मानिसको जीवनमा कथाहरू धेरै हुन्छन् । कतिपय लेखिन्छन् भने कतिपय लेखिन नपाई बिलाउँछन् । भोगिएका सबै कथाले जीवन्तता पाउँदैनन् । सबै लेखिएका कथाहरू भोगिएका नहुन सक्छन् । जब कथाले लेखकका कल्पनाको माध्यमबाट कापीका पानामा जन्म लिन्छन्, तब तिनीहरूले एक पटक फेरि अस्तित्वको सङ्कट झेल्नुपर्ने हुन्छ । नलेखिएका कैयौँ ती कथाहरूजस्तै लेखिएका कथाहरू पनि हराउन सक्छन् । हराएका छन् । कस्ता कथाहरू जीवन्त हुन्छन् ? त्यसको उत्तर भेट्टाउन हामीले फेरि कथामै फर्कनुपर्ने हुन्छ ।
युगौँदेखि अमर रहेका कथाले हामीलाई बताइरहेका छन्— जीवन्तता पाउन त्यस कथामा पाठकले आफ्नो जीवनको छाया पाएको हुनुपर्छ । पाठकलाई त्यो कथा जीवनजस्तै लागेको हुनुपर्छ । त्यसले धेरैभन्दा धेरै पाठकको मन जितेको हुनुपर्छ । समयको आवाज बोलेको हुनुपर्छ, अनि मानिसले व्यहोरिरहने संवेदनालाई मुखरित गरेको हुनुपर्छ ।
कथा पढेर त्यसको सिर्जनात्मक दुनियाँमा डुब्नु एउटा मीठो अनुभूति हो । कथाहरूले कहिले हँसाउँछन् त कहिले रुवाउँछन् । कुनै–कुनै कथाले भने कुनै प्रभाव नै छोड्दैनन् । जुनजुन कथाले भित्रबाट छुन्छन्, तिनले कहिल्यै छोड्दैनन् । पाठकलाई आफूतर्फ तानिरहने शक्ति तिनमा हुन्छ । त्यस्ता कथामा पाठकले आफूले भोगेको जीवन पाउँछ ।
यस पालि मलाई पनि त्यस्तै भयो । म अमर कार्कीकृत ‘क्षितिजपारि’ कथासंग्रह पढ्दै थिएँ । कथाहरू पढ्दै जाँदा मलाई यस्तो लाग्यो—म ती कथाहरूका पात्रमा जताततै टुक्रिएर छरिएको छु । ती कथा आफ्नै कथा जस्तो लाग्यो । कथाहरूभित्र मेरै जस्तो मनोदशाबाट गुज्रिएका पात्रहरू थिए । कसैले मलाई सान्त्वना दिएजस्तो लाग्यो भने कसैले मलाई गिज्याएजस्तो लाग्यो । तर मेरो अनुभूति त्यतिमा मात्र सीमित रहेन । ती कथाहरूले मेरो मनमा थुप्रै प्रश्नहरू पनि जन्माए ।
यस संग्रहमा जम्मा १२ वटा कथा छन् । पहिलो कथा ‘फुगितिभा’ले क्युबाबाट अमेरिका पलायन भएको एक परिवारको कारुणिक कथा पस्किएको छ । कथा पढ्दै जाँदा म कैयौँ ठाउँमा भावुक भएँ । आफू प्रवासमा बस्ने हुनाले अर्को प्रवासीको कथाले स्वाभाविक रूपमा छुने नै भयो । कथाका पात्रले भोगेका कैयौँ घटनाहरू धेरै नेपालीले पनि भोगेकै घटनाजस्ता रहेछन् । लिसेटकै जस्तो परिस्थितिबाट गुज्रिएका नेपाली थुप्रै कथाहरूको पनि मलाई यो कथाले स्मरण गरायो । अमेरिकी नेपाली समुदायमा पनि थुप्रै फुगीतिभाहरू छन्, जसका कथाहरू लेखिन बाँकी नै छन् । करोडौँ रकम बिचौलियालाई बुझाएर तल्लो बाटोबाट अमेरिका प्रवेश गर्ने नेपालीहरूका कथा यत्रतत्र सुन्न पाइन्छ । कोही अमेरिका आइपुग्छन् भने कोही बाटोमै बिलाउँछन् । अमेरिका आएकाहरूले यहाँको जीवन सोचे जस्तो सजिलो पाउँदैनन् । अमेरिका आइपुगेपछि आफूलाई दुःख छ भन्ने आँट कसैमा हुँदैन । त्यसैले आफूभित्र जति सुकै ठूलो आँधीहुरी चले पनि बाहिर हाँसेको जस्तो बहाना गर्नु अमेरिकी चरित्रको एक विशेषता हो । ‘फुगितिभा’ पढिसकेपछि मलाई लाग्यो—कथाकारले नेपाली ब्रान्डका फुगीतिभाहरूको कथा अझ बढी विश्वसनीय तरिकाले प्रस्तुत गर्न सक्नु हुन्थ्यो होला ।
