‘सम्झनाको चोमोलुङ्मा’ प्रखर युवा कवि रोशन यक्सोद्वारा लिखित कवितासंग्रह हो, जुन संग्रहलाई गत जुन २९ / २०२५  महिनाको अन्तिम आइतबार पारेर सधैं झैं हङकङ साहित्यिक साझा श्रृंखलाको मासिक कार्यक्रमको अवसर पारेर लोकार्पण गरिएको थियो ।

पहिलेदेखि कवितामा सशक्त रूपले कलम चलाउँदै आइरहेको भए पनि कृतिको रूपमा भने कवि यक्सोको यो पहिलो कृति हो ।

‘सम्झनाको चोमोलुङ्ग्मा’ समसामयिक विषयवस्तु र गहिरा भावनात्मक अभिव्यक्तिहरूले भरिएको सुन्दर कविता कृति हो । यक्सोका कविताहरूले जीवनको सूक्ष्म र जटिल तत्त्वहरूलाई उजागर गरेका छन्, जसले पाठकलाई किताब भित्रसम्म पस्न मद्दत गर्छन् ।

कविले परदेशीहरूको याद बोकेर बाँचिरहेका आमा बाबा र परिवारजन बीचको कठिन परिस्थिति र टाढा बस्नै पर्ने बाध्यतालाई ‘आमा रक’ कवितामार्फत व्यक्त गरेका छन् ।

‘निरन्तर कसैलाई पर्खनु- झन् गाह्रो

आउने / नआउने केही टुङ्गो बेगर पर्खनु-सबैभन्दा कठिन ।’

‘आमा रक’ घाम, पानी, आँधी, हुरी केही नभनी कठोर साधनारत तपस्वी झैं सदियौंदेखि आफ्नो प्रिय मान्छे पर्खिरहेछिन् । यो कविताले हाम्रो वर्तमान बोलेको छ, घरैपिच्छे कोही न कोही परदेशिएका छौं । हाम्रा पनि घरमा आमा र अन्य प्रियजनहरू पर्खाइमा तड्पिन्छिन् ।

‘आमा रक’ ले सातिन डाँडाको उचाइ थपे जसरी यो कविताले संग्रहको उचाइ थपेको छ । ‘आमा रक’ ढुङ्गाको आफ्नै कथा, व्यथा र पहिचान छ, टाढाबाट हेर्दा ठ्याक्कै मान्छेको आकृति भएको त्यस ढुङ्गाको बारेमा थुप्रै किम्बदन्तीहरू सुन्दै आइरहेको हो । चिनियाँहरू भन्ने गर्छन् उहिले, उहिले यहाँका मान्छे माछा मारेर गुजारा गर्थे । उहीं माछा मार्ने क्रममा आफ्ना श्रीमान् र छोरा माछा मार्न गएर घर नफर्केपछि ती आमाले आफ्नो श्रीमान् र छोरालाई डाँडाको टुप्पामा निस्केर तल समुद्र र बाटो हेरेर पर्खंदा पर्खंदै उनी ढुङ्गा भैगएको कथन छ । चिनिया समुदायमा प्रचलित ‘आमा रक’ कविको कवितामा प्रतीक बनेर बाँचेकी छिन् । उनलाई हेर्दा कता कता कवि मन पग्लन्छ । आँखा रसाउँछन् । कठै परदेशी हामी घर सम्झेर मन चसक्क हुन्छ, कवि याक्सो अगाडि लेख्छन्

‘अहो !

वर्षौं भैसक्यो

परिवारको खुशी किन्न

म परदेशिएको पनि,

मेरो पर्खाइमा मेरी आमा ‘आमा रक’ बन्नुअघि

फर्किन्छु अब आफ्नो देश

फर्किन्छु अब आफ्नो घर !’

