 
			
			
			
			
			
			‘छोरी, बाबालाई डाक्टरले शहर लिएर जाने सल्लाह दिएको छ । अगाडिको उपचार यहाँ सम्भव छैन रे । अप्रेसन नगरी हुँदैन भनेका छन् डाक्टरले । अप्रेसनका लागि शहरको ठूलो अस्पतालमा नलगी नहुने पर्यो तेरा बाबालाई ।’ भारी मनबाट लक्ष्मीले आफ्नी छोरी सीमालाई भनिन् ।
बाबाको खबर सुनेर सीमा झसङ्ग हुन्छे । उसले आज आमाको स्वरमा पीडा र रोदनको आभास अरू दिनभन्दा बढी पाई । बाबा बिरामी भएको खबर सुनेको पहिलो चोटि थिएन । तीन वर्ष भयो सीमाका बाबा पेट दुखेर थला परेका । तर आज आमाबाट शहरको ठूलो अस्पतालमा अप्रेसन गर्न लानु पर्छ भनेको आमाबाट सुन्दा उसको मनै कामेर आयो ।
‘बाबालाई के भएको रहेछ आमा ?’ सीमाको प्रश्न गराइमा आश्चर्य साथै डर साफ बुझिन्छ ।
‘आन्द्रामा दुइटा प्वाल छन् रे । अप्रेसन गर्न यहाँको सानो अस्पतालमा सम्भव नहुँदा शहर लाने सल्लाह डाक्टरले दिएका छन् । अप्रेसन गरेन भने बाँच्न… ।’
अगाडि भन्न सक्दिनन् लक्ष्मीले । कण्ठ भरिएर आउँछ । यति बेरसम्म थामिएका आँसु गहभरि हुँदै झर्न लाग्छन् । आमा रोएको सुनेर सीमा पनि रुन लाग्छे । दुवै रुन्छन् केही क्षण ।
आँसु पुछ्दै सीमा आमालाई भन्छे- ‘आमा, त्यसो भए दिल्ली लिएर आउनु बाबालाई । चाँडै उपचार गरेपछि बाबा निको भइहाल्नु हुन्छ । हजुर नआत्तिनुहोस् ।’
आमालाई हिम्मत दिँदै सीमा प्रश्न गर्छे- ‘आमा, डाक्टरले कति खर्च लाग्छ भनेको छ ?’
‘खै छोरी ! मैले सोध्दा त डाक्टरले चार लाख जति लाग्छ भन्नुभा’थ्यो । छोरी कसरी पो उक्सिनु यो सङ्कटबाट ? हातमा भने एक रुपियाँ छैन । बिरामी हुनाले बाबाले काम नगरेको निकै भइसक्यो । तँ पनि दिल्ली गएर जागिर गर्न लागेको एक वर्ष मात्र हुँदैछ । महिनाको बिस हजार तलब पाउँछेस् । महिनैपिच्छे घरखर्च पठाइराखेकी छेस् । तैँले पनि कसरी यत्रो खर्च उठाउँछेस् होला छोरी ! आफन्तलाई भनूँ भने आफ्नै दस समस्या सुनाउँछन् । बाबा बिरामी हुँदा फोन गरेर सहानुभूति देखाउनबाहेक एक दिन अस्पतालमा हेर्न कोही आएनन् ।’
