अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पाँचवटै महादेशहरूमा आफ्नो साहित्यिक गतिविधिहरू तीव्र पार्न विभिन्न कार्यक्रमहरूको सुरुवात गरेको छ । च्याप्टरहरूलाई जोडेर अनेसास केन्द्र, बि.ओ.टी. र आजीवन सदस्यहरूबीच निकटता कायम गर्न भेला गरिएकत्र जनाइएको छ ।
प्रत्येक साता शनिबार केन्द्र, बि.ओ.टी., च्याप्टर र पुराना तथा नयाँ अनुहारहरुलाई अनेसास अनलाइन सम्वादका माध्यमबाट एउटै थलोमा ल्याएर साहित्यिक वार्तालाप गराएर होस् या क्षेत्रीय स्तरका च्याप्टरहरूको अध्यक्षीय भेला लगायतका कार्यक्रम गरी यसलाई गति प्रदान गर्दै आइरहिएको छ ।
यसै क्रममा अनेसासको उदेश्य अनुरुप हालै उत्तर अमेरिका (अमेरिका, क्यानाडा) क्षेत्रका च्याप्टरहरूको दोश्रो अनलाइन भेला सम्पन्न भएको छ । यसभन्दा पहिले सेप्टेम्बर २७, २०२० मा च्याप्टरहरूसँग पहिलो अनलाइन परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
अनेसास उत्तर अमेरिका क्षेत्रका लागि केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजनमा सम्पन्न भएको उक्त दुवै भेलाहरूमा अमेरिकाका विभिन्न च्याप्टरहरू तथा क्यानाडा च्याप्टरका अध्यक्षहरू एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने केन्द्रीय कार्यसमितिका तथा बोर्ड अफ ट्रष्टिका पदाधिकारीहरू पनि कार्यक्रममा उपस्थित रहेका थिए ।
डिसेम्बर २७, २०२० आइतबार बिहान जूम प्रविधिमा भएको भेटघाट कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै केन्द्रको अवधारणा मुताबिक च्याप्टर र केन्द्र बीचको सम्बन्ध सुमधुर बनाउन कार्यक्रमको आयोजना गरिएको बताए ।
च्याप्टरले गरिरहेका कार्यक्रम र केन्द्रले गरिरहेका कार्यक्रमलाई एकअर्काबीच जानकारी गराउनु भेलाको उद्देश्य रहेको जानकारी दिँदै च्याप्टर र केन्द्र मिलेर गर्न सकिने कार्यक्रमहरूको तर्जुमा गर्न पनि यस किसिमको भेला उपयोगी हुने श्रेष्ठले बताए । उनले भने, “केन्द्र र च्याप्टरले एकअर्कासँग राखेको अपेक्षालाई सहजीकरण गर्न, संस्थाको आर्थिक संकलन तथा लेन-देनलाई सहज र पारदर्शी बनाउन कार्यक्रमले सहयोग गर्नेछ ।”
अनेसास उत्तर अमेरिका क्षेत्रका च्याप्टरहरूको समिति बनाउने, हरेक तीन महिनामा च्याप्टर अध्यक्षहरूसंग भेटघाट कार्यक्रम गर्ने र संभव भएसम्म महिना महिनामा च्याप्टरका सदस्यहरू जोडेर कार्यशाला गोष्ठीहरू र विविध साहित्यिक गतिविधिहरू गर्ने विषयमा पनि छलफल गरियो । भेलामा दोस्रो पुस्ताका कविहरूलाई लेख्न प्रोत्सहित गर्ने, हरेक च्याप्टरमा आजीवन सदस्यताको अपडेट चुस्त दुरुस्त बनाइराख्नु पर्ने लगायतका प्रस्तावहरू राखिएका थिए ।
बैठकको पहिलो एजेण्डामा केन्द्रका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले च्याप्टरहरूलाई केन्द्रको गतिविधि अपडेट र कार्यक्रमहरूको जानकारी गराएका थिए । उनले केन्द्रले गरिरहेको प्रकाशन, समस्याहरूको समाधान, सदस्यता अध्यावधि, वेवसाइट निर्माण, पुरस्कारहरूको स्थापना आदिको जानकारी दिएका थिए ।
कार्यक्रममा क्यानाडा च्याप्टरका भानुभक्त आचार्य, न्यूह्यम्सायर च्याप्टरकी हरिमाया अधिकारी, बोस्टन च्याप्टरकी दीपा राई पुन, न्युयोर्क च्याप्टरकी शकुन ज्ञवाली, नर्थ क्यारोलिना च्याप्टरकी नम्रता गुरागाईं, कान्सास च्याप्टरकी कमला न्यौपाने, कोलोराडो च्याप्टरकी उपाध्यक्ष मीना गिरी, शिकागो च्याप्टरका ईश्वर बगाले, मिजौरी च्याप्टरकी उर्मिला ‘निर्दोषी’, फ्लोरिडाका दीप कार्की, ह्युस्टनका कमल पन्थी, नर्दन क्यालिफोर्नियाकी गीता बजगाईं लगायतले सक्रिय रुपमा उपस्थिति भइ आफूले संचालन गर्दै आएका साहित्यिक गतिविधिहरूको जानकारी गराउनुका साथै भावि योजनाहरू प्रस्तुत गरेका थिए ।
बैठकको एजेण्डामा राखिएका प्रस्तावहरूमा प्रायः सबै च्याप्टर अध्यक्षहरूले खुशी व्यक्त गर्दै समर्थन जनाएका थिए । समयोचित रुपमा विस्तारित गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्ने उनीहरूको विचार थियो ।
कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले यस किसिमको क्षेत्रीय भेलाले केन्द्र र च्याप्टरलाई निकट बनाउने विश्वास व्यक्त गरे । यसैक्रममा अनेसासका पूर्व अध्यक्ष एवं बि.ओ.टी. का उपाध्यक्षद्वय पुरु सुवेदी र पदम विश्वकर्माले यस्ता उपस्थिति एवं कार्यक्रमद्वारा हामी सबै एकै ठाउँमा भेला भई उचित सरसल्लाह गरी ठोस कार्यको सुरुवात गर्न सक्छौं भन्ने विचार राख्दै खुशी व्यक्त गरेका थिए ।
यस्तै अनेसासका केन्द्रीय महासचिव सर्वज्ञ वाग्ले, कोषाध्यक्ष कृष्ण गिरी, सदस्य निजानन्द मल्ल, तारा अधिकारी लगायतले कार्यक्रमको महत्व र आवश्यकताबारे बिविध जानकारी गराउदै यो भेला एक ऐतिहासिक सुरुआत भएको विचार व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा संयोजक श्रेष्ठले बैठकमा सबैको सक्रिय सहभागिताबाट यसको प्रभावकारितामा विश्वास दिलाउदै बि.ओ.टी. उपाध्यक्षद्वय तथा अनेसास अध्यक्ष र सम्पूर्ण पदाधिकारीहरू तथा उत्तर अमेरिकाका सबै च्याप्टर अध्यक्ष एवं प्रतिनिधिहरूलाई आभार ब्यक्त गर्दै बैठकको समापन गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।