कवि विक्रम सुब्बाको “प्रणयतत्व” कविता पढिसकेपछि प्रोफेसर कृष्ण गौतम, प्रोफेसर माधवप्रसाद पोख्रेल र प्रोफेसर कृष्णचन्द्र शर्मा र शरदच्चन्द्र वस्तीलाई सम्झें । एकपटक यी विद्वानहरूसँग बसेर यो कवितामाथि विमर्श गर्न पाए यसको उचाइ र सार्थकताबारे सम्यक् बोध हुन सक्थ्यो कि भन्ने ठानें । रचनाको गलत बोध हुने या बोध हुनै नसक्ने स्थितिबाट आफूलाई जोगाउन सकिन्थ्यो भन्ने मनको छहारीको खोजी पनि हो यो । किन्तु असंगत र अमंगलकर विचार चाहिं होइन । विक्रमको ‘प्रणयतत्व’ले यस्तो खालको प्राज्ञिक–विमर्श बैठकको माग गर्दछ र यस्को अधिकार पनि राख्तछ। यो मेरो धारणा हो ।

योगी नरहरिनाथ रहेका भए विक्रमको यो कविता च्यापेर त्यहाँ पनि पुग्थें । पण्डितराज सोमनाथ सिग्देल, महाकवि देवकोटा, बदरीनाथ भट्टराई अथवा बालकृष्ण सम, जगदीश शमशेर र माधव घिमिरे समक्ष पनि पुग्ने थिएँ । यदुनाथ खनालको व्यस्तताले मलाई नै संयमित हुन विवश पार्थ्यो होला । हिजोको युगमा यस्तै खालका पाण्डित्यपूर्ण रचना भेटिन्थे । खड्गबध्द–चक्रबध्द कविताहरूको अभाव पनि थिएन । श्लेष, यमक र ध्वनिबाटै दुरूह देखिन्थे कविताहरू । आज अलिकति फरक छ । यसै बाटोमा भेटिन्छन् विक्रम सुब्बा किन्तु विषयको वस्तुगत वर्गीकरण, तात्पर्यबोध र अवलोकन पृथक छ ।

साहित्यको डबली फराकिलो पनि छ, उदार पनि छ । त्यसैले पूर्वीय जगतमा साहित्य (काव्य) को परिभाषा गर्न गैर साहित्यका विद्वानहरू पनि पुगे । भिन्नभिन्न मत राखेर तिनले कालजयी मान्यता स्थापित गरे । अनेक वाद, विवाद, प्रतिवादपछि निकालिएका निष्कर्ष शक्तिशाली देखिंदै गए । यसको प्रभाव साहित्य संसदमा पर्यो, त्यसपछि अनेक चिन्तन र विधिमा सिर्जना देखिंदै गए । यो एक सुन्दर पक्ष भो ।

अर्को, भरतको रससूत्रको व्याख्या गर्न अनेक क्षेत्रका मूर्ध्दन्य मनीषीहरु उपस्थित भए । ‘निष्पत्ति’ माथि गहन मन्थन चल्यो । नाट्य विधाको परिप्रेक्ष्यमा आज पनि यसको महत्व छ । अरस्तू (एरिस्टोटल) को ‘विरेचन’ सिध्दान्तमाथि पनि विशद व्याख्यान चल्यो । साहित्य क्षेत्रको यो प्रक्रिया सदैव आदरणीय रह्यो र चिन्तन पनि । किन्तु पुरानो र अनुपयोगी ठानेर बेवास्त्ता गर्ने वा नबुझेर उपेक्षा गर्ने काम नभएको पनि होइन । विधा संमिश्रणका दृष्टिले पनि साहित्यको उच्च महिमा छ । स्थूल अर्थमा एउटा विधामा अर्को विधाको प्रवेश भएपछि खत्री विधाको निर्माण भएको ठानिन्छ । यो अत्यन्त पुरानो विधि–प्रवृत्ति हो । पछि विधा संमिश्रण भनिएको हो । नाट्य विधा र चम्पूबाट सुन्दर नमूना र इतिहास डोहोर्याउन सकिन्छ ।

