स्कूले जीवनको झझल्को र जायन सर-
सन् १९८५ मा कालेबुङको प्रतिष्ठित एस यु एम आइ विद्यालयको सातौं श्रेणीको कुरा हो । त्यतिवेला एकजना सुन्दर मुहार भएको, गोरा, पातला भए पनि मिलेका जुँघा भएका, हँसिला गुरुबा अंग्रेजी पढाउन आए । सातौं श्रेणीका निम्ति शुरूदेखि नै ती सरले विद्यार्थीहरूसित मित्रवत् व्यवहार गर्न थाले । अंग्रेजीका कविता र अन्य पाठहरू मज्जा लाग्नेगरी पढाउँथे । पाठलाई छर्लङ्ग बुझ्नेगरी उदाहरण दिएर बुझाउने गर्थे । एउटा कुरा के थियो भने त्यो स्कूलमा कडा अनुशासन थियो र पिट्ने चलन पनि थियो ।
ती हेन्डसम सरले पनि क्लास भाग्ने, होमवर्क नगर्ने, पढाएका बेला इत्रिने, कविता नरट्ने विद्यार्थीको फिला बजार्थे । उनी सानोतिनो निहुँमा वा विनासित्तिमा विद्यार्थी पिट्ने अनाहकमा दुःख दिने खालका थिएनन् । पढाउने तरिका मिठो थियो । रुटिनमा ती सरको क्लास हुँदा खुशी नै लाग्थ्यो ।
भाग्यवश आफूले भने ती सरको पिटाइको सौभाग्य जुरेन । हुलमुलमा पर्दा उहाँको पिटाइबाट बाँचिएको थियो । हाम्रो सेभेन बी कक्षा हेडसरको च्याम्बरनजिकै हुनाले क्लासमा हल्ला हुनुहुँदैन थियो । एकदिन खालि पिरियडमा क्लासमा गायन शुरू भयो । क्लासका मनिटर तेन्जिङले गाजलु ती ठुला ठुला आँखा भन्ने गीत गाउँदै थिए । ती सर आएर तेन्जिङलाई गायन जारी राख्नु भनेर आफू दैलामा उभिएर सुनिरहे । तेन्जिङको गायन पछि अरूले पनि गाउँछौ भने ‘लु एकेक जना आएर गाउनु’ भने । निर्वाण योञ्जनले पनि कुनै गीत गाए जस्तो लाग्छ । त्यो दिन ती सरले विद्यार्थीहरूलाई गीत गाउनु, कला देखाउनु प्रोत्साहन गरे । पछि बुझ्दा ती गुरुबा विद्यार्थीका यस्ता क्षमता भएका, प्रतिभा भएका विद्यार्थीलाई निकै प्रोत्साहन दिने खालका रहेछन् । ती आदर्श शिक्षक थिए जायन लेप्चा ।
*****
अब वर्तमानका व्यक्ति जायन लेप्चा–
उक्त विद्यालयका एक प्यारा शिक्षक, सबैले मन पराउने जायन सर अहिले सेवानिवृत्त भैसक्नु भएको छ । अहिले आफ्नी श्रीमती तारा लोहार लेप्चासित साहित्यिक कार्यक्रमतिर आइरहनु हुन्छ । तारा लोहार लेप्चा आफैं नै कवि, समालोचक, एक कुशल उद्घोषक, एक आदर्श नारी हुनुहुन्छ । खरसाङ कलेजकी वरिष्ठ प्राध्यापकका रूपमा सेवारत भएर अब त उहाँ पनि सेवानिवृत्त हुनुभएको छ । जायन सर र तारा गुरुमा अत्यन्तै प्रेममय आदर्श दम्पती हुनुहुन्छ । अब जायन सरको पुस्तक पनि छापिनेछ भन्दा मलाई सबैभन्दा बढी खुशी लाग्यो । एक त आफ्नो प्रिय गुरु, साहित्यमा गहिरो रुचि भएको हुनुहुन्छ । किताबका राम्रा पाठक जायन लेप्चाको पनि पुस्तक प्रकाशित हुने हुँदा म उत्साहित र प्रफुल्लित भएछु ।
