सुबिन भट्टराईसँग चाबहिलको एउटा रेस्टुराँमा बसेर चिया पिउँदै छु । अल्पभाषी रहेछन् उनी । अनेक प्रयत्नले उनीभित्रका गाँठो फुकाउन प्रयासरत छु ।

बर्मामा मेरा धेरै विद्यार्थी नेपाली किताब पढ्न सक्ने भएका  छन् । नेपाली भाषाकै शिक्षिका भएका नाताले खुशी लाग्नु स्वाभाविक नै हो । म नेपाल जाँदै छु भन्ने थाहा पाएपछि उनीहरू मध्ये केहीले भनेका थिए, “गुरुमा, नेपालमा सुबिन भट्टराईलाई पनि भेट्नू ल ।”

भेट्नुपर्ने लेखकमा जम्मा एकजनाको नाम लिए, सुबिन भट्टराई ! नेपालमा एक से एक साहित्यकारहरू छन् । तर मेरा किशोर विद्यार्थीहरूले किन सुबिनकै नाम लिए, त्यो जिज्ञासाको समाधान पनि गर्नु छ ।

दिउँसोको एक बजे । रेस्टुराँको पार्किङ छेउमा उनलाई पर्खेर बसेकी थिएँ । एउटा धुर्मैलो सेतो गाडीबाट ओर्लंदै गर्दा मैले उनलाई देखेँ ।

केटी मान्छेमा एउटा विशेष गुण हुन्छ, केही निमेषमै केटाको बाहिरी व्यक्तित्वको एक्स रे गर्ने । शायद त्यो गुण ममा पनि छ ।

गाईको उम्लेको दूध सेलाउँदै गएपछि अलिअलि पहेँले रङको पत्र (तर) बसेको तपाईंले याद गरेको हुनुपर्छ । ठीक त्यस्तै रङको टिसर्ट लगाएका उनी गाडीबाट निस्के । नीलो जिन्समा कालो–सेतो मिश्रण जुत्ता, थाहा नपाइने गरी झर्न शुरू गरेको घुर्मिलो कपाल र गज्जबको चश्माले उनको व्यक्तित्व उज्यालिएको थियो । यस्तो लाग्थ्यो, मानौँ कुनै स्टार गाडीबाट उत्रिरहेको छ ।

नेपाली लेखकको यो राजसी छाँट देख्दा मलाई शङ्कर लामिछानेको पुस्तक ‘बिम्ब प्रतिबिम्ब’ याद आयो । पुस्तकमा लामिछाने महाकवि देवकोटालाई भेट्न उनको घर गएका छन् । जहाँ देवकोटा लेख्दै गरेको कविता पूरा गर्न पेन्सिल खुर्कंदै छन् । उनलाई लेख्न एउटा गतिलो पेन चाहिएको थियो तर विवश छन्, पेन्सिल खुर्कन त्यो पनि आफ्नै दाँतले ।

मैले सुबिन भट्टराईको गाडी हेरेर मनमनमा भनेँ–देवकोटाज्यू, मैले सुनेअनुसार यो गाडी शुद्ध लेखनको कमाइ हो । तपाई्ं अलि छिटो जन्मनुभयो । हेर्नुस् त – मुनामदनभन्दा कम बिक्री हुने लेखक आजको दिनमा…’

० ० ० ०

बर्मामा नेपाली पुस्तक पाउन निकै गाह्रो छ । अझ यसो भनौँ, नेपाली किताब प्राप्त गर्न पैसा मात्र भएर हुन्न, गतिलो सम्पर्क सूत्र र गज्जबको सोर्सफोर्स लगाउनुपर्छ । नेपाली ट्युशन पढाएको पैसाले मैले एउटा दराज किनेकी थिएँ । इच्छा यति मात्रै थियो, ट्युसनकै पैसाले यो दराजभरि नेपाली किताब सजाउनेछु ।

थाइल्यान्डको फुकेटमा मेरी आफ्नै दिदी लक्ष्मीको ब्याग पसल थियो । उनको पसलनजिकै पोखराका एकजना नेपालीको पनि पसल रहेछ । हरेक दिन दिदीमार्फत् मेरो किताबप्रेम सुनेका ती पोखरेली दाइले एकदिन भनेछन्, “तपाईंकाे बहिनीलाई कुरा गराइदिनुस् । उहाँको रुचिअनुसारका किताब मगाइदिन्छु ।”