‘पिंजडा’, ‘अधुरो सपना’ र ‘बाको कथा’ जस्ता कथाहरूमा आफूजस्तै शरीर अमेरिका, दिमाग नेपाल भएका पात्रहरूसँग भेट भयो । आफूजस्तै मानिसहरूसँग भेट भएपछि आनन्द त आउने नै भयो । उनीहरूको जीवन पढेर आफूले पनि केही आत्मानुभूति गर्ने अवसर पाइयो ।
‘पिंजडा’ मा मैले आफ्नै कोरोना कालका कहालीलाग्दा दिनहरू सम्झिएँ । यस कथामा जमेको कथाकार अमर कार्कीको सिर्जनशीलताले मन्त्रमुग्ध बनायो ।
‘करोडौँको चिट्ठा, पुलमुनिको बास’ शीर्षक कथा पढ्दा धेरै पटक मन कटक्क भयो । यस कथाले आफ्नै ‘अमेरिकन सपना’ माथि व्यंग्य गरेको आभास भयो । चिट्ठामा पैसा जितेर केही दशकमै घरबारविहीन भएका कथाहरू यहाँ धेरै सुनिन्छन् । विषयवस्तु नयाँ नभए पनि अमर सरको कथा भन्ने तरिकाले कथाभित्र खिचिरह्यो । यहाँ पैसाले कसरी सम्बन्धहरूलाई विखण्डित गरिदिन्छ भन्ने कुरालाई चित्रण गरिएको छ । कथाको अन्त्यमा कथाकारले होमलेस भएर होपलेस भएको पिटलाई चिट्ठामा पाएको आधा भाग फिर्ता गरेको प्रसङ्गले भने हिन्दी चलचित्रका कथा अन्त्य गर्ने शैलीको स्मरण गरायो ।
कथाहरू पढ्दै जाँदा कतिपय कुरामा चाहिँ सहमत हुन गाह्रो भयो । ‘फुगितिभा’मा क्युबाली पात्रले एउटा भर्खरै चिनेको नेपालीलाई आफ्नो जीवनको दुःखद कहानी सुनाउँछिन् । त्यस्तै आधा कथा भनेर आमा जान्छिन्, अनि छोरीले त्यही कथा बीचबाट टिपेर बनाउन थाल्छिन् । कथाका पात्रहरू एक शवदाहगृहमा छन् । लिसेटकी सासूको लाश जलाउन लागिएको छ । लिसेट भने भर्खरै भेट भएको समीरलाई आफ्नो कहानी सुनाइरहेकी छन् । समीर एक नेपाली भएर हिस्प्यानिक समुदायको मृत्यु संस्कारमा सहभागी भएका छन् । जुन असम्भव त होइन, तर त्यति स्वाभाविक लाग्दैन । कमसेकम कथामा जुन सम्बन्धको नाताले समीर त्यो कार्यक्रममा सहभागी भएका छन्, त्यो मलाई त्यति वास्तविक लागेन । एउटा पाठकको हैसियतले म कथाको अवास्तविक संसारभित्र विश्वसनीयता खोजिरहेको थिएँ ।
‘अधुरो सपना’मा भने हरिनारायणको कागजी बिहेको सन्दर्भले फेरि पनि मनमा प्रश्न उठायो । अमेरिका आउन र यहाँको ग्रीन कार्ड बनाउन कागजी बिहे गर्ने परम्परा सर्वत्र जगजाहेर छ । तर हरिनारायणले अपनाएको तरिकाले चाहिँ त्यति मनाउन सकेन । तर कथा पढुञ्जेल कथा बीचमै छोडेर भाग्नुपर्यो जस्तो चाहिँ भएन ।