गुरुको स्थान जोसुकैले लिन सक्दैन । पढायो भन्दैमा गुरु हुँदैन कि जस्तो लाग्छ । गुरु हुनका लागि आदर्शता, निष्ठा, समर्पण, आन्तरिक प्रेम, सहिष्णुता, स्नेह, दयाको भावना, विद्यार्थीको गुणलाई स्याबासी दिने र दोषमा दण्ड दिने खालको, कठोर र कोमल दुवै भएको आदि गुण हुनुपर्छ । गुरुमा विद्यार्थीका बीच सस्तो लोकप्रिय हुने खालको नभई केही कठोर तर दयालु, अनुशासित, समयनिष्ठ, कर्तव्यनिष्ठ, समर्पित, इमानदार आदि जस्ता गुण हुनपर्छ । मैले जान्दा जायन लेप्चामा यी सबै गुण थिए ।
अहिले आएर बुझ्दा उहाँमा सौन्दर्य चेतना प्रखर पाइन्छ । उहाँ एक दक्ष फोटोग्राफर पनि हुनुहुन्छ । फोटोग्राफीमा आफ्नो सौन्दर्य चेतना, कलात्मकता देखाउनु भएको छ । धरती, सूर्योदय, सूर्यास्तका अनुपम छटा, चराचुरुङ्गी रूखको सुक्खा हाँगामा बसेको, गाउँको हरियाली, खोल्सा-खोल्सी, रूखका विविध स्वरूप आदि देख्ने बित्तिकै फोटो खिच्ने गर्नुहुन्छ । उहाँ भ्रमणप्रिय हुनुहुन्छ । भ्रमणका क्रममा स्थानीय ठाउँतिर पैदल भ्रमणदेखि लिएर भारतभरि र स्कटल्याण्डसम्म पुग्न भ्याउनु भएको रहेछ ।
यो पुस्तक पढेर मात्र पनि सच्चा पाठकले जायन लेप्चा एक शिक्षक, एक नगरपालिकाको प्रशासक, चर्चका प्रशासक, एक आदर्श बाबु र आदर्श पति र एक सज्जन पुरुष, ईश्वर विश्वासी आदिका भूमिकामा पाउँछन् । अहिलेको समयमा प्रत्येक व्यक्तिले सामाजिक, राजनैतिक, धार्मिक, पारिवारिक आदि सबै क्षेत्रमा सक्रिय बन्नुपर्ने अवस्था छ ।
लेखनतिर उन्मुख जायन लेप्चा
अब आफूले डुलेका, देखेका, भोगेका, घुमेका, बुझेका, गुनेका, गमेका, सिकेका कुरालाई पाठकलाई पस्कनु भएको छ । यसमा रहेका लेखहरू एकेकवटा ठाउँ घुम्दाका क्षणलाई लिपिबद्ध गर्नुभएको छ ।
यसमा रहेका लेखहरू हुन्- लण्डन यो कस्तो ठाउँ, मङ्ग्पू सिन्कोना प्लान्टेसन लगायत कोविड-१९ गाडी ब्रेकडाउन भएका बेला, स्कल्याण्डका क्यासलहरू । लेखहरूको नामकरणमा नै आफ्नो सौन्दर्य चेतना झल्किन्छ । पाठकलाई आकर्षणले तान्न सक्ने सक्षम रहेका छन् ।
‘स्कटल्यान्डका क्यासेलहरू’ जायन लेप्चाको पहिलो प्रकाशित पुस्तक हो । यो एक-आठ डिमाइ आकारमा उपमा पब्लिकेशन्स, कालिम्पोङबाट प्रकाशित भएको छ । यसमा जम्मा १७८ पृष्ठहरूमा १६ वटा यात्रापरक लेखहरू सङ्कलित छन् । प्रत्येक लेखका अन्तमा यात्रासम्बन्धित फोटो पनि हालिएको छ । पुस्तकको भूमिका वरिष्ठ नियात्राकार सलोन कार्थकले लेखेका छन् ।
यस भूमिकामा कार्थकको नियात्रासम्बन्धित धारणा, लेप्चाको यस पुस्तकको नियात्राको सैद्धान्तिक समीक्षा, प्रत्येक लेखबारे प्रकाश पारेर पुस्तकको मूल्याङ्कन गरेका छन् । लेप्चाको यस पुस्तकमा रहेका सबल पक्षहरूसँगै केही दुर्बल पक्षहरूको पनि उल्लेख गरेका छन् । यसरी भूमिका नै एउटा राम्रो समीक्षात्मक टिप्पणी पाइन्छ ।
