको छ । र, उनले आवश्यक पर्दा सम्झिन र मनन गर्न सक्छिन् । मार्क्सवादी दृष्टिकोणले त्यही हो ? जो कोही त्यही स्तरको ज्ञान हासिल गरे मात्र जीवन बुझ्न सक्छ ? के सुनन्दाले बुझिन् ? के उनले अन्तमा सही निर्णय लिइन् ? पाठकले यो प्रश्न गर्न पाउने कि नपाउने ? कि पाठकले प्रतिक्रिया दिँदा पनि भूमिगत या अर्ध भूमिगतको भूमिका निर्वाहा गर्नुपर्ने ?
उनले बाँचेको समय, उनले हिँडेको बाटो र नेपाली राजनीतिमा उनको नेतृत्वले खेलेको भूमिकाको अवमूल्यन गरिनुहुँदैन तर कृतिले भने सदैव निर्मम समीक्षा माग्छ । मोहनविक्रम सिंहकृत उपन्यासले जति चर्चा पाउला भन्ने अनुमान थियो त्यति आइरहेको छैन । मोहनविक्रम सिंहलाई नेपाली कम्युनिस्ट आन्दोलन र दर्शनको एक महाविद्यालय पनि मानिन्छ । कृतित्व र व्यक्तित्व कहिलेकाहीं भिन्न भएर पनि उदाउने गर्छ । यो पनि एउटा विमतिको पाटोमा बुझेँ मैले । प्रेमलाई जुन उचाइमा पुर्याइएको होला भन्ने सोचका साथ पढियो त्यो उचाइ नभेटिनुले निराशा जगाउने रहेछ ।
उपन्यास नभनेर नेपाली कालखण्डको एक परिचयका रूपमा पनि लिन सकिन्छ यसलाई । बुझ्ने तौरतरीका भिन्न हुन सक्छन् । सापेक्ष रूपमा आलोचनारहित नभए पनि पठनयोग्य भएको कुरा सहर्ष स्वीकार्दै का. जलजला पुस्तकको सफलताको कामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