‘सासुको बिहे’ कथाले वृद्ध एकल महिला र पुरुषहरूको स्मरण गरायो । हुन त शीर्षकले नै कथाको बारेमा धेरै कुरा भनिसकेको छ । यस कथाकी पात्र मेलिनाले पहिलो भेटमै एक नवपरिचित मान्छेलाई आफ्नो सम्पूर्ण कहानी सुनाउँछिन् । मेलिना अरू औसत नेपाली अमेरिकीभन्दा फरक लागिन् । यहाँ त एउटा नेपाली अर्को नेपालीसँग भेट हुँदा सामान्य औपचारिकता पनि ननिभाउनेहरूको सङ्ख्या बाक्लो छ । रामप्रसादको प्रसङ्गमा एउटा नेपाली केटाले काठमाडौँबाट अमेरिकाको पुलिसलाई फोन गरेको कुराले एकै क्षण रनभुल्ल बनायो । बच्चाले बाबु–आमाको बारेमा पुलिसमा उजुरी गरेका कथाहरू यहाँ प्रशस्तै सुन्न पाइन्छ । तर कथामा बताइएअनुसार नेपालबाटै फोन गरेर कम्प्लेन गरेको कुरा चाहिँ अलिक नयाँ लाग्यो ।
‘क्षितिजपारि’भित्र क्युबादेखि फ्रान्स, नेपालदेखि इरानसम्मका पात्रहरूसँग भेट भयो । ती चरित्रहरू आप्रवासले निम्त्याएका अनेकौँ तनावबाट ग्रसित छन् । तर कथामा पात्रहरूको भूमिका भने न्यून छ, किनकि यहाँ पात्रहरूले कथा निर्माण गर्दैनन् । उनीहरूले कथा भन्छन् । कथाका पात्रहरूभन्दा घटनाहरू बढी स्मरणीय लाग्छन् । पात्रको चरित्रचित्रण भन्दा पनि घटनाको व्याख्यामा कथाकारले बढी समय खर्चनुभएको आभास भयो ।
कथाकारको कथाप्रस्तुति शैली मीठो र पाठकलाई तानिरहने खालको छ । तर पनि कतिपय ठाउँमा शब्दहरू दोहोरिएका छन् भने कतिपय ठाउँमा वाक्यहरूले स्पष्ट अर्थ दिँदैनन् । कथाका शीर्षकहरू लाक्षणिक नहुँदा पाठकले कथाभित्रका विषयवस्तुलाई सहजै अड्कल गर्न सक्छन् । त्यस्तै गरी, कथाकारले नेपाली भाषामा मेक्सिको र क्युबाका कथा लेखेर एउटा चुनौती उठाउनुभएको छ । एकातर्फ यी विषयवस्तुहरू नेपाली पाठकका लागि नयाँ हुन सक्छन्, तर कतिपयका लागि अनौठा र अबोध्य पनि हुन सक्छन् । त्यसै गरी, एउटा नेपाली कथाकारले बिलकुलै नयाँ संस्कृति र भाषाका मानिसहरूको कथालाई कति न्याय गर्न सक्ला भन्ने प्रश्न पनि उठ्न सक्छ । ती र त्यस्तै चुनौतीहरूका बाबजुद ‘क्षितिज पारि’ले नेपाली डायस्पोरा साहित्यमा एउटा इँटा थप्ने काम गरेको छ ।
यस संग्रह पढी सकेपछि आफूले आफैंलाई अझ बढी चिने जस्तो लाग्यो । आफूले भन्न नसकेका कुरालाई कथाकारले भनिदिनु भएको छ । आफूले देख्न नसकेका कुरालाई उहाँले आफ्ना पात्रहरू मार्फत देखाइदिनु भएको छ । अवचेतनका अनुभूतिहरूसँग साक्षात्कार गराइदिनु भएको छ ।
कथाहरू पढिसकेपछि मैले एक प्रकारको काव्यात्मक न्याय प्राप्त गरेको महसूस गरें । बाँकी रहेका कुराहरू अर्को कथासंग्रहबाट पुरा हुने आशा गर्दै अमर सरको कथाकारिताको सफलताको कामना गर्दछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ पुष २०८२, बिहीबार 