उनले आफू विभिन्न घुम्दाका अनुभूतिलाई कलात्मक रूप दिएर कागजमा उतारेका छन् । यो उनका इमानदारिता र कर्तव्यबोध हो । आफ्नै कालेबुङका केही स्थानीय रमणीय यात्रा हुँदै बेलायतसम्मको यात्रालाई कलमले समेट्ने प्रयास गरेका छन् । यस पुस्तकमा कता कता संवाद छन्, कता कथात्मक छ, कतै प्रबन्धात्मक स्वरूपको प्रस्तुति पाइन्छ ।
कोरोनाकालमा आफूहरू खरसाङ जानुपर्दा बाटामा गाडी बिग्रेर अभर परेकादेखि लिएर स्कटल्याण्डसम्म जाँदाका अनुभव र अनुभूतिलाई समेटेका छन् । नियात्राका केही अत्यावश्यक तत्वहरू गतिशीलता, तथ्यपरकता र स्थानीयता हुन् । यसका साथै निजात्मकता, कल्पनाशीलता, विषयकेन्द्रितता, स्वच्छन्दता आत्मीयता, संस्मरणात्मकता, चिन्तनशीलता, स्वदेशप्रेम र तुलनात्मकता पनि नियात्राका तत्त्व हुन् । जायन लेप्चाको प्रस्तुत नियात्रा पुस्तकमा पनि यी तत्त्वहरू धेरथोर मात्रामा पाइन्छन् । यद्यपि यसमा रहेका यात्रा संस्मरणहरूलाई नियाल्दा मुख्य गरी केही यस्ता प्रवृत्तिहरू परिलक्षित हुन्छन्-
स्थानीय स्थलगत यात्रावर्णन-
यसमा मूलतः तीन भूभागीय स्थलहरूको वर्णन पाइन्छ- सिक्किम-दार्जिलिङका पहाडी स्थानहरू, दक्षिण भारतका केही स्थान र विदेशका केही स्थान ।
अझ यसमा कालेबुङका स्थानीय स्थलहरूको राम्रोसँग परिचय दिइएको छ । अन्य ठाउँका पाठकले यस पुस्तक पढे मात्र पनि कालेबुङका स्थान, जनजीवन, संस्कृति, सभ्यता, संस्कृति, भौगोलिक ऐतिहासिक तथ्य, शैक्षणिक, राजनैतिक, धार्मिक आदि पक्षहरूबारे धेरथोर जानकारी पाउँछन् । कालेबुङ जिल्लाका केही स्थान जस्तै दामसामगढी, दालिमगढी, गोरूबथान, तोदे-ताङता, जलढक्का, निम्बोङ, बाघपूल, टिस्टा बजार आदि ठाउँ घुमेको स्थलगत वर्णन पनि पाइन्छ ।
यसैगरी सिलगढी, बाघडोगरा, मङ्पु, खरसाङ, दार्जीलिङ, सन्दक्पु, सिक्किमका नाथुला, जुलुक, राभाङ्ला, सदाम, गान्तोक, बाबाधाम-छाङ्गु आदि ठाउँतिर भ्रमण र त्यसको यात्रा-रोमाञ्चको वर्णन गरिएको छ । ती स्थानहरू जाँदा बाटामा पर्ने गाउँ-ठाउँको पनि वर्णन पाइन्छ । विद्यालयका विद्यार्थीहरूलाई कालिम्पोङको ऐतिहासिक थलो देखाएर यहाँको इतिहासको जानकारी दिइएको छ । यसमा कालिम्पोङका स्थानीय रमणीय ऐतिहासिक स्थानदेखि लिएर दक्षिण भारतका भेल्लोर र हैदरावाद तथा बेलायतका लण्डन र एडिनबरासम्मको संक्षिप्त रूपमा भए पनि वर्णन पाइन्छ । यसमा हिमालय र प्राकृतिक सौन्दर्यका वर्णनसँगै कतै कतैका बाटाघाटाका बिग्रँदो अवस्था आदिलाई समेत उल्लेख गरिएको छ । निम्बोङ, मङ्पु आदि ठाउँतिर जाँदा त्यहाँका नदी, डाँडा-काँड़ा, साना ठुला गाउँ ठाउँका नाम सबैको नामोल्लेख पाइन्छ
सूचना र तथ्यात्मकता-
