समाजमा कोही प्रतिभाशाली व्यक्ति रहेका हुन्छन् जसले आफ्नो प्रतिभालाई समाजोपयोगी बनाएका हुन्छन् । कालिम्पोङका सी. के. श्रेष्ठ यस्ता हुन् जसले आफ्नो प्रतिभाले समाजलाई अहोरात्र केही नयाँ नयाँ विचार प्रदान गरिरहेका छन् । उनी सर्जक हुन्, अभिनेता, राजनेता हुन् र हुन् जातीय चिन्तक । उनका हरेक गतिविधिमा कलात्मकता रोचकता, नयाँपन, रसिकता, ज्ञानवर्द्धता जस्ता कुरा पाइन्छन् । उनी आफ्नो वरिपरिको परिवेशलाई उज्यालो पार्दछन् । सेतो र लामै केश र दारी पालेका, रातो लबेदा लगाएका, हेर्दै कलाकार लाग्ने, उज्याला, हँसिला, रसिला व्यक्तित्व हुन् सी के श्रेष्ठ । अनुभव, ज्ञान, कलाका भण्डार, जातीय मुक्तिका उत्प्रेरक,  विचारक तार्किक व्यक्तित्व हाम्रो समाजका धरोहर हुन् । पूरा नाम चन्द्रकिशोर श्रेष्ठ भए पनि पनि नेपाली समाजमा सी. के. श्रेष्ठका रूपमा प्रख्यात छन् ।

 सी‍‍‍. के. श्रेष्ठ

सी‍‍‍. के. श्रेष्ठ

उनी एक नाट्य कलाकार, नाटककार, कवि, गीतकार राजनेता, राजनैतिक चिन्तक र कुशल सङ्गठक हुन् । उनका व्यक्तित्वका अनेक पाटा छन् । मुख्य गरी नाट्यकारिता, राजनीति, पत्रकारिता र लेखकीय आदि उनको प्रतिभाका क्षेत्र हुन् । उनको जन्म २२ मई, १९४७ मा कालिम्पोङमा भएको हो । उनका बाबुआमाको नाम स्व. एस एन श्रेष्ठ र स्व. जयवन्ती रूथ प्रधान हो । यिनको कालिम्पोङको गुरुङ परिवारसित कौटुम्बिक सम्बन्ध रहिआएको छ । उनको विवाह हिरण गुरुङ श्रेष्ठसित भएको हो जो केही वर्षअघि बितिसकेकी छन् । एक छोरा र छोरीको बाबुको रूपमा श्रेष्ठ अहिले पनि कला, गीत साहित्य राजनैतिक चिन्तन आदिमा उत्तिकै सक्रिय छन् ।

विभिन्न क्षेत्रमा सेवा पुर्याएबापत श्रेष्ठ विभिन्न स्थानबाट सम्मानित र पुरस्कृत पनि भएका छन् । उनले शिखर पुरस्कार (नेपाली फिल्म लेखेबापत्), राष्ट्रिय पुरस्कार (फिल्मको कथा लेखका निम्ति काठमाडौँबाट प्राप्त), नाट्यभूषण सम्मान (नेपाली थिएटरमार्फत भारतीय थिएटर विकासको विकासमा विशिष्ट योगदान पुर्याएबापत् उडिसाबाट प्रदान गरिएको) नेपाली भाषा सङ्ग्रामी सम्मान (सिक्किम सरकारबाट प्राप्त) आदि हुन् । उनको प्रतिभालाई कदर गर्दै पश्चिम बङ्गाल सरकारले उनलाई ‘बङ्ग रत्न पुरस्कार’ले पनि सम्मानित गरेको छ ।

१. नाट्य कलाकारका रूपमा- उनी चलचित्र संवाद लेखक पनि हुन् । नाट्य क्षेत्रमा उनको विशिष्ट योगदान रहेको छ । उनले समाज परिवर्तनका लागि नाटकको अवधारणालाई अघि बढाउने क्रममा नाटकका विभिन्न रूप दिए, प्रयोग गरे । समयको परिवेश, रुचि, आवश्यकता अनुसार नाटक लेख्छन्, मञ्चन गर्छन् ।

