वि.सं. २०७६ मा पहिलो पटक कैलाश पर्वत परिक्रमाको आँट गरेकी थिएँ । तर स्वास्थ्यमा आएको समस्याका कारण परिक्रमा पुरा गर्न सकिनँ । यो भक्ति बिस्तारै शक्ति बनेर मेरो मनमा गढेको थियो । दृढ सङ्कल्प लिएकी थिएँ, जसरी हुन्छ, कैलाश पर्वतको पूर्ण परिक्रमा त गरेरै छाड्छु ।
कोभिड १९ को महामारी लगायत धेरै समस्याले यात्रा रोकिए पनि मेरो मनमा पुनः परिक्रमा गर्ने इच्छा गहिरोसँग गढेको थियो । तर सौभाग्य, शिवम् होलीडे समूहले मेरो यो इच्छा पूरा गरिदियो । १३ जनाको समूह मेरो यात्राका सारथि हुने भए । हामी भदौ ११ गते यात्राका लागि निस्किएका थियौं ।
धन्न मोबाइलमा दलाइ लामाको फोटो थिएन…
बिहान ३ बजे नै उठें । मनमा उत्साहसँगै यात्रा फेरि सफल नहुने हो कि भन्ने डर थियो । तर पूर्वतयारी राम्रो गरेकाले आँट भने थियो । ४ बजेसम्म हामी तोकिएको स्थानमा भेला हुने योजना थियो । योजनाअनुरूप नै हामी भेला भयौं र ढिला नगरी हाम्रो बस रसुवागढीको बोर्डरतिर हुइँकियो ।
दिउँसोको करिब १ बजेतिर हामी रसुवागढी बोर्डरमा नेपाली अप्रावसन प्रस्थानका लागि अनुमति लिन लामबद्ध भयौं । चीनको नियम पालन गर्दै लामो भिडमा बसियो । चेकजाँचमा हाम्रा मोबाइलहरू पनि पर्ने रहेछन् । व्यक्तिगत गोपनीयता भङ्ग भएकोमा नराम्रो लागे पनि नाका प्रवेश गर्नका लागि हामी मोबाइल दिन बाध्य थियौं र मोबाइलमा दलाइ लामाको फोटो छ या छैन हेरिएको रहेछ । यदि दलाई लामाको फोटो भेटेमा एकजना मात्रै हैन, यात्रामा गएका पुरै समूह भिजा रद्द हुने रहेछ । धन्न हाम्रो समूहमा भएका १३ जनाकै मोबाइलबाट दलाइ लामाको फोटो बरामद भएन र हामी बोर्डर पास गर्न सफल भयौं ।
रसुवागढी बोर्डरबाट सबै अफिसियल प्रक्रिया सकेर हाम्रो टोली निलो बस चढ्यो । बस समुद्री सतहबाट २८५० मिटरको उचाइ हुँदै केरुङ बजार तिर लाग्यो । ४० किलोमिटरको दुरीमा रहेको केरुङ बजार करिब १ घण्टामा पुगियो । यही बजारमा पहिलो र दोस्रो दिनको बसाइँ हुनेवाला थियो । आज र भोलिको हाम्रो बसाइँ केरुङ बजारको थियो । त्यहाँको हावापानी र अल्टिच्युटसँग घुलमिल हुनु थियो ।
मेरो नजरमा केरुङ ४ वर्षअघि नै परिचित थियो । चार वर्ष अघिको मैले देखेको सानो सफा सुन्दर केरुङ बजार अहिले त फैलिएछ । बस्तीमा होटलहरूको सङ्ख्या ह्वात्तै बढेको रहेछ ।
केरुङको स्वादिलो स्याउ
दोस्रो दिन, केरुङ बजारको उत्तरी भागबाट बगिरहेको त्रिशूली नदीको माथिल्लो भाग (जिलोङ जाङ्बु नदी) को आकर्षक पहेँलो पुल हेर्ने सल्लाह भयो । म र मेरा साथीहरू २५ मिनेट पैदल हिँडेर उक्त स्थानमा पुग्यौं ।
