‘अनेसास कविता महोत्सव २०२३’ मा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन् । प्रतियोगिताका लागि प्राप्त ३ सय एक कवितालाई उछिन्दै उनको कविता प्रथम भएको हो ।

साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा नीरव र सुस्मिता नेपाल निर्णायक रहेको समितिले ललितपुरका ऋषभदेव घिमिरेको कविता द्वितीय तथा आनन्द श्रेष्ठ (अमेरिका), मदन घिमिरे (कास्की) र सुमन शिरिष (सिन्धुपाल्चोक) का कवितालाई तृतीय घोषित गरेको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्दै आएको महोत्सवको यो तेस्रो संस्करण हो ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा अनेसास बिओटी सभापति पदम विश्वकर्माले शुभकामना व्यक्त गरेका थिए भने सल्लाहकार प्रतीक ढकालले घिमिरेको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रकविका छोरीद्वय ज्योति पौडेल र शान्ति घिमिरेका साथै अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा. रेणुका सोलु, महासचिव विमला निरौला, सदस्य तारा अधिकारीले मन्तव्य राखेका थिए भने एक सय एकजना कविले कविता वाचन गरेका थिए ।

जूममा करिव छ घण्टा चलेको उक्त कार्यक्रमको पुरस्कार रकमलाई क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी,नेत्रवन्धु पोखरेल र सम्झना अर्यालले प्रायोजन गरेका थिए ।