डा. बालकृष्ण साहको पुस्तक “गर्भको गर्व” अध्ययन गर्न पाउँदा निकै हौसिएँ । सोचेँ, मनमा उर्लेको आँधीबेरीलाई शब्दमा लेखौँ । यसर्थ लेख्दै छु मनको गहिराइ, पात्रले भोगेका भोगाइ अनि मेरो बुझाइ । मलाई लाग्छ, पाठकको अन्तर्चेतना एक अबोध शिशु हो । लेखकको आफ्नो गहिरो प्रशव पीडापश्चात सन्तानको रूपमा जन्म दिएको पुस्तकले पाठकको अबोध चेतनालाई हुर्काएर युवा र परिपक्क अवस्थामा परिणत गर्ने सामर्थ्य राख्दछ । यो नै लेखकीय मातृत्व कुशलताको मानक हो ।

पेशाले चिकित्सक डा. साहले गैरआख्यान विधामा सशक्त रूपमा कलम चलाइरहेका छन् । गहिरो साहित्य अभिरुचिका साथ लेखकको भूमिकामा उभिएका डा. साहले यस सिर्जनामार्फत लेखन शिल्पलाई न्याय दिएका छन् । साधारण पाठकको हैसियतले उनका सरल भाषाशैली तथा तथ्यपरक कथावस्तु निकै लोभलाग्दा छन् । सिर्जनाले पाठकको मनमस्तिष्कमा छाप छोड्नुपर्छ । यस पुस्तकमा त्यो शक्तिको प्रतिध्वनित भएको छ । प्रतिष्ठित राष्ट्रिय दैनिकहरूमा स्तम्भ लेखनद्वारा आफ्नो साहित्यिक यात्रामा अविच्छिन्न रहेका डा. साहका शब्दहरू साधारण लाग्ने गर्दछन् । तर विषयवस्तु तथा भावले असाधारण छन्, गहन छन् । नेपालमा चिकित्सा पेशा सम्मानित अनि लोभलाग्दो मानिन्छ । साथै, जनस्वास्थ्य विधाका अध्यता पनि रहेका लेखकले जनताको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएका विषयहरू गम्भीर ढङ्गले उठाउन माहिर छन् । साहले आफ्नो चिकित्सकीय पेशालाई जनताको प्रत्यक्ष स्वास्थ्यमा जोड्ने कसीको रूपमा साहित्य विधालाई अँगाल्नु नै उनको साहित्यिक चेतको उपज हो ।

गैरआख्यान शैलीमा रचित “गर्भको गर्व” कृतिले लेखकमा व्याप्त नारी चेतनाको प्रतिनिधित्व गरेको छ । चिकित्साशात्र अन्तर्गत स्त्री तथा प्रसूति रोग विषयमा जानकार भएकाले नै लेखक ती हरेक आमा तथा दिदीबहिनीहरूमा देखिएका सम्बन्धित समस्याहरूका बारेमा चिन्तित छन् । उनले आमाहरूका उपचारमात्र गरेनन्, त्यस्ता कैयन् आमाहरू जो प्रशव पीडाले मृत्युशैयामा पुग्नबाट जोगिए, कति पुगे, तिनीहरूका छटपटीलाई शब्दमा उधिनेका छन् । अनि हाम्रो समाज जसले जुन नारीलाई पूजा गर्छ, त्यही नारीमाथि गर्ने मानसिक शोषण, भेदभाव गर्न पछि पर्दैन । यिनै यस्तै विषयवस्तुको उजागर गरेर विसङ्गतिका विरुद्ध दह्रो झापड हान्न सफल भएका छन् यस कृतिका लेखक । जम्माजम्मी ९ वटा उपकथामा रहेर लेखिएको यस कृतिका हरेक विषय मर्मस्पर्शी छन् । सटिक भाषाशैली अनि कथानक चरित्रले गर्दा पाठकले अध्ययन गरिरहँदा कहीँ कतै पट्यार नै लाग्दैन । आफ्नो विषय विज्ञतालाई टपक्क टिपेर आफैँले पेशागत हिसाबले भोगेका केशहरूलाई कथ्यपरक शैलीमा मोड्नु लेखकीय चातुर्यता रहेको पाइन्छ ।

