साहित्यकार मूलतः दुई प्रकारका हुन्छन्- स्रष्टा र द्रष्टा । स्रष्टाले सिर्जना गरेको सिर्जित रचनालाई द्रष्टाले देखेर त्यसको समीक्षण मूल्याङ्कन गर्दछ । अझ उक्त रचनालाई पर्गेलेर केस्रा केस्रा केलाएर त्यसका विभिन्न पक्षहरूको निरीक्षणसमेत गर्दछ । स्रष्टा भनेको ब्रह्म हो, निर्माता हो । संसार र समाजका दृष्ट र अदृष्ट वस्तुलाई देखेर त्यसभित्रका कमी-कमजोरी केलाउने गर्दछ । जसरी स्रष्टाले समाजका विभिन्न कुरा देखेर आफ्नो सिर्जना गर्दछ, ठीक त्यसरी नै द्रष्टाले कृतिभित्रका सबै पक्षलाई पर्गेलेर त्यसबारे गम्भीर चिन्तन गर्दै साहित्य सिर्जना गर्दछ । सर्जक आफ्नो रचनाको स्वयं निर्माता हो, सृष्टिकर्ता हो । उसले सुन्दर समाज र संसारको परिकल्पना गर्दछ जहाँ कुनै क्लेश, दुःख, शास्ति नहोस्, शान्ति, समृद्धि, सुखी रहनुपर्छ भन्ने कामना गर्दछ ।
द्रष्टाले साहित्यकार पनि स्रष्टासरह नै संसार र समाजबारे उस्तै धारणा राख्दछ । वास्तवमा द्रष्टा पनि स्रष्टा नै हो । उसले पनि देखेका कुराहरूको आलोचना लेख्छ । स्रष्टाको सिर्जनाको आलोचना गर्दछ । लेखेको कुरा देखेर फेरि लेख्छ । सर्जकको कृतिबारे अर्को पक्षबाट हेर्दा स्रष्टाले पनि द्रष्टाले जसरी नै समाज र संसार देखेर कृति लेख्छ । दुवै साहित्यकार हुन्, सर्जक हुन, द्रष्टा हुन् । समाज र संसारका हितकारी हुन् र मानवताका रखवाला हुन् । सुन्दर सिर्जनाका सर्जक हुन् । साहित्यकार हुनु नै ठूलो कुरा हो । साहित्यिक सिर्जना प्रतिभा नहुने कदापि साहित्यकार बन्न सक्दैन सर्जक बन्न सक्दैन र समीक्षक पनि बन्न सक्दैन । ऊ भीडभित्र हुन्छ तर उसको मस्तिष्क भीडभन्दा बाहिर हुन्छ । अरूले नदेखेका कुरा उसले देख्न सक्दछ । ऊ चिन्तन, विचार, मनस्थिति आदि कुरामा आम मान्छेभन्दा माथि हुन्छ । समाजमा सम्मानित भएर बस्न पनि सक्छ वा नबस्न पनि सक्छ । समाज, संसार र जीवन दर्शन गरेर आफ्नो जीवन जिउँछ । बाहिरी खोलमा ऊ सामान्य लागे पनि मानसिक संसारमा भिन्नै हुन्छ । ऊ समाजको सबैभन्दा सचेत, शुभचिन्तक हो । ऊ समाजभन्दा अघि हुन्छ, समाजको अग्रणी हुन्छ ।
नेपाली साहित्यको प्रसङ्गमा हेर्दा अहिलेको घडीमा नेपाल र भारत दुवैतिरबाट साहित्य सेवीहरूलाई विभिन्न पुरस्कार दिएर सम्मानित गर्ने चलन बढेको छ । कुनै पुरस्कार निजी तवरबाट कुनै संस्थागत र कुनै सरकारी तवरबाट प्रदान गरी सर्जकलाई सम्मान गरिन्छ । यो खूबै राम्रो कुरा हो । नेपालका केही साहित्यिक पुरस्कारहरू सरकारी पक्षबाट प्रदान गरिन्छ भने यता भारतबाट पनि साहित्य एकाडेमी पुरस्कार पनि सरकारी पक्षबाट प्रमुख रूपमा रहेको छ । ज्ञानपीठ पुरस्कार र सरस्वती सम्मानका निम्ति पनि नेपाली साहित्य स्वीकृत छ तर हालसम्म यी दुई पुरस्कार भारतीय नेपाली साहित्य सर्जकले पाएका छैनन् । नेपाली साहित्यकारमा सेवा गरेबापत भारतको पद्मश्री पनि पाएका छन् । यसबाहेक अन्य धेरै पुरस्कारहरू पनि छन् ।