नदी त करिब २०० मिटर मुनि खोँचभित्र पो लुकेको रैछ, पोखरामा सेती लुकेजस्तै । पहाडको गर्भभित्र कलकल गर्दै कुदिरहेको नदी अद्भुत लाग्यो । पहेँलो पुलको पारिपट्टि के होला ? उत्सुकता जाग्यो । पुलमा बसेका गार्डहरूसँग अनुमति मागेर म र समूहकी साथी निर्मलासँग पुल तर्यौं । पारि त सानो चिटिक्कको बस्ती पो रहेछ । करिब ८ देखि १० भएको बस्तीका मानिसहरू सबै आफ्नै धुनमा थिए । बारीमा लटरम्म स्याउ फलेका थिए ।
फलेको फल, मेरो आँखाले देख्नै हुन्न । बोटबाटै टिपेर खानुको मज्जा सम्झेरै आँत रसायो । मन थाम्न नसकेर दुई ओटा स्याउ टिपेरै छाडें । निर्मला र मैले बाँडेर स्याउ खायौं । त्यो स्याउको स्वाद अहिलेसम्म पनि जिब्रोमा टाँसिएको छ । साह्रै स्वादिला थिए ती ।
बस्तीमा अझै टहलिन मन थियो, तर साँझ परिसकेको थियो । होटेल पनि त फर्कन पर्यो नि ।
खण्डहर रुखो चट्टानी पहाड
यात्राको तेस्रो दिन, बिहान ७ बजे । बिहानी खाजा खाएर हाम्रो टोली सागा बजारतिर लाग्यो । गाडीमा सागा बजार पुग्न झण्डै ७ घण्टा जति लाग्थ्यो । २२० किलोमिटरको दुरीमा थियो सागा बजार । केरुङ बजार कटेको करिब आधा घण्टापछि एक सुन्दर झरना आयो । अघिल्लो पटक यो झरनालाई नजिकबाट अवलोकन गर्न पाइएको थिएन, यो पटक धित मरुन्जेल फोटो भिडियो कैद गरियो । बाटो काट्ने मेलो झोलाभरि थियो । मकै, भटमास, तिलको लड्डु, टिम्मुरको अचार, चकलेट केके हो केके । सबैले बाँडिचुँडी खाइयो । रमाइला गीत गाउँदै हाँस्दै यात्रा गर्दा समय काटिएको पत्तो नहुने रहेछ ।
बाहिर सुख्खा चट्टानी पहाडहरू हाम्रो स्वागतमा उभिएका थिए । नेपालमा नदेखिने त्यस्ता चट्टानी पहाडले अचम्मित बनायो ।
श्वासको महत्त्व
माथिल्लो पुरानो केरुङ बजार छिचोल्दै हामी समुद्री सतह भन्दा करिब ५२०० मिटर माथिको पासमा पुग्यौं । झण्डै ६ मिनेट स्वच्छ वातावरणमा सास फेर्यौं । त्यहाँको हावासँग घुलमिल हुन गाह्रो हुँदै थियो । हाइ अल्टिच्युट, चिसो हावाको बहाव तर सास फेर्न गाह्रो । सबैले फोटो खिच्यौं, रमायौं र फेरि बसको सिटमा गएर बस्यौं ।
बसमा चढ्ने बित्तिकै सँगै जानुभएकी रोशनी आन्टीलाई श्वासले साथ दिन मानेन । उहाँलाई निकै गाह्राे भयाे । उता मेरी साथी लिलाको शरीर पनि शिथिल हुँदै गइरहेको थियो । उहाँ आँखा बन्द गरेर बलैतलै अडिएर बस्नुभएको थियो । बसमा भएका साथी र आफन्तहरू कसैको टाउको दुख्न थाल्यो, कसैलाई सास फेर्न गाह्रो भयो । एकैछिनमा मान्छेहरूको अवस्थामा परिवर्तन आएको देखेर म के गरौं कसो गरौं भएँ । बिस्तारै त्यो अग्लो पासबाट गाडी ओरालो गर्न थालेपछि भने अवस्था सामान्य बन्दै गयो ।
