जातीय र राष्ट्रिय पर्वका रूपमा भानुजयन्ती

भारतका उत्तर बङ्गाल, सिक्किम र असम प्रान्तमा १३ जुलाई भन्नेबित्तिकै भानुजयन्ती बुझिन्छ । यो भानुजयन्तीको अर्थविस्तार भएर नेपालीभाषी भारतीयहरूका निम्ति जातीय पर्व र राष्ट्रिय पर्वका रूपमा लिइन्छ । यो दिन नेपाली भाषीको जातीय चेतनाको भावना तथा भाषा-साहित्यप्रेम ब्यूँझिन्छ । भानुभक्त हाम्रा निम्ति जातीय एकताका प्रतीक हुन्, नेपाली भाषा उन्नतिका मानक र केन्द्रीय व्यक्ति हुन्, भारतका अन्य साहित्यका सामु नेपाली साहित्यलाई पनि काँधमा काँध मिलाउने साँघु हुन् । भानुजयन्ती हाम्रा निम्ति चाडको हर्षोल्लासको दिन हो । नेपालीभाषीलाई जोड्ने कडी हो । यो दिन हाम्रा निम्ति दशैं-तिहारझैं मनाउने राष्ट्रिय र जातीय चाड बनेको छ । हाम्रा भोटे लाप्चे नेपाली मिलेर भव्य रूपमा भानुभक्तलाई सम्झिने दिन हो, हाम्र  ऐक्यबद्धता देखाउने अवसर हो ।

भारतमा भानुभक्तलाई अमरता प्रदान गरिएका केही कामहरू

भानुभक्तलाई अमरता प्रदान गर्न उनको नामलाई विभिन्न किसिमका काम गरिएका छन् । यसमा उनको नाममा भव्य रूपमा जन्मजयन्ती पालन, सरकारी विदा, शालिक स्थापना, स्थाननाम, भवननाम, पथनाम, शैक्षिक संस्थान आदि उनको कृतित्वको पुस्तक प्रकाशन आदि आदि रहेका छन् ।

१. भारतका विभिन्न स्थानमा भानुजयन्ती पालन-

आदिकवि भानुभक्त आचार्य

प्रत्येक वर्षको असार २९ गते तदनुसार १३ जुलाई दिन भारतका विभिन्न स्थानहरूमा बडो धुमधामले भानुजयन्ती मनाइने गरिन्छ । सबैभन्दा बढी त सिक्किम राज्यले राज्य पर्वका दिवसका रूपमा भानुजयन्ती मनाउने गर्दछ । त्यसदिन सिक्किमका मुख्यमन्त्र स्वयम उपस्थित भएर बिहानको सत्रमा सरकारी सलामीका साथ भानु प्रतिमामा माल्यार्पण गरिन्छ । त्यसपछि दोस्रो सत्रमा भने मनन केन्द्रमा मुख्यमन्त्रीको उपस्थितिमा भव्य कार्यक्रम हुने गर्दछ । नेपाली साहित्य सम्मेलनले सन् १९४६ देखि प्रत्येक वर्ष भव्य रूपमा भानु जयन्ती पालन गर्दछ । दार्जीलिङ चौरस्तामा भानुप्रतिमालाई जिल्लापालदेखि लिएर धेरै गण्यमान्य व्यक्तिहरूले माल्यार्पन गर्दछन् । त्यसपछि भने सम्मेलनको भवनमा नै दिनभरी भानु जयन्ती भव्यताका साथ पालन गरिन्छ ।

कालिम्पोङको नेपाली साहित्य अध्ययन समितिले पनि बडो धुमधामले भानुजयन्ती पालन गर्दछ । सिलगडीको देवकोटा सङ्घ, खरसाङको गोर्खा जन पुस्तकालय लगायत कोलकाता नजिकको सलुवा, कोलकाता, राँची, जम्मु, भाक्सू, देहरादुन, दिल्ली आदि स्थानहरूमा पनि भानुजयन्ती मनाउन थालिएको पाइन्छ ।