यसमा रहेका प्रायः जम्मै यात्रालेखहरूमा आफूले घुमेका स्थानहरूको यथावत् भौगोलिक, सामाजिक ऐतिहासिक सामाजिक तथ्यहरू प्रस्तुत गरिएका छन् । सिक्किमको जुलुक जाँदा त्यहाँको मनोरम प्राकृतिक छटा, उचाइँ, भौगोलिक अवस्था, घुमाउरो सडक आदिबारे प्रकाश पारिएको छ । यो लेख पढ्दा नै पाठकलाई त्यो ठाउँ आफैं जाऊँ जाऊँ जस्तो लाग्दछ । यसमा रहेका दुईवटा गढीहरू कालेबुङको इतिहासमा लेप्चाहरूको इतिहासको सङ्केत पाइन्छ ।
अर्को लेख ‘दालिमगढीमा’ पनि उनै गेबु आच्योकको गोरूबथान नजिकमा रहेको दालिमगढीको पनि इतिहासको उल्लेख पाइन्छ । दालिमगढीनेर पनि भोटाङको भोटे र लाप्चे राजाहरूको लडाइँ भएको थियो भन्ने इतिहासपरक तथ्य पनि पाइन्छ । दामसामगढी यात्रा लेखमा कालिम्पोङमा लेप्चा राजा गेबु अच्योकबारे किम्बदन्ती, लेप्चा भेषभूषा, संस्कृति आदिबारे जानकारी पाइन्छ । कालिम्पोङमा लेप्चा राजाको शासन, गेबु आच्योकलाई भोटेहरूले कसरी षड्यन्त्र गरी मारेका थिए भन्ने इतिहास पनि साङ्केतिक रूपमा उल्लेख भएको छ ।
कालिम्पोङ प्रतिष्ठित एस यु एम आइ विद्यालयले निम्बोङ बस्तीमा पनि आफ्नो शाखा विद्यालय खोलिएको तथ्य प्रस्तुत गर्दै निम्बोङको भौगोलिक अवस्था, त्यहाँको सामाजिक पृष्ठभूमि आदि केलाइएको छ । त्यहाँको एस यु एम आइ अनुजले उक्त दुर्गम गाउँमा शिक्षाको ज्योति फिँजाउने छ भन्ने उद्देश्यले खोलिएको छ । अहिले यस वर्षको आयु दस वर्षमा धेरै उन्नति गरेको छ, सेवा दिएको छ ।
भेल्लोर यात्रा भन्ने लेखमा पनि दक्षिण भारतको भेल्लोरमा क्रिस्चियन मेडिकल कलेजमा आफ्नो रोगका निम्ति अपरेशन गर्नुपर्दा के कसो औपचारिकता गर्नुपर्ने कुराको सूचना पाइन्छ । त्यहाँका पास्टर रबिन फिपनले रोगीहरूलाई गरेको सेवाकार्यको उल्लेख पाइन्छ । मङ्पुको सिन्कोना कारखानासम्बन्धित जानकारी पनि पाइन्छ । मङ्पुमा सिन्कोना कसरी निकालिन्छ, त्यहाँ विश्वकवि रबीन्द्रनाथ ठाकुर अहिले आएर बसेका थिए, त्यहाँ सङ्ग्रहालयमा के के कुरा छन् आदिबारे जानकारी पाइन्छ । सिक्किमको याङयाङ जाँदा सिक्किमका विभिन्न ठाउँ, मराउमा गरिएको सुव्यवस्थाको प्रचलन आदिलाई उल्लेख गरिएको छ ।
लण्डनको भ्रमण भने सामान्य गाडीबाट देखिएको कुरालाई जानकारी दिइएको पाइन्छ । सन्दकपु यात्राका क्रममा कालेबुङदेखि सन्दकपुसम्मका ठाउँका नामहरू उल्लेख गर्दै त्यहाँको भौगोलिक परिवेशको वर्णन पाइन्छ । लण्डनका केही स्थानहरूका ठाउँहरू पेडिंटन स्टेशन, म्याडम-डुस्साडस, ट्राफल्गर स्क्वायेर, बीग वेन, वेस्ट मिनिष्टर ब्रीज, लण्डन आई टावर ब्रीज, वेष्ट मिनिष्टर एब्बे, बकिङ्घाम प्यालेस, वेस्ट मिनिष्टर क्याथड्रेल, लण्डन ब्रीज, सिटी हल, द साई, सिप्लेस विलिभ इट अर नट इत्यादि डुलेको उल्लेख पाइन्छ ।