साहित्यकारको महत्त्व, गरिमा र योगदानको कदर गर्ने चलन पनि नभएको होइन । सिर्जनालाई स्याबासी दिइन्छ, इनाम दिइन्छ । समाजले साहित्यिक योगदानलाई हेरिरहेको, तौलिरहेको, निरीक्षण गरिरहेको र मूल्याङ्कन गरिरहेको हुन्छ । साहित्य लेखन साधना हो, लहड मात्र नभएर कर्तव्य पनि हो । विकृतिको अन्त्यको चाहना हो, बिग्रेकोलाई सच्याउनु हो, समाजलाई सत् र असत् चिनाउनु हो । नेपाली साहित्यको प्रसङ्गमा मदन पुरस्कार र भारतमा साहित्य एकाडमी पुरस्कार घोषणाको बेलामा निकै तरङ्ग चल्छ । पुरस्कार जसको नाममा घोषणा भए पनि विवाद त उठिहाल्छ, शङ्का उपशङ्का उब्जिहाल्छ । कोहीबेला त यस्तो स्थिति बनिन्छ कि पुरस्कार पाउनेलाई पनि बित्थामा पाएछु भन्नेसम्म लाग्नसक्छ ।
लेखकका निम्ति पुरस्कार पाउनु भनेको उसको सुकर्मको मूल्याङ्कन हो, समाजले दिएको मान्यता हो । उसका निम्ति प्रेरणाको कुरा हो । पुरस्कार पवित्र हुन्छ र हुनुपर्दछ । यसभित्र मान-सम्मान, मर्यादा, मान्यता, मूल्याङ्कन, समीक्षण, तुलना आदि सबै थोक समेटिएका हुन्छन् । पुरस्कार सम्मानकै एउटा अङ्ग हो । सरकारी, संस्थागत, व्यक्तिगत आदि पक्षबाट पुरस्कार प्रदान गरिन्छ । त्यसमा पनि सरकारी स्तरबाट पुरस्कार पाउनु सबैभन्दा ठूलो सम्मान हो । साहित्यमा जस्तै समाजसेवा, चलचित्रसेवा, राष्ट्रसेवा, कलासेवा आदि क्षेत्रमा पुरस्कार दिइन्छ । जति धेर राशिको पुरस्कार हो त्यति नै त्यसको महत्त्व र प्रभाव बढ्दछ । यद्यपि, पुरस्कार पुरस्कार नै हो, धनराशिसित तुलना गर्नु ठीक हुँदैन भनिन्छ । यद्यपि, व्यावहारिक रूपमा धेरै धनराशि भएको पुरस्कार पाउनुलाई नै महत्त्वपूर्ण मानिन्छ ।
यद्यपि अचेल साहित्यिक पुरस्कारसमेत विवादमा मुछिएको पाइन्छ । यसको सङ्लोपनमा धमिलोपन आएको छ । पुरस्कार पाउने होड मच्चिएको छ । पुरस्कार किनिने कुरा भयो, मागेर पाउने कुरा भयो, धाएर थाप्ने कुरा भयो, लबी लगाएर पाउने कुरा भयो । पुरस्कारको महिमा र गरिमा घटेको छ । पुरस्कारका सङ्ख्या बढ्नुका साथै त्यसको गरिमा पनि घट्दो देखिन्छ । पाउनेले पाएको पाएकै, नपाउनेले नपाएको नपाएको स्थिति पनि छ । खासगरी पुरस्कार पाउनेले म पुरस्कार पाउँदैछु भन्ने पहिले थाहा पनि हुनुहुँदैन । एकैचोटि निर्णायक समिति वा आयोजक समितिले घोषणा गर्दा मात्र पुरस्कार