प्रीतिलाई चिच्याई चिच्याई आमा भएको सूचना दिन मन छ । भगवान्ले उनका सबै इच्छाहरू पूरा गरेको महसुस गरेकी छिन् । सन्तानका लागि उनले गरेका भाकल अनि आमाबुबाको आर्शीवाद पूरा भएको छ । सासुलाई ‘ला तेरो नातिनी’ भन्दै उनले भनेका तीखा वचनहरूको जवाफ फर्काउने मन छ । आँखाभरि हर्षका आँशु छछल्काउँदै नातिनी बोकेकी उनका आमा (जयश्री) लाई अङ्गालो हालेर “आमा, म नि आमा भए नि” भन्न मन छ । किनकि उनी आज आमा बनेकी छिन् । विवाहपश्चात आमा बन्नु धेरैलाई स्वभाविक लाग्छन् । तर सबैलाई सहज हुँदो रहेनछ ।
प्रीतिलाई आमा बन्न कतिका तीखा वचन सुन्नु पर्यो । उनले ६ महिना माइत नै बस्नु पर्यो । जुम्ल्याहा बच्चा थिए तर गर्भमा नै १ भ्रुणको मृत्यु भएर अर्को भ्रुणलाई ३ महिना राख्नु परेको पिडा पनि उनीसँग थियो । उनको यो सङ्घर्षमा साथमा थिए माइतीको आर्शीवाद र एक विश्वास ।
सङ्घर्ष के हो ? प्रीतिलाई थाहा थिएन । सामान्य मध्यम-वर्गीय परिवारमा हुर्किए पनि बुबाआमाकी प्यारी थिइन् प्रीति । उनका बुबा राधेश्याम एक निजी कलेजमा क्यान्टिन चलाउँथे । अनि आमा जयश्री पनि त्यही क्यान्टिनमा सघाउने गरेका थिए । जति नै प्यारो भए पनि छोरीको जात, कन्यादान गर्नै पर्ने । १८ वर्ष पार गर्नेबित्तिकै उनका पितालाई प्रीतिको विवाहको चिन्ताले पिरोल्न थाल्यो । स्वदेशमै, तराईका स्वजातीय बस्तीहरूदेखि सीमावर्ती भारतका बस्तीहरूमा योग्य, स्वजातीय वरको खोजी भयो । अन्ततः १९ वर्षको किशोर अवस्थामा नै भारतको कमलेशसँग सजातीय विवाह भयो । विवाह के हो ? राम्ररी थाहा नपाउँदै आफू जन्मेको अनि हुर्केको घर माइत भइसकेको थियो ।
विवाहपछि नयाँ घर र सम्बन्ध पाइन् । तर उनलाई खासै गाह्रो भएन । देश फरक थियो तर संस्कार एउटै, घर फरक थियो तर परिवार उस्तै । जिम्मेवारी थपियो, तर साथ दिने मयालु श्रीमान् थियो । टाउकोमा घुम्टो थियो तर घुम्टोभित्र छुट्टै आनन्द थियो । केही दिनमा नै माइतभन्दा घरको बढी माया लाग्ने भइसकेको थियो । त्यसैले आफूलाई संसारकै भाग्यमानी भएजस्तै लाग्थ्यो । तर भाग्यले धेरै दिन साथ दिन सकेन । भनिन्छ, चन्द्रमामा नि ग्रहण लाग्छ, प्रीति त सामान्य मान्छे । खुशीयालीले भरिएको उनको सानो संसारमा पारिवारिक कलह सुरु भयो । कलह सम्पत्ति वा दाइजोका लागि थिएन । उनका श्रीमानको अंश वा घरको भागबण्डाको पनि होइन । कलह थियो सन्तान प्राप्तिको । उनकी सासूलाई नातिनातिनी खेलाउने रहरको । अनि श्रीमानलाई आफ्नो वशं चलाउने उत्तारिधिकारीको कहर । हुन त यसको कारक केवल प्रीति थिइनन् । तर दोष उनलाई बाहेक अरूलाई दिन कसैले खोजेनन् । सन्तानले नाम र थर जसको लिए पनि गर्भ त आमाकै चाहिने रहेछ । सम्पत्ति जसको उपभोग गरे पनि, अशं जोसँग लिए पनि, दूध त आमाकै चुस्ने रहेछ । सायद त्यसैले होला घरकाले मात्रै होइन स्वयम् प्रीतिले पनि आफैँलाई दोषी मानेकी थिइन् ।