उनले बनारसका नाट्य श्री मोतीलाल गुप्तले विकसित गरेको ‘चौथो थिएटर’लाई खुल्ला मञ्चका रूपमा प्रयोग गरेका हुन् । उनी ‘भद्रेको टोली’ नाट्यसमूहका अगुवा हुन् । यस टोलीले ‘अनि भालेमुङ्गो रुन्छ’ (१९७७), ‘मुगल साम्राज्यमा एकदिन’ (१९७८), ‘हाम्रो लभ-स्टोरी’ (१९८४), ‘मलाई सब थाहा छ’ (१९८८), ‘गुरु मङ्गल गाथा’ (१९९६), ‘ऐनामा हेर्दा रामसाइँली’ (२००२), ‘स्याल पस्ला है शहरमा’ (२००२), ‘गुड फ्राइडेको एक बिहान’, (२००३), ‘पृथ्वीदेखि परमधामसम्म’ (२००३), ‘अन्धाहरूको रामकहानी’ (२००४), ‘सलाम रेलीमाई’ (२००४), ‘फेरि नानेटकै कथा’ (२००५), ‘फक्रिन नपाएका फूलहरू’ (२००५), ‘तेस्रो इडियट’ (२००६), ‘दैलो’ (२०११), ‘पिताम्बर प्रभु’ (२०१८) आदि लोकप्रिय र चर्चित नाटक मञ्चन गरेको थियो । ‘अनि भालेमुङ्ग्रो रुन्छ’ नाटकले एघार वर्ष वर्षसम्म विभिन्न स्थानमा मञ्चन गरेको थियो । यसै गरी ‘ऐनामा हेर्दा राम साइँली’ नाटक पनि अत्यन्त भव्यताका साथ मञ्चन भएका थिए । यो नाटकको प्रदर्शन भारतमा विभिन्न स्थानमा लगभग पाँचसय पटक मञ्चन भएको थियो । उनका अन्य मञ्चित नाटकहरूमा ‘हाम्रो लभ स्टोरी’, ‘मुगल साम्राज्यको एक दिन’, ‘दिउँसै स्याल कराउला हे शहरमा’ आदि पनि हुन् ।

उनले नाटकलाई जातीय अस्तित्व, जातीय कमजोरीको सुधार, राष्ट्रिय सवालका कुरा, सामाजिक विकृतिमाथि ठुङ हानेर तिनको सुधार गर्नु, विद्रोह चेतना आदि जस्ता कुरा पाइन्छन् । उनका नाटकमा भारतमा गोर्खाहरूको जातीय अस्मिताका प्रश्न, गोर्खाहरूको भारतमा राजनैतिक उपेक्षा र वञ्चनाको सिकार भएको विषयमा नाटकको केन्द्रीय विषयवस्तु रहेको पाइन्छ ।

सी.के. श्रेष्ठका नाटकहरू जस्तै ‘ऐनामा हेर्दा राम साइली, सलाम रेलिमाई’ आदि नाटकहरूलाई उत्तर आधुनिक दृष्टिकोणका आधारमा पनि अध्ययन गर्न सकिन्छ । आजको युगमा उत्तर आधुनिकतावादले बहुलतावादी संस्कृतिलाई मान्यता दिन्छ । यसले कसैको संस्कृतिलाई उच्च र कसैको संस्कृतिलाई निम्न भन्ने मान्दैन । वर्तमान युगमा तर कथित उच्च संस्कृतिले निम्न संस्कृतिलाई कसरी प्रभावित बनाइरहेको छ, त्यसको झलक सिके श्रेष्ठका नाटकहरूमा देख्न सकिन्छ । भारतीय नेपालीहरूले आफूलाई सभ्य अनि सुसंस्कृत देखाउन कसरी आफ्नो निजत्व बोक्ने भाषा अनि संस्कृतिलाई हियाउनमा आनन्द मान्छन् अनि त्यसको परिणति कस्तो हुनसक्छ भन्ने कुरा आफ्ना नाटकहरूका माध्यमबाट व्यक्त गरेका छन् । उच्च संस्कृति अनि सभ्यताले अल्पसङ्ख्यक जाति कसरी किनारीकृत बन्न पुग्छ अनि आफ्नो अधिकारबाट वञ्चित बन्दै अस्तित्व र परिचय संकटको दोसाँधमा पुग्छ भन्ने विचार उनका ‘ऐनामा हेर्दा रामसाइँली’ अनि ‘भालेमुङ्गो रुन्छ’ नाटकहरूमा देखाएका छन् । यसै पनि श्रेष्ठका नाटकहरूका शीर्षक नामकरण पनि उत्तरआधुनिक चेतनाको देखिन्छ । उनका नाटकीय शीर्षकहरूबाट प्रेक्षकहरूले आ-आफ्नै अर्थ लगाउन सक्छन् । रङ्गमञ्च सजावट, ध्वनि र प्रकाशको प्रभावकारी सचेतताको कारण उनका नाटकहरू सफल र सबल लोकप्रिय अनि प्रभावकारी बनेको पाइन्छ ।