पाउनेवालालाई आफूले पाउने कुरा थाहा पाएको राम्रो हो । उदाहरणका निम्ति नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङले वार्षिक रूपमा प्रदान गर्दै आएको डा. पारसमणि प्रधान पुरस्कार र भाइचन्द प्रधान पुरस्कार समितिको घोषणाबाट मात्र प्रापकले थाहा पाउने गर्दछन् । यसकारण पुरस्कार एकदमै निःस्वार्थ, निष्कलङ्क, विवेकपूर्ण हुनुपर्दछ । सर्जकलाई जति पनि मान-सम्मान, पुरस्कार दिनुपर्छ भने सर्जक सशरीर हुँदैमा दिनुपर्दछ ।
कतिपय पुरस्कारका निम्ति चार चार प्रति कृतिको आह्वान गरेको देख्न, सुन्न पाइन्छ । यो पनि पुरस्कार दिने गलत प्रक्रिया हो । मेरो कृति पुरस्कृत होस् भन्ने प्रलोभनमा पर्नेहरूले आफ्ना जस्तोसुकै कृति पनि त्यो आह्वानअनासर दाता समितिसमक्ष पठाउने गर्छन् । आफ्ना पुस्तकहरू पनि पठाउनु पुरस्कारका निम्ति आशा गर्नु हो । यद्यपि आशा नगरेर आफ्ना पुस्तकहरू जाँच समितिसमक्ष नपाउँदा धेरै लेखकहरूका राम्रा राम्रा कृति भने त्यो पुरस्कारको जाँचकहरूकहाँ पुग्दैनन् अनि पुरस्कार पाउँदैनन् । कतिपय सफल र वरिष्ठ लेखकहरू आफूलाई धेर प्रदर्शन गर्न, विज्ञापन गर्न रुचाउँदैनन् । यस्ता साँचा लेखकहरू भने पुरस्कार पाउनबाट बञ्चित हुन्छन् । उनीहरूमाथि अन्याय हुँदैआएको छ । यद्यपि, पुरस्कार पाउन बढी लालसा राख्ने सामान्य लेखकहरूले भने आफ्ना पुस्तकहरू पठाइसकेका र पुरस्कार अँठ्याइसकेका हुन्छन् । गर्ने भन्ने हनुमान पगरी गुँथ्ने ढेँडु भने जस्तो हुन्छ । सुनको अघि ताँबा बहुमूल्य हुन्छ, हीराको महत्त्वभन्दा फलामको महत्त्व बढी हुन्छ । काजीले पुरस्कार पाउँदैन तर पाजीले पाउने सम्भावना बढी हुन्छ । साधुलाई सुली चोरलाई पुरस्कृत भनेजस्तो हुन्छ ।
पुरस्कार कसलाई दिनुपर्छ भन्ने कुरामाथि समाजले विचार गर्नुपर्दछ । साहित्यिक पुरस्कार कस्तालाई दिनुपर्ने भन्ने कुराको विवेक जाँचकहरूमा हुनुपर्दछ । जाँचकहरूले सम्बन्धित कृति वा कृतिकारका बारेमा गम्भीर अध्ययन गरेर सही मूल्याङ्कन गरिएको हुनपर्दछ । यसका निम्ति जुरीमा रहेकाहरूमा पनि राम्रो समीक्षात्मक दृष्टिकोण, निष्पक्षता, तुलनात्मकता, निःस्वार्थ, गहन निरीक्षण जस्ता गुण हुनुपर्दछ । पुरस्कार पाउनेलगायत यतिसम्म कि आयोजक समितिसमेतले घोषणा नहुञ्जेलसम्म थाहा नै नपाएको राम्रो हुन्छ । निर्णायकको भूमिका नै तटस्थता, निःस्वार्थता, निष्पक्ष रही सर्वोपरी भएको हुनु नै उत्तम हो । यद्यपि, यस्ता गुणहरू नभएर अनर्थ हुनेगरेको छ । पुरस्कार त सय योगदान दिनेलाई नदिएर पाँच योगदान दिनेलाई दिनु उचित हुँदैन । अथवा बढी योगदान दिनेलाई भन्दा सामान्य योगदानकर्तालाई दिनु उचित होइन । पुरस्कारदाता, जाँचक, संस्थागत पदाधिकारी आदि सबै पक्ष निष्पक्ष र तटस्थता हुनुपर्दछ, तुच्छ स्वार्थभन्दा माथि उठेर प्रस्तुत हुन सक्नुपर्दछ । तब पो साहित्यको साँचो सेवा हो ।
