गत सेप्टेन्बर ३० तारिख रातिको २२:३० बजे मलेशियन एअरलाइन्सको क्वालालम्पुर हुँदै म नारिता एअरपोर्टबाट लण्डनतर्फ उडें । पहिलोपल्ट यति लामो उडान, जहाँ जाँदा पनि सिधा उडान मार्फत जाने बानी परेको म यो पल्ट भने जाने, नजाने भन्दाभन्दै अन्तिम क्षणमा निर्धारण भएको मिति महा-अष्टमीको दिन परेछ । महँगाइको कारण समयको दोहोरो मारमा परेको म, सिधा उडान छोडेर उल्टो घुमी क्वालालम्पुर हुँदै इंग्ल्याण्ड जाने २० घण्टे बाटो रोजेको थिएँ ।
काकाको घर एअरपोर्टबाट अलि टाढा छ भन्ने त बेलाबेला सुनेको थिएँ तर…! धेरै वर्षपछि हुन लागेको भेट कस्तो होला ? मलाई लिन आउने हो कि होइन ! यस्तै यस्तै विचारहरू मनमा आइराखेको थियो । त्यति टाढा होला भन्ने चाहिँ मैले अनुमान गरेको थिइनँ । हामी नेपालीमा नक्सा पल्टाएर हेर्ने, चाहिएको सूचना आफैं सङ्कलन गर्ने र आत्मनिर्भर बन्ने बानी नभएको जस्तो महसूस भयो । यो प्राय: हाम्रो पालामा शैक्षिक नीति नै यस्तो भएर पो हो कि ? तीसौं वर्ष विदेशमा बसे पनि परजीवी बन्ने बानीबाट हामी नेपाली माथि उठ्न सकेनौं । म अझै पनि आफू देखि आफैं लज्जित छु । यति टाढा अङ्कललाई लिन आउने विशेष अनुरोध गरेकोमा ।
हिथ्रो एअरपोर्ट पुग्दा बुधबारको साँझ ४:३५ मा पुग्नु पर्ने उडान, ३:३५ मा नै उत्रियो । शायद हावाको बहाव उत्तर तिरै भएर हो कि ? यस्तै अनुभव एक पटक भएको छ । जुन-जुलाई काठमाडौंबाट जापान साढे सात घण्टा लाग्ने उडान ६ घण्टामा नै पूरा भएको थियो ।
लिन आउने मान्छेलाई कुराउनुको सट्टा आफू नै कुर्नु परेका धेरै उदाहरणहरू मध्य यो यात्रा पनि एक बन्न पुग्यो । अक्टोबर १ तारिख दिउँसो ३:३५ बजे हिथ्रो एअरपोर्टमा उत्रियो । अनि काकाको घरतर्फ ! बाटामा देखिएको अनौठो दृष्य (मेरा लागि)- जमीन र आशमान जोडिएको जस्तो देखिने क्षितिजको बक्ररेखा आफ्नै आँखा अगाडि फैलिने कति मनमोहक स्वरूप थियो त्यो पृथ्वीको, आहा ! गफाडी म सररर अङ्कलको मर्सीडिज बेन्चको कालो सीसा बेलाबेलामा तल झार्दै क्यामरा तथा मनमुटुमा कैद गर्दै, नयाँ दृश्यको अनुभूति लिंदै, छक्क मक्ख र दङ्ग !
