भारतको पूर्वोत्तर प्रान्त नेपाली साहित्यका निम्ति एउटा ठुलो स्रोत स्थान रहेको छ । यहाँबाट धेरै साहित्यकारहरूले आफ्नो अमूल्य योगदान दिएका छन् । यहाँका धेरै नेपाली साहित्यकार ओझेलमा परेका छन् । पुस्तक प्रकाशनबाहेक मासिक भेलातिर पनि परोक्षप्रत्यक्ष योगदान दिएका छन्, जसको लेखाजोखा हुन बाँकी नै छ । मासिक साहित्यिक भेलाका सिलसिलामा असम र पूर्वोत्तर राज्यहरू पनि पछि छैनन् । वर्तमानको असम, मणिपुर, नागाल्यान्ड, मेघालय मिजोराम आदि ठाउँमा नेपाली साहित्य सर्जकहरू पाइन्छन् । असमको पनि धेरै स्थानमा नेपाली साहित्यकारको उपस्थिति पाइन्छ । खास गरी यस्तो किसिमको भेलाको शुभारम्भ त असमतिरबाट नै भएको मानिन्छ । हालसम्म यहाँ एघारओटा जति मासिक भेला कार्यक्रम सञ्चालित भएको तथ्य पाइन्छ ।

साहित्य चक्र

अहिलेसम्मको सर्वप्रथम नेपाली साहित्यिक भेला आयोजना कोहिमामा त्यहाँको पशुपति क्लबको तत्परतामा सञ्चालन हुने गरेको थियो । हरिप्रसाद गोर्खा राईले आफ्ना केही कथाहरूमा साहित्य चक्रको उल्लेख गरेका छन् । यो साहित्य चक्र कोहिमामा सञ्चालन हुने गर्थ्यो । सन् १९३० सालतिर मुख्य रूपमा हरिप्रसाद गोर्खा राई, धनबहादुर सुनार, गोविन्दप्रसाद पैरा, धनबहादुर राईले अरुणाचलका कोही एकजना आदिवासी आदिका सक्रियतामा यस कार्यक्रमको आयोजना हुने गर्दथ्यो । त्यस भेलामा आउने विशेष गरी विद्यार्थीहरू तथा अन्य साहित्यकारहरूले कविता र कथा आदि सुनाउँथे । यो भेलाबारे अन्य जानकारी प्राप्त छैन ।

मासिक भेला, तेजपुर

त्यसपछि तेजपुरमा भएको थाहा लागेको छ । तेजपुर गोर्खा छात्र सङ्घको तत्त्वाधानमा १३ नोभेम्बर १९४६ मा जन्म भएको मासिक भेला कार्यक्रम सन् १९५४ सम्म चलेको थियो । यसले सन् १९४६ देखि प्रभात पत्रिका मासिक रूपमा सम्पादन गरेको थियो । दुर्वासा उपाध्याय, नरपति उपाध्याय, शिवप्रसाद उपाध्याय, पुष्पलाल उपाध्याय आदि यसका मुख्य स्तम्भ थिए ।

प्रगति सङ्घ, बिहाली माझगाउँ

यसपछि प्रगति सङ्घ, बिहाली माझगाउँमा सन् १९४७ मा स्थापित मासिक साहित्यिक भेला सञ्चालन हुन्थ्यो । त्यस भेलामा पठित कविता कथादि रचनाहरू प्रगति नामक हस्तलिखित पत्रिकामा प्रकाशित गरिन्थ्यो । सन् १९४७ को अक्टोबरमा आयोजित भेलालाई ‘शारदीय सन्ध्या’ नामकरण गरिएको थियो । यसका सम्पादक टीकाप्रसाद लुइँटेल थिए ।

नवीन पौड्याल (कालिम्पोङ)

