पृथ्वीनारायण शाहको एकीकरण अभियानदेखि दलवादीहरूको गणतन्त्र प्राप्तिसम्मका पृष्ठभूमिमा उभिएर एउटा सचेत कवि आलोचनात्मक दृष्टिले भन्छ –

आज गणतन्त्र पायौं,

तर सँगै

बेरोजगार, अभाव महँगीका बम्पर उपहार भएको

हत्यारालाई राजनीतिक अपराधले छोप्छौँ

हिंसा हुँदा मौनताले प्रोत्साहन दिन्छौं

लुटपाट गर्नेलाई प्रशासनिक संरक्षण दिन्छौँ

अनि

भ्रष्टाचार गर्नु नेतादेखि कर्मचारीसम्मको

नैसर्गिक अधिकार जस्तो भएको

किनकि

हाम्रो देशमा गणतन्त्र आएको

डायस्पोराका कविता

मुलुकले लामो ऐतिहासिक यात्राबाट पाएको गणतन्त्रलाई अभिव्यक्तिको प्राङ्गण बनाएर कवि बराइली किन हो चौथो अङ्ग मानिएको तत्वलाई अनङ्ग ठान्न पुग्छन् । कसलाई घायल पार्छन् भन्न सकिन्न । सत्यसँग दुश्मनी, प्रभुको उपासना र असत्यको समर्थनमा देखिने नारदवंशी (वार्ताकार) को कलम देखेर नेपाली जगत संत्रस्त छ ।

यदि सचेत वर्गले मुलुकको न्याय वितरण प्रणालीसँग असन्तोष देखायो भने के होला ? कार्यालयहरु अर्काको इशारामा खुल्ने र बन्द हुने स्थिति आयो भने मुलुकको अस्तित्व बारे सोध्ने कसलाई  ? अगिपछि बिन्तीपत्र हाल्थे अन्याय पर्दा जनताले । दरबार दिल्ली गरेपछि धेरै कुराबाट ठगिएको अनुभव बोलेको त छैन कविताले ? यदि ध्वनि दिँदैन भने काव्य–साधनाको के औचित्य ? प्रभु को हो ? अविकाश किन ? राज्यसँग राजकीय शक्ति र सीमा छ र ? जनताको गुनासो किन सुनिंदैन ? के यो गणतन्त्रको चरित्र हो ? अनि यसैका लागि ल्याइएको हो ३६ हजारको ज्यान मारेर यो गणतन्त्र ?

एकेडेमीलाई बलियो देख्छु । व्यवस्था र राजनीतिक जीवको आलोचना गर्ने काव्य प्रकाशनमा भय मानेन । हिजोको व्यवस्थामा यो आँट थिएन– प्रकाशकसँग । सीधै तुरुङ हाल्थ्यो अञ्चलाधीशले, ठिंगुरा कस्थ्यो । स्वतन्त्रता पाएछ गणतन्त्रमा शायद युएईमा पुगेर होला । महामहिम खद्योत प्रकाश नक्शालीको उग्र शासन कालमा बोल्दा बिताउने नीति अमल भएको देखेनन् । सांसदलाई निलम्बन गर्ने र आरोप लगाएर थुनामा राख्ने अनि खराब नियत राखेर निदाएको मान्छेलाई जेल सार्ने डर लाग्दो स्थिति भोगेनन् र सहकर्मी सांसदहरूले ? त्यहाँ न्यायका किताब काम लागेनन् भने मुलुकभित्रै बसेर यस्ता कविता लेख्ता हुन् र युवकहरूले ? त्यसैले लेखे आफ्नो भोगाइ –

बेरोजगार उत्पादन गर्छन्

,

 सरकारलाई बोझ हुन्छ

हातमा पासपोर्ट थमाइदिन्छ

आफ्नै पैसाले लिलामी दरमा बेचिन्छन् युवा

 