उत्तर-पूर्वाञ्चलका पनि असमबाहेक मणिपुर, नागाल्याण्ड, अरूणाचल, मेघालय, मिजोरामका विभिन्न स्थानमा भानुजयन्ती मनाइन्छ । भानु नजयन्ती मनाइने ठाउँहरूमा कार्यक्रममा रामायण पाठ अनिवार्य रूपमा प्रस्तुत हुन्छ भने कविता पाठ, भाषा-साहित्य र भानुभक्तसम्बन्धित वार्ता, लोकसांस्कृतिक कार्यक्रम, पुरस्कार अलङ्करण आदि प्रतियोगीमूलक कार्यक्रम भएको हुन्छ । कतै कतै रामायण पाठ प्रतियोगिता पनि हुने गर्छ । यसमा खुल्ला र विद्यार्थीहरूका बीचमा प्रतिष्पर्धा हुन्छन् । यस दिन प्रत्येक नेपालीभाषीले दौरा सुरूवाल र चौबन्दी चोली लगाएका हुन्छ ।

शहरदेखि टाढामा रहेका साना साना बजार, उच्च विद्यालय आदितिर पनि भानुजयन्ती भव्यतासँग पालन गरिन्छ । विद्यार्थीहरूले भानुभक्तीय रामायणको वाचन गर्दछन्, भानुभक्तबारे आफ्नो विचार व्यक्त गर्छन्, लोकनृत्य प्रस्तुत गर्छन्, कसैले कविता पाठ गर्छन् । उनीहरूमा पनि जोश, उल्लास र जातीय सचेत हुन्छन् ।

 

२. भानुजयन्तीमा सरकारी विदा-

भारतमा भानुभक्तको विशेष स्थान छ । भारतको पश्चिम बङ्गाल, सिक्किम, असममा सरकारी तवरमा नै भानुजयन्तीलाई महत्त्व दिएर १३ तारिक जुलाईलाई सरकारी विदा गरिएको छ । भारतको पनि दार्जीलिङ, सिक्किम र असममा भानु जयन्ती धुमधामले मनाइन्छ । र यी राज्यहरूमा सरकारी विदा घोषणा गरिएको छ । सिक्किममा भने त्यो दिनको राज्यव्यापी पूर्ण विदा हुन्छ भने पश्चिम बङ्गाल र असममा भने नेपालीभाषीहरूलाई आंशिक विदा घोषणा गरिएको छ । सरकारी तवरमा नै उनलाई एक राष्ट्रिय प्रतिभाका रूपमा स्वीकारेका छन् ।

 

३.भानुभक्तको शालिक स्थापना-

नेपाल र भारत गरी लगभग तीन सय जति भानुभक्तका शालिकहरू स्थापना गरिएका छन् भनिन्छ । भारतमा भानुभक्तको शालिक स्थापना गरेर भारतमा हाम्रो अस्तित्वको मोहरछाप लाउने काम गरिएको छ । भानुभक्तले भारतीय धर्मग्रन्थ रामायणको भावानुवाद गरेका हुन् भन्ने प्रसङ्ग रहेको छ । भारतमा भानुभक्तका शालिकहरू धेरै स्थानमा स्थापना गरिएको पाइन्छ । दार्जीलिङको भानु शालिक सर्वप्रथम सन् १९४९ मा चौरस्तामा स्थापना भएको थियो । यो नै विश्वको पहिलो भानु शालिक हो । दार्जीलिङ र कालिम्पोङ जिल्लामा कालिम्पोङ, पेदोङ, खरसाङ, सिलगडी, खोलाचन्द फापरी, सालबारी, नक्सलबारी, मिरिक आदि स्थानमा भानु शालिक स्थापित छन् ।  कोलकाताको बेहलामा पनि भानुभक्तको शालिक स्थापना गरिएको छ । यसका साथै कोलाकतादेखि केही उत्रमा रहेको कल्याणी भन्ने शहरमा भने एउटा विशाल भानुभक्तको शालिक स्थापना गरिएको छ । कल्याणी नगर निगमले स्थापना गरेको यस विशाल भानुशालिगमा वर्षेनी भानु जयन्ती पनि पालन गरिन्छ । सिक्किममा गान्तोक, सिङ्ताम, मङ्गन, रिनाक, पाक्योङ, नाम्ची, जोरथाङ, रोडा.थाङ, मल्ली आदि ठाउँमा भानु शालिक रहेका छन् । गोजिङमा भने विशालकाय भानुभक्तको शालिक स्थापना गरिएको छ । त्यहाँ नेपाली भाषा साहित्य अनुसन्धान केन्द्र पनि रहेको छ तर हालमा यो निष्क्रिय रहेको सुन्नमा आएको छ । डुवर्सका मालबजार, लुकसान, नगरकट्टा, सामसिङ, दलसिंहपाडा., जयगाउँ आदिमा शालिक रहेका छन् । असमका डिमाहासा जिल्लाको बागेटार, गमिरि, धेमाजीको डिमाउ, लखिमपुरको चौलदोवा, तीनसुकियाको जागुन, शोणितपुरको लोकरा, डिगबोयको नेपाली विष्णुमन्दिर, डिगबोयकै टिङ्‌राई, कछार जिल्लाको हरिनगर, पश्चिम कार्बी आङ्लाङको मैसान आदि स्थानमा भानुभक्तको शालिक स्थापना गरिएका छन् । भारतको उत्तर पश्चिमाञ्चलको देहरादूनको गोर्खाली सुधार सभाको प्राङ्गनमा पनि भानुभक्तको शालिक स्थापना भएका छन् ।

