मैले त्यहाँ सबैलाई उछिनेर ‘बाघ बुढो र स्याल तन्नेरी मिल्दैन’ भन्ने उखानलाई चरितार्थ गरिदिएँ । हातमा जहिले पनि आइप्याड र उइप्याड बोकेर कृत्रिम संसारमा रुमल्लिने नयाँ पुस्तालाई वर्षको कम्तीमा एक चोटि पहाड चढाउन लानुपर्छ भन्ने मेरो जिकिर छ । 

‍‍‍‍‍‍= = =

कलोराडो घुम्न आउनु भनेर आफन्तले दिएको निम्तो छँदै थियो । दोहोर्‍याई तेहेर्‍याई निम्त्याइएको थियो । तर आफूलाई न्युयोर्कको व्यस्त जीवनले छोडे पो ! ‘आः यो धपेडी कति खेप्ने ? मरेर कसले पो ठूलो भाग लगेको छ र ?’ यसरी निम्तोलाई नवीकरण र पुनर्नवीकरण गरियो, बाबु–छोरी जाने निधो भयो । अर्धाङ्गिनीलाई सानैदेखि हुने गरेको मोशन सिक्नेस् (Motion Sickness) ले अहिले पनि छोडेको छैन । त्यसमाथि कलोराडोसम्मको लामो उडान ! ‘मोज गर बाबु–छोरी’ भनेर मन अमिलो पारिन् । सबैकुरो अप्रत्याशित भएकोले जाने अघिल्लो दिनसम्म हातमा टिकट थिएन ।

cheaptickets.com मा गएर हेरेको न्युयोर्कबाट कलोराडोसम्मको पाँच घण्टे उडानको भाडा एकजनाको आतेजाते ५०० डलर लाग्दो रहेछ । भुक्तभोगीहरूले भनेअनुसार रातको १२ बजेपछि सस्ता डट कमहरूले भाडा अपडेट गर्छन् रे ! छोरी र म १२ बजेसम्म नसुती बस्यौँ । मलाई त त्यतिबेला सरदारजीको ‘१२ बजे’वाला चुट्किला सम्झेर आफैँ पो १२ बजेको पात्र भइयो भनेर मनमनै हाँसो उठेको थियो । “लौ बाबु–छोरी १२ बजाएर बस है !” भनेर श्रीमती सुत्न हिँडिन् । १२ बज्यो, छोरी र म एक–एक कुनामा बसेर किबोर्डमा सस्तो डट कम थिच्न थाल्यौँ । उडानदरमा साँच्चै नै हेरफेर भएको थियो । दिउँसो ५०० डलरमा पाइरहेको अहिले ६०० डलर भइसकेछ । बित्थामा निद्रा बिगारेर १२ बजाइएछ । यी झेली डट कमहरूले के खाएर सस्तोमा देओस् !

कलोराडोका आफन्तहरूलाई “आउँछौँ त” भनिसक्यौँ, कतै ५०० डलरको भेटिए टिकट लिऔँ भनेर छोरीसँग सल्लाह भयो । तर सस्तो डट कमले सस्तो देला भन्ने आश चाहिँ मरेको थिएन । एक–एक कप तातो चिया पिएर युद्धस्तरमा फेरि खोजियो । नभन्दै ३०० डलरको दर मिलिक्कै देखा पर्‍यो । हामीले हाम्रो क्रेडिट कार्डको नम्बर हाल्दाहाल्दै कुनचाहिँ कुहिएको हातले अघि नै फुत्काइसकेछ । अब त आशा झन् बढी पलायो र खोज्दै जाँदा ३०७ डलरको टुप्लुक्क देखिएको मात्र थियो । छोरीका औँलाहरू किबोर्डमा मकै भुटेजसरी चले, हामीले अरूलाई उछिन्यौँ र हाम्रो सदर भयो । ४०० डलर बचाएकोमा कुनै युद्ध जितेझैँ बाबु–छोरी दङ्ग परेका थियौँ ।

