“यहाँको दियो धपक्कै बल्नुपर्छ, बल्ल संसार उजेलो देखिन्छ ।”
मानिसको नकारात्मक बानी व्यावहारलाई लिएर सामाजिक विषयवस्तुमा गफिँदै थियौँ हामी । उनले आफ्नो छातीतर्फ इशारा गर्दै विम्बात्मक शैलीमा चेतनाको उजागर गरिन् ।
मानव दर्शन सहितको शब्द चयनले मलाई मिठो गोली लाग्यो । म रन्थनिएँ, यस्तो दिव्य वाणी कसरी आउँछ हँ ? म अच्चम्मित भएँ, यदि उनीसँग विवेकख्याती फिलोशोफीको अपेक्षा गरेको भए यत्ति अचम्मित हुनुपर्ने थिएन । अनपेक्षित व्यक्तिबाट यो लेवलको जीवन बुझाइले मलाई यसरी तरंगित बनाएको हो ।
उमेरले सातौँ दशक पार गरेकी छिन् उनले । संस्कारी बुहारी,आज्ञाकारी श्रीमती र ममतामयी आमा बाहेक समाजमा उनको योगदानको कुनै परिचय छैन, परिचय खोज्दिनन् पनि । कुशल गृहस्थीको जिम्मेवारी बहन गरिसकेपछि उनी तृप्त हुँदै गएकी छिन् । जन्मदाताले दिएको नाम समाजले बनाएका उपमाहरूलाई पन्छाएर उनी आफूलाई आफैँले सम्बोधन गर्छिन् –
“म खुशी कुमारी ।”
खुशी कुमारीको खुशी भइरहने राज के हो भनेर मैले सोधेँ ।
“आश नगर्ने कसैसँग, सन्तोषं परमं सुखं । सजिलो छ खुशी हुन । स-साना कुरामा रमाउन जान्यो भने खुशी भइन्छ । खुशी भन्ने चीज अर्काले ल्याएर दिन मिल्दैन, आफैँले आफैँलाई दिन सिक्नुपर्छ । सुखी त संसारमा जो पनि हुन्छन् तर सुख बाह्य र क्षणिक चिज हो जो नित्य हुँदैन । खुशी आंतरिक श्रोत हो, यसलाई जति बुझ्यो त्यति बढ्छ र अन्त्य हुँदैन ।”
आफ्नो परिचयलाई यसरी बुझ्ने र बुझाउने उनी मेरो जीवनको अमूल्य निधि हुन् । एउटै व्यक्तिभित्र अनेक सम्बन्धले भूमिका निभाउँदा रहेछन् । उनी मेरो सृष्टि बनेर जीवनको कालखण्डमा उभिएकी हुन् । सहयात्री हुँदै अहिले ज्ञान दिने गुरु बनेकी छिन् ।
उनले बोलेका हृदयवाणी सायद नाभिदेखि नै निस्किन्छन् र त उनी भन्ने गर्छिन्, “वाणी र पानी सधैँ शुद्ध हुनुपर्छ । यति भए न तन बिरामी न मन ।”
उनले सजिलै भनेको यो वाक्यांश सामान्य होइन, स्वस्थ रहनका लागि सकारात्मक सोच र सात्विक भोजनको तालमेलले ठूलो भूमिका खेल्छ । जीवन तालमेलबाट बग्ने लय हो । लयमा प्राण हुन्छ, प्राणका विभिन्न आयाम हुन्छन् । ती आयामहरूलाई जोगाइराख्न वाणी र पानी शुद्ध बनाउन अत्यन्तै जरुरी छ । तर हाम्रो सामान्य चेतले यति गहिरो सोच्न सक्दैन । कतै सोचिहाल्यो भने पनि व्यावहारमा लागू गर्न कठिन छ ।
षडदर्शन रट्टा मार्ने म, चेतनामय दिव्यवाणी बोल्ने उनी ।
जीवन भोगाईको अनुभवबाट जागृत भएपछि किन चाहियो दर्शनका ठेली, उनले न कुनै संस्कृतका श्लोक रटिन्, न कुनै विश्वविद्यालय कुदिन्, थ्योरी भन्दा प्रेक्टिकल कति महत्त्वपूर्ण रहेछ भन्ने उनीसँगको प्रत्येक भेटले सिकाउँछ ।
उनको चेतनाको उच्च–स्तर देखेर लोभिन्छु म, उनीसँगै सकेसम्म समय बिताउन खोज्छु । नयाँ-पुराना कुरा, घरपरिवार, समाज, जीवन, अध्यात्म लगायतका थुप्रै विषयमा हामी महिनौँ गफिन सक्छौँ । चेतनालाई ज्योतिको उपमा दिएपछि मैले अचम्मित मान्दै सोधेको थिएँ, “हजुरले यति गहिरो ज्ञान कहाँबाट पाउनु भो नीरु ?”