सत्य हो अनेकौँ  देशमा पुग्छन् युवाहरू श्रम साट्न अनि

भाग्यमानी बाकसमा फर्किन्छन्

अभागीहरू सयौं ठक्कर खाइरहन्छन्

सरकार रेमिटेन्स भित्रिएकोमा मख्ख पर्छ

००

ती प्रवासीसँग हाँस्ने, रुने अधिकार छैन

किनकि

हाम्रो देशमा गणतन्त्र आएको

प्रश्न पनि छ– बेथिति नै गणतन्त्र हो ? समाधान छैन ? काव्यकार बराइली यसबाट अत्यन्त ‘घायल’ भएका छन् । उनी विद्रोह र आक्रोशको ज्वाला पनि उगेल्छन् । र अन्त्यमा शान्ति, विकास, समान अधिकारको मल्हम पट्टी बाँधेर पीडा शमन गर्छन् । किन्तु श्रम र कामको प्रकृतिको आलोचना गर्दैनन् कवि, यो राम्रो पक्ष हो ।

कवि दलवीर सिंह बराइली ‘घायल’ को कविताले सामाजिक राजनीतिक चेतनाको ज्वाला दन्काएको छ । राम्रै ताप्न पाइन्छ । उनको अनुभूति आदरणीय छ । म पाठक हुँ, यसैले म आशा गर्छु– कलमधरसँग कविले काव्यलाई आफ्ना विचार बोक्ने घोडा नबनाओस् बरु गाई सम्झेर हरियो घाँस हालोस् र दुग्धमय स्वादु काव्यरस प्रदान गरोस् ।

सुन्दरी नग्न हुँदै गई भने विद्रूप देखिन्छे, सौन्दर्य हराउँछ । मातिएकी सुन्दरीले दुष्टबचन बोली भने तत्काल उसको सौन्दर्य नष्ट हुन्छ । कविले कवितालाई अधिमूल्यनतर्फ लैजानुपर्छ अवमूल्यनतर्फ धकेल्नु हुँदैन । राम्रा भद्र शब्दमा पनि मारक प्रहार हुनसक्छ । त्यसैले काव्य वाणी अलङ्कृत भए राम्रो ।

काव्यवाणी त अमृतमय हुन्छ । प्रत्यक्ष संवाद काव्य बन्दैन । आक्रोश, उत्तेजना र असन्तोष प्रकट गर्नै पर्छ, आवश्यक छ । तीर मार्नै पर्छ, परन्तु शैली छानेर विधि पुर्याएर । साहित्य कूट भाषा पनि हो । प्रणय–प्रस्ताव पनि सीधा बचनमा राख्न सकिन्न, सुहाउँदैन । प्रस्ताव पनि हैन, अनुरोध मात्र हो- विचार र नारालाई साहित्यमा परिणत गरे सिद्धि नमिल्ने होला र ?

काव्य लेखनबाट उन्नत यात्रा गर्न सकिएला कि भन्छु । पृथ्वीनारायण शाहको युगका बिसे नगर्ची योजनाविद् वा कूटनीतिक व्यक्तिदेखि आजसम्म नारद वर्गले नङ्ग्याए पनि संजयकुलले बोक्यो,उठायो । यो अन्यतम सन्दर्भ हो । किन्तु कविताले नीति, अनुशासन, आदर्श, एकता, शान्ति र विकासलाई महत्व दिएको हुँदा पुरानो गन्ध आएझैं लाग्छ । युग विनिर्माणको होइन र ?

साहित्य सबैका लागि होइन, साहित्यका प्रेमीहरूकै लागि हो । सडक साहित्य, अखबारी साहित्य, चौतारी साहित्य, ताली साहित्य, दोहोरी साहित्य, गाइने गीत सबैका लागि होलान् तर गोपी गीत सबैका लागि हुन सकेन । त्यसैले सारमा यति नै भनौँ  पण्डितको पाण्डित्यले कहिलेकाहीँ कविता थिचिन्छ, दार्शनिकका दर्शनले पनि कवित्व पिसिन्छ र वैयाकरणको नीतिले पनि कविता सेलाउँछ ।

कविमा निहित सामाजिक राजनीतिक वा सांस्कृतिक चेनताले निकास पाउनै पर्छ । माध्यम साहित्यको परिधिभित्रै खोजिनुपर्छ । उदाहरण दिएर टुङ्ग्याऊँ कि ? सुनको कटौरामा खान, संकोच छैन, किन्तु भर्खरै सँगै बनाएको भए पनि चुठुवामा खाँदैनौ किन ? मात्र नामको भिन्नता हो, धातुको होइन । यो कुरा बुझाउन सकिन्न कि ?

