कोसेली बोकेर पक्कै कतै जानु भएको छ । अथवा घरमा आउने पाहुनाहरूबाट पक्कै कोसेली पाउनु भएको छ ।
कतै घुमफिरबाट घरमा फर्कंदा होस् या कसैको घरमा पाहुनाको रूपमा जाँदा होस् । हामी कोसेली या भनौँ पाहुर बोकेर जान्छौँ । घरमा बनाएका ठाउँ अनुसारका परिकार, कृषि उत्पादन अथवा अन्य वस्तु कोसेलीका रूपमा बोक्ने नेपालीको परम्परा हो । गाउँघरबाट शहरतिर जाँदा दूधबाट बन्ने परिकार, घिउ, मह, अचार, तरकारी आदि कोसेलीका रूपमा लगिन्छ भने शहरबाट गाउँतिर जाँदा कपडा, भाँडा कुँडा या अन्य आधुनिक वस्तु लगिन्छ । अथवा केटाकेटीलाई चकलेट, चाउचाउ, बिस्कुट लगिदिने प्रचलन पनि बढ्दो छ । यो त भयो नेपालको हाम्रो कुरा । आज पनि यो स्तम्भकारले हजुरहरूलाई जापानको कोसेली (ओमियागे) संस्कारको बारेमा केही आफ्ना अनुभूतिहरू साझा गर्दैछ ।
जापानमा कोसेली बोक्ने परम्परा या भनौँ संस्कार बडो गज्जबको छ । यो यहाँको संस्कृतिको अभिन्न अङ्ग जस्तै हो । कोसेली बोक्नु अनिवार्य छैन अथवा कुनै बाध्यकारी नियम छैन तर अधिकांश जापानीहरू कुनै यात्राबाट फर्कंदा आफ्नाहरूको लागि कोसेली बोकेर फर्कन्छन् । यात्रा केही महिनाको होस्, हप्ताको होस् या बिहान पुगेर बेलुका फर्कने किन नहोस् । उनीहरू कोसेली किन्छन् किन्छन् । ओमियागे अर्थात् कोसेलीले यहाँको सन्दर्भमा ‘मेरो अनुपस्थितिमा तिमीले काम गर्यौ अथवा यात्रामा मैले तिमीलाई सम्झिरहेको थिएँ’ भन्ने खालको भावको अभिव्यक्ति पाइन्छ ।
कोसेली परम्परा विशेष गरी जिम्मेवारीबोध गरेजस्तो अथवा मेरो कर्तव्य हो भने जसरी उनीहरू निर्वाह गर्छन् । घर परिवारमा आफ्नो रिक्तताका लागि क्षमा मागेजस्तो भाव प्रकट गर्न यसले सहयोग गरेजस्तो देखिन्छ । अझ रोचक कुरा त के छ भने कम्पनीहरू अथवा अफिसमा काम गर्ने सबै कर्मचारी, सहकर्मीहरूका लागि पनि उनीहरूले कोसेली बोक्छन् । सबैलाई पुग्ने गरी ल्याउँछन् । म आफैले पनि धेरै पटक मेरा सहकर्मीहरूले ल्याइदिएको कोसेली पाएको छु । उनीहरूको त्यति बेलाको मनोवृत्तिमा बडो कृतज्ञता प्रकट भइरहेको हुन्छ । मेरो अनुपस्थितिमा तिमीहरूले मेरो भागको पनि काम गर्यौ, मैले तिमीहरूलाई गाह्रो बनाएँ है भन्दै उनीहरूले बडो सम्मानका साथ कोसेली प्रदान गर्छन् ।यसमा उनीहरूको त्यो रिक्तता पूर्ति गरिदिएको धन्यवादको भाव प्रकट गर्ने भौतिक साधन ओमियागे अर्थात् कोसेली बनेको हुन्छ । यसले यहाँका कार्यालय, कार्यस्थल र सहकर्मीहरूबिच सहकार्य र सामूहिक भावना निकै बलियो बनाएको छ ।
जापानमा ओमियागे अर्थात् कोसेलीको रूपमा खानेकुराको प्रयोग धेरै हुन्छ । उसो त हस्तकला, काष्ठकला लगायतका कला झल्कने वस्तुहरू पनि ओमियागे बन्न सक्छ । खानेकुराको हकमा सानो सानो मात्रा या टुक्रालाई पनि कागजमा बेरेर अलि ठूलो प्याकेट बनाइएको हुन्छ । एउटै प्याकेटभित्र धेरै अलग अलग टुक्रा या प्याकेट राखिएको हुन्छ जसले समूहमा, कार्यालयमा या परिवारमा बाँडेर खान सहज बनाउँछ । हेर्दा सुन्दर, सुरक्षित र स्वस्थ देखिने गरी तयार गरिएका यी कोसेलीहरूले यहाँ सबैमा समानताको भाव प्रकट गरिरहेका हुन्छन् ।
कोसेलीमा समावेश हुने खानेकुराहरू स्थानीय उत्पादन नै हुन्छन् । यी उत्पादनहरू यहाँको क्षेत्रीय पहिचान र अस्तित्वको प्रतीक हो भन्दा पनि अत्युक्ति हुँदैन । यो उक्त स्थानको सांस्कृतिक पहिचानसँग पनि जोडिएको हुन्छ । हरेक शहर या प्रान्तका आफ्नै विशेषता र पहिचान झल्किने ओमियागेहरू हुन्छन् । प्याकेटहरू आकर्षक र प्रान्तीय ऐतिहासिकता र संस्कृति झल्काउने खालका हुन्छन् । जस्तो कि होक्काइदो पुग्दा दूग्धजन्य पदार्थका कोसेलीहरू प्राथमिकतामा पर्छन् । क्योतो, नारा पुग्नेले माच्याबाट बनेका कोसेली किन्छन् । क्युशु क्षेत्रमा जानेले सखरखण्डबाट बनेका कोसेली किन्छन् । टोकियो जानेले प्राय टोकियो बानाना किन्छन् । कागावातिर पुग्नेले उदोनसँग सम्बन्धित कोसेली रोज्छन् ।
सबै क्षेत्रका आआफ्ना स्थानीय उत्पादनहरू हुन्छन् । ती उत्पादनहरू किन्न पनि यति सहज छ कि, हरेक ठाउँमा आँखै अगाडि उपलब्ध हुन्छन् । एयरपोर्टमा, बसपार्कमा र रेल स्टेशनको गेटमै सहजै उपलब्ध हुन्छन् । सुपरमार्केटदेखि कोन्भिनियन्स स्टोरसम्मै । यसले त्यहाँका किसानका उत्पादनहरूलाई सजिलै बजार प्रवर्द्धन गर्न पनि मद्दत त पुगेको छ नै थुप्रैको संख्यामा प्रत्यक्ष अप्रत्यक्ष रोजगारीको पनि सिर्जना भएको छ । ठूलाठूला कारखानाहरू चलेका छन् । अझ गज्जबको कुरा त के भने ती ओमियागेहरू प्राय कागजमा बेरिएका हुन्छन् र सकेसम्म प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्ने गरेका हुन्छन् । यो उनीहरूको वातावरणप्रतिको चासो र चिन्ता ओमियागेमा समेत झल्किने गर्छ । यसरी हेर्दा ओमियागे अथवा कोसेली संस्कारले यहाँको अर्थतन्त्र चलायमान राख्न पनि केही न केही भूमिका खेलिरहेको छ ।
ओमियागे किन्नै पर्छ या बोक्नै पर्छ भन्ने अनिवार्य छैन तर प्रायः सबैले किन्छन् । यो एउटा वस्तु मात्र होइन भावना पनि हो । नल्याउँदा पनि कसैले किन ल्याएनौ भन्दैन तर त्यहाँ केही असहजताको महसूस भने अवश्य हुन्छ । केही नपुगे जस्तो, केही नभए जस्तो रिक्तता हुन्छ । ओमियागे ल्याएर सबैलाई प्रस्तुत गर्दा या बाँड्दा आफ्नो अभावको रिक्तता परिपूर्ति गर्दै पुनः खुशी र सामूहिक सहकार्यको सहजीकरण हुन्छ । दिनेले पनि निकै सम्मान र दायित्वबोध गरेर दिन्छ र लिनेले पनि उत्तिकै सम्मान र अदवकासाथ ग्रहण गर्छ । यी ठाउँ विशेषका स्वाद, ऋतु विशेषका रङ र स्वादले अझै धेरै महत्त्व बोकेका हुन्छन् । उनीहरू ती प्याकिङ भएका वस्तु र तिनका खोलका कला हेरेर पनि रमाउँछन् ।
कुरै कुरामा थोरै नेपालको प्रसङ्ग, अथवा हाम्रो प्रसङ्ग पनि जोडेँ है । हामी जापानमा कार्यरत नेपालीलाई लामो बिदामा नेपाल गएर जापान फर्कंदा कोसेली के ल्याउने भन्ने चिन्ता प्रायः परिरहन्छ । जापानीजहरू खुल्ला रूपमा भएका खाने कुरा खाँदैनन् । हाम्रा स्थानीय उत्पादनहरू साना साना प्याकेटमा राखेर जापानको ओमियागेजस्तै देखिने गरी बेच्ने परम्परा हाम्रोमा अलि छैन । कतै कतै होला तर सहजै उपलब्ध पनि हुँदैन । अन्त्यमा काठमाडौं आएर त्यही गुदपाक र पुस्टकारी हेर्यो त्यो पनि ठूलो भाँडोमा या ठुलो प्याकेटमा हुन्छ जो जापानमा आफ्ना सहकर्मीहरूलाई प्रस्तुत गर्न निकै अफ्ठेरो पर्छ । म स्वयंले समेत धेरै पटक यस्ता समस्या भोगेको छु । पछिल्लो पटक मैले नेपालका धार्मिक र प्राकृतिक स्थलका फोटाहरू फ्रेममा राखेर दिएको थिएँ । तर यो निकै महँगो, बोक्न झन्झटिलो र सबैलाई पुराउन पनि गाह्रो भयो । हामीले पनि हाम्रा स्थानीय उत्पादनहरूलाई जापानको ओमियागे परम्पराबाट प्रेरणा लिई बजार प्रवर्द्धन गर्न सकेमा पक्कै पनि धेरै कुरामा सकारात्मक नतिजा देखा पर्ने कुरालाई नकार्न सकिंदैन ।
जापानका ओमियागेहरू आफूलाई परेको भाग खाँदा एकै गाँसमा सकिने खालका प्याकेटमा हुन्छन् तर पनि तिनले सञ्चरण गर्ने खुशीको आयतन सागरजस्तै फराकिला हुन्छन् । आकारमा साना हुन्छन् तर तिनले प्रदान गर्ने अर्थ निकै विशाल छन् । सम्बन्धको नवीकरण र पुनर्ताजकीमा यहाँका यी कोसेलीहरू कोशेढुङ्गा बनेका छन् । कोसेलीले निभाउने धर्मसँग महँगो या सस्तोले खासै महत्त्व राख्दैन । कुन रङ या कस्तो स्वादको भन्नेले खासै भूमिका खेल्दैन । कोसेली त कोसेली नै हो, जसले एक अर्काप्रतिको सम्बन्ध र सम्बन्धप्रतिको उत्तरदायित्वलाई सदैव जीवित बनाइरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 










