लेखसार 

प्रस्तुत अनुसन्धानमूलक लेख ‘विन्दुको वृत्त’ कवितासङ्ग्रहको तत्त्वगत विश्लेषणमा आधारित छ । यस अध्ययनमा उक्त कवितासङ्ग्रहलाई विश्लेष्य सामग्रीको रूपमा प्रस्तुत गरी उक्त सङ्ग्रहमा सङगृहित कविताहरूमा संरचना, भाव वा विचार, भाषाशैली, दृष्टिविन्दु र विम्बालङ्कार जस्ता कविताका तत्त्वहरूको उपस्थिति कस्तो रहेको छ भन्ने सैद्धान्तिक विषयलाई प्रमुख समस्याको रूपमा प्रस्तुत गरिएको हुनाले यो अध्ययन गुणात्मक अध्ययन पद्धतिमा आधारित रहेको छ । यस अध्ययनमा उल्लिखित कविताका तत्त्वहरूको सैद्धान्तिक परिचय प्रस्तुत गरी कविताहरूलाई तत्त्वगत विश्लेषण विधिका आधारमा व्याख्या विश्लेषण गरी कविले प्रगतिशील, नारीवादी र आलोचनात्मक यथार्थवादी भाव वा विचारलाई भावअनुसार सम्प्रेष्य भाषामा ढालेर संवादात्मक, एकालापीय वा आत्मालापीय तथा व्यङ्ग्यात्मक शैली अङ्गालेर कवितालाई बोधगम्य र सरस बनाउन सफल छन् भन्ने कुरालाई निष्कर्षको रूपमा प्रस्तुत गरिएको छ ।

शब्दकुन्जी : ध्वन्यार्थ, मनोविज्ञान, मानवीकरण, विम्ब, वैशिष्ट्य,

विषय परिचय

साइनो कवितासङ्ग्रह लिएर नेपाली साहित्यमा कृतिकारको रूपमा प्रवेश गरेका कवि विष्णु पादुकाको ʻविन्दुको वृत्तʼ कवितासङ्ग्रह दोस्रो पुस्तकाकार कृति हो । उक्त कृतिमा सामाजिक तथा प्राकृतिक विम्ब र प्रतीकको माध्यमबाट आजको समय र समाजको व्यञ्जनात्मक प्रस्तुति पाइन्छ । १०६ पृष्ठको बाह्य संरचना रहेको यस कृतिमा मुख्यतः ४४ वटा कविताहरू सङगृहित छन् । ‘विन्दुको वृत्त’ शीर्षकको कविताबाट यसको नामकरण गरिएको छ । यस कवितासङग्रहभित्रका प्रत्येक पङ्क्ति र अनुच्छेदमा मर्मस्पर्शी भावहरू अभिव्यक्त भएको पाइन्छ । पूर्वीय साहित्यशास्त्रले कविता प्रतिभा, व्युत्पत्ति र अभ्यासको उपज हो भनेर व्याख्या गरेजस्तै यस कृतिभित्रका सबै कविताहरू कल्पना ज्ञान र अनुभवले खारिएर निस्किएका अभिव्यक्तिहरू हुन् । प्रत्येक कविताहरू मुटुको ढुकढुकीमा पुगेर मन मस्तिष्क हल्लाउन सफल छन् । यस कृतिमा सङ्ग्रहित कविताहरूमा सामाजिक यथार्थलाई कतै आलोचनात्मक यथार्थवादका आँखाले त कतै समाजवादी यथार्थवादका कोणबाट समसामयिक समाजलाई प्रस्तुत गरिएको छ ।

अध्ययन विधि :

कवि विष्णु पादुकाको ʻविन्दुको वृत्तʼ कवितासङ्ग्रहको विधागत तत्त्वका आधारमा विश्लेषण गरिएको प्रस्तुत अध्ययनमा आवश्यक प्राथमिक सामग्रीका रूपमा विष्णु पादुकाको ‘विन्दुको वृत्त’ कवितासङ्ग्रहलाई चयन गरिएको छ भने द्वितीय स्रोतका सामग्रीअन्तर्गत अध्ययनको विषय र कविता विधासँग सम्बन्धित अध्ययन, अनुसन्धान, समीक्षा तथा पुस्तकहरूको प्रयोग गरिएको छ । यसमा गुणात्मक अनुसन्धान गरिएको छ । यस अध्ययनमा प्रस्तुत कृतिको विधागत तत्त्वका आधारमा व्याख्या विश्लेषण गरिएको छ ।

सैद्धान्तिक पर्याधार

यस अध्ययनमा सैद्धान्तिक पर्याधारको रूपमा विधा सिद्धान्तलाई लिइएको छ । यस अध्ययनको विषयको रूपमा कविता विधाको कृति रहेको छ । प्रस्तुत ‘विन्दुको वृत्त’ कवितासङ्ग्रहलाई विधागत तत्त्वका आधारमा समीक्षा गर्ने उद्देश्य राखी कविताको सैद्धान्तिक परिचय एवम् यसका विधागत तत्त्वहरूलाई  सैद्धान्तिक आधार मानेर यो अध्ययन गरिएको छ अथवा अर्को शब्दमा भन्नुपर्दा कविता के हो ? कविता हुनको लागि आवश्यक तत्त्वहरू के के हुन् र तिनीहरूको उपस्थिति कस्तो रहेको छ ? भनेर कविताको विधागत तत्त्वका आधारमा प्रस्तुत कविताको अध्ययन गरिने भएकाले यसको सैद्धान्तिक पर्यायधार कविताको सैद्धान्तिक पक्षको अध्ययन हो ।

