हिजोआज दैनिकी फेरिएको छ । उमेरको एक एक चरणलाई पुनः सत्र सालतिर फर्काइरहेको छु । मस्तिष्कको आँगनमा उछलकुद गर्न सिपालु छन् यादहरू, संवेगलाई रोक्न सकिँदो रहेनछ। शब्दमा कोकिलकण्ठ मिसाएर हृदय पगाल्न सुरु भएपछि मौन बस्दाबस्दै पनि यी नयनले स्वीकारोक्तिको इसारा गरिदिएछन्, र त बल्ल थाहा भयो प्रेमको युद्धमा होमिन कुनै पूर्वतयारी गरिँदो रहेनछ । थाहै भएन उनको हृदयमा कुन दिन कसरी होमिए, यही थाहै नहुनुलाई दिइँदो रहेछ प्रेमिल उपमा !

बिस्तारै तिनै उपमाहरू प्रेम-युद्धको मैदानमा कतै धारिला हतियार बनेर दर्द मिश्रित आँसुहरू होली खेलिरहेछन्, कतै फूलहरूको जादुमयी सुगन्धजस्तै बास्ना छरिरहेछन् । यिनै अनेक कुमारी भोगाइहरूको मिश्रणबाट पलपल गुज्रिरहेछ दैनिकी । हाँस्दाहाँस्दै रुनु, रुँदारुँदै हाँस्नु अब कुनै अनौठो खेल लाग्न छाडिसक्यो ।

गङ्गा, जमुना र सरस्वती क्रमशः हृदय, नयन र मस्तिष्कमा अनवरत बगिरहेछन् । रङ्गिनै मन थियो जीवनरङ्ग जस्तै घुलनशील भइदियो उनी आएपछि । जीवनको इन्द्रधनुषी रङ्गमा प्रेमको अर्को रङ्ग मिलाएर एकपल बाँच्नु छ जसको आधारमा जिउनुको प्रयोजन भेटियोस् । उमेर र जिम्मेवारीको परिपक्वतालाई छिचोल्दै मजाकिया लवजमा भनेकी थिएँ एक दिन ‘लब पऱ्यो नि हाम्रो ‘…..।

सायद केही कारक तत्त्वहरूको अवरोधलाई थाम्न नसकेर अत्तालिँदै तिमीले भन्यौ, ‘छैन !छैन !! हामी सोह्र-सत्रमा कहाँ छौ र त्यस्तो सोच्नु हुँदैन ।”

‘डराको ?’

तुरुन्त सन्तुलित हुँदै जjfफ दियौ, ‘म त गड हो नि, गड डराउछन् त ?’

‘हो तिमी गड नै हौ, आम मान्छेसँग त मेरो पनि सङ्गत कहाँ हुन्छ र?’

दुवै मज्जाले हाँस्यौ !

आम पुरुषको प्रकृतिभन्दा केही भिन्न आफ्नो प्रकृति प्रमाणित गर्न खोज्यौ या तिमी सिद्धपुरुष बनिसकेकाले हो – पहिलो भेट्मा नै भनिसकेका थियौ, ‘भगवान् सम्झ मलाई, गड हुँ तिम्रा लागि, रोऊ, हाँस जे गर्नुछ गर, भन मजाले पोख आफूलाई । अनि पो हलुका भइन्छ, सम्हाल्ने म छँदैछु ।’

लामो पर्खाइपछिको त्यो भेट आफूलाई पोख्नुभन्दा बढी बाँच्नु थियो खै कुन्नि ! तिमीले के सोच्यौ तर म भने तिमीप्रतिको आकर्षणलाई सेलाउन दिन चाहान्नथेँ। चञ्चल उमेरको नादान लगाब थिएन बरु मजबुत लगाबले उमेर छचल्किएको भने हो । कुनै समय कुनै  कुराको  एउटा तत्त्वले मानिस एकअर्कामा आकर्षित हुन्छ भने त्यो पललाई बाँच्नुपर्छ मभित्रको गडले पनि यही भनिरहन्छ, के थाहा आकर्षण प्रेममा परिणत भइसक्दा त्यो पल जीवित रहला या नरहला या आकर्षण  समाप्त हुनुअगावै  त्यो पललाई बाँचिएन भने जीवनको एउटा अमूल्य निधि गुमिसक्ला सायद यतिमात्र आभास हुनुले  पहिलो भेट भरपुर बाँचियो त्यो दिन! चरमानुभूति लिएर तिन घण्टाको बसाइपछि करिब साँझको नौ बजे छुट्टिएर फर्कियौँ आ-आफ्नै गन्तव्यतिर छिटै भेटिने वाचासहित।