मासिक गोष्ठी

यसपछि असमको सोठियामा सोठिया गोर्खा छात्र सङ्घको तत्त्वावधानमा मासिक गोष्ठी नामको भेला हुने गर्थ्यो । यो भेला सन् १९५२ देखि १९५४ सम्ममा निरन्तर रूपमा चलेको थियो । यसमा पाठ गरिएका नयाँ-नयाँ कविता, कथा र लेखादि सङ्कलन गरी ‘ज्योति’ नामक हस्तलिखित पत्रिका आठदेखि दश अङ्कसम्म सञ्चालन गरेको थियो । त्यही अनुष्ठानबाट अमृत पुस्तकालय पनि खोलिएको थियो । यसका मूल संयोजक पद्म ढकाल थिए भने अन्य सक्रिय र जागरूक साहित्यकार र कार्यकर्ताहरूमा लक्ष्मी तिम्सिना, कमला पोखरेल, अग्निबहादुर छेत्री आदि थिए । महिनाको कुनै निश्चित दिन नतोकिए तापनि महिनामा एकपल्ट भेला हुने गर्थ्यो । यसका मुख्य योजनाकार पद्म ढकाल त्यति वेला हाइस्कुलका छात्र थिए । त्यति वेला विद्यार्थीहरूको बढी सहभागिता हुन्थ्यो । अन्य साहित्यमा रुचि राख्ने मानिसहरू पनि भेलामा उपस्थित हुन्थे । विद्यार्थीहरूले आफ्नो स्तरअनुसारका कवितादि वाचन गर्थे । कार्यक्रमको अध्यक्ष र मुख्य अतिथि कहिले बाहिरबाट बोलाइन्थ्यो र कहिले आफ्नै बिचबाट चुनेर कार्यक्रम सञ्चालन गरिन्थ्यो । पछिबाट यसका मूल संयोजक पद्म ढकाल कलेज पढ्न गौहाटी जाने हुँदा उक्त कार्यक्रमले विराम लिनपुगेको थियो ।

 बहत्तर गौहाटी नेपाली सांस्कृतिक मञ्च

यसपछि गौहाटीमा केही जागरूक साहित्यप्रेमी भेला भई बहत्तर गौहाटी नेपाली सांस्कृतिक मञ्च नामक एउटा सामाजिक संस्था खोलिएको थियो । यसले महिनामा एकपल्ट साहित्यिक भेला कार्यक्रम पनि सञ्चालन सुरु गरेको थियो । यो भेला कार्यक्रम सन् १९५८ देखि सन् १९६३ सम्म चलेको थियो । यसले भेलाले छ महिनादेखि वर्ष दिनभित्रमा एकपल्ट पूर्णाङ्की नाटकमञ्चन पनि गर्थ्यो । त्यस नाटक हेर्न आउने दर्शकका निम्ति मञ्चन प्रवेश शुल्क लिने चलन थियो तथापि नाटक हेर्न आउने दर्शकहरूको खचाखच भिड हुन्थ्यो । एकपल्टमा एक हजारदेखि केही बढी नै रकम उठ्ने गर्थ्यो । त्यसमा केटा र केटी दुवैले नाच्ने र गाउने अभिनय गर्ने गर्थे । एक खेपमा एउटै नाटकमञ्चन हुन्थ्यो । यसका मूल नाटककारहरूमा प्रेमसिंह सुवेदी, थिए भने सहयोगीहरूमा सी बी गुरुङ, कमला राई आदि थिए । त्यस कार्यक्रममा ६ वा ७ ओटा जति नाटक मञ्चित भएका थिए ।

