गजलकार दीपा घिमिरे लामो समयदेखि जापानमा प्रवासी जीवन बिताइरहेकी गजलकार हुन् । गुल्मी जिल्लामा जन्मिएकी घिमिरे हाल जापानको टोकियोमा पति र एक सन्तानको साथमा बस्दै आइरहेकी छिन् । स्कुले जीवनदेखि नै नेपाली साहित्यमा विशेष रुचि राख्ने घिमिरेलाई समयको नदीले बगाउँदै बगाउँदै प्रशान्त महासागर किनारमा ल्याएर छोडिदियो । तथापि उनमा भएको साहित्यिक हुटहुटी टोकियो आसपास आयोजना भइरहने साहित्यिक जमघटहरूमा पोखिइरहन्छ । लामो समयदेखि अनेसास जापानमा आबद्ध रहेकी दीपा घिमिरे मूलतः गजलमा कलम चलाउँछिन् र सँगै कविता लेखनमा पनि उस्तै रुचि राख्छिन् ।
उनी संवेदनशील गजलकार हुन् । उनी जीवनमुखी र पारिवारिक सामाजिक मूल्यप्रति प्रतिबद्ध स्रष्टा हुन् । उनका गजलहरूमा मानवीय सहअस्तित्व, मातृत्वको भावना, सम्बन्धको महत्त्व र जीवनसंघर्षका अभिव्यक्तिहरू प्रमुख रूपमा अभिव्यक्त भएका हुन्छन् । जीवन र संघर्षलाई सकारात्मक दृष्टिकोणबाट प्रस्तुत गर्नु उनको मूल प्रवृत्ति देखिन्छ । सरल र सहज भाषा शैलीका साथ गजल लेखनको अभ्यास गरिरहेकी गजलकार दीपा घिमिरेका तीन गजल आजको मुगलानी चराको अङ्क १७ मा प्रस्तुत गरेका छौँ ।
गजल १.
बन्छ निकै सुन्दर एक फूलबारी
जहाँ मिली बस्छन् पुरुष र नारी
सही दुःख कष्ट मिल्छ बग्न सँगै
किन हुनुपर्यो खोला वारि-पारि
आफैँमा छ पूर्ण जगत् संरचना
बाँच्छन् कोही हाँसी कोही आँसु झारी
मिल्दैन र खेल्न केही खेल यस्तो ?
बनून् सब बिजेता कसैले नहारी ॥
गजल २.
सुन्दर सोँचे पो जीवन पनि सुन्दर हुन्छ ।
दुःख सुख जीवन हो यो त निरन्तर हुन्छ
बच्चा सानै छ बल्ल महसूस गर्दै छु जिन्दगीको
आमा हुँ बच्चालाई दुख्दा मुटुमा असर हुन्छ ।
तरकारी लिन गएकी छोरी कहिल्यै फर्किन
बेहोसी आमाको सधैँ घर बाहिर नजर हुन्छ
पराईले त पटक पटक बचाउँछन्, उठाउँछन्
पछार्छन् जोगिनुस् आफ्नासँग धेरै डर हुन्छ
अरू केही चाहिँदैन बूढा बा आमालाई
सन्तानको मीठो बोली वचनको रहर हुन्छ॥
गजल ३.
आमालाई हेरेर सिकेकी हुँ जीवन कसरी बिताउनु पर्छ ।
जहाँ आफै रित्तिएर भए पनि भरिलो देखाउनु पर्छ ।
समय हो समयले राम्रैसँग चिनायो आफ्नाहरूलाई
यहाँ माया र सम्बन्ध जोगाउन पैसा कमाउनु पर्छ ।
चोटै चोटले धारिलो बने जस्तै हो यो जिन्दगी पनि
आफूलाई कस्तो बनाउने हो आफैँले बनाउनु पर्छ ।
मुटुमा छ देश आँखामा छन् सपना मनमा छ माया
यो सबै सम्झिदा सम्झिदै पनि परदेशमा हराउनु पर्छ ।
जिन्दगी टुट्नु, फुट्नु, गल्नु र लड्नु मात्रै होइर रैछ।
साँचेर राखेका कयौँ सपनाहरूलाई जलाउनु पर्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२५ फाल्गुन २०८२, सोमबार 