कालिम्पोङको एस यु एम आइ विद्यालय स्कटिस मिसनको विद्यालय रहेको र कन्या विद्यालय, टर्नबुल हाइ स्कूल, दार्जिलिङ, नेपाली गर्ल्स् हाइ स्कूल, दार्जिलिङ र स्कट मिसन स्कूल खरसाङ जस्ता विद्यालय स्थापना गरेका थिए भन्ने जानकारी पाइन्छ । यसमा स्कटल्याण्डको एडिनबरामा कस्तो शान्ति, सुशासन, सुव्यवस्थितको स्थिति पाइन्छ । त्यहाँ पुलिसको उपस्थिति उत्ति नदेखिने, आफैं अनुशासित स्कटल्याण्डको बारेमा जानकारी पाइन्छ । त्यहाँ उस्तो अपराध नहुने, कसैले ट्राफिक भङ्ग पनि उस्तो गर्दैनन् । यस लेखलाई बढी महत्त्व दिएर लेखिएको छ । त्यहाँका प्राकृतिक, सामाजिक, धार्मिक, सांस्कृतिक, आर्थिक स्थितिको साङ्केतिक रूपमा भए पनि प्रकाश पारिएको छ । जब लेखक कालेबुङ म्युनिसिपालिटी बोर्डको भाइस चेयरमेनको पदमा नियुक्त थिए । त्यतिवेला नगरलाई सुन्दर राख्नु, सफा राख्नु, स्ट्रीट लाइटको जडान, बाटोको मरमत्ती, स्वैरेज सिस्टमलाई ठिक राख्नु इत्यादि कामका लागि हैदरावाद गएर अवलोकन गर्न गएको रोचक वर्णन पाइन्छ ।
वैयक्तिक अनुभव र अनुभूति-
यसमा रहेका सबैभन्दा प्रबल पक्ष नै संवेदना र अनुभूतिका प्रकटीकरण हो । यसमा यात्रा गर्दा निजात्मक अनुभूतिलाई पाठकसामु पस्केका छन् । यात्रामा जाँदाका सुखद अनुभूति, प्राकृतिक मनोहर दृश्यले मनलाई पारेका आनन्द प्रकट गरिएको पाइन्छ । यसैगरी अभर पर्दा मनका तरङ्ग र संत्रास, आत्मीयजनलाई भेट्दाको सुखद् अनुभूति, आत्मीयताको भावलाई जतिसक्दो अभिव्यक्त गरिएको छ । नथुला यात्रा गर्दाका रोमाञ्चक अनुभव र अनुभूतिलाई पस्केका छन् ।
यसमा यात्रा गर्नु अघिका केही संवाद र तयारी, यात्रामा गाडीको नाम नम्बरदेखि लिएर बाटामा देखिएका ठाउँका नाम रूखका नाम अन्य प्राकृतिक कुराहरू, खाएका कुराहरूदेखि लिएर लक्ष्यमा पुग्दा देखिएका अनुभव र अनुभूतिलाई जतिसक्दो उतारेका छन् । यसो हुँदा पाठक पनि सँगसँगै यात्रा गरेजस्तो लाग्छ । यात्राको आनन्द अनुभूतिसमेत पाठकले पाउन सक्छन् । लण्डनलाई अवलोकन गर्ने आफ्नै शैली । त्यहाँ हरेक थोक सुन्दर, शान्त, हल्लाखल्ला नभएको, सफा, सुव्यवस्थित परिवेशको उल्लेख गरिएको छ । यसमा लण्डन पुगेर एक रात होटेलमा बसेर भोलिपल्ट स्कटल्याड जानका निम्ति हिथ्रो हवाई अड्डासम्म गएको मात्र वर्णन पाइन्छ ।
यद्यपि छोटोमा नै लण्डनको एक झलक पाइन्छ । उच्च स्थानमा रहेको प्रसिद्ध पर्यटकीय स्थान सन्दकपु पुग्दाको अनुभूतिलाई उतारिएको छ । गाडी बिग्रँदाको, लक्षित स्थान पुग्दा सुखानुभूति, हामालाई पहाड र प्रकृति दृश्यादि देख्दाको मानसिक अवस्थालाई जतिसक्दो उतारिएको छ । आफू दुईपल्ट बिमारी भई अस्पताल बस्नु परेको र हर्निया र नशाको अपरेसन हुनुअघि र पछिको मानसिक अवस्थालाई उतारिएको छ । अपरेसन गर्नु अघिको मानसिक अवस्था र ईश्वरी आस्था र विश्वासको मनोविज्ञानले काम गरेको, आफ्नो मनलाई आड भएको कुरा उल्लेख गरिएको छ ।
