सर्वप्रथम डा. ऋषि बस्ताकोटीमा कोटी कोटी प्रणाम ! शुरूमै प्रणाम गरेर किन चाकडी बजायो भनेर तपाईंका मनमा नाना थरी शंका भइसक्यो कि भन्ने शंका छ । शंकाले लंका जलाउँछ भन्थे । अब घर छेउको सिंहदरबार जलाउन छाडेर त्यति टाढा लंकामा रावणको दरबार जलाउन को जाओस् ।

सिंहदरबार नजलाएको भए आज नेपाली विश्वमा कसरी चर्चित हुन्थे ? टायम म्यागजिनले हरेक वर्ष प्रकाशित गर्ने विश्वका उत्कृष्ठ सय फोटोभित्र आगोको रातो लप्काले जल्दै गरेको सिंहदरबारको खोटो फोटो कसरी पर्दथ्यो त ? पर्ने थिएन नि । फेरि सयौं वर्षदेखि वीर गोरखाली भनेर विश्वमा चिनिएका नेपालीले बेलाबखत आफ्नै घर आगो लाउने र परिवारकै मान्छे मार्ने काम नगरे विश्वले ‘बिर टाङ मुनी छिर’ भन्ला भन्ने डर छ ।

आग्राको कुरो गर्दागर्दै गाग्राको कुरो गर्न पो पुगेछु । अब तपाईंकै चरणमा आएर बस्ताकोटीलाई प्रणाम मात्र होइन, कोटी कोटी प्रणाम किन गरियो भन्ने तिरै लागौं ।

बस्ताकोटीबाट पुरुस्कारको रोटी सेक्न पाइएला कि भनेर चाकडी गरेको चाहिँ हुँदै होइन । फेरि यी आफै पुरुष परे, पुरुषले पुरुषलाई खै के को पुरुस्कार देलान् ? फेरि यिनी थरीथरी पुरुस्कारका गुठीलाई मुठीमा कस्ने मठाधीश पनि होलान् जस्तो पनि लाग्दैन । मुठी रित्तो हुनेको चाकडी गरेर के छर्ला र ! ठन्डाराम हुन किन यिनको चाकडी गर्नुपर्‍यो र !

सक्कली कुरोको चुरो चाहिँ के हो भने यिनले ‘पानीको रङ’ कवितासंग्रह लेखेका रहेछन् । पानीको रङ पढेर दङ्ग हुनेको बयान सुनेपछि पढ्न मन लाग्यो र चाकडी बजाएर मगाएँ ।

‘पानीको रङ’ मगाएको एक वर्षभन्दा बढी भएछ । न उसले मलाई हेर्छ, न म उसलाई हेर्छु । फेरि डिभोर्स गरेको पनि होइन । एक वर्षसम्म एकले अर्कालाई नहेरेपछि यस्तो विषम परिस्थितिमा प्रणाम हजुर भनेर चाकडी नगरी भो त ! भएन नि ।

सानोमा पानीको रङ हुँदैन भन्ने सुनेको मान्छे म ! पछि अलि ठूलो भएपछि पानीको रङ नीलो हुन्छ भन्ने सुनेको थिएँ । फेरि बस्ताकोटीले पानीमा थरी–थरी रङ हुन्छ भन्दै ‘पानीको रङ’ कविताको ठेली नै बनाएछन्। पानीको रङ कवितामा थरीथरी रङ देख्ने बस्ताकोटी कस्ता मान्छे होलान् ? यिनको गुह्य के हो ? जान्ने कौतुहलता जाग्यो ।

बस्ताकोटीले नपढेको र नगरेको केही रहेनछ । बस्ताकोटीले पढेको र गरेका फेहरिस्त लामो रहेछ । त्यो बताउन थाल्यो भने त दिन–रातै जाने रहेछ, त्यही भएर संक्षेपमा बताउने जमर्को गर्दैछु ।

पढ्न पर्ने जति केही बाँकी नराखी पढेका रहेछन् बस्ताकोटीले । एक कक्षादेखि पिएचडीसम्म पढेका यिनको जन्म गोरखाको आँपपीपलमा भएको रहेछ । आँपपीपल भन्ने बित्तिकै यिनले बच्चैदेखि गुलियो आँप खाएर हुर्केनन् होला भन्ने कसरी नठान्नु ! फेरि सोधूँ भने पनि ‘मेरो प्राइभेसीको खोजनीति किन ?’ भनेर उल्टो थर्काउलान् भन्ने डर ! फेरि प्राइभेसीको बेसी खोकाइ भएका देशका मान्छेसँग बोल्न पनि विचार पुर्‍याउनु पर्‍यो ।