दिउँसोको करिब १२ बजे एक विशाल तलाउछेउ पुगेर गाडी रोकियो र सबैले बिहानै पकाएर हटकेसमा राखेको तातो खाना खायौं । लिलाले भने केही खानुभएन । रोशनी आन्टी थोरै दाल पिउनु भयो । दिउँसोको करिब २ बजेतिर हामी सागा बजार पुग्यौं । समुद्री सतह देखि ४५५० मिटरमा रहेको सागा बजार निकै सुन्दर र ठुलो बजार हो । चार वर्षपछि यो बजार पनि निकै विकसित भएको देखें ।
रुखा पर्वतहरूको बिचमा रहेको सागा बजारको पश्चिमी भागबाट पूर्वी भागतिर बगिरहेको थियो विशाल ब्रह्मपुत्र नदी । नदी किनारमा करिब १० मिनेट गाडी रोकेर फ्रेस हुने चलन थियो । मैले पहिलो पटक आउँदा गाइडको सहयोगले वन लसुन चिनेर केही वन लसुन सङ्कलन गरी लेक लाग्दा खाएकी थिएँ । वन लसुनले निकै राम्रो काम गर्दो रहेछ ।
ब्रह्मपुत्र नदीको किनारमा वन लसुन प्रशस्त उम्रिएका हुन्थे तर यसपालि नदी किनारमा बस रोकिएन । नयाँ बाटो र नयाँ पुल बनेकाले गाडी सिधै अगाडी सागा बजार पस्यो ।
सागा बजारको लौरो
सागा बजारमा हामी समयमै पुग्यौं । त्यसैले घुमफिर गर्ने मौका मिल्यो । पहिले मैले दार्चेन बजारबाट लौरो किनेकी थिएँ । जुन लौरोले मलाई धेरै ओटा हाइकिङ र ट्रेकिङ गरायो । खै किन, त्यो लौरोसँग मेरो निकै लगाव थियो । छुटेका धेरै ठाउँहरूबाट लागत भन्दा धेरै मूल्य तिरेर मैले त्यो लौरो फिर्ता ल्याएकी थिएँ ।
यस पटक पनि मेरो रोजाइ लौरो थियो । यो पटक भने सागा बजारको सपिङमा मैले २ ओटा लौरो किनें । समूहका साथीहरूले पनि एक एक ओटा लौरो किने । एक लौरोको २० युवान अर्थात् ३ सय ६० रुपैयाँ पर्थ्यो । साँझ सम्ममा हाम्रो समूहका धेरैलाई लेक लागेछ । धेरैलाई खानामा अरुचि बढ्दै गयो । अमन भएर खानाको गन्ध आउने, निद्रा नलाग्ने, टाउको दुख्ने जस्ता समस्या देखिए ।
पुरानो अनुभवले साथ दियो
यो मेरो दोस्रो अनुभवका कारण मैले यो यात्रामा धेरै विषयमा ध्यान दिन पाएँ । साथीहरूलाई सहयोग गर्न पाएँ ।
यात्राको चौथो दिन । बहानै ६ बजे खाजा खाएर हाम्रो बस गुड्यो मानसरोवरलाई भेट्न । १० दिने यात्रा मध्ये आजको दिन सबैभन्दा लामो यात्रा थियो । सागा बाट मानसरोवर जम्मा ४ सय ५० किलोमिटर । समुन्द्री सतह देखि ४५५६ मिटरमा ।
केही सतर्कता अपनाउदै बोल्न भन्दा भगवानको ध्यानमा धेरै मन लगाउँदै समय बित्न थाले । पहिलो अधुरो यात्राप्रति सचेत निकै सचेत थिएँ । यसपालि पुरै कैलाश परिक्रमा गर्ने उद्देश्य र पूर्ण लक्ष्य प्राप्तिका लागि अत्यन्तै सचेत थिएँ ।
दिउँसोको खानाका लागि सुनसान ठाउँमा बस रोकियो । तातो खाना सबेरै पकाएर किचेन टिमले प्याकिङ गरेर राखेका थिए । तातो पुलाउ, राजमा र हरियो तरकारी अचार फलफूल थपी थपी खाएँ । यात्रामा खानाको महत्त्व धेरै हाइकिङ र ट्रेकिङबाट थाहा पाएकी थिएँ । तर साथी लिलाले भने खान सक्नुभएन । उहाँले धेरै आग्रह गरेपछि एउटा स्याउ र फ्रुटी मात्रै खानुभयो । दिउँसोको खानापछि गाडी फेरि उस्तै वेगमा हुइँकियो ।