पहिलो पटक नेपाल बस्ने कुनै नेपालीको स्वर सुनें । उनले मेरा रुचिका किताबहरूको नाम साेधे ।  मलाई थाहा थिएन । मैले भनें, “नेपालमा नाम चलेका जति पनि नयाँ लेखक छन्, सक्नुहुन्छ भने ती सबैका एकएक वटा किताब मगाइदिनुस् ।”

एक महिनापछि ! किताबभन्दा बढी आयतकर तिरेर एक कार्टुन किताब काठमाडौँबाट थाइल्यान्ड पुगेको खबर आयो । यो खबर यस्तो थियो, मानौँ, मेरो प्रेमी मलाई भेट्न थाइल्यान्ड आइपुगेको होस् । केही दिन ती किताब थाइल्यान्डमा बास बसेका थिए । कार्टुनभित्र उकुसमुकुस भएका ती किताबलाई भन्दा बढ्ता मलाई उकुसमुकुस भएको थियो । बैंककबाट ती किताब बर्माको मान्डले शहरका लागि उडे भन्दा मेरो मन पनि स्वच्छन्द उडेको थियो । मान्डलेबाट गाडी चढेर ती किताब मेरो मोगोक शहर आइपुग्दा यस्तो लाग्यो, मानौँ मेरा सम्पूर्ण सपना त्यही कार्टुनमा कैद छन् ।

महिना दिनअघि कार्टुनमा कैद भएका ती किताब धमाधम मुक्त हुँदै थिए । साथै दर्जनौं लेखक पनि । शङ्कर लामिछानेदेखि पारिजातसम्म । सञ्जीव उप्रेतीदेखि नगरकोटीसम्म । विजयकुमारदेखि अश्विनी कोइरालासम्म । पुराना नाम सुने पनि नयाँ भनिएका कुनै पनि नामसँग म परिचित थिइनँ ।  कुन बुज्झकीले किताब छान्यो, मलाई थाहा छैन । यसो भनौँ, सोध्न पाइनँ ।

सबै नयाँ लेखकका एकएक वटा किताब थिए । ती किताबको थुप्रोमा अपवाद थिए, सुबिन भट्टाई । उनको एउटा होइन, तीन फरक फरक शीर्षकका पुस्तक ती कार्टुनमा कैद थिए ।

अचम्म ! एउटै लेखकका तीन–तीन वटा किताब ! त्यो पनि ‘बेस्ट सेलर’ को ट्यागसहित ।

मात्र सुनेकी थिएँ, अर्याल, पारिजात, लामिछाने, भानुभक्त, मल्ल, देवकोटा, घिमिरे, मैनालीहरू । पाठकलाई नाम नसुनेका लेखकका कृति प्रति अविश्वास हुँदो रहेछ । काम लाग्ने किताब आएनन् कि भन्ने पीर पनि लाग्यो । त्यसमाथि अपरिचित एउटै लेखकका तीन तीन किताब किन ? खडेरी परेका बेला चिन्तित किसान जस्तै भएँ ।

अपरिचित लेखकका केही कृति पढ्दै जाँदा सोचेँ,  नेपाली भाषा र साहित्यमा बर्माका हामी निकै पछाडिएका रहेछौं । चारैतिरको सूचना–प्रविधि, बजार र विश्वव्यापी साहित्यिक प्रवाह तीव्र गतिमा अघि बढिरहँदा हामी अझै पनि देवकोटादेखि पारिजातसम्म मात्रै घुमिरहेका रहेछौं । नेपालमा जन्मिएका कृति प्राप्त गर्न परका कुरा, उनीहरूको सूचना पुग्न पनि कति कठिन ? केही नेपाली किताब यति स्तरीय छन् भन्ने थाहा पाएपछि म छक्क परेँ । हाम्रो साहित्यिक जगत् नेपालको जस्तै उज्यालो बनाउन र नेपाली भाषासाहित्यका ढोकाहरू फोड्न कति समय लाग्छ ?