साहित्य परिषद्, विश्वनाथ चाराली

सन् १९८८ देखि साहित्य परिषद् विश्वनाथ चारालीमा पनि मासिक भेला आयोजना गरिन्थ्यो । यस कामका निम्ति मासिक रूपले नै प्रत्येक सदस्यबाट रु. २० को दरले उठाइन्थ्यो । कोठे गोष्ठीका रूपमा प्रत्येक महिनाको दोस्रो शनिबार सञ्चालन हुन्थ्यो । विभिन्न सदस्यका घरमा उक्त गोष्ठी हुने गर्थ्यो । प्रत्येक भेलामा कविता कता निबन्धादि वाचन गरिन्थ्यो । यस भेलाले विश्वनाथ पत्रिका सन् १९९१ मा प्रकाशित गरेको थियो । यसका साथै यसले भेलाको तत्त्वावधानमा खेमराज नेपालको ‘मेरो देश हिजो र आज’, हरि गजुरेलको ‘शब्द बटुल्दै’ कवितासङ्ग्रह, वृजलाल शर्माको ‘पोल खोल’ हास्य निबन्धसङ्ग्रह र ‘वक्रदृष्टि’ आदि प्रकाशित गरेको छ । यसका केही प्रमुख कार्यकर्ताहरूमा डा खेमराज नेपाल, हरि गजुरेल, हरि लुइँटेल, चन्द्रकुमार शर्मा, नन्द भट्टराई, खिल उपाध्याय, वेदप्रसाद उपाध्याय, लोकनाथ शास्त्री आदि हुन् । तीन वर्षजतिमा जम्मा ३६ प्रकरण सञ्चालन भएपछि हालमा यो बन्द छ । त्यस भेलामा कसैले एउटा कुनै पाठ सुनाएपछि तुरन्तै त्यसको समीक्षा पनि गरिन्थ्यो ।

चर्चा

यसै गरी असमको शोणितपुर जिल्लाको बडसोलामा पनि साहित्य परिषद् विश्वनाथ चारालीमा भन्ने मासिक साहित्यिक कार्यक्रम सञ्चालित हुन्थ्यो । सन् २०१० को १५ अगस्टदेखि २०११ को अगस्ट महिनासम्म चलेको यस कार्यक्रमले केही योगदान दिएको छ । नयाँ लेखकहरूलाई प्रोत्साहन दिनु, साहित्यिक चर्चाको परिवेश सृष्टि गर्नु, सिर्जिएको साहित्यलाई परिष्करण गर्नु यसका मुख्य उद्देश्य थिए । यसको प्रत्येक प्रकरणमा एउटा केन्द्रीय विषय हुन्थ्यो तथा अन्य स्वतन्त्र विषयमा पनि पाठ हुने गर्थ्यो । केन्द्रीय विषय चाहिँ अघिल्लो बैठकले तोकेको विषयलाई प्रस्तुत गरिन्थ्यो । विशेष गरी निबन्ध र समीक्षा वा खोज अनुसन्धानमूलक लेख्ने अभिभारा विशेष एक जनालाई तोकेपछि उसको प्रस्तुतिपछि त्यस विषयबारे चर्चा हुन्थ्यो । यसबाहेक कविता, कथा र निबन्धादि पाठ हुन्थ्यो । प्रत्येक प्रकरण ज्येष्ठताको आधारमा सञ्चालक चुनिन्थ्यो र उसले नै कार्यक्रम सञ्चालन गर्नुपर्थ्यो । यसका निम्ति कुनै कमिटी गठन गरिएको थिएन तर यसका निम्ति श्री रुद्र बराल संयोजक थिए । यो कार्यक्रम बडसोला क्षेत्रभित्रका सदस्यका घर-घरमा पालैपिलो गरी सञ्चालन हुन्थ्यो । यसका मुख्य हर्ताकर्ता रुद्र बराल (संयोजक), डिल्लीराम खनाल, रञ्जन अधिकारी, रिजुदेवी, नरबहादुर दर्जी, दधि शर्मा, थिरेन्द्र शर्मा, गोपालकृष्ण घृतकौशिक, अञ्जन अधिकारी, गोपाल आचार्य, टिकेन्द्रदीप खनाल आदि थिए । यसको मुख्य उपलब्धिमा यस कार्यक्रममा पठन गरिएका श्री रुद्र बरालको कथाहरूको सङ्ग्रह ‘चरित्रहरूको खोजीमा अलमलिँदा’ (सन् २०१५) मुख्य हो भने यसको कारणमा उक्त क्षेत्रमा समाजमा साहित्यिक जागरूकताको पुनःप्रतिष्ठा प्राप्त गर्न सफल भएको छ ।