सुन्दर मानसरोवर देख्दा भुवासरि यो मन
दिउँसोको करिब ३ बजेतिर हामी मानसरोवरको छेउमा पुग्यौं । निलो सफा आकाश अनि उनै आराध्य देव कैलाशपति । हर्षले भाव विभोर भएछु, मन भक्कानियो । मन भुवासरि उडिरहेको अनुभूति भयो । विशाल सफा अनि निलो मानसरोवर ताल करिब ९० किलोमिटर सुर्याकारमा फैलिएको रहेछ । जसलाई हामीले बसबाटै एक फन्को मार्यौं ।
यो विशाल ताल तिब्बतको पूर्वीय भाग र तिब्बतको दक्षिणी नेपालको उत्तरी हिमाली भू-भाग मुचु , नाईमु रिरि , लिमि लाप्चा , बासे जुलि , सिङकुङ सिरक्ईग , गजेलाङवा यारि लोङवा भन्ने स्थानबाट हिउँ पग्लेर बनेको इतिहास छ । अन्य स- साना सहायक नदीहरू पनि मानसरोवरमा मिसिएर यो विशाल तालमा बनेको छ । कैलाशपति महादेवले राजहंसको रूपमा यही तालमा जलक्रीडा गर्ने धार्मिक जन विश्वास रहिआएको छ ।
पाइँदैन मानसरोवरमा स्नान गर्न
हिन्दु धर्मको आस्थाअनुसार मानसरोवर पुगे पनि त्यहाँ स्नान गर्न भने मनाही छ । यदि चिनियाँ प्रहरीले त्यहाँ स्नान गरेको देखेमा ५ हजार युवान अर्थात् नेपाली रुपैयाँ ९० हजार जरिवाना तिर्नुपर्ने नियम छ । तर नेपाली न परियो । यस्ता नियम कानुन छल्न पनि सिपालु । हामी गएको गाडी छाडेर अर्को गाडी मार्फत तालको दक्षिणी भागमा पुग्यौं र छिटोछिटो मानसरोवरमा स्नान गर्यौं । कैलाशपतिको पूजाअर्चना समेत गर्न भ्यायौं ।
साँझको साँढे ५ बजिसकेकाले हामी चढेको गाडी राक्षस ताल तर्फ उक्लियो । यो ताल चन्द्राकारको छ । मानसरोवर र राक्षस तालको बिचमा करिब १०० मिटर जतिको जमिन छ । यो जमिनमा दक्षिणी हुम्लाको नाका हिल्साबाट आउने पक्की रोड नै रहेछ । यहाँ बाट नेपाली बोर्डर जम्मा ३० किलोमिटर मात्रै रहेछ ।
जुनेली रात अनि मानसरोवर ताल
त्यो साँझ मानसरोवर किनारमा रहेको धर्मशालामा बास बसियो । जनैपूर्णिमाकाे दिन थियो । रातको ७ बजेतिर सबै मिलेर मानसरोवर तालको किनारामा गयौं । दीप प्रज्वलन गर्यौं । तालको छायामा चन्द्रमालाई ११ सय दीप दान गर्यौं । तालभरि धिपधिपाइरहेका दीप र जुनको छाया । त्यो निकै आनन्दको क्षण थियो । हामी खुब रमायौं त्यो दृश्य देखेर ।
रिता भाउजूलाई ज्वरो आएछ । औषधि खान दियौं । उहाँ स्वास्थ्य स्थिति निकै बिग्रेकोले आराम गर्न भनियो । खानापछि राति सल्लाह भयो, भोलीपल्ट यमद्धाबाट कैलाश परिक्रमाका लागि को को जाने भन्ने विषयमा । नम्रता र म पहिले देखिनै ३ दिनको उक्त परिक्रमाको लागि तयार थियौँ । स्वास्थ्यले पनि साथ दिएको थियो । तर साथी लिलाले पनि परिक्रमा गर्ने इच्छा देखाउनुभयो । अघिल्लो दिनको ५२०० मिटरमै नाजुक अवस्था भोगेकाले कमला दिदी भने परिक्रमामा नजाने हुनुभयो । बिरामी परेकी रिता भाउजू भने हिम्मतका साथ खडा हुनुभयो ।