कतै यात्राअघि प्रार्थना गरेर हिंड्ने ईश्वरीय आस्थाले लेखकलाई मनोवैज्ञानिक रूपमा मानसिक शान्ति मिलेको प्रतीत हुन्छ । खरसाङ जाँदा बाटामा गाडी बिग्रेर अभर परेको, सिक्किमको भीरको सडकमा यात्रा गर्दाको मनमा परेको चिउँचिउँ, गोरुबथान जाँदा बाटामा पैरोमा परी लामो बाटो हिंड्न परेको कारुणिक अवस्था, मङ्पु जाँदाको सुख आदि जस्ता वैयक्तिक अनुभूतिलाई यहाँ प्रस्तुत गरिएको छ । जीवनमा भ्रणणको महत्त्व दर्शाइएको छ । यसमा हिँडेर, गाडीतिर गुडेर र हवाईजहाजमा उडेर यात्रा गरिएको छ । यी तीनै किसिमले यात्रा गर्दाका विविध अनुभूतिलाई पाठकसामु प्रस्तुत गरेका छन् ।
प्रस्तुत पुस्तकमा सबैभन्दा मुख्य र बढी महत्त्व दिएर लेखिएको लेख भने हाम्रो स्कटल्याण्ड यात्रा हो । यसमा २०१३ मा कालिम्पोङको स्कटिस मिसन अन्तर्गतको एस यु एम आइ विद्यालय हुनाले यसको मूल स्कटल्याण्डमा अवस्थित डर्लटर्न गिर्जाको ४०० वार्षिकोत्सवमा भेला हुन लेखकले पनि अवसर पाएको र सामेल हुन गएको वर्णन गरिएको छ । त्यहाँका वरिपरिका प्राकृतिक परिवेश, शहर गाउँको रोचक वर्णन गरिएको छ ।
कालिम्पोङबाट स्कटल्याण्ड जाँदा कालिम्पोङका केही परिचित व्यक्तिलाई भेट्नु, कालिम्पोङको नाम देख्नु आदिबाट प्राप्त खुशीको अनुभवलाई अभिव्यक्त गरिएको छ । त्यहाँका अनौठा लागेका कुरा, मानिसहरूको सहयोगी भावना, आनन्दानुभूति आदिलाई यहाँ प्रस्तुत गरिएको छ । यसमा केही पात्रजस्ता केही व्यक्तिहरूका नाम पनि आवृत्ति भएर आएका छन् । कालिम्पोङ-सिक्किमका केही स्थान घुमेपछि स्कटल्याम्डको एडिनबरा शहर घुमेपछि भिन्नै किसिमको अनुभूतिलाई उतारेका छन् ।
लेखकले प्रयोजनपरक यात्राको पनि उल्लेख गरेका छन् । आफूले अध्यापन गरेको विद्यालयका प्रधानाध्यापकहरूको विद्यार्थीहरू र शिक्षकहरूको सर्वाङ्गीण विकासका निम्ति कहिलेकाहीं विद्यार्थीहरूले शिक्षामूलक भ्रमण गराउने नीति लिएको तथ्य पाइन्छ । यसै उद्देश्यलाई परिपूर्ति गर्ने हेतूले स्कूलको शिक्षकको तर्फबाट मुख्य गरी लेखक लेप्चा नै अघि सर्ने गर्थे भन्ने बुझिन्छ । मङ्पु, दालिम किल्ला, नाथुला, सन्दक्पु, आदि स्थान घुमेको वर्णन गरिएको छ । यात्रा हिँड्नुअघि इसाई पद्धतिअनुसार प्रार्थना गरिएको उल्लेख पाइन्छ ।
