लेखहरू केवल यात्रावृत्तान्त होइनन्, सूचनामूलक पनि छन् । विभिन्न देशको समाज, संस्कृति, जनजीवन र परिवेशबारे लेखकले रोचक ढङ्गले जानकारी दिएका छन् । पाठक लेखकसँगै घरबाट निस्किन्छ, बाटो हिँड्छ, दृश्य हेर्छ र पुनः घर फर्किन्छ ।
====
नेपाली साहित्यको भण्डारमा यात्रा–संस्मरणका अनेकौँ कृतिहरू थपिँदै गएका छन् । तर, अधिकांश यात्रावृत्तान्तहरू केवल बाह्य भूगोलको नापजाँच, पर्यटकीय स्थलहरूको सूचीकरण र सतही दृश्यावलोकनको सीमाभित्रै खुम्चिएका भेटिन्छन् । ती कृतिहरूले पाठकलाई ठाउँको जानकारी त दिन्छन्, तर यात्राले यात्रीको आत्मामा पारेको गहिरो छाप र रूपान्तरणको कथा भन्न प्रायः चुक्छन् । यस्तो परिवेशमा यात्रालाई केवल एउटा भौतिक विस्थापनमा सीमित नराखी यसलाई गहन आत्मसंवाद, मातृभूमिप्रतिको अगाध अनुराग र मानवीय संवेदनाको सूक्ष्म तन्तुसँग गाँस्न सक्ने कृतिहरू विरलै फेला पर्छन् ।

तीन महादेशका केही तरङ्ग
पशुपति घिमिरेको ‘तीन महादेशका केही तरङ्ग’ त्यही विरल कोटीमा पर्ने एउटा यस्तो कृति हो, जहाँ भूगोलका रेखाहरूभन्दा अनुभूतिका रङ्गहरू बढी गाढा छन् । यो पुस्तक पढ्दै जाँदा पाठकले तीन महादेशको यात्रा मात्र गर्दैन, बरु लेखकको हृदयको त्यो झ्यालबाट संसारलाई नियाल्छ, जहाँबाट देखिने दृश्यहरू केवल भौतिक हुँदैनन्—ती त भावनाले भिजाइएका र चेतनाले खारिएका हुन्छन् ।
पुस्तकका पानाहरू पल्टाउँदै जाँदा एउटा सुखद अनुभूतिको सञ्चार हुन्छ— लेखक पशुपति घिमिरे कुनै गाइड–बुकको नक्सा पछ्याउने वा पूर्वनिर्धारित योजनाको कठोर साँचोमा ढालिएका यात्रु होइनन् । उनी त आफ्नै समयको मालिक, आफ्नै खर्चको व्यवस्थापक र आफ्नै चाहनाको सारथी बनेर संसार डुल्ने एक संवेदनशील यात्री हुन् । उनले तीन महादेशका विभिन्न देशहरूको भ्रमण कुनै औपचारिक अनुशासनभित्र होइन, जीवनले जता बोलायो त्यतै बगेझैँ गरी गरेका छन् । यही स्वतन्त्र यात्राबोधले पुस्तकलाई कृत्रिमभन्दा बढी जीवन्त बनाएको छ ।
धेरैजसो नियात्राकारहरू आफ्ना अनुभवहरूलाई व्यक्तिगत र केही हदसम्म स्वकेन्द्रित राख्न रुचाउँछन् । तर, यस कृतिमा लेखकले ‘एक्लो यात्री’ को परिचयलाई त्यागेर एउटा अभिभावक, पति र पारिवारिक सदस्यको भूमिकामा आफूलाई प्रस्तुत गरेका छन् । अधिकांश यात्रामा परिवार साथ भएकाले पुस्तकका पानाहरूमा केवल ऐतिहासिक तथ्य वा भौगोलिक विवरण मात्र छैनन्, बरु त्यहाँ एउटा घरको ‘न्यानोपन’ र आत्मीयताको सुगन्ध पनि छ ।
पुर्टो रिकोको समुद्री तटमा गएर बालुवामा श्रीमतीले आफ्नो र आफ्नो श्रीमानको नाम लेख्दा पशुपति भावुक भएर कविता कोर्न थाल्छन्—
एउटा सानो पानीको झोंक्काले पनि
एउटा सानो सुस्त छालको धक्काले पनि
अथवा समुद्री हावाको बहावले पनि
सजिलै मेटिइजानेछन्
यी हाम्रा नामहरू…