विशेषतः समाजमा रहेका दुई वर्ग महिला र पुरुषबीचको अन्योन्याश्रित सम्बन्धको कडी नै प्रकृतिको अद्वितिय नियम हो । एक आपसमा शारीरीक मानसिक, सामाजिक तथा विविध आयामका ढृष्टिकोणले असमान अवस्थामा रहे तापनि दुवैको समान सहभागिता तथा समागमले स्वचालित छ यो संसार । तर जरैदेखि गडेर रहेको पितृ सत्तात्मक सोच र व्यवहारले कैयन् आमा तथा दिदीबैनीहरू पिल्सिएका छन् । हरेक पल नारीले आफ्नो अस्मिता जोगाउन अग्नि परीक्षा दिइरहेका छन् । यहाँ मर्यादा पुरुषोत्तम रामहरू कैयन् सीताका कठोर परीक्षा लिइरहेका हुन्छन् । हास्यास्पद त के छ भने, नारीलाई भोग्य वस्तु ठान्ने पुरुष आफ्नी श्रीमती वा प्रेमिकाको कौमारीत्वमा प्रश्न उठाउने गर्दछन् ।

महिलाको गर्भमा हुर्केको सन्तानले हर्ष ल्याउनु पर्दछ । हठातमा गरिएको निर्णयले विस्मत् बोकी आउँछ । तसर्थ गर्भ योजना अपरिहार्य रहेको छ ।  गर्भमा हरेक परिवारको अपनत्व हुनुपर्दछ । यो उत्सवमा परिवारको उत्साहले आमाको गर्भको अबोध जीवन सदा सदा पुलकित हुन्छ । धरतीमा पाइला टेक्ने बित्तिकै पाउने मायाले उसको पहिलो रुवाई हाँसोमा परिणत हुने गर्दछ । गर्भको गर्व नारीस्वरूपको सम्मान हो । पहिलो मासिक धर्मका कारण लामो समयको पर्खाई पछि आफ्नो बाबालाई समिप भेटेर पनि काखमा लडीबुडी गरेर माया गर्न नपाउँदा अबोध बालिकाले आफू छोरी भएकोमा आत्मग्लानि गर्नु नै यस समाजको एउटा अँध्यारो पाटो हो । गरीबी, त्यसमाथि उच्च शिक्षा प्राप्तिको भोक अनि चिन्ता । साथै, आफन्तको उपेक्षा एवं किशोरावस्थाको नासमझले गर्दा असुरक्षित गर्भपतनको शिकार । यो पीडाको जोखिमले झन्डै झन्डै ज्यान गुमाउनुपरको परिदृश्यले पनि गर्भपतनसँग सम्बन्धित विषयको जानकारी यस समाजमा कतिसम्म अपुरो र अधुरो रहेछ भन्ने कुरा छर्लङ्ग देखाउँछ । कोरोनाको फरक कथा होस् या युद्ध जितेको रात यी दुवै कथाले हाम्रो समाजको मानवीय धरातलको कित्ता छर्लङ्ग पारेको छ ।

अत्याधिक रक्तश्रावले बिरामीको ओ.टी. (अपरेशन कक्ष) मा ज्यान जोगाउन हरतरह लागि परिरहँदा, बिरामीका निकटबाट तिरस्कृत हुने डर र ज्यान जोगाउन नसकिने पो हो कि भन्ने पीडाको बोझ । प्रशवपश्चात अत्याधिक रक्तश्रावको कारण तत्काल उपचार पाउनुपर्नेमा कोभिड प्यान्डेमिकको जोखिमको भयले एक महिलाको अस्पतालकै बेडमा कारुणिक मृत्यु हुनु लज्जास्पद हो । हाम्रो संक्रमित  मानसिकताको उपजका कारण यस्ता कैयन् घटना घटिरहेका छन् । यसले मानवताको क्षयीकरणको आभास दिलाउँछ ।

पुस्तकमा प्रयोगवादी लेखनको अनुभूति दिइएको छ । प्रत्येक विषयको उठानमा नन फिक्सनल टच दिइएको छ, एवं विषयको समाप्तिसँगै पाठकलाई त्यस परिदृश्यसँग सम्बन्धित स्वास्थ्य सचेतनाको विषयद्वारा सुसूचित गरिएको छ । पक्कै पनि लेखकको धर्म भनेको, आफ्नो रचनाको माध्यमद्वारा समाज र जगतलाई झकझकाउनु पनि हो । जुन कुरामा यस पुस्तक धेरै हदसम्म सफल मान्दछु ।