छैठौँ शताब्दीका पूर्वीय आचार्य भामहका अनुसार शब्द र अर्थको सहभाव नै काव्य हो भने ग्रिसेली दार्शनिक अरस्तुका अनुसार, ʻभाषाका माध्यमबाट गरिने प्रकृतिको अनुकरणात्मक कला नै कविता हो ।’ त्यसैगरी वासुदेव त्रिपाठीका अनुसार, ‘कविता जीवन जगतका मूल्यवान् अनुभवको काल्पनिक, कलात्मक, बद्ध, वा मुक्त लयात्मक भाषिक सङ्कथन हो ।’ यसरी कविताका विभिन्न परिभाषाहरूलाई हेर्दा, कुनै पनि विषयवस्तुमा केन्द्रित कविको लयात्मक अभिव्यक्ति नै कविता हो । साहित्यका आख्यान, निबन्ध, नाटक आदि विधाहरू जस्तै कविता पनि विभिन्न तत्त्वहरूको योगबाट  बन्ने लयात्मक विशेष रचना हो । कविताको निर्माणमा  मुख्यतया १) शीर्षक, २) लय, ३) केन्द्रीय कथ्य र भाव,  ४) संरचना,  ५) कथन पद्धति, ६) भाषाशैली र  ७) विम्बालङ्कारले महत्त्वपूर्ण भूमिका खेल्छन् (नेपाली कविता काव्य, पृ. ६) जसलाई कविताको तत्त्वहरू भनिन्छ । कविताका तत्त्वहरूको चर्चा निम्नानुसार गरिन्छ–

शीर्षक

कविले गरेको कविताको नामकरण नै शीर्षक हो । शीर्षकबाट कविताको परिचय पाइन्छ । कुनै पनि कृतिको शीर्षकले त्यसको मुख्य भाव वा विचारलाई समेटेको हुन्छ । प्रा.डा. पारसमणि भण्डारीका अनुसार, ‘शीर्षक भनेको कुनै साहित्यिक कृतिको ’नाउँ’ वा ’नाम’ हो ।’ त्यस नामरूप शीर्षकले कविताको मुख्य भाव–विचार वा संरचना वा कवितामा अन्तर्निहित अन्य महत्त्वपूर्ण कुरासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्ध राखेको हुन्छ (कविता सिद्धान्त र नेपाली कविताको विकासक्रम , पृ.७) यस भनाइले शीर्षक र केन्द्रीय भावका बिच सङ्गति मिलेको हुनुपर्छ भन्ने कुरालाई जोड दिएको छ । यसरी विभिन्न भनाइहरूलाई मध्यनजर गर्दा शीर्षक अर्थपूर्ण र सूत्रात्मक हुनुपर्दछ ।

लय

कविताको महत्त्वपूर्ण तत्त्व हो लयविधान । लय भनेको शब्दहरूको उच्चारणका क्रममा उत्पन्न हुने आरोह अवरोह हो, अथवा लय भनेको साङ्गीतिक स्वर हो । कविता विधालाई अन्य विधाहरू भन्दा फरक छुट्याउने तत्त्व नै लयविधान हो । लयलाई कविताको विशिष्ट पहिचान पनि मानिन्छ । कवितामा बद्ध र मुक्त गरी दुई प्रकृतिका लय हुने गर्दछन् । बद्ध लय–अन्तर्गत वार्णिक र मात्रिक पर्दछन् भने मुक्त लय–अन्तर्गत गद्य कविताहरू पर्दछन् ।

केन्द्रीय कथ्य भाव  

कविले कविताको माध्यमबाट व्यक्त गर्न खोजेको मुख्य भाव, विचार वा विषय नै केन्द्रीय कथ्य र भाव हो । केन्द्रीय कथ्य र भावलाई कतिपय समालोचकहरूले भाव वा विचार भनेर पनि चिनाएका छन् । कवितामा समाविष्ट विषयवस्तुको सार नै मूल भाव वा विचार हो (ढुङ्गेल र अन्य, २०७६ ,पृ. ९) । यसबाट पनि कवितामा कथन गरिएको विषयवस्तुको सार तत्त्व नै कविताको भाव वा विचार हो भन्ने बुझिन्छ ।

संरचना

कविताको संरचना भन्नाले  त्यसको बनोट र बुनोटलाई बुझिन्छ । कविताको बनोट र बुनोटका माध्यमबाट व्यक्त हुन आउने अर्थगत स्वरूपसँग संरचना सम्बन्धित हुने गर्दछ । बनोट कविताको बाह्य संरचनासँग सम्बन्धित हुन्छ । बाह्य संरचनाले कविताको हरफ÷पङ्क्ति, पाठ, चरण अनुच्छेद, परिच्छेद, सर्ग, खण्ड आदिलाई बुझाउँछ । बुनोट कविताको आन्तरिक संरचनासँग सम्बन्धित हुन्छ । आन्तरिक संरचनाले केन्द्रीय कथ्य, सन्दर्भ सामग्री र भाव विचारको उठान, विकास र रागात्मक परिणतिलाई बुझाउँछ (ऐच्छिक नेपाली, कविता का तत्त्वहरू,पृ. ७१) ।

कथन पद्धति

कथन र पद्धतिबाट बनेको कथन पद्धति शब्दमा कथनले भनाइ वा विचारलाई बुझाउँछ भने पद्धतिले तरिकालाई सङ्केत गर्दछ । यस अर्थमा कवितामा कविले आफ्ना विचारहरूलाई पाठक समक्ष पुर्याउन अपनाउने तरिका विशेष नै कथन पद्धति हो । कवितामा कथन पद्धति प्रथमपुरुषात्म कथन पद्धति र तृतीय पुरुषात्मक कथन पद्धति गरी मुलतः दुई प्रकरका हुन्छन् । प्रथम पुरुषात्मक कथन पद्धतिलाई कवि प्रढौक्ति उक्ति ढाँचा र तृतीय पुरुषात्म कथन पद्धतिलाई कवि निबद्ध प्रढौक्ति उक्ति ढाँचा भन्ने गरिन्छ ।

भाषाशैली

विचार विनिमयको माध्यमलाई भाषा भनिन्छ । भाषा लिखित र मौखिक गरी दुई प्रकारका हुने गर्दछन् । यही भाषालाई साहित्यमा कलात्मक ढङ्गले प्रस्तुतीकरण गर्ने तरिका विशेष नै शैली हो । साहित्यिक कृतिभित्र प्रयुक्त भाषालाई सबल बनाउन तत्सम, तद्भव, आगन्तुक जस्ता शब्द स्रोतहरूको यथोचित प्रयोग गरिन्छ भने नाम सर्वनाम विशेषण, निपात जस्ता पद वर्गहरूले शब्दभण्डारलाई थप मजबुत बनाउँदै भाषालाई सघाएका हुन्छन् । भाषा जब सरल ढङ्गले अभिव्यक्त हुन्छ तब त्यो केवल कुराकानी हुने गर्दछ यद्यपि त्यही भाषाले शैलीको सहारा लिएर मिठास भर्छ अनि मात्र साहित्यको सिर्जना हुन्छ ।