युरोप र अमेरिकाजस्ता मुलुकहरूमा यात्राका क्रममा अपरिचितहरूसँग सजिलै संवाद गर्न कठिन हुने यथार्थलाई लेखकले भोगेका छन् । आत्मीय नाता गाँस्ने हाम्रो मौलिक परम्परा छ । तर, पश्चिमा सभ्यताको यो व्यस्त र औपचारिक समाजमा त्यो ‘अपरिचित आत्मीयता‘ फेला नपर्दा यात्रामा एउटा गहिरो रिक्तता महसुस हुन्छ । फलस्वरूप, उनका धेरै संवाद आफ्नै अन्तरमनसँग वा परिवारसँग केन्द्रित छन् । यही आत्मसंवादले पुस्तकलाई बाह्य यात्रा मात्र नभई अन्तर्मनको यात्रा पनि बनाइदिएको छ । नेपालका गाउँबेँसी, बाटो वा चौतारीहरूमा भेटिने जोकोहीसँग निसङ्कोच संवाद थाल्ने र क्षणभरमै एउटा
यति धेरै देश डुले पनि लेखकले आफ्नो जन्मभूमि केरावारी, मोरङ र नेपाललाई कहिल्यै बिर्सेका छैनन् । मलाई पनि दशकौँअघि एउटा वैवाहिक समारोहका क्रममा केरावारी पुग्ने अवसर प्राप्त भएको स्मरण यहाँ स्वतः जागृत हुन्छ । त्यसैले पुस्तक पढ्दा लेखकको गाउँप्रेम अझ आत्मीय लाग्यो, चिने जानेको जस्तो लाग्यो ।
विदेशी सभ्यताको चकाचौंधबीच पनि उनको चेतना नेपाली माटोसँग गाँसिएको देखिन्छ । पुस्तकका अनेक प्रसङ्गमा गाउँको सम्झना, नेपालीपनको गन्ध र मातृभूमिप्रतिको ममता सहज रूपमा प्रकट भएको छ । उदाहरणका लागि, उनी फेवातालमा डुङ्गा चढ्दा “फेवातालमा साईंली” गीत गुनगुनाउन थाल्छन् ।
घिमिरेको लेखनशैली यस कृतिको सबैभन्दा प्रभावकारी पक्ष हो । उनका शब्दहरू हतारमा खर्च गरिएका छैनन्; प्रत्येक शब्द तौलिएर, अनुभूतिले छानेर राखिएको अनुभूति हुन्छ । भाषा सरल भएर पनि साहित्यिक छ, लयात्मक भएर पनि बोझिलो छैन । कतिपय अनुच्छेदहरू पढ्दा गद्यभित्र कविता बगिरहेको भान हुन्छ ।
पुस्तकमा समेटिएका लेखहरू केवल यात्रावृत्तान्त होइनन्, सूचनामूलक पनि छन् । विभिन्न देशको समाज, संस्कृति, जनजीवन र परिवेशबारे लेखकले रोचक ढङ्गले जानकारी दिएका छन् । पाठक लेखकसँगै घरबाट निस्किन्छ, बाटो हिँड्छ, दृश्य हेर्छ र पुनः घर फर्किन्छ । यही पाठकीय सहभागिताले पुस्तकलाई विशेष बनाएको छ ।
पुस्तकको संरचना पनि आकर्षक छ । शीर्षक र उपशीर्षकहरू यति मनमोहक छन् कि पाठकलाई अर्को खण्डतर्फ सहजै डोर्याउँछन् । उपशीर्षकहरूको प्रयोगले पुस्तकलाई व्यवस्थित र पठनीय बनाएको छ । लामो यात्रा–वर्णनलाई पनि लेखकले स–साना तरङ्गहरूमा विभाजन गरिदिँदा पाठक कहिल्यै थाक्दैन ।
यद्यपि कतिपय ठाउँमा विवरण केही लम्बिएको अनुभव हुन सक्छ, तर त्यो लेखकको यात्राप्रतिको अनुरागकै स्वाभाविक परिणाम हो । त्यसले पुस्तकको सौन्दर्यलाई खासै क्षति पुर्याएको छैन ।
समग्रमा तीन महादेशका केही तरङ्ग नेपाली यात्रा–साहित्यमा उल्लेखनीय योगदान दिने कृति हो । यसले पाठकलाई विश्वदर्शन मात्र गराउँदैन, आफ्नै देश, गाउँ र संवेदनासँग पुनः भेट गराउँछ । यात्रालाई आत्मबोध र साहित्यिक अनुभूतिसँग जोडेर हेर्न चाहने पाठकका लागि यो पुस्तक निश्चय नै संग्रहणीय र पठनीय छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