नेपाल, युरोप र उत्तर अमेरिकाका नाम चलेका विश्वविद्यालय छानी–छानी पढेको देख्दा पढ्नकै लागि जन्मेका हुन् कि जस्तो लाग्यो । फेरि आफ्नो पैसामा त पढ्दै–पढ्दा रहेनछन् । पिएचडी पनि क्यानडा सरकारले भेनियर छात्रवृत्तिमा तोकिएकै टेनियरमा सकेका रहेछन् । यो भेनियर क्यानडा सरकारले प्रदान गर्ने अत्यन्तै प्रतिष्ठित छात्रवृत्ति रहेछ । यो छात्रवृत्तिमा पिएचडी गर्ने यिनी पहिलो नेपाली हुन् रे भन्ने कताकता गाइँगुइँ रहेछ । हो–होइन, त्यो त उनै बस्ताकोटीलाई एक चोटि सोध्नु होला । पिएचडीमुनिको कक्षा पनि जर्मन सरकारको छात्रवृत्तिमा पढेका रहेछन् । तर छात्रवृत्तिमा पढ्ने यिनले छात्रावृत्तिमा चाहिँ पढे कि पढेनन्, थाहा भएन ।

डा. बस्ताकोटी नामले मात्र ऋषि होइन रहेछन् । कामले पनि ऋषि रहेछन् । आधुनिक अंग्रेजी ऋषि ! त्यही भएर होला, अमेरिकाको पीआरले निमेषमै प्यार गरेछ । हो नि, प्रविधिको ज्ञान, सीप, क्षमता अनि धन भएकाहरूका लागि सीमाका तार पनि छार बराबर हुन्छन् ।

अमेरिकीमा पनि बस्ताकोटी सानातिना मान्छे होइन रहेछन् । अमेरिकी सरकारको जल व्यवस्थापनका वरिष्ठ वातावरण विज्ञ भएर गरिष्ठ काम गर्दा रहेछन् । जलको व्यवस्थापनमा भित्र भल रोक्ने काम पनि पर्दो हो । सङ्लो पानी र भल पानीको रङ, ढंग र चरित्र फरक मात्र हुँदैन, विचित्र पनि हुन्छ ।

उहिले साहित्य र वैदिक ज्ञानका रचनाकारलाई ऋषि भनिन्थ्यो । अहिलेको जमानामा वेद र वेदका मन्त्र जान्नेलाई कसले ऋषि–मुनि मान्छ र ? अहिले त अंग्रेजी जानेकालाई मात्र ऋषि मान्छन् । डा. बस्ताकोटी ठूलो भएपछि अंग्रेजीका ऋषि–मुनि हुन्छन् भन्ने थाहा पाएर हो कि ज्योतिषीले पनि यिनको नाम ऋषि राखेका होलान् । नाम र काम दुवै ऋषि भएका डा. बस्ताकोटी अंग्रेजी र नेपाली दुवैका आधुनिक ऋषि (विद्वान) ले ‘पानीको रङ’ कविता–संग्रहमा जीवनका विभिन्न कोणबाट थरीथरी रङ पोतेका रहेछन् ।

साहित्यमा पनि बस्ताकोटी उम्रँदैका तीन पात रहेछन् । प्राथमिक विद्यालयदेखि नै कविता प्रतियोगितामा भाग लिएको बताउने उनले कविता, गजल, गीत, मुक्तक, कथा र निबन्ध विभिन्न पत्र–पत्रिकामा नियमित रूपमा प्रकाशित गराउँदै आएका रहेछन् ।

तन्नेरी छँदै ऋषिले वि.सं. २०५४ मा पहिलो कृतिका रूपमा ‘ज्वालाका रापहरू’ गजलसंग्रह प्रकाशित गरेका रहेछन् । त्यसपछि २०७१ मा ‘गजल स्पर्श’ नामको गजल एल्बम, २०७९ मा ‘विसङ्खत बस्ती’ र २०८१ सालमा ‘पानीको रङ’ प्रकाशित गरिसकेका रहेछन् । सानै उमेरमा २०५२ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट राष्ट्रिय कविता महोत्सवमा पुरस्कार थाप्न समेत भ्याएका रहेछन् । यिनले थुप्रै खाले पत्रपत्रिकाको सम्पादन पनि छोडेका रहेनछन् ।