नेपाली कविमञ्च, जामुगुरीहाट

११-११-११ को मितिदेखि जामुगुरीहाटका केही जागरूक मानिसहरूको तत्परतामा मासिक साहित्यिक भेलाको रूपमा नेपाली कविमञ्च सुरु भएको छ । यसले विशेष गरी कविता विधालाई जोड दिएर आफ्नो यात्रा तय गरिरहेछ । यसका बारेमा अन्य जानकारी हासिल गर्न सकिएको छैन ।

कानेखुशी

सन् २० मई, २०१२ देखि बाक्सा जिल्लाको निकासीमा पनि एक हुल साहित्यमा रुचि लिनेहरूले कानेखुशी साहित्यिक तथा शैक्षिक भेटघाट नामक मासिक साहित्यिक भेला कार्यक्रम सुरु गरेका छन् । विशेष गरी निकासी क्षेत्रका विद्यार्थीहरूलाई साहित्यिक एवं शैक्षिक रुचि जगाउने उद्देश्य लिएको प्रस्तुत कार्यक्रम अनवरत रूपमा सञ्चालित छ । वेला-वेलामा विद्यार्थीहरूलाई हाजिरी जबाफ, निबन्ध, कविता, कथा, वक्तृत्वकला, तर्क आदिको प्रतियोगिता सञ्चालन गर्नु, विज्ञ विषय विशेषज्ञलाई डाकेर विद्यार्थीलगायत सबैलाई कनै विषयमा चर्चा गर्नु, वेला-वेला गायन प्रतियोगिता राखेर विद्यार्थीहरूमा गायनको प्रतिभा देखाउने अवसर प्रदान गर्नु यसका मुख्य क्रियाकलाप रहेका छन् । यसले आप्नो मुखपत्र ‘कानेखुशी’ (२०१३) भन्ने पत्रिका पनि प्रकाशित गरेको देखिन्छ । यसका साथै तेजपुरको प्रसादसिंह सुब्बा स्मृति अकादमी, असमले वितरण गर्ने गरेको ‘प्रसादसिंह सुब्बा स्मृति पुरस्कार’ पनि आफ्नो सौजन्यमा परिचालन गरेको थाहा पाइन्छ । संयोजक हेमलाल कश्यप हुन् भने अन्य मुख्य कार्यकर्ताहरूमा चन्द्र घिमिरे, गोपाल शर्मा, देवव्रत घिमिरे, खड्ग राई, दीपक गुरागाईँ, दुर्गा बराल, धर्म घिमिरे, बुद्ध छेत्री, हरिहर उपाध्याय, मधु अधिकारी, अशोक बराल, केदार बराल, नवराज बराल, भानुभक्त गुरागाईँ, खिलप्रसाद पोखरेल, ढुकमाया शर्मा, तिलक भट्टराई आदि शिक्षकशिक्षिका रहेका छन् ।