२. राजनेताका रूपमा– सी के श्रेष्ठ एक चर्चित राजनीति कर्मी र राजनेता हुन् । यिनी राजनीतिका साथै जातीय साङ्गठिक क्षेत्रमा नेतृत्व पङ्क्तिमा रहेका हुन् । उनको जातीय उत्थान, हित र समुन्नतिका निम्ति उनको आफ्नो विचारधारा, अवधारणा र अडान रहेको छ । उनी एक प्रखर वक्ता हुन् । उनको भाषणमा वाग्वैदग्ध्य, हास्य, व्यङ्ग्य, विचारको गहिराइ, रोचकता, जोस आदि कुरा पाइनाले दर्शक श्रोतालाई मन्त्रमुग्ध पारेर राख्ने क्षमता पाइन्छ ।  उनको राजनैतिक जीवनका अनेक पाटा छन् ।

उनी गोर्खा भारती विचार मञ्चका संस्थापक, राष्ट्रिय जागरण समाजको निर्देशक हुन् भने उनको राजनैतिक दलसित परोक्ष र प्रत्यक्ष गतिविधि रहेको पाइन्छ । अखिल भारतीय नेपाली भाषा समितिका केन्द्रीय समितिका सदस्य (१९७३-१९८१), प्रान्त परिषद्का केन्द्रीय समितिका सदस्य (१९८०-१९८७, यसको प्रकाशन विभागको अभिभारासहित) भारतीय नेपाली राष्ट्रिय परिषद्का राष्ट्रिय महासचिव (१९९०-९२) र भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय कार्यकारी अध्यक्ष (२००६-२००९) ।

उनको राजनीतिको अडानको केन्द्र जातीय उत्थान, रतमा गोर्खाहरूको परिचय सङ्कटको निवारणका निम्ति सङ्घर्ष, चिन्तन आदि रहेका छन् । अहिले पनि उनी आवश्यकता परेका बेला आफ्नो राजनैतिक विचार व्यक्त गर्छन् । उनका विचारमा भारतमा हाम्रो पनि समानाधिकार छ, हामीले पनि भारतमा हाम्रो आफ्नै राज्य हासिल गरेको हुनुपर्छ । हाम्रो भूभाग जबरजस्ती अङ्ग्रेजले आफ्नो देशमा गाभेको हो त स्वाधीनता भारतको हिस्सा बन्यो र हामी भारतवासी बन्यौं ।

ग. पत्रकारका रूपमा – सी के श्रेष्ठ एक कुशल पत्रकार हुन् । उनले ‘सनचरी’ समाचार दैनिकका संस्थापक प्रकाशक, ‘अब संवाद’ पत्रका प्रकाशक-सम्पादक, ‘आधार भानेराप’को मुखपत्रको सम्पादक, ‘हिमाली बेला’का सम्पादक, ‘पूर्वाञ्चल भारती’ (पाक्षिक पत्रिका, गौहाटी)का सम्पादक, ‘माइलखुट्टी’ (गौहाटीबाट निस्कने मासिक पत्रिका)का सम्पादक रही काम गरेका हुन् । उनको पत्रकारिता धेरै मात्रामा चिन्तनप्रधान, रोचक प्रस्तुति, समसामयिक विषयमा विवेचना र विश्लेषण आदि गुण पाइन्छन् । उनको सम्पादकीय लेखनमा नै पाठकका निम्ति बौद्धिक खुराक, ज्ञान र चेतनाको रस तप्किएको पाइन्छ । समाचारको शीर्षक रखाइमा नै व्यङ्ग्य विनोद पाइन्थ्यो । उनले सम्पादन गरेका पत्रिकाका विभिन्न स्तम्भमा नै जातीय उन्मुक्ति चेतना र जागरणको आह्वान र विचारोत्तेजना पाइन्छ । एकताक दार्जिलिङ-सिक्किममा अब भन्ने दैनिक र पछिबाट पाक्षिक पत्रिकाले निकै लोकप्रियता पाएको थियो । त्यसमा सी के श्रेष्ठको कुशल सम्पादन, स्पष्ट विचार र अडान, रोचक र घोचक (व्यङ्ग्य) लेखहरूले पाठकहरू आकर्षित भएका थिए । अब खोजी खोजी पढ्ने गर्थे ।

घ. लेखकका रूपमा- सी के श्रेष्ठ एक  कुशल लेखक हुन् । साहित्यिक क्षेत्रमा उनको विशिष्ट स्थान सुरक्षित छ । उनका प्रकाशित पुस्तकहरूमा दार्जिलिङे भानुजयन्तीको नाकनिक, नारद उवाच (व्यङ्ग्य लेखसङ्ग्रह), हाम्रो लभ स्टोरी (नाटक), दैलो (साहित्य एकादमीबाट प्रकाशित नाटक सङ्कलन), मुझे रङ्ग दे तिरङ्गा चोला माई (हिन्दी भाषामा, व्यङ्ग्य र विचारोत्तेक लेख सङ्ग्रह), भारतमा गोर्खाको राष्ट्रिय चिन्हारी सङ्कट, Gorkha Quest for Indian Identity (अङ्ग्रेजीमा) बनमारा (कविता र गीतसङ्ग्रह) उनी एक कुशल र प्रख्यात गीतकार पनि हुन् । उनको लेखकीय र सिर्जनशील प्रतिभा कहिले निबन्ध, विचार, कविता आदिमा र कहिले वक्तव्यमा प्रकट भएको हुन्छ ।