सोचें, अरूको भर पर्नुहुन्न । आफैँ केही गर्नुपर्छ…।

० ० ० ०

एक कार्टुन किताब खोलेर आफ्नो दराजमा थन्क्याएको झन्डै १० वर्षपछि म त्यही लेखकका अघिल्तिर छु, जसका एक होइन, तीन तीन वटा किताब त्यो कार्टुनमा अटाएका थिए । त्यही लेखक, जसलाई भेट्न मेरा विद्यार्थीहरूले नेपाल आउनुअघि अनुरोध गरेका थिए । त्यही लेखक जसका किताब हजारमा होइन, लाखमा बिक्री भएका छन् ।

शुरूमा त मलाई कुरा गर्नै अप्ठ्यारो भयो । नेपाल बसेको तीन वर्ष पुगे पनि मलाई अझै नयाँ मान्छेसँग नेपाली बोल्न धक लाग्छ । त्यसमाथि एउटा स्टार लेखकका अघि छु, सोचेर कुरा गर्नुपर्छ भन्ने दबाबमा पनि छु । अझ उनी परे, शब्द झार्न मेहनत गर्नुपर्ने मान्छे । म रनभुल्ल परिरहेकी थिएँ ।

शायद मेरो अप्ठ्यारो उनले बुझे – “म अन्तर्मुखी स्वभावको छु, मबाट कुरा झार्न तपाईं आफैंले कुरा उप्काउनु पर्ने हुन्छ ।”

म पनि कहाँ फतर–फतर बोल्ने केटी हुँ र ? दुवै अन्तर्मुखीहरू एउटै टेबुलमा निकै बेर मौनतामा रमाइरह्यौं ।

केही नबोली त हुन्न । त्यत्तिकै प्रश्न सोधेँ, “अहिले के किताब पढ्दै हुनुहुन्छ ?”

उनी मुस्काए ।

“तीन चार वर्षअघि विशेष पुरस्कार जितेको एउटा पुस्तक, नाम चाहिं नभनौं । निकै चर्चा पनि भएको । जबरजस्ती पढ्नुपर्‍यो । एक हप्ताको समय अनाहकमा डिस्टर्ब गर्‍यो त्यस पुस्तकले ।”

पहिलो प्रश्नमै कताकति घमण्ड जस्तो सुनिने अनौठो जवाफ आयो । हुनसक्छ, एक साताको समय बिग्रेको तीतो पोखियो ।

उनको कुरा बुझ्न कोट्याएँ, “किताब पढ्न शुरू गरेपछि सकाउनै पर्छ भन्ने के छ र ?”

“कुनै कुनै किताब अन्तिममा आएर गज्जब हुनसक्छ । ठूलै पुरस्कार जितेकाले केही त अवश्य होला । तर…।” उनी बिरक्तिए ।

एक छिन अड्किएपछि उनले मलाई हेरे । म सुन्ने मूडमा छु भन्ने थाहा पाएपछि सम्झाउने शैलीमा भने, “राम्रो नराम्रो सबै किताब पढ्नुपर्छ, अरूको गल्ती हामीबाट पुनः नदोहोरियोस् ।”

यहाँनेर मैले पाठकलाई भन्नुपर्ने हुन्छ । मेरो हात परेका उनका तीन वटा किताब मध्ये मैले दुई वटा पढेकी छु । तेस्रो किताब पढ्न भने जाँगर चलेन । महत्त्वपूर्ण पुरस्कार जितेको किताब उनलाई मन परेन । लाखौँ प्रति बिक्री भएका उनका किताबले मलाई त्यति साह्रो छोएन । यसैलाई भन्छन्, आ–आफ्नो बुझाइ । पाठकको आ–आफ्नो रोजाइ ।

जसलाई भर्खर भेटेकी छु, जसका लाखौँ पाठक छन्, उनका बारेमा यसरी लेख्नुहुन्छ कि हुन्न मलाई थाहा छैन । यत्ति थाहा छ, उनीबाट धेरै कुरा सिक्न सकिन्छ । यहाँ म सिक्न आएकी छु । नेपालको लोकप्रिय लेखकको सोच कस्तो रहेछ, बुझ्न आएकी छु ।

“तपाईं किताब लेख्न कतिको मेहनत गर्नुहुन्छ ? लेख्दा के कुरामा बढी ध्यान दिनुहुन्छ ?” मैले सिक्न खोजेँ ।

“किताबको आयु पुरस्कारले हैन, भाषाशैलीले निर्धारित गर्छ । भाषाशैलीमा एकदम मेहनत गर्छु । इजोरिया लेखिसकेपछि सम्पादनका क्रममा ५० हजार भन्दा बढी शब्द हटाएँ । पटक पटक सम्पादन गरेँ ।”