एक त मोटो शरीर, गर्भ रहनै गाह्रो । बल्लबल्ल रहेको पहिलो गर्भ पनि २ महिना नपुग्दै खेर गएपछि फेरि गर्भ रहँदैन भन्ने शङ्का जाग्यो । हिजोसम्म आमाभन्दा प्यारो सासूको वचनले हरेक कुरामा सन्तानकै कुरा निकालेर अपहेलित गर्दा बाध्यताले उनको मन कुडिँदै गएको थियो । सन्तानको चाहनाले उनी मात्र होइन, उनका माइतीसमेत चिन्तित थिए । छोरी माइत आएपछि विराटनगरका डाक्टरहरूसँग सल्लाह लिन उनका पिता राधेश्याम आफैँ पुग्ने गर्थे । फरक फरक चिकित्सकको फरक फरक सल्लाह र औषधीहरू पनि सेवन गरिन् प्रीतिले । ‘भगवान् के घर मे देर है, अन्धेर नहिँ’ भन्नेमा प्रीति विश्वस्त थिइन् । त्यस्तै भयो । समय लाग्यो, तर गर्भ रह्यो ।
प्रीति पुनः गर्भवती भइन् । गर्भ रहनेबित्तिकै अघिल्लो गर्भको जस्तो नहोस् भनेर तुरुन्तै जाँच गराइन् र थाहा भयो – गर्भमा जुम्ल्याहा बच्चा छन् । खबर थाहा पाउना साथ उनको खुसीले आकाश चुमेको थियो । उनको परिवारमा उनी पहिलो थिइन्, जसको गर्भमा जुम्ल्याहा बच्चाहरू थिए । सासूको वचन अनि अरूले होच्याइ सबैका लागि गतिलो झापड थियो उनको त्यो गर्भ । जति नै वचन लगाए पनि गर्भवती भएको थाहा पाएपछि सासूले माया गर्न थालिन्, घरका सबै जना धेरै खुसी भए ।
फेरि पनि उनको यो खुसी लामो समयसम्म टिक्न सकेन । नियमित परीक्षण गराइरहेकी प्रीतिलाई गर्भ रहेको १५ हप्तापछि चिकित्सकले गर्भमा रहेको बच्चा बचाउन नसक्ने बताए । प्रीति छाँगाबाट खसेजस्तो भइन् । उनले टेकेको जमिन भाँसियो, आकाश खोसियो । उनको गर्भमा रहेको दुई बच्चामध्ये एकमा सिष्टिक ह्याग्रोमा नामक समस्या देखा परेकाले बाँच्ने कुनै सम्भावना नभएको चिकित्सकले बताएका थिए । अपरेसन गर्दा एक बच्चालाई निकाल्ने तर अर्कोलाई गर्भमै छाड्न नमिल्ने र महिना पूरा नभई बच्चाको विकास नहुने हुँदा दुबै बच्चालाई बचाउन नसकिने चिकित्सकले बताएका थिए ।
प्रीतिको जीवनमा फेरि दुःखको बादल छायो । घरमा रुवाबासी भयो । माइत पक्षले पनि थाहा पाए । बिहे गरेर पठाउँदैमा मनबाट बिदा कहाँ गर्न सकिन्छ र ? छोरीको भाग्य अनि पीडामा आमाबाबुको मन धेरै दुख्छ, सायद । त्यसैले यस अवस्थामा घरमा छोड्न चाहेनन् राधेश्यामले । छोरीको चित्त बुझाउन अनि सहानुभूति दिन प्रीतिलाई माइत विराटनगर लिएर आए । छोरीलाई जसरी भए पनि आमा बन्ने चाहना मात्र होइन, बाध्यता पनि थियो भन्ने कुरा राधेश्यामले बुझेका थिए । सन्तानका लागि नै छोरीमाथि सौता आउन सक्ने खतरा पनि देखेका थिए । त्यसैले सन्तान बुढेसकालको सहारा मात्र थिएन प्रीतिका लागि, सुखी जीवनको आधार पनि थियो ।