“नसकी नसकी जान जिद्दी नगर्नुस् । त्यहाँ कोही कसैको हुँदैन । सबैले आफ्नो आफ्नो ज्यान हेर्ने हो । अर्को ज्यानलाई साथ दिन नसक्ने हुँदा बेलैमा बिचार पुर्याउँदा राम्रो हुन्छ ।” विशेष गरेर मैले मेरी साथी लिलालाई नजान आग्रह गरेकी थिएँ तर उहाँले मान्नु भएन । लिलाले एक पोटर गाइडको व्यवस्था गर्नुभयो । पछि फेरि क्यान्सिल गर्नुभएछ ।
हाब्रे मुसा हामीलाई देखेर खुब रमाए
भोलि पल्ट बिहानै ४ बजे उठेर आफ्नो नित्य कर्म सकी हामी मानसरोवर किनारामा पूजाको लागि गयौं ।
बिहान साँढे ६ बजेको खाजा खाएर हामी ३५ किलोमिटर माथि दार्चेन बजार कैलाशको बेसक्याम्प तिर लाग्यौं । यो समुद्री सतहदेखि ४८६० मिटरको उचाइमा छ ।
कैलाश परिक्रमाको पहिलो दिन जब यमद्वारबाट पाइला अघि लम्कियो, मानिसका ताँती कमिला झैँ थियो । कति धेरै नेपालीहरू यात्रामा निस्किएका रहेछन् । देखेर खुसी लाग्यो ।
देब्रेतिर कैलाश चरणबाट उद्गम भएको सिन्धु, सतलज नदी आनन्दसँग कलकल गर्दै बगिरहेको थियो । कतैकतै कैलाशको शिखर दर्शन पनि हुन्थ्यो । अल्टिच्युटमा धेरै बोल्न नबोल्दा राम्रो हुने भएकोले चुपचाप पाइला अघि सार्नु सर्वोत्तम थियो ।
यसरी हिँड्दा साथी छुटेको पत्तै नहुने । नम्रता अघि म बिचमा र लिला पछिपछि हुनुहुन्थ्यो ।
पहिलो दिनको हिँडाइ करिब १२ किलोमिटर थियो । हिँड्दै जाँदा बेलाबेलामा हल्का उकालो, हल्का उकालो आउँथ्यो । आज पुग्ने गन्तव्य देराफुक थियो जुन समुद्री सतहदेखि करिब ५२१० मिटर को अल्टिच्युटमा थियो । सास बढ्दै स्वाँ स्वाँ हुन्थ्यो, बिस्तारै बिस्तारै हामी लम्किरह्यौँ ।
हाम्रो किचेन टिमको दुई सदस्य मात्रै हामी भन्दा अघि थिए । बाँकी सबै पछि आउँदै थिए । देराफुक नजिकै ८ देखि १० ओटा हिमाली खरायो जस्तै हाब्रे नामका मुसाका बथान हामीलाई देख्नासाथ ठिङ्ग उभिएर बडोचाख मानेर हेरे ।
हामीलाई पनि रमाइलो लाग्यो साथमा भएको बिस्कुट चाउचाउ खान दियौं । २५ मिनेट जति उनीहरू सित खेल्दै खुवाउँदै कुराकानी गर्यौं । मुसाहरूसँग खेल्न पाउँदा थकान सबै भुलियो । हामी बस्ने देराफुक नजिकको बाटोमा मात्रै कैलाशको प्रस्ट मुहारको दर्शन पाइन्छ ।
कैलास पर्वतको उचाइ ६६३८ मिटरको छ । यस पर्वतमा बाैद्ध धर्मगुरु मिलारेपाले मात्रै चढेको कथन छ । सन् २००१ देखि चिन सरकारले यस पर्वतमा चढ्न रोक लगाएको छ । यस पर्वतलाई हिन्दु, बाैद्ध, सिख र जैन धर्मका धर्मालम्बीहरूले आस्था र विश्वास गरी देवताको रूपमा मान्दछन् ।
