एक जना मित्रले चिया गफको सिलसिलामा भने, ‘निकै खस्यौली खस्यौली गरिरहन्छौ । खस्यौलीको अतीतलाई यसरी कोट्ट्याइरहन्छौ, मानौं त्यो भूस्वर्ग हो । स्वर्ग नै थियो भने तिमी र तिम्रा स्वजनहरू किन खस्यौलीबाट निर्मायापूर्वक बाहिरियौ ?  लौ लौ भन त तिम्रो भूस्वर्गको वर्तमान हालखबर !’

मेरो हृदय ढक्क भयो । मित्रको भनाइमा दम थियो । मेरो खस्यौली भूस्वर्ग भएको भए आज किन क्रमशः रित्तो हुँदैछ ? म अनिमिष धौलागिरितिर हेरेर टोलाउन थालेछु I मित्रले मेरो आँखा अगाडि हत्केलो तलमाथि गराउँदै भने, ‘किन टोलाएको ?’  मैले आफूलाई बिस्तारै संयत बनाएँ ।

हो, अचेल मेरो जन्मभूमिको सघनता घटेको छ । मेरो खस्यौली अचेल खचाखच छैन । तथापि मेरो खस्यौली अझै पनि खसोखास जीवन्त छ । इन्द्र पनि बेलाबखत आफ्नो अलकापुरीबाट बाहिर निस्कन्थे । ऋषिमुनिहरू स्वर्गसरी पर्णकुटी छाडेर नगरतिर भ्रमण गर्न जान्थे । स्वर्गका अप्सरा पृथ्वीका वन उपवनमा विचरण गर्थे । महाकवि कालीदासको यक्षलाई परिबन्दले गर्दा मातृभूमिबाट बेदखल भएर उज्जैन पुग्नुपर्‍यो ।  देवाधिदेव महादेव कैलाशको आनन्दभूमि छाडेर सारा संसारभरि भौंतारिन्थे । हाम्रा युगकवि सिद्धिचरण श्रेष्ठ पनि  भाग्यको लहरामा लहरिंदै काठमाडौं पुगेका थिए । काख छुट्दैमा आमाको माया कहाँ छुट्छ ?

बादशाह बाबर फरगना उपत्यका छाडेर हिन्दुस्तान आएका थिए । उनी हिन्दुस्तानमै बादशाही चलाउँथे । परन्तु सम्झना हरदम फरगनाकै गरिरहन्थे । पृथ्वीनारायण शाहले गोरखा छाडेर काठमाडौं राजधानी सारे पनि सपना गोरखाकै देख्थे । सपनामा बिसे नगर्ची जीवन्त भएर आउँथे । गुरु गोरखनाथ ‘हात थाप् !’ भन्दै साक्षात् उभिन्थे । पृथ्वीनारायण शाहको देहावसानपछि नेपाल दरबारमा कलह भयो कि दरबारको एउटा गुट सरक्क उठेर गोरखा पुग्थ्यो । गिरिजाप्रसाद कोइराला हृदय बेचैन र व्याकुल हुँदा फाल हाल्दै विराटनगर पुग्थे ।

अचेल खस्यौलीमा बुहारीलाई चिसो भान्सामा एकसरो धोती पहिरेर घण्टौंसम्म उभिनु पर्दैन । अचेल भाइबुहारीले जेठाजुको नजरबाट जोगिन मजेत्रोले टाउको छोप्नु पर्दैन । अचेलका बुहारीले जेठाजुलाई छुन मात्र होइन, ‘चियर्स’ गर्न पनि मिल्छ । अचेलकी बुहारीलाई माइत जान नपाएर महिनौं तड्पनु पर्दैन । उनले बिहानै भाले बाससँगै दैलो पोत्नु पर्दैन । तीजमा कोही लिन आउनु पर्दैन । माइत जानुभन्दा अघि स्वामीको मन बुझाएर बिदा माग्नु पर्दैन । तीज हो, जसरी आउँछ, त्यसरी नै जान्छ । माइत जाने या नजाने आफ्नै मर्जी ।