मनको छुट्टै  प्रकृति हुन्छ । भर्खर आफूलाई जिम्मेवारी वहन गर्नु छ भन्ने बोध हुन्छ, फेरि उत्तिखेरै सोह्र बर्से चञ्चलता र पनि समझदारीको पगरी भिरेको सम्बन्धले सजगता अपनाउनै पर्ने थियो । साँझबिहान हाई, हेल्लो, खोजखबर, वैचारिक आदानप्रदान दैनिकी यसमै सुन्दर लाग्न थाल्यो । जिउनुसम्म त हो निर्धक्क उत्साह, जोस, खुसी, आनन्द बोकेर प्रेमिल सहयात्रामा सम्बन्धलाई जति सक्दो कसिलो बनाउने सपना बुन्नु मानव प्रकृतिभित्रको एक अंश हो। यसैबीच स-साना कुरामा त्रस्त हुनु, हरेक पल मेसेजको प्रतीक्षा गर्नु, प्रेमिल नखरापूर्ण मुहार आँखाभरि घुम्नु, छट्पटी, अधुरोपन र चञ्चल मनजस्ता सिम्बोल प्रेम प्रगाढ बनाउने आधार होइनन् र! प्रेम हृदय निर्मित कला हो; कलामा हृदय हुन्छ हृदयमा भगवान् हुन्छ हृदयले हृदयलाई नै भगवान् ठान्नुमा आत्मिक शान्ति मिल्छ, सायद पूजा, भगवान्, कला जे भने पनि आखिर मानवजीवनको आधार हो।

नभनेरै बोलिएका अनेक शब्दहरू, बोलेर प्रदर्शन हुने मायालु आवाजहरू, शब्दमा शक्ति हुन्छ वाणीमा सरस्वती हुन्छिन् भनेजस्तै शक्ति र सरस्वतीको सङ्गम मिलाएर सोध्छौ ‘ के गर्दैछौ प्रिया?’

आम शब्दमा पनि गुन्जिने सङ्गीतमा प्रेमको महक भर्दै भन्दिछु ‘सम्झिँदै……’

थप अपेक्षा राखेर फेरि सोध्छौ ‘कसलाई नि……’

‘दिनभरिको कार्यविवरणलाई’ अफिसमा रिपोर्ट जो बुझाउनु छ।

कौटनीतिक जबाफ दिएर भाग्नु, तिमीलाई नै सम्झिरहेकी थिएँ नभनिदिएर सताउनाले अपेक्षामा कति ठेस लाग्दो हो! आफू भने लामो संवादपछि शुभरात्रि नभनिदिएकै भरमा रातभर जाग्राम हुनुको घटना ताजै छ ।

दैनिक संवादमा हुने गफ यस्तै यस्तै हुन् यिनै गफमा ऊर्जा छ ।

‘खाना खानुभो ?’

‘खाइसकेर पनि हेरिरहेछु अँध्यारातिर…’

‘हो! चम्किने चिजहरू अँध्यारामै भेटिन्छन् नि त’

‘सायद…..! तिमीपनि अँध्यारामै भेटिएकी थियौ!!’

‘हो नि, त्यसैले त थाहा पाएँ।’

बुझ्यौ नि! चम्किलो वस्तु कस्तो हुन्छ भन्ने?’

शब्दले जीवन बोल्छन्, दर्शन दर्साउँछन्, प्रेम फक्राउँछन् । सोही अनुभूतिसँगै दिनभरको व्यस्ततालाई पन्छाएर भनेँ ‘आज त सम्झिनै पाइनँ दिनभरि नै बिजी भएँ ।’

‘निष्ठुरी! कति स्वार्थी छौ है तिमी म तिम्रो पर्खाइमा कसरी दिन धकेलेँ एकपटकसम्म खबर लिन नहुने…’

‘सरी ! नरिसाउनू न, फुर्सदले सम्झिँदा पूरै डेडिकेट हुन पाइन्छ के, खै बुझेको………?’