मेरो प्रश्नलाई विश्वास गरेझैँ गरी मन्द मुस्काउँदै भनिन्, “मैले पीएचडी गरेकी छु,त्यहीँबाट जानेकी !”
फेरि गम्भीर हुँदै भन्छिन्, “उस जन्मको कमाइ होला नि ! सत्कर्मको फल जन्मों-जन्म तक घुम्छ रे !”
उनले अनभिज्ञ जस्तै बनेर रे मा वाक्य टुङग्याइन् ।
तर उनी आश्वस्त छिन् सत्य यही हो भन्नेमा । “मानिसले आफूलाई विश्वास गर्नुपर्छ । आफूप्रति इमानदार हुनुपर्छ । आफुप्रति इमान्दार व्यक्तिले अरूलाई दुःख दिँदैन, सुखको शुरुवात त्यहीँबाट हुन्छ । आफैँभित्रको दुनियाँसँग रूबरू भएपछि सत्य के हो भन्ने बुझिन्छ । सत्य बुझियो भने बाहिरको दुनियासँग पनि प्रेम हुन्छ । प्रेमले कसैलाई हानी गर्दैन । अरुलाई हानी नगर्नु भनेको आफू खुशी र स्वस्थ हुनु हो । हाम्रो अमूल्य सम्पति नै स्वस्थ र सन्तोष हुन् ।”
उनको पिएचडीको भाषा जति सुन्यो उति रसिक लाग्छ ।
मैले उनको मुहारभरी चाउरिएका रेखामा लुकेको इतिहास बुझ्न सक्दिनँ । हिमालझैँ सेतै केशको कुनै लय सुनेकी छैन । पहाडझैँ स्थिर छाती मौन छ । रसाइरहने दुई नयन तृप्त छन् । म केही पत्ता लगाउन सक्दिनँ । मलाई उनी आफैँले सिकाएकी हुन् “मनको भेद कसैलाई नखोल्नू ” भनेर ।
अनुमान र अनुभवमा धर्ती-आसमानको दुरी छ । यत्ति भन्न सक्छु- वेदान्त चढेको छ उनलाई ।
भौतिक संसारको तृप्ति र त्याग, आध्यात्मिक तहको समर्पण उनको, सांख्य दर्शनभित्रको २५ तत्व र योग दर्शनको अष्टाङ्ग सहित अष्टावक्र गीता जस्ता सबै उपयोगी ग्रंथहरू उनको चेतनामा समावेश छन् । दर्शनको उद्गम चेतनाबाट नै हुँदो रहेछ क्यार ! नत्र कसरी डिभाइन बन्न सकिन्छ त ? त्यसै छाती भित्रको दियो कहा बल्छ र !