दुई दिन नसुतेको थकान यस आकर्षित दृश्यले हटाइदियो । ‘अच्छा लेकिन लन्डनको चिसोले समाउँदा’ भन्ने गीत पनि गुनगुनाउँदै, २७५ माइलको दूरी पार गर्दै हामी पुग्यौं काकाको घर प्लाइमाउथमा । काका हुनुहुन्थ्यो आफूभन्दा उमेरमा कान्छो, २३ वर्षे लन्डनको बसाइँ ! पहिलो पल्ट दशैं मनाउन पुगेको म ! काका काकीले माया, प्रेम र सद्भावमा मन त्यसैत्यसै पुलकित भइरह्यो ।
नेपालमा मनाएको २०२१को दशैंपछि नेपालको नै झल्को दिने खालको भेटघाट र सम्झना रह्यो यो २०८२ दशैं को । प्लाइमाउथमा भेट भएको चितवनको कमल बराल भाइ र परिवार, नेपालबाट पाल्नुभएको आमा बुवा, डा. राजन घले, इ. गणेश तिमल्सिना तथा सम्पूर्ण प्लाइमाउथवासी नेपालीहरूमा धेरै धेरै धन्यवाद !
टीकाको भोलिपल्ट अचला त सबेरै कलेजको डोर्मेटरीमा फर्किई हालिन् पढाइ र पार्ट टाइम कामले गर्दा, काका काकी र म प्लाइमाउथको विभिन्न स्थानीय स्थानहरू डुल्न निस्कियौं । जहाँबाट पानी जहाजबरू मान्छे र कार्गो बोकेर जर्मनी, इटाली र अन्य युरोपियन देशहरूमा जाँदो रहेछ । मौसम जापानको मध्य गर्मी ३३ डिग्री सेल्सियस छोडेर गएको म, उता त ७ डिग्री मुटु नै कमाउने जाडो ! तर मान्छेलाई खुशी हुन के वर्षातको उन्मादले र के ठन्डीको लुगलुगले छेक्थ्यो र !
शुक्रबार हामी दिनभर डुल्न निस्कियौं, किन्ग्स बर्गरमा चिया कफी र खाजा खायौं अनि बेलुका अङ्कलको काम भएकोले ५ बजेतिर घर फर्कियौं । अङ्कल आफ्नो रेस्टुरेन्ट सम्हाल्न गैस्यो, हामी फ्रिजबाट खाना निकालेर टेबलमा सजाउँदै, बकम्फुसे हाँडीगाउँको हल्ला गर्दै मासु, चिउरा, दही, मिठाई, फलफूल के के खायौं के के । वाह कत्ति रमाइलो !
शनिबार काकाको रेष्टुरेन्टमा काम गर्ने भाइ बहिनीहरू टीका लगाउन आएका थिए ।
आइतबार बिहानै म प्लाइमाउथबाट काकाले अन-लाइनबाट किनिदिनुभएको हाइ-वे बसको टिकट लिएर, किन्गस्बरीमा रहेको मेरो भाइको घरतर्फ लागें । भाइ हिथ्रो एअरपोर्ट बस टर्मिनलमा लिन आइराखेको थियो र घरमा बुहारी उषा, भदैनीहरू गाजल र गहना र भदा शार्थक तथा मेरा दुई छोरीहरू प्रिया र आयुमी मलाई कुरेर बसिराखेका थिए, सहयोगी हेमा राईको साथमा । हामी १ बजेतिर पुग्यौं । भाइ बुहारी र केटाकेटीहरूलाई बडा दशैंको टीका लगाई दिएँ । निकै वर्षपछिको भेट र टीकाले गर्दा भावविह्वल भयो । लन्डनमा मेरो खुशी यसरी समेटिएको थियो । प्रिया र आयुमी आ-आफ्नो घर फर्किए, हामी धेरै वर्षपछिको पारिवारिक गफमा मस्त र व्यस्त रह्यौं ।
सोमबार भाइ र म किन्ग्सबरीको स्कोन टेप्पल, अक्षराधाम किन्गसबरी र अन्य स्थानीय ठाउँहरू डुल्दै इन्डियन रेस्टुरेन्टमा खाना खाएर घर फर्कियौं । ३ दिनको किन्गसबरी बसाइँ चुट्की बजाएको भरमा सकियो ।