साहित्य साहित्यकै स्तरमा रहनुपर्छ भन्ने कामना परम्परावादी रूढ, तुच्छ र अमान्य धारणा हो ? हो,२०५२ पछि पुराना पर्खाल र दुवाली भत्क्कायौं । अब जस्तो पनि जे पनि साहित्य हुन्छ भन्ने धारणा साहित्य संसदले पास गर्नैपर्छ । कसैको वा पुराना मान्यता र नीति निर्वाह गर्नैपर्छ भन्ने छैन । जब दुष्ट र अपराधी नायक बन्छ वा भनौँ अपात्र, खलनायक हीरो हुने युग बोकेका छौं भने कुनै कवितालाई कित्ताकाट गर्न मिल्छ र ?

तैपनि म पाठकको हैसियतले प्रस्ताव गर्दछु – सीधै नून नखाऔं, त्यो खाने कुरामा मिसिएर आयो भने महिमामय हुन्छ । सीधै काँचो सुन नलगाऔं, कलात्मक गहना बनाएर लगायो भने त्यसको महिमा गायन अवश्य हुन्छ । कुरालाई साहित्यमा उठाउनै पर्छ ।

उसिनेको आलुलाई अचार बनाउन नून–मसला मिसाउनै पर्छ अनि स्वादु लाग्छ । रस पदार्थबाट गाईले दूध र वृक्षले फल दिन्छ नि हैन र ! कसरी भनौं ?

भाषामा अधिकार छ । प्रविधि युगीन छ । शैलीमा सम्प्रेषण शक्ति छ । बस, अभिव्यक्तिले साहित्यिक स्पर्श र सांगीतिक माधुर्य पाउनै पर्छ । अन्यथा सुगन्ध बिनाको फूल वा जवानीले छुन नसकेको शरीर जस्तो लाग्ने छ । साधना चाहिन्छ । भावनालाई मूर्त गर्न कला–विधिमा बल पुर्याउनै पर्छ । यत्न गरौँ । कलम चल्दै रहोस् । शुभकामना छ ।

 

[नेपाल प्र.प्र.र गैर आवासीय नेपाली संघ २०७२ को प्रकाशन ( नेपाली डायस्पोराका कविता, अन्तरगतको नेपाली साहित्यको डायस्पोरिक (डाक) उपहार  सन्दर्भ समाप्त ।]

०००

गणतन्त्र र हामी

                                                                                  – दलवीर सिंह बराइली ‘घायल’

पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाए
उसलाई साम्राज्यवादी भन्यौँ ।
राणाहरूले देशको अस्तित्व बचाए,
उनीहरूलाई एकतन्त्री भन्यौँ ।
पञ्चहरूलाई तानाशाही भन्यौँ
र ल्यायौँ बहुदलवाद,
त्यो पनि फुस्स भयो ।
पटक पटक हामी,
सात साल,
पैंतालिस साल
बैसठ्ठी/त्रिसठ्ठी सालमा सडकमा आयौँ,
विद्रोहको बिगुल फुक्यौँ
दश वर्ष हतियार उठायौँ
हजारौंको बलिदान दियाँ
त्यसैले अहिले
हाम्रो देशमा गणतन्त्र आएको छ ।