साँचिक्कै खुशी कुमारी नै छिन् उनी ।
“कुन पुस्तक पढेर पिएचडी गर्नु भो ?” मैले जिस्क्याएँ ।
“ मैले मेरो जीवनको किताब पढेँ । मान्छेले आफ्नो किताब आफैँ पढनुपर्छ । अनि पो आफ्ना कमजोरी पत्ता लाग्छन् । तिनै गल्ती सच्चाएर सुध्रिन पाइन्छ । यहाँ त मान्छेलाई अरुका किताब पढ्दै फुर्सद छैन । मलाई त आफ्नै किताब पढ्ने समय पनि पुग्दैन, बेला बेला समयले पढाउँछ । ज्ञान, ध्यान ज्यान सबै ईश्वरले मनुष्यभित्र राखेर पठाउनुभएको छ । सुख, सन्तोष खोज्दै बाहिर जानै पर्दैन । त्यसैले त म सुखी छु नि ।”
म झन अवाक भएँ । यो पछि अब के भन्छिन् भन्ने जिज्ञासा भरेर मुहारमा एकटकले हेरिरहेँ । हामीले पूर्वीय दर्शनमा पढेका कुरा उनले कति सरल तरिकाले बोल्छिन् ।
प्राय उनको आँगनमा लेनदेनको लागि आवत-जावत चलिरहन्छ । बच्चा देखि एजेड सम्म । कोही भिक्षुको रूपमा दान दक्षिणा लिन, सरसापटी माग्न, छरछिमेकी तथा आफन्त तरकारी, दुध, मही लिनसम्म, मुख मिठ्याउने आसले बालाबालिकाहरूले घेर्छन् उनलाई । बच्चाहरूलाई थाहा छ उनी देवता हुन्, दिइरहन्छिन् । उनीसम्म पुगेपछि मिठाई खान पाइन्छ ।
“अब सकियो नमाग है ” भनेर दिन्छिन् ।
तर बच्चाहरू विश्वास गर्दैनन् । फेरि आइहाल्छन् । मानौँ उनीसँग चकलेट फेक्ट्री छ । ईश्वरका लीला भन्दै केही न केही हात पार्छिन् । किनकी उनले रित्तो हात कसैलाई फर्काउन चाहन्नन् ।
आँगनमा एक हुल चराहरूको आगमन भइरहन्छ, “राजा छउन्जेल प्रजालाई के दुःख” भन्दै ह्वार्र चारो पोख्छिन् । अभ्यस्त छन् चराचुरुंगी पनि उनको भाषा बुझ्न, अघाइसकेपछि काखमा, शिरमा बसेर लुटुपुटु गर्छन् । “जाऊ अब आफ्नै गुँडमा, भोली आउनू ” सुमसुम्याउँदै संवाद गर्छिन् ।
“पूर्वजन्मको केही थियो होला नि, त्यही भएर त घेर्छन् यी ‘रयाउजे’हरूले”, उनले प्रेमिल प्रहार गरेर जीवजन्तु- चराचुरुंगीलाई ‘रयाउजे’ को उपमा दिँदै मलाई भनिन,
“ एउटा चरो छ रंगीबिरंगी राम्रो, लय हालेर गीत गाउँछ । बिहानै तीन बजे आएर म सुत्ने रूमको झ्यालमा बसी उठ ! उठ !! उठ !!! भनेर कराउँछ । तँभन्दा पहिले बिउँझेकी हुँ, तैँले उठ भन्नै पर्दैन भनेर हप्काउँछु । माने पो, उठेर घरको ढोका खोले पछि बल्ल जान्छ । अर्को दिन पल्लो रुममा सुतेँ, त्यहीँ पुग्यो फेरि । त्यसलाई कसरी था भो म कहाँ सुत्छु भन्ने, अचम्म ! आदत लागेछ मेरो पनि, एकदिन आएर कराएन भने विचलित हुन्छु, कहाँ गयो, के भयो भनेर । यही माया त रै’छ सारा दुनियाँलाई बाँड्न पुग्ने । जति दिए पनि रित्तिन्न उनकै लीला ! मैले त के पो दिन सक्छु र उनको मर्जी हो सबै ।”
मैले कयौँ पटक यस्ता प्रेमिल दृष्य देखेकी छु, प्रेम र सद्भाव छ्चल्काउछिन् उनी सबैतिर ।
“दानीलाई हानी कहिल्यै हुन्न नानी ”
“मन घमाइलो छ, र त मेरो जगत रमाइलो”
उनका फिलोसोफी सुनेर म हुरुक्क हुन्छु ।
घट्ट देखि ढिकी जाँतो, टुकी, पानस, पानी-पँधेरो जस्ता ट्रेडिसन दैनिकिबाट गृहस्थ शुरु गरेकी उनी जीवनको कालखण्डमा के-कस्ता कठिनाइहरू भोगेर/देखेर आइन् होला । हामी कल्पनासम्म गर्न सक्दैनौँ । जीवनको सातौँ दशकमा आइपुग्दा आधुनिक जीवनशैलीलाई अपनाउन पनि उत्तिकै उत्सुक रहन्छिन् । मोबाइलमा इस्टमित्र, परदेश भएका छोराछोरीसँग भिडियो कलमा रमाउँछिन् ।
“आँखाले अक्षर देखुञ्जेल पढ्न र बुद्धिले टिपिन्जेल सिक्न छोडनु हुँदैन” भनेर हौसला दिने उनले, आफ्नो पालामा चिठ्ठी लेख्न र तमसुक पढ्न सक्ने बनेकोमा गर्व गर्दै भन्छिन्– उबेला छोरीले पढे पाप लाग्छ भनेर पढ्न दिँदैनथे । हाम्रा बाले छोरीलाई कसैले नझुक्याओस्, छलकपट गर्न नसकोस भनेर अक्षर चिनाउनु भएको हो ।”
मैले उत्सुक बनेर सोधेँ, “अहिले पढ्न पाए पढ्नु हुन्छ त ?”