‘आमा, हजुर चिन्ता नगर्नुहोस् । सबै बन्दोबस्त म मिलाउँछु । हजुरको र बाबाको पर्सिको टिकट गरिदिन्छु । ढुक्क भएर आउनू । यहाँ ठुलो अस्पतालमा देखाउनु पर्छ ।’
आमालाई आफ्नो ख्याल राख्नु भनेर सीमाले फोन राख्छे । सबै बन्दोबस्त त गर्छु भनी तर कसरी यत्रो पैसा जुटाउनु ? उसको मनमा ढ्याङ्ग्रो बज्न लाग्छ । महिनामा पाउने बिस हजार तलब । त्यतिमा महिनैपिच्छे पाँच हजार घरमा, तीन हजार कोठा भाडा अनि आफ्नो खर्च निकाल्दा महिनामा मात्र पाँच हजार बचाउँदि रहिछ सीमाले । फोन निकालेर बैङ्क बेलेन्स हेर्छे । पचास हजार जम्मा भएको रहेछ । यति पचास हजारले कहाँ पुग्थ्यो र ? अझै साढे तीन लाख उसले कसरी बन्दोबस्त गर्नु ? घरकी पहिलो सन्तान ऊ नै हो । ऊ मुनि दुइटी बहिनी अनि एउटा सानो भाइ, सबै बालकै छन् । उनीहरूको पनि जिम्मा उसैले उठाउनु परेको छ । बाबाले सीमालाई कसोकसो गरेर बाह्रसम्म त पढाए । उसले पनि पढाइमा कहिले निराश पारिन । सधैँ अब्बल रही पढाइमा । उसलाई अघि पनि पढाइ गर्ने मन थियो तर परिवारको आर्थिक स्थिति दयनीय हुँदा अनि बाबा रोगी हुनाले बाह्र कक्षा सकेपछि कमाउन शहर नपसी भएन ।
सीमाले उसकी कोठा सहपाठी दीक्षालाई बाबाको अप्रेसनबारे सबै भन्छे । दीक्षाले उसको परिस्थिति बुझेर पचास हजार मद्दत गर्ने आश्वासन दिन्छे अनि अफिसबाट एड्वान्स स्यालेरी लिने सल्लाह पनि । भोलिपल्ट अफिस गइसक्दा एड्वान्स स्यालेरीका लागि सीमाले आवेदन दिन्छे । एच.आर. हेडलाई व्यक्तिगत भेटेर बाबाको उपचारबारे वृत्तान्त सुनाउँछे । अफिसले नयाँ कर्मचारी भनेर एक महिनाको एड्वान्स स्यालेरीबाहेक अरू मद्दत गर्ने चासो देखाउँदैन ।
भोलि गाउँबाट बाबाआमा आउने दिन तर पैसाको बन्दोबस्त नहुँदा सीमालाई औधी पिर लाग्छ । कोही नचिनेको यो ठुलो शहरमा कसले पो सहायता गर्ला ? उसले अपेक्षा गरेको ठाउँबाट मद्दत पाइसक्छे । उसले तीन लाख अझ जम्मा गर्नु पर्ने हुन्छ । यो त अप्रेसनको खर्च । परिवार आएपछि खाने र गाडीभाडा खर्च भिन्नै । दिल्लीमा कोही चिनेजानेको छ कि भनेर दिमागलाई जोर दिएर सोच्दछे । अहँ ! उसलाई कोही याद आउँदैन ।
आमालाई फोन गरेर सोध्छे- ‘आमा दिल्लीमा हामीले चिनेको कोही छ ?’