“त्यसो भए तपाईंलाई पुरस्कारको विरोधी बन्नुपर्ला ।”

उनी हाँस्छन्, कृष्ण हाँसो । यहाँ ‘कुटिल’ शब्दले गलत अर्थ देला भनेर त्यो हाँसोलाई कृष्ण हाँसो भन्न मन लाग्यो ।

त्यही कृष्ण मुस्कानमा भन्छन्, “पाठक नै मेरो लागि पुरस्कार हो ।”

पाठक र पुरस्कार दुवै लेखकका लागि ऊर्जा हुन् । तर, प्रश्न यहाँ उभिन्छ—कसले पुस्तकको आयु निर्धारण गर्छ ? पुरस्कारले, कि पाठकले ?

इतिहासले देखाएको छ, कतिपय पुस्तकहरूले कुनै पुरस्कार पाएका छैनन्, तर आज ‘कालजयी’ वा ‘क्लासिक’ भनेर मानिन्छन् । अर्कातर्फ, कतिपय कृतिहरूले पुरस्कार त पाए तर समयसँगै पाठकको मनबाट हराए ।

यद्यपि, पाठक र पुरस्कार दुवैको मन जित्न सक्ने ‘शिरीषको फूल’ हरू पनि छन् । म एकछिन् घोरिन्छु । शायद पुरस्कार र व्यावसायिक लेखन फरक कुरा हुन् ।

“पाठक रोज्नुको अर्थ व्यवसायतिर ढल्किनु पो हो कि ?”

“म व्यवसायी नै हुँ । व्यावसायिक लेखक । केही समीक्षकहरू भन्छन् – ‘साहित्य साधना हो । यसलाई व्यावसायिकतातिर घुसाउनु हुन्न ।’ त्यसको म खन्डन गर्छु । मेरो पेसा नै लेख्ने हो । कामै लेख्ने, पढ्ने, समाज बुझ्ने, यात्रा गर्ने ।”

“तर तपाईंका उपन्यासमा समाजको चित्रण किन आउँदैन ?” उनको लेखनमा मैले देखेको कमजोरीमा प्रश्न गरेँ ।

“शायद मेरा पुराना किताब पढेर मूल्याङ्कन गर्नुभयो होला । हालै प्रकाशित इजोरिया पढ्नुभयो भने त्यसमा मधेसको समाज राम्रोसँग आएको छ । फिल्डमै गएर लेखेको हुँ । एकपल्ट होइन, त्यस समाजमा बारम्बार गएँ । अँ, इजोरिया पढ्दा पनि तपाईंले खोजेको समाज पाइएन भने चाहिं बुझ्नुस् मसँग यथार्थभन्दा कल्पनाशीलता बढी छ ।”

“तर इजोरियाले पाठक त कमायो, समीक्षक त कमाउन सकेन नि, कि मैले गल्ती भनें ?”

“सही हो, मेरो किताबमा प्राज्ञिक समीक्षा हुँदैन । समीक्षकहरूको म आलोचित पात्र हुँ । पाठकले मन पराए पनि समकालीन लेखक र समालोचकले मेरो लेखनलाई मन पराउँदैनन् । मैले नराम्रो लेखेर होइन, उनीहरूले पढ्नै नचाहेर । समस्या के छ भने एउटै किताब पढेको भरमा लेखकलाई आलोचना गरिदिन्छन् यहाँ । यदि गाली नै दिनु छ भने मेरो ‘इजोरिया’ पढ्न सल्लाह दिन्छु । तर पढ्दैनन् । ‘प्रिय सुफी’ पढे पनि भयो । समीक्षकलाई भन्न चाहन्छु, ‘समर लभ’ पढेर मात्र मप्रति दृष्टिकोण बनाउनु हुन्न । कन्फर्ट जोनबाट निक्लेर मैले लेखेका, भनौं मैले प्रयोग गरेका मेरो प्रयोगवादको पनि मूल्याङ्कन हुनुपर्‍यो ।”

म उनको आवेग र स्पष्टीकरण सुन्दै गएँ । उनी पोखिँदै गए, “हाम्रो समाजमा एकजनाले यो ठीक छैन भनेपछि त्यै एकजनाको भरमा तीन जनाले यो ठीक छैन भनिदिन्छन् किताब नै नपल्टाई । मेरो किस्सामा यो बढी प्रभावशाली देखिन्छ । गालीको त ओइरो नै लाग्छ । पाठकको गाली, समीक्षकको गाली ठीक छ, तर समकालीन लेखकको गाली भने मलाई चित्त दुख्छ । उनीहरूलाई छुट छैन मलाई गाली गर्न ।”

“गाली कस्ता कस्ता आउँछन् ?”