“A B C D पढ्दैछु मैले नि विद्या बुढो हुँदैन कहिले नि ! ही ही ही !”
उनी औधी खुशी हुँदै भजनको लयमा गीत गाइन् र फेरि भनिन्, “तिम्रो प्रश्नलाई मैले जितेँ नि देख्यौ, सोध्ने कुरो हो र ? ज्ञान भनेको साथैमा लिएर जाने हो । सकेसम्म पढ्नुपर्छ । मलाई संस्कृत र अंग्रेजी सिक्न मन छ नि । संस्कृत जान्न पाए शास्त्रका ज्ञान लिन सक्थेँ । अंग्रेजी जान्न पाए कम्प्युटर मोबाइल सबै चलाउँथेँ ।”
उनलाई थाहा छैन शास्त्रका ज्ञान उनले पाइसकेकी छिन् भन्ने कुरा । मैले केही शास्त्रका प्रसंग सुनाएँ, “ त्यो भन्दा तपाईं धेरै माथि हुनुहुन्छ नि ,यत्तिको ज्ञान त संस्कृतका विद्वानले बोल्छन् । उनलाई पत्यार लाग्दैन मेरो कुरा ।
“ खै नानी ! आफैँले नदेखेको संसार कसरी जाने भन्नु, ज्ञान, बुद्धि र विवेक फरक विषय हुन् । ज्ञान शास्त्र पढे पाइन्छ । बुद्धि जन्मिदै लिएर आउनुपर्छ । जुन पछि संस्कारले पनि माझिन्छ । विवेक त्यही ज्ञान र बुद्धिलाई चलाउने ड्राइभर पो हो त । ज्ञान भएर पनि के गर्नु विवेक भएन भने मान्छेले दुःख पाउँछन् ।”
उनले लामो सुस्केरा हाल्दै वाक्य टुङ्ग्याइन् । मलाई बुझ्न निकै कठिन भयो उनका कुरा । तर सुन्दा आनन्द लाग्यो । फेरि रिपीट गर्न लगाएर बुझ्न कोसिस गरेँ ।
“ओहो ! मन नै त रहेछ आखिर । हामी ३० काट्न नपाउँदै बुढेस लाग्यो भनेर सुस्केरा हाल्छौँ । उनी भने ७० कटिसक्दा पनि कस्तो उत्साह बोकेर रमाएकी छिन् । उत्साह र उमंग भर्छिन् हरेक दिन आफ्नो दैनिकीमा ।
उनी एकछिन घोरिएर फेरि केही सोचे जस्तो गर्छिन् । उनलाई पढाइको तृष्णा मेटिएको छैन क्यार ! भनूँ कि नभनूँको दोधारमा परे जस्तो बोल्न थालिन् ।
“मैले पल्लो घरको नातीबाबुसँग अंग्रेजीको टयुसन पढ्दै छु नि , ABCD सिकेँ र त अहिले मोबाइलमा सबैको नाम हेरी फोन हान्छु, अनुहार हेरेर कुरा गर्छु । को काँ छन् सबै थाहा पाउँछु । मैले तिम्लाई मात्र भने यो कुरो, अरुलाई भन्दिनँ खिस्सी गर्छन् । अरुका कुरा गरेर व्यर्थ समय काटनु भन्दा केही न केही सिक्नु राम्रो नि ! आफूले जाने अरुलाई गुहार्नु पर्दैन । म त भाग्यमानी,नयाँ-पुरानो सबै जमाना देखेँ । नयाँ युगका नयाँ-नयाँ कुरा सिक्नुपर्छ, केही नगरे पनि समय पर्खेर बस्दैन यसै खेर जान्छ, बुझे पो मान्छेहरू ! अझ ‘मर्ने बेला हरियो काँक्रो’ पो भन्छन् ।
‘बाच्ने कति हो कति मर्ने आज हो की भोलि’ कसलाई के था’ को कति बाच्ने हो ?