गोर्खा ज्योति मासिक भेला, मणिपुर

यो गोर्खा ज्योति परिवार, मणिपुरद्वारा आयोजित गरिने मासिक साहित्य गोष्ठी हो । स्थापना – सन् २००६ अक्टोबरमा गोर्खा ज्योति प्रकाशनको स्थापना भएपश्चात् २००७ को फेब्रुअरीदेखि यस भेलाको सुरुआत गरिएको हो । सन् २००८ सम्म चलेर यस भेलाको सञ्चालन बन्द भयो । यसले दुई वर्षमा लगभग १३ ओटा प्रकरण पूरा गऱ्यो । मुख्य सदस्य र कार्यकर्ता – यस भेलाको सुरुआत गर्ने मुख्य कार्यकर्ता र सदस्यहरूमा श्री मुक्ति गौतम, देवीप्रसाद थापा, हरि बस्नेत, सीताराम अधिकारी, गोमादेवी शर्मा, नेत्रप्रसाद अधिकारी, दीपक पन्थ, वासुदेव खनाल, मोहन पोख्रेल, निर्मल चापागाईँ, काशीनाथ अधिकारी, बबिता घिमिरे, रोशन दियाली र अरू धेरै सदस्यहरू हुनुहुन्थ्यो ।

गोर्खा ज्योति मासिक भेलाको प्रक्रिया – यो भेला सुरुआतमा कार्यकर्ताहरूको घरमा गरिन्थ्यो । केही महिना यसरी घर घरमा गरेपछि सामाजिक स्थल (स्कुल, क्लब घर, मन्दिर, सार्वजनिक भवनहरू) मा गरिन थाल्यो । सामाजिक स्थलमा गरेका भेलाहरूमा साधारण जनतालाई पनि कार्यक्रममा आकर्षित गराउन साहित्य गोष्ठीका साथै सांस्कृतिक कार्यक्रम पनि सामेल गरिन्थे । यस भेलामा सिकारु लेखक र विद्यार्थीहरूलाई प्राथमिकता दिइन्थ्यो । सिकारू लेखकहरूका रचना सुनेर विद्वानहरूबाट समीक्षा हुन्थ्यो । मासिक भेलामा सामेल भएर आफ्ना रचना सुनाउने र पत्रिकाको लागि रचना दिने कार्य भइरह्यो । यस्ता कुनै कुनै मासिक भेलालाई ‘नवलेखक प्रशिक्षण शिविर’ नाम दिएर सिकारु लेखकहरूलाई रचना लेखनको तालिम पनि दिइयो ।

उद्देश्य– मणिपुरका विभिन्न गाउँमा रहेका नेपाली भाषीहरूमा नेपाली भाषा र साहित्यको प्रति जागरूकता ल्याउनको लागि प्रयास गर्नु यो भेलाको उद्देश्य थियो । साहित्य गोष्ठीको आयोजना गरेर नवलेखकहरूलाई प्रोत्साहन दिनु र उनीहरूले लेखेका रचना सुनेर त्यहीअनुसार मार्गदर्शन दिनु पनि यसको उद्देश्य थियो ।
उपलब्धि– यसरी गरेको मासिक साहित्यिक भेलाले ‘गोर्खा ज्योति’ मासिक पत्रिकामा लेख्ने सिकारु रचनाकारहरूलाई धेरै उत्साहित बनाएको थियो । यसरी पत्रिकामा रचना निकाल्नुको साथै सन् २००८ देखि पुस्तक नै पनि प्रकाशनमा आउन थाले । यसरी नयाँ-नयाँ रचनाकारहरूले पत्रिकामा रचना प्रकाशित गर्नु र साथै पुस्तकसम्म प्रकाशित गर्नुमा यी साहित्य गोष्ठीहरूको ठुलो हात रहेको छ ।