विम्बालङ्कार

कविताको संरचनात्मक तत्त्व अन्तर्गत विम्बालङ्कार पनि पर्दछ । सामान्यतया विम्ब र अलङ्कारको सिङ्गो स्वरूप विम्बालङ्कार हो । कुनै पनि साहित्य विशेषमा चित्रित विषयवस्तुले पाठकका मस्तिष्कमा जे जस्तो आकृति निर्माण गर्छ त्यस आकृति विशेषलाई नै विम्ब भनिन्छ । अलङ्कारको शाब्दिक अर्थ गहना हो । साहित्यका क्षेत्रमा अभिव्यक्त हुने कथनहरूलाई  जसले सुन्दर बनाउँछ अथवा सजाउछ त्यसलाई नै अलङ्कार भनिन्छ । साहित्यमा शब्दालङ्कार र अर्थालङ्कार गरी दुई किसिमका अलङ्कार हुने गर्दछन् । अलङ्कारहरूले नै साहित्यलाई सुन्दर पठनीय र ओजपूर्ण बनाउने हुँदा साहित्यमा कलात्मकता सृजना गर्नका लागि अलङ्कारको महत्त्व सर्वोपरि छ ।

विन्दुको वृत्त कवितासङ्ग्रहको त्त्वगत विश्लेषण

विन्दुको वृत्त कवितासङ्ग्रहभित्रका कविताहरूको कविता सिद्धान्तका आधारमा विश्लेषण गर्ने काम यस अध्ययनमा गरिन्छ । यसका लागि कविताका तत्त्वहरूलाई मूल आधार बनाइएको छ । कविता तत्त्वका आधारमा यी कविताहरूको निम्नानुसार विश्लेषण गरिन्छ–

संरचना

यस कवितासङ्ग्रहको संरचना पक्षको अध्ययन गर्दा यो जम्मा १०१ पृष्ठको बाह्य संरचना भएको मध्यम आकारको कवितासङ्ग्रह हो । गर्भ, दोसाँध, सिउँडी, निरुत्तर म, सुख, यार्चा, न्यूटन, यादहरूको गन्तव्य जस्ता केही कविताहरूले आधा पृष्ठको छोटो आयाममा संरचित छन् भने अगुवा, बौलाही, कारण, समय–सियो र धागो र धन्यवाद जस्ता कविताहरू एक पृष्ठको आयाममा संरचित छन् । यस सङ्ग्रहभित्रका प्राय सबै कविताहरू दुई पृष्ठदेखि साढे तीन पृष्ठसम्मको आयाममा संरचित छन् । यसरी संरचनाको आधारमा विन्दुको वृत्तभित्रका कविताहरूको आयाम उपयुक्त ठहर्छ । वृत्तदेखि बाहिर शीर्षकको कवितामा विभिन्न उपशीर्षक दिएर धेरै कविताहरूलाई समेटेकोले उक्त कविता र यसका अलावा कतै म पो गलत छु कि ? कविताले पाँच पृष्ठसम्मको लामो आयाम लिएको छ ।

केन्द्रीय कथ्य वा भाव

यस कविता संङग्रहमा सङ्गृहित पहिलो कविता ʻआमाʼ हो । यसमा एउटी नारीले आमा, छोरी, बुहारी, सासू सबै बन्नु पर्ने सन्तानको लागि बाको भन्दा आमाको भूमिका बढी हुने महिलाहरू दुनियाले जे चाहन्छ त्यहि भइदिने समाजले आफ्नो चाहनाअनुसार रङ्ग्याउने र उजाड्ने जस्ता मार्मिक प्रसङ्गहरू उल्लेख गर्दै त्यस्तो सामाजिक मनोवृत्तिप्रति कविले चिन्ता व्यक्त गरेको पाइन्छ । आमालाई ममताको खानीको रूपमा चित्रण गरिएको छ ।

मातृत्वको बोझले नथाक्ने छाती तिम्रो

                               आमा कविता : अनुच्छेद

नारीलाई नेपाली समाजले विभिन्न बहानामा समयसमयमा आफ्नै अनुसार व्याख्या र उपयोग गर्ने जस्ता सामाजिक यथार्थको जीवन्त चित्रण पनि गरिएको छ ।

आमा तिमिलाई लाजको भारि बोकाएर हिँडाएको डरको उकालो

कहिले देवी कहिले बोक्सी बनाए

सधवा बनाएर भाग्य बढाए विधवा बनाएर नङ्ग्याए

तिम्रो जिन्दगीमा मौसमी खेती लगाए

(आमा कविताको अनुच्छद ।)

ʻढुङ्गाको मुटुʼ कवितामा जातीय विभेदको चित्रण गर्दै त्यो विभेदपूर्ण अवस्थाबाट दुःखी भएको भाव अभिव्यक्त छ ।

कैयौं चोट सहें

मन्दिरका केन्द्रमा पुगें

छोपिएँ अक्षता फूलहरूले

यद्यपि मलाई बनाउनेहरूदेखि

स्पर्शहीन नै रहें

फेरि दुखें

(ढुङ्गाको मुटु कविताको अनुच्छेद ११)

ʻतिमी कलमʼ भन्ने कवितामा कविले आफ्नी प्रेमिकालाई कलम जस्तै भइदिएको भए जीवनका सबै हिसाबकिताब मिलाउने, सम्बन्ध सूत्र जोड्ने र सुन्दर कविता जन्माउने थिएँ भन्ने आशा गरेको तर प्रेमिका भने कविले सोचेजस्ती हुन नसकेको अभिधार्थ प्रस्तुत भए पनि कविको लागि कवित्व प्रतिभा, राजनीतिज्ञको लागि नेतृत्व क्षमता, श्रीमान्को लागि श्रीमती जस्ता ध्वन्यार्थहरू कलमको प्रतीकको रूपमा प्रयोग भएको बुझिन्छ । यसमा कविले शालीन, भद्र साथ र समझदारीमा अगाडि बढ्ने र कविको मनमा बस्न सक्ने प्रेमिका नभएर बढी उग्र र असन्तुलित तरिकाले अगाडि आएर उनले मनलाई नै तहस नहस पारेर गएको वियोगान्त अवस्थाको अभिव्यक्ति छ ।

