गिरिराज सगरमाथा
जुरुक्क उठ्यो
संकल्प लिएरः

‘यस पटक बिहे गर्नै पर्छ
वर्षायाम लाग्नुअघि’

उसको अन्तरात्मा घन्कियो ।

उठे उमंगले भाइ शिखरहरू
उभिए दायाँ र बायाँ
पूर्वदेखि पश्चिमसम्म ।

फैलाए मनोभाव गिरिराजको
आकाश, प्रकाश र वायुले
सुवास छरे त्यसमा
कस्तूरी, श्रीखण्ड र प्रसूनले ।

तिलोत्तमा आई इन्द्रलोकबाट
शिवलोकबाट आए नन्दी–भृंगी
आए गोपाल गोकुलबाट
उपत्यकाबाट महिषपाल
आए यक्ष र किन्नर
प्रशस्तै जुटे वन्दीजन ।

भरियो प्राङ्गण
प्रसन्नता भो–

शिवले धतुरो ताने
इन्द्रले आसव
बस ।

यता नृत्य शुरू भो
उता श्रृंगार !
चमरीले चमर डोलायो
राजकीय संस्कृतिको महिमा जनायो ।

बजायो नगरा बादलले
बिजुलीले बन्दुक
रेट्यो सारंगी हावाले
गाए वन्दीजनले गीत
नाचे मङ्गल नाच
यक्ष, किन्नर र किरातले
खेले रत्यौली उमङ्गगले
अप्सरा, किन्नरी र वादीले
गरे अनुगमन यस कोटिको
खेचर, वनचर र देवदूतले ।

इन्द्रेणीको द्वार तयार भो
अक्षता बर्स्यो असिनाको
हिउँका फूलमा जगत् रमायोः

‘वरयात्राको पूर्वक्षणमा
सगुन बर्स्यो शुभलक्षण भो’

लोक–जीवनले विश्वास बोल्यो ।

सज्जा श्रृंगारमा लाग्यो शेर्पा
आकाशभरि फैलाइदियो
गिरिराजको जीर्ण फेटा
(भ्रममा बाँच्नेहरू
यसैलाई कुइरो ठान्छन्)
त्यसको सट्टा खता फेटा
गुताइदियो आत्मा खोली

शेर्पा जाति आज यसैमा
आफ्नोपनको गौरव गर्छ ।

भित्री रूप सिंगारे उसको
रसवती शेर्पा युवतीले
स्नेहिल भावले
ममता र आदरले ।

चट्ट सिंगारिएको छ सगरमाथा
गुराँसबुट्टे लुगामा अहिले
हिमनदीका मुक्ताहार लर्किएका छन्
विशाल छाती भरि !
तुलना छैन ।

भन्छन् वसन्तको रंग चढेको छ
मनमा, हेराइमा, भावभंगिमामा
नौलो राग जन्मिएको छ उसमा
हो, कहाँ छ उसको दृष्टि ?
सबैलाई थाह छैन ।

संवाद चलेको छ दुवैतर्फ
आँखा – आँखामा
दोहोरी मौन संवादमा

एकातिर
किरात देशकी राजकुमारी
कञ्चञ्चङ्घा
अर्कातिर
मगरात देशकी राजकुमारी
अन्नपूर्णा

द्विविधा छः

जन्ती जाने कता ?
जन्ती लाने कता ?

द्विविधामाथि गणित गर्छ सगरमाथा

मन्मयताले
ध्यानस्थ रहेर


स्मरण गर्छ माईको
एकाग्र भएर !
सन्मुख पुग्छिन् पाथीभरा
ममता र उत्साह भरेर ।
‘आसिक देऊ माई मलाई’

विनय बोल्छ, सगरमाथा
करुणा संचार गरेर !

‘शुभकामना दिन्छु पुत्र,
मात्र शुभकामना !
आसिक होइन’
माईको अन्तरात्मा बोल्छ ।

जन्ती जान तम्तयार छन् आँगनभरि
बाह्र सूर्य र सोह्र चन्द्रमाहरू
अशेष ग्रह र नक्षत्रहरू
नागलोक र यमलोकका प्रतिनिधिहरू

यिनैमाथि दृष्टि छरेर भन्छिन् माई
यिनैलाई साक्षी बनाएरः

“विवाहको प्रतिफल हो दाम्पत्य सुख
त्यसको प्रतिफल हो सन्तान सुख
र सन्तान हुनुको प्रतिफल हो युद्ध
फगत युद्ध
सीमा युद्ध, गृहयुद्ध वा आततायी युद्ध
अनि युद्धको प्रतिफल हो मृत्यु
र त्यसको प्रतिफल हो शोक,
सन्तान शोक !

वत्स,

हरेक आमाका आसिक निस्सार हुँदैछन्
के आसिक दिऊँ तिमीलाई आज ?

उदासीन भावमा माई थप्छिन्ः

युद्ध कुरु क्षेत्रदेखि पाशुपत क्षेत्रको
युद्ध जर्मनीको, जापानको
युद्ध कश्मीरको, अफगानिस्तानको
युद्ध इरानको, इराकको प्यालेस्टैनको

तिब्बत बनाउने युद्ध
सिक्किम बिलाउने युद्ध
बाङ्गलादेश जन्माउने युद्ध
दल–दलको अवाञ्छित युद्ध
अनि
स्वजाति र स्वबन्धु मास्ने युद्ध
फगत आततायीको !
रगत, आँसु र लाशमा रमाउने युद्ध

दुर्गति बढाउने युद्ध
प्रगति रोक्न युद्ध
अगति सूचक युद्ध

सधैं जीवन हार्ने युद्ध
सधैँ भूमि छोड्ने युद्ध

फगत आततायीको ।

आखिर,
न सुदर्शन उठाउने औतारी जन्मन सक्ला
न गाण्डीव न पिनाकी उठाउने
न अमरसिंह जन्मन सक्ला न जंगबहादुर
बरु, कुमार नै किन बस्तेनौ ?

वत्स,

म थप सन्तानशोक सहन सक्तिनँ
मलाई विवश नगर
म रित्तिसकेकी छु
छैन, सन्तान सुरक्षित गर्ने आसिक छैन
छैन, दीर्घजीवन दिने आसिक छैन ।”

माईका आँसु रोकिएनन्
उनी वर्षामा रोइन्
पैह्रोमा पल्टिइन्
आँधीमा मडारिइन्

मध्य बर्खा भो
बाटो बन्द भो

जन्ती अझै निस्कन सकेन ।

तर आज पनि
साँझ पूर्व हेर्छ सगरमाथा
सूर्यलाई सुहागदीप बनाएर
पर्खिरहेकीछ कञ्चञ्ङ्घा
मिलनको आतुरता बोकेर
वामाङ्गी भएर,

बिहान पश्चिम हेर्छ सगरमाथा
दूधले नुहाएर सधैं
अक्षत सौन्दर्य चम्काएर
पर्खिरहेकी छ अन्नपूर्णा
मूलबाटोमा आँखा ओछ्याएर
उसैलाई मन चढाएर !
हो,गिरिराजलाई पीडा नहुने कुरा थिएन ।

साक्षी छ प्रकृतिः

मानसिक अभिसारमा बाँचेका छन् यिनीहरू
प्रकृत यौवन विलासबाट वञ्चित छन् यिनीहरू
कुण्ठा र सन्तापबाट उद्वेलित छन् यिनीहरू
यस्तै नियति भोग्दैछन् यिनीहरू
संवेग रोकेर
मर्यादा थामेर ।