“म्यासेज रिप्लाइ नगर्दासम्म गाली खाने व्यक्ति हुँ म । सबै किताब अध्ययन गरी सही बाटो देखाइदिने समीक्षा हुनुपर्‍यो । गाली स्वास्थ्य हुनुपर्‍यो । व्यक्तिगतभन्दा माथि उठेर मूल्याङ्कन गर्नुपर्‍यो । म सहर्ष स्वीकार्छु । गाली खेप्ने क्षमता मसँग छ भने समालोचनामा म डगमगाउँछु होला र ? तर बुझ्नुपर्ने के छ भने पत्रपत्रिकामा प्राज्ञिक समीक्षा छापिएर, पुरस्कार पाएर किताब चल्ने हैन । पुस्तक त लेखकको प्रोफाइलले चल्ने हो ।”

मैले नयाँ कुरा सुनें उनीबाट । किताब त्यसभित्रको सामग्रीले होइन, लेखकको व्यक्तित्वबाट चल्छ रे ।

के त्यस्तो हुन्छ र ? मे केही अलमलिएँ ।

“तपाईंको ‘कथाकी पात्र’ नचलेकोमा तपाईंको प्रोफाइल बनिसकेको थिएन, त्यसैले हो ?”

“‘कथाकी पात्र’को बिक्री हजार पुग्न पनि हम्मे हम्मे भयो । त्यसैले त पाठक कमाउने, किताब बढीभन्दा बढी पाठकमाझ पुगोस् भन्ने उद्देश्यले ‘समरलभ’ लगत्तै ‘साया’ लिएर आउनुपर्‍यो । त्यसमा म सफल पनि भएँ । मेरो उद्देश्य पनि पूरा भयो ।”

उनको कुराबाट अनुमान लगाउँछु । उनी  पाठक बढाउनतिर लागेका रहेछन् जुन पाठकले बुझ्न सक्छन्, पढ्न खोज्छन् त्यै लेखेका रहेछन् । पाठकका लागि लेखक बनेका रहेछन् ।

पहिलेदेखि नै सोधूँसोधूँ लागेको एउटा प्रश्न राख्छु । “तपाईंको किताब चल्नुको पछाडि नयाँ मार्केटिङ स्ट्रयाटेजीहरू केही छन् कि ?”

‘इजोरिया’को उदाहरण दिँदै उनले भने, “कोभिडको बेला थियो, किताबको मार्केट त्यति थिएन । तै पनि एक हप्तामै २० हजार किताब सकियो । कति कार्यक्रमहरू रद्द गर्नुपर्‍यो । छापिएका पुस्तक सकिएपछि नयाँ किताब आउन समय लाग्यो । त्यो बेला पसलमा ‘यहाँ इजोरिया पाइँदैन’ भनेर लख्नुपर्‍यो । शायद यस्तो इतिहास नेपाली साहित्यमा कुनै लेखकको पनि छैन ।”

मैले खोजेको उत्तर आएन । शायद बताउन चाहेनन् । तै पनि लाग्छ, सुबिनले नेपाली साहित्यिक बजार बुझेका छन् । उनमा बजारको ज्ञान छ । पाठकले चाहेको, खोजेको कुरा उनले दिनसक्छन् । र त उनी किताब लेखेरै काठमाडौँवासी भएका छन् । गाडी चढेर हिँड्छन् ।

मैले उनका बारेमा यस्तै केही सोचिरहेकी थिएँ । उनले अचानक भनेँ, “इजोरिया लेख्न चार वर्ष अनुसन्धान गरेँ । यसरी अनुसन्धान गरेर लेखेको किताब बिक्री हुँदैन भन्ने लागेको थियो । बढीमा १० हजार बिक्री होला भन्ने थियो । तर हेर्नुस्, लाख पुग्न आँट्यो ।”