वासस्थान पुग्नासाथ केहीबेर आराम गर्यौं । नम्रता भने फोटो सेसन तिर लागिन् । एक घण्टा पछि लिला पनि आइपुगिन् । हामीले तातो सुप बाँडेर खायौँ । केही समयपछि हामी तिन जनाले कैलाश पर्वतको उत्तरी फेस देराफुकमा पुगेर दीप प्रज्वलन गरी प्रार्थना गर्यौं ।
लिलालाई निकै टाउको दुखेको रहेछ । आफूसित भएको एउटा फ्लेक्सन झिकेर खान दिएँ । एकछिन आराम गरेपछि केही हल्का भइन् । रिता भाउजू आउन नसकेको जानकारी पायौं । अब भोलिको यात्रा २२ किलोमिटर छ । मुटुको ढुकढुकी बढाउने फोक्सो फुलाउने , खुट्टा फतक्कै गलाउने उकालो । समुन्द्री सतहदेखि ५६६५ मिटरको उचाइमा ।
गाइड निमाले सबैभन्दा कठिन र डरलाग्दो यात्राबारे उनले सम्झाए । जान नसक्नेहरुले बल नगर्न आग्रह पनि गरे । यात्रामा भएका केही साथीहरूले त्यहाँबाट यात्रा रद्द पनि गर्नुभयो ।
३ जना ल्हासा घुमेर आएका टोलीका वृद्ध अङ्कलहरूले डोरमालाको उकालो सम्म घोडा बुकिङ गरे । अब बुकिङका लागि घोडा पनि सकियो । लिलाले अझै हिम्मत हार्नुभएको थिएन । उहाँ यात्रा गर्ने सुरमा हुनुहुन्थ्यो ।
पुरानो अनुभवका कारण मलाई भने उहाँको अवस्थाले साथ नदेला भन्ने लागेको थियो । उहाँको मनोबल घट्ला भनेर म मौन रहेँ ।
टिमका गाइड निमा उहाँको सहयोगको लागि पोटर बन्न तयार हुनुभयो । देराफुकमा रातारात स्वास्थ्य बिग्रिने सम्भावना धेरै हुन्छ । भोलिपल्ट बिहान कयौँ यात्रीको डोरमाला यात्रा रद्द हुने गरेको छ ।
पहिलो पटक म फर्केको स्थान पनि देराफुक थियो । डोरमालालाई पास गर्ने भक्ति बोकेर म फर्केको थिएँ । यसपटक म मेरो स्वस्थ र ऊर्जावान् शरीर देखेर म मख्ख थिएँ । यो बितेका चार वर्षसम्म गरेका हाइकिङ र ट्रेकिङले शरीरको सहनशक्ति बढेको थियो ।
डोरमालाको ठाडो उकालो
बिहानै ३ बजे उठ्यौ र केही नित्य कर्म सकेर ४ बजेतिर उकालो लाग्ने तरखरमा थियौं । हामीसँगै आएका ल्हासा टिमको एक हट्टाकट्टा हसमुख बलिया यात्रीको एकएक राति नै स्वास्थ्य अवस्था बिग्रेकाले उनी त्यहीँबाट दार्चेन फर्किए । मलाई मेरो पहिलो यात्राको याद आयो ।
हामी टर्च लाइटको उज्यालोमा बिस्तारै बिस्तारै हिमाली काखमा चिसो खाँदै टहटह टल्केका जुन र तारासँग गफिँदै अगाडी बढ्यौं । अँध्यारोमा आफ्नो मान्छेको बोलीले मात्रै चिन्न सकिन्थ्यो । सबै मौनतामा लम्किरहेका थियौं । दुई तीन पल्ट लिलालाई बोलाए उहाँ ठिक छु भन्दै आउँदै हुनुहुन्थ्यो । नम्रताको भने अत्तोपत्तो थिएन सायद अघि बढिसकिछन् ।
