नेपाली डारा (डायस्पोरा)का कविता पल्टाउँदै जाँदा ११ औं कविताले तान्यो । मैले कविताको विपठन पनि गरेँ । कतै भनिसकेको छु, यहाँ दोहोर्याएर भन्छु– विपठन विशेष पठन वा उच्च ढङ्गको पठन भन्ने अर्थ बुझिन्छ । अर्को – गलत पठन अर्थात् विचलन अर्थमा पनि लिइन्छ । कवि शिरोमणि लेखनाथको ‘पिंजराको सुगा’ विपठन गरिएकै कारण दीर्घजीवी रहेको हो ।
कवि काङमाङ नरेश राई (बेलायत)को यो कविता – ‘यो घर पक्कै ढल्छ होला’ले अभिधा अर्थमा पाठकलाई अश्रुसिक्त बनाउँछ । उनको कविता बुझ्न कुनै कसरत देखाउनु पर्दैन । सरल ढंगले सीधै ग्रामीण पहाडी जीवनको स्थिति देखाउँछ । आडम्बर रहित भावले शब्द–चित्रमा उतारिएको यो कविता कवि राईको सांस्कृतिक रङ्गको कोलाजमय पेन्टिङ्मा साकार छ ।
कविताले धेरै कुरा संकेत गर्दछ । त्यसैले विपठन माग्छ भन्नुपर्छ । प्रच्छन्न, अघोषित वा गोपन गरिएका वा नदेखिएका कुरा बुझिन खोज्छन् विपठनमा । यदि कविताले विपठन माग्छ भने त्यसको स्तर वा महिमा स्वभावैले अब्बल दर्जाको हुन्छ । पुरानो भाषामा झन्नै ध्वनिले यसतर्फ संकेत गर्दछ ।
तर म यस कवितालाई ध्वनिको त्यो उचाइमा पुगेको देखाउन चाहन्न, बरु त्यो उच्चताबाट तानेर तल रछ्यानमा फाल्न चाहन्छु, यसो गर्दा आठ राजनीतिक दलको नाक जोगिन्छ । अन्यथा १२ बुँदे सम्झौता पछि आठ दलले पाएको शक्ति र ल्याएको विधानले आजसम्म घरको त्यो हालत जोगाएर राखेको होला त ? नभएको घरको चित्र देखाएर कविले राज्य व्यवस्था वा सत्तावाहक माथि उपहास वा व्यंग्य गरेको त हैन ? कसरी बुझ्नु ? कि विपठनले यसतर्क जान दिँदैन । कविताका शब्दले घरको, आमाको भौतिक चित्र जुन ढंगले उतारेका छन् त्यो युगान्तकारी नै छ । कविताले अनलंकृत देखिएर पनि अलंकृतिलाई झल्काएको छ । नभनेर पनि धेरै थोक भन्नु वा बुझिनु नै काव्यवाणीको उच्चता हो । यस्ता रचनाको प्रचुर माग छ अहिले । युवा दृष्टि हो नि !
काव्यवाणीमा छल छैन, अभद्रता छैन, ताच्छिल्य छैन । अतिरिक्त श्रृंगार–सजावट छैन । प्रदर्शनकारी पाण्डित्यमा कवि राईको विश्वास छैन । संयम छ, उत्तेजना छैन । दुर्वाच्य छैन बरु विनय छ र ससंयम भाव–अनुभूति र दृश्यका बिस्कुन खुल्दै जान्छन् । अभिव्यक्तिमा क्लासिक चित्रावली आउँछ ।
एकालाप, नितान्त व्यक्तिगत अनुभूति ! तर सत्य हो– कविले आफ्नो अनुभूतिलाई फैलाएका छन्, सबैको बनाइदिएका छन्, लाग्छ त्यो घर आज पनि फोटोग्राफर र भिडियोकारलाई पर्खिरहेको छ । भन्नु पर्छ– अरूले बिर्से पनि कविताले इतिहास टिपेकै छ ।
अब त्यो घर वा त्यस्ता घरहरू नेपालमा छैनन् भन्नुपर्छ कि ! जे कामना गरेर ३६ हजार नागरिकको हत्या गरेर नयाँ विधान र व्यवस्था ल्याएको हो त्यसले आज पनि यस्ता घर जोगाएको होला त ? देखिनु व्यवस्था र दलप्रतिको असफलता नहोला ? पक्कै त्यस्ता घर–परिवार अब नेपालमा छैनन् । कस्ता कस्ता सर्वहाराहरूले काँचुली फेरे भने आफ्नो माटो र स्वत्व हुने व्यक्तिले आज पनि कविले देखाए जस्तो घर साँचेको होला ? कसरी बुझ्नु ? कविको आक्षेप हो कि वा !