आफ्नो मान्छे र पक्षकालाई च्यापेर, पैसा, कोसेली आदि थापेर पुरस्कार दिनु पनि कदापि साधुपन होइन । पुरस्कार नातावाद, कृपावाद, स्वार्थवाद आदिले प्रभावित हुनुहुँदैन । म पुरस्कारका निम्ति लेख्छु भन्ने सोच्नु पनि गलत हो, अरू कसैलाई पुरस्कार दिँदा गुनासो गर्नु पनि पाप हो । आफूले पुरस्कार पाउनैपर्छ भन्ने दाबी गर्नु गर्नु पाप हो । पुरस्कार पाउनेले पनि आफूलाई प्राप्त हुँदैगरेको कुरा थाहा पनि नहोस्, तपाईंलाई पुरस्कार दिँदैछु भन्ने कुरा पनि थाहा नदिएको राम्रो हो ।
पुरस्कारका प्रसङ्गमा यसलाई दुई कोटीमा वर्गीकरण गर्न सकिन्छ- पाउनैपर्ने सर्जकलाई पुरस्कृत गर्नु र विभिन्न सम्बन्धका कारणले पुरस्कार दिनुपर्ने सर्जक । हामी आम जनतालाई अघिल्लो कोटिको पुरस्कार मन पर्छ, पछिल्लो किसिमको उचित लाग्दैन । साधनारतः र गम्भीर सर्जकहरू पछिल्लो किसिममा पछि लाग्दैनन् । यदि समाज जाँचक संस्था, व्यक्ति सबै पक्षबाट अनुकूल रहे अघिल्लो कोटिको पुरस्कारकै पक्षमा रहेको उचित हुनेछ ।
नेपाली साहित्यिक समाजको कुरा गर्नुपर्दा अहिले साहित्यिक पुरस्कारका सङ्ख्या धेरै बढिसकेका छन् । यदि नेपाली साहित्यको शुरूआतमा यस्ता पुरस्कार दिने प्रचलन भएका भए लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल, बालकृष्ण सम, भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ, रूद्रराज पाण्डे, विश्वेश्वरप्रसाद कोइरालाहरूले कति पाउँथे होलान् ? त्यो जमाना त यस्ता लेखक, कविहरू त पुरस्कृत भएकै थिएनन् भन्दा हुन्छ । कवि शिरोमणि लेखनाथ पौड्याल भने वि. सं. २०१०-मा रथारोहण हुँदै सम्मानित भएका हुन् तर पुरस्कार पाएका थिएनन् । लक्ष्मीप्रसाद देवकोटाले पनि खासै पुरस्कर पाएका थिएनन् । अहिलेको जमाना यस्ता लेखकहरू भए कति पुरस्कृत हुन्थे होलान् । तर अर्को कुरा छ, अहिले पनि यस्ता महान् लेखकहरू जीवित रहे शायद लबी, सिफारीश र नाता-कृपावादमा परेर पुरस्कार पाउँदैन पो थिए कि ? उनीहरू पनि यस्ता विभिन्न पुरस्कारबाट बञ्चित हुन्थे होलान् कि ? हाम्रो साहित्यमा केही महान् साहित्यकारहरू पुरस्कार पाउऩबाट अझै वञ्चित छन् कि राम्रोसँग चिन्नु पर्दछ ।