‘मामाघर छेउकी बहिनी छिन् नि माया । तीन सालअघि दसैँमा जाँदा भेटेको थिस् त ? पतिपत्नी नै दिल्लीमा काम गर्छन् । पाँच वर्ष भयो उनीहरू दिल्ली पसेका ।’
‘ए ! चिनेँ चिनेँ । बहिनीलाई भनेर फोन नम्बर पठाइदिनू म उहाँसँग कुरा गर्छु ।’
* * * *
बाबाआमा दिल्ली आइपुग्छन् । सीमाले एक हप्ताका लागि अफिसबाट छुट्टी लिन्छे । बाबाआमा आएको भोलिपल्ट नै अस्पताल जाने कुरा हुन्छ ।
अस्पताल जाने अघिल्लो दिन लक्ष्मीले छोरीलाई प्रश्न गर्छिन्-
‘छोरी अस्पताल त भोलि जाने भन्दै छेस् । खर्च कसरी व्यहोर्छेस् कुन्नि ? फ्लाइटको टिकट पनि आफैँ गर्दिस् । आजभोलि नै अप्रेसन गर्नु पर्यो भने के गर्नु हो ? मलाई त सोचीसोची फड्को हुँदैछ ।’
‘आमा धेरै चिन्ता नर्गनू । पैसाको चाँजो मैले मिलाइसकेँ । दीक्षाले मद्दत गरेकी छिन् । अफिसबाट एक महिनाको एड्वान्स स्यालेरी पाएँ । माया आन्टीले पनि धेरै मद्दत गर्नुभयो । भगवानले सङ्कट दिए पनि मद्दत गर्ने उपाय पनि पठाइदिएका हुँदा रहेछन् ।’
छोरीको कुरा सुनेर लक्ष्मीले सन्तोषको लामो सास फेर्छिन् । आँखा रसाउँछन् ।
रुन्चे स्वरमा भन्छिन्- ‘छोरी, तँ हाम्रा लागि छोरा नै भएर जन्मिएकी रहिछस् । भाइबहिनीको पढाइको खर्चदेखि लिएर बाबाको उपचारसम्म तैँले नै धान्दै छेस् । तेरै हिम्मतको आडमा बाबाको ज्यान बाँच्ने पर्यो । पहिलो सन्तान छोरो हुन्छ भनी तेरा बाबा हर्षमा थिए । तर पहिलो सन्तानको रूपमा तँ जन्मिस् । तेरा बाबाले तीन दिनसम्म तेरो मुख हेरेनन् । अहिले यही छोरीको…।’
बरर आँसु झर्छन् लक्ष्मीका । आमाको ममतामयी आँसु देखेर सीमाको मुटु फुलेर गाँठो पर्छ । आँसु थाम्न सक्दिन ऊ पनि ।
आँसु पुछ्दै सीमाले भन्छे- ‘आमा, त्यस्तो नभन्नू । पहिलो सन्तानको रूपमा जसले पनि छोरा नै चाहना गर्छन् । बाबाले दुःख गरेर हुर्काउनु भयो, मलाई बाह्रसम्म पढाउनु भयो । बाबाले हामीलाई सधैँ सराबरी नै माया गर्नुभएको छ । यो अवस्थामा बाबाका लागि यति नगरी कहिले गर्नु आमा ? यो त मेरो कर्तव्य हो । छोराले मात्र बाबाआमाको सेवा गर्नु पर्छ भन्ने कहाँ लेखेको छ र आमा?’
लक्ष्मीले छोरीलाई कसिलो अँगालो हालेर गालामा म्वाइँ खाइदिन्छिन् ।
* * * *
सीमाले बाबालाई अस्पताल लान्छे । डाक्टरले विभिन्न जाँच गराउँछ । दस दिनभित्रै अप्रेसन गर्ने मिति दिन्छ । जाँच गराउँदै पचास हजार सकिन्छ । अप्रेसनका लागि चार लाख, औषधी अनि अप्रेसनपछि बिस दिन भर्ती हुने अलग्गै खर्च मिलाएर झण्डै दस लाखको आकलन देखाइदिन्छ अस्पतालले । अप्रेसनको दुई दिनअघि पाँच लाख एड्वान्स जम्मा गर्ने नियम पनि अस्पतालले जनाइदिन्छ ।