‘एउटा चिकित्सकको सल्लाहले हुँदैन । एक चिकित्सकले सकिँदैन भन्दैमा हरेश खानु हुँदैन ।‘ भनेर प्रीतिका पिताले छोरीलाई सम्झाए । सबैको सल्लाहमा उनी मलाई भेट्न पुगिन् । मैले उनको परीक्षण गर्दा र सबै रिपोर्टहरू अध्ययन गर्दा गर्भमा रहेको एक बच्चालाई सिष्टिक ह्याग्रोमा समस्या रहेको पाएँ । यस अवस्थामा गर्भको भ्रुणको घाँटीमा रहेको धमनी चेपिएकाले बच्चाको वृद्धि नहुने र गर्भ खेर जाने हुन्छ । नभन्दै १८ हप्ता पुगेपछि उनको एक बच्चाको गर्भमै मृत्यु भयो । मृत्यु भएको बच्चा (भ्रुण) लाई निकाल्नु पर्ने हुन्छ । गर्भमा मृत भ्रुण छाडिराख्दा इन्फेक्सन हुने र आमाकै ज्यानमा पनि ठुलो खतरा हुने सम्भावन रहने भएकाले निकाल्नु जरुरी हुन्छ । तर एउटा बच्चा निकाल्ने हुँदा अर्को पनि निस्कन सक्ने खतरा हुन्छ । १८ हप्तामा नै गर्भबाट निकालिएको भ्रुणलाई बचाउन सकिने सम्भावना हुँदैन । मृत भ्रुण ननिकाले संक्रमण हुने खतरा र निकाले अर्को सकुशल रहेको गर्भ खेर जाने खतरा । निर्णय लिन कठिन थियो । यस अवस्थामा भ्रुण निकाल्ने सल्लाह नै उत्तम थियो । तर प्रीतिले आफ्नो स्वास्थ्यको भन्दा अर्को बच्चा बचाउन अनुरोध गरिन् । मोटी भएकै कारण बच्चा हुँदैन भन्ने लाल्छना धेरै खेपेकाले जसरी पनि बच्चा जोगाइदिनुहोस् भन्ने उनकी आमा जयश्री सिंहको प्रस्ताव थियो ।
गर्भमा एउटा मृत बच्चा भएपछि अर्को पनि बाँच्ने सम्भावना निकै कम हुन्छ । यस्तो अवस्थामा प्रीतिका लागि दिन बिताउन निकै मुस्किल भएको थियो । गर्भको अवधि ३१ हप्ता पुग्नुअगाडि बच्चा निकाल्दा बचाउन सक्ने अवस्था कम थियो । अर्थात् १ सय ८० दिन सङ्घर्षमय थियो । हरेक दिन एउटा युद्ध लड्नु परेको आभाष, हरेक पलमा अर्को जीवित गर्भ सकिने डर अनि हरेक क्षणमा रक्तश्राव हुन सक्ने भय । गर्भवतीले ४ पटक चिकित्सकलाई भेटे पुग्छ – सुनेकी प्रीतिले हप्ताको २ पटक पनि धाउने गरेकी थिइन् । यस्तोमा उनी सामान्य समस्या देखिना साथ डाक्टरलाई भेट्न पुगिहाल्थिन् ।
एक दिन अगाडि मात्र उनले आफ्नो गर्भ परीक्षण गराएर घर गएकी थिइन् । सबै राम्रो थियो । बच्चाको धड्कन पनि राम्रो थियो । गर्भका अवधि ३१ हप्तामात्र भएकाले १–२ हप्तापछि शल्यक्रिया गरेर बच्चा निकाल्ने सल्लाह भयो । तर १–२ हप्ता कुर्न सकिएन । भोलिपल्टै गर्भमा रहेको शिशु चलेको थाहा पाइनन् । मनमा चिसो पस्यो । उनी अत्तालिएर अस्पताल पुगिन् । अस्पतालका हरेक नर्सलाई उनको अवस्था थाहा थियो । कति पनि ढिला नगरी उनको शल्यक्रिया भयो । मात्र १ केजी ४ सय ग्रामकी छोरी हातमा पाउँदा पनि उनको अनुहारमा चमक आयो । ग्रहणपछिको पूर्णिमा जस्तो, पानी परेपछि आकाश खुलेजस्तो, बिहानीको किरण परेपछि हिमाल हाँसे जस्तो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।