कुन दिन म जिन्सपाइन्ट र टीसर्ट लाएर हिन्छु यी कुरा काट्नेहरूको अगाडि, अनि चुप लाग्छन् हा हा हा !
धेरै बोलेँ कि क्या हो ?”
सजग हुँदै मिठो हाँसो फुट्यो उनको ओठमा, मुहारभरि हाँसोको लय बग्यो । नयन सजल देखिए । विद्रोह पनि कति शालीन ! यदि प्रेम भन्ने तत्त्वको बाउण्ड्री हुँदैन भने मेरो प्रेम भयो उनको दिव्यतासँग, मोहित छु, छुट्नै मन छैन । यति गहन अध्यन गराउने पाठशाला कमैले भेटाउँछन् होला ।
उनीसँगको सामीप्यतामा यति विश्वासपात्र चाहिँ बनेछु क्यार ! मनभित्रै थुनिएको ठूलो सफलताको पोको खोलिन् । उत्सव मनायौँ हामीले । म गदगद भएँ ।
“सँस्कृत र अंग्रेजी पढ्ने बाहेक अरु के-के गर्ने इच्छा छन् निरु ?”, मैले सोधेँ ।
“इच्छा त अनगिन्ती हुन्छन् । धेरै रहर पाल्नु हुँदैन, मर्ने बेलामा सकस हुन्छ रहर पूरा भएन भने । ईश्वरलाई नि बाधा हुन्छ । आफ्ना सन्तान तड्पिएर शरीर छोड्न गारो भएको हेर्ने सक्नु हुन्न उहाँले ।”
“पूरा गर्न सकिने रहर त पालना पाइन्छ नि ।”
“हो र ? त्यसो भए मलाई एक लाख पैसा पनि जम्मा गर्नु छ ।”
“अनि के गर्ने त्यो पैसा निरु ?”
“बैंकमा खाता खोलेर जम्मा गर्ने, कार्ड मिसिनमा छिराएर पैसा निकाल्ने । मान्छेको शौख त हो, खुरापाती दिमाग के के उट्पट्याङ सोचिबस्छ ।”
“रमाइलो त हो, नयाँ जुगको नयाँ कुरा त सिकिहाल्नु पर्छ ।”
हामी दुवै खित्का छोडेर मज्जाले हाँस्यौँ ।
“मिसिनबाट पैसा झिकेर के गर्नु हुन्छ निरु, मलाई दिनुहुन्छ ?”, मैले चिटिङ गर्न खोजेँ ।
“ अहँ दिन्न तिमीलाई, तिमी धनी छौ, कमाउन सक्छौ । दुःख अप्ठ्यारो, प्रकृतिको विपत् खेपेकाहरूलाई दिन्छु ।
“ल त्यसो भए पैसा जम्मा गर्दै गर्नुस् म अर्को दिन आउँछु र बैंकमा खाता खोल्न जाउँला ।”
“खाता खोल्न पैसा लाग्छ ?”
“लाग्दैन । बरु जम्मा गरेको पैसाको ब्याज दिन्छ ।”
“लौ त्यसोभए जम्मा गरिहाल्नुपर्ने भो, छिट्टै आउनू ।”
हामी छुट्टियौँ ।
कस्तो इन्नोसेंट जवाफ दिन्छिन् ।
तार्किक विचारयुक्त वाणीहरू मनमा रिगाउँदै आफ्नो गन्तव्य फर्किएँ । उनको मुहार आँखामा नाचिरहेछ ।
दर्शनले अपरिग्रह नगर भन्छ । लोक हितको लागि अपरिग्रहको पनि महत्त्व रहेछ । उनी एक लाख जम्मा गरेर अप्ठ्यारोमा परेकालाई सहयोग गर्न चाहन्छिन् । म उनको तर्कसंगत जीवनोपयोगी कुराहरू सुनेर विचारहरूको कलेक्सन गरिरहेछु । जनमानसमा यी विचारहरू सम्प्रेषण गर्नु कलमको धर्म हो क्यार ! स्वधर्म निभाउनै पर्छ ।
गुरुदेव भन्नुहुन्छ, “अधिक पुस्तकहरूको संकलन गर्नु पनि अपरिग्रह अन्तर्गत पर्छ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ पुष २०८२, बिहीबार 