सुत्दावर्दा रातको दुई बजेको थियो । भोलिपल्ट ८ बजेको उडान थियो र घरबाट ६ बजे निस्किसक्नुपर्थ्यो । न्युयोर्क शहरमा यातायातको राम्रो प्रबन्ध छ । विमानस्थल जाँदा ट्याक्सी चढ्नै पर्छ भन्ने छैन । आफूसँग सामान कम छ भने भूमिगत रेल हुँदै दुई डब्बे एयर ट्रेनले जोन एफ केनेडी विमानस्थलको आफूले जान चाहेको टर्मिनलभित्रै पुर्‍याइदिन्छ । जम्माजम्मी एकजनाको ८ डलर ५० सेन्ट लाग्छ । भूमिगत ई ट्रेन चढेर अन्तिम बिसौनीभन्दा अगाडिको बिसौनीमा ओर्लिएर एयर ट्रेन लिँदै अनिँदो मुहार बोकेर बाबु–छोरी जेएफके विमानस्थल पुगेर आफ्नो टिकट नम्बर मेसिनमा हालेपछि मेसिनले नै बोर्डिङ पास दिएर ल्यायो ।

सस्तो बेहोराले पखाला लाग्छ भनेझैँ विमानभित्र हामीलाई सिट पुच्छारको पखाला झार्ने ट्वाइलेट नजिकै दिइएको थियो । विमान उडेको करिब एक घण्टापछि एक गिलास जुस र एउटा मिठाई “खाए खा, नखाए घिच्” भनेझैँ गरेर विमान परिचारिकाले दिइन् । तर सोध्ने बेलामा के–के न भएको जस्तो “तपाईं के लिन चाहनुहुन्छ ?” भनेर कृत्रिम मुस्कान छरेकी थिइन् । डेट्रोइट विमानस्थलमा ओर्लेर, गुड्ने भर्‍याङमा गुडेर, हिँड्ने भुइँमाथि सुल्किँदै डेन्भर जाने विमानभित्र छिरियो ।

यसपटक चाहिँ इकोनोमी कम्फोर्टमा (फर्स्ट क्लासको ठ्याक्कै पछाडि) हामी बाबु–छोरीलाई सिट दिएर ल्यायो । डेन्भर विमानस्थल पुगेपछि हामी दुईलाई कतिखेर आफन्तहरूले बोकेर गाडीमा बसाइसकेछन्, पत्तै भएन । डेन्भरका फराकिला र खुला सडकमा गाडी गुड्न थालेपछि बल्ल झल्याँस भएँ । दायाँबायाँ, अगाडि–पछाडि चारैतिर हेरेँ, मैले हेर्न खोजेको पर्वत देखिनँ । “खोइ पर्वत ?” अनायास भन्न पुगेँ । “विमानस्थलको छेउमा पर्वत खोजेर भेटिन्छ र ?” भनेर व्यङ्ग्य कसे । आधा घण्टाजति गुडेपछि बल्ल तुवाँलोभित्र पर्वतमालाहरू देखा परे ।

डेन्भरको समतल उपत्यकामाथि लमतन्न परेर सुतेका पर्वतमालाहरूको आकार झन्–झन् छर्लङ्गिँदै गयो । विगत आठ वर्षसम्म पर्वतमालाहरू हेर्न नपाएका मेरा आँखाहरू पर्वततर्फ एकोहोरिएका थिए, मन रमाइरहेको थियो । स्वदेशका पहाडहरू सम्झेर अतीतमा डुबुल्की मार्न पुगेँ । पर्वतको छोरो लामो अन्तरालपछि पर्वतसँग साक्षात्कार गर्दै थियो । मधेश न्युयोर्कमा पर्वत हुने कुरै भएन । न्युयोर्कको अलि माथितिर बियर माउन्टेन भन्ने छ, तर त्यो माउन्टेन नभएर थुम्को हो । कलोराडोको माउन्टेन पो माउन्टेन ! त्यस रात कलोराडोको आकाशमुनि आफन्तको घर पछाडिको घाँसे मैदानमा बसेर अलास्केली साल्मन माछा र वाइनको चुस्की लिँदै छर्लङ्ग रात कटाइएको थियो ।

भोलिपल्ट सारा घर मस्त निद्रामा भएको बेला बिरालाका चालले तल ओर्लेर बिस्तारै ढोका ढप्क्याएर बाहिर निस्केँ र घरदेखि अलिपर रहेको ढिस्कोमाथि चढेर लमतन्न परेर सुतेको पर्वतमालालाई एकटकसँग धेरै बेरसम्म हेरिरहेँ । तन कलोराडोमा भए पनि मन धरानदेखि उँभोको भेडेटार, साँगुरी भन्ज्याङ, मूलघाट, हिले डाँडा पुगेको थियो । मोटर बाटो नभएको बेला चिउरीबासको ठाडो उकाली चढ्दै साँगुरी भन्ज्याङ थुप्रै चोटि छिचोलेको छु । अनि धारापानीस्थित राई दाइको होटलको खानाको त वर्णन गरेर साध्य छैन । मोटर बाटोले ती सबै मिठासहरू भताभुङ्ग पार्‍यो ।