उनले घुर्की दर्साउँछन् म भने बदलिन चाहिनँ आफ्नो दैनिकी र स्वाभावबाट,

सधैँजसो साँझपख भिडियो कल गरी एकाअर्कामा आफूलाई हेरेपछि दैनिकी सकिन्थ्यो । हेर्दाहेर्दै प्रेमिल आदत बसिसक्यो। अपेक्षा रहन छाड्यो, सत्य निहित छ, कौरवी गुणहरू झुल्किँदैनन् सामीप्यमा हुँदा पनि। सायद मैले भोगेको  जीवन-दर्शनको आधारमा भन्ने हो भने यति आधार भए सम्बन्ध आफैँ बलियो बन्छ र बन्यो पनि। सन्तुलन ब्यालेन्स गर्न कुनै महाभारत गर्नु पर्दैन । थोरै समझदारी भए धेरै आनन्द बटुल्न सकिन्छ ।

आकाशतिर स्वछन्द कावा खाइरहेका पङ्खहरूले उड्ने सपना कस्तो हुन्छ ? तर आँखाहरूले देख्ने दृश्य जीवन्त, प्राकृतिक र सहज छन् । र प्रिय पनि । सम्बन्धमा विश्वस्त भइसकेपछि दैनिकी सामान्य बन्दै जाँदो रहेछ, यसैबीच असामान्य अवरोध थपिन्छन् कहिलेकाहीँ, असहज वातावरण सिर्जना भइदिन्छन् अनि सहजता दिने आधार खोजिन्छ । त्यो भनेको सम्बन्ध नै हो ।

चलिरहेको महिनाको पन्ध्र गते बेलुका उनैलाई घण्टौँ उसैगरी भिडियो कलमा देख्न मन थियो, र थियो सोह्रमा  उनैसँग समय खर्चिन मन । किन-किन अद्भुत आभासले घचघचाइरह्यो । थाहा छैन, भिडियोमा देखेको भए के हुन्थ्यो या सोह्रमा भेटेको भए के गर्थेँ, के भन्थेँ ! चाहनाहरू पूर्ण कम र परीक्षा ज्यादा हुँदा रहेछन्।

मनलाई रोक्न सक्ने विवेक छ, विवेकले थाम्न नसक्ने मन छ । रोक्दा रोक्दै यात्रामा कति विरहले पुकारेकी थिएँ, ‘कल गरूँ न’ । उनका नयन निद्रामा हुँदा मेरा भने चहऱ्याइरहे, कहिलेकाहीँ भने उस्तै-उस्तै प्रकृतिले फरक-फरक रूप धारण गर्दो रहेछ । सम्झिएँ फेरि, तिमीले ‘गड हुँ तिम्रा लागि’ भनेको त्यसै रहेनछ ।

प्रेमिल यात्राकै क्रममा बल्ल बुझ्दैछु तिम्रो प्रज्ञालाई !  विद्वान्‌को विद्वतामात्र होइन रहेछ प्रज्ञा, जुन तर्क र स्मृतिले बाँधिएको होस् । किनभने दिव्य क्षमतासँग जोडिएको हृदयको तारले जब घटना घटाउँदै लैजान्छ तब प्रेमपूर्ण भएर जीवनका प्रत्येक शब्दहरू ओठबाट फूलजस्तै मगमगाउँदै झर्छन् । अनि पो आफू निष्प्रयोजन छु भन्नेमा प्रयोजन देखिन्छ । तसर्थ आऊ, भर प्रेमिल अँगालोमा, चुम हृदय सिञ्चित प्रत्येक अङ्गहरूमा विलीन भइदेऊ । देहधारी आत्मा मिलनमा, दुई देह मिश्रित समाधिमा एकाकार नभएसम्म तिमीले नै भन्ने गरेको ‘डिभाइन लभ’ जन्मिँदैन । किनकि त्यही दिव्यात्मा प्राप्तिको लागि घटना घटाउनैपर्छ । चाहे त्यो जीवनको प्रयोजन, सार्थकता, प्रकृति या भनूँ मोक्षका लागि किन नहोस्।

फेरि पनि आग्रह गर्छु –  “प्रियतम ! आऊ जीवन-उत्सव मनाउनका लागि प्रेमिल घटना घटाउनैपर्छ ! ‘डिभाइन लभ’ जन्माउनै पर्छ ।”