हास्यव्यंग्य साहित्यको उन्नयन र प्रवर्द्धनका लागि हास्यव्यंग्यकार राजेन्द्र कार्कीद्वारा स्थापित ‘खाइराइड हास्यव्यंग्य पुरस्कार’ स्थापना गरेका हुन् । उक्त पुरस्कारको व्यवस्थापक बाङ्गा अक्षरले आयोजना गरेको विद्यालय तहको राष्ट्रव्यापी हास्यव्यंग्य निबन्ध प्रतियोगिता २०८२ मा यो निबन्ध प्रथम भएको हो ।
= = =
सफा नगर भन्ने एउटा शहर थियो । नाम सुन्दा नै सफा लाग्थ्यो । तर शहरमा पस्दा जुत्ताले नै प्रश्न गर्थ्यो, “सफा भनेको कहाँ ?” शहरको बीचबाट बग्थ्यो सेती खोला, जसले कहिल्यै आफ्नो नाम बदल्न पाएन, तर रंग चाहिँ धेरैपटक बदल्यो —पहिले नीलो, पछि खैरो, अहिले कालो । त्यहाँ पहिले मानिसहरू नुहाउँथे, पानी पिउँथे, बच्चाहरू पौडी खेल्थे । तर अहिले त्यहाँ माछा होइन, प्लास्टिकका बोतलहरू पौडिन्छन् । खोला बोल्दैन, तर कहिलेकाहीँ गन्धले नै कुरा गर्छ—त्यो भनिरहेको हुन्छ, “मलाई बिर्सिएको होइन त ?”
सफा नगरका नेताहरू भने त्यो खोला आफ्नो गर्वको विषय ठान्थे । चुनाव नजिकिँदा उनीहरूको बोलीमा खोला पनि चकचके देखिन्थ्यो । मेयर उम्मेदवार मञ्चमा ठाडो भएर भन्थे, “हामीले सेती खोलालाई फेरि स्वच्छ बनाउनेछौं ! यो हाम्रो आमा हो !” जनताले ताली बजाउँथे ।
केहीले मनमनै भनिरहेका हुन्थे, “आमाको हालत हेर्नु त ।” तर ताली बजाउन उनीहरूलाई मन पर्थ्यो, किनभने ताली बजाउँदा आफूले पनि केही योगदान गरेको अनुभव हुन्थ्यो । भाषण सकेपछि सबै चोकमा सुकुटी खाँदै, जुस पिउँदै, बोतल खोलामा फ्याँक्दै घर फर्कन्थे । खोला त्यसै बेला बोल्थ्यो—गुलुगुलु, जस्तो हाँसिरहेको होस्, “धन्यवाद, तपाईंहरूको माया पाएँ ।”
पत्रकारहरूले प्रश्न गर्दा मेयर सधैं एउटै उत्तर दिन्थे, “हामीले सफा अभियान सुरु गरेका छौं, तर नागरिकले सहयोग गर्दैनन् । हेर न, उनीहरू फोहर खोलामा फाल्छन् । हाम्रो जनता नै असभ्य भयो ।” त्यही बेला नागरिक पनि चिया पसलमा बसिरहेका हुन्थे, अनि भन्थे, “मेयरले के गरे र ? फोहर जम्मा गर्न ट्रक पठाउँदैनन्, डस्टबिन राख्दैनन् । यस्तोमा हामी कहाँ फाल्ने ?” अनि अर्को सासमा चुरोटको ठुटो खोलामा फ्याँक्ने । दोष सबैलाई थाहा थियो, तर जिम्मेवारी कसैलाई थाहा थिएन । त्यही भएर कसैले जिम्मवारी लिँदैन थियो ।