यति धेरै असामाजिक लाग्ने नै थिइनौ

तिमी नैतिकता सामाजिक मर्यादाको

पर्खाल भत्काएर मनको संघारमा कोरिएको

देखिने लक्ष्मण रेखा पार गरी

घरभित्रै आएर भाँडभैलो पार्ने थिइनौ

तिमी कलम कविताको अनुच्छेद

पलपलको यादमा नशा या लत भएर

यो कठोर शुष्क मन

छियाछिया पार्ने थिइनौ

तर तिमी कलम भएर आयौ

अक्षर अङ्क भएर आयौ

लय सूत्र या कविता भएर आयौ

खै खै ! कसरी आयौ ? आउन आयौ

यो मनको बगैचा तहस नहस बनाइ गयौ

(तिमी कलम कविताको अन्तिम अनुच्छेद)

ʻबाʼ कवितामा बाले छोराछोरीको लागि गर्ने दुःख कष्टको मार्मिक चित्रण गरिएको छ ।

रहरहरू खल्तीमा

पैँसाभन्दा सुरक्षित हुने रहेछन्

भोक खाएर पनि छाक टर्ने रहेछ

निद्रा बेचेर सपना किन्नु पर्ने रहेछ

अब पो बुझ्दैछु बा

खानु खुवाउनुको फरक

रुनु रुवाउनुको फरक

सुन्दा सामान्यतया उस्तै लाग्ने

सुत्नु निदाउनुमा फरक हुने रहेछ

(बा कविताको अनुच्छेद २)

ʻश्वेत क्रान्तिʼ कवितामा सशस्त्र युद्ध र रक्त क्रान्तिको विरोध गरेर अहिँसावादी शान्तिपूर्ण क्रान्तिको आह्वान गर्नुका साथै सशस्त्र युद्धले निम्त्याएको हत्या हिँसाबाट असमयमै नारीहरूको सिउँदो पुछिएको देख्दा कवि मर्माहित भएको अभिव्यक्त दिँदै गान्धीवादी विचारको वकालत गरिएको छ ।

हेलिन सक्दिनँ रातो बाढीमा

तिम्रो परिवर्तन क्रान्तिको

हुँदै होइन विरोधी

अविर, आगो अतिक्रमणमा

रातो देखेर उम्ले पनि

 तिम्रो रगत,उसको रगत अनि मेरो रगत

उस्तै दुख्छ मलाई

(श्वेत क्रान्ति कविताको अनुच्छेद ४)

असमयमै धोइएको सिउँदोको रातो सिन्दुर देखेर

बेहास हुँदा पुरै रगत सुकेर

कालो भएपछि होसमा आएथें

(श्वेत क्रान्ति कविताको अनुच्छेद ३)

ʻछोरीʼ कवितामा लैङ्गिक विभेद र आजको समयमा छोरीहरूको जिन्दगी सुरक्षित हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै छोरीलाई आफ्नो चेतना डग्मगाउन नदिनु, अन्याय र अत्याचारको विरोध गर्नु, रुन्चे र कायर होइन आफ्नो अधिकार र महिला मुक्तिको लागि क्रान्ति गर्नु भन्ने आग्रह र अनुरोध  गर्दै छोरीहरूको असुरक्षित भविष्यप्रति चिन्ताको भाव व्यक्त गरिएको छ ।

कम्तिमा तिमी केवल सजीव (?) ओछ्यान नभइदिनु

आफ्ना सपनालाई पराजित हुन नदिनु (?)

कसैको बगैचामा फूल्नु पर्दैमा बोकी ल्याएको

विचारको बिउ कुहिन नदिनु (?)

मर्न नदिनु (?)

सिसाको महल बोकी हिँडेकी छ्यौ

ढुङ्गा बर्साउन खप्पिस आधा आकाश

ʻसाथीʼ कवितामा भावनात्मक प्रेमको वकालत गरिएको छ भने शारीरिक प्रेमलाई तुच्छ ठानिएको छ ।

त्वचा स्पर्शको लालचदेखि पर

नदेखिने नभेटिने एउटा खुसीमा पागल हुन कोही

सक्छ सायद उही साथी हुनुपर्छ

(साथी कविताको अनुच्छेद ४)

ʻस्मार्ट प्रेम ʼकवितामा पैसालाई सर्वेसर्वा ठान्ने र पैँसालाई प्रेम गर्ने स्वार्थी प्रवृति र समय समयमा प्रेमी प्रेमिका परिवर्तन गरिरहने आधुनिक  युवायुवतीको अस्थिर मानसिकताको चित्रण गरिएको छ ।

मानसिकता इन्सटल अइन्सटल

भइरहदो तरङ्ग एसेप्ट गर्न गाह्रो भएपछि

इमर्जेन्सी मुड रिस्टार्ट स्विच अफका

अप्सन रोज्न विवश मन

(स्मार्ट प्रेम कविताको अनुच्छेद ३)

ʻपाठʼ कवितामा कविले जीवनबाट धेरै कुरा सिकेको अभिव्यक्ति छ । जसले आफ्नो अपमान दिन्छ उसको अगाडि मृत्युको खबर पनि नपुगोस् भन्ने चाहना कविको रहेको छ । अर्काको बखान कोही बोल्दैन । सबैले आफ्नै मात्र बखान गर्दछ । आफूले आफूलाई नै चिन्न सक्दैन । यही आफैंलाई नचिन्नु नै जिन्दगी हो भन्ने भाव व्यक्त गरिएको छ ।

ʻअगुवाʼ कवितामा नेताहरूको स्वार्थी र भ्रष्ट प्रवृति चित्रण गरिएको छ  । जनताहरूको तन मनसँग खेल्दै कृतघ्न भएर सुटुक्क भाग्ने गरेको र फेरिफेरि पनि रूपरङ्ग फेरेर आउने गरेको थाह पाएर आऊ अझै स्वागत गरौं भन्दै चिनेर व्यवहार गर्न नसक्ने जनताहरूप्रति ब्यङ्ग्य गरेको पाइन्छ ।