ङ. गीतकारका रूपमा – सी. के. श्रेष्ठ एक कुशल गीतकार हुन् । दुई चार नेपाली चलचित्र र उनका नाटकहरूमा उनले रचेका मिठा मिठा गीतहरू सुन्न पाइन्छ । उनका गीतमा प्रेमका विभिन्न भाव, व्यङ्ग्य चेतना, जनचेतना, जातिप्रेम, राष्ट्रप्रेम आदि भाव पाइन्छन् । मलाई पनि चाहिन्छ चारकुने आँगन, ‘पहराजस्ता बाजे बराजु सहारा खोज्ने हामी- इतिहासमा ठाउँ खोज्दाखोज्दै बित्यासमा पर्ने हामी’, ‘चरी बोल्यो रेलीमाई चरी बोल्यो मैना गोर्खालीलाई रेलिमाई सन्चो कहीँ छैन’, ‘जनम गोर्खाल्याण्ड हाम्रो करम गोर्खाल्याण्ड’, ‘भन्नलाई त गोर्खाको देशभरि सुवास छ तर आ-आफ्नो नाममा न वास छ न गाँस छ’ आदि जस्ता गीतहरूमा जातीय प्रेम र चेतना छ, जागरण र सचेतनको आह्वान छ । चलचित्र तृष्णाका जम्मै गीतहरू उनले लेखेका हुन् । जस्तै ‘यसपालिको बसन्तमा एउटा फूल फूलेछ’, ‘ए चरी चाँचरी’, ‘छल्किरहेछ छलछल’ लगायत धेरै गीतहरू लोकप्रिय भएका हुन् । यसैगरी  उनको रचनाको ‘रिङ्केबुङको राँगोलाई चुङ्केबुङको चुँलेसीले ताप्कलेजुङमा ताकेर, कालेबुङमा काटेर’ भन्ने लोकगीत पनि निकै लोकप्रिय भएको पाइन्छ । उनका केही गीतहरू स्थानीय गायकहरूले गाएका छन् ।

च. नेपाली भाषासङ्ग्रामीका रूपमा– सी के श्रेष्ठ नेपाली भाषा मान्यता आन्दोलनका एक अग्रिम पङ्क्तिका नेतृत्वमा रही काम गरेका थिए । उनी पनि नेपाली भाषा समितिका सक्रिय सदस्य रही कोलकत्ता र दिल्ली गएर भाषा मान्यताको मागलाई अघि बढाएका थिए । सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी नेतृत्वमा गठित भारतीय नेपाली राष्ट्रिय परिषद्का महासचिवका रूपमा रही भाषाको अन्तिम चरणमा अझ तीव्र रूपमा सक्रिय भई आन्दोलनको नेतृत्व गरेका थिए । १९९१ मा गान्तोकमा भानेरापले आयोजना गरेको राष्ट्रिय अधिवेशनमा उनको मुख्य भूमिकामध्येको रहेको थियो ।

सी. के. श्रेष्ठ आफूभित्रको कला र प्रतिभाको बलमा हाम्रो समाजलाई अहोरात्र योगदान दिइरहेका छन् । उनका हरेक गतिविधि, विचार, वक्तव्य, मन्तव्य, वार्ता-अन्तर्वार्तामा जातीय प्रेम झल्किन्छ । उनी हाम्रो समाजका  सल्लाहकार, दिशानिर्देशक, पथप्रदर्शक, अभिभावक, इतिहासवेत्ता हुन् । उनी व्यक्ति सत्तालाई भन्दा सामूहिक सत्ता, चेतना र परम्पराको निरन्तरता प्राथमिकता दिन्छन् । चेतनाको सत्तालाई अघि लाए मात्र  हाम्रो जातीय मुक्तिको सङ्घर्ष सफलता हासिल गर्न सकिन्छ । हाम्रो इतिहास पनि हामी आफैँले खोज्नु पर्छ, निर्माण गर्नुपर्छ, एकताको मन्त्र, निराश नभई सामूहिक रूपमा सचेत भएर सङ्घर्ष अघि बढे भन्ने धारणा राख्दछन् ।

उनका विचारधारा, विनोदी वचनभित्र गहनता, कलाकारिताभित्र जातीयता, नाटकभित्र सन्देश, मनोरञ्जनभित्र ज्ञान, गीतमा जागृति, बोलीमा रस आदिले युक्त श्रेष्ठ हाम्रा  धरोहर हुन्, राजनैतिक सामाजिक चिन्तक हुन्, हाम्रो गोर्खाली समाजका एक अभिभावक हुन् ।