प्रतीक्षा केवल समयको खेल होइन, यो मायाको अडिग प्रतिज्ञा हो,  जुन कुनै घाम-पानीले मेट्न सक्दैन ।

यसरी हङकङको सातिन डाँडामा अवस्थित ‘आमा रक’ ढुङ्गा, ढुङ्गा भैकन पनि हामी सबै परदेशीहरूको वर्तमान बोलेको छ । कविताले विशेष गरेर हङकङको रमझममा भुलेर घर बिर्सनेहरूलाई देश, घर, परिवारजन र कर्तव्य सम्झाएको छ । यो कविता पढ्दै गर्दा चर्चित नेपाली उखान “बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड” याद आउँछ ।

जहाँ रवि पुग्दैन त्यहाँ  कवि पुग्छ भन्ने भनाइलाई चरितार्थ गर्दै रोशन यक्सो अर्को कविता लेख्छन् ।

एउटा शिल्पकारको हातमा परेको पत्थर भन्दै थियो-

मैले खपिन भने छिनोको मार,

मैले सहिन भने बेस्सरी चोट,

कसरी बन्न सक्छु त एउटा अजर अमर कृति ?

कसरी बन्न सक्छु त एउटा सुन्दर मूर्ति ?

हाम्रो जीवन पनि एक ढुङ्गै त हो बिस्तारै समयले ठोक्दै, गाल्दै, छिल्दै एक परिपक्व मान्छे बनाउँछ । अनेक चोट सहँदै, हन्डर र ठक्कर खाँदै अन्ततोगत्वा घर परिवार के के भन्दै जिन्दगी बिताउँछौं ।  ढुङ्गाले झैं चोट खपेर सुन्दर भविष्यको खोजीमा संसार चहार्ने हामी र हाम्रा पीडाहरू बोले झैँ लाग्छ यहाँ ढुङ्गाले । कवि चेतनाले ढुङ्गालाई बिम्ब बनाई विभिन्न खालका कविता जन्माउन सक्छन् ।

ढुङ्गा के हो र ? केही होइन, तर कवि मनले ढुङ्गामै अनेक देख्छ । हुन त मानव इतिहासमा ढुङ्गे युग सभ्यतासँग ढुङ्गाको निक्कै गहिरो नाता जोडिएको पाइन्छ । उहिलेदेखि अहिलेसम्म मानव जीवनमा ढुङ्गा कुनै न कुनै रूपले उपस्थित भैरहेको नै हुन्छ ।

पेज १९ को  ‘त्याग’ शीर्षकमा समेटिएको कविताको यो छोटो अंश पढ्दा संग्रहले प्रेम, त्याग, संघर्ष, र आशा जस्ता भावनाहरूलाई स्पर्श गरेको महसूस हुन्छ । कविताले मलाई भने निक्कै छोयो ।

किताबभित्र लामो छोटो गरी विभिन्न शीर्षकमा ४० ओटा कविताहरू रहेका छन् । तीमध्ये नारीवादी भाव बोकेका दुई कविता छन् ‘छुन नहुने रगत’ र ‘समाज’ । ती कविता मर्मस्पर्शी छन् ।

नौ महिना तिमीलाई गर्भमा हुर्काएँ-बढाएँ

अनि पो जन्मियौ तिमी यस धर्तीमा

दश धारा दूध चुसाएँ-खुवाएँ अनि पो देख्न पायौ संसार ।

तर एक दिन

तिमी मेरो सामु आएर भन्यौ

आज तिमीले पकाएको खान्न आमा

तिमी नछुने भा’की छौ ।

तिमीलाई हुर्काउँदा-बढाउँदा

जीवन जगत् पढाउँदा

छोरा !

मैले त बुझाउनै बिर्सिएछु

तिम्रो नसा नसामा हरपल

यही छुन नहुने रगत बग्छ ।’

यस कविताले सिङ्गो पितृअहम् माथि प्रश्न उठाउँदै, नारीहरूमा हुने प्राकृतिक महिनावारीसँग मानव सृष्टिको कति गहिरो सम्बन्ध हुन्छ भन्ने कुरालाई उद्धृत गरेको छ । महिलाहरूमा नछुने हुनु प्राकृतिक हो, बिना रजस्वला नारीबाट सृष्टि हुँदैन । समग्रमा कविताले समाजभित्र चलिआएको अन्धविश्वास, आमाको स्नेह र छोराको स्वतन्त्रता बीचको द्वन्द्वलाई चित्रण गरेको छ । हुन त अहिले समाज परिवर्तन तर्फ उन्मुख छ, यस विषयमा धेरैले कलम चलाइसकेका छन् । यै विषयमा लेखिएको राधा पौडेलको उपन्यास ‘अपवित्र रगत’ ले मदन पुरस्कार समेत प्राप्त गरिसकेको छ । त्यसैले यो विषय नयाँ त होइन तर कविको प्रस्तुति नयाँ लाग्यो ।

त्यस प्रकारको अर्को कविता छ – ‘समाज’

रातभर मेरो जवानीको रस चुस्ने

मेरा अङ्गभङ्गमा गिद्धे नंग्रा गाड्ने !