नपाउनुपर्नेले पुरस्कार पाउने र पाउनुपर्नेले नपाउने विडम्बनाको जन्म भएको छ । यद्यपि, कति पुरस्कार त दिन योग्य मान्छेलाई पनि नभेटिएको इतिहास पनि छ । नोबेल पुरस्कार दिनेले त कोही बेला चुक गरेको हुन्छ भन्छन् । महात्मा गान्धीलाई नोबेल शान्ति पुरस्कार नदिएकै हो कि जस्तो लाग्छ । नेपाली साहित्यको सबैभन्दा गरिमामय मानिने मदन पुरस्कार पनि कोही बेला विवाद भएको सुनिएकै हो । कोही बेला कुनै कुनै पुरस्कार त तेरो रकम चैँ मेरो, म तँलाई दिलाउँला भन्ने हल्ला भएको सुनिएकै हो । यतिसम्म कि कसैले कसैको कृति र कृतिकार बढी प्रशंसा गर्यो भने पनि अबको पुरस्कार त्यता जानसक्छ है भनेर पारखीहरूले पुरस्कार पाउनेको नामघोषणा अघि नै अड्कल काटिसकेका हुन्छन् ।
राष्ट्रिय पुरस्कार, क्षेत्रीय पुरस्कार र स्थानीय पुरस्कारहरूको सङ्ख्या निकै बढेको छ । कसैले मृतक आफन्तको नाम जस्तै बाबु-आमाको नाममा पनि पुरस्कार दिने चलन बढेको छ । यसमा पुरस्कार लिने-दिने दुवैलाई यशलाभ हुनसक्छ । यदि पुरस्कार लिने र दिने दुवैको इरादा र नियत सफा छैन भने दुवैको लेनदेनमा परिणत हुन्छ । सामान्य रूपमा पुरस्कार धेरै हुनु साहित्यका निम्ति शुभसङ्केत हो । पुरस्कार पाएर लेख्नेको लेखन ऊर्जा बढ्दा, लेखकको मूल्याङ्कन हुन्छ, प्रतिभाको कदर हुन्छ, हीरा चिन्नै काम हुन्छ । यद्यपि, कोही बेला बढी पुरस्कार पनि साहित्यका निम्ति हानिकारक नै हुन्छ । साहित्यकारले पुरस्कार उच्छिट्याउनका निम्ति यदि लेख्नथाले भने साहित्यलाई ठूलो नोक्सानी हुन्छ । पुरस्कारको मानहानि हुन्छ, सक्कली प्रतिभाको भन्दा नक्कली प्रतिभाको कदर हुन्छ । लोभ बढ्छ, कीर्ति-लिप्सा बढ्छ, मान-सम्मान र खदामाला पाउने तृष्णा बढ्छ । कोहीबेला यस्तोसम्म भएको छ कि पुरस्कार हत्याएपछि लेख्ने ‘पुण्यकाम’ कम गर्न थालेका पनि छन् ।
नेपाली साहित्यकै प्रसङ्गमा हेर्नु हो भने नेपाल र भारतमा धेरै पुरस्कारहरू छन् । कोही बेला नेपालका पुरस्कार भारतका नेपाली साहित्यकारले पनि भेट्छन् भने भारतको पुरस्कार नेपालका नेपाली सर्जकले पनि पाएका हुन्छन् । कुनै अन्तर्राष्ट्रिय पुरस्कार भनेर विश्वभरिका नेपाली साहित्यका लेखकहरू पनि पुरस्कृत-सम्मानित भइरहेका हुन्छन् । यसो हुनु राम्रो हो । यदि यो परम्परा अझ सुदृढ भएर जानु हो भने नेपाली साहित्य विश्वव्यापी साहित्य हो, हामी पनि पनि कुनै कुरामा कम छैनौँ भन्ने कुराको सङ्केत हुँदछ । हाम्रा पुस्तकहरू विश्वभरिका नेपाली भाषीले पढुन्, विश्वभरि चर्चा चलोस्, विश्वव्यापी पुरस्कार प्राप्त होस् भन्ने सबै चाहना हो । पुरस्कार पाएर पुरस्कृत व्यक्तित्व पनि आफूले पाएकोमा गर्वबोध गरोस् तर यस्तो नहोस् कि मैले बित्थामा पाएछु भन्ने अनुतापबोध नहोस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 