फर्किंदा बाटोमा किन्सबरी स्टेशन हुँदै, भाइको गाडीमा ‘विन्डसर क्यास्सल’ Windsor Castle (स्वर्गीय महारानी एलिजाबेथ र राजपरिवारका अन्य सदस्यहरूको चिहान भएको महल) र संसारको सबैभन्दा ठूलो र पुरानो अनि क्षेत्रफलको हिसाबले पनि धेरै जमीन ओगटिएको चिहान महल रहेछ यो । वर्षौंभरि आगन्तुकहरूको लागि खुला रहने यो महल ११ औं शताब्दीमा बनेको र यसमा अहिले ४० राजाको चिहान रहेछ । यो castle मा केही थान फोटो र भिडियोहरू क्यामेरामा कैद गर्दै हामी ‘विमली स्टेडियम’ तर्फ लाग्यौं, जहाँ इंग्ल्याण्डले सन् १९६६ मा आफ्नो पहिलो विश्व कप फुटबलको म्याच जितेको थियो । जर्मनीलाई २ को विरुद्ध ४ गोलले पराजित गरेर । त्यसपछि ‘विमली ओलम्पिक पार्क’ हेरी, म र भाइ छोरी प्रियाको घर रेडिन्गमा तर्फ लाग्यौं ।
भोलिपल्ट म र प्रिया डबल टेकर बसको वान- डे- पास किनी पूरा रूटहरू पत्ता लगाउँदै आधा लन्डन शहर घुम्यौं । कहिले नातिनी कियारालाई स्कूल छोड्न त कहिले फार्मर्स मार्केटमा तरकारीहरू किनमेल गर्न । दिउँसो लन्डनमा रहेको ‘सपना’ नामक नेपाली रेस्टुरेन्टमा लन्च खान गयौं । सपनाको लन्च मीठो थियो तर काम गर्ने स्टाफहरूको व्यवहार मन परेन । खानाको लागि रिभ्यू दिन परे १० मा ८ दिए हुन्छ । तर जापानमा बसेर जापानको जस्तै संसारको नम्बर वन हस्पिट्यालिटीमा अभ्यास भएकी म, सपनाको सञ्चालकलाई ‘ग्राहकलाई गर्ने व्यवहार जापान र जापानीबाट सिक्न’ अनुरोध गरें ।
दश तारिख दिनभरी सिटी-सेन्टर, पाउण्ड ल्याण्ड र प्राइममार्क सुपर मार्केट डुल्दै कफी र स्न्याक खाँदै गफ गर्दै हामी निस्कियौं बजारबाट कियारालाई पिक-अप गर्न स्कूल तर्फ । यो दिन पनि बाँकी रहेको आधा लन्डन घुमेर सकियो तर डबल टेकर बसमा घुम्ने र मन लागे जस्तो भिडियो खिच्न अझै सकिएको थिएन ।
त्यसपछि बिहीबार बेलुका सचिनसँग डिनर जाने प्रोग्राम बन्यो । हामी बेलैमा बिहानको खाना खाएर निस्कियौं दिनभरी अझै उत्तरी लन्डन डुल्न । राति ७ बजेतिर थकित भएर नातिनीलाई पिक-अप गरी रेडिन्ग फर्कियौं, ज्वाइँसहित हामी सबै नजिकै रहेको साउथ अफ्रिकन रेस्टुरेन्टमा डिनर गर्न गयौं, त्यसको नजिकै जापानी रेस्टोरेन्ट ‘वागामामा’ र ‘मारुगामे उदोन्ग’ पनि थियो तर सबैको रोजाइमा साउथ अफ्रिकन रेस्टोरेन्ट नै पर्यो । खाना मीठै थियो ।
लन्डनको अपार्मेन्टहरूमा धाराको पानी जाने ड्रेनेज सिस्टममा अलि समस्या रहेछ । जापानको जस्तो जति धारा खोले पनि घ्वारघ्वार पानी नजाने । हरेक पल्ट कि त प्लम्बर बोलाउन पर्यो कि पम्पले पानी तानेर फ्याल्न पर्यो । तर घरमा चाहिने सामान भने ‘अल- इन- वन’ अनलाइनबाट मगाएको १५ देखि २० मिनेट भित्रमा सब कोठाको करिडोरसम्म आइपुग्ने । कत्ति छिटो अनि सजिलो र डेलिभरी चार्ज पनि खासै नलाग्ने । यो कुरा खूबै मन पर्यो मलाई लन्डनको । ट्रान्सपर्टेशन सिस्टम पनि दुनियाँको नम्बर वन !