सानैदेखि यिनलाई कविता लेख्न के ले कुतकुत्याएछ ? खुसुक्क सोधेको यसो भने—
“शुरू–शुरूमा कविता लेख्ने मानिस असल, ज्ञानी–गुनी हुन्छन्, यिनलाई सबैले चिन्छन्, आदर गर्छन् भन्ने सुनेर कविता लेख्न लोभ लाग्यो ।”
गोपनीयता भंग गरेको मुद्दा हाल्लान् भन्ने डर हुँदाहुँदै पनि तपाईंलाई यति चाहिँ खुसुक्क बताएँ, कसैलाई नभन्नु होला ।

बादलका बुट्टामा महाभारत देख्ने हजुरआमाका नाति कविता लेखन, छात्रवृत्ति, पुरस्कार र सम्पादन मात्रमा लोभी रहेनछन्, थरीथरी संघ–संस्थाका पद र संलग्नतामा पनि त्यतिकै लोभी रहेछन्, सकेसम्म कतै छाड्दा रहेनछन् । फेरि म जता–जता लागे पनि तँलाई के को रिस भन्लान् । बस्ताकोटीले पाँच–छ कक्षादेखि कविता लेख्न शुरू गरेको भने पनि आमाको गर्भदेखि नै कविता लेख्न शुरू गरेको चाहिँ भनेनन् ।

कविले माया, प्रेम, बा, आमा, छोरा, जन्मदिन, मृत्यु, मृगतृष्णा, बसाइँसराइ, खोला–नाला, पर्यावरण, गाउँको बाटोदेखि शहरको पाटोसम्म केही बाँकी नराखी लेखेका छन् । अलि–अलि विषय त अरूलाई पनि छाडिएको भए हुने नि । कति साह्रो लोभ गरेका होला ।

‘पानीको रङ’ भित्र जीवनका थरीथरी रङ छन् । त्यस रङभित्र मनुष्यका बिरङ देख्न पाइँदो रहेछ । यस अर्थमा पढ्न ढिलो गरिएछ कि भनेर कताकता पछुतो पनि लागेको छ ।

‘पहिरो’ जमीनमा मात्र जान्छ होला भनेको त बस्ताकोटीको मन र यौवनमा पनि पहिरो जाँदो रहेछ । पहिलो कवितामै पहिरोको लामो सूची तयार पारेका छन् । कविको मन र यौवनमा कति पहिरो गयो, उनै जानून् ।

म्यादीमाइला, चेपे खोला र फूलमाया जस्ता कवितामा कविले कविता र कविताले कविलाई छाडेर अर्काकै भूमिमा अर्काकै लागि रगत बगाउनुपर्ने कथा–व्यथाको बेलिबिस्तार छ । ‘साँढेहरू’ भन्ने कवितामा मीठो र गहिरो व्यंग्य छ । तर ‘साँढेहरू’ शीर्षकको सट्टा ‘गाँढेहरू’ भनेर लेखेको भए अझ राम्रो हुन्थ्यो कि ? बिचरा निरीह अबुझ पशुको के दोष !

‘हामी बलरामहरू’ कविताले कताकता कविला युगको याद दिलाउने रहेछ । कविला–कविला बीच झगडा र मारामार भएझैँ अर्काको आदेशमा फगत अर्काकै लागि लडेर आफ्नो भौतिक संरचना मात्र होइन, इतिहास नै जलाउने प्रवृत्तिलाई यस कविताले उदाङ्गो पारेको रहेछ । अर्थात् यसलाई भविष्यवाणी पनि मान्न सकिन्छ । यिनको पेशा ज्योतिषी हुन्थ्यो भने आज यिनको कमाइ–धमाइ राम्रै हुने थियो ।