किताब बिक्री उनको मेहनतको फल या भाग्यको साथ या बजारज्ञानको परिणाम । परिश्रमवादीले भन्लान् – यो उनको परिश्रमको फल हो । भाग्यवादीले भन्लान् – यो उनको सुग्घर बजारज्ञानको प्रतिफल हो ।

जसले जे भनून्, मेरो दृष्टिमा उनी भाषाशैलीका अधिपति हुन् । उनलाई मूल्याङ्कन गर्नुपर्दा मैले भन्नेछु – वाक्यविन्यासका जादूगर हुन् उनी । हरेक वाक्य, हरेक शब्दमा उनको जादू छ जसले पाठकलाई आनन्द दिन्छ । मनोरञ्जन गराउँछ । बिना कुनै तनाव प्रेममा डुबुल्की मार्न पाइन्छ ।

अरूले जस्तै मैले पनि सुबिनलाई इग्नोर गरेँ कि । म आफैँसँग झस्केँ । मैले पनि भाषा र शैलीका लागि उनका अरू किताब पनि पढ्नुपर्थ्यो । दुइटा मात्र किताब पढेर उनलाई मूल्याङ्कन गरेँ कि । म जस्तै अरूले पनि सुबिनको सकारात्मक कुराको सदुपयोग गर्नुको सट्टा उनको भाषाशिल्पलाई उपेक्षा गरे कि ? कुरा गर्दागर्दै मलाई लाग्यो, उनको सकारात्मक पक्ष नहेर्दा उनलाई मात्र हैन नेपाली साहित्यलाई नै घाटा भयो । उनीबाट उत्कृष्ट विषयको, ज्ञानको खोजी गरियो । जब कि ध्यान दिनु पर्ने थियो, उनको भाषा र शैली । सिक्नु पर्ने थियो, पाठकप्रिय विषयहरू ।

उनले प्रेमका विषयमा धेरै लेखे । शायद विश्वब्रह्माण्डको लोकप्रिय विषय यही हो । त्यसो भए प्रेमका विषयमा किन नसोध्ने ?

निकै बेरको मौनतापछि उनलाई सोध्ने विषय फेला पारेँ ।

“प्रेम मात्र लेखेर गम्भीर पाठक नपाउनु भएको हो कि ?”

“प्रेम नै लेख्न हुँदैन भन्नेलाई त विश्वप्रसिद्ध किताब पढाउनु पर्छ । प्रेमको भाषा सजिलो होला, मैले शून्यवाद, अस्तित्ववाद घुसाइनँ रे ! मेरो उद्देश्य दर्शन पढाउनु पनि त थिएन । सामान्य पाठकहरू, कलेज पढेकाहरूलाई किताब पढाउनु थियो ।”

उनको पाठक प्रेम अझै अल्झिरहेको थियो । हुन पनि हो । पठनसंस्कृति बढाउनु पर्छ भन्ने महान् व्यक्तित्वहरूले सिक्नु पर्ने कुरा हो उनीबाट । उनका कृतिहरूले कति किशोरलाई साहित्य पठनप्रति तानिरहेको छ । त्यसमा म सहमत छु । शायद मेरो जस्तै सोच राख्ने लेखक, समीक्षकहरू । तर पीर लाग्छ सुबिनका किताबहरू नै नेपाली साहित्यको अन्तिम मानक बन्ने पो हो कि !

“मलाई ‘समर लभ’ले ठूलो पाठक दियो । सायाले त्यसलाई अझ बढायो । ‘प्रिय सुफी’ र ‘इजोरिया’का पाठक र ‘समर लभ’ र ‘साया’का पाठक फरक छन् । यति धेरैमा म फैलिन पाएँ ।” यसो भनिरहँदा उनको अनुहारमा गौरव झल्किरहेको थियो ।

लाग्यो – यत्तिको आत्मरति हुनुपर्छ लेखकमा । लेखकमा मात्र हैन हरेक मानसमा हुनुपर्छ । अरूको प्रशंसा र आलोचनामा दुःखी हुनुभन्दा त आफ्नो काममा, आफ्नो सृजनामा गौरव गर्नु कति हो कति राम्रो नि । आलोचना त मानवीय गुण न हो । कसैले कसैलाई छाड्दैनन् ।