सीमाको टाउकोमा खर्चको बोझमाथि बोझ थपिन्छ । तर उसले हिम्मत हार्दिन । ‘हुन्छ डाक्टर साहब । अप्रेसनको तयारी गर्दिनू हामी पैसा जमा गछौँ’ सीमाले निर्भीक भएर डाक्टरलाई भन्छे । ऊसँग भएको चार लाखमा पचास हजार खर्च भइसकेको हुनाले साढे तीन लाख बाँचेको हुन्छ । दीक्षालाई आग्रह गरेर उसको परिवारबाट डेढ लाखको ऋण लिएर पाँच लाख जमा गर्दिन्छे ।
बाबाको अप्रेसन सफल हुन्छ । बिस दिनसम्म डाक्टरले निगरानीमा राख्न वार्डमा भर्ती गराउँछ । बिरामीको हेरचाहमा लक्ष्मी खटिन्छिन् । सीमाले बाहिरको सबै चाँजो मिलाउँछे । तर पाँच लाख उसले भेला पार्न अझै सकेकी हुन्न । अस्पतालले रहेको पैसा जम्मा गर्न दिनै बिलिङ् सेक्सनमा बोलाइरहन्छ ।
बिरामी हेर्न एक दिन माया पनि आउँछिन् । यो बिरानो शहरमा बिरामी हेर्न आउँदा लक्ष्मी र सीमा औधी खुसी हुन्छन् ।
‘माया, खुसी लाग्यो यो शहरमा आफ्नै गाउँघरको मान्छे भेट्दा । तिमीले हामीलाई यो विकट परिस्थितिमा ऋण दिएर हामीमा गुणै लगायौ । मेरो श्रीमान्को ज्यान बच्यो । यसका लागि जति धन्यवाद भने पनि कम हुनेछ ।’ हात जोडेर लक्ष्मीले मायालाई आभार प्रकट गर्छिन् ।
‘हैन दिदी, त्यसो नभन्नुस् । हामी एउटै ठाउँमा हुर्किएका हौँ । यी मेरा भिनाज्यू हुन् । मलाई पनि साह्रोगाह्रो परेको बेला सहायता चाहिन्छ । मैले जति गर्न सकेँ त्यति गरेँ । अरू त सीमाको हिम्मत र उसले पढेलेखेको फल हो । मलाई धन्यवाद गरेर लज्जित नपार्नु दिदी । दुःखमा साथ नदिए कहिले दिनू र ? दुःख त सबैलाई एक न एक दिन आउँछ नै ।’
मायाको कुरा सुनेर लक्ष्मीलाई खुसी लाग्छ । उनी सोच्छिन्- ‘यो स्वार्थले भरिएको समाजमा निको र सेवाभाव मन भएका मान्छे हुँदा रहेछन् । सबै एकैनास नहुँदा रहेछन् ।’
तीनैजना निकैबेरसम्म कुरा गर्छन् । कुरा गर्ने क्रममा लक्ष्मीका आँखा मायाको छातीतिर जान्छन् । देखेर लक्ष्मीको मनमा जिज्ञासा उत्पन्न हुन्छ र प्रश्न गरिहाल्छिन्-
‘माया तिम्रो छाती भिझेर चिसो भएको छ त ! के भएर हो ? अनि छाती पनि भरिलो देखिन्छ? सुत्केरी छौ र ?’
लक्ष्मीको प्रश्नले माया अन्योलमा पर्छिन् । डर अनि सरमको रेखा अनुहारमा छाएको साफ देखिन्छ । के भन्ने, उनले मेसो नै पाउँदिनन् । अनुहार मलिन हुन्छ ।
पुनः लक्ष्मीले प्रश्न गर्छिन्-
‘हैन के भयो? अलमल्ल पर्यौ त ।’
‘हो दिदी, म पन्ध्र दिनकी सुत्केरी हुँ ।’
‘अनि यसरी किन नानी छोडेर यहाँ आएकी तिमी! यस्तो बेलामा तिमीले यहाँ आउनुहुने थिएन ।’
‘दिदी, नानी मसँग छैन । जसको नानी थियो उनीहरूले लिएर गए ।’
‘हन! यो तिमी के भन्छ्यौ? कुरै बुझिनँ त?’
