
‘डोलीभर्ना’ डा. चित्र माबोद्वारा रचित कथाकृति हो । यस कृतिभित्र पन्ध्र ओटा मौलिक, प्रगतिशील तथा आधुनिक कथाहरू समावेश गरिएका छन् । कृतिलाई साङ्ग्रिला बुक्सले प्रकाशन गरेको छ । कथाकृतिको चर्चा गर्दा डा. माबोले नेपाली कथा साहित्यको सुन्दर आकाशमा थप एक आञ्चलिक स्वादले भरिएको कथाकृति दिएका छन् । यस कथा कृतिको सबैभन्दा बलियो र सुन्दर पक्ष भनेको आञ्चलिकता नै हो । पूर्वी नेपालका लिम्बू समुदायको थातथलो, संस्कार, संस्कृति, रहनसहन र रैथाने जीवनलाई कलात्मक तरिकाबाट सरल भाषामा प्रस्तुत गर्नु नै लेखकको मुख्य विशेषता देखिन्छ । आञ्चलिकताका अतिरिक्त कथाकृतिमा आधुनिक तथा प्रगतिशील धारका कथासमेत समेटिएका छन् । जसले गर्दा कथा कृतिभित्र भिन्न भिन्न स्वादका कथाहरू पाठकले पढ्न पाउँछन् । कथा कृतिलाई विविध विशेषताले विशेष बनाएको छ ।
साहित्यिक सिद्धान्तको कोणबाट डोलीभर्नालाई हेर्दा यस कथाकृतिमा विनिर्माणवाद बढी भेटिन्छ । प्रत्येक कथाहरू किनारबाट शुरु भएका छन् । कथाकारले नेपाली समाजको कथित स्थापित संरचनालाई क्रमभङ्ग गरेका छन् । मूलधारका कथा र सेटिङबाट पर हटेर सीमान्तकृत पात्रलाई विद्रोही नायकका रूपमा चित्रण गरेका छन् । यो लेखकको अर्को विशेषता हो ।
मनजिते कथा विनिर्माणवादको एक उदाहरण हो । यस कथामा कथाको मूल पात्र मनजिते गाउँकै उत्कृष्ट सहनाई वादक हुन्छ । उसको सहनाईको धुनबिना गाउँका शुभकार्य अधुरा मानिन्थे । यसै कारणले उसलाई सबैले माया गर्छन् । एकदिन मनजिते आफ्नो नातिसहित गाउँकै भतेरमा भतेर खान बसेको हुन्छ । खाना बाँड्दा उसको नातिको भागमा जुठो पर्छ । उसले नातिलाई परेको जुठो खाना, खाना बाँड्नेलाई साटिदिन आग्रह गर्छ । खाना बाँड्नेले साट्नुको सट्टा उसको जातलाई आधार मानेर उल्टै हप्काउँछ । भोको पेटमा मनजितेको नातिले जुठो खाना खान बाध्य हुन्छ । केही समयपछि बच्चाले बाटोघरेको छोराको खानामा पनि जुठो पारिदिन्छ । यहाँ भने गाउँका खाना बाँड्ने तुरुन्तै खाना साटिदिन्छन् । यो देखेपछि मनजितेले असन्तुष्टि पोख्छ । उसको मनमा चिसो पस्छ । सुब्बाहरूको दादागिरीका अगाडि मनजिते विभेद सहन बाध्य हुन्छ । राति रक्सीको झोंकमा भने मनजितेले दिउँसोको घटनालाई उठाउँछ तर यसपटक भने उसमाथि गाउँका गैरदलित समूहले निर्घात कुटपिट गर्छन् ।
सुब्बाहरूको ज्यादती र जातीय विभेदबाट आजित मनजिते अन्ततः विभेद दिने धर्म त्याग्छन्, र विद्रोह स्वरूप नयाँ धर्म अपनाएर गाउँमा आफू अलग बाटो हिँडेको सन्देश दिन्छन् ।