एकपटक ‘सफा शहर, सफा खोला’ अभियान शुरू भयो । ठूला ब्यानर, लोगो, रेडियोमा गीत, टिकटकमा च्यालेन्ज—सबै चले । पहिलो दिन बिहानै मेयर र वडाध्यक्षले बडा उत्साहका साथ हातमा कुचो समाएर फोटो खिचे । पत्रकारहरूले भीड बनाए, टिकटक इन्फ्लुएन्सरहरूले सेल्फी लिँदै बोले, “हामी हाम्रो शहरलाई माया गर्छौं, तिमीहरू पनि गर ।” बिहानै फोटा, ह्यासट्याग, भिडियो—सबै इन्टरनेटमा भरिए । साँझभरी “CleanSetiChallenge” ट्रेन्ड भयो।
भोलिपल्ट बिहान खोला फेरि पुरानै अवस्थामा फर्कियो । वर्षाले सबै फोहर फेरि खोलामा ल्याइदियो । मेयरले पत्रकारहरूसँग बोले, “हामीले प्रयास गरेका थियौं, तर प्रकृतिले साथ दिएन ।” नागरिकहरूले भने, “सरकारले राम्रो नाली बनाएको भए वर्षाले फोहर ल्याउँथेन ।” सबैले सही कुरा बोले, तर गलत ठाउँमा ।
स्कूलमा बालबालिकालाई ‘नागरिकता’ विषय पढाइन्थ्यो, जहाँ शिक्षकले भन्थे, “देश हाम्रो घर हो, त्यसलाई सफा राख्नुपर्छ ।” स्कूलपछि त्यही शिक्षक बाटोमा धुलो भएको ठाउँमा थुक्थे । विद्यार्थीहरूले सिद्धान्त किताबमा हुन्छ भन्ने सिके, तर अभ्यास र व्यवहारमा अर्कै । शहरका युवाहरू फेसबुकमा लेख्थे, “देश हाम्रो होइन, नेताहरूको भयो ।” अनि कमेन्टमा लेख्थे, “Change starts from within,” तर बाटोमा चकलेटको खोल फ्याँक्थे । परिवर्तनको कुरा सबैले गर्दथे, अभ्यास कसैले गर्दैन थिए ।
एक दिन विदेशी प्रतिनिधि आए— “शहर सुधार अध्ययन भ्रमण” भन्दै । मेयरले उनीहरूलाई शहर देखाए । उनले खोला देखाउँदै भने, “यो हाम्रो सांस्कृतिक सम्पदा हो । हाम्रो योजना छ, यसलाई पर्यटकीय आकर्षण बनाउने ।” प्रतिनिधिहरू मुस्कुराए, सायद बुझेनन् कि त्यो पानी होइन, तर गन्धको बादल हो । भाषणमा सबै कुरा सुन्दर थियो— “हामीले मास्टरप्लान तयार पारिसकेका छौं, अब नागरिकहरूले सहयोग गर्नुपर्छ ।” त्यो सुनेर स्थानीयहरूले ताली बजाए, ताली बजाउँदा गन्ध कम कम हुन्छ भन्ने उनीहरूको अनुभव थियो ।
रामे नामको तरकारी बेच्ने मान्छे हरेक दिन खोलामा फोहर फाल्थ्यो । सोध्दा भन्थ्यो, “के गर्ने, ठाउँ छैन, सरकार डस्टबिन राख्दैन ।” उनकी श्रीमतीले भनिन्, “डस्टबिन राखेको भए फाल्थ्यौं नि ।” छोरोले सुन्यो, “त फोहर जथाभावी फाल्नुहुँदैन।” त्यही छोरो अर्को दिन आइसक्रीमको खोल बाटोमै फ्याँकेर दौडिन्थ्यो । हरेक घरमा यस्तै कुरा दोहोरिन्थ्यो— एक अर्कालाई दोष लगाउँथे, तर सुधारको शुरुवात कसैले गर्दैनथ्यो ।
पाँच वर्ष बित्यो । चुनाव फेरि आयो । पोस्टरहरू टांगिए, नारा गुञ्जिए, “सेती खोला सफा गरौं, शहरको शान बढाऔं ।” नयाँ उम्मेदवार मञ्चमा चढेर बोल्यो, “पछिल्ला मेयरले केही गरेनन्, म तीन महिनामै खोला सफा गर्छु ।” भीड ताली बजाउँथ्यो, केही हुटिङ पनि गर्दथे । भाषणपछि उम्मेदवार आफ्नो गाडीमा बसेर गए, उनले पिएको पानीको बोतल ड्राइभरले गाडीको झ्यालबाट बाहिर फ्याँक्दथे । त्यो पनि खोला नै पुग्दथ्यो ।
नयाँ मेयर बनेपछि पहिलो निर्णय भयो— “सेती खोला सुधार समिति गठन ।” त्यस समितिले अर्को महिनामा ‘उप-समिति’ बनायो । उप-समितिले अर्को महिनामा ‘कार्य समिति !’ कार्य समितिले भने, “अब हामी अर्को वर्ष अनुगमन समिति बनाउँछौं ।”
बैठकहरू भइरहे, नतिजा आएन । फाइलहरू बढे, नदी घट्दै गयो । पत्रकारहरूले समाचार लेखे, “नदी सुधार योजना अघि बढ्दै ।” जनताले पढे, “अनि भोलि केही हुने होला ।” भोलिपल्ट बिहान उनीहरूले फेरि फोहर खोलामा फ्याँके । तर खोला सफा गर्ने योजना र फोहर फाल्ने क्रम चक्र झैँ घुमिरह्यो ।
साँझपख हरेक दिन एउटा वृद्धा आउँथिन् । उनको अनुहारमा दया थियो, हातमा फूल र माला । उनले नदीलाई देवी सम्झेर फूल चढाउँथिन्, र भन्थिन्, “सेती माताले हामीलाई माफ गरुन् ।” पानीले ती फूलहरू बगाउँथ्यो, सँगै प्लास्टिकका झोला, बोतल, अनि हजारौं बहाना पनि बगाउँथ्यो । वृद्धा हाँस्दै भन्थिन्, “यो नदीले सबै कुरा बिर्साउँछ ।” सेती खोलाले शहरका सबै वाचा, प्रतिबद्धता, र आशा बिर्सिसकेको थियो ।
नदी अब केवल पानीको धारा थिएन, त्यो शहरको चरित्रको दर्पण थियो । जसरी नागरिकले दोष फ्याँक्थे, नदीले पनि सबै कुरा बगाउँथ्यो । जसरी नेताले झूट लुकाउँथे, तर नदी पटक पटककको नयाँ रङको फोहर लुकाउँथ्यो, जे हो त्यही देखाउँथ्यो । त्यसैले शायद त्यो शहरको सबैभन्दा इमानदार त्यही नदी नै थियो—किनभने उसले केही लुकाउँथ्यो ।
समय बित्दै गयो । शहर बढ्दै गयो, सँगै घर बढ्दै गए, नालीहरू साँघुरा हुँदै गए । मेयरको कार्यकाल फेरि सकियो । नयाँ उम्मेदवारहरू फेरि आए, नाराहरू फेरि दोहोरिए, “हामीले सेती खोला सफा गर्छौं ।” नारा दोहोर्याउन सजिलो । विश्वास गर भन्न झनै सजिलो छ, तर जिम्मेवारी पूरा गाह्रो !
अब शहरका युवाहरूले भने सिकेका थिए, “यहाँ दोष लगाउनु नै नागरिकताको पहिलो कर्तव्य हो ।” जब पनि केही बिग्रन्थ्यो—राति बिजुली जान्थ्यो, सडकमा फोहर हुन्थ्यो, पानी आउँदैनथ्यो—सबैको पहिलो वाक्य हुन्थ्यो, “यो सरकारकै गल्ती हो ।” अनि अर्को वाक्य हुन्थ्यो, “जनताले पनि सोच्नुपर्छ ।” अनि कुरा त्यत्तिमै टुन्गिन्थ्यो ।
सेती खोलाले यसैबीच सबैकोआवाज सुन्थ्यो—चुनावी गीत, नाराहरू, भाषण, अनि चिच्याउने नागरिकहरू । खोला शान्त बग्थ्यो, उसलाई हतार थिएन । मानिसहरू आउँछन्, जान्छन्, सरकार बदलिन्छ, ब्यानरहरू फेर्छन्, तर फोहरको रङ उस्तै रहन्छ ।
कहिलेकाहीं खोला सुक्थ्यो । तर यो देखेर पनि शहरमा कसैलाई चिन्ता भएन । बरु मेयरले नयाँ योजना ल्याए—“खोलाको मुहानमा पार्क बनाउने ।” नागरिकहरूले ताली बजाए । त्यो पार्क पनि बनेन, तर अर्को ब्यानर टाँगियो, “Clean City, Green Future.” खोला फेरि मुस्कुरायो, “मेरो भविष्य त पहिल्यै हेरिसकेको हो,, तिम्रो भने हेर्न बाँकी छ ।”
सफा नगरका मानिसहरू सधैं व्यस्त छन्—दोष लगाउन, पोस्ट लेख्न, सेल्फी खिच्न, अनि अर्को सफा अभियानको पर्खाइमा बस्न । उनीहरूलाई लाग्छ, जिम्मेवारी अरू कसैको हो, तर आफ्नो होइन । नेताहरूलाई लाग्छ, नागरिकले बुझ्दैनन् । नागरिकलाई लाग्छ, नेताले केही गर्दैनन् । खोला बीचमा बग्छ, जसले दुवैको कुरा सुन्न नचाहेको जस्तो ।
राति जब शहर सुतेको हुन्छ, सडकहरू शान्त हुन्छन्, तब मात्र सेती खोलाको आवाज प्रष्ट सुनिन्छ—गुलुगुलु गर्दै, जस्तो हाँसिरहेको होस् । त्यो हाँसोमा व्यंग्य छ, थकान छ, तर सत्य पनि छ । खोला भन्छ, “तपाईंहरू सफा हुन सुरु गर्नु हुन्छ भने म त सफा हुन्छु नि ।” तर त्यो कुरा सुन्ने फुर्सद कसैलाई छैन । सबै सुतिसकेका हुन्छन्—कोही सरकारलाई दोष दिएर, कोही जनतालाई। र बिहान उठ्ने बित्तिकै सबै फेरि आफ्नो जिम्मेवारीबाट भाग्न व्यस्त हुनेछन्…।
सफा नगरको इतिहास यही हो—जहाँ नदी बग्दै छ, तर विकास रोकिएको छ । जहाँ तर्कहरू सफा छन्, तर सडक र सोच दुवै फोहर । जहाँ सबै सही छन्, तर कसैले पनि काम गरेको छैन । शहर अझै सुन्दर बन्ने सपना देख्छ, तर उठ्ने बित्तिकै त्यसै सुत्छ । र सेती खोला अझै बग्दैछ—बोटल, झोला, र बहानाहरू बोकेर, शहरको दर्पण बनेर । अन्ततः, त्यो खोला नै शहरको सबैभन्दा इमानदार ठहरिन्छ—किनभने उसले कहिल्यै अरूलाई दोष दिंदैन, केवल शहरका कर्महरू बगाउँछ ।
त्यो दिन जब शहरका मानिसले खोलालाई हेरेर ‘हाम्रो प्रतिबिम्ब यस्तै त हो’ भन्ने हिम्मत जुटाउँछन्, शायद त्यही दिनबाट सेती सफा हुन थाल्छ । तर त्यो दिन आउँदैन । किनभने सफा नगरमा जिम्मेवारीभन्दा दोष सस्तो छ, र सबैलाई सस्तो कुरा मन पर्छ ।
र खोला हाँस्दै बगिरहेछ—शान्त, गन्धयुक्त, तर सत्य ।
कक्षा १२ डियरवाक सिफल स्कुल, सिफल, काठमाडौं



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 