‘मैले नानी मात्र जन्माएकी थिएँ; अरूका लागि । मैलै मेरो कोख भाडामा दिएकी थिएँ ।’
‘लु! के भन्दै छ्यौ तिमी? मैले त कुरा नै बुझिनँ ।’
मायाको कुरा सुनेर आश्चर्यचकित हुन्छिन् लक्ष्मी । मायाले भनेको न फेद न टुप्पो, केही बुझ्दिनन् । मनमा प्रश्नै प्रश्न उर्लिएर आउँछन् ।”
“अब दिदीले सोधिहाल्नु भयो । म सुरुदेखि भन्छु, अनि बुझ्नु हुन्छ । दिदी, हजुरलाई थाहा नै छ । मैले पन्ध्र वर्षकी हुँदा भागेर बिहे गरेँ । श्रीमान्को केही आम्दानी थिएन । बिहे त गर्यौं तर कसरी निर्वहन गर्ने हो केही बोध थिएन । उहाँको परिवारमा पनि पाँच भाइ । बिहे गरेकै सालमा छुट्टिनु पर्यो । छुट्टिँदा न माटो थियो, न घर, न हातमा फुट्टी कौडी । मजदुरी, मेलापात गरेर दुःखसुखमा जीवन चल्न लाग्यो । केही वर्षमा चार जना भल्ट्याङ्भुल्टुङ् भए । सन्तानलाई भरणपोषण गर्न अनि पढाउन हम्मे पर्न लाग्यो । मेलापात र मजदुरीले कमाएको पैसाले काम काटेन । दुःख गरेर पनि मन सन्तोक नै थियो तर उहाँले गाउँका जँड्याहासँग लागेर दिनै जाँडरक्सी धोक्न लाग्नुभयो । अलिअलि कमाएको पनि रक्सीभेण्डरमा उडाउन लाग्नुभयो । गाउँका जँड्याहासँग टाढा हुँदा रक्सी पिउन छोड्नुहुन्छ अनि दुई पैसा कमाइन्छ कि भनेर ढिपी गरेर चिनेका गाउँलेसँग दिल्ली पठाएँ । चौकीदार जागिरमा पैसा कति नै हुँदो रहेछ र ? महिनामा जम्मा बाह्र हजार ।
शहरमा महिलालेले गर्ने काम पाइँदो रहेछ । धनीमानीको घरमा नानी हेर्ने, सरसफाइ गर्ने, खाना पकाइदिने इत्यादि । उहाँले यो सुनाउँदा मैले पनि आउने जिद्दी गरेँ । नगरी पनि भएन । चार जना छोराछोरी हुर्काउन र पढाउन उहाँको पैसाले एक छेउ पनि पुगेन । काखकी छोरी बोकेर आएँ । कोठीमा खाना पकाउने अनि सफाइ गर्ने काम गर्न लागेँ । दुवैको तलब मिलाएर महिनाको बिस हजार हुन लाग्यो । यतिले पनि कहाँ पुग्दो रहेछ दिदी ? नानीहरूको स्कुल फिस तिर्न अनि खाना लाउनमा मात्र ठिक्क भयो ।
सोचाइ आइरह्यो- ‘छोराछोरी ठुला भएपछि केले बिहे गर्दिनु ? ओत लाग्ने आफ्नो घर छैन, माटो छैन ।’ सधैँ मन पिरोलिन्थ्यो । सोचाइले मन अईंअईं हुन्थ्यो । के गर्नु गरिबले जति मिहिनेत गरे पनि कहिल्यै भरिपूर्ण हुँदो रहेनछ । एक दिन मैले काम गर्ने ठाउँमा मेडमले मलाई भनी- ‘माया तँलाई सजिलै पैसा कमाउने उपाय भन्छु, गर्छेस् भने भन्नू मलाई ।’
मैले पनि सोधिहालेँ- ‘के काम र मेडम?’