आत्मालाप, एकल संवाद, आकाश भाषण जस्ता विधि वा प्रवृत्तिले प्रचुर विकास लिएको छ । यसबाट पनि विधि र विषयको मिश्रण भएको प्रमाण मिल्छ । साहित्य (काव्य)को अध्ययनका सिलसिलामा कवि विक्रम सुब्बाका काव्य प्रवृत्ति सम्झन यस्ता अनेक नदीलाई जङ्घार तरेर पार गर्नुपर्ने हुन्छ, त्यसैले दरै तिघ्रा चाहिन्छ किनभने यस्ता प्रवृत्ति भावगत र अमूर्त पनि छन् । विक्रमका कवितामा निमज्जन गर्ने दुवाली निर्माणको यत्न हो यो ।

छुट्न खोजेका प्रसंगको धागो समाऔं– काव्य–साधनामा कवि जब एकाग्र हुन्छ ऊ आफ्नो अभिव्यक्ति वा भनाइलाई पुष्टि गर्न कतैबाट कुनै पनि सामग्री लिन पुग्छ । ऊ ब्रह्माण्डको कुनै पनि वस्तुसँग खेल्न, रमाउन र टिप्न सक्छ । यस्तो स्थितिमा ऊ स्वतन्त्र (आजाद) हुन्छ र शक्तिशाली देखिन्छ, उसको चेतना र बौध्दिक स्तर उन्नत र ठोस (सारगर्भित) रहन्छ । कवि विक्रमको यो काव्य ‘प्रणयतत्व’ यस्तै एउटा अनुपम दृष्टान्त मध्ये एक हो । शरीरमा प्रवाहित पाँच तत्व प्रणय व्यापरका उपकारक र आधार भएका छन् । बोधको संकेत आज नौलो र पृथक् लाग्छ ।

‘छायावाद’ हिन्दी साहित्यको आधुनिक कालको तेस्रो चरणको वाद हो । यो अत्यन्त उपलब्धिपूर्ण रह्यो । यसले कयौं विषय र प्रवृत्ति समेट्यो र सारगर्भित देखियो । फलतः छायावाद युग विशिष्ट पहिचानका साथ स्थापित भएर ऐतिहासिक गरिमा लिन पुग्यो । यहाँनिर एकदुई वाक्यमा भनौँ– ‘छाया’ र ‘माया’ दर्शन क्षेत्रका शब्द हुन् । काव्यमा शास्त्रलाई अन्तर्गर्भित गराएर लेख्ने कविहरू छायावादी भए अर्थात् छाया र साहित्य यी पृथक तत्व हुन् किन्तु छाया तत्वलाई साहित्यमा स्थापित गरेर देखाउने शक्ति ती कविमा देखियो र ती छायावादी मानिए । छायावादी काव्य अनेक प्रवृत्तिमा प्रवाहित छ । विक्रम सुब्बाका कविताको पठन पनि विना दार्शनिक चिन्तन र विना दृष्टि अपूर्ण नै होला कि भन्छु ।

साहित्यको प्राङ्गण खुला र निर्वाध भएको हुँदा स्रष्टा जुनसुकै पात्र, विषय, प्रवृत्ति र भूगोललाई समेट्न सक्छ । सागरमा पुग्ने नदीहरू सागरकै रङ्ग र स्वरुपमा परिणत हुन्छन् । भनौँ ज्योतिष, तन्त्र, दर्शन, वनौषधि, विज्ञान, मनोविज्ञान संगीत, कला, चित्र आदि विषयमा काव्य लेखिन सक्छ या तिनलाई आंशिक रूपले ग्रहण गरेर आलंकारिक शैलीमा पनि काव्य–बन्धन सुस्पष्ट पार्न सकिन्छ । यो हाम्रो आफ्नै प्राचीन परम्परा हो ।