पश्चिम बङ्गाल विधान सभा भवनभित्रको भित्तामा अन्य साहित्यिक महापुरुषका सँगसँगै हाम्रा भानुभक्त आचार्यको पनि तस्वीर सजिएको छ । यस्ता तस्वीरहरू राखेर भए पनि नेपालीभाषी भएका ठाउँमा भानु जयन्ती मनाइन्छ ।

४. भानुभक्तको नाममा स्थाननाम

भानुभक्त नाममा केही स्थाननाम रहेका छन् । केही यस्ता ठाउँ र पथहरू हुन्- दार्जीलिङको सिंहमारीको भानुग्राम, चौरस्ताको एक स्थान भानुसरणी, भानु टोल- खरसाङ, भानुटोल- मिरिक, भानुटोल-मङ्पु, भानुनगर- सिलगडी, भानुसरणी- जयगाउँ, भानु उद्यान, सिङ्ताम, सिक्किम, भानुसरणी- गुरुङ बस्ती, सिलगडी,  आदि हुन् । त्यसै गरी भानुभक्तको नाममा केही सार्वजनिक र सरकारी भवनको नाम राखिएको पाइन्छ । यस्ता केही भवनहरू हुन्- भानुभवन : दार्जीलिङ, रबीन्द्र-भानु मञ्च– उत्तर बङ्गाल विश्वविद्यालय, भानु स्मृति भवन– चलाउने, चियाकमान डुवर्स आदि हुन । भानुभक्तका नाममा पथको नाम पनि रहेका छन् । जस्तै भानु पथ– दार्जीलिङ, आचार्य भानुपथ– खरसाङ, भानुपथ, मालरोड दार्जीलिङ, भानु पथ सिलगड़ी, भानुभक्त पथ, सलुवा मुख्य हुन् । त्यस्तै गरी केही सामाजिक सङ्घहरू पनि भानुभक्तका नाममा रहेका छन् । भानुभक्त समिति– सिलगड़ी, भानु सङ्घ– सिलगड़ी, भानुभक्त समिति, सलुवा आदि हुन् । डुवर्सको नगरकट्टामा रबीन्द्र-भानु सेतू पनि पाइन्छ । दार्जीलिङको मङ्पु बजारमा भानु टोल छ । सिक्किमको सामदोङको एउटा गाउँलाई रामायण गाउँ, गेजिङमा भानु उद्यान स्थापित छ । दार्जीलिङको एउटा विशाल सरकारी भवन भानुभवन-को रूपमा चिन्हित छ । त्यस्तै गान्तोकको चर्च रोडमा पनि भानुभवन स्थापित छ । सिलगडीमा २ माइल क्षेत्रको एक भागलाई भानुनगर भनी नामकरण गरिएको छ । असमको उदालगडीको रौता भन्ने बजारमा भानुचोक पनि पाइन्छ ।