‘पानीको रङ’ आफैँमा एउटा कविता मात्र नभएर शीर्ष कविता हो । यस कवितामा कविले हजुरबादेखि नाति–पनातिका पालासम्मका मान्छेका प्रवृत्ति र चरित्रलाई मिहिन ढङ्गले केलाएका छन् । पानीको बिम्ब बनाएर मान्छेका रङ–बिरङका वेढंगलाई मीठो र सरल भाषामा व्यंग्यको तीर हानेका छन् । पानीभन्दा पनि प्रदूषित मान्छे र तिनका कुरूप रूपलाई उदाङ्गो पारेका छन् ।

‘नामका कुरा नगर भाइ’ कविताले उता बाघ थिए भन्ने भगौडाहरूको चरित्रको चित्र उतारेको छ । तर कविताले उताका बाघ यता मुसा भएर बाँच्नुपर्ने यथार्थलाई देखाएको छ । त्यस्तै ‘आप्रवासी रामप्रसाद’ कविता आप्रवासीको मन चसक्क पार्ने कविता हो । त्यो कविता हरेक आप्रवासीको कथा हो र त्यो कथा कविको पनि हो । किनकि आप्रवासीका सन्तान स्कूल जान्छन् । स्कूलमा स्फूर्तिका साथ नयाँ राष्ट्रको राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय गान सानले गाउँछन्, बाबु–आमाको मनमा चसक्क हुन्छ । नहोस् पनि कसरी ? मन–मस्तिष्कमा जरा गाडेको भावनाको राष्ट्रियता मेटेर पनि मेटिँदैन ।

कुनै–कुनै कवितामा भूपिको धूपीको बास्ना आउने रहेछ । कतिपय कवितामा उही भाव र विषय दोहोरिएका हुन् कि जस्तो लाग्छ । कतिपय कवितामा बेलिबिस्तारको लोभ नगरेको भए पनि हुन्थ्यो । उदाहरणका लागि यी हरफ हेरौँ—

उज्यालाको खोजीमा
एक हुल घामहरू
सात समुद्र तरिरहेछन्,
बचेखुचेका दुई फाँकी उज्यालाहरू पनि
सुरक्षाको खोजीमा
सहर झरिरहेछन्,
यति बेला
यहाँको पानीपँधेरो
कहर भइरहेछ
गाउँले मन र गाउँले जीवन
खण्डहर भइरहेछ ।

माथिको हरफमा ‘सहर झरिरहेछन्’ पछि पाठकको जिम्मामा छाडेको भए के हुन्थ्यो होला ? फेरि छोटी मुख बढी बात गर्दा बस्ताकोटीले ‘म कवि कि तँ कवि’ भन्दै थर्काउने पो हुन् कि ! साहित्यको शिक्षक, प्रशिक्षक एवं समीक्षकको पगरी नगुथेको मान्छेले यसो भन्ने प्राधिकार त हुँदैन, तर यति भन्दैमा मानहानिको मुद्दा लिएर अदालततिर नजालान् कि !

मान्छेका प्रवृत्तिलाई जोडेर जीवन–दर्शन लेख्ने कलामा तला थप्न सक्ने क्षमता कविमा देखिन्छ । उदाहरणका लागि झिँगा, भ्यागुता, किर्ना लगायतका धेरै कवितामा मान्छेका प्रवृत्ति मात्र छैनन्, त्यहाँ बेजोड दर्शन छन् ।

कवितामा देशप्रेम छ । परदेशको पीडा छ । प्रकृति विनाशका चिन्ता छन् । पर्यावरणका चुनौती छन् । त्यहाँ जीवन भोगाइका अनगिन्ती रङ छन् । दर्शन छन् ।

कवितामा व्यंग्य छ । तर व्यंग्यभित्र शालीनता छ । त्यो सबैभन्दा सुन्दर पक्ष लाग्यो । ‘पानीको रङ’लाई व्यंग्य कविता–संग्रह भनेको भए फरक पर्ने थिएन र व्यंग्य कवितासंग्रहको सङ्ख्यामा अर्को एक कृतिको नाम जोडिने थियो ।

जाँदा–जाँदै साँच्चै सुन्दर लागेका ‘पानीको रङ’ का यी हरफ पस्किन्छु—

अचेल पानी पानी जस्तो छैन
खोला खोला जस्तो छैन
नदी नदी जस्तो छैन ।

‘पानीको रङ’ कवितासंग्रहमा सप्तरङ मात्र छैन, जीवन छ, दर्शन छ, भोगाइ छ । देश छ । परदेश छ । बरु के छैन ? सब थोक छ ।