अचेल खस्यौलीमा ससुराको नाम काढेर बोल्ने स्वतन्त्रता छ । बुद्धिप्रसाद नामका ससुराकी बुहारीले बुधवार बार्नु पर्दैन । खस्यौलीमा सासूको जमाना सकियो । ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’ लोकोक्ति अर्थहीन छ आज । अचेल पूर्वमा लालिमा छाउनुअघि नै अगुल्टो हल्लाउँदै छिमेकीको पिँढीमा अवस्थित जाँतोमा गहुँ र कोदो पिस्न जानु पर्दैन । आफ्नै छायासँग डराउँदै रातबिरात पानी ओसार्नु पर्दैन । आज खस्यौली करिबकरिब स्वच्छन्द छ ।

खस्यौलीका किसान लघुवाका किसानका घरमा भात नपाक्दै खेतमा पुगेर काम गर्न थालिसक्थे । बिहान एक र दिउँसो दुई खेप मात्र बाली ओसार्न सकिन्थ्यो । धान बोक्ने खेतालाहरू शक्ति अनुसार सात पाथीदेखि एक मुरीसम्म बोक्थे । ठाउँ – ठाउँमा भारी बिसाउने र टेकाउने पर्खालहरू थिए । पराल बोक्नेहरू ढुकुर खेप गर्थे । दाइँ गर्ने दिन आधा रातमै उठेर काठे झिनुवाको भात, पिंडालुको छोरा र तामा मिसाएको तरकारी, अनि  मासको चिप्लो दाल पकाउँथे सासू र बुहारीहरू ।

एका बिहानै टन्न भोजन गरेका दएँरा र दएँर्नीहरू गोरु खेद्दै उज्यालोसँगै लघुवा पुग्दा  लघुवा सुतिरहेकै हुन्थ्यो । बेलुका खस्यौलीले गोरु फुकाउँदा  लघुवाको आधा मेलो मात्र सकिएको हुन्थ्यो । आज पनि खस्यौली जीवन्त छ । परन्तु यी कुरा सबै जो व्यतीत भए ती अतीत भए । आज म यो निबन्ध खस्यौलीमा बस्ने र खस्यौली छाडेर हिँडेकाहरू एवं तिनका सन्ततिलाई मातृभूमिको परिचय गराउनका खातिर लेख्दै छु ।

गाउँमा प्रायः सबैले मकैको आटो खान्थे । मुख्य खाना आटो भए तापनि भातको ठूलो धाक थियो । खाने त आटै हो, तर वाचिक  प्रचलनमा ‘भात खाने बेला भयो’ , ‘भात खायौ ?’  , ‘भात खाएपछि जम्मा हुने’, र ‘भाते निद्रा’ आदि जस्ता वाक्यांश प्रयोग हुन्थे । समयको थप्पडले हन्डर खानु परे तापनि ‘पाल्पाली ठसक’ कायमै थियो । किन्तु जति नै तिखारेर जुँगा हल्लाए पनि बुझ्नेले असली कुरो बुझेकै हुन्थ्यो ।  ‘आलु खाएर पेडाको धाक’ भने जस्तै ‘आटो खाएर भातको धाक’ उखान चरितार्थ थियो  खस्यौलीमा । चामल हाम्रो संस्कृति हो । वैदिक मन्त्रदेखि नै चामलको महिमा सुरु हुन्छ । आजापूजा, जन्म-मरण, मेला -पर्व, श्राद्ध – तिथि र पाहुनापाछाको स्वागतमा चामलै चाहिन्थ्यो ।

धानको बिउमा पानी पटाउने काम बडो झन्झटिलो थियो । पालो कुरेर रातभरि अनिदो बस्नुपर्ने । कुन बेला कसले कुलो भाँचेर आफ्नै ब्याडतिर लैजाला भन्ने डर । पद्धति बसाल्न नसकेपछि हरेकले प्रत्येकलाई अविश्वास गर्ने परिस्थिति आउँदो रहेछ । यो नेपाली समाजको परम्परागत विशेषता हो । पद्धति बसाल्न सके सबै सज्जन हुन पाइन्थ्यो । त्यसका लागि थप आर्थिक भार पर्ने पनि होइन । त्यसो गर्न सके समाजमा विश्वासको वातावरण पनि स्थापना हुन्थ्यो । त्यति गर्न नसक्दा ‘भित्रभित्रै सबै बेइमान, आवरणमा सबै इमानदार’ को अवस्था  विद्यमान थियो ।