प्रेमलाई मूल विषय बनाएर लेख्नेसँग भेटेको बेला प्रेमको परिभाषा नबुझी फर्कनु कसरी ? मैले आफ्नो प्रश्न प्रेमतिर सोझ्याएँ ।

प्रेमका बारेमा उनको सिधा उत्तर आयो, “प्रेम विशुद्ध एकतर्फी हुनुपर्छ । एकतर्फी माया नै शुद्ध माया हो ।”

केही सोच्न नभ्याई भनिहालेछु, “एकतर्फी भयो भने त दुःख पाइन्छ नि ।”

उनी साधारण हिसाबले जवाफ दिन्छन्, “प्रेममा दुःख हुन्छ त के भो ?”

प्रेम एकोहोरो हुन्छ । प्रेम दुःख हो । दुःखको तड्पाइ ! शायद उनका उपन्यासहरूमा उनको एकोहोरो प्रेमको सिद्धान्त पाइन्छ प्रायः । त्यै तड्पाइ पात्रहरूमा आउँछ । र नै आमपाठकमाझ पुगेको हुन्छ ।

उनी बोल्दै जान्छन्, “निशर्त बगेर जान्छ भने त्यो प्रेम हो । यदि शर्त मिसियो भने त्यो प्रेम हुँदैन । स्वार्थ हुन्छ ।”

उनको भनाइमा म सोचमग्न भएँ – प्रेम निशर्त बगाउन सकिन्छ अहिलेको स्वार्थ दुनियाँमा ?

यही प्रश्न मनमा थाँती राखी अर्को प्रश्न राख्छु कुराकानीसँग सम्बन्धित “प्रेम मात्र लेख्नेलाई यहाँका सिद्धान्तवादी साहित्यकारहरूले स्वीकार्दैनन्, यसमा तपाईंको भनाइ के छ ?”

“बुझ्नुपर्ने के छ भने प्रेम सस्तो विषय हैन । प्रेम लेखेर किताब सस्तो हुँदैन, खराब हुँदैन । के शिरीषको फूल, पल्पसा क्याफे, पागलबस्तीमा प्रेम छैन र ? के शून्यवाद, अस्तित्ववाद, विसङ्गतिवाद नआउँदैमा प्रेम प्रेम हुँदैन ? लामिछानेको दृष्टिकोणले शिरीषको फूललाई शून्यवाद माने । तर मेरो लागि शिरीषको फूल प्रेम हो । त्यसैले पनि अझैसम्म बाँचेको छ । अझैसम्म चर्चा हुन्छ । सुयोगवीरको जुन कुण्ठा, मनका गाठाहरू छन् त्यो बुढेसकालको प्रेम नै त हो । एकतर्फी प्रेमको नमूना हो । युद्ध पृष्ठभूमि भए पनि मुख्य विषय त प्रेम नै हैन र ? जुन आत्मपीडन छ, त्यो प्रेमले नै हैन ?”

टाउको हल्लाउँछु । उनी ओरालोमा पानी सरह बग्दै जान्छन्, “जबसम्म म सक्छु तबसम्म प्रेमको विषय लेखिरहन्छु । पहिले पनि लेखेकै हुँ, अहिले पनि लेख्दै छु । त्यस्तै लेखी नै रहन्छु ।”

मलाई एउटा डाइलग याद आउँछ – मायाले संसार थाम्दैन । प्रेमको विषयले मात्र साहित्य थाम्छ र ? यही प्रश्न अर्कै तरिकाले सोध्छु ।

जवाफमा उनी भन्छन्, “विपीले भनेजस्तै विचार सँगसँगै भाषा पनि दौडिनुपर्‍यो । भाषा र विचार सन्तुलित बनाउनुपर्छ । तर खासमा लेखकहरू भाषामा अल्छी गर्छन् । विषयको पछि मात्र दौडिन्छन् ।”

अल्छी लेखकमा म नि पर्छु । उनले मलाई नै व्यंग्य गरे जस्तो लाग्यो । तर आफैमा लज्जित हुन्छु । म लेखक हुँ र ?

भावनालाई सकेसम्म पन्छाउँदै कुराकानीको अन्तिमतिर लग्छु, “तपाईंका फ्यानहरूका कुरा कसरी सम्झनुहुन्छ ?”