 

५.भानुभक्तको नामसँग जोडिएका भारतका केही विद्यालयहरू

यसै गरी उनको नाम रहेका केही विद्यालयहरू हुन्- भानुभक्त प्राथमिक पाठशाला– दार्जीलिङ, भानु रात्री पाठशाला– दार्जीलिङ, भानुभक्त प्राथमिक पाठशाला– गुरूङ बस्ती सिलगड़ी, भानुभक्त प्राथमिक पाठशाला– मदारीहाट, अलिपुरद्वार जिल्ला, भानु निम्नोच्च विद्यालय-मङ्पु, भानु पाठशाला– बागडोगरा आदि हुन् । यसैगरी पूर्वोत्तर राज्य मेघालयको राजधानी शिलाङमा पनि भानुभक्त र गौतम बुद्धका सेयुक्त नाममा बुद्ध-भानु कलेज स्थापना भएको छ । नेपालमा भानुभक्तको नाममा कति विद्यालय, संस्था छन् त्यसबारे गहन अनुसन्धान गर्न बाँकी छ ।

 

६. भानुभक्तका नाममा पुरस्कारहरू

नेपाली वाङ्मयको सेवाका निम्ति पश्चिम बङ्गाल सरकारले प्रत्येक वर्ष भानु पुरस्कार दिने गर्दथ्यो तर विगतको गोर्खाल्याण्ड आन्दोलन कालपछि उक्त पुरस्कार बहिष्कार भएर स्थगित भएको थियो । यद्यपि अहिले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले भानुजयन्तीका दिन वार्षिक रूपमा एक लाख नगदराशीसहित भानु पुरस्कार दिने गर्दछ । त्यसैगरी नेपाली साहित्य परिषद् सिक्किमले पनि प्रत्येक वर्ष भानु पुरस्कार  ५१ हजारको राशि प्रदान गर्दछ । यसलाई सिक्किम सरकारको आधिकारिक पुरस्कार हुनाले यो पुरस्कार पाउनु भनेको एउटा ठूलो प्रतिष्ठाको विषय बन्दछ ।

यसैगरी अखिल भारतीय नेपाली भाषा समिति, देहरादुनबाट पनि भानु पुरस्कार प्रदान गरिन्छ । सिङ्ताममा पनि भानु-रत्न पुरस्कार वितरण गरिन्छ । यसमा भानुभक्त आचार्य र रत्नमाया प्रधानका नामबाट संयुक्त रूपमा भानुरत्न पुरस्कार प्रदान गरिन्छ ।

 

७. भानुभक्तका कृति अध्ययनहरू-

भारतबाट पनि भानुभक्तको कृतित्व र व्यक्तित्वबारे लेखाजोखा गरिएका धेरै पुस्ताकार कृतिहरू प्रकाशित देखिन्छन् । तिनमा कुनै एकल लेखकीय पुस्तक प्रकाशन, कुनै सम्पादित र संकलित, कुनै फुटकर रूपमा आदि प्रकारले देखा परेका छन् । कुनैमा काव्यकृतिको भावगत कुनैमा भाषागत, कुनैमा तुलनात्मक, तर्कसम्मत् आदि विश्लेषण गरिएको पाइन्छ । भानुभक्तको साहित्यिक योगदानको मूल्याङ्कन गर्दै केही लेखकले पुस्तक लेखेका छन् । यस किसिमको पुस्तकको प्रारम्भ गर्ने मोतीराम भट्ट (वि सं. १९४८ सन् १९८१) हुन् । त्यसपछि भारतको सन्दर्भमा भाइचन्द प्रधानको सं २००९ आदिकवि भानुभक्त आचार्य प्रकाशित छ ।