कालीमा कथाले पनि आम पुरुषवादी चिन्तनलाई चिरेको छ । कथाका पात्र कालीबाले श्रीमतीको कमजोरीलाई नजरअन्दाज गरी समाजको अगाडि सामाजिक कथित मूल्यमान्यतालाई चुनौती दिँदै श्रीमतीको साथ दिएको पाइन्छ । एउटा पुरुषले आफ्नी श्रीमतीको गर्भमा अर्काको बच्चा भएको थाहा पाउँदापाउँदै श्रीमतीलाई स्वीकार्नु पितृसत्ताका विरुद्ध जानु हो । आम सोचाइका विरुद्ध अघि बढ्नु हो ।
कथाकृतिको मूल कथा डोलीभर्नाले लिम्बू समाजभित्रको डोलीभर्नाको मौलिक गाथा आम पाठकलाई दिएको छ । लिम्बू समाजभित्र छोरीको मृत्युपछि ज्वाइँलाई अर्की छोरी दिने चलनका बारेमा पनि रोचक चित्रण पाइन्छ । यस कथामा विवाह गरेकी छोरीका मृत्युपछि खाली भएको डोलीलाई कान्छी छोरी दिएर माइती पक्षले डोली भरेको प्रसङ्गलाई लिएर लेखकले पाठकलाई पूर्वी नेपालका लिम्बू गाउँहरूमा घुमाएको आभास हुन्छ । त्यहाँका स्थानीयसँग चिना परिचय गराएको आभास हुन्छ । कथाका पात्रसँगै लोकन्ती गएको, च्वाँचे खाएको, धान नाच नाचेको भान हुन्छ । लिम्बू संस्कार सांस्कृतिक सम्पदालाई कथाकारले पूर्णतः न्याय गरेका छन् ।
कथाकारले जेन-जी पुस्ताको कथा व्यथालाई पनि कलात्मक तरिकाले पस्केका छन् । विदेशको सपना र रहरका निम्ति युवतीको सुगरड्याडीसँगको सम्बन्ध, क्षणिक फेसबुके आकर्षण, माया, रोमान्स र धोकाका कथाले पाठकलाई निराश पनि बनाउँछ । त्यस्तै, वैदेशिक रोजगारीले नेपाली समाजमा सिर्जना गरेको पारिवारिक समस्यालाई पनि लेखकले स्थान दिएका छन् । अहिले जुन घटना हाम्रा गाउँठाउँमा घटेका छन् , श्रीमान् श्रीमतीका धोकाका कथा, पारिवारिक पीडा यातनालाई लेखकले जीवन्त कथामा उतारेका छन् । यी कथा पढ्दा पाठकहरू अवश्य झस्किने छन् । आँखाहरू छिनछिनमा रसाउने छन् । त्यस्तै माक्थके कथाले पाठकलाई खुब हँसाउँछ । कथाकारले चित्रण गरेका दृश्यले पाठकको मन जितेको छ । कथाकारले आफ्नो पृष्ठभूमि र समुदायको मुद्दालाई विशेष स्थान दिएका छन् । स्थानीय राजनीति, बहसले त्यस भेगको संवेदना ओगटेको छ ।
डोलीभर्नाभित्रका सकारात्मक पक्ष धेरै छन् । यद्यपि कथा कृतिभित्र एकाध कमजोरी पनि छन् । वैदेशिक रोजगारीका कथा, ऋणका कथा र धोखाका कथा दोहोरिएका छन् । केही कथाका पात्र चित्रण पनि उस्ता उस्तै देखिन्छ । अझ भनौँ, समाचार पढेको हो कि जस्तो आभास हुन्छ । भाषाशैली पनि एकनासको जस्तो देखिन्छ । यस अलावा डोलीभर्ना उत्कृष्ट कथाकृति रहेको छ । आञ्चलिकता, मौलिकता, आधुनिकता र प्रगतिशील विचारले कथासङ्ग्रहलाई आम कथाभन्दा पृथक् कृति बनाएको छ । कथाकारको सामाजिक मनोविज्ञान, राजनीतिक, समाजशास्त्रीय चेतले कथासङ्ग्रहलाई थप मजबुत बनाएको छ । अन्ततोगत्वा डोलीभर्नाले नेपाली साहित्यको मौलिक डोली भरेको छ । आम पाठकलाई मौलिक स्वाद दिन सफल भएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