जुनसुकै नकारात्मक घटनाभित्र सकारात्मक परिणाम पनि लुकेको हुन्छ । धानको ब्याडमा पानी पटाउन रातभरि फाँटमा बिताउनु सानो कष्टको कुरा थिएन । तर पाल्पा हैरानीलाई हौसलामा परिणत गर्न सिपालु थियो । समय कटाउने अनेक उपाय निकाल्थ्यो सिपालु जनमानस । त्यहाँ अनेकौं अभिनय र कौतुक देखाउने पात्रहरू थिए । सभ्य समाजमा हतपती भन्न नमिल्ने यौनिक परिहासका गफ सुनेर थकित् वृद्धहरू पनि जुरुक जुरुक हुन्थे । वाणीमा नाटकीयता थियो । असत्य कुरालाई पनि सत्य प्रतीत हुने गरी वर्णन गर्ने कुशाग्र कला थियो त्यहाँ ।

फेरि एकै ठाउँमा जम्मा भएर नाटकीय विलक्षणता देखाउन निपुण अर्को समूह त्यहीँ आइपुग्थ्यो अर्को कुलोसँग सम्बन्धित । घटनालाई सुन्दर तरिकाले वर्णन गर्ने आकर्षक शैलीका धनी अधबैंसे पुरुषहरू । जुनेली उज्यालोमा मृदु मुस्कानमा देखिने दन्तपंक्तिले व्यक्तित्वलाई निखार्थ्यो । संयोगवश यदाकदा काशी या काठमाडौं बसेर पढेका कवि हृदय बोकेका मानिसहरू पनि आइपुग्थे फाँटमा ।  रातको नीरवतामा शकुन्तला र दुष्यन्तका कथा सुनाउँथे उनीहरू । महाकवि कालीदास या लक्ष्मीप्रसाद देवकोटालाई छिचोलेर पढेका उनीहरूले कविताका पङ्क्ति मुखाग्र भनेर लघुवाको नीरस फाँटलाई  कविताको रसले सिक्त गराउँथे ।  ‘गान्धर्व विवाह गरी  शकुन्तलाको यौवनलाई चुस्नसम्म चुसेर गर्भवती बनाउने दुष्यन्तले कति सजिलै प्रेयसीलाई बिर्सन सकेका ?’ प्रश्न गर्थे उनीहरू I

आफू पढ्न बसेको ठाउँमा प्रेममा धोका खाएका ती बनारसी बाबु घनघोर रात्रिका बिच प्रेमिकालाई सम्झेर विह्वल हुन्थे । ‘शकुन्तलासँग त राजाले दिएको औँठी चिनो थियो । मेरो अतीत त चिनोविहीन छ भाइ ! मसँग  न त्यो वैभव , न व्यक्तित्व, न चिनोको रूपमा मुन्द्रीका र न त यौवनको आपसी रसपान । अग्निको नजिकमा घिउ पुग्दा झैँ मेरा पनि प्रेमका कलिहरू मुस्कुराए । अलि नजिक पुग्दा रोम रोम पुलकित भए । अझै नजिक पुग्न खोज्दा एउटा अपरिचित आवाज बोल्यो, ‘खबरदार !’ फेरि शरीरभरिका रोमहरू ठाडा भए । पहिलो पटक अनुरागमा पुलकित भएका रोमहरू पछिल्लो पटक भने भयभीत भएर जुरुक्क उठे ।’ कतै पढेको थिएँ, ‘कभी फूलो की तरह मत जीना,  जिस दिन खिलोगे बिखर जाओगे । जीना है तो पत्थर बनके जीना, किसी दिन तरासे गये तो खुदा बन जाओगे ।’