कालिम्पोङबाट यात्रा गर्दा ठाउँ ठाउँका नामहरू जस्तै डम्बर चोक, मेन रोज. थाना डाँडा, नोभेल्टी, आठमाइल इत्यादि भन्दै गाडीको यात्रामा पाठकलाई नै सँगै यात्रा गराइरहेको प्रतीत गराइएको छ । यात्रामा कुन ठाउँमा पुगेर के खाना खाइयो देखि लिएर मनका उद्वेग, उमङ्ग आदि सबै कुरा पाठकलाई सुनाइँदै गरेको जस्तो लाग्छ । यसो हुँदा पाठकलाई नै यात्रानुभूति गराउने काम गरेका छन् । यात्रा क्रममा विद्यार्थीहरूले साँइसाँइ र सुँइसुँइ गर्दै हल्ला गरेको, साथी सरहरूले खाना वितरण गरेको, सन्दकपुमा अति चिसो भएर सुत्न नसक्ने अवस्था, नाथुलामा विद्यार्थीहरू आफ्नो स्कूलको गीत गाउँदा विद्यालयप्रति गर्वबोध गरेको, हिउँको डल्लो खेलेको, कोरोनाकालमा कुण्ठित मानसिकता उब्जेको, खरसाङ जाँदा लप्चुमा गाडी बिग्रेर कालिम्पोङबाट मेकानिक बोलाएर आफू अर्को गाडी खोजेर हिँड्नु परेको अवस्थालाई बडो रोचक ढङ्गमा प्रस्तुत गरेका छन् ।
*****
मूल्याङ्कन-
‘स्कल्याण्डका क्यासेलहरू’मा लेखक जायन लेप्चाको लेखनशैली अझै खारिएको, माझिएको भए अझ यो पुस्तक उचाइँमा जान सक्ने थियो । यसमा भाषागत शैलीगत, वर्णनगत, अभिव्यक्तिगत, प्रस्तुतिगत कमजोरी छन् । यद्यपि लेखकको उद्देश्य भने पाठकमैत्री छ । सरलता, सहजता, इमानदारिता आदि यसका विशेषता र गुण हुन् । कालिम्पोङकै स्थानीय दामसामगढी देखि स्कटल्याण्डको गढीसम्मले यसमा स्थान पाएका छन् ।
उनको पहिलो पुस्तकाकार कृतिमा नै साहित्यिक रसयुक्त, कलात्मकता बुनोटमा सचेतता, संवेदनाको प्रस्तुतीकरण, संस्मरणभित्र सूक्ष्म आख्यानको रूपरेखा कोरिएको आदि जस्ता विशेषता पाइन्छ । यद्यपि अझै साहित्यिक रस, संवेदनशीलता हाल्न सकिने ठाउँ थिए, अझै रोचक बनाउन सकिने ठाउँ थिए, अझै शैलीगत सिप हाल्ने ठाउँ थिए । कतै कतै सामान्य यात्रा वर्णन पाइन्छ । लेखकले भाषा प्रयोगमा लिङ्ग, वचन, आदरार्थी आदि व्याकरणिक प्रयोगमा केही सामान्य त्रुटि देखिन्छन् । पाठकलाई यस्तो लाग्न सक्छ ।
यस पुस्तकभित्र साहित्यिक तत्त्व कहाँ अनुभूत हुन्छ भनेर आम पाठकलाई लाग्ला तर पाठ पढेपछि यात्राको रोमाञ्च, लेखकीय अनुभूति, संस्मरणात्मक रोचकता, शैलीगत सरलता, लेखकीय इमान, आफूले जानेका ज्ञान, अनुभव र जानकारी आदिको प्रस्तुति आदि गुण पाइन्छन् । लेप्चाको पहिलो पुस्तकलाई नै खरो समीक्षकीय कोर्राले हिर्काएर परख गर्नु अनुचित हुन्छ । बरु लेखकलाई धन्यवाद दिनुपर्छ जसले आफ्ना यात्रा अनुभवलाई साहित्यिक रूप दिएर पुस्तकाकार रूपमा प्रस्तुत गरी साहित्यिक फूलबारी एउटा फूल फुलाएका छन्, लेप्चाभित्रको ‘लेखक- स्व’ लाई सन्तुष्टि दिएका छन् ।
यस पुस्तकको कारणले नेपाली यात्रा साहित्यको मानचित्रमा उनको नाम ओगट्न सक्षम बनेको छ । उनको कलम नरोकियोस्, अझै घुमिरहने अवसर प्राप्त होस्, घुमेका ठाउँहरूमा अझै भावुकता कल्पना, सघन अनुभूति, तात्कालिकता आदि जस्ता गुणहरू थपिउन् भन्दै सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।