आज गणतन्त्र पायौँ,
तर सँगै
बेरोजगार अभाव र महँगीको बम्पर उपहार परेको छ। हत्यारालाई राजनीतिक आवरणले छोप्छौँ
हिंसा हुँदा मौनताले प्रोत्साहन दिन्छौँ
लुटपाट गर्नेलाई प्रशासनिक संरक्षण हुन्छ
अनि
भ्रष्टाचार गर्नु नेतादेखि कर्मचारीसम्मको
नैसर्गिक अधिकार जस्तो भएको छ ।
किनकि
हाम्रो देशमा गणतन्त्र आएको छ ।
पत्रकार देशको चौथो अङ्ग ?
वा हुन् पशुपतिको नाममा छोडिएको साँढे ?
मनपरी सिङ उधिन्दै हिँड्छन्,
को कति बेला सिकार बन्छन् ?
थाहा छैन ।
सत्यलाई छोप्नु
असत्यलाई उचाल्नु
मालिकको सेवा गर्नु
उनीहरूको कर्तव्य हो त ?
यस्तै हुन्छ चौथो अङ्गको जिम्मेवारी ?
उनीहरू विरुद्ध कसैले बोल्न, लेख्न, सक्दैन
किनकि
हाम्रो देशमा गणतन्त्र आएको छ ।
अदालतहरूमा हात्तीको प्रवेशपछि
न्याय निसाव उसैले गर्छ,
सरकारी कार्यालयहरू,
राष्ट्रिय र अन्तर्राष्ट्रिय गैससको आदेशमा खुल्छन्/बन्द हुन्छन्
विकास कछुवा गतिमा घिस्रि रहेछ
उत्साहविहीन र उद्देश्य विहीन ।

प्रशासन र देश प्रभुको इसारामा चल्छ,
सरकार मुकदर्शक भएर रमिता हेर्छ,
फेरि पनि
हामीले कुनै गुनासो गर्नु हुन्न /गरे पनि सुनिन्न ।
किनकि
हाम्रो देशमा गणतन्त्र आएको छ ।

विद्यालय र कलेजहरूले,
राजनीतिक प्रशिक्षण दिन्छन्,
बेरोजगार उत्पादन गर्छन्

सरकारलाई बोझ हुन्छ ।

हातमा पासपोर्ट थमाइ दिन्छ
आफ्नै पैसाले लिलामी दरमा बेचिन्छन् युवा
अनि पुग्छन्,
साउदीको भेडीगोठमा
कतारको निर्माण कार्यमा
दुबईको गगनचुम्बी महलका सिसा पुछ्‌न
मलेसियाको जङ्गलमा लामखुट्टेसँग सँगै रुन
कोरिया, जापान, इजरायल, युरोप, अमेरिका
खेतीमा होस् वा कलकारखाना
होटलमा वेटर होस् वा स्टेवार्ड,
पुग्न बाँकी कतै छैनन् ।

ती मध्ये,
भाग्यमानीहरू बाकसमा फर्किन्छन्
अभागीहरू सयौँ ठक्कर खाइ रहन्छन्
सरकार रेमिटेन्स भित्रिएकोमा मख्ख पर्छ ।
बिचरा,
ती प्रवासीहरूसँग हाँस्ने, रुने कुनै अधिकार छैन
किनकि
हाम्रो देशमा गणतन्त्र आएको छ ।

सोचौँ ।
के यही थियो त हाम्रो चाहना ?
यस्तै बेथिति नै हो त गणतन्त्र भनेको ?
हामीले गर्न सक्ने केही छैन त ?
हामी सामु प्रश्नै प्रश्न मात्र छन् ।
के कुनै समाधान छैनन् ?
पक्कै पनि छन्,

यी सबै बेथितिको समाधान
केवल हामीले मात्र गर्न सक्छौँ,
हामी जनता आफै जागरूक हुनु पर्छ ।
हरेक ठाउँमा खबरदारी गर्नु पर्छ,
राम्रो कामको थालनी आफैबाट सुरु गर्नु पर्छ,
आत्मनिर्भर बन्नु पर्छ ।
मुख्य कुरा स्वशासित (आफूले आफैलाई शासन गर्नु) हुनु पर्छ ।

आउनुहोस् ! हामी सबै मिलेर देशका बारेमा सोचौँ, विकासका बारेमा सोचौँ
शान्तिका बारेमा सोचौँ
हामी सबैको समान अधिकार छ,
किनकि हाम्रो देशमा गणतन्त्र आएको छ ।