ʻगर्भʼ कवितामा आमाको गर्भ र जन्मेको देशलाई एउटै रूपमा हेरिएको छ ।

ʻऊʼ कवितामा मानिसको मनमा हुने अन्तद्र्धन्द्धको चित्रण छ ।

ʻदोसाँधʼ कवितामा मान्छेको जीवनमा उतारचढाव आइरहँदा बाको हात समाएर खोलो तर्नुपर्ने बेला बालाई बगाइयो । त्यसपछि म पात्रलाई एक्लै भएपनि तैरिन थियो । समयको भेलले डुबाइदियो तर जब म डुब्न चाहन्थे फेरि बा बनाएर पानी माथि उतारिदियो भनेर मान्छेले चाहेको सरल रेखामा जिन्दगी चल्दैन । जिन्दगीलाई समयले डुबाउने, उतार्ने, तार्ने जस्ता खेल खेलिरहन्छ भन्ने भाव अभिव्यञ्जित भएको छ ।

ʻव्यवस्थाʼ कवितामा गणतन्त्र मनपरितन्त्रमा परिवर्तन भएपछि राजतन्त्रको पुनस्र्थापना गर्ने प्रयास हुनेछ भन्ने सङ्केत गरिएको छ ।

मतपत्रमा मनपरी (गर्) को लालमोहर लगाउँदाको

सङ्घीयता यताउता हल्लाउँदै

फेरि अर्को प्रयोगको

प्रयास हुनेछ                                     

(अनुच्छेद ३)

ʻमृत्युपत्रʼ कवितामा जिन्दगीप्रतिको विसङ्गतिबोध गर्दै आत्महत्या गर्न तम्सिएको पात्रमा आफू जन्मेको दिन र अरू मर्दा मान्छेहरू रोएको सम्झेर बल्ल आफ्नो अस्तित्वबोध भएको छ । आफू छु र संसार छ अथवा म आफैं संसार हुँ भन्ने भान भएको छ र उसमा जिजीविषा शक्ति जागृत भएको छ । कसैको मृत्युले कसैलाई दुःखी बनाउँदैन । आत्महत्या गर्नु भनेको अर्कालाई मनोरञ्जन दिनु हो भन्ने जस्तो मृत्युप्रतिको दार्शनिक अभिव्यक्ति पाइन्छ ।

ʻशङ्काको देउरालीʼ कवितामा ढुङ्गा र फूलपाति चढाउने सामाजिक विम्बको रूपमा प्रयोग गरी शङ्का बढ्दै गएमा विश्वासको धरातल मेटिदै जान सक्ने सङ्केत गरिएको छ । यथार्थ खोज्ने र खोतल्ने प्रयास गर्ने हो भने ढिलै भए पनि अपव्याख्याको पर्दा खुल्ने छ र शङ्काका बोटहरू मर्ने छन् भन्ने आशावादी चिन्तन मुखरित भएको छ ।

ʻनिद्रायुद्धʼ कवितामा थिचोमिचो, ज्यादति र असन्तुष्टि जस्ता स्वर निकालेर जति कुर्लिए पनि सुन्यो नसुन्यो गरी हिँडिरहने प्रवृति भनेर अभिधार्थमा सूर्यलाई भनेको देखिए पनि ध्वन्यार्थमा ज्यादति गर्ने पुरुषलाई स्त्रीले, कुनै तानाशाही शासकलाई शासित जनताले वा शोषकलाई शोषितले प्रश्न गरे पनि कहिल्यै कुनै सुनुवाई नहुने हैकमवादी प्रवृतिप्रति इङ्गित गरिएको छ ।

ʻसिउँडीʼ कवितामा तितो सत्य बोल्ने मान्छेको रूपमा सिउँडीलाई मानवीकरण गरिएको छ । तितो बोल्ने मान्छे कसैको प्रिय हुन सक्दैन भन्ने तितो यथार्थ प्रस्तुत गरिएको छ ।

ʻनिरुत्तरʼ कवितामा छोरीका बाल जिज्ञाशाहरू सुन्दा सरल भए पनि उत्तर दिन नसकेर निरुत्तर भएको भाव अभिब्यक्त गरिएको छ ।

ʻबौलाहीʼ कवितामा कविले नारीको सौन्दर्यलाई समाजले उपभोग गरेर मार्न चाहन्छ । त्यसरी नै धेरैले प्राण त्याग गरिसकेका हुन्छन् तर उ राम्री पात्रले सहनशील बनेर दुखाइ सहेर बसी तर हिजो सुन्दर देखिन्थी भने आज बौलाही भएर बाँचेकी छे भन्ने भाव अभिव्यक्त छ । समाजका काला क्रूर आँखाले सुन्दर देख्न नसक्ने र आफ्नो क्रुरता प्रदर्शन गर्ने पुरुषहरूले गर्दा सुन्दर नारीहरूले प्रायः मृत्युलाई अँगाल्न पुग्ने र बाँचे पनि बौलाही भएर बाँच्नु पर्ने दयनीय अवस्थाको चित्रण गरिएको छ ।

ʻसुखʼ कवितामा संसारिक क्षणिकताको भाव अभिव्यञ्जित छ ।

ʻकारणʼ कवितामा दुःख देखेर डराउन हुन्न भन्ने आग्रह छ

ʻविश्वासको बोटʼ कवितामा राजनीतिक विषयबस्तुअन्तर्गत सत्तालोलुपताले राजनीतिक सिद्धान्त समेत सखाप पारेको, थुप्रै चोट, कष्ट सहेर हुर्काएको विश्वासको बोटमा अविश्वास पलाएको जस्ता भाव व्यक्त गरिएको छ ।

ʻविन्दुको वृत्तʼ यस सङ्ग्रहको शीर्ष कविता हो । यसमा पुरुषले नारीलाई भोगको रूपमा उपभोग गर्ने, आनन्द लिने र बिर्सिने स्वार्थी प्रवृतिको चित्रण गर्दै पुरुषको कुकर्मबाट पनि नारीले सुन्दर सृजना गर्न सकेको भाव अभिव्यक्त गरिएको छ । विशेष गरी यो कविता अस्तित्ववादी चिन्तनले ओतप्रोत छ । पुरुषहरूले नारीहरूलाई उपभोग गर्ने र फ्याक्ने प्रवृतिको भाव अभिव्यक्त छ भने नारीहरूको महान मातृत्वको जीवन्त प्रस्तुति छ ।