रातबिरात हल्ला गर्दै खेतै खेत दगुर्नुको मजा नै बेग्लै । मानिसहरू सामान्यतया  कुलो र बाटामा दिसा गरेर फोहोर पार्थेनन् । तर कुनै कुनै बिठ्याहा अधर्मीले बाटामै थासो लाएर छाडिदिन्थे । मनलागी ठाउँ कुठाउँ  गरेको दिसामाथि तातो भुङ्ग्रो खन्याइदिएमा हगुवाको गुदद्वार कुहेर सास्ती बेहोर्ने विश्वासमा त्यसरी भुङ्ग्रो खन्याइदिने चलन पनि थियो । त्यसमा  वैज्ञानिक र मनोवैज्ञानिक दुवै फाइदा थियो । पहिलो आगोका रापले कीरा मर्थे, र दोस्रो मानिसमा डर पैदा हुन्थ्यो ।

रोपाइँलाई समारोह झैँ महत्त्व दिइने हुँदा थकाइको महसुस नै नहुने । आपसमा हिलो खेल्दा हुने नारी र पुरुषबिचको रोमाञ्च एवं उन्मादका कुरै बेग्लै । वाली गीतले अँध्यारोमा पनि बाटो देखाएर गाउँसम्म पुर्‍याउँथ्यो ।

बिहान उज्यालो नहुँदै कामीहरू वनमा गोल पोल्न जान्थे । गोल पोल्दाको मैलो र खरानी शरीर र अनुहारभरि पोतिएको हुन्थ्यो । राङ्से  डोकामा गोल बोकेर आउने कामी काका साक्षात् भगवान् विश्वकर्मा जस्ता देखिन्थे । आरनमा फलाम पिटेको ठ्याङ ठ्याङको घनघोर आवाज र खलाँतीको मधुरो ध्वनि मिलेर एउटा प्रेरणादायी सङ्गीतको सिर्जना गर्दथे ।  अचेल  खस्यौली आधा रातमा उठेर वनतिर जाँदैन । आज खस्यौली सुखारी र ‘सुकिलो’  भएको छ । अचेल खयौली बिहान अबेरसम्म सुत्छ ।

खस्यौली र खस्यौली वरपरका धर्मभीरू गाउँलेहरू यो जुनीलाई सपार्न र अर्को जन्मलाई  सुरक्षित बनाउन अनेकौं यज्ञ, पूजाआजा र दानपुण्यको अनुष्ठान गर्थे । ती धार्मिक कार्यका आयोजनमध्ये  अष्टोत्तरशत ब्राह्मण भोजन ( बाहुन खुवाउने) पनि एक हुन्थ्यो । म पाँच कक्षामा पढ्दाको कुरा हो । हाम्रो माथिल्लो खस्यौलीमा मगालतिरका एक जनाको घरमा बाहुन खुवाउने निम्तोमा जान आठवटा ‘टिकट’ (सादा कागजमा कलमले लेखेको सानो चिर्कटो) प्राप्त भएको खबर आयो ।
नियत तिथिका दिन एका बिहानै हामी आठ जना ‘बाहुन’हरू मगालतिर प्रस्थान गर्‍यौं । करिब तीन घण्टाको बाटो थियो । ननुहाईकन जाँदा पाप लाग्ने डर थियो । पूर्व डोरो नपर्दै सबैले आआफ्नो आँगनमा एक लोटा पानीले स्नान गरियो । गायत्री जपेर भ्याउँदा झिसमिसे हुने नै भयो । कार्तिक महिनाको अन्तिम याम हुनाले जाडो सुरु भइसकेको थियो ।

जाग्दो जाडोमा सिउसिउ गर्दै हामी सबैजना पिपलगौंडामा जम्मा भएर पश्चिमतर्फ अभिमुख भयौं । त्यहाँ रामप्रसाद श्रेष्ठ (प्रधानपञ्च) सिमलीको खरेटोले आँगन बढार्दै थिए । दिल्लगी गर्न र चिनेको प्रत्येक व्यक्तिलाई हाँसो लाग्दो दोस्रो नाम दिन सिपालु एवं लोकप्रिय थिए उनी । उनले यथोचित भलाकुसारीपछि भने, ‘पेटका नशा फुलुन्जेल खानु है बाजे हो !’ म त्यस्तो भोजमा पहिलो पटक जाँदै थिएँ । प्रधानको ठट्टा सुनेर मलाई कस्तो कस्तो लाग्यो ।