मलाई त पाँच दिन रेडिन्ग बस्दा ड्राइभ गर्ने कन्फिडेन्स पनि बढेर आइसकेको थियो । तरिका निकै सजिलो, लेफ्ट हान्ड ड्राइभिन्ग अनि सिग्नल कति तल हातैले समाउन मिल्ने जत्तिकै तल । देख्दा पनि सुन्दर देखिने सबै ट्राफिक लाइटहरू । एघार तारिख छोरी मलाई लिन आई कामबाट सिधै रेडिन्गमा । एकरात सँगै बसेर हामी फर्कियौं छोरीको अपार्टमेन्ट टावर-ब्रिज स्टेशन सेन्ट्रल लन्डनतर्फ । अन्डर ग्राउण्ड ट्रेन, जुबली लाइनबाट लिभरपुल स्ट्रीट स्टेशन हुँदै, त्यसपछि डबल टेकर बसमा छोरीको अफिसियल अपार्टमेन्टतर्फ ।
अर्को दिन आइतबार हामी बकिन्गघम प्यालेस, चाइना टाउन र इम्पेरर क्यासिनो डुल्न गयौं र राति श्रीराम रायमाझी सँग भेटेर डिनर खाइ घर फर्कियौं । श्रीराम मेरो नयाँ वानेश्वरको नेक्स्ट डोर छिमेकी र मेरो बालापन देखिको साथी, ऊ लण्डनमा चार्टर एकाउन्टेन्ट छ र उसले लण्डनमा सन् १९९६ मा लन्डन स्कूल अफ इकोनोमिक्सबाट गोल्ड मेडल ल्याई सि. ए. बनेको हो, तर अहिले ट्याक्स एडभाइजरको काम गर्दैछ । धेरै धन्यवाद श्रीराम यो आतिथ्यको लागि ।

सोमबार भाइ फेरि मलाई लन्डन डुलाउन लिन आयो, त्यो दिन हामी ब्रिटिश म्यूजियम गयौं । मलाई भने ‘नेपाल कर्नर’ खूब हेर्न मन लागेको थियो, नेपाली राजनितीज्ञहरूले फैलाएको हौवा नेपालका धेरै जसो महत्वपूर्ण चीजबीज, मूर्ती र दस्तावेजहरू ब्रिटिश म्यूजियममा छ भन्ने हल्ला सुनेर । तर राजा र राज परिवारका सदस्यहरूलाई बदनाम गराउने कुचेष्टा रहेछ यो सबै । यस्तो अफवाह चलाउनेलाई त केही सजाय दिनु पर्ने हो, आफ्नै देशको बेइज्जत गर्ने बदमासहरू । ब्रिटिश म्यूजियममा त्यस्तो महत्वपूर्ण नेपालको सामाग्रीहरू केही थिएन । तीन बजेपछि कृष्ण बजगाँइ दाइ मलाई भेट्न आउनुभयो र केहीबेर संग्राहलय अवलोकन गरी बाटोमा चियाकफी सँगै पिई हामी छुट्टियौं र म १८८ नम्बरको बस चढी एक्लै ड्रुड स्ट्रिट स्फटेशनसम्म फर्किएँ । ३ मिनेट पैदल हिंडेर घर ।
त्यस दिनदेखि मलाई एक्लै लन्डन डुल्ने कन्फिडेन्स अझै बढेर आयो । मँगलबार पनि म एक्लै लन्डन डुल्न निस्किएँ, घरबाट ४२ नम्बरको बस चढी लिभरपुल स्ट्रीट स्टेशन र त्यसपछि स्काई गार्डेन र होराइजन-२२, अर्थात् (हाम्रो टोकियोको तोचो-बिल्डिन्ग जस्तै) पूरा लण्डनको भ्यू देखिने ५८ तल्ले बिल्डिन्ग डुलेर, केही सम्झनामा फोटो भिडियो र केही थान टिकटकमा भिडियो पोस्ट गरी म फर्किएँ घर सेन्ट्रल लन्डन ।