म अनपढलाई सरल भाषामा मेडमले भन्छे- ‘दुनियाँमा निसन्तान हुने जोडा धेरै हुन्छन् । कत्ति प्रयास गर्दा पनि उनीहरूको बच्चा हुँदैन । आजको विज्ञान हाम्रो सोचभन्दा धेरैअघि बढेको छ । सरोगेसीबाट सन्तान गर्ने गर्छन् ।’
मैले सरोगेसीबाट सन्तान हुने सन्दर्भ पहिलो चोटि सुनेकी थिएँ । दिमागमा केही घुसेन । मैले नबुझेको जानेर मेडमले मलाई अझ सहजरूपीमा राम्ररी बुझाई- ‘कुनै महिलाले गर्भ धारण गर्ने क्षमता नहुँदा सोरेगेसीबाट गर्छन् । यसको प्रक्रिया वैज्ञानिक हुन्छ । पतिले वीर्य दिन्छ । सरोगेसी अस्पतालले सरोगेट मदर खोज्दछन् । सरोगेट मदरले आफ्नो राजीमा आफ्नो कोखमा वीर्य धारण गरेर गर्भवती हुने अनि बच्चा जन्मिएपछि त्यही जोडालाई बच्चा दिने । यो सबै प्रक्रिया सुरु हुनुअघि राजीनामा हस्ताक्षर गरेर हुन्छ । यो प्रक्रियामा सरोगेट मदरलाई ठुलो रकम दिइन्छ । नौ महिनासम्म बस्ने, खाने, उपचारको व्यवस्था सरोगेसी अस्पतालले सबै आफैँ गर्छ । दस लाख जति पाइन्छ ।’
दिदी, यो सुन्दा मलाई पहिले अचम्म लाग्यो । अरूको नानी जन्माएर आफ्नो इज्जत कसरी पो मान्छेले खेर फालेका । छि ! छि ! गरिब छौँ तर स्वाभिमानमा जिउन जान्दछौँ । मेडमलाई भनी पनि हालेँ स्वाभिमानले छाती फुलाएर- ‘मेडम, पैसाका लागि यसरी म अरूसँग सुतेर कसैको नानी जन्माउने छैन । म अभावमै बाँच्न रुचाउँछु तर यसरी इज्जत बेच्ने काम गर्न सोच्न पनि सक्दिनँ ।
मेरा कुराले मेडम पनि छक्क परी । मलाई पुनः सम्झाउँदै भनी- ‘माया, तैँले कुरा बुझिनस् । तैंले कोहीसँग सुत्नु पर्दैन । शारीरिक सम्बन्ध बनाउनु पर्दैन । सन्तान चाहिने जोडाको पतिले वीर्य दिन्छ अनि त्यो वीर्य तेरो कोखमा डाक्टरले वैज्ञानिक प्रक्रियाले राख्दछ । कोखमा नौ महिनासम्म त्यो सन्तान हुर्काउने अनि जन्मिएपछि दिने । थाहा होला मान्छेले रक्त दान गर्छन्, मृगौला दान गर्छन्, नेत्र दान गर्छन् । कल्पना गर न । तैँले तेरो कोख नौ महिनाका लागि दान दिएकी होस् । तेरो दानले कसैको घरमा खुसी आउने छ, कुनै थारी आमाको काखमा नानी खेल्ने छ, अनि तेरो हातभरि पैसा । ती पैसाले तेरा नानीको भविष्य उज्ज्वल बनिने छ ।’