कवि विक्रम सुब्बाले शरीरको भौतिक संरचनालाई प्रणयतत्व मार्फत् विघटन गरेर संझाएका छन् । कुन उपकरण (तत्व) कुन रूपमा रहेको छ र त्यसको कार्य र स्वरुपबारे वस्तुपरक दृष्टिले अध्ययन गर्दछन् । कवि शिरोमणि लेखनाथले कतै र महाकवि देवकोटाले कतै तर पृथक पृथक मार्गबाट हेरे, पृथक् भागलाई | यहाँ विक्रमको हेराइ बिल्कुल फरक छ । एउटा शरीर विज्ञानको शल्यक्रियाको हेराइ जस्तो छ । किन्तु अवस्तुको शल्यक्रिया त मानसिक नै हुन्छ बाँकीको मूर्त–वस्तुगत ।

सुब्बाले आफ्ना काव्यले ग्रहण गरेका तत्वहरूको परिचय पनि दिएका छन् । यी तत्वले ईश्वरतत्वको प्रतिनिधित्व गर्दछन् भन्ने मेरो पनि धारणा छ । किनकि ईश्वरतत्व अगोचर, अक्षर, व्यापक, अखण्ड र सार्वकालिक भएको हुँदा पृथ्वी, अप, तेज, वायु र आकाश (मूर्त–अमूर्त) बाट प्रतिनिधित्व गराएर आफ्नो उपस्थिति जनाउँछ भन्ने गरिन्छ । ईश्वरतत्व महान् हुनाले अल्पज्ञानी मानवको चेतनाले सम्पूर्णभावले त्यसको बोध लिन सक्तैन, बुझे जतिबाट चित्त बुझाउनुपर्छ । म पनि वेला वेला यसै भन्छु – यिनै ५ तत्वलाई जीवनका प्रमुख कारक मान्छु । तर विक्रमले प्रणयतत्वसँग जोडे । मीठो छ ।

कवि विक्रम सुब्बा गहन तत्वलाई कविता बनाएर हिँड्छन्, शरीरमा विद्यमान रहेका तत्वलाई शक्तिको भावले चिनाउँछन् | भनौँ, शरीरको अन्त्यपछि ती तत्वहरू आ-आफ्नै ढंगले तिरोहित हुन्छन्, छोड्छन् वा फर्कन्छन् भनेर सूचना दिन चाहन्छन् | यथार्थतः यी सबै प्रकृतितत्व हुन्, यिनको व्याख्यामा शरीर विज्ञान, प्रकृतिविज्ञान र हाम्रो मनोविज्ञानका परम्परागत पृष्ठभूमिलाई सम्झाउने यत्न छ । भनौँ, शरीर विज्ञानको साहित्यिक वा प्रेममय पठन हो प्रणयतत्व ।

विषय नयाँ होइन, अवलोकन, बोध र व्याख्या अवश्य नयाँ हो । यो काव्यको विषय बन्न सकेको थिएन, त्यसैले यो यत्न नौलो लाग्छ । विषय गहन पनि हो, महान् पनि हो र पूर्ण रहेर पनि अपूर्ण नै रहने हो । यस्तो विषयलाई जुन शैली र जस्ता विधिले काव्यमा विधान गरिएको छ, त्यो आफैंमा महत्वको छ । परम्परागत धारणालाई नवीन र वस्तुगत ढंगले सम्झेर पाठकलाई स्वादु परिकार पस्केझैं गर्नु विशेष चेतना, लगन र साधनाको परिणाम हो प्रणयतत्व भन्ने ठानेके छु ।

कविताले प्रणयतत्वको भाव पक्षलाई मात्र हेर्यो (दार्शनिक, रुढ विचार छोडेर) भने कविको दृष्टि र चेतनासँग झुम्मिन आउने मनीषायुक्त युवतीहरूको लर्को लाग्ने थियो । पहिलो कुरा, तिनले यसभित्रको कवित्व कि कवित्व भित्रको तत्ववोध लिने ? प्रश्न र संशय यहाँ पनि छ । त के प्रमदाहरू अब ज्ञानीका पछाडि लाग्लान त ? चिन्तन केमा होला ?