इन्द्रबहादुर राईको सम्पादनमा रहेको मोतीराम भट्टको कवि भानुभक्त आचार्य जीवनचरित्र (२०२१),  गुमानसिंह चामलिङको कविवर भानुभक्तको उपाधि र आदिकवित्वका प्रश्न (सन् २००१), डा. कविता लामाको भानुभक्त आचार्यको काव्यकृतिको भाषिक अध्ययन प्रकाशित देखिन्छ । पछिल्लो कृतिमा भानुभक्त आचार्यका भाषिक पक्षहरूको आधारमा विश्लेषण गरिएको पाइन्छ । पुण्यप्रसाद शर्माको सम्पादनमा रहेको केही समालोचना आदिकवि भानुभक्त आचार्य (२०१०) असमका अविकेशर शर्माको भानुभक्तको आदिकवित्वको चिरफार पनि प्रकाशित भएको पाइन्छ । यसैगरी भानुभक्तलाई अन्य भाषामा परिचय दिने क्रममा पारसमणि प्रधानको भानुभक्त आचार्य (सन् १९७९) अङ्ग्रेजीमा रहेको छ । हरेन घोषको बङ्गला पुस्तक कवि भानुभक्त आचार्य (सन् १९९०) डा. मोतीवीर राईको मोतीराम भट्ट भानुभक्तको जीवनी पुस्तकको अँग्रेजी अनुवाद The Life of Bhanu Bhakta Acharya (२०४३) पनि प्रकाशित भएका छन् । यीबाहेक फुटकर रूपमा लेख्नेहरू भने धेरै छन् । तिनमध्ये केही उल्लेखनीय समीक्षक अध्येताहरूमा राजनारायण प्रधान, डा. कुमार प्रधान, कमला सांकृत्यायन आदि हुन् । भानुभक्तलाई नै काव्यनायक बनाएर लेखिएको डा. चन्द्रेश्वर दुबेको भानुभक्त र घाँसी (खण्डकाव्य, २०२०) पनि प्रकाशित छ ।

 

८. भानुभक्तीय रामायणको अन्य भाषामा अनुवाद-भारतका अन्य भाषामा पनि भानुभक्तको रामाणको अनुवाद भएको पाइन्छ । मुख्य गरी डा. गोकुल सिन्हाले भानुभक्तीय रामायण-को अङ्ग्रेजीमा गद्यानुवाद The Ramayana of Bhanubhakta (२०१५) प्रकाशित गरेका छन् । यसमा रामायणका प्रत्येक पंक्ति र पदहरूलाई सरल अङ्ग्रेजीमा अनुवाद गरिएको छ । यसका साथै परिशिष्ट भागमा भानुभक्तका केही फुटकर कविताहरू जस्तै घाँसी,  पहाडको अति वेश तनहूँ, आज धेरै दिनपछि बालाजु देख्याँ, कान्तिपुरी नगरी, यस गिरिधारीले, बधूशिक्षा (आंशिक), आदि कविताहरूको अङ्ग्रेजी अनुवाद गरिएको छ । दार्जीलिङका डा. भजनगोपाल सन्याल भानुभक्तीय रामायणको बाङ्ला गद्यानुवाद गरेका छन् । डा. सन्यालको उक्त अनुवाद भानुभक्तका प्रत्येक पंक्तिलाई गद्यकवितामा अनुवाद गरेका छन् । यसैगरी असमकी गीता उपाध्यायले भानुभक्तीय रामायणको असमीय अनुवाद गरेकी छन् । सिलगडीका डा. जीवन रानाले भानुभक्तको रामायणलाई मगर भाषामा पनि अनुवाद गरेका छन् ।

 

९. भानुभक्तसँग सम्बन्धित सम्पादित र सङ्कलित पुस्तक र पत्रिका प्रकाशन

भानुभक्त आचार्यको कृतित्वलाई लिएर विभिन्न विद्वानहरूले लेखेका लेखहरूलाई सङ्कलन र सम्पादन गरेर पुस्तकाकार रूपमा प्रकाशित भएको पाइन्छ । सर्वप्रथम, नेपाली साहित्य सम्मेलन, दार्जीलिङबाट प्रकाशित भानुभक्त स्मारक ग्रन्थ सूर्यविक्रम ज्ञवालीको पहिलोचोटि सम्पादनमा रहेको वि सं. १९९७ (सन् १९४१) थियो । यसैलाई पछिबाट वि सं. २०२६ (सन् १९७०) मा पूर्वार्द्ध र उत्तरार्द्ध मिलाएर पूर्वार्द्धका सम्पादक सूर्यविक्रम र उत्तरार्द्धका सम्पादक तुलसीबहादुर छेत्री र जगत् छेत्री रहेका छन् । यसै भानुभक्त स्मारक ग्रन्थलाई तेस्रो चोटि पनि सन् २०१६ मा पनि गोपीचन्द्र प्रधानको प्रधान सम्पादकत्व पुराना र नयाँ लेखकका लेखहरू थपेर जम्मा ३७८ पृष्ठको प्रकाशित गरेको छ ।