“१२ वर्ष अगाडिको कुरा हो, पाँच सय नोट लिएर अटोग्राफ भर्न लगाए । पैसा त चलाउन पर्ला नि भनेर मैले प्रतिक्रिया दिएँ । उनले अटोग्राफ सहितको पैसालाई फ्रेम बनाएर राख्छु भनी बताए । अर्को चाहिं ‘इजोरिया’को विमोचन हुँदै थियो । एकजना बहिनी आएर धरधरी रोइन् । उनले भनिन्, ‘तपाईंले मलाई जीवनदान दिनुभयो । आत्महत्याबाट बचाउनु भयो ।’ यो भन्दा ठूलो पुरस्कार लेखकको लागि के हुन सक्ला ?”

यो भनिरहँदा खुशी उनको अनुहारमा देखिन्छ । हुन पनि हो लेखकको लागि यो भन्दा ठूलो पुरस्कार के हुन सक्ला ?

कुराकानी गर्दा गर्दै डेढ एक घण्टा बितिसकेको रहेछ । अझै पनि प्रश्नहरू बाँकी छन् जस्तो लाग्दै थियो । उनले बेटर्रलाई बिल ल्याउने इशारा गरे ।

पैसा त मैले तिर्नुपर्छ । मेरो मनले भन्यो । सधैँ लेखकलाई बिल तिराउन मिल्छ र ? म पैसा दिन तयार भएँ ।

सुबिनले भने, “बर्मेली पैसा नेपालमा चल्दैन ।”

मैले भनेँ, “मलाई साहित्यपोस्टले नेपाली रुपियाँमै तलब दिन्छ ।”

एकछिन हानाथाप गरेपछि सुबिनले जिते । ठिकै छ, म परेँ विद्यार्थी ।

तर अनौठो भयो । सुबिनले पैसा तिरेपछि थाहा भयो, केही पैसा दिन बाँकी रहेछ । बिल गल्ती परेछ । केही पैसा बाँकी रह्यो, जुन मैले दिन पाएँ ।

हाँस्दै उनले भने, “हामी दुवैको इच्छा पूरा भयो ।”

उठ्दा उठ्दै मैले सोधेँ, “बौद्धिक लेखकहरूलाई के भन्न चाहनुहुन्छ ?”

उनले छक्क परेर मलाई हेरेर उल्टै सोधे, “म बौद्धिक लेखक होइन र ?”

म एकदम चूप भएँ । मेरो उद्देश्य उनी अबौद्धिक लेखक हुन् भन्ने थिएन । खासमा मलाई थाहा छैन बौद्धिक लेखक कस्ता हुन्छन् र बौद्धिक पाठक कस्ता हुन्छन् ?

मेरो अप्ठ्यारो शायद उनले बुझे । परिस्थिति सम्हाल्दै भने, “तपाईँले अग्रज लेखकका बारेमा भन्नु भएको होला । मेरा अग्रजहरूबाट म लेखक बन्न सिकें । गाली भन्दा पनि सही तरिकाले बाटो देखाउनु होला । यही भन्न चाहन्छु ।”

हामी रेस्टुराँको ढोका बाहिर निस्कियौँ । बिदा लिनुअघि अन्तिम प्रश्न सोधेँ, “भर्खर लेख्न शुरू गरेका भाइबहिनीहरूलाई के सुझाव दिनुहुन्छ ?”

“अरूको कपी नगर्नुहोला । भाषाशैलीमा सुधार्न बढी ध्यान दिनुहोला । लेख्नुभन्दा धेरै पढ्नुपर्छ । भूमिगत भएर, धैर्य गरेर अध्ययन गर्नुहोला । लेख्नेबित्तिकै छाप्ने होइन, फ्याँक्ने अभ्यास पनि गर्नु पर्छ ।

एउटा प्रख्यात भनाइ छ – लेखक त्यो हो जसले लेख्न सक्छ, राम्रो लेखक त्यो हो जसले लेखेको कुरालाई च्यात्न सक्छ ।”

उनी कुनै स्टार जसरी नै आफ्नो गाडीमा चढे र पार्किङबाट निस्किए । निकै बेरसम्म मेरो स्कुटीले उनको गाडी पछ्याइरह्यो । यसरी पछ्याइरहँदा सोचेँ, मैले उनीबाट सिक्नैपर्छ । मैले मात्र किन, लेख्न चाहने सबैले उनको भाषा चोर्नैपर्छ ।