भोजनार्थ बोलाइएको घरको आँगनमा गुन्द्रा काम्ला बिछ्याएका थिए । भलाद्मी देखिने घरबेटीले सबै ब्राह्मणका गोडामा आफ्नै हातले घिउ घसिदिए । स्वागत न्यानो र सम्मानपूर्ण थियो । ‘दुई घडी चियापान गर्दै आराम गर्नुहोला ।’ सबैका अनुहार उज्याला देखिए । नजिकै तामाको ताउलामा चिया पाक्दै थियो ।  एक सय आठ ब्राह्मणमध्ये केही किशोरहरू थिए । केही अक्षर मात्र चिन्ने, तर शास्त्र नजान्ने अधबैंसे थिए । केही चाहिँ कर्मकाण्ड र शास्त्रसमेत पढेका पण्डितहरू पनि थिए ।

जहाँ पढेलेखेका मानिसको जमघट हुन्छ, त्यहाँ केही न केही बौद्धिक कुरा त अचेल पनि हुन्छ नै । एक जना अलि बुझक्कड जस्ता देखिने महानुभावले अर्का पण्डित जस्ता देखिने सुन्दर र आकर्षक मानिसलाई सोधे, ‘मनुष्य र जनावरमा के भिन्नता छ ?’ उपस्थित सबैजना गलल्ल हाँसे । म पनि लयमा लय मिलाउँदै  हाँसें ।

तर ती सुन्दर रूपका पण्डित भने हाँस्नुको  सट्टा गम्भीर भए । उनले भने, ‘ठुलो फरक छ । जनावरलाई के खाने, कति खाने, कहाँ र कहिले खाने भन्ने ज्ञान हुन्छ, तर मनुष्यमा  त्यस्तो ज्ञानको अभाव छ । जनावर प्रकृतिको नियमलाई अनुसरण गर्दछ । परन्तु मनुष्य भने नियमहीनताको महासागर हो ।’

मैले उनको कुरा केही बुझें,  केही बुझ्न सकिन।

अष्टोत्तरशत ब्राह्मणहरूले एउटै पंक्तिमा बसेर भोजन गरेको  दृश्य रमणीय थियो । त्यहाँ न क्यामेरा, न रेकर्डर, न पत्रकार र न त कोही प्रसारक । थालमा खुवाएर साध्य थिएन । भात टपरीमा र दाल, तरकारी र अचार बोतामा पस्किएको थियो । डालामा राखिएको भात हातैले थपिदिंदै  थिए भान्सेहरू । सबै ब्राह्मणहरूले धोती फेरेका थिए । पकाउने नरनारी पनि एकसरो धोतीमै थिए ।

दुई रुपैयाँका दरले दक्षिणा पाएका हामी धन्य हुँदै यजमानलाई आशीर्वाद दिएर फर्क्यौं । जान झन्डै तीन घण्टा लागेको थियो भने फर्कन पनि त्यत्ति नै । पिपलगौंडा आउँदासम्म हामी भोक, तिर्खा र थकानले आक्रान्त भइसकेका थियौं । सहसा मनमा प्रश्न उठ्यो, हामी जाँदा पनि भोका थियौं र आउँदा पनि । छ घण्टाको हिँडाइ र तीन घण्टा जजमानको आँगनको बसाइमा हामीले के पायौं ? उता हँसिला प्रधानको कटाक्ष । उनी भन्दै थिए, ‘किन निदाउरो अनुहार नि बाजे हो ? भोक लाग्यो ?’