इन्द्रबहादुर राईको सम्पादनमा रहेको भानुभक्तका कृति अध्ययनहरू (२०३६) भानु अध्येताका निम्ति निकै महत्त्वपूर्ण पुस्तक बनेको छ । वि. सं १९७१ तदनुसार सन् २०१४ मा भानुभक्त आचार्यको २०० औं जयन्तीको अवसरमा नेपाल, भारत र विश्वका विभिन्न देशहरूमा धुमधामले समारोहपूर्ण जन्म जयन्ती पालन भएको विभिन्न समाचारपत्रहरूमा समाचार आएका थिए । त्यस अवसरमा द्विशतकीय भानु स्मारिका आदि प्रकाशित भएका थिए । त्यसै अवसरमा नेपाली साहित्य संस्थान, सिलगडीले प्रकाशित गरेको र डा. घनश्याम नेपालको प्रधान सम्पादकत्वमा रहेको भानुभक्तीय कृति द्विशतकीय दृष्टि नाम गहकिलो पुस्तक प्रकाशित भएको थियो । त्यसको समारोहपूर्वक लोकापर्ण पनि भएको थियो तर त्यसमा रहेका छपाइसम्बन्धित त्रुटीहरूका कारण उक्त महत्वपूर्ण पुस्तक बाहिर आउन सकेको छैन । भानुभक्तका कृतित्वमाथि विभिन्न अनुसन्धानमूलक लेखहरू समावेश रहेका थिए । त्यसरी प्रकाशित भएर पनि पाठकसमक्ष नपुग्नु एउटा विडम्बना हो । यस विषयमा सम्पादक मण्डलीले पुनर्विचार गरेर सच्याएर पुनः प्रकाशित गरे भानुप्रेमी पाठकहरूलाई महत्त्वपूर्ण खुराक प्राप्त हुने थियो । यसैगरी डा. जीवन नामदुङ र प्रेम प्रधानको सम्पादनमा रहेको साहित्य अकादेमी नयाँ दिल्लीले प्रकाशित गरेको भारतीय नेपाली साहित्यमा भानुभक्तको रामायण (२०१९) पनि भानुभक्तको कृतित्वको विभिन्न पक्षमा लेखिएका विभिन्न लेखहरूका जम्मा २३ वटा लेख समावेश रहेका छन् ।

नेपाली साहित्य सम्मेलनले दोस्रो पटक पनि भानुभक्त स्मारक ग्रन्थ (२०१५) प्रकाशित गरेको छ । यसमा नेपाल र भारतका जम्मा उनन्चालिसवटा लेखहरू समावेश छन् । भानुजयन्तीका उपलक्ष्यमा केही स्थानबाट भानु स्मारिका प्रकाशित भइरहेका छन् । तिनमा मुख्य गरी नेपाली साहित्य परिषद् सिक्किमबाट वार्षिक रूपमा भानु स्मारिका प्रकाशित हुने गर्छ । नेपाली साहित्य सम्मेलन दार्जीलिङको मुखपत्र दियालोको एउटा अङ्कलाई भानुभक्त स्मृति अङ्कका रूपमा पनि प्रकाशित गरेको छ । नेपाली साहित्य सम्मेलन र साहित्य एकाडमी नयाँ दिल्लीको संयुक्त प्रकाशनमा भानुभक्तीय रामायणको प्रकाशन गरिएको पाइन्छ । यसैगरी पारसमणि प्रधानले पनि भानुभक्त ग्रन्थावली प्रकाशित गरेका थिए ।

 