गगनचुम्बी सुइरे घरैघर भएको न्युयोर्क शहरमा वर्षौँवर्ष बसेको व्यक्तिलाई डेन्भर शहर के हेराइ भयो र ? त्यसमाथि म त कलोराडोमा शहर हेर्न आएकै होइन, नौला पर्वतसित परिचय गर्न पो आएको त ! आफन्तहरूलाई आफ्नो इच्छा पनि जाहेर गरेँ । पछि उनीहरूले मेरो नामै ‘पर्वते’ राखे । मेरा आफन्तकहाँ तिनतिरका पाहुना आइलागेका थिए—डेन्मार्क, अलास्का र न्युयोर्क । एकहप्ते घुम्ने तालिका जारी भइसकेको रहेछ, जसानुसार भोलिपल्टको यात्रा जलक्रीडा (Water World) थियो ।

पारिवारिक जमघट भएको हुनाले काखेदेखि किशोरसम्मका थुप्रै बालबालिकाहरू थिए । जलपार्कको अगाडि गन्ती गर्दा हामी ३० जनाको हुल पो रहेछौँ । त्यस विशाल जलक्रीडा पार्कभित्र छिर्ने शुल्क पल्टनमा भर्ना लिएको जस्तो इन्चीको हिसाबले नापेर पैसा लिइँदो रहेछ । ४०” मुनिकालाई एक रेट र ४८” माथिकालाई अर्कै रेट थियो । “लाहुरमा भर्ना हुन आएको र ? इन्चीमा नाप्न ! यत्रो पनि नापिँदैन” भन्दै देश खाइशेष भई कलोराडोका रैथाने भइसकेका मेरा आफन्तले सहुलियत दरमा ग्रुप टिकट लिएर आए । सहुलियतमा पनि प्रतिव्यक्ति ट्याक्र्याक्कै ३५ डलर लाग्यो ।

भित्र छिरेको मात्र के थियौँ, सपनैमा नदेखिएका, नचिताएका जलक्रीडाहरू देखिए : गोलाकार ट्युबमा बसेर पानी–चिप्लेटी खेलियो, सर्पाकार नालीमा जलविहार गरियो, अत्यासलाग्दो उचाइँबाट सुतुतु चिप्लेर मुनिरहेको जलकुण्डमा छ्वाप्लाङ्ग हाम्फालियो । उचालिँदै, पछारिँदै, थचारिँदै र लतारिँदै पानीका सुरुङभित्र हुइँकियौँ । कृत्रिम सामुद्रिक छालमा हेलिएर टाउको ठोकाठोक गरियो । आफूजत्रै पिचकारी बोकेर चिनेका–नचिनेका सबैका गालामा र अन्य स्थानमा पिचकारी हानियो र अरूको पनि थापियो । घोप्टो परेर, उत्तानो परेर किसिमकिसिमका चिप्ल्याउने चिजहरूमाथि बसेर सुल्कियौँ, हुइँकियौँ र बतासियौँ । जीउ नै थिलोथिलो हुनेगरी जलक्रीडामा चुर्लुम्मियौँ । रातो टु–पिस युनिफर्ममा सजिएका जलपार्कका कर्मचारीहरूले त झन् पार्कको मनमोहकतामा रौनकता प्रदान गरेका थिए । सबैजना नाङ्गै–भुतुङ्गै हिँडिदिएपछि केको लाज ! अनि लाज लाग्ने कुराहरू हरहमेशा पानीभित्रै हुने भएपछि लाज न शरम ! त्यस जलाम्य जलसंसारलाई फोटोमा मात्र हेरेर पुग्दैन, सशरीर उपस्थित भई त्यस जलकुण्डमा डुबुल्की मार्नुपर्छ, पानीसँग लाप्पा खेल्नुपर्छ, बटारिनुपर्छ, बग्नुपर्छ र पाहाजस्तै जलमाथि पछारिनुपर्छ ।