लिलाको साथमा निमा पोटर गाइड बनेका बन्नुभएको थियो । निमा गाइडको यो कैलाश यात्रा ११२ पटकको रहेछ । त्यसैले म ढुक्क थिएँ । बिस्तारै यात्रा असहज हुँदै गयो । सम्झे चार वर्ष अघि म जिद्दी गरेर यहाँ आएको भए चार पिण्ड खाइसक्ने रहेछु । दुई किलोमिटर हिँडेपछि टी हाउस आयो नम्रतालाई त्यहीँ भटे । हल्का उज्यालो भइसकेको थियो एक कप नुनचिया मैले पनि पिए अनि अघि बढ्यौं । सूर्यका किरणहरू धर्तीमा पर्नुअघि कैलाशको शिरमा टल्कियो । यो सुर्यको सुनौलो किरणले सुन जस्तै धपक्क पहेँलपुर भएर टल्किरहेको कैलाश देखेर म छक्क परे ।
आहा, कति सुन्दर र अद्भुत दृश्य । मेरो दृष्टि ले दर्शन गर्न पाएकोमा म पुलकित भएँ । कैलाशलाई हेर्दै नमन गर्दै ६ किलोमिटरको ठाडो उकालो यात्रामा पाइला अघि बढ्यो । कुनै बेला मुटु वा फोक्सो,फुट्छ कि झैँ भएर आउँथ्यो । जति हिँडे पनि नआइपुगेको डोरमाला पास कति बेला आउला झैँ भयो ।
प्रकृतिको विचित्रको सृष्टि
७ घण्टा उकालो काटेपछि बाक्लो रङ्गीचङ्गी लोङ्दाका ध्वजाहरू फरफराइरहेको देखियो । बल्ल डोरमाला आएछ भनी लामो सास फेरें । बेस्सरी हावा चलेको थियो डोरमालामा । डोरमाला सरस्वती माताको प्रतीक हुन् भन्ने मान्यता छ । हामीले पनि धार्मिक कथन अनुसार आफ्नो लगायत सम्पूर्ण परिवारको र शुभचिन्तकहरूको कल्याणको कामना गर्यौं । प्रार्थना गर्यौ । तल ओरालो झर्न लाग्दा माता पार्वतीले स्नान गर्ने गौरी कुण्डको दर्शन पायौं । यही सुन्दर पवित्र कुण्डको दर्शन गर्दै बाटोको एक छेउमा बसेर लगेको प्याकिङ लन्च खायौँ । हाम्रा किचेन टिमको भाइ जितेन्द्रले गौरी कुण्ड बाट केही जल ल्याइदिए पनि ।
खाना पछि, हामी ओरालो झर्दै थियौँ । करिब ९ घण्टा हिँडेपछि फेदीमा एक टी हाउस भेटियो । एक एक कफी पिएर हामी अब भने तेर्सो बाटो हिँड्न थाल्यौं । अल्टिच्युटको हिँडाइले थकित म र नम्रता अनि किचेन टिमको हुम्लाको भाइ जितेन्द्र सँगै हिँड्यौं । आफूसित भएको चकलेट र पानी बाँडेर खाँदै, हल्का गफिँदै हिँड्न थाल्यौं । जितेन्द्र हुम्लाको कहानी सुनाउँथ्यो म तराईको । बाटो काटेको पत्तो भएन । अब हामी कैलाशको उत्तरी भागबाट पूर्वीय भागको परिक्रमा यात्रामा छौं । भगवान् कैलाशको पूर्वीय मुहारको पनि राम्रोसँग दर्शन मिल्यो ।
यहाँ परिक्रमा गर्दा के आश्चर्य प्रकारको दृश्य देखियो भने, बिचमा कैलाश पर्वत अनि चारैदिशाबाट पिरामिड आकारका पर्वतमालाहरूले कमल पत्र झैँ घेरा हालेर राखेको रहेछ । प्रकृतिको सुन्दर रचना बडो अद्भुत छ । कैलाशको पूर्वीय भागको अग्लो डाँडामा रावणले ताण्डव नृत्य गरेको स्थान रहेछ त्यो यस्ता कथाका दृश्य आफ्नै आँखाले देख्न पाउँदा बालापनमा सुनेका कथाहरू मानसपटलमा तरो ताजा भएर आयो । करिब ११ घण्टाको पैदल यात्रा पछि हामीले त्यो दिनको २२ किलोमिटरको हिमाली यात्रा पार गरेछौ । र जुथुलफुकमा थकाइ मार्दै वास बसियो ।