वास्तवमा कविले राज्यव्यवस्था र दल राजनीतिलाई बद्नाम गर्नकै लागि नभएको घरको कल्पना गरेर मूर्तरूप दिएको हो । यो यथार्थ होइन बनावटी हो । अब त्यो युग नै रहेन । आततायी आक्रमण टुंगिएपछि आएको विकासले त्यस्ता खोल्मा वा याक्सा जस्ता घर उठेर नौतले घर भएका नहोलान् ? अनि नवकुबेरको नयाँ जमातले त्यस्तो जीर्ण झुप्रोलाई प्रगतिको दाग नठान्ला ?
त्यसैले कविको काव्य–चिन्तनमा देखिएको दृश्यलाई राजनीतिक शक्तिको अन्धगति वा बत्तीमुनि अँधेरो भनेर बस्ने हो कि ? यदि मलाई सोध्ने हो भने म सीधै भनिदिन्छु– व्यवस्था र राज्यसत्तामाथि कवि राईको गहिरो प्रहार हो, जो इतिहासको एउटा दृश्य भएर रहने छ ।
कविले कवितामा आफ्नो उत्तरार्द्धमा हातमा सीप भएका बुवा र गर्भवती आमाको प्रवेश गराएर पाठकलाई लामो रोदन दिन्छन् । आँसु न आए पनि आत्मा रोइरहन्छ– लामो समयसम्म । लाग्छ कवि राई पनि यसै घरका छोरा हुन् । किन्तु कविले यो भाव र यो स्थिति देखाएर यसलाई विश्वस्तरमा ग्राह्य बनाएका छन् ।
नेपालको राजनीतिले मुख लुकाउने स्थिति औंल्याएको छ कविताले । आश्चर्य छ – राजनीतिले आफू नांगिने कवितालाई सम्मान गर्ने आँट कसरी गर्यो ? सम्पादन कर्मलाई धन्यवाद दिनै पर्छ अनि नेपाल प्र.प्र.र गैर आवासीय नेपाली संघलाई पनि विशेष ।
डायस्पोरा (डारा) को अभिव्यक्ति अभय रहन्छ भन्ने हो कि ? कवि राईले आफ्ना सांस्कृतिक साधन–उपकरणको उपयोग गरेर सिंगारेको यो कविता विशेष रचना मध्ये एक हो । युगबोध, चेतना र विधिले कविता पठनीय मात्र होइन, चिन्तन योग्य देखिएको छ । राजनीति र विकास आयोजनाका जीवले कविता नपढून् नत्र विक्षिप्त देखिने छन् । शीर्षक निश्चयात्मक नै राम्रो ।
त्यसैलै कथ्य- विन्यास वा भावबन्धनको विधिले पनि नरेशको यो कविता अब्बल छ । राजनीतिक व्यापारीलाई यसले आहत पार्छ ।
घर त प्रतीक मात्र हो ! दुई जीउकी नारी, हुर्कीनसकेका सन्तानलाई यो पटक नथामिने घरको अवस्थासँग जोडेर कविले मलाई निकै रुवाएका छन् । तर राजनीतिक जीव नागरिक/मतदाताको जीवनसँग बिल्कुल सरोकार राख्तैन ।
कविताले मुलुकको जीवन – गतिलाई उजागर गरेर राजनीतिक जीवलाई बेसरी चड्कन दिएको छ ! पाठकले राजनीतिक तत्त्वमाथि घृणा गर्ने स्थिति बुझ्दछ ! यो अझ महत्त्वपूर्ण सन्देश हो ।
त्यसैलै कथ्य- विन्यास वा भावबन्धनको विधिले पनि कवि नरेशको यो कविता अव्वल छ । राजनीतिक व्यापारीलाई यसले आहत पार्छ ।
यो कविता रमाइलो दिने होइन अपितु चिन्तन गर्न वा घोरिन विवश पार्ने रचना हो !