बुधवार भाइ कुमार सिंखडा (जापानमा १४ वर्ष बसेर लन्डन मुभ हुनुभएको) सँग, अलगेट स्टेशन बाहिर भेटेर, चिया कफी पिई हामी गयौं, अलगेट स्टेशनबाट उल्टो तर्फ म सुमन खरेल दाइलाई भेट्न ह्यारो-इन-द-हिल स्टेशन तर्फ र कुमार भाइ जानुभयो आफ्नो घर किन्ग्सवरी स्टेशन तर्फ । सुमन दाइ मेरो स्कूल पढ्दा देखिको साथी रचना खरेलको दाइ हुनुहुन्छ । दाइलाई मेरो हालसालै प्रकाशित भएको किताब ‘संघर्ष १०१’ उपहार दिएँ र दाइको किताब ‘रेडियो यात्रा’ पनि सँगै उपहारमा लिई फर्केर आएँ म टावर ब्रिज स्टेशन ।
चौध तारिख म एक्लै ड्युड प्यालेसबाट रेल चढेर बेकर स्ट्रिटसम्म गएँ र त्यहाँबाट ३ मिनेट पैदल हिंडेर म्याडम टुसाउड । म्याडम टुसाउड सन् १८३५ मा फ्रेन्च मूर्तिकार मारिए । टुसाउडद्वार मैनबाट बन्ने मानव आकृति र कदको आकर्षक मैन संग्राहलय हो । यो मैन संग्राहलय संसारको २३ वटा स्थानमा भए पनि विश्व प्रसिद्ध चाहिँ लन्डन, न्यूयोर्क र जापानको टोकियोमा छ । हुन त यस्ता संग्राहलय मैले न्यूयोर्क र जापानमा हेरिसकेको थिएँ तर जति चोटी हेरेपनि रमाइलो लाग्ने रहेछ । त्यही देशको सम्झना स्वरूप मनमा सजाउनको लागि । यसरी मैले पूरा लन्डन एक्लै डुलेर सकें र एक्लै डुल्न सक्ने मेरो हिम्मतलाई छोरीले पनि तारिफ गर्दै थिइन् । “माइ मम इज ग्रेट” भनेर । मलाई पनि यसरी एक्लै लन्डन डुल्न सकेकोमा गर्व महसूस भैराखेको थियो । र अझ लन्डन बसाइलाई बौद्धिक र सकारात्मक बनाउने उत्प्रेरणा जागिरहेको थियो ।
सोह्र तारिख घर नजिकैको वरिपरि डुलें । जापान फर्किने तयारी सहित साथीभाइलाई केही चकलेट, ‘I love London’ लेखेको टि-सर्टहरू र केही थान कि-रिन्गहरू किनी घर फर्कें । आमा छोरी नजिकै रहेको कोरियन रेष्टुरेन्ट ‘शोल- टोकियो’ मा डिनर खायौं, खाना ठीकै थियो, धेरै दिनदेखि जापानी खाना मिस भैरहेकोले मलाई अलिकति भए पनि यसले न्यास्रो मेटाइदियो । तर रि-भ्यू खासै दिन चाहिनँ ।