झण्डै ज्यान गएको
हामी पुगेको करिब ३ घण्टा पछि गाइड निमा आइपुग्नुभयो । तर साथी लिला साथमा हुनुहुन्थेन । डर पनि लाग्यो एकछिन ।पछि गाइडले लिलालाई फेदी बाटै जिपमा चढाएर पठाएको बताउनुभयो । गाइडले लिलाको हालत धेरै नै बिग्रेको कुरा सुनाउनुभयो । बाटोमा सास फेर्न नसकेर अक्सिजन दिनुपर्ने अवस्था आएछ । अनुहारभरि निला र पहेँला टाटा परेछ । दाँत पनि बाँधिएर मुख बन्द भएछ । टाउकोमा पानी छर्किंदै, राल सिँगान पुछ्दै हात समाएर बिस्तारै बिस्तारै तल झार्न सफल भएको निमाले सुनाउनुभयो ।
हाम्री साथी लिलाले साँच्चै नयाँ जीवन पाउनुभएछ । अनुभवी निमाले अल्टिचुटमा सम्हालेर कुनै अप्रिय घट्न पाएनछ । झण्डै ज्यान गएको । मैले भगवानको दूतको रूपमा निमालाई देखें ।
जुथुलफुक लेकमा राति खिचडी खाएर हामी सुत्यौं । तेस्रो दिन बिहानको ४ बजे नै यात्रा सुरु गरियो । उहीँ हेडलाईटको उज्यालोमा हामी हिँड्यौं । आजको यात्रा जम्मा ८ किलोमिटरको मात्रै थियो । हिँड्दा हिँड्दै मेरो पेट बटारिएर आयो र केही पानी बान्ता भयो । हिँड्ने बेलमा कालो टर्रो चियाको करामत थियो त्यो । तैपनि निरन्तर हिँडी नै रह्यौ ।
बिस्तारै उज्यालो हुँदै आयो । यात्रा राम्रोसँग सफल भएकोमा मन आनन्दित भएको थियो । ज्यानमा खासै थकान थिएन ।
हामी दार्चेन नजिकै एक चिया हाउसमा रोकियौ र एक कप तातो नुन चिया पियौं । ज्यान ततायाैँ । केही बेरमा हामीलाई लिन हाम्रो बस आइपुग्यो । हामी बस चढेको करिब २० मिनेटमै हाम्रा आफन्त साथीहरू भेट्ने स्थानमा पुग्यौं । उहाँहरू हामीलाई कुरेर बसिरहनु भएको थियो । हामीलाई देख्ने बित्तिकै उहाँहरूको खुसीको सीमा नै रहेन । सबैजनाले मलाई र नम्रतालाई बधाई र आशीर्वाद दिँदै उचाल्न थाल्नुभयो । हाम्रा आँखामा हर्षका आँसु टलपलिइरहेका थिए ।
अनि बिहानीको खाजा खाएर करिब १० बजे दार्चेनबाट हाम्रो फिर्ती यात्रा सुरु भयो । हामी सागा बजार केरुङ बजार हुँदै नेपाल फर्कियौं । यात्राको दसौँ रातमा करिब साँढे १ बजे काठमाडौँले हाम्रो स्वागत गर्यो ।
दोस्रो पटकको कैलाश यात्रामा सफल भएकाले म निकै हर्षित भएँ । मन हल्का भएको थियो । अरूका लागि हैन, मैले मेरै लागि मानसरोवर यात्रामा डोरमाला पासको उकालो हिँडें । अघिल्लो पटकको अधुरो यात्रालाई यो पटक स्वस्थ र मस्त हुँदै पुरा गरें । भगवान् कैलाशलाई साक्षात् देखेको महसुस गरेर फर्किएँ ।
अब फेरि कैलाश पर्वतको भित्री परिक्रमाको इच्छा जागेको छ । प्रार्थना गर्दछु, यो इच्छा पनि पुरा गर्न सकूँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।