कविको कलमले थकाइ नमारोस् ! शुभकामना !!
= = =
यो घर पक्कै ढल्छ होला
- – काङमाङ नरेश राई
घरको डाङगेन’ बाट दिनहुँ
मुठीका मुठी ध्वाँसो चुलोमाथि झर्छ
सानी मेरी बहिनी बेस्सरी चिच्याउँछिन्
तोते तोते बोलीमा रुँदै फिराद लाउँछिन् ।
म देख्दै छु- यी काला काला झुप्पाहरू
साम्खा माथि झरिरहेका छन् ।
दलिन र थामहरू कड्किँदै छन् ।
घरको लिउन उप्किएर भर्दै छ ।
मूल खम्बालाई धमिराले खाइसके जस्तो छ ।
यो घर पक्कै ढल्छ होला ।
चैतको भुमरीले धुरीलाई उडाएर कहाँ कहाँ पुऱ्यायो ।
बाता र भाटाहरू आँगन र घुयनभरि छरपस्ट छन् ।
सबै उहाँहरू मक्किसकेका छन् ।
बार्दलीका खुट्टाहरूले छानालाई थाम्छ के ?
फेरि बर्खा आउन लाग्यो खर काटेको छैन ।
हरियो फर्किसक्यो ।
ल्याएका नयाँ भाटाहरू बर्खेमाथि मक्किसके ।
यो घर पक्कै ढल्छ होला ।
बाउ कहिले चोया पत्राउने भन्दै
कर्दले खुट्टाको हरिनाथ काट्छन् ।
कहिले घरको छानो हेर्दै दुदेरो खोप्छन् ।
कहिले फाटेको सुरुवाल हेर्दै जिउ कनाउँछन् ।
कहिले चोर वस्तुहरूलाई बाँध्ने दाम्लो बाटे झैँ गर्छन् ।
कहिले फाटेको डोको बोकेर तल्लो घरमा गई
पेटभरि जाँड धोकी, डोकै छाडेर आउँछन् ।
साँच्चै ! यो घर पक्कै ढल्छ होला ।
दुई जिउकी आमा
साँझ बिहान भइसकेकी छन् ।
साथीले पैंचो दिएको
घुनले खाइसकेको
मकै जातोमा ठस्किँदै पिस्छिन् ।
सकी नसकी फोहोर आँगन समेट्छिन् ।
घरमा बाल्ने दाउरा छैन ।
दुदेरो खोपेका चोइटाहरू टिपेर आगो बाल्छिन् ।
भात पाक्दैन
गन्गनिंदै मक्किएका भाटाहरू भाँची
एक अँगालो घरभित्र हुल्छिन् ।
बर्खा घरभित्रै छिरिसक्यो
साँच्चै !
यो घर पक्कै ढल्छ होला ।
पोहोर साल झैँ पानी चुहिएर
यो घर सिमखेत हुने भो ।
खरको पैंचो माग्दा नदिने छिमेकीहरू
प्वाल परेका प्लास्टिकहरू बोकेर
यो साल पनि लस्करै आउने भए ।
यो घरको हुनसम्म बेइज्जत हुने भो
यसपाली यो घर पक्कै भत्किन्छ होला ।
यो पेटको बच्चा पनि मसँगै
पानीले भिजेर मर्छ होला ।
मेरा पखेटा नपलाएका छोरा छोरीहरू अब के गर्छन् होला ?
बज्जिया
गति छाडा
मेरो लोग्नेलाई छिमेकीहरूले प्रधानपञ्च चुन्ने छन् ।
यसो भए
प्रचण्डजी, झलनाथजी, सुशीलजी !
हामीसँगै के हाम्रो घर उभिन्छ होला ?
* डाङगेन – किरात राईको चुलोमाथि राखिएको एउटा फुर्लुङ जहाँ पितृ पुज्ने सामानहरू राखिएका हुन्छन् ।
* साम्खा – तिन चुल्हा जसलाई सुप्तुलुङ भनिन्छ ।
बेलायत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ पुष २०८२, बिहीबार 