हिजो जोत्न हतार गर्ने हलीहरू

आज गुमनाम भएका छन्

(विन्दुको वृत्त कविताको अनुच्छेद १३)

फेरि बिउँ उमार्ने कल्पनादेखि पर

उम्रेको बिरुवाको रक्षामा तल्लिन

(विन्दको वृत्त कविताको अनुच्छेद १४)

भ्रष्ट पुरुषहरूको कृतघ्न र अवसरवादी मौसमी प्रवृतिको चित्रणः

हिजो र्याल चुहाउने जिब्रोहरू

आज उसैमाथि थुक्छन्

किनकि मान्छेको

असली चरित्र बिर्सनु पनि हो

वृत्तदेखि बाहिर कवितामा कर्णाली अञ्चलको दुःख पीडाहरूको चित्रण छ । शिक्षा, स्वास्थ्यको अभाव छ । अनुदानको दुरुपयोग भइरहेको अवस्थाप्रति कवि आक्रोशित भएका छन् । राज्यको जे जस्तो पुनर्संरचना भएपनि, जे जस्ता व्यवस्था फेरिए पनि कर्णालीको दुःख जस्ताको तस्तै भएको चित्रण छ ।

ʻआँशु महोत्सवʼ कवितामा शरणार्थी  भएर विदेश पसेर बैंस उमेर गएपछि स्वदेश फर्किएर दुःखी भएको, अवसरवादी कार्यकर्ताले टिकट पाएर पनि हारेर दुःखी भएका, सहर पसेर चरम महत्वाकाँक्षी बन्दै नैतिकता भुलेर छिट्टै धनी बनेर पनि सुखी हुन नसकेका, बैंकमा घरबारी बन्धक राखी विदेश गएका सन्तानका बाबा आमा ती सन्तानको बोली सुन्न नपाएर दुःखी भएका, घरबार बिग्रेका, माया गरेर माया पाउन नसकेका आदि सबै सबैको दुःखको चित्रण गर्दै यो संसारका सबै दुःखीहरूसँगै बसेर आँशु बहाऊँ भन्ने आह्वान गरिएको छ । संसारमा कोही मानिस पनि आफ्नो कर्मबाट सन्तुष्ट छैन । मान्छेको यहीँ असन्तुष्ट प्रवृत्ति नै दुःखको कारण हो भन्ने कुरा देखाउने यस कविताको अभिप्राय हो ।

ʻमौनताʼ कवितामा मौनतालाई बुझ्नको लागि बोलेरभन्दा मौन भएर हेर्न सक्नुपर्छ, त्यहाँ सारा संसार भेटिन्छ भन्दै मौनताको दार्शनिक व्याख्या गरिएको छ ।

ʻयार्चार्ʼ कवितामा कोही वातावरणविरुद्ध बनेर यार्चाको बखान गरी ठुलो व्यापार भयो तर त्यस यार्चाबाट के कति रूपान्तरण भयो आजसम्म कसैले सोधेको छैन भन्ने भाव छ ।

शक्तिहीन कविता, कवि र कविता, कतै म पो गलत छु कि ?, कृत्रिम कविता आदि कवितामा आजका कविका कविताहरूमा पाइने फुस्रो सहानुभुति, संवेदनहीनता, कृत्रिम भजन र स्तुतिजस्ता विशेषता पाइने गरेको भाव छ । साथै गाउँको दुःख पीडा पोखिएको कवितालाई सहरियाहरूले राष्ट्रिय कविता नमानेकोमा दुःखी हँुदै कतै त्यो भूगोल, ती मान्छे र ती दुःखहरू नै राष्ट्रिय कुरा होइनन् कि ? भनेर व्यङ्ग्यात्मक प्रस्तुति गरिएको छ ।

आगो कवितामा आगोलाई अन्याय, अत्याचार, रोग, भोक र आवश्यकताको प्रतीकका रूपमा चित्रण गरिएको छ भने आगोसँग आउँदै जाँदै कवितामा अन्याय, अत्याचार, शाषण र पीडाको विरुद्ध गरिने क्रान्तिको प्रतीकको रूपमा आगो शब्दको प्रयोग गरिएको छ । यस कवितामा यदि क्रान्तिको राँको बल्यो भने शोषण, उत्पीडन र अन्याय अत्याचारलाई समाप्त नबनाएर निभ्ने छैन भन्ने खालको विद्रोही स्वर कवितामा अभिव्यक्त छ  ।

म तपाईंको फ्यान हुन चाहन्छु कवितामा फ्यान हुनको लागि कुनै पनि जात, लिङ्ग, धर्म र राजनीतिलाई छुट्टै टाढा राखेर विश्वब्यापी र प्राकृतिक लिङ्ग लिएर थोरै परम्परागत सोच र बढी विद्रोही भएर आउनुस भन्ने आह्वान गर्दै विभेदरहित समतामूलक समाज निर्माणको आग्रह यस कवितामा पाइन्छ ।

इलाबोरेटेड फर्म चिरेर आउनुस्

जात, लिङ्ग, धर्म राजनीति

उतै खोपामा राख्नुस्

प्रेमको मोडर्न स्याम्पल

युनिभर्सल न्याचुरल सेक्स लिएर

तपाईं अलिकति अराजक नजाती

विद्रोही भएको हेर्न चाहन्छु

(म तपाईंको फ्यान हुन चाहन्छु कविताको अनुच्छेद ५)

न्युटन कवितामा आज मान्छेले मानवता बिर्सिरहेको छ, तल तल गिरेर निच कर्म गरिरहेको छ, यसको कारण के हो भनेर पत्ता लगाउने अर्को न्युटन जन्मियोस् भन्दै मान्छेलाई मान्छे बनाउने, माथि उठाउने वा गिर्नबाट रोक्ने उपाय पत्ता लगाउन अर्को वैज्ञानिक जन्मियोस् भन्ने कविको चाहना रहेको छ ।

एउटा अर्को न्युटन जन्मियोस्

ता कि

मान्छे किन यति धेरै गिर्दै

पत्ता लागोस्

(न्युटन कविताको अनुच्छे २)

हितको हिमाल कवितामा हिमाली क्षेत्र यार्सागुम्बा जस्ता बहुमुल्य जडिबुटी लगायत प्राकृतिक स्रोत सम्पन्न भएपनि त्यहाँको अशिक्षा, गरिवी र बेरोजगारी जस्ताको तस्तै छ । विकास आउने र जाने मात्रै भएको छ भन्दै यस कवितामा कविले हिमाली क्षेत्रमा हुने बालविवाह, बालविवाहले आमाको स्वास्थ्यमा पार्ने प्रभाव, विद्यालय जान नपाउने, शिक्षकले विद्यालयमा गयल भएको विद्यार्थीलाई बुझ्ने प्रयास नगरेरै जनावर जस्तै पिटेको दयनीय अवस्थाप्रति कवि चिन्तित भएको भाव व्यक्त गरिएको छ ।

अझै उसले बुझ्न पाएको छैन कि

उसलाई किन पिट्दैछ माष्टर ?