१०. विद्यावारिधि : भानुभक्तको कवित्वमाथि केही विद्यावारिधि कार्यहरू पनि सम्पन्न भएका छन् । डा. गोकुल सिन्हाले नेपाली रामकथा परम्परा, डा. कविता लामाले भानुभक्तीय काव्यकृतिको भाषिक अध्ययन, कमला सांकृत्यायनले रामचरित मानस र भानुभक्त आचार्यको रामायणको तुलनात्मक अध्ययन (हिन्दीमा) र सूर्यदेव सिंहले पनि भानुभक्त और तुलसीदास काव्य का तुलनात्मक अध्ययन नामक विषयमा विद्यावारिधि सम्पन्न गरेका हुन् ।

 

११. भानुभक्तको बढ्दो लोकप्रिय र महत्त्व

विश्वव्यापी रूपमा नै भानुभक्तको महत्त्व बढ्दो छ । विश्वमा रामायण एउटा श्रेष्ठ काव्य भएर विश्वप्रसिद्ध छ । यो विश्वका विभिन्न भाषामा मूल ग्रन्थ र अनूदित ग्रन्थ भएर रहेको छ । भानुभक्तले पनि नेपाली भाषामा सर्वबोध्य, सर्वगम्य र सुपाठ्य बनाएर प्रस्तुत गरेका छन् । यसकारण पनि भानुभक्तको महत्त्व दिनदिनै बढ्दो छ । विश्वका विभिन्न देशमा नेपालीभाषीको उपस्थिति बढ्दो पाइन्छ । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, रूस, दक्षिण कोरिया, जापान सिङ्गापुर, मलेसिया, म्यानमार, कतार, कुवैत आदि देशहरूमा नेपाली साहित्यको प्रचार-प्रसार हुनथालेको पाइन्छ । ती मुलुकहरूमा पनि भानुजयन्ती मनाउन थालिएको समाचार पाइन्छ ।

 

१२. उपसंहार – भारतमा भानुभक्त आचार्य एक जातीय चेतनाका प्रतीक, नेपाली भाषाको विकासको मूल नायक, आदिकवि आदिका रूपमा अमर बनेका छन् । उनको नामलाई अमरता प्रदान गर्न भारतमा उनको नाममा भवनको नाम, पथको नाम, संस्थाको नाम, पुरस्कारका नाम, प्रतिमा स्थापना आदि गरिएको छ । भानुजयन्ती बडो धुमधामले पालन गरिन्छ । सिक्किम र पश्चिम बङ्गालमा यसलाई राज्यव्यापी पर्वका रूपमा पालन गरिन्छ । भानुभक्तका कृतित्वसम्बन्धमा अझै धेरै कामहरू गर्न सकिन्छ ।

भानुभक्तको रामायणलाई अन्य रामायणका परिप्रेक्ष्यमा तुलनात्मक अध्ययन, अनुसन्धान गर्न सकिने ठाउँ रहेका छन् । भानुभक्तको समयमा प्रचलित भाषा र अहिलेको भाषाको तुलनात्मक अध्ययन गरिने ठाउँ रहेका छन् । नेपाली रामकाव्य परम्परामा भानुभक्तको स्थान आदिको अध्यन गर्न सकिने ठाउँ रहेका छन् । भानुभक्तको भाषा र वर्तमानको नेपाली भाषा, पहाडी भाषाहरूको परिप्रेक्ष्यमा गर्दै भानुभक्तकालीन नेपाली भाषाको अध्ययन गर्न सकिन्छ । आजभन्दा लगभग दुई शय वर्षअगिको नेपाली भाषा र वर्तमान नेपाली भाषाबिचको समानता, भिन्नता आदिको अध्ययन गर्न सकिन्छ । विशेष गरी व्याकरणिक पक्षमा केही साम्य र केही वैषम्य रहेका छन् । तिनको समुचित अध्ययन गर्न सकिन्छ । त्यस समयमा प्रचलित तत्सम, तद्भव र आगन्तुक शब्द आदि कति छन्, तिनको समुचित अध्ययन गर्न सकिन्छ ।

अतः यसरी नै भारतमा भानुभक्त एक आदिकविका रूपमा, जातीय चेतनाका रूपमा, भाषिक गोलबद्ध गर्ने प्रतिभाका रूपमा चिरपरिचित र अमर बनेका छन् ।