बिहान जब मन्दिरमा पूजा सुरु हुन्छ

मलाई वेश्याको पगरी गुथाउने ?

यस कविताले समाज र समुदाय बीचको भेदभाव माथि प्रश्न उठाएको छ । त्यति मात्र हैन, समयले २१ औं शताब्दीमा पुगेर नयाँ रूप फेरे पनि मान्छेले सोच बदल्न सकेका छैनन् भन्ने कुरो कवितामार्फत दर्शाउँदै चलिआएको पितृसत्तात्मक सोच र शिक्षा प्रणालीप्रति असन्तोष व्यक्त गरेको छ । ‘वेश्या’ भन्ने शब्दले व्यक्तित्व र समाजमा चल्ने गरेका विभिन्न खाले विभेदलाई प्रकट गर्दै नारी ‘स्वतन्त्रता’ र ‘अधिकार’ को खोजी गरको छ । वास्तवमा दुवै कविताले हामी सम्पूर्ण नारीहरूको  प्रतिनिधि गर्दै पुरुषप्रधान समाजमाथि धावा बोलेका छन् । समाज परिवर्तनमा साहित्यकारहरू यसरी नै लागिरहनु पर्छ । भाइलाई धन्यवाद सन्देशमूलक नारीवादी दुई कविताका निम्ति ।

त्यसैगरी ‘देशको नक्सामा गायब अनुहार’ शीर्षकको कविताले एक गहन सामाजिक-सांस्कृतिक विचार मात्र प्रस्तुत गर्दैन, कविताले पहिचानको मुद्दामा आवाज उठाउँदै समाजमा व्याप्त असमानता र प्रशासनिक चक्रको गहिरो खेद प्रकट गर्दै आलोचना समेत गरेको छ । कविले आफ्नो थाकथालो श्रृंगार्ने अथवा दश नंग्रा खियाएर बस्ती बसाल्ने पुर्खाहरूको कथा व्यथा  खोजिरहेछ । उनी इतिहासका हरेक पृष्ठहरूमा मात्र सामन्तकालीन राजा-महाराजाहरूको गाथा हेर्न तयार छैनन् । तिनीहरूले भन्दा धेरै कष्ट खपेर पहाडका चट्टान फोरेर मानव सभ्यताको इतिहास उभाउने पुर्खाहरूको इतिहास लेखाउन चाहन्छन् । यो कविताका हरेक हरफले फरक फरक विषयमा आवाज उठाएका छन् । र अर्को बलियो पक्ष युवा वर्गलाई आफ्नो मौलिक संस्कार संस्कृति माथि ध्यानाकर्षण गराउँदै अबको समयमा परिवर्तन जरूरी रहेकोले त्यसतर्फ पनि इच्छाशक्ति बढाउन आग्रह गरेको छ ।

अर्को ‘आफ्नै अस्तित्व मेटेर’ शीर्षकको कविता पनि एकदम दमदार लाग्यो ।

फूलतरुल घारीमा सुँगुर नाचेझैं नाच्दै नाच्दै आइपुग्छ भ्याकु उधिनी पठाउँछ-

पाटी-पौवा, चौतारा, पुर्खाको चिहान

र माङ्गगेना यक,

बडो उत्सुकताका साथ्

झ्याम्मिएर भाकुवरिपरि

को हुन् ‘विकास ! विकास !’ भन्दै खुसी मनाउने ?