अठार तारिख शनिबार हामी पूरा लन्डन साइट सिन गयौं । दुई जनाको ७५ पाउण्ड तिरी छोरीले बुक गरेकी थिइन् यो प्याकेज । त्यो दिन पनि साह्रै रमाइलो भयो पूरा लन्डन डुलेर सक्यायौं जस्तो अनुभूति भैराखेको थियो मलाई । अंग्रेजीमा उद्घोषण सुन्यौं जहाँ पूरा लण्डनबाट देखिने घडी टावर रहेको, बिग ब्याण्ड लन्डनमा । यो ठूला ठूला कार्यक्रमहरू हुने स्थल हो र शहरको धनी ज्याज म्यूजिक सम्पदा पनि हो । यहाँ उच्च-प्रोफाइल ज्याज म्यूजिशियनहरूको शोहरू हुन्छ जस्तो बीबीसी बिग ब्यान्ड र बीबीसी प्रोमोशन जस्ता कार्यक्रमहरूमा प्रदर्शनहरू भइरहन्छन् र यहाँ बलियो मिडियाको उपस्थिति पनि रहन्छ । त्यहाँ प्रायः जसो जीवन्त शोहरू लाइभ टेलिकस्ट हरू भैरहन्छन् जसमा स्थापित अर्केस्ट्राहरू, कलेजका समूहहरू, र नयाँ ब्यान्डहरू प्रस्तुत हुनुका साथै अन्य सार्वजनिक रुचिका ब्याण्डहरू तथा रोयल अल्बर्ट हल र एब्बी रोड स्टुडियोजस्ता प्रसिद्ध कार्यक्रमहरू पनि यहीं सुटिङ हुने गर्दछन् ।
वेस्ट मिनिस्टर (प्रधानमन्त्रीको कार्यालय) लन्डन आइ, (पूरा लन्डन देखिने रोटे पिन्गबाट हेर्ने दृष्य) बकिन्गघम प्यालेस, लन्डन ब्रिज हेरेर फर्कियौं हामी । त्यो दिन पैसाको पूरा सदुपयोग भयो र सन्तुष्टि पनि भरपूर । हिप-अप, हिप-अफ बसले लेराएर छोडिदियो हामीलाई ड्रुड स्ट्रिट घर नजिकैको स्टेशनमा । बेलुका हाम्रो प्रतीक्षामा रहेको डिनर प्रोग्राम थियो, इन्डियन रेस्टुरेन्ट ‘डिस्युममा’ । तीन-तीन महिना अगाडि देखिको रिजर्भेशन हुने रहेछ लण्डनको यो शाखामा । वाह ! खानाको लागि दिएँ मैले पूरा १० मा १० दिएँ । त्यहाँको बिर्यानी, ल्याम चप, ओक्रा फ्राइ, लिम्का र पिसताचिओ क़ुल्फी । यति मीठो खाना त मैले जिन्दगीमा खाएको थिइनँ, सबैजना लन्डन जानुभयो भने त्यो रेस्टोरेन्टमा जान नभुल्नु होला हस् ।
अर्को दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यू.के ले आयोजना गरेको लक्ष्मी जयन्ती २०८२ कार्यक्रममा सहभागिता जनाएँ । धेरै धन्यवाद राज श्रेष्ठ, रुपक श्रेष्ठ, माया गुरुङ, सुमल कुमार गुरुङ, सबिना भण्डारी तथा गुल्मी समाज यू.के रेस्टुरेन्ट परिवारलाई यो मीठो खाना र यो आतिथ्य लागि ।
घर फर्केर आई भोलिपल्ट उडानको तयारी गर्न थालें । सुटकेस मिलाई ५ बजेको अलार्म राखी सुतें । भोलिपल्ट ६:३० मा मेरो क्याव मलाई हिथ्रो एअरपोर्ट पुर्याउन लिन आयो र गएको बाटो हुँदै म लागें घर टोक्यो तर्फ । शुरू भयो मेरो बीस घण्टे लामो हवाईजहाजको यात्रा । लन्डन टु क्वालालम्पूर र क्वालालम्पूर टु टोकियो ।
टोकियो जापान



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ फाल्गुन २०८२, सोमबार 










