मिम बहादुर परियार

म सीमा रक्षक,
मातृभूमिको सेवक,
अहोरात्र दुस्मनको, गाली सहेर, लात खाएर,
जङ्गे पिलर अङ्गालेर बसेको,
तिम्रो नजरको, पारिको मान्छे ।

म मधेसको देशी,
तातो हावा खान्छु, धोती गम्छा लगाउँछु
तिमी पहाडको चिसो खान्छौ, टोपी लगाउँछौ,
बीचमा सुरक्षित छौ, शुद्ध कथित बोल्छौ,
म कालो वर्णको पारिको कालसँग,
दिनहुँ पौँठेजोरी खेल्दै, अशुद्ध बोल्दै,
चुनौती दिँदै साँधको साथी भएको
तिम्रो नजरको पारिको मान्छे ।

मेरो भाषा भेषभुषा, रुपरङ पारिकासँग मिल्नु गल्ती हो ?
म सिमानामा जन्मिनु पाप हो ?
सदियौँदेखि रोटी र बेटीको सम्बन्ध चल्नु अपराध हो र?
सीता, जनक र बुद्धलाई किन पुजेको ?
किन विभूति प्रदान गरेको ?
उनीहरू पनि सिमाकै थिए,
उनको चालन रुपरङ पारिकासँग मिलेकै थियो,
कस्तो दोषी चस्मा तिम्रो,
आफ्नालाई विदेशी ठान्ने,
तराईलाई पराई मान्ने ।

तिम्रो आफ्नो मान्छे, कथित शुद्ध बोल्छ
जो पारि बस्छ, पारिकै नुनपानी खान्छ,
जय हिन्द भन्दै, जनमन गान गाउँछ,
रुपरङ मिल्छ, भाषा मिल्छ,
ऊ तिम्रो प्यारो भयो, आफ्नो भयो,
म हुनसकिनँ, कारण तिम्रो
मानसिकता हो, एकल नश्लवादी चरित्र हो ।

म धर्तीपुत्र अन्न फलाउँछु,
समथल भूभागमा पसिना बगाउँछु,
हिमाल पहाड तराईमा पुगोस् भनेर,
तर तिमी मलाई पाइला-पाइलामा छेक्छौँ,
सामाजिक यातना दिन्छौं, अपशब्द बोल्छौँ
म निरीह भएर सहन्छु,
तिम्रो नजरको, पारिको मान्छे।

म बोल्छु, विष्फोट हुन्छु अब,
मेरो आँसुले, चित्कारले तिमीलाई छोएन,
सिमानामा बगेको मेरो रगत तिमीलाई पोलेन,
मेरो प्रेम सद्भाव तिमीले कहिल्यै बुझेनौँ,
अब म भित्रको लाजले लाज मानिसक्यो,
म लड्डु अब ।

तर तिम्रो जस्तो मेरो लडाइँ होइन,
जात, रङ, टोपी र भूगोलसँग,
मेरो लडाइँ सत्रुसँग हुन्छ,
सिमाना मिच्नेसँग हुन्छ,
मातृभूमि रक्षाको लागि हुन्छ।

मलाई धोती र टोपीसँग मतलब छैन,
मलाई नेपाल आमासँग मतलब छ,
सीमासँग मतलब छ,
म लड्छु, मर्छु
सीमारेखाभित्र अन्तिम सास फेर्छु।

तिमीलाई मतलब भएको रङसँग वस्त्रसँग लड,
अझै मलाई सामाजिक यातना देऊ,
पारिका सँग तुलना गर,
तिम्रो सोच त्यस्तै छ,
आफ्नालाई पराइ ठान्ने,
अझै निरन्तरता देऊ,
हार्दिक शुभकामना ।