मेडमको कुरा सुनेर ढुस्से लागेको मनमा छर्लङ्ग गरी घाम लाग्यो । मैले मेडमलाई केही सोधिनँ । त्यो दिन राति निद्रा नै लागेन । मेडमको कुरा कानमा गुन्जरह्यो । छोराछोरीका अनुहार झल्झली आँखाका अगाडि आउन लाग्यो । भनेजस्तो खान, लगाउन, स्कुल जान पाएका छैनन् । न घर छ, न माटो छ । दस लाखले मेरो परिवारको रूप नै बदलिन्छ होला ! माटो किन्न सक्छु, घर बनाउन सक्छु । तर समाजले के भन्छ मलाई ? ह्याँ, जे भनोस् । यो समाजले जे गरे पनि कुरा काट्न कहाँ छोड्छ र ! समाज त सधैँ यस्तै हो । मेलै परिवारको भविष्यका लागि सोच्नुपर्छ, न नै समाजको कुरा? अनि यो परोपकारी र असल काम पनि त हो । मेरो नौ महिनाको कष्टले कसैको परिवारमा खुसी आउने रहेछ अनि मेरो परिवारमा हर्ष पनि ।
यस्तै विचारले मेरो अँध्यारो मनमा प्रकाश छायो । खुसहाल परिवारको सपना देख्न थालेँ । यो पैसा र गरिबीको साइनो पनि धारिलो नै हुँदो रहेछ दिदी । भोलिपल्ट उहाँलाई डराई डराई यो कुरा भनेँ । तीन दिनसम्म मसँग बोल्नुभएन । दिनै सम्झाइराखेँ । फेरि पनि मान्नुभएन । गरिब नै बस्ने तर यस्तो इज्जत जाने काम नगर्ने भनी रट लगाउनु भयो । केही दिनमा उहाँको कम्पनी बन्द भयो । अर्को ठाउँमा जागिर लाग्न निकै दिन चर्को पर्यो । मेरो कमाइले सबै खर्च धान्न धौ धौ पर्यो ।
मैले पुनः उहाँलाई सम्झाएँ, आग्रह गरेँ । त्यसपछि उहाँ राजी हुनुभयो । दिदी, अभावले जे पनि गर्न बाध्य पार्दो रहेछ । छल कपट या चोरी गर्नुभन्दा यो असल काम गर्दा केही हुन्न भनेर मैले पनि सरोगेट मदर हुन राजी भएर मेडमलाई स्वीकृति दिएँँ । अर्को ढुक्कको कुरा मेडम त्यहीँ अस्पतालको डाक्टरनी थिई । मलाई झन् सजिलो पर्यो । मैले अमेरिकामा बस्ने परिवारको गर्भ धारण गरेँ । बस्ने, खाने इत्यादि सबै व्यवस्था भयो । एड्वान्समा तीन लाख पाएँ । पन्ध्र दिनअघि नानी जन्मियो । मैले त नानीको अनुहार पनि हेर्न पाइनँ । सबै पैसा जम्मा गरेर नानी लिएर गए । जसको गर्भ धारण गरे पनि आफू आमा भइँदो रहेछ । बच्चाको माया लाग्दो रहेछ । हप्ता दिनसम्म आँसु झरिरहे । कुन्नि कति दिनसम्म यो दूध चुहिने हो ?”
भन्दाभन्दै मायाका आँखा ओसिला भए । मन गाँठो पर्यो । लक्ष्मीले ट्वाल्ल परेर सुनिरहिन् । मायाको कुराले उनका मनमा पानी उम्लेसरी कुराहरू उम्लिन लागे । मनमा नयाँ आशा जागेको उनलाई भान हुन्छ । आफ्नो दुःखित जीवनमा सुख आउँछ भन्ने उनले पनि सपना देख्न लाग्छिन् । लोग्नेको उपचारमा लागेको ऋण, अझै पाँच लाख दिनु पर्ने । सबै याद आउँछ ।
छेउमा बसेर सीमाले पनि सुनिरहेकी हुन्छे । मायाले भनेको अनि आमाको अनुहारको सकारात्मक हावभाव देखेर उसलाई केही भन्न मन लाग्छ । पहिले मायातिर हेर्छे अनि भन्न लाग्छे- ‘आमा माया दिदीले मलाई एक लाख मद्दत गर्नुभयो, बाँकी दुई लाख त्यहीँ सरोगेसी अस्पतालबाट दिलाई दिनुभएको थियो ।’
लक्ष्मी झस्किन्छिन् । ‘के भन्छे यो ? तँ पनि…..?’