यस कविताको शुरूवातमा जुन ‘फूलतरुल घारीमा सुँगुर नाचेझैं’ भन्ने हरफले प्राकृतिक सुन्दरता दर्शाउँछ । उहिले गाउँमा हुँदा सारै फूल तरुल रोपिन्थ्यो, घर पालुवा सुँगुर त होइन वनको बँदेल चाहिं निस्केर रातभर उधिनेर बरबाद पार्थ्यो । कविताले ती दिनहरू सम्झाएर आनन्दित तुल्यायो, जजसले गाउँमा बाल्यकाल बिताएका छन् उनीहरूलाई यो कविताले नोस्टाल्जिक बनाउँछ । तर लगत्तै भ्याकु नाच्दै नाच्दै आएर हाम्रा पाटी-पौवा, चौतारा, पुर्खाका चिहान र माङ्गगेना यकहरू भत्काई पठाउँदाको पलहरूले निराश पनि बनाउँछ । साँच्ची उहिल्यै गाउँमा भएका ती सुन्दर पाटी-पौवा, धारा, कुवा र भारी बिसाएर थकाइ मार्ने ती चौताराहरू कस्ता भए होलान् । कि साँच्चै रोशन भाइले कवितामा लेखे जसरी भ्याकुले उधिनी पठायो होला त ? गाउँघरको याद र मायाले स्तब्ध बनाउँछ एकछिन ।

कविको लेखनशैली सहज र प्रवाहमय छ । कविताका प्रवाहलाई सामाजिक, राजनैतिक र प्राकृतिक तरिकाले समेट्न सक्षम छन् । युवा कविभित्र राजनीति चेत प्रखर देखिन्छ जुन हुनु

जरूरी पनि छ, अहिले देशमा देश हाँक्ने र घर रुङ्ने सबै वृद्धवृद्धा मात्र भए । युवाहरू हुर्किन पाको छैन विदेशिन हतारमा हुन्छन् । युवा पलायन हुनुको मुख्य कारण बेरोजगारी समस्या नै हो ।

यस संग्रहमा भाइले आफ्ना व्यक्तिगत अनुभूतिहरूलाई काव्यमा प्रस्तुत गरेका छन् । हरेक कवितामा एक प्रकारको आत्मीयता र चेतनामूलक अभिव्यक्ति पाइन्छ । कविता पढ्दै गर्दा पाठकहरूले आफ्नै आत्मानुभूति र सम्झनामा सररर बहँदै सार्वभौमिकता तर्फ लम्किरहेको महसूस गर्नेछन् ।

रोशनजीको कवितामा समसामयिक राजनैतिक र सामाजिक मुद्दाहरू उल्लेख गरिएको छ । उनले समाजको संघर्ष, जटिलता र परिवर्तनहरूको चित्रण गर्दै आफूलाई अभिव्यक्त गर्न सक्षम भएका छन् । यसले कवितालाई मात्र साहित्यिक अभिव्यक्तिमा सीमित राख्दैन, बरु यसलाई सामाजिक जेनरेटिसको रूपमा प्रस्तुत गर्दछ ।

समग्रमा सम्झनाको चोमोलुङ्मा’ रोशन भाइको प्रभावशाली कृति हो, जसले कविताको माध्यमबाट जीवनका अनेकौं रङहरूलाई उजागर गरेको छ । यो पुस्तक केवल नेपाली कविता प्रेमीहरूका लागि मात्र होइन, बरु सम्पूर्ण साहित्य प्रेमीहरूको लागि एक अनमोल उपहार हो । यसले जीवनका मीठा र कटु अनुभवहरूलाई उत्कृष्ट किसिमले प्रस्तुत गरेको पाएँ । रोशन भाइको यो संग्रह भविष्यका लागि एउटा प्रेरणा र सन्देशको रूपमा रहिरहनेछ ।

रोशन भाइ र मेरो साधारण चिनजान म बेलायत हुँदै सामाजिक सञ्जाल मार्फत भएको थियो । टाढा बसेर एक अर्काको सृजनामाथि समीक्षा गर्ने गर्थ्यौं । उति बेलैदेखि म भन्थें, “भाइ संग्रह निकाल्ने विचार मनमा हुर्काउँदै गर्नुस् है ?”

“खोइ दिदी अहिलेलाई केही सोच छैन भविष्यमा हेरौं !” भाइको जवाफ सधैं यस्तै हुन्थ्यो ।

आज भाइको त्यो भविष्य फलले भरिएको वृक्ष झैं सुन्दर कविताहरूले भरिएर निहुरिएको छ । कविलाई बधाइ तथा शुभकामना !