आफूले पालेका पाठालाई पनि

यसरी पिट्दैन जसरी पिटिन्छ 

(हितको हिमाल कविताको अनुच्छेद ५)

ʻपुलʼ कवितामा परदेसिनुको बाध्यता, परदेशी र उसको परिवारका पीडा, दुःख र अभावहरूको विम्बात्मक प्रस्तुति पाइन्छ । पसिनाको फल स्वरूप पैसाका जति बिडा आए पनि समयले दिएका दुःख र बिछोडको पीडा नमेटिने रहेछ । एक्लो जीवन भोगाई निरस हुने रहेछ । एक्लै यात्रा गर्नु परेपछि मात्र थाह हुन्छ जीवन जोड्ने त पुल नै रहेछ भन्ने जीवन सम्बन्धी दार्शनिक अभिव्यक्ति दिँदै आपसी सम्बन्धको प्रतीकको रूपमा पुललाई प्रयोग गरिएको छ ।

ʻकेही वृत्तहरूʼ कविता प्रयोगशील कविता हो । विभिन्न भावहरूलाई विभिन्न उप शीर्षक दिएर छोटो र संक्षिप्त प्रस्तुति दिइएको छ । भ्रम भन्ने उप शीर्षकको कवितामा फूल बोकेर मन्दिर जानेलाई मन्दिर हैन, थुप्रै फूलहरूलाई निमोठेर चिहानसम्म गएको हो भनेर व्यङ्ग्य गरिएको छ । त्यस्तै खुल्ला जाहेरी, मलाई थाह छ, नुन, अपराध, स्वतन्त्रता, नियत, आग्रह, समर यात्रा र बुद्ध उपशीर्षकका कवितामा पुरुषको नारीप्रतिको व्यवहार, नारी शोषणको तीतो यथार्थ, अवसरको सदुपयोग गर्न सक्नु पर्ने आग्रह र समाजको कृतघ्न ब्यवहारको विम्बात्मक प्रस्तुति पाइन्छ ।

समय, सियो र धागो कवितामा समयसँगै सबै कुरा खिइएर जान्छन् भन्ने भावाभिव्यक्ति पाइन्छ  र धन्यवाद कवितामा समयलाई यहाँसम्म सकुशल, सबैलाई चित्त बुझ्ने गरी ल्याइपुर्याएकोमा आभार व्यक्त गरिएको अभिधार्य बुझिन्छ भने ध्वन्यार्थमा कवि प्रतिभालाई पनि धन्यवाद भनेको बुझिन्छ ।

भाषा शैली 

यस कृतिभित्रका सम्पूर्ण कविताहरू गद्य लयको शैलीमा लेखिएको छ । यस कवितासङ्ग्रहभित्रका कवितामा संवादात्मक, एकालापीय तथा आत्मालापीय शैली अङ्गालिएको छ । यी कवितामा प्रयोग गरिएको भाषा सरल, सरस र स्वाभाविक देखिन्छ । यी कवितामा तत्सम, तद्भव र आगन्तुक शब्दको प्रयोग भएको पाइन्छ । यी कवितामा प्रयोग भएका अनुकरणात्मक शब्द तथा पारिभाषिक शब्दले कवितालाई आकर्षक बनाएको देखिन्छ । यस कवितासङ्ग्रहभित्रका कवितामा प्रफुल्ल, जल, आहुती, नयन, रवि, आश्रम, अश्रुदान, विजाङ्कुरण, सन्निध्यता, धर्ती, स्त्री, सत्यानास, पतन, पुस्तक, इहलीला, सुकिला, सहस्र, द्रष्टा, श्रोता, स्तुति, प्रार्थना आदि तत्सम शब्दको प्रयोग भएको पाइन्छ । यसै गरी यी कवितामा फ्यान, म्याग्नाटिक, इलेक्टिफाई, रिफ्रेस, यार, मोडर्न, स्याम्पल, युनिभर्सल, न्युटन, न्याचुरल, सेक्स, ल्याकत, सवार, मिसिल, फगत, गुमनाम, याद, जागिर, लकेट, फकिर, फुर्सत, दुनियाँ, पुलिन्दा, हरक, धरौटी आदि आगन्तुक शब्दको प्रयोग भएको भेटिन्छ । शब्दगत रूपमा मात्रै आगन्तुक शब्दको प्रयोग नभएर कहीँ कहीँ वाक्यगत रूपमा पनि आगन्तुक भाषाको प्रयोग गरिएको छ । जस्तै : गिभ मि समथिङ रिफ्रेश यार, डोन्ट मेक मि मोनोटोनस आदि । यसै गरी यस कवितासङ्ग्रहभित्रका कवितालाई भुतभुते, तुर्लुङ्ग, जिङ्ग्रिङ्ग, भुर्र, बुर्लुक्क, मुसुक्क, लुसुक्क, छियाछिया, तहसनहस, गज्याँङ्गगुजुङ्ग, हर्लक्क, टुलुटुलु, असरल्ल, झसङ्ग, ठसक्क आदि अनुकरणात्मक शब्दले आकर्षक बनाएको पाइन्छ । यी कवितामा स्थानीय भाषिकाका खोपा, अँगार, खरानी, लप्का, सगर, नछिमलिने, कटेरो, कल्बिउँ, ओसेप, कुर्लियो, सुर्केनी, लिड्को, डोली, मज्जा, गाँठो, मुढाको, भाँडभैलो, कोप्चेरो, झुत्रोझाम्रो आदि शब्दको पनि प्रयोग भएको देखिन्छ । यसरी नै ऐलानी, पर्ती, चाहार, मोही, श्रेस्ता आदि पारिभाषिक शब्दले कवितालाई सौन्दर्यपूर्ण बनाउने काम गरेको भेटिन्छ ।