दोस्रो दिन डेन्भर शहर घुम्ने कार्यतालिका थियो । न्युयोर्क शहरका गगनचुम्बी भवनहरू हेर्दाहेर्दा वाक्कदिक्क भएको व्यक्तिलाई नाथे डेन्भर किन पो घुम्नु पर्‍यो ? बरु पहाड चढ्न जाऔँ न भनेर मसिनो बोलीमा अनुरोध गरेँ । शहरदेखि विरक्तिएका केहीले मेरो बोलीमा हो मा हो मिलाए र अन्तमा महिलाहरू शहर छिर्ने र पुरुषहरू वन छिर्ने निधो भयो । आँगै हल्का भयो । महिलाविहीन हाम्रो डफ्फा बोल्डर शहर हुँदै नजिकको पहाडतिर उक्ल्यौँ । बाटोमा एक ठाउँमा गाडी रोकेर केही बिजुलीपानी र स्न्याक्स बोक्यौँ । राति अबेरसम्म बिजुलीपानीको चुस्की लिँदै पहाडको उचाइँबाट बोल्डर शहरको दृश्यावलोकन गर्‍यौँ ।

बोल्डरको डाउनटाउन पुग्दा रातको दुई बजेको थियो । त्यो सानो शहर अझै सुतेको थिएन । हिप्पी जस्ता लाग्ने व्यक्तिहरू सडकछेउ बसी गितार र पियानो बजाइरहेका थिए । त्यहीँकै एउटा pub मा हामी छिर्‍यौँ । सबै पिइरहेका थिए, नाचिरहेका थिए, पुल खेल्दै थिए, आफ्नै संसारमा डुबुल्की मारिरहेका थिए र सबै नै मातिएका थिए । तर कसैले कसैलाई औँला ठड्याएको, अपशब्द बोलेको, झगडा गरेको ठ्याम्मै देखिएन । भर्खर १८ उक्लेका जस्ता देखिने किशोर–किशोरीहरूलाई ‘पब’हरूमा प्रशस्त देखियो । तरुना–तन्नेरी बोल्डरेलीमाझ हामी पनि अबेर रातसम्म बरालियौँ । धेरैअघि काठमाडौंको Freak Street अर्थात् झोंछेंका गल्लीहरूमा यसरी नै बरालिएको सम्झना भयो । खिल्लीको दुई रुपियाँ पर्ने विशेष चुरोट ‘बम बम भोले’ भन्दै तानेर न्युरोड गेटमा टाउको ठोक्केला भनेर टाउको निहुराएर हिँडेको र एकनासले हिँड्दा टुँडिखेलको बारमा ठोकिँदा झल्याँस भएको मीठा यादहरूले मनै रोमान्चित गराइदिएको थियो ।

तेस्रो दिन बोल्डरस्थित ‘टिबेट किचेन’ रेस्टुरेन्टमा मम र थुक्पा खाएर अपराह्नतिर हाम्रो लोग्ने मानिसको डफ्फा Rocky Mountain अवस्थित Red Rocks खुला सङ्गीत मञ्चमा गीत र सङ्गीत श्रवण गर्न उकालो हुइँकियौँ । सांगीतिक कार्यक्रमभन्दा पनि चट्टाने पर्वतमा खोपेर बनाइएको त्यस अनौठो मञ्चको बारेमा सुन्दा मनै कौतूहलले भरिएको थियो । त्यस स्थानमा छिटोभन्दा छिटो पुग्न मन व्यग्र थियो । “चट्टानमा उभिएर तिनीहरूले पहरे गीत त गाउने होला !” मनमनमा यस्तै गुन्दै थिएँ । चिच्याएर गाएको पहरे गीत आफूलाई ठ्याम्मै मन नपर्ने ! तर मलाई त्यो चट्टानमय माहोल हेर्नु थियो र चट्टानै–चट्टानले घेरिएको दर्शकदीर्घामा बसेर सङ्गीत रसास्वादन गर्ने कल्पनाले मात्र पनि मन खुल्दुलिएको थियो । करिब डेढ घण्टाको गाडी यात्रापछि हामी गन्तव्यस्थल पुग्यौँ ।