अहिले महसुस हुन्छ, हाम्रो गमन र आगमनमा भातको लोभ थिएन । त्यसमा प्रचलित संस्कृतिको सम्मान र कर्तव्यबोध थियो । आज त्यस्ता धार्मिक अनुष्ठान प्रायः हुँदैनन् । समय परिवर्तन हुनु जरुरी थियो र भएको पनि छ । अचेल खस्यौलीको ‘ब्राह्मण’ पनि अबेरसम्म सुत्छ । कहीँ कतै कुनै आजापूजामा जानु परे पनि प्रायः मोटरसाइकलमा जान्छ  । छुवाछुत र विभेदको भावना कम हुँदै गएको छ । जुन केही समयपछि निर्मूल हुनेछ र निर्मूल हुनु अत्यन्त जरुरी छ ।

थकित बटोहीहरू एक दिन भीमसेनको मन्दिरमुनि रहेको काजीमान साहुका माहिला छोरा माधवलाल श्रेष्ठको पसलमा चिया खाँदै थिए । गोरखपुरमा बीएको परीक्षा दिएर फर्कंदै रहेका उनीहरू सायद खस्यौलीभन्दा पश्चिमतिरका शिक्षकहरू थिए । ढल्कँदो  युवा वयका उनीहरूमध्ये एकको हातमा मुन्सी प्रेम चन्दको कर्मभूमि, अर्काको हातमा धर्मयुग र अझै अर्काको हातमा कादम्बिनी थियो । मैले ती सबै किताबहरू पहिलो बाजी देखेको थिएँ । किन हो किन मलाई  कादम्बिनी हेर्न मन लग्यो ।

‘हेर्छु है !’ भनेर सोधें । ठुल्ठुला आँखा भएका ढल्दो बैंसका सुन्दर मान्छेले मलाई यसो हेरे । डर पनि लाग्यो ।

सोधे,  ‘कतिमा पढ्छौ ?’

भनें, ‘ नौ मा ।  अब रजिस्ट्रेसन फाराम भर्नुपर्छ रे । हिजो फोटो खिचाउन तानसेन गएको थिएँ ।’

उनले  नरम आवाजमा भने, ‘ हिन्दी बुझ्छौ ?’

भनें, ‘मेरा जेठा दाइ गोकुल  इन्डियन आर्मीमा हुनुहुन्छ । घर आउँदा अल इन्डिया रेडियो सुन्नुहुन्छ । दाइसँग बसेर बिनाका गीतमाला पनि सुनेको थिएँ ।’

उनले ‘ल एक्कैछिन मात्र है ! हाम्रो जाने बेला हुन लाग्यो’ भन्दै कादम्बिनी मेरो हातमा राखिदिए । मैले राजेन्द्र अवस्थीको  ‘काल चिन्तन’  ध्यान दिएर पढें । हृदय नै रसायो । त्यो पन्ध्र मिनेटको कादम्बिनी पढाइको प्रेरणाले नै होला, मैले वर्षौंसम्म कादम्बिनी, सरिता, मुक्ता, नवनीत, धर्मयुग र दिनमान पढें । अलि पछि गएर इन्डिया टुडेको पनि नशा लाग्यो ।

एक जनाले उपन्यासमा पढेको कुरा झिके । ‘आफ्नै आँखा अगाडि प्यारो मित्रको पतन हुँदै गयो । मित्र पतनको बाटोमा छ भन्ने थाहा छ, किन्तु सम्झाएको कुरा मान्दैन । विनाशको  घडीमा मान्छेलाई अमृत पनि विष समान लाग्छ  ।’

‘मैले तिमीलाई विशाल वटवृक्ष झैँ अटल ठानेको थिएँ । तिमी त बेत निस्क्यौ I’

‘बारम्बार पसिनाले भिज्दै र सुक्दै गरेको अनुहार । आँखाका दुबै कुनामा कचराका बिरूप डल्लाहरू । अत्यन्त थकित प्रतीत हुन्थ्यो ऊ । उसका आँखा पश्चात्तापका आँसुले भरिए । म पनि द्रवीभूत भएँ I’

‘हाम्रो देश नारीको सुरक्षा र सम्मानको मामिलामा धेरै गरिब छ ।’

उनीहरूले गोरखपुरमा सिनेमा पनि हेरेका रहेछन् । साहिरको गीत गाउँदै पश्चिमतिर लागे सबै I ‘औरत ने जनम दिया मर्दों को, मर्दों ने उसे बाज़ार दिया, जब जी चाहा मसला कुचला, जब जी चाहा धुत्कार दिया ।’