 प्रश्न शेष अझै छ – प्रणयचाँहि शरीरसँग छ ? शरीरमा बसेर चलायमान रहने ती तत्वसँग पनि छ, तिनको सत्ता (अस्तित्व) र स्वभाव (प्रकृति)सँग पनि छ,अनि विग्रहमा जाने स्वभाविक प्रवृतिसँग छ ? कसरी सम्झनु ? अथवा यो कुरा पढाउने गुरु कवि–द्रष्टासँग छ ? या उसको बौध्दिक स्थितिसँग छ ? कि मात्रै कवितासँग ? कतै कविले पाठकको खोजी वा माग गरेका त हैनन् ? कि कविताले नै पाठकको चयन गर्नु पर्ने हो ? पाठशाला के भन्छ ? अपेक्षित उत्तर के हुनसक्छ ? कोबाट मिल्छ ?

मलाई संशय भो कतै यस्तो काव्य लेख्ने तापस ऋषिबाट प्रमदा प्रेयसीहरु उल्टो बाटो त फर्कने होइनन् ? त्यसो भए के तापस, साधक वा योगीहरू रसमय हुँदैनन् ? अनि यस्तालाई विनयभावले आत्मीय बनाउने रसवती अग्रसर हुँदैनन् भने के अब उप्रान्त ‘प्रणयतत्व’ जस्ता काव्य – कविता नलेख्नु ?

मेरो विश्वास बोल्छ– कवि विक्रम सुब्बाको काव्य बुझ्ने प्रणयिनीको कमी छैन आजको प्रबुध्द समाजमा । बस संवादको मुहूर्त जुर्नुपर्छ ।

काव्य रचना मीठो छ । भाव अनुसार काव्य–बन्ध र पूर्णताले आकर्षण थपेको छ । थोरै शब्दमा गहन विषयको भावमय अभिव्यक्तिले प्रणयको स्थितिलाई उच्च स्थान दिएर चुल्याएको छ । प्रणयकर्मीहरू लाभान्वित हुन सकून् । जीवनमा मिठास थपिने होला ।

यो विस्तारित पाद टिप्पणी सहितको बौध्दिक कविता, यसको पठन आज यहीं टुँग्याउँ । झन्नै निर्विषय जस्तो ठानेर काव्य क्षेत्रबाट बिर्सिन बिर्सन लागेको विषय (पञ्चभूत = पृथ्वी, पानी, तेज (प्रकाश) वायु र आकाश) लाई प्रेममा घोलेर मानव शरीरमा संचारित गर्ने प्रविधि–व्याख्या र दृष्टिकोण परवर्ती काव्य-सर्जकका लागि प्रेरक बन्न सकोस् । शुभकामना !

 

प्रणयतत्व 

                                                                                                        – विक्रम सुब्बा

थाहा छ, अब छिट्टै मर्दैछु
म मरेपछि
यो ज्यानको ‘पृथ्वी’ तत्वका परमाणुहरू
छरेर उर्वर बनाउनुछ बगैँचा तिम्रो
र प्रणय दिवशका दिन, तिम्रै लागि
हाँगामा गुलाफी-गुलाफी मुस्कुराउनुछ |

मृत्युपछि म भित्रको ‘जल’ तत्वका वाफहरू
घोलेर रोमान्टिक छाँगा-छहरासँग नाच्दै झर्नेछु
त्रीशुली गंगाको दोभान कुइनेटोमा
रह-दहको अँगालो खोलेर स्वागत गर्नेछु, तिमी  
मेरो मायाको सङलो जलमा निथ्रुक्कै पौडिनु
तिम्रा हर अंगका घेराहरू औँलाले छोएर
सुमधुर प्रेमको जलतरंग बजाउँनुछ ।

मरणपछि मभित्रको ‘वायु’तत्वलाई
हुलेर तिम्रो सप्तरंगी आभामण्डलमा
अक्सिजनका मलिक्युलहरू मिसाउँनुछ
र चुपचाप पलपल स्वासप्रस्वास हस्ते, तिम्रा
हरेक लम्बाई-चौडाइमा प्राण भएर सल्बलाउँनुछ ।

नश्वर ज्यान त्यागेपछि मेरो ‘अग्नी’ तत्वलाई
मिसाएर सूर्य-तेज किरणमा झुल्किनुछ, र
हरेक जिउँदो रक्तकणको गोठालो भएर, तिम्रा
तन्तुहरूमा नित्य न्यानो-मायाको दीयो बाल्नुछ ।

यो जुनी छोडेपछि मेरो ‘आकाश’ तत्वलाई
तिम्रै शयन कक्षको अन्तरिक्षमा टाँग्नुछ
जसको आयतनभरि हर रात
प्रणय-प्रेमको धून बनेर आकाशवाणी गरिरहनुछ
जसको लय र सुर-तालमा समर्पित भएर, हाम्रा
ढुकढुकीले खुशीको सरगम हर साँझ गाउँनुछ

जुनी फेरेपनि मेरा सबै अनमोल तत्वहरू
तिम्रै अमनचयन खातिर खर्च-खपत गर्न सकुँ
जति पटक मरेपनि पुन: तरो-ताजा जुनी लिन
तिम्रो हृदयमा जरा हालेर खुरुखुरु सर्न सकुँ ।

 

पृथ्वी – मानव शरिरमा निहित ‘पृथ्वीतत्व’: शिरको केश, जीउका भुत्ला, नङहरू, दाँत, छाला, मांसपेशी, स्नायु, हड्डी, शरिरका अंगहरू, आन्द्रामा रहेका बस्तु, आदि पृथ्वी तत्व हुन् । मानिसको मृत्युपछि यी सबै फेरि (जलाए) खरानीका रुपमा वा (चिहानमा गाडे) कुहिएर पृथ्वीमा मिस्सिन   पुग्छन् ।

जल – मानव शरिरमा निहित ‘जलतत्व’: पित्त, कफ, खकार, थुक, पीप, रगत, बोसो, आँशु, पसिना, सिँगान, पिशाव, आदि जलतत्व हुन् । यी सबै तत्वहरू मानिसको मृत्युपछि (जलाए वा गाडे पनि) वाफ भएर फेरि पानीमा परिणत भएर जलमै मिस्सिन जान्छन् ।  

वायु  – मानव शरिरमा निहित ‘वायुतत्व’: स्वास-प्रस्वास, आन्द्राको वायु, डकार, आदि वायतत्व हुन् ।. यी सबै तत्वहरू मानिसको मृत्युपछि फेरि वातावरणमा नै मिस्सिन पुग्छन् ।

अग्नी – मानव शरिरमा निहित ‘अग्नीतत्व’: शरिरको न्यानो र तातोपन, पचाउँने शक्ती, शारिरिक विकास र बृद्ध हुने प्रकृय, आदि अग्नीतत्व हुन् । मानव शरिरका अग्नीतत्वहरू पनि मृत्यु हुनासाथ वातावरणको तापक्रममै गएर मिस्सिन्छन् ।

आकाश  – मानव शरिरमा निहित ‘आकाशतत्व’: कानको प्वालको खुला भाग, नाकको प्वालको खुला भाग, मुखको खुला भाग, गुदद्वार खुल्दाको खुला भाग, आदि आकाशतत्व हुन् । शरिरका आकाश तत्वहरू पनि मानिसको मृत्यु हुनासाथ खुला आयतनमै गएर मिस्सिन्छन् ।