‘मेरी बास्सै !’ मैले जिन्दगीमा कहिल्यै नदेखेको, नचिताएको दृश्य म हेर्दै थिएँ : खुला आकाशमुनि दुईतिर चेप्टो परेको भीमकाय चट्टान र बीचको भिरालो भागमा सिनेमा हलमा झैँ बेन्चीहरूमाथि खचाखच श्रोता–दर्शकहरू थिए । हामी पुग्दा कार्यक्रम सुरु भइसकेको थियो । पहरे नभई कर्णप्रिय गीतहरू गाउँदै थिए । त्यस ढुङ्गे हलमा हाम्रा सिटहरू बीचतिर थिए । ‘द सिकागो एन्ड डूबी ब्रदर्स’ (The Chicago and Doobie Brothers) सांगीतिक समूहहरूले ८० दशकका लोकप्रिय गीतहरू प्रस्तुत गर्दै थिए । दर्शकदीर्घामा बसेका श्रोताहरू उनीहरूसँगै गाइरहेका थिए, हातेमालो गरेर झुमिरहेका थिए र प्रायः प्रत्येकका हात–हातमा ठूलो प्लास्टिकको गिलासमा बियर छल्किरहेका थिए । हातमा बियर नहुने त पाखे र चुइँयामा दरिने अवस्था पो थियो । हामीले पनि महँगो बियर किनेर बियरको चुस्की लिँदै सङ्गीत श्रवण गर्न थाल्यौँ ।

हाम्रै लहरमा बसेकाहरू हातेमालो गरेर दायाँबायाँ झुम्दै थिए, हामी पनि मिसियौँ । म उठेर साथीभाइ र अन्य दृश्यहरूको फोटो खिचिरहेको थिएँ । त्यतिकैमा हाम्रो पछाडि बसेकी एक चुलबुले महिलाले ‘अरूको मात्र के खिच्छौ ? खोइ लेऊ क्यामेरा ! तिम्रो पनि खिचिदिन्छु,’ भनेर मेरो हातबाट क्यामेरा लिइन् र मेरो फोटो खिचिदिइन् । (क्यामेरा फर्काउँदै) “फोटो खिचेबापत मलाई म्वाइँ खाने होइन त ?” भनेर मोरी त परक्क बटारिई । म त हक्क न बक्क भएको थिएँ । मैले अनुमान गरेको जस्तो कार्यक्रममा पहरे गीत थिएनन्, बरु सबै पुस्ताका मानिसहरूले मन पराएका कर्णप्रिय र लोकप्रिय गानाहरू गाइरहेका थिए । दर्शकहरू पनि तिनीहरूसितै गाउँदै, झुम्दै र नाच्दै थिए ।

त्यस खुला चट्टाने सङ्गीतशालाको दायाँपट्टि चट्टानलाई नै खोपेर आधुनिक शौचालय बनाइएको थियो र अलिमुनि हजारौँ हजार गाडी अट्ने पार्किङ लटहरू पनि बनाइएका थिए । अमेरिकाका अन्य सार्वजनिक ठाउँमा जस्तै महिला शौचालयका अगाडि त्यहाँ पनि लामो लाइन थियो । त्यस सङ्गीत समारोहमा तन्नेरी, अधबैँसे, बुढाबुढी सराबरी भए पनि तरुण वातावरण थियो, सङ्गीतमय थियो । त्यस विहङ्गम पर्वतलाई खोपेर प्राचीन र आधुनिकताको सम्मिश्रण गरिएको त्यस विचित्र सङ्गीतालयलाई जति प्रशंसा गरे पनि कमै हुन जान्छ । मानव दिमागको त्यस सुन्दर उपजलाई हेर्न त्यस ठाउँमा एकचोटि पाइला टेक्नै पर्छ ।

कलोराडो पुगेर त्यहाँका पर्वतहरूमा हाइकिङ गरेन भने कलोराडो जानु अर्थहीन हुन्छ भन्ने मेरो ठम्याइ छ । चौथो र पाँचौँ दिन हामीले हाइकिङमा बितायौँ । पहाडको बीचसम्म हामी गाडीमै गयौँ । बाटोमा हामीले ‘काठमाडौँ प्लाजा’ र ‘काठमाडौं रेस्टुरेन्ट’ लेखिएको एउटा घर पनि देख्यौँ । बेस क्याम्पमा पुगेर कलोराडेली गोरुको सुकुटी, आलुदम, घरमै बनाएको रोटी, नौनीघिउ हालेको नुनचिया खाएर हामी पहाड चढ्न तम्तयार भयौँ । वृद्ध, अशक्त र नानीहरू बेस क्याम्पमै बसे भने साहसीहरूको एक हुल ब्याकप्याकमा टन्न पानी बोकेर उकालो लागियो ।