 असम नेपाली साहित्य सभा, गमिरी

असम नेपाली साहित्य सभाको गमिरी शाखाले ९ फरबरी २०१४ का दिनदेखि प्रति महिना सम्पन्न हुने मासिक भेला कार्यक्रम सुरु गरेको छ । यसले त्यस भेकका मानिसहरूमा साहित्यिक लेखनगत परिवेश सिर्जना गर्ने उद्देश्यले स्थापित भएको यस भेलाले क्रमिकता पुग्दै आएको देखिन्छ । प्रत्येक महिनाको पहिलो वा दोस्रो आइतबारका दिन कुनै सदस्यको घरआँगनमा भेलाको आयोजना हुन्छ । यसले हालसम्म १२ ओटा प्रकरण पूरा गरेको छ । यस भेला कार्यक्रममा त्यस गमिरी भेकभरिका साहित्यप्रेमी मानिसहरूको उपस्थिति पाइन्छ । यसका सभापति श्री उदयनारायण गौतम र संयोजक-सचिव डा. धरणी ढुङ्गेल रहेका छन् । प्रत्येक भेला सरस्वती वन्दनाबाट सुरु भएर कसैले कविता, कथा, लेख, हस्यौली, गीत आदिको पाठनगायन हुन्छ । यसमा सक्रिय रूपमा श्री उदयनारायण गौतम, श्री तुलसीशरण उपाध्याय, श्री द्रोण आचार्य, डा. शिव आचार्य, डा. धरणी ढुङ्गेल, श्री राम दाहाल, श्री पूर्णकुमार शर्मा, श्रीमती रेणु गौतम, सुश्री लता देवी, श्री भाष्कर ढुङ्गेल, श्रीमती तारावती गिरी, श्री देवकुमार उपाध्याय, श्री भागवतप्रसाद उपाध्याय, श्री चन्द्र भट्टराई, श्री राजु गौतम, श्री रोमनाथ शर्मा, श्री सोमप्रसाद दाहाल, श्री नारायण अधिकारी, श्री नारायण आचार्य, श्रीमती कल्पना शर्मा, श्रीमती चम्पा घिमिरे, हिरण्य घिमिरे आदि रहेका छन् ।

यसबाहेक गौहाटीका केही जागरूक साहित्यकार युवावर्गको सक्रियतामा कोलाज आन्दोलन पनि सम्पन्न भएको थियो । त्यसलाई मासिक भेला मान्न नसकिए तापनि त्यसले ठाउँ-ठाउँमा गएर कविताको वाचनको आयोजना गर्दथ्यो । यसका मुख्य अभियानकर्ता अविनाश श्रेष्ठ थिए । उनी युवा अवस्थामा छँदा सत्तरीको दशकमा गुवाहाटीमा आफ्ना केही साहित्यिक मित्रहरू मिलेर कोलाज आन्दोलन गरेका थिए, जसको प्रभावले असममा नयाँ-नयाँ लेखक समूह लेखन प्रवृत्तिको प्रवेश भयो । उनीबाहेक यसका केही मुख्य लेखक- कार्यकर्ताहरू लगभग २०-२५ जनाजति थिए । तीमध्ये केही प्रमुखहरूमा उनीबाहेक बालकृष्ण उपाध्याय, कमल बगाले, मित्र उपमन्यु, दिलीप सिंह, अनुराग प्रधान, शान्ति थापा, देबेन सापकोटा, भीम सोताङ, विनोद कोइराला, विजय पद्मनील, ध्रुव शर्मा, छविलाल पौड्याल, मोहन श्रेष्ठ, राधिका उपाध्याय, रश्मि बगाले, तिलक रसाइली, विजयकुमार राना आदि थिए । असमीय चित्रकला एकाडेमीमा विशेष गरी पिकासोका चित्र देखेर कोलाजको अवधारणा उब्जेको थियो । कुनै पनि कुरालाई कलात्मक रूपमा समग्रमा लेख्ने कोलाजको विचारलाई कवितामा उतार्ने अभियान थालेका थिए ।

स्रोत व्यक्ति र अन्य विवरण

  • डा. खेमराज नेपाल, विश्वनाथ चाराली, शोणितपुर ।
  • श्री रुद्र बराल, बडसोला, शोणितपुर ।
  • कानेखुशी, अङ्क १, वर्ष १, निकासी ।
  • डा. सीताराम अधिकारी, गोर्खा ज्योति मासिक भेला, मणिपुरको लिखित जानकारी ।
  • डा. धरणी ढुङ्गेल, गमिरी, शोणितपुर ।
  • गायत्री नेवार, तेजपुर ।