कथन पद्धति 

यस कवितासङ्ग्रहका कवितमा प्रथम पुरुष दृष्टिविन्दु र तृतीय पुरुष दृष्टिविन्दु कथन पद्धतिको प्रयोग गरिएको पाइन्छ ।आमा, ढुङ्गाको मुटु, तिमी कलम, बा, श्वेत क्रान्ति, छोरीसँग, मेरो ईश्वर, दोसाँध, मृत्युपत्र, परिचय पत्र, शङ्काको देउराली प्रथम पुरुष दृष्टि विन्दुमा छन् भने निद्रा युद्ध, सिउडी, निरुत्तर म, विश्वासको बोट, आँशु महोत्सव, साथी, स्मार्ट प्रेम, अगुवा, ऊ, व्यवस्था, बौलाही, सुख, बिन्दुको वृत्त, वृत्तक बाहिरदेखि, मौनता आदि कविताहरू तृतीय पुरुष दृष्टिबिन्दुमा छन् ।

विम्ब, प्रतीक अलङ्कार

यस कवितासङ्ग्रहका कवितामा ब्वाँसो (पृष्ठ १५), सिसाको महल (पृ. १७), आँशुको समुन्द्र (पृ. १७), जागिरको जुवा, जिम्मेवारीको लकेट (पृ. ३७), एक्लो र चिसो उत्तरार्ध साँचेका – एकल जीवन बिताइरहेका वृद्धहरूको प्रतीक, भोकको चट्याङ, रोबोटीय मुस्कान– बनावटी खुशी (पृ. ७०) जस्ता विम्ब र प्रतीकको प्रयोगले कवितालाई भावात्मक बनाएको पाइन्छ ।

विम्ब र प्रतीकका साथै यी कवितामा अलङ्कारहरूको पनि प्रयोग भएको भेटिन्छ । उपमा, रूपक, वृत्त्य, छेका र अत्यानुप्रास अलङ्कारको प्रयोग गरिएका कविताका अंशहरू यसप्रकार छन्–

आकास झैँ फैलिएर

हावा फुस्केको बेलुन झैँ खुम्चिएको छु

                             (उपमा अलङ्कार, पृ. ८४)

 

दुखेको उसको दुखाइ डरलाग्दो थियो

                             (वृत्यानुप्रास अलङ्कार, पृ. ४६)

 

आँखाका काँडाले सबै च्यातिएपछि

                             (छेकानुप्रास अलङ्कार, पृ ४६)

 

सालनालसँग जोडिएको ठुलो बासस्थान हो गर्भ !

मेरो आमाको पेट होस् वा खसेको देश !

                            (रूपक अलङ्कार, गर्भ कविता, पृ. २७)

 

भुलिदेउ मेरा कुरा

पीडामय भाव अधुरा

                     (अन्त्यानुप्रास अलङ्कार)

 

यस सङ्ग्रहमा सङ्ग्रहित कविताहरूमा तत्सम, तद्भव, आगन्तुक, अनुकरणात्मक, झर्रा नेपाली र प्राविधिक तथा पारिभाषिक शब्दहरूले कवितालाई आकर्षक, मनमोहक, हृदयस्पर्शी र सौन्दर्यपूर्ण बनाएको पाइन्छ ।

निष्कर्ष

यस कवितासङ्ग्रहमा आजको समाज के कसरी किन कुन गतिमा अगाडि बढिरहेको छ ? भन्ने सामाजिक यथार्थलाई प्रस्तुत गर्नुको साथै यो समाजको मनोविज्ञान छर्लङ्ग पार्दै आलोचनात्मक र प्रगतिशील चेतलाई मुखरित गरिएको छ । यस सङ्ग्रहभित्रका कविताहरू संवेगात्मक हुनुका साथै बौद्धिक पनि छन् । विम्बात्मक र बौद्धिक प्रस्तुति हुँदाहुँदै पनि कविता सरस र बोधगम्य छन् । मितव्ययी शैली अपनाएर थोरैमा धेरै भन्न सक्ने कवि विष्णु पादुकाका कविताहरूलाई पढ्दा कविताका प्रत्येक शब्द र पङ्क्तिहरूले मन मस्तिष्क हल्लाउन सफल भएका छन् । यो यस कृतिको शैलीगत वैशिष्ट्य पनि हो । यस कृतिभित्रका यस्ता वैशिष्ट्य हुँदाहँदै पनि थोरै मात्रामा सीमाहरू पनि देखिएका छन् । परिवर्तनको चाहना देखाइए पनि परिवर्तन नभएको, समतामूलक समाजको आग्रह पाइए पनि समाज उक्त कार्यमा अग्रसर नदेखिएको, समाजका कुरीति र समस्याहरूलाई उठाइएको, समाधानका उपायहरू पनि खोजिएको तर समाधान हुन नसकेको जस्ता केही सीमाहरू देखिन्छन् । ठाउँठाउँमा वर्णविन्यासगत त्रुटिहरू पनि पाइन्छन्  । यी यस्ता झिना मसिना सीमाहरू देखिए तापनि समग्रमा कृति उत्कृष्ट रहेको छ भने कवि विष्णु पादुकालाई बाँके जिल्लाका प्रतिनिधि कविको रूपमा उपस्थित गराएको छ ।

….

सन्दर्भ सूची :

पादुका विष्णु,(२०७८) विन्दुको वृत्त, बाँके :पूर्णिमा साहित्य प्रतिष्ठान ।

ढुङ्गेल वासुदेव र अन्य,(२०७६), नेपाली कविता र काव्य, काठमाडौँः भुँडीपुराण प्रकाशन ।

पौड्याल शालिकराम र अन्य (२०७८), ऐच्छिक नेपाली , काठमाडौंः अस्मिता बुक्स पब्लिसर एण्ड     डिष्ट्रिब्युटर ।

भण्डारी , पारसमणि (२०७३), नेपाली कविता र काव्य , काठमाडौँः विद्यार्थी पुस्तक भण्डार ।