शुरूमा स्याँस्याँ फ्याँफ्याँ हुने, घुँडा दुख्ने, खुट्टा दुख्ने भए पनि सुस्तरी निरन्तर हिँड्दै गएपछि त्यो दुखाइ बिस्तारै हराउँदै जान्छ । त्यसमाथि हामी गएको हाइकिङ रूटहरू त्यति भिरालो र उकालो पनि थिएनन् । जङ्गल, खोलानाला, झाडीहरूलाई छिचोल्दै हामी उक्लिँदै गयौँ । मैले त्यहाँ सबैलाई उछिनेर ‘बाघ बुढो र स्याल तन्नेरी मिल्दैन’ भन्ने उखानलाई चरितार्थ गरिदिएँ । हातमा जहिले पनि आइप्याड र उइप्याड बोकेर कृत्रिम संसारमा रुमल्लिने नयाँ पुस्तालाई वर्षको कम्तीमा एकचोटि पहाड चढाउन लानुपर्छ भन्ने मेरो जिकिर छ । पहाडी पदयात्रा गरेर चुचुरोबाट फर्किंदै गरेका वृद्ध गोरा–गोरेनीहरू र बच्चा गोरेहरू बाटामा प्रशस्त भेटिए । सानैदेखि आफ्ना सन्तानमा प्रकृतिप्रति मोह बसाउन गोरा अभिभावकहरूमा देखिएको सचेतनालाई मान्नुपर्छ, जस दिनुपर्छ ।

त्यसको ठीक विपरीत विकासोन्मुख मुलुकका अभिभावकहरू आफ्ना नानीहरूलाई एटलान्टिक सिटी र लास भेगास जस्ता ठाउँहरूमा लगेर जुवा खेल्न सिकाउँछन् । त्यस्तो अनकन्टार जङ्गल, भीर–पहरामा पनि पानीका खाली सिसीहरू फ्यालेको कहीँ देखिएन । बरु मैले नै पानी पिइसकेर खाली सिसी भुइँमा फ्यालेछु, छोरीले थपक्क टिपेर मेरो ब्याकप्याकमा राखिन् । घमाइलो दिन थियो, तर गर्मी थिएन । जतिजति माथि उक्लिँदै गयौँ, रुखपातहरू कम हुँदै गए र आखिर हामी त्यस्तो ठाउँमा पुग्यौँ, जहाँ ढुङ्गा सिवाय केही थिएन । त्यस्ता चट्टानहरूको बीचमा पनि एउटा खोल्सी बगिरहेको थियो ।

चकमन्न वातावरणमा आफ्नो पाइताला मुनि मसिनो ढुङ्गा रगडिएको आवाज सिवाय केही सुनिँदैनथ्यो । हामी चुचुरोमा नपुगे पनि चुचुरोको छेउछाउमा त पुगेकै हौँ । न इमेल, न फेसबुक, न हरहमेसा नछोड्ने हाते–फोनको भ्यारभ्यार ! कलोराडेली पर्वतमालाहरूमा क्या रमाइलो र आनन्द भएको थियो । कलोराडेलीहरूमा आफ्ना पर्वतप्रति ठूलो गर्व रहेछ । त्यसैले होला विमानस्थलमा चुच्चे पालहरू टाँगेजस्तै थुप्रै चुच्चाहरू भएको बडेमानको सेतो पाल देख्नुहुन्छ । कलोराडेली पर्वतहरूको सानमा ती त्यसरी चुच्याइएका रहेछन् । यात्रा गन्थन यहीं टुङ्गिन्छ । यो मनले एउटा नयाँ अनुभूति पाएको छ । अर्को यात्रा संस्मरणमा फेरि भेटौँला ।

आफन्तहरूले डेन्भर विमानस्थलमा जसरी स्वागत गरेका थिए, त्यसरी नै बिदाइ पनि दिए । विमानस्थलतर्फ गुडिरहेको बेला अम्बर गुरुङ को कालजयी गीत सुनेर सबैका आँखा रसाएका थिए, मन भक्कानिएका थिए । त्यस गीतको सान्दर्भिकता अझै जिउँदो र जाग्दो महसुस भयो । मनमनै उक्त गीत गुनगुनाउँदै म विमानभित्र छिर्दै थिएँ :

“नौलाख तारा उदाए
धरतीको आकाश हाँसेछ
……………………
नसम्झ आज नेपाली
सन्चैले यहाँ बाँचेको”

न्युयोर्क