‘आमा, माया दिदी जसरी सरोगेट मदर भएको हैन । अविवाहितलाई गर्न पनि दिँदैन कानुनले । छोरी मान्छेमा मासिक धर्मपछि बच्चा बनिने अण्डा डोनेट गर्न मिल्दो रहेछ । कम उमेरका महिलामा अण्डाको गुणवत्ता राम्रो हुन्छ भनी सन्तान चाहिने जोडाले डिमाण्ड गर्दा रहेछन् ।
हजुरले नम्बर दिएपछि माया दिदीलाई भेट्न गएँ । मैले बाबाको उपचारबारे भनेँ । डाक्टरले अर्जेन्ट अप्रेसन गर्नु पर्छ भन्दा डर त छँदै थियो तर हातमा पैसा भने थिएन । आमालाई पैसाको बन्दोबस्त गर्छु भनेँ तर पैसा जुटाउन गाह्रो पर्यो । जति जनाले मद्दत गर्नु भयो त्यति पैसाले काम काट्ने परेन । कानका मुन्द्रा बेचेँ, फिक्स डिपोजिट अलिकति गरेको थिएँ त्यो पनि फुटाएँ ।
यति गर्दा पनि पैसा अपुग भयो । मान्छेको ज्यान भन्दा अरू केही ठुलो नहुँदो रहेछ । ती माथि आफ्नो बाबा बिरामी भएर लडेपछि छोराछोरीको मन सन्चले बस्न कसरी मान्दछ ? हाम्रो आर्थिक स्थिति बुझेर माया आन्टीले यो उपाय भन्दिनुभयो । मलाई पनि यसमा केही अनर्थ लागेन । आखिर शरीरको महिनैपिच्छे बनिने अण्डा अरूको खुसीका लागि दिँदा के हुन्छ र ? अनि यो दानले मेरो बाबाको ज्यान पनि त बाँच्ने भयो । यो सङ्कटबाट पार लाग्न मैले पनि अण्डा डोनेट गरेँ । अस्पतालले मलाई दुई लाख पैसा दियो । यही पैसाले बाबाको अप्रेसन हुन मद्दत गर्यो ।’
लक्ष्मीका गहभरि आँसु आउँछन् । छोरीको समर्पण र परिवारप्रतिको दायित्वबोध देखेर छोरीको बेस्सरी माया लाग्छ । आँसु थाम्न सकिनन् । छोरीलाई अँगालो हालेर रुन्छिन् । मायाका पनि आँखा कहाँ थामिन्थे होला र ? गरिबको प्रिय साथी भनेका यिनै आँसु त हुन् । आँसु झारेपछि दुःख कम हुने गर्छ । मन हल्का हुन्छ । अभाव र ज्यानका लागि त्याग त गर्नै पर्दो रहेछ । दुवैले नेपथ्यमा गरेको समर्पण देखेर लक्ष्मीको मन गद्गद् भइदिन्छ ।
‘माया, मलाई पनि यो काम दिलाइदेऊ । लोग्नेको उपचारका लागि मैले पनि यो कोखको सहारा नलिई नहुने रहेछ ।’
लक्ष्मीले आँसु पुछ्दै मायालाई सरोगेट मदर हुने आग्रह राख्छिन् ।
मायाले गम्भीरतासँग जवाफ दिन्छिन्- ‘केही उपाय नलाग्दा मात्र सरोगेट मदर भएको राम्रो । नानी नौ महिना कोखमा राखेर जन्मेपछि अरूलाई सुम्पिनु भनेको मुटु दान गर्नु नै हो । मैले गर्भ धारण गरेको बच्चाको अनुहारसम्म हेर्न पाइनँ । अझै पनि बिर्सिन सकेकी छैन । मन त्यसै त्यसै कटकट खान्छ । हामी आमाको वात्सल्य मनमा जुन ममता हुन्छ नि त्यो ममतामा यो सरोगेट मदर हुने चलन खल्लो लाग्छ दिदी, खल्लो लाग्छ । आखिर यो गरिबीको बाध्यताले जे गरे तापनि आफ्नो हृदयले स्वीकारेको हुँदैन ।’
मायाको कथनले लक्ष्मी निरुत्तर हुन्छिन् । अगाडि केही सोध्नु भन्दा पनि मायाका आँसु पुछ्नतिर लाग्छिन् ।
(हर्कबहादुर लामगादे ‘रोहित’को कथासंग्रह ‘रेडियोरिता’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				

 




 
																	 
																	